शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८६५९ - सवारी ज्यान

भाग: ५३ साल: २०६८ महिना: कार्तिक अंक:

ने.का.प. २०६८,           अङ्क ७

निर्णय नं.८६५९

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री तर्कराज भट्ट

२०६५CR०५४९

फैसला मितिः २०६७।१२।२४

मुद्दा : सवारी ज्यान 

पुनरावेदक प्रतिवादीः रुपन्देही जिल्ला, बुटवल नगरपालिका वडा नं. १३ देवीनगर बस्ने ईन्द्रप्रसाद             खनाल

विरूद्ध

प्रत्यर्थी वादीः नेपाल सरकार

 

शुरू फैसला गर्ने :

मा.न्या.श्री लेखनाथ दाहाल

पुनरावेदन फैसला गर्ने :

मा.न्या.श्री केशवप्रसाद मैनाली

मा.न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी

 

§  कुनै सवारी चालकले कसैलाई नियतपूर्वक ठक्कर दिई मानिसको ज्यान मर्न गएको अवस्थामा सो सवारी साधन ज्यान मार्न प्रयोग गरिएको साधनको रुपमा रहने र त्यस्तो कार्यलाई अचानक भएको दुर्घटना (Accident) मान्न नसकिने 

(प्रकरण नं.४)

§  अपराधको लागि चाहिने मनसाय तत्वको रुपमा लापरवाही (Recklessness) स्थापित गर्न घटना घटाएको समयमा निषेध गरिएको परिणाम अर्थात् मानिस मर्न सक्छ भन्ने कुराको जानकारी भएको हुनुपर्ने हुन्छ । त्यस्तो परिणामको पूर्वज्ञान भएको तर त्यस्तो परिणामको अपेक्षा गरेको थिएन भन्ने तथ्य स्थापित हुनुपर्ने 

(प्रकरण नं.५)

§  कतिपय अवस्थामा पूर्ण सचेत रही, होशियारीकासाथ कुनै काम गर्दा पनि निषेधित परिणाम आउन सक्दछ । यस्तो अवस्थालाई रोक्न नसकिने दुर्घटना (Unavoidable Accident) को रुपमा लिई त्यस्तो कार्य गर्ने व्यक्तिमा आपराधिक मनसाय तत्वको पूर्ण अभावको कारणले त्यस्तो व्यक्तिलाई दोषी (Blameworthy) को रुपमा लिन नसकिने 

(प्रकरण नं.६)

§  सापेक्षित अपराध (Relative Crime) मा आपराधिकताको (Blameworthiness) निर्धारण अपराधका सन्दर्भमा प्रतिवादीमा रहेको मनसाय तत्व (Mens rea) ले गर्ने गर्दछ । त्यस्तो अपराधका विभिन्न तहहरु हुने भएकोले कुनै खास वारदातका प्रतिवादीले कुन आधारमा कुन हदसम्म आपराधिक दायित्ववहन गर्नुपर्ने हो भन्ने निक्र्यौल गर्न वारदात घटाउन निजमा विद्यमान मनसाय तत्वलाई पहिचान र त्यसको स्तर (Degree) को निर्धारण गर्नु अनिवार्य हुने 

(प्रकरण नं.७)

§  सवारी साधन चलाउने अनुमतिप्राप्त व्यक्ति र सवारी चलाउने अनुभवप्राप्त व्यक्तिले ट्राफिक नियम, संकेतहरु र तत्कालीन अवस्था र परिस्थितिको बारेमा स्वाभाविक रुपमा जानकारी राखी आपूmले त्यस्तो बेलामा मादक पदार्थ सेवन गरी तेज गतिमा चलाएको सवारीबाट घटना हुन सक्ने जानकारी भएको व्यक्ति हुन् भनी मान्नु पर्ने हुन्छ । यस्तो अवस्थामा पूर्ण होशियारीकासाथ नियन्त्रित गतिमा सावधानीपूर्वक सवारी चलाउने दायित्व पूरा नगरी आवश्यक सावधानी नअपनाई आवश्यकताभन्दा बढी गतिमा र मादक पदार्थ सेवन गरी सवारी चलाएबाट निजले लापरवाहीपूर्वक सवारी चलाएको देखिन आउने 

(प्रकरण नं.१०)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा

प्रत्यर्थी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री किरण पौडेल

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१, १६१(२), (३)

 

फैसला

न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदक प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार रहेको छः

मिति २०६३।७।७ गते साँझ बुटवल नगरपालिका वडा नं. ५ स्थित सडकमा लु.१च २३५६ नं. को जीपले लु.४प ३७४ नं. को स्कूटरलाई ठक्कर दिँदा विरज श्रेष्ठ र रोचक मास्के घाइते भएकाले स्थानीय मानिसहरुको सहयोगमा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको, जीप चालकले उक्त स्कूटर घिसार्दै जीपलाई ईलाका प्रहरी कार्यालय बुटवलतर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरी दाखिला गरेको छु । निज जीप चालकले मादक पदार्थ सेवन गरेको हुँदा स्वास्थ्य परीक्षण समेत गराई पाऊँ भन्ने समेत व्यहोराको प्र.स.नि. आनन्द बस्नेतको प्रतिवेदन 

मिति २०६३।७।७ गते साँझ बुटवल नगरपालिका वडा नं. ५ स्थित सडकमा लु.१च २३५६ नं का जीपले लु.४ प ३७४ नं. को स्कूटरलाई ठक्कर दिँदा स्कूटरमा सवार रहेका विरज श्रेष्ठ र रोचक मास्के घाइते भई रोचक मास्केको उपचारको क्रममा मृत्यु भएकोले जीप चालक ईन्द्रप्रसाद खनालउपर कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.नि. रञ्जित राठौरको प्रतिवेदन 

लु.४प ३७४ नं. को स्कूटर लु.१च २३५६ नं. को जीपको मेकानिकल जाँच गर्दा बेचालु अवस्थामा देखिएको, लु.१च २३५६ नं. को जीपको अगाडि दायाँ बम्फर कुचिएको, इञ्जिन ढाक्ने हुट कुचिएको अन्य पार्टपूर्जा दुरुस्त हालतमा पाइएको भन्ने समेत व्यहोराको प्र.ज. रत्नलाल पौडेलको प्रतिवेदन 

बुटवल नगरपालिका वडा नं. ४ गोलपार्क स्थित पूर्वमा रत्न विद्यापीठ इङ्गलिस स्कूल, पश्चिममा रत्न विद्यापीठको पुरानो भवन, उत्तर र दक्षिणमा सिद्धार्थ राजमार्ग सडक यति चारकिल्लाभित्र रहेको सडकको चौडा २० फीट रहेको, सडकको बीच रेखादेखि पश्चिम ५ फीटमा रगतका टाटा तथा फुटेका सिसाका टुक्राहरु रहेका, सोही स्थानमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु.१च २३५६ नं. को जीपले रोचक मास्के समेत चढी गएको लु.४प ३७४ नं. को स्कूटरलाई ठक्कर दिएको स्थान, उक्त स्थानदेखि ५०० गज टाढा रहेको ईलाका प्रहरी कार्यालय बुटवलको गेटसम्म जीपले स्कूटर घिसारी ल्याएको डाम रहेको, घिसारिएको लु.४प ३७४ नं. को स्कूटर पूर्ण रुपले क्षति भएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का 

मिति २०६३।७।७ गते साँझ अ. ६.३० बजेको समयमा मेरो छोरा विरज श्रेष्ठ र छोराको साथी रोचक मास्के काम विशेषले लु.४प ३७४ नं. को स्कूटरमा चढी चिडियाखोलातर्फ गइरहेको अवस्थामा बुटवल नगरपालिका वडा नं. ५ स्थित नाङ्गलो रेष्टुरेण्टदेखि दक्षिण अन्दाजी २० मिटर दक्षिणमा रहेको सडकमा लु.१च २३५६ नं. को जीप चालकले मादक पदार्थ सेवन गरी लापरवाहीपूर्वक गाडी चलाई विपरीत साइडमा भएको लु.४प ३७४ नं. को स्कूटर र सोमा रहेका विरज श्रेष्ठ र रोचक मास्केलाई ठक्कर दिई दुर्घटना गराएका कारणबाट उपचारको क्रममा रोचक मास्केको मृत्यु भएको र विरज श्रेष्ठ सख्त घाइते भएकाले जीप चालकलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरी सम्बन्धित पक्षबाट घा खर्च तथा क्षतिपूर्ति समेत दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको जितेन्द्र सिमाङगैडाको जाहेरी 

मिति २०६३।७।७ गते साँझ ६.३० बजेको समयमा मेरो भाञ्जा रोचक मास्के र छोरा विरज श्रेष्ठ लु.४प ३७४ नं. को स्कूटरमा चिडियाखोलातर्फ गई रहेको अवस्थामा बुटवल नगरपालिका वडा नं. ५ स्थित नाङ्गलो रेष्टुरेण्टदेखि दक्षिण अन्दाजी २० मिटरको फरकमा रहेको सडकमा लु.१च २३५६ नं. को जीप चालकले मादक पदार्थ सेवन गरी तीव्र गतिमा लापरवाहीपूर्वक जीप हाँकी अर्को साइडमा रहेको स्कूटर तथा विरज श्रेष्ठ र रोचक मास्के समेतलाई ठक्कर दिई दुर्घटनाको कारणबाट रोचक मास्केको उपचारको क्रममा मिति २०६३।७।८ गते मृत्यु भएको र विरज श्रेष्ठ सख्त घाइते भएका गाडी चालकउपर सवारी तथा याायात ऐन, २०४९ को १६१(१) नं. बमोजिम सजाय गरी सम्बन्धित पक्षबाट क्षतिपूर्ति समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको रामेश्वर श्रेष्ठको जाहेरी दरखास्त 

            मिति २०६३।७।७ गते साँझ पाल्पा दोभानदेखि घर आउन लु१च २३५६ नं. को जीप हाँकी आई रहेको अवस्थामा बुटवल नगरपालिका वडा नं. ५ गोलपार्कदेखि केही मास्तिर आउँदा सडकको बायाँ साइडमा दिउसै भैलो खेल्ने मानिसहरुको जमघट थियो । क्रस गरी अगाडि जान दायाँ च्यापी जीप अगाडि बढाएको अवस्थामा दक्षिणबाट उत्तर आउन विरज श्रेष्ठ र रोचक मास्के चढेर आएको लु.४प ३७४ नं. को स्कूटर समेतलाई ठक्कर लागी स्कूटर जीपको अगाडि पट्टामा अडकियो, स्कूटरमा सवार गरेका दुवैजना उच्छिटिई घाइते भएका हुन, स्कूटरलाई घिसारी इलाका प्रहरी कार्यालय बुटवलमा ल्याएको हुँ । वारदातको बेला मैले मादक पदार्थ सेवन गरेको थिएन । दुर्घटनाबाट रोचक मास्केको मृत्यु भएको हो, विरज श्रेष्ठ घाइते भएका हुन भन्ने समेत व्यहोराको प्रतिवादी इन्द्रप्रसाद खनालले प्रहरीमा गरेको बयान 

            मिति २०६३।७।७ गते साँझ ६.३० बजेको समयमा बुटवल नगरपालिका वडा नं. ५ स्थित सडकमा दक्षिणतर्फबाट आएको लु.१च २३५६ नं. को जीपले सिद्धबाबातर्फ गइरहेको लु.४प ३७४ नं. को स्कूटरलाई ठक्कर दिँदा दुर्घटना भई रोचक मास्केको मृत्यु भएको, विरज श्रेष्ठ घाइते भएका हुन्, दुर्घटना जीप चालकले जीप गलत साइडबाट चलाउँदा भएको हो भन्ने समेत व्यहोराको सडक दुर्घटना प्रतिवेदन 

            लु.४प ३७५ नं को स्कूटरको अगाडिको भाग कच्याककुचुक भएको, च्यासिसको भाग कुच्चिई दोबारिएको, हेण्डिल कच्याककुचुक भएको, इञ्जिनमा घसारिएको टाटा देखिएको, उक्त स्कूटर पूर्णरुपमा क्षति भएको भन्ने समेत व्यहोराको मुचुल्का 

            बुटवल नगरपालिका वडा नं. ४ मैनाबगर स्थित रामनगर घाटको पूर्व बुटवल नगरपालिका वडा नं. १३ को मजुवा सुकुम्बासी बस्ती, पश्चिम बुटवल नगरपालिका वडा नं. ४ को पार्किङ्ग स्थल, उत्तर र दक्षिण तिनाउ खोला यति चारकिल्ला भित्र रहेको तिनाउ खोलाको पश्चिम किनारमा रोचक मास्केलाई सतगत गरेको स्थान भन्ने समेत व्यहोराको मुचुल्का 

            मिति २०६३।७।७ गते सिद्धबाबातर्फ जान लु.४प नं. को स्कूटर रोचक मास्केले हाक्ने, म पछाडि बसी गइरहेको अवस्थामा बुटवल नगरपालिका वडा नं. ५ स्थित सडकको विपरीत दिशाबाट आएको लु.१प २३५६ नं. को जीपले रङसाइडमा आई ठक्कर दिँदा रोचक मास्के र म घाइते भएकोमा उपचारको क्रममा रोचक मास्केको मृत्यु भएको हो । मेरो टाउको र मृगौलाको वरिपरि रगत जमेको छ, दायाँ खुट्टाको पिँडौलाको हड्डी भाँच्चिएको छ भन्ने समेत व्यहोराको विरज श्रेष्ठले गरेको कागज 

            घाइते विरज श्रेष्ठको औषधि उपचार रु. ५०,०००।गाडीधनीबाट बुझिलिएँ, पछिसम्म लाग्ने औषधि उपचार खर्च निज गाडीधनीले गरिदिने भन्ने सम्झौता भएको छ भन्ने समेत व्यहोरको जितेन्द्र सिमाङगैडा श्रेष्ठले गरेको कागज 

            मिति २०६३।७।७ गते साँझ म लु.१च २३५६ को जीपमा यात्रा गरी आएको थिएँ । जीप ईन्द्रप्रसाद खनाले चलाएका थिए । बुटवल नगरपालिका वडा नं. ५ नाङ्गलो रेण्टुरेण्टदेखि केही दक्षिण सडकमा आउँदा बाँया साइडमा भैलो देउसी खेल्ने मानिस थिए । ती मानिसले सडकको केही भाग ओगटेका थिए । चालकले दायाँबाट जीप अगाडि बढाउँदा लु.४प ३७४ नं. को स्कूटरमा दक्षिणबाट उत्तरतर्फ जान आइरहेका बिरज श्रेष्ठ घाईते भएका हुन भन्ने समेत व्यहोराको तारा गहतराजले गरेको कागज 

            मिति २०६३।७।७ गते साँझ घरमा आउँन लु.१च २३५६ नं. को जीपमा यात्रा गरी आएको थिएँ । चालक ईन्द्रप्रसाद खनाल थिए । बेलुका अ. ६.३० बजेको समयमा बुटवल नगरपालिकास्थित नाङ्गलो रेष्टुरेण्टदेखि दक्षिण साइडमा आउँदा बाँया साइडमा भैलो खेल्ने मानिसहरु थिए । दक्षिणबाट उत्तरतर्फ जान लु.४प ३७४ नं. को स्कूटरमा आउँदा बिरज श्रेष्ठ र रोचक मास्केलाई ठक्कर दिँदा घाइते भई रोचक मास्केको मृत्यु भएको हो । विरज श्रेष्ठ घाइते भएका हुन । लु.४प ३७४ नं. को स्कूटर क्षति भएको हो भन्ने समेत व्यहोराको प्रेमबहादुर क्षेत्रीले गरेको कागज 

            मिति २०६३।७।७ गते साँझ मेरो छोरा रोचक मास्के र विरज श्रेष्ठ लु.४प ३७४ नं. को स्कूटरमा चढी उत्तरतर्फ गईरहेको अवस्थामा बुटवल नगरपालिका वडा नं. ५ स्थित सडकमा दक्षिणतर्फ आउदा इन्द्रप्रसाद खनालले हाँकी आएको लु.१च २३५६ नं. को जीपले ठक्कर दिई दुर्घटना भई रोचक मास्केको मत्यु भएको हो भन्ने समेत व्यहोराको निरञ्जनप्रसाद श्रेष्ठले गरेको कागज 

            किरिया खर्च तथा क्षतिपूर्तिवापतको रकम रु. एक लाख पाएँ, किरिया खर्च तथा क्षतिपूर्ति सम्बन्धमा दावी छैन भन्ने समेत व्यहोराको निरञ्जन मास्केले गरेको भरपाई कागज 

            टाउकोमा चोट लागेको अवस्थामा मिति २०६३।७।७ गते रोचक मास्के यस अस्पतालको इमरजेन्सी विभागमा उपचारको लागि भर्ना भएकोमा थप उपचारको लागि अन्यत्र रिफर गरिएको हो भन्ने समेत व्यहोराको लुम्बिनी अस्पताल बुटवलको पत्र 

            मिति २०६३।७।७ गते साँझ बुटवल नगरपालिका वडा नं. ५ नाङ्गलो रेण्टुरेण्टदेखि दक्षिण सडकमा ईन्द्रप्रसाद खनालले दक्षिणतर्फ आउँन हाँकी लिई आएको लु.१च २३५६ नं. को जीप सडकको बायाँ साइडमा मानिसहरुको जमघट भएकोले दायाँ च्यापी जीप अगाडि बढाउँदा दक्षिणबाट उत्तरतर्फ जान विराज श्रेष्ठ र रोचक मास्के चढेको लु.४प ३७४ नं. को स्कूटरलाई ठक्कर दिई दुर्घटना हुँदा रोचक मास्केको उपचारको क्रममा मिति २०६३।७।८ गते मृत्यु भएको, विरज श्रेष्ठ घाइते भएका हुन् भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्का 

            प्रतिवादी इन्द्रप्रसाद खनालले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) मा वर्णित ढङ्गले सवारी चलाई जाहेरवालाको छोरालाई ठक्कर दिई रोचक मास्केको मृत्यु हुन गएको हुँदा निजलाई सो ऐनको दफा १६१(२) बमोजिम हदैसम्म सजायको मागदावीसहित दायर भएको अभियोग पत्र 

            मिति २०६३।७।७ गते म दोभानबाट टिका लगाएर लु.१च २३५६ नं. जीप चलाई फर्किरहेको अवस्थामा बुटवल गोलपार्क नेर आइपुग्दा लु४प ३७४ नं. को स्कूटर लिई दुईजना तलबाट माथि चिडियाखोलातर्फ जाँदै थिए । उक्त स्कूटर मेरो गाडीमा ठोक्किई मान्छे उच्छिटिएर स्कूटर गाडीमुनि अड्कियो, मैले गाडी लिएर ईलाका प्रहरी कार्यालय बुटवलमा गएको हो, मैले चलाएको जीपले ठक्कर दिँदा मृतक रोचक मास्केको मृत्यु भएको हो, म आफ्नै साइडमा थिएँ । मेरो लापरवाही थिएन भन्ने समेत व्यहोारको प्रतिवादी ईन्द्रप्रसाद खनालले अदालत समक्ष गरेको बयान 

            आदेशानुसार वादीका साक्षी प्रेमबहादुर क्षेत्री, तारा गहतराज र जाहेरवाला रामेश्वर श्रेष्ठको बकपत्र भई मिसिल संलग्न रहेछ । प्रतिवादीले आफ्ना साक्षी उपस्थित गराउन नसकेको 

            घटनास्थलमा देउसीभैलो खेलिरहेको समूहलाई बचाउ गर्ने उद्देश्यले गाडी अगाडि बढाउँदा दुर्घटना हुन गई रोचक मास्केको मृत्यु भएको देखिँदा प्रतिवादी ईन्द्रप्रसाद खनाललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग मागदावी पुग्न नसक्ने तर प्रतिवादीले चलाएको सवारीबाट रोचक मास्के चढेको स्कूटरलाई ठक्कर लागी निजको मृत्यु हुन गएको कुरालाई प्रतिवादीले स्वीकार गरेको र मिसिल संलग्न प्रमाणबाट समेत मानिस मर्नसक्ने सम्भावना नदेखिएको परिस्थितिमा मृत्यु हुन गएको देखिएकाले प्रतिवादी ईन्द्रप्रसाद खनाललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम रु.२,०००।मात्र जरीवाना र तीन महिना कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको मिति २०६३।११।१३ को फैसला 

            घटनास्थलमा देखिएको गाडीको ब्रेकको डामले गाडीको अत्याधिक गतिलाई संकेत गर्दछ । मादकपदार्थ सेवन गरी सवारी चलाई विपरीत साइडमा गई रोचक मास्केलाई ठक्कर दिई सोही कारणबाट निजको ज्यान बच्न सक्ने प्रयाप्त अवस्था हुँदाहुँदै प्रतिवादीले चलाएको सवारीको ठक्करबाट निजको मृत्यु भएको देखिन आएको छ । तसर्थ, शुरु अदालतको फैसला उल्टी गरी अभियोग मागदावी बमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र 

            यसमा आफ्नो साइडमा गइरहेको स्कूटरलाई प्रतिवादीले चलाएको जीपले ठक्कर दिई स्कूटर चालकको मृत्यु भएको देखिएको अवस्थामा प्रतिवादीलाई कम सजाय गर्ने ठहराई शुरुबाट भएको फैसला फरक पर्नसक्ने देखिँदा छलफलको लागि प्रत्यर्थी झिकाई आएपछि वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०६४।८।१८ गतेको आदेश 

            मिसिल संलग्न लाशप्रकृति मुचुल्का र प्रतिवादीको बयान समेतका आधारबाट प्रतिवादीले चलाएको जीपले ठक्कर दिई रोचक मास्केको मृत्यु भएको कुरा प्रष्ट हुन्छ । प्रतिवादीले अदालतमा बयान गर्दा गाडीको गति ३५ कि.मी प्रतिघण्टा भएको स्वीकार गरेका छन् । मिति २०६३।७।७ मा दिएको डाक्टरको प्रतिवेदनमा निजले रक्सी सेवन गरे तापनि पूर्णहोसमा रहेको जानकारी गराउँदछु भनी उल्लेख भएको पाइन्छ । मानिसहरुको हुल भएको ठाउँमा मादक पदार्थ सेवन गरी ३५ कि.मी. प्रतिघण्टको गतिमा सवारी चलाई गलत साइडमा सवारी लगी स्कूटरलाई ठक्कर दिई दुर्घटना भएको र सोही दुर्घटनाको कारणबाट स्कूटर चालकको मृत्यु भएको अवस्थामा सवारी चालकको लापरवाही थिएन भन्न मिलेन । चालकले गलत साइडमा जीप लानुपर्ने बाध्यात्मक स्थिति परेको, होशपूर्वक गाडी चलाएकोले शुरु फैसला सदर हुनुपर्छ भन्ने पुनरावेदक पक्षबाट प्रस्तुत भएको बहससँग सहमत हुन सकिएन । शुरु रुपन्देही जिल्ला अदालतबाट मिति २०६३।११।१३ गते भएको फैसला केही उल्टी भई प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम दुई वर्ष कैद सजाय हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको मिति २०६४।११।६ को फैसला 

            म पुनरावेदकले होसियारीपूर्वक चलाएको गाडीले ठक्कर दिएको कारणबाट दुर्घटना हुनगएको र शुरु रुपन्देही जिल्ला अदालतबाट सोहीबमोजिमको सजाय गरिएकोमा सो सजाय भुक्तान गरी बस्नुलाई थप अपराध स्वीकार गरी बसेको भनी अनुमान र तर्क गर्न मिल्दैन । गाडीको गति ३५ कि.मी. प्रतिघण्टा भएको भनी स्वीकार गरेको कारण जघन्य अपराध गरेको भनी अर्थ गरी मलाई थप सजाय गरिएको उपर्युक्त फैसला कानूनसम्मत छैन । मिति २०६३।७।७ मा दुर्घटनापश्चात् ईलाका प्रहरी कार्यालय, बुटवलमा म हाजिर भएपछि भीम हस्पिटलबाट तयार गरिएको प्रतिवेदनमा मैले मादक पदार्थ सेवन नगरेको भन्ने स्पष्ट उल्लेख भएको छ । प्रहरी प्रशासनको प्रभावबाट पछि तयार गरिएको दोस्रो प्रतिवेदनमा मादक पदार्थ सेवन गरेको भएतापनि पूर्ण होसमा रहेको भन्ने प्रतिवेदन बनाई मिसिल सामेल गरिएकोले दोस्रो प्रतिवेदन निष्पक्ष र शंकारहित छैन । भीम अस्पतालका डाक्टरको प्रतिवेदनलाई इन्कार गरी सो सम्बन्धमा एक शब्द पनि उल्लेख नगरी, पछि तयार गरिएको दोस्रो प्रतिवेदनलाई आधार मानी मलाई दुई वर्ष कैद गर्नेगरी गरिएको पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण छ । भैले खेल्ने केटाकेटीहरुलाई बचाई गाडी अगाडि लैजाने क्रममा केही दायाँ साइडमा लैजानै पर्ने बाध्यता परेको कारण मैले केही साइड मिची गाडी अगाडि निकाल्दा स्कूटर चालकहरु तीव्र गतिमा आएकाले मैले चलाएको गाडीमा ठोक्किन गई सोही स्कूटरका चालक तथा पछाडि बस्ने व्यक्ति अचानक उछिट्टिन गएको अवस्थामा शुरुले गरेको तीन महिना कैद र रु.२,०००।जरीवानाको फैसला उल्टी गरी दुई वर्ष कैद गरेको पुनरावेदन अदालत बुटवलको मिति २०६४।११।०६ को फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी शुरु रुपन्देही जिल्ला अदालतको फैसला सदर कायम गरिपाऊँ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र 

            यसमा जाहेरवालाले अदालतमा गरेको बकपत्र तथा प्रतिवादीले अदालतमा गरेको बयान समेतबाट प्रतिवादीले लापरवाही गरेको कारण दुर्घटना गरेको भन्ने कुरा यकीन रुपले पुष्टि हुन नसकेको अवस्थामा पुनरावेदक÷प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) अनुसार दुई वर्ष कैद गर्ने गरेको पुनरावेदन अदालत बुटवलको फैसला प्रमाण मूल्याङ्कनको परिप्रेक्ष्यमा फरक पर्नसक्ने हुँदा छलफलको लागि पेसीको सूचना महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।७।१८ को आदेश 

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विपक्षी नेपाल सरकारको तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री किरण पौडेलले वहस प्रस्तुत गर्नुभयो 

पुनरावेदकका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भू थापाले यी पुनरावेदकले चलाएको लु.१च २३५६ को जीपले मिति २०६३।७।७ गते साँझको समयमा लु.४प ३७४ नं. को स्कूटरलाई ठक्कर दिँदा स्कूटरमा सवार रोचक मास्के समेत घाइते भई निजको उपचारको क्रममा मृत्यु भएको हो । यी पुनरावेदकले होशियारीपूर्वक सवारी चलाएको हो । लापरवाहीपूर्वक गाडी चलाएको होइन । दुर्घटना भएको समयमा जीपको गति प्रतिघण्टा सामान्य ३५ कि.मी. मात्र रहेको छ । निजले सो समयमा मादक पदार्थ सेवन नगरेको मिसिलबाट देखिन्छ । तिहारको चाडवाडको समयमा सडकमा बच्चाहरु खेलिरहेको देखी तिनहरुलाई जोगाउनको लागि अर्को साइडमा होशियारीपूर्वक लाँदा आकस्मिक रुपमा मृतक सवार भएको स्कूटर अगाडि आएकोले ठक्कर लाग्न गएको हो । मृतकको तत्काल मृत्यु भएको पनि होइन । सोही जीपमा सवार रहेका प्रेम खत्रीले जीपको गति कम थियो, भैलो खेल्ने केटाकेटीलाई जोगाउन खोज्दा ठक्कर लाग्न गएको भनी अदालतमा बकपत्र गरेका छन् । अदालतमा बकपत्र गर्ने तारा गहतराजले चालकले हर्न बजाएको, साइडलाईट दिएको, गाडीको ब्रेक लगाउँदा लगाउँदै ठक्कर लाग्न गएको हो, चालकको लापरवाही थिएन भनी लेखाएका छन् । गाडी तीव्र गतिमा थिएन, केटाकेटीलाई बचाउन अर्को साइडमा लगेको र ब्रेक लगाउँदा लगाउँदै ठक्कर लाग्न गएकोले लापरवाही गरेको होइन । लापरवाही भएको अवस्थामा मात्रै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय हुनेमा शुरु जिल्ला अदालतले तथ्यको सही विश्लेषण गरी उक्त ऐनको दफा १६१(३) बमोजिम सजाय गरेको फैसला नै कायम गरी पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो 

            विपक्षी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री किरण पौडेलले यी पुनरावेदकले चलाएको गाडीले अर्को साइडमा गएर मृतकको स्कूटरलाई ठक्कर दिएकोमा विवाद छैन । साँझको समयमा तिहारको चाडवाड चलिरहेको बेलामा शहरको मध्यभागमा प्रतिघण्टा ३५ कि.मी. को गतिमा जीप कुदाएकोलाई कम गतिको भन्न मिल्दैन । सो स्थानमा प्रतिघण्टा ३५ कि.मि. को गतिमा जीप जस्तो सानो गाडी कुदाउँदा मानिसलाई ठक्कर लाग्नसक्छ र मानिसको मृत्यु हुनसक्छ भनी साधारण समझ भएको जोसुकैले बुझ्नसक्ने कुरा हो । यी पुनरावेदकले जानीजानी अनुचित जोखिम लिएको र त्यसको परिणामस्वरुप मानिसको मृत्यु भएको कार्यलाई लापरवाही मान्नुपर्ने भएको हुँदा पुनरावेदन अदालतले शुरुको फैसलालाई उल्टी गरेको हो । यी पुनरावेदकले मादकपदार्थ सेवन गरी गाडी चलाएको भन्ने निजको स्वास्थ्य परीक्षण प्रतिवेदनले देखाएको छ । यस्तो अवस्थामा पुनरावेदन अदालतको फैसला मनासिब नै भएको हुँदा सदर हुनुपर्छ भन्ने समेत बहस जिकीर प्रस्तुत गर्नुभयो 

            प्रस्तुत मिसिलको अध्ययन गरी दुवैपक्षबाट प्रस्तुत भएका बहस जिकीर समेत सुनी विचार गर्दा पुनरावेदन अदालत बुटवलको मिति २०६४।११।६ को फैसला मिलेको छ, छैन र प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो 

            २. निर्णयतर्फ विचार गर्दा प्रतिवादी ईन्द्रप्रसाद खनालले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा, १६१(२) को बर्खिलाप सवारी चलाई जाहेरवालाको छोरालाई ठक्कर दिई मृतकको मृत्यु हुन गएको हुँदा निजलाई ऐ. ऐनको दफा १६१(२) बमोजिम हदैसम्मको सजायको माग दावी लिई अभियोग पत्र दायर भएको देखिन्छ । शुरु जिल्ला अदालतले प्रतिवादीले जानीजानी वा लापरवाहीसँग सवारी चलाएको कारणबाट मृतकको मृत्यु हुन गएको नदेखिएकोले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को अभियोग दावी नपुग्ने तर प्रतिवादीले चलाएको सवारीबाट मृतक चढेको स्कूटरलाई ठक्कर लागी मृतक मर्नसक्ने सम्भावना नदेखिएको अवस्था र परिस्थितिमा मृतकको मृत्यु हुन गएको देखिएको भन्ने आधारमा यी प्रतिवादीलाई उक्त ऐनको दफा १६१(३) बमोजिम रु.२,०००।जरीवाना र तीन महीना कैद हुने ठहर गरेको देखिन्छ । उक्त फैसलाउपर वादीको पुनरावेदन परेकोमा पुनरावेदन अदालतले शुरुको फैसलालाई केही उल्टी गरी उक्त ऐनको दफा १६१(२) अर्थात् अभियोग मागदावीबमोजिम यी प्रतिवादीलाई गरेको सजायउपर निजको यस अदालतमा प्रस्तुत पुनरावेदन परी निर्णयार्थ पेश भएको देखिन्छ 

            ३. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ मा सवारी चलाउँदा ज्यान मरेमा हुने सजायसम्बन्धमा व्यवस्था गरिएको देखिन्छ । उक्त दफाको उपदफा १ देखि ३ सम्मका विभिन्न उपदफाहरुमा सोसम्बन्धी कसूरका विभिन्न फरकफरक तत्वहरुको आधारमा फरकफरक आपराधिक दायित्वको निर्धारण हुने र सजाय हुने व्यवस्था गरिएको देखिन्छ । यी तीनवटै अवस्थामा आपराधिक कार्य र परिणामका दृष्टिले भिन्नता नभएपनि अपराधको एउटा महत्वपूर्ण तत्वको रुपमा रहेको आपराधिक मनसाय तत्व (Mens rea) का विभिन्न तह (Degree) को आधारमा फरकफरक आपराधिक दायित्व र सजायको निर्धारण गरिएको पाइन्छ । आपराधिक मनसाय तत्वको रुपमा रहने नियत (Mens rea) का विभिन्न तीन तह हुनसक्ने उक्त दफाले उल्लेख गरेको देखिन्छ 

४. दफा १६१ को उपदफा (१) मा गरिएको कानूनी व्यवस्था हेर्दा कसैको ज्यान मार्ने मनसायपूर्वक चलाएको सवारीबाट ज्यान मरेकोलाई हत्याको अपराधको रुपमा परिभाषित गरिएको पाइन्छ । यसरी कसैको ज्यानै मार्ने आपराधिक मनसाय (Criminal Intention) ले कुनै व्यक्तिले सवारी साधनको प्रयोग गरेको अवस्थालाई यो उपदफाले हत्या सरहको अपराध मानी निषेध गरेको छ । मनसाय तत्वभित्र त्यस्तो अपराध गर्न चाहने व्यक्तिले उसको कार्यबाट हुने आपराधिक परिणाम अपराध गर्दा वा सो गर्नुपूर्व नै सामान्य समझको व्यक्तिले अनुमान गर्नसक्ने वा इच्छित परिणाम (Predictable result) को पूर्वज्ञान भएको र त्यस्तो परिणामको अपेक्षा (Willingness of the expected result) गरेको हुन्छ । यसरी यस्तो आपराधिक कार्य परिणामको पूर्वज्ञान र इच्छा भएकोलाई आपराधिक मनसाय तत्वको उच्चतम् तह (Highest Degree of Mens rea) को रुपमा लिइन्छ । कुनै सवारी चालकले कसैलाई नियतपूर्वक ठक्कर दिई मानिसको ज्यान मर्न गएको अवस्थामा सो सवारी साधन ज्यान मार्न प्रयोग गरिएको साधनको रुपमा रहने र त्यस्तो कार्यलाई अचानक भएको दुर्घटना (Accident) मान्न नसकिने हुनाले कानूनले यस्तो प्रकृतिको कार्यलाई मनसायपूर्वक गरिएको आपराधिक कार्यको रुपमा परिभाषित गरेको हो 

            ५. मनसाय तत्वको दोस्रो तहको रुपमा लापरवाही (Recklessness) लाई उक्त दफाको उपदफा (२) मा व्यवस्था गरिएको देखिन्छ । यसमा अपराधको लागि चाहिने मनसाय तत्वको रुपमा लापरवाही (Recklessness) स्थापित गर्न प्रतिवादीलाई घटना घटाएको समयमा त्यस्तो निषेध गरिएको परिणाम अर्थात मानिस मर्न सक्छ भन्ने कुराको जानकारी भएको हुनुपर्ने हुन्छ । त्यस्तो परिणामको पूर्वज्ञान भएको तर त्यस्तो परिणामको अपेक्षा गरेको थिएन भन्ने तथ्य स्थापित हुनुपर्दछ । अझै, लापरवाहीको अवस्थामा पनि प्रतिवादीले परिणामको अपेक्षा नगर्ने मात्रै नभई सो परिणाम नआओस् भन्ने इन्छा समेत राखेको हुन्छ । तर सम्भावित परिणामप्रति जानकार हुँदाहुँदै, परिणामको चाहना नगर्दा नगर्दै पनि उसले आफ्नो कार्यलाई निरन्तरता दिन अनुचित जोखिम लिन्छ र आपराधिक घटना घट्न पुग्दछ । मनसाय तत्वको रुपमा लापरवाहीको यस्तो अवस्थालाई आपराधिक मनसायको दोस्रो तहमा राखिएको छ । यस्तोमा पहिलो अवस्थाको भन्दा कम फौजदारी दायित्व बहन गराउने आधार प्रतिवादीमा परिणामको इच्छा नहुनु नै हो । तर तुलनात्मक रुपमा हेलचेक्र्याईँ (Negligence) भन्दा बढी आपराधिक दायित्व बहन गराउने आधार वारदातका सम्बन्धमा प्रतिवादीमा रहेको परिणामको पूर्वज्ञान हो 

            ६. मनसाय तत्वको तेस्रो र तल्लो तहको रुपमा उक्त दफा १६१ को उपदफा (३) मा हेलचेक्र्याईँ (Negligence) लाई राखिएको देखिन्छ । अपराधको मनसाय तत्वको रुपमा हेलचेक्र्याईँमा प्रतिवादीलाई परिणामको पूर्वज्ञान र परिणामको इच्छा दुवै हुँदैन । तर प्रतिवादीबाट हुन गएको कार्य सामान्य समझ भएको व्यक्तिले त्यस्तै अवस्थामा गर्ने वा गर्नुपर्ने कार्यको सामान्य स्तरभन्दा निम्नस्तरको हुन्छ र त्यसको परिणाममा कुनै घटना घट्न पुग्दछ । हेलचेक्र्याईँ समाजले सामान्य रुपले अपेक्षा गरेको स्तरभन्दा तल्लो स्तरबाट गरिएको कार्य हो । यो एउटा बेपर्वाह अवस्था हो । यसमा आपराधिक मनसाय र लापरवाहीमा विद्यमान रहेका कुनै पनि तत्वको विद्यमानता नरहने हुनाले यसलाई न्यूनतम् आपराधिक दायित्व बहन गर्ने कसूरको रुपमा कानूनी व्यवस्था गरिएको पाइन्छ । कतिपय अवस्थामा पूर्ण सचेत रही, होशियारीकासाथ कुनै काम गर्दा पनि निषेधित परिणाम आउन सक्दछ । यस्तो अवस्थालाई रोक्न नसकिने दुर्घटना (Unavoidable Accident) को रुपमा लिई त्यस्तो कार्य गर्ने व्यक्तिमा आपराधिक मनसाय तत्वको पूर्ण अभावको कारणले त्यस्तो व्यक्तिलाई दोषी (Blameworthy) को रुपमा लिइँदैन 

            ७. सापेक्षित अपराध (Relative Crime) मा आपराधिकताको (Blameworthiness) निर्धारण अपराधका सन्दर्भमा प्रतिवादीमा रहेको मनसाय तत्व (Mens rea) ले गर्ने गर्दछ । त्यस्तो अपराधका विभिन्न तहहरु हुने भएकोले कुनै खास वारदातका प्रतिवादीले कुन आधारमा कुन हदसम्म आपराधिक दायित्ववहन गर्नुपर्ने हो भन्ने निक्र्यौल गर्न वारदात घटाउन निजमा विद्यमान मनसाय तत्वलाई पहिचान र त्यसको स्तर (Degree) को निर्धारण गर्नु अनिवार्य हुन जान्छ 

            ८. प्रस्तुत मुद्दामा अभियोजनपक्षले यी प्रतिवादीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को कसूर गरेको भनी अभियोग दावी लिई अभियोगपत्र दायर गरेकोमा शुरु जिल्ला अदालतले प्रतिवादीले गरेको कार्यलाई मागदावीको अभियोगभन्दा तलको कम आपराधिक दायित्वको स्तरमा अथवा हलुका आपराधिक कार्य अर्थात् दावीभन्दा हलुका कसूरको रुपमा लिई दफा १६१(३) बमोजिमको कसूर निर्धारण गरी सोहीबमोजिम सजाय गरेको देखिएको छ । त्यसउपर परेको वादी नेपाल सरकारको पुनरावेदनमा माग दावीबमोजिम पुनरावेदन अदालतबाट कसूर ठहर भएउपर प्रस्तुत पुनरावेदन परेको हो । यस्तोमा यी प्रतिवादीले चलाएको जीपले मृतक समेत चढेको स्कूटरलाई ठक्कर दिई मृतकको मृत्यु हुन गएको कार्य यी प्रतिवादीको लापरवाहीपूर्ण कार्यको परिणाम हो होइन भनी निर्णय गर्नुपर्ने भएको छ 

९. जिल्ला अदालतबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (३) को कसूर र सजाय निर्धारण गरी भएको फैसलाउपर प्रतिवादीको पुनरावेदन परेको छैन । यसको अतिरिक्त प्रतिवादीले चलाएको लु. १ च २३५६ नं. को जीप विपरीत दिशाबाट आएको लु.४प ३७४ नं. को स्कूटरसँग ठोक्किएको तथ्य स्वीकार गरी प्रतिवादीले अदालतमा गरेको वयान समेतबाट देखिँदा उल्लिखित मिति र समयमा वारदात भएकोमा विवाद रहेन । यी प्रतिवादीले अदालतमा बयान गर्दा वारदातको समयमा गाडीको गति प्रतिघण्टा ३५ कि.मी. भएको भनी आफैँले स्वीकार गरेको देखिन्छ । उक्त घटना बुटवल नगरपालिका वडा नं. ५, नाङ्गलो रेष्टुरेण्टदेखि दक्षिण सडकमा भएको र घटनाको समयमा सडकमा केटाकेटीहरु भैलो खेलिरहेको भन्ने समेत देखिएबाट बाटोमा धेरै मानिसहरुको उपस्थिति र साँझको समयमा परम्परागत भैलो खेल्ने समेत गरिरहेको समयमा नगरभित्रको क्षेत्रमा उक्त गति सामान्य नभई अत्यधिक नै देखियो । यसका अतिरिक्त मिति २०६३।७।७ मा रुपन्देही भैरहवास्थित भीम अस्पतालका डाक्टरले यी प्रतिवादीको शारीरिक अवस्थाको परीक्षण गरी दिएको प्रतिवेदनबाट यी प्रतिवादीले रक्सी सेवन गरी सवारी चलाएको देखिन आउँछ । यसमा विवाद छैन । सवारी साधनले मानिसलाई ठक्कर दिएमा मानिसको मृत्यु हुनसक्ने र शहरभित्र परम्परागत पर्व र उत्सव मनाइरहेको अवस्थामा मानिसको हुल भएको साँझको, समयमा मादकपदार्थ सेवन गरी प्रतिघण्टा ३५ कि.मि. को गतिले गाडी चलाउँदा मानिसलाई ठक्कर लाग्न सक्ने र त्यसबाट मानिस मर्न सक्ने भन्ने कुरा सामान्य समझ भएको मानिसले जान्ने र बुझ्ने कुरा हो 

१०. यी प्रतिवादी सवारी साधन चलाउने अनुमतिप्राप्त व्यक्ति भएको र सवारी चलाउने अनुभवप्राप्त व्यक्ति पनि भएकोले निजले ट्राफिक नियम, संकेतहरु र तत्कालीन अवस्था र परिस्थितिको बारेमा स्वाभाविक रुपमा जानकारी राख्ने व्यक्ति भएकोले निज आपूmले त्यस्तो बेलामा मादक पदार्थ सेवन गरी त्यस गतिमा चलाएको सवारीबाट त्यस्तो परिणाम हुन सक्ने जानकारी भएको व्यक्ति हुन् भनी मान्नु पर्ने हुन्छ । यस्तो अवस्थामा पूर्ण होशियारीकासाथ नियन्त्रित गतिमा सावधानीपूर्वक सवारी चलाउनु निजको दायित्व हो । आफ्नो यस दायित्व पूरा नगरी आवश्यक सावधानी नअपनाई आवश्यकताभन्दा बढी गतिमा र मादक पदार्थ सेवन गरी सवारी चलाएबाट निजले लापरवाहीपूर्वक सवारी चलाएको देखिन आउँछ । त्यसमा पनि यी प्रतिवादीले आपूmले चलाएको जीप गलत साइडमा लगी स्कूटरलाई ठक्कर दिएको र सोही कारणले मानिसको मृत्यु हुन गएको देखिएबाट निजले चलाएको सवारीको गति माथि नियन्त्रण कायम गर्न नसकी लापरवाहीपूर्वक गाडी चलाएको थप पुष्टि हुन आएको छ । यस अवस्थामा चालकले बाध्यात्मक परिस्थितिमा गलत साइडमा गाडी लानु परेको, पूर्ण होशियारीकासाथ गाडी चलाएको र ब्रेक लगाउँदालगाउँदै दुर्घटना हुन पुगेकोले प्रतिवादीलाई कम सजाय हुनुपर्छ भन्ने पुनरावेदकका पक्षबाट प्रस्तुत विद्वान वरिष्ठ अधिवक्ता समेतको बहस जिकीरसँग सहमत हुन सकिएन 

            ११. तसर्थ, उल्लिखित विवेचित आधार र कारणबाट शुरु रुपन्देही जिल्ला अदालतबाट मिति २०६३।११।१३ मा गरेको फैसला केही उल्टी गरी प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिमको कसूर ठहर गरी निजलाई दुई वर्ष कैद सजाय हुने ठहराएको पुनरावेदन अदालत वुटवलको मिति २०६४।११।६ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू 

 

उक्त रायमा सहमत छु 

 

न्या.तर्कराज भटृ

 

इति संवत् २०६७ साल चैत २४ गते रोज ५ शुभम

इजलास अधिकृत : श्रीप्रकाश उप्रेती

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु