निर्णय नं. २५१९ - डाँका

निर्णय नं. २५१९ ने.का.प. २०४२ अङ्क १०
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको फौ.पु.नं. ६०२
मुद्दा : डाँका ।
पुनरावेदक/प्रतिवादी:सर्लाही जिल्ला त्रिभुवन नगर गाउँ.पंचायत वडा नं.५ मा घर भई हाल सर्लाही कारागारमा थुनामा बस्ने शिव शंकर भन्ने झामलाल बीन ।
विरुद्ध
विपक्षी/वादी:जिल्ला सर्लाही त्रिभुवन नगर गा.पं.वडा नं.६ बस्ने देवनारायण शाह तेलीको जाहेरीले श्री ५ को सरकार।
फैसला भएको मिति:२०४२।६।२८।२ मा
प्रमाण ऐनको दफा ९(२) को व्यवस्थाले प्रहरी समक्ष भएको कागजलाई प्रमाण लिन सकिने अवस्था देखिएमा बाहेक अन्य अवस्थामा सही र स्वतन्त्र रुपमा भएको छ भन्ने अनुमान गर्न मिल्ने देखिन्न ।
(प्रकरण नं. १६)
पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
विपक्षी, वादी तर्फबाट:विद्वान का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी
उल्लेखित मुद्दाःX
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यमाञ्चाल क्षेत्रीय अदालतले गरेको फैसला उपर प्रतिवादी शिवशंकर भन्ने झामलाल बीनको पुनरावेदन परिआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : मिति २०३८।३।२१ का रात सुती निदाएको बखत चिनेका रामनरेश बीन, सानेलाल, शिवशंकर भन्ने झामलाल, मुनेश्वर दीन, विलाश बीन र नचिनेका डाँकाहरू आई घर भित्र पसी ढोका खोली कुटपीट गरी सुन चाँदी र भा.रु. १८,०००।– समेत डाँका गरी लगेको र बेनी फुलोलाई कुटपीट गरेकोले उपचार गराउन भारत पठाएको छु । डाँकाहरूलाई पक्राउ गरी डाँका गरी लगेको धनमालको बिगो रु. १,३२,७२५।५० दिलाई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको देवनारायणको जाहेरी दर्खास्त ।
२. मिति २०३८।३।२१ का रात देवनारायणको घरमा डाँका गरेको हो तिम्रो भाग पछि दिउँला भनी डाँकाहरूले भन्दथे मलाई भाग हिस्सा दिएको छैन भन्ने समेत व्यहोराको शिवशंकर भन्ने झामलाल बीनको प्रहरीमा भएको कागज ।
३. मिति २०३८।३।२१ का रात ११, १२ बजे १४ जना भई लाठा भाला गडासा लिई जाहेरवालाको घरमा गई डाँका गर्यो तेरो भाग पछि दिउँला भनेको थिए । दिएको छैन, भन्ने समेत व्यहोराको सोनेलाल बीनको प्रहरी कागज ।
४. प्रतिवादीहरूले जाहेरवाला देवनारायणको घरमा डाँका गरी बिगो रु. १,३२,७२५।५० पैसाको सम्पत्ति चोरीको ६ नं.को अपराध गरी लगेकोले ऐ. १४(४) नं.बमोजिम सजायँ गरी दामासाहीका दरले बिगो भरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन दावी ।
५. जाहेरवालाको घरमा डाँका गरेको हो मैले डाँका गरेको छैन । म मेरो घरमै थिएँ । हेर्न गइन माछा माग्दा नदिएको रिसले म उपर समेत झुठ्ठा उजूरी दिएको हो प्रहरीमा मलाई कुटपीट गरी कागज गराएको हो भन्ने समेत व्यहोराको सोनेलालको अदालतमा गरेको बयान ।
६. मिति २०३८।३।२१ गते म जिल्ला रौतहट सिंगावन धर्मपुरमा छु मैले डाँका गरेको छैन मेरो बाख्रीले जाहेरवालाको मरुवा खाएकोले झगडा परेको थियो मैले पञ्चायत गराउन खोजेको थिएँ । यस्तैमा बाली पुर्याउन जानु पर्यो साली पुर्याई फर्कन्दा म उपर समेत शंका देखाई डाँका अभियोग लगाई जाहेरी दिएको र प्रहरीमा भएको कागज मैले आफूखुशी गरेको होइन ३ पटकसम्म तेरो घर खानतलास गर्दा केही नभेटेकोले त्यसको सहिछाप गर भनी भनेकोले सहिछाप गरेको हुँ । किन ढाँटी धोखा दिई सहिछाप गराए थाहा छैन, भन्ने शिवशंकर भन्ने झामलालको अदालतमा गरेको बयान ।
७. जाहेरवाला कहाँ डाँका भएको हो तर मैले डाँका गरेको होइन भन्ने समेत व्यहोराको रामविलाश वीनको अदालतमा गरेको बयान ।
८. सोनेलाल र शिवशंकर भन्ने झामलाल वीनले पहिलोपटक डाँका गरेको ठहर्छ र अन्य प्र.हरू रामनरेश वीन, मुनेश्वर वीन र रामविलाश समेतले डाँका गरेको ठहर्दैन भन्ने समेत व्यहोराको शुरु सर्लाही जिल्ला अदालतको मिति २०३९।४।१२ को फैसला ।
९. सो फैसलामा चित्त बुझेन भन्ने समेत शिवशंकर भन्ने झामलाल, सोनेलालको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन–पत्र ।
१०. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन –पत्र ।
११. सुरक्षा प्रहरी जिल्ला कार्यालयको पत्र र पछि जाहेरवालाबाट परेको दर्खास्त समेतको कागजबाट डाँका वारदात भएको पुष्टी हुन्छ । अब उक्त वारदातमा प्रतिवादीहरू को को सम्मिलित भई डाँका गरेका रहेछन् भनी हेर्दा प्रतिवादी मध्ये हुलाश राय, बिकाउ महतो कोइरी ह्दय समेतका हकमा निजहरू फेला परेका बखत कारवाही गर्ने गरी मुलतवी राखेको देखियो । डाँका गरेको ठहर्याएको सोनेलाल र शिवशंकरका सम्बन्धमा हेर्दा निजहरू प्रहरीमा सावित भएको देखियो र प्रतिवादी सोनेलाल समेतले डाँका वारदात गरेको भन्ने जाहेरवालाको जाहेरी दर्खास्त किटानी हुनाको साथै वारदातका घाइते हुने मानिसहरू जाहेरवालाको परिवार मध्येका आमा बहिनी समेतले निज समेतले डाँका गरेको हो भनी पोलेको देखिएको भए पनि प्रतिवादी सोनेलाल अदालतमा इन्कार र प्रहरीमा कुटपीट गरी सावित गराएको भन्ने जिकिर भई घाउ जाँच समेत गराएको र घाउ जाँच फारामबाट यो घाउ खत भएको भन्ने देखिन आउने भएबाट निजको जिकिर अनुसार प्रहरीमा स्वतन्त्र रुपले कागज गरिदिएको होइन रहेछ भन्ने देखिन आउने र घटनाबाट पिडीत व्यक्तिले निज समेतलाई पोलेकोमा पनि ति पोल्ने व्यक्ति जाहेरवालाको एकै परिवारको भएका र जाहेरवाला रीसइवीवाला भएकोले निजहरूद्वारा समेत निज समेतलाई पोलेको हुन नसक्ने स्थिति पनि नहुँदा प्रहरीमा भएको सावती तथा शंकाकै भरमा मात्र निज समेतले डाँका गरेको होला भन्न मिल्ने स्थिति नभएको र अब अर्का प्र.शिवशंकरको हकमा हेर्दा प्रहरीमा सावित रहेको देखिन्छ । निजले पनि प्रहरीमा कुटपीट गरी बयान गरेको भन्ने उल्लेख गरेको भए पनि कुटपीटको घाउ जाँच भएको नदेखिएको र बयानमा प्रहरीले निजको घर खानतलासी लिएको र खानतलासी मुचुल्कामा सहिछाप गर भन्दा सहिछाप गरेको हुँ भन्ने मुख्य जिकिर लिएको देखिन्छ । उक्त अनुसार प्रहरीबाट निजलाई धोखा दिई झुक्याई सहिछाप गराएको पत्यारलायक नदेखिएको त्यसमा पनि सोही बयानमा निज अनपढ भएकोले प्रहरीमा सहिछाप गरिदिएको भन्ने समेत उल्लेख गरेको देखिन्छ । निजको जिकिर अनुसार प्रहरीबाट कुटपीट गरी तथा धोखा दिई प्रहरीले भने बमोजिम सहिछाप गरिदिएको भन्ने कुन चाहिँ आधार लिन खोजेको हो सो स्पष्ट नहुने यस स्थितिमा निजको उक्त जिकिर मनासिव देखिन नआएको र निजको उक्त साविति जाहेरी दर्खास्त तथा सरजमीनका मानिसहरूको बकपत्र समेतको प्रमाणबाट समर्थित भएको देखिन्छ । घटनाबाट पिडित जाहेरवालाको बयान तथा बकपत्र व्यहोरा समेत परस्पर बाँझिएको भन्ने समेत विद्वान अधिवक्ताले बहस जिकिर गर्नु भएकोमा सो पिडित व्यक्ति बृद्ध र आँखा कम देख्ने भन्ने समेत हुँदा निजहरूको बकपत्र व्यहोराको एकै मिलान नहुन नसक्ने स्थिति देखिएन ।
१२. सफाई पाउने प्रतिवादीहरूको सम्बन्धमा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिरतर्फ बिचार गर्दा मुनेश्वर वीन, रामविलाश समेत प्रहरीमा इन्कार रहेका छन् । निजहरू समेत डाँका वारदातमा सरीक भएको भन्ने डाँका वारदात गरेको ठहरिएका शिवशंकर समेतका कागजातबाट नदेखिने र निजहरू समेतले डाँका वारदात गरेको भन्ने तथ्ययुक्त एवं निश्चित प्रमाणको अभावमा मिल्ने नदेखिएको अतः प्रतिवादी मध्ये प्र.सोनेलालले डाँका वारदात गरेको ठहराएको मिलेको नदेखिएको सो बाहेक मुनेश्वर, रामविलाश समेतलाई सफाई दिएको छ र प्र.शिवशंकरलाई डाँका गरेको ठहराएको शुरु जिल्ला अदालतको इन्साफ मनासिव हुँदा सदर हुने ठहर्छ र प्रतिवादी मुनेश्वर समेतलाई डाँका गरेको ठहराउन पर्ने भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । शुरु सर्लाही जिल्ला अदालतको इन्साफ केही उल्टी हुन्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।१०।९।२ को फैसला ।
१३. उक्त फैसलामा कानुनी त्रुटि गरिएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा घटनामा पिडित व्यक्ति जाहेरवालाको एकै परिवारका भएका र तिनै व्यक्तिहरूको रीसइवीवाला भएको नाताबाट निजहरूको बकाइलाई विश्वसनीय नमानी मध्यमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादी सोनेलाललाई सफाई दिएको देखिन्छ । तर प्रतिवादी शिवशंकर भन्ने झामलाल वीनको हकमा निजहरूको बकाई विश्वसनीय हुन गएको कारण आधारमा मध्यमाञ्चल क्षेत्रिय अ..ले आफ्नो निर्णयमा खोलेको देखिन्न । शिवशंकर भन्ने झामलाल पनि जाहेरवालाको रीसइवीवाला देखिन्छ । धोखा दिई प्रहरीमा सहिछाप गराए भन्ने निजको अदालतमा बयान हुँदा शरीरमा घाउ लाग्ने प्रश्नै भएन जाहेरवालाको आमा र बहिनी फुलो समेतको बकपत्र एकै मिलानको देखिन्न । प्रतिवादी शिवशंकर भन्ने झामलालले जाहेरवालाको रीसइवीवाला व्यक्ति देखिँदा जाहेरवालाको लेखाई बकाई समेत विश्वसनीय छ भन्न मिलेन । प्रहरीमा भएको निजको साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको नदेखिएको प्रतिवादी शिवशंकर भन्ने झामलालले डाँका गरेको ठहराएको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा प्रमाणको मूल्याङ्कनको सर्वथा अभाव देखिएकोले मूलुकी ऐन अ.बं.१८४(क) र प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि भई न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान भएकोले पुनरावेदनको अनुमति दिइएको छ, भन्ने यस अदालतको मिति २०४०।१२।१६।५ को आदेश ।
१४. पुनरावेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले मेरो पक्षलाई अनाहकमा थुनामा राखेकोले ज्यान मुद्दाबाट सफाई पाउनु पर्छ भन्ने र विपक्षी श्री ५ को सरकारतर्फका विद्वान का.मु.सह–न्यायाधीवक्ता श्री प्रमोद विजयीले पुनरावेदक प्रतिवादी प्रहरी समक्ष साविती भएकोले उक्त मुद्दा थुनामा राखेको कानुन बमोजिमको हुँदा सफाई दिन मिल्दैन भन्ने समेत बहस गर्नु भयो ।
१५. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिव या बेमनासिव के रहेछ निर्णय दिनु परेको छ ।
१६. यसमा पुनरावेदक शिवशंकर भन्ने झामलालको हकमा बिचार गर्दा प्रहरीमा साविती भएको कुरालाई मूल आधार बनाई कसूर गरेको ठहर गरेको पाइन्छ । तर यसमा देहायका त्रुटिहरू देखा पर्दछन् । प्रथमतः गश्ती टोलीको प्रतिवेदनमा झामलालको नाम उल्लेख हुन सकेको छैन । त्यसमा पनि जाहेरी दर्खास्त ढिला गरी दिइएको देखिन्छ । जाहेरीमा उल्लेख भएका व्यक्तिहरू मध्ये पुनरावेदक बाहेक अन्य अभियुक्तले सफाई पाइसकेकोमा श्री ५ को सरकारको पुनरावेदन परेको देखिएन । सरजमीनका व्यक्तिहरूको बकाईमा फरक परेको देखिन्छ । अधिकांश पुनरावेदकको इवीलागवाला व्यक्तिहरू भएको पाइन्छ । पुनरावेदकको विरुद्ध एकजना सुवेदार भन्ने व्यक्ति मात्र बिना इवीको देखिन्छ । तापनि निजको भनाई कतैबाट समर्थित हुन सकेको पाइन्न। जाहेरी र प्रहरी रिपोर्टबाट पुनरावेदकले डाँका गर्छु भनेको थियो भन्ने कुरा पुष्टि हुँदैन । जहाँसम्म प्रहरीमा भएको सावितीको प्रश्न छ । पुनरावेदकले अदालतमा बयान गर्दा प्रहरीले झुक्यानमा पारी नभनेको कुरामा सही गराएका हुन् भन्ने भएपछि होइन स्वतन्त्र रुपबाट निजको बयान भएको थियो भन्ने कुराको प्रमाण प्रहरीले गुजार्नु पर्दछ । प्रमाण ऐनको दफा ९ को मनसाय पनि यही हो । विशेष गरी जब अभियुक्त अदालतमा इन्कार हुन्छ । त्यसबेला प्रहरी समक्ष भएको कुरा अन्य प्रमाणबाट समर्थन हुनु पर्दछ । कि त प्रहरी समक्ष भएको कागज आफू राजीखुशी र बाहिरी या कुनै प्रभावबाट भएको होइन भन्ने कुराको स्पष्ट प्रमाण प्रहरीले गुजार्नु पर्दछ । प्रमाण ऐनको दफा ९(२) को व्यवस्थाले प्रहरी समक्ष भएको कागजलाई प्रमाण लिन सक्ने अवस्था देखिएमा बाहेक अन्य अवस्थामा सही र स्वतन्त्र रुपमा भएको छ भन्ने अनुमान गर्नु मिल्ने देखिन्न । त्यसमा पनि एउटै प्रमाणमा सोनेलाललाई सफाई दिएको छ भने पुनरावेदकलाई सजायँ गर्न पनि मिल्ने होइन । तसर्थ पुनरावेदक झामलाललाई सबूद प्रमाणको अभावमा कसूरदार ठहर्याएको क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । पुनरावेदक झामलालले सफाई पाउने ठहर्छ । क्षेत्रीय अदालतको इन्साफ उल्टी हुन्छ । तपसील बमोजिम गरी नियम बमोजिम मिसिल बुझाई दिनु ।
तपसील
पुनरावेदक प्रतिवादी शिवशंकर भन्ने झामलाल बीन के माथि इन्साफ खण्डमा लेखिए बमोजिम क्षेत्रीय अदालतको इन्साफ उल्टी भएकोले क्षेत्रीय अदालतको मिति २०४०।१०।९।२ को फैसलाले निज प्रतिवादी शिवशंकर भन्ने झामलाल बीनलाई जरिवाना रु. १९००८।१० र कैद वर्ष ।७।६ (सात महिना छ :दिन) को कैदको लगत कस्ने गरेको छ सो गर्नु पर्दैन, सो को लगत काटी दिनु भनी सर्लाही जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु..................१
इन्साफ उल्टीमा मध्यमाञ्चल क्षेत्रीय अदालतका न्यायाधीश श्री अरविन्दनाथ आचार्य तथा न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठको उल्टी रेकर्ड राख्न सर्वोच्च अदालत प्रशासन शाखालाई जनाउ दिनु...........................२
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल आश्विन २८ गते रोज २ शुभम् ।