निर्णय नं. २५१७ - उत्प्रेषण

निर्णय नं. २५१७ ने.का.प. २०४२ अङ्क १०
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको रि.नं. १३४०
विषय : उत्प्रेषण ।
निवेदक :जि.महोत्तरी, महोत्तरी गा.पं.वार्ड नं.१ बस्ने सकुर धोवी ।
विरुद्ध
विपक्षी :भू.सु.कार्यालय महोत्तरी ।
जि.महोत्तरी सिगाना गा.पं.वार्ड नं.२ राम जानकी मन्दिर र र संक्षर मत्रवाने मन्दीरका पूजारी रामचन्द्र झा ।
ऐ. बस्ने राम छविल पाण्डे ।
आदेश भएको मिति:२०४२।९।९।३ मा
मोहीको मृत्युपछि भू.सं.ऐन, २०२१ को दफा २६(१) बमोजिमको प्रकृया अपनाई निवेदक मोही भएको भन्ने निवेदकको भनाई देखिँदैन मोहियानी हक कायम भएपछि मात्र मोहीको प्रमाणपत्रको दावी गर्ने निवेदकको हक दैया हुने हो । त्यसको अभावमा रिटनिवेदकलाई मोहीको निस्साको दावी गर्ने हकदैया नहुने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे
विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री वलिराम कुमार र विद्वान अधिवक्ता श्री कुन्जविहारी प्रसाद सिंह
उल्लेखित मुद्दाःX
आदेश
न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त विवरण तथा रिट निवेदकको निवेदन जिकिर निम्न प्रकार छन् ।
२. जि.महोत्तरी अलिपाटी पर्सा गा.पं.अन्तर्गत वार्ड नं.५ को कि.नं.८४ को ज.वि.०–७–१८ ऐ. ऐ. को कि.नं.१०१ को जग्गा ०–३–१ र ऐ. ऐ. को कि.नं.९३ को जग्गा ०–२–१ समेत जम्मा ०–१३–० तत्कालिन जग्गाधनी रामछविला पाण्डे र किशोरी पाण्डेको समय देखि अर्थात ०२३ साल भन्दा पहिलेदेखि नै मेरा स्व.निर्सल धोवीले मोही भई कमाई आएकोमा हाल सो जग्गा राम जानकी शंकर भगवानका नाममा निज किशोरी पाण्डे र रामछविला पाण्डेले मिति २०२४।१।१३।४ मा दानपत्र गरी महोत्तरी मालबाट पास गराई रामछविला पाण्डे आफू संरक्षक पुजारी बनी विपक्षी मध्ये रामचन्द्र झालाई पुजारीमा नियुक्त गर्नु भयो । यसप्रकारले दानपत्र भएपछि पनि मेरा पिताजीले नै सो जग्गाको खेती गरी मोहीको हैसियतले बुझाउन पर्ने कुत निज रामचन्द्र झालाई नै बुझाई आउनु भयो तर निज रामचन्द्र झाले आलटाल गरी सो कुत बुझे बापत मेरा पिताजीलाई भर्पाई दिनु भएन । सो जग्गाको मोहीको हैसियतले २ नं.अनुसूचीमा लगत प्रकाशन र ४ नं.जो.अ.नि.मेरो पिताजीको नाममा तयार भएको छ । पिताजीको मृत्युपछि विपक्षीहरूलाई कुत बुझाउन जाँदा नबुझेकोले भू.सं.२०२१ को दफा ३६(२) अनुसार विपक्षी भू.सु.कार्यालयमा आएसम्म रु. २६००।– राखी आएको छु । सो जग्गा मोही भई कमाई आएको हुँदा मोही नामसारी गरी मो.प्र.पत्र प्राप्त गर्न ०३६ पौषमा विपक्षी कार्यालयमा निवेदन दिंदा गा.पं.सिफारिश बमोजिम जग्गाको चौहद्धी नभिड्ने निर्सन धोबीको मृत्यु कहिले भएको हो यकीन हुन नसकेको साथै मृत्यु दर्ता प्रमाणपत्र पेश हुन नसकेको रामछविला पाण्डे र किशोरी पाण्डेको नामबाट जानकी शंकर भगवानको नाममा गएको मिसिल प्रमाणबाट देखिएको साविक ज.ध.र हालको ज.ध.को कबूलियत र भर्पाई वादीले पेश गर्न नसकेको समेतका आधारबाट मिति ०४१।३।२७ मा विपक्षी कार्यालयबाट मोहीको प्रमाणपत्र नपाउने ठहराइयो ।
३. उक्त निर्णय गर्दा नयाँ नापी बमोजिम कायम भएको लगत हेरिएन । जग्गाको विषयमा दानपत्र गरिनु अघि गा.पं.को सिफारिशमा ३ विगहा दावी गरेको ०–१३–० भित्र नै पर्दछ । बुझ्नु पर्ने प्रमाण नबुझी अ.बं.१८४(क) र प्रमाण ऐन, २०३१ को दफा ३ समेत विपरीत भई त्रुटिपूर्ण छ । साथै न्यायिक मनको प्रयोग भएन । भू.सु.ऐन, २०२१ लागू हुनु अघि अनिवार्य रुपले लेखाउन वा लेखाई लिने चलन थिएन । भू.सु.ऐन, २०२१ को दफा ३४(१) मा कबूलियत पञ्चायतमा दाखेल हुनुपर्छ भन्ने छ स्थानीय पञ्चायतले कुन जग्गामा कसले मोही भई कमाएको हो त्यस सम्बन्धमा दिएको लगत नै अन्तिम हुने यस दफाको मनसाय हो प्रष्ट प्रमाणलाई हेरिएन । अतः यसप्रकार मोही प्रमाणपत्र नदिने गरेको निर्णय बाट प्राप्त संविधानको धारा ११(२)(ङ) र १५ हक हनन् भएकोले अन्य उपचार नहुँदा धारा १६।७१ अन्तर्गतको उत्प्रेषण तथा परमादेशको आदेश जारी गरिपाउँ भन्ने व्यहोराको रिट निवेदन जिकिर ।
४. यसमा के कसो भएको हो विपक्षी कार्यालय समेतबाट लिखिन जवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत सिंगल बेञ्जको मिति ०४१।५।१८।२ को आदेश रहेछ ।
५. कार्यालयमा रहेको श्रेस्ता बमोजिम निज रिट निवेदकले ४ नं.जो.अ.नि.पेश गरेको चौहद्धी अनुसारको जग्गा भिडेको तर साविक ज.ध.किशोरी पाण्डेले शंकर भगवानज्यूको नाममा दान बक्स रजिष्ट्रेशन गरिदिएको चौहद्धी र गा.पं.को प्र.पं.ले गरिदिएको सिफारिश पत्रअनुसार ४ नं.जो.अ.नि.को चौहद्धीमा समेत फरक परेको र शुरुदेखि हालसम्म जग्गा कमाएको र बाली बुझाएको भर्पाई समेत पेश गर्न नसकेको र हाल सर्भे नापी भई कायम भएको फिल्डबुकको चौहद्धी तथा अन्य प्रमाण समेतबाट फरक परेको हुँदा यस्तो स्थितिमा रिट निवेदक मोही हो भनी भन्न नमिल्ने हुँदा अधिकार प्राप्त अधिकारीबाट सबूद प्रमाणको मूल्यांकन गरी कानुन बमोजिम भएको निर्णयबाट रिट निवेदकको कुनै कानुनी तथा संवैधानिक हक हनन् भएको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.कार्यालय महोत्तरीको लिखिन जवाफ रहेछ ।
६. आ–आफ्नो परिवारको सम्पत्तिबाट बाजे तथा बजैको ६–६–२ विर्ता जग्गामा २०१० सालमा श्री राम जानकी र श्री शंकर भगवानको २ वटा मन्दिर बनाई पूजाआजा गर्दै आएकोमा उक्त जग्गा २०२३ साल चैत्रमा श्री राम जानकी श्री शंकर भगवानका नाउँमा दान गरी दियौं । उक्त मन्दिरको पुजारीमा रामचन्द्र झा र संरक्षकमा म रामछविला पाण्डे भई नापी हुँदा भगवानको नाउँमा ज.ध.प्र.पूर्जा प्राप्त भयो र मोही रमाकान्त ठाकुर ब्राहृमण भएकोले मोही महलमा उल्लेख भयो विपक्षी रिट निवेदक मोही नहुँदा निजको नाउँ उल्लेख छैन । साथै भू.सु.लागू हुँदा १ नं.भर्पाई ४ नं.जो.अ.नि.पाउनु भएको छैन र २ नं.अनुसूची कहाँ र कुन मितिमा कसको नाउँमा प्रकाशित भयो केही भन्नु भएको छैन । मोही भएको भए सर्भेमा आफ्ना नाउँ गराउनु पर्ने सो गराउनु भएन । जग्गा जोत आवाद गराएको भए साल सालै हामीलाई कुत बुझाई भर्पाई लिनुपर्ने सो पनि छैन । निर्सन धोवीको कुन मितिमा मृत्यु भएको यकीन हुन नसकेको र मृतक निर्सन धोवीको हक खाने छोराको यकीनसम्म छैन । यस्तो स्थितिमा अधिकार प्राप्त भू.सु.अधिकारीले आफ्नो अधिकारक्षेत्रभित्र रही सबूद प्रमाणको मूल्यांकन गरी न्यायिक मनको प्रायोग गरी गरेको फैसला र हुनुपर्ने होइन । विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी रामछविला पाण्डे र म रामचन्द्र झा को संयुक्त लिखिन जवाफ रहेछ ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत निर्णयमा तारेखमा रहेका पक्ष विपक्षलाई पटक–पटक बोलाउन लगाउँदा समेत उपस्थित नभएका। रिट निवेदक तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे, विपक्षी भू.सु.कार्यालयको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान सह–न्यायाधीवक्ता श्री बलिरामकुमार र प्रत्यर्थी रामचन्द्र झा तथा रामछविला पाण्डेको तर्फबाट बहसको लागि उपस्थित हुनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंहले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
८. प्रस्तुत विषयमा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
९. यस्ता विवादित महोत्तरी जि.अलिपठ्ठी गा.पं.वार्ड नं.को कि.नं.८४ को ज.वि.०–७–१८ ऐ.ऐ. वार्ड नं. को कि.नं.१०१ को ०–३–१ र ऐ.ऐ. कि.नं. ९३ को ०–२–१ समेत जम्मा ज.वि.०–१३–० जग्गामा भू.सु.ऐन, २०२१ लागू हुनुअघि देखि नै पिता निर्सन धोबीले कमाई आउनु भएकोमा निजको मृत्युपछि म निवेदक छोरा हुँदा उक्त जग्गा कमाई आएको र भू.सं.ऐन, २०२१ को दफा २५(१)(२) बमोजिम मोही भएकोमा भू.सु कार्यालयले ०४१।३।२७ मा मोही नठहर्ने गरी गरेको निर्णयबाट संविधान प्रदत्त हक अधिकारमा बाधा पुगेको हुँदा उपयुक्त आदेश जारी गरी भू.सु.का.को निर्णय बदर गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर भएको पाइन्छ । मोहीको मृत्युपछि भू.सं.ऐन, २०२१ को दफा २६(१) बमोजिमको प्रकृया अपनाई निवेदक मोही भएको भन्ने निवेदकको भनाई देखिँदैन । मोहियानी हक कायम भएपछि मात्र मोहीको प्रमाणपत्रको दावी गर्न निवेदकको हकदैया हुने हो । त्यसको अभावमा रिट निवेदकलाई मोहीको निस्साको दावी गर्ने हकदैया नहुने हुँदा अधिकार प्राप्त भू.सु. अधिकारीले कानुन बमोजिम गरेको निर्णयमा कुनै पनि कानुनी त्रुटि नदेखिएकोले प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल पौष ९ गते रोज ३ शुभम् ।