शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५२१ - कर्तव्य ज्यान

भाग: २७ साल: २०४२ महिना: माघ अंक: १०

निर्णय नं. २५२१     ने.का.प. २०४२      अङ्क १०

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४० सालको फौ.पु.नं. ३५९

सम्वत् २०४० सालको फौ.सा.नं. १६६

सम्वत् २०४२ सालको फौ.सा.नं. ८१

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादी:भारत नैनिताल काठगोदाम घर भई का.जि.तहाचल डेरा गरी बस्ने हाल जिल्ला कारागार शाखा, सेन्ट्रल जेल कारागारमा थुनिएको बहादुर सिंह भन्ने दिलीप सिंह ठाकुर ।

विरुद्ध

विपक्षी/वादी:देवी बहादुरको जाहेरीले श्री ५ को सरकार ।

फैसला भएको मिति:२०४२।९।१७।४ मा

     बच्चा अपहरण गरी रु.एकलाख कमाउने उद्देश्यले यी अभियुक्तहरूले निर्दोष बालकलाई अपहरण गरी मारी फालेको देखिएको समेतबाट निजहरूलाई निर्दोष मान्न सकिने अवस्था नदेखिने ।

(प्रकरण नं. २६)

पुनरावेदक, प्रतिवादी तर्फबाट:वैतनिक अधिवक्ता श्री रमेश विक्रम

विपक्षी, वादी तर्फबाट:विद्वान सहन्यायाधीवक्ता श्री वलिराम कुमार

उल्लिखित मुद्दा:विष्णु बहादुर गिरी समेत वि.श्री ५ को सरकार भएको खुन डाँका मुद्दामा फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित, ने.का.प.०४२ जेष्ठ निर्णय नं. २२६६

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोलाः प्रस्तुत मुद्दा म.क्षेत्रीय अदालतबाट भएको मिति २०४०।२।२५।४ को निर्णय उपर प्रतिवादीको चित्त नबुझी यस अदालतमा पुनरावेदन दायर भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

२.    तथ्य यसप्रकार छ : टेबहाल सडकको पूर्व साइडको आर.एन.ए.सी.कार्गो शाखाको घरको मोटर राखेको कुनामा हरियो रंगको झोलामा मानिस मारी हाली फाली राखेको रहेछ । त्यहाँ मानिसहरू जम्मा भई हेरी राखेको देखी उक्त स्थानमा गई हेर्दा हरियो रंगको झोलामा एकजना मृतक बच्चा राखी फ्यांकेको देखिएकोले कानुन बमोजिम होस् भन्ने समेत व्यहोराको प्रहरी देवीबहादुर पाण्डे समेतको मिति २०३३।५।५।७ गतेको प्रतिवेदन ।

३.    ताला लगाई राखेको झोला खोली हेर्दा झोला भित्र दुबै घुँडाको नलि हाड र तिघ्रामा पाटको डोरीले बाँधी सोही डोरीको टुप्पोले नाडी घाँटीबाट बायाँ पट्टीको गर्दन हुँदै जनै जस्तो गरी बाँधिएको र अण्डरवयर बाहेक अन्य कुनै लुगा नलगाएको अं.७ वर्षको केटोको नाड्डो लाश हो भन्ने समेत व्यहोराको मिति २०३३।५।५।७ को प्रकृति मुचुल्का ।

४.    टाउकोको चोटको कारणबाट मृत्यु भएको देखिन्छ भन्ने समेत पोष्टमार्टम प्रतिवेदन।

५.    लाश कसैले मेरो हो भनी जिम्मा लिन नआई बेवारिसि भई रहेकोले लाश उठाई दाह संस्कार गरिदिनु होला भनी जनकल्याण संस्थालाई लेखेको मिति २०३३।५।१० को पत्र ।

६.    मिति २०३३।५।५।७ मा शाही नेपाल वायु सेवा निगमको भवन पछाडि का.जि.टेबहाल स्थित कर्तव्यबाट उस बखत नाम वतन खुल्न नसकेको हाल का.जि.खिचापोखरी स्थित अरुण इन्पोरियमको मालिक कहाँ पालिएको टिङकु भन्ने बच्चा केटालाई भारत नैनिताल घर भई सोल्टी होटल बस्ने बहादुरसिंह र का.जि.लुप्से लजमा बस्ने महमद अजहर ईशाले कर्तव्य गरी मारी लाश झोला भित्र राखी ताला चाबी लगाई शा.ने.वा.नि.को कार्गो शाखाको घर नजिक मोटर राखेको कुनामा फालेको हो भन्ने तथ्य बुझिन आएको हुँदा निज अभियुक्तहरूको सुराक पत्ता लगाई पक्राउ गरी सोधपूछ गर्दा टिङ्कु भन्ने प्रशान्त चेतनीलाई कर्तव्य गरी मारी झोलामा हाली फालेकोमा मुख सावित भएको हुँदा बहादुर सिंंह भन्ने दिलीप सिंह ठाकुर र महमद अजहर ईशा समेतलाई पक्राउ गरी दाखिल गरेको छु भन्ने समेत व्यहोराको प्र.ना.उ.गोविन्दकृष्ण श्रेष्ठको मिति २०३५।४।२३।२ को प्रतिवेदन ।

७.    हामीहरूको सल्लाह अनुसार प्रशान्त चेतनीलाई फकाई बहादुर सिंह भन्ने दिलीप सिंह र म समेत भई अरुण इम्पोरियमको मालिकको छोरालाई अपहरण गरेर रु.एक लाख माग्ने भनी अपहरण गरे तापनि निलकण्ठ लजको रुम नं. ५ मा ल्याई पुर्‍याउनासाथ बाहिर कोही छ कि छैनन् म हेरी आउँछु भनी बहादुर सिंह भन्ने दिलीप सिंह बाहिर निस्केपछि बच्चा रुन  लागेकोले सिरकले मुख बन्द गरी घाँटीमा मैले दुबै हातले च्यापी निचोरेर टिङकुको निधारमा वायाँ पट्टीको खाटमा ठक्कर लाग्यो त्यतिकैमा निज चल्न चटपटाउन छोड्दा मृत्यु भइसकेकोले दुईचार दिन लजको बाथरुममा राख्दा दुर्गन्ध फैलिएकोले सिमी रंगको झोला किनी ल्याई हाली फाली लजमा आई बसेको ७८ महिना भारतमा बसी फर्कि आएपछि एकदिन बहादुरसिंह भन्ने दिलीप सिंहलाई भेट्दा उसैसँग पिस्तोल र गोली समेत भएको कुरा बताई ट्याक्सी चालकसंगबाट पैसा लुट्ने भनी सल्लाह भई झोछें गई वा.अं.११४९ नं.को ट्याक्सी चढी कीर्तिपुर गई त्यहाँ साथी भेट नभएको बहाना गरी फर्की रिङरोडमा आएपछि ट्याक्सी रोक्न लगाई भाडा कार चालकलाई २ फायर गरेपछि हामीभागी आयौं । दिलीप सिंह र मेरो कर्तव्यबाट प्रशान्त चेतनीको मृत्यु हुन गएको हो भन्ने समेत व्यहोराको महमद अजहर ईशाले गरेको ततिम्बा सहितको बयान कागज ।

८.    टिङकु भन्ने प्रशान्त चेतनीलाई मेरो र महमद अजहर ईशाको मिलोमतो सल्लाहबाट अपहरण गरी ल्याई निलकण्ठ लजमा कर्तव्य गरी मारी फालेको हो । लाश राखी फालेको झोला देखि चिनें निजलाई मार्दा म लज बाहिर सडकमा मानिस हेर्न बसेको थिएँ । लाश फेकेको ३४ दिनपछि पनि म सँग भेट गरी कुरा नगर्नु भनेकोले महमद भारततर्फ गए म ससुराली प्यूखामा नै बसेको थिएँ । ९१० महिना पछि महमद अजहर ईशालाई भेटी मैले आफूसँग भएको पेस्तोलले ट्याक्सी ड्राइभरसँग पैसा लुट्ने सल्लाह गरी बा.अं.११४९ नं. को ट्याक्सी चढी कीर्तिपुर गई त्यसबाट फर्की रिङरोडमा आएपछि ड्राइभरलाई २ राउण्ड फायर गरे भन्ने समेत व्यहोराको दिलीपसिंहको बयान ।

९.    मेरो जेठी सासू अरुण ईम्पोरियमको मालिक गंगादेवी चौधरीले पाली राख्नु भएको मेरो वर्ष ५ को छोरा टिङकु भन्ने प्रशान्त चेतनी २०३३ साल भाद्र १ गते कृष्णाष्टमीको राती सासूकै घर अगाडि झाँकी हेर्न गएकोमा राती १० बजेसम्म पनि नफर्केकोले साडु भाइ र म समेत भई खोज तलाश गर्दा पत्ता नलागेकोले प्रहरी लाइनमा खबर गरी खोज्ने काम जारी नै रहेको अवस्थामा अकस्मात भाद्र ५ गते बिहान टेबहालको सडकमा एउटा बच्चाको लाश फालेको खबर पाई हेर्न जाँदा लाश सडी गली दुर्गन्धयुक्त अवस्थामा हुँदा यकीन चिन्न सकिन । तर मिति २०३५।४।२४ गतेको गोरखापत्रको टिङ्कुको हत्याराको विवरण पढ्दा थाहा हुन आएकोले अपराधीहरूलाई कानुन बमोजिम सजायँ होस् भन्ने समेत व्यहोराको वनवारीलालले गरेको कागज।

१०.    उल्लिखित अभियुक्त २ जनाले टिङ्कु भन्ने प्रशान्त चेतनीलाई मिति २०३३।५।१ गते बेलुकी कर्तव्य गरी मारी फ्याँकेमा निजहरू दुबैजना सावित भएकोले कर्तव्यमा शंका लाग्छ मार्नुको कारण निजहरूले नै आफ्नो बयानमा खुलाएको होला भन्ने समेत व्यहोराको मिति २०३५।५।६।३ को सरजमीन मुचुल्का ।

११.    टिङ्कु भन्ने प्रशान्त चेतनीको हत्या गरेमा अपराधी महमद अजहर ईशालाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम र बहादुर सिंह भन्ने दिलीप सिंह उपर ज्यानसम्बन्धीको १३(४) नं.अनुसार सजायँ हुन र भाडावाल ट्याक्सी ड्राइभरलाई गोली हानी ज्यान मार्ने नियत गरेतर्फ छुट्टै मुद्दा दायर हुनेछ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

१२.   मैले प्रहरीमा मिति २०३५।४।२४ गते गरेको बयान मेरो स्वेच्छाले गरेको नभई नाम नजानेको प्रहरीले लठ्ठी र लातले कुटपीट गरेकोले डरका मारे कर्तव्य गरी टिङ्कु भन्ने बच्चालाई मारेकोमा साविती भएको छु । २०३३ साल माघ १ गतेको दिनमा म थापाथली बोर्डमा काम गरी बेलुका ६ बजे म बस्ने निलकण्ठ लजमा फर्की २३ वटा प्लेटमा पेन्ट समेत गरेको हुँदा टिङकुलाई ककस्ले मारे मैले मारी फालेको होइन भन्ने समेत व्यहोराको महमद अजहर ईशाले  अदालतमा गरेको बयान ।

१३.   मिति २०३३ साल भाद्र १ गते म आफ्नो ससुराली घर प्यूखाटोलमा नै बसेको छु। सो दिन मैले महमद अजहर ईशालाई भेटेको छैन । मेरो दोस्तको पनि दोस्त भएको महमदलाई चिन्दछु । मैले टिङकुलाई मारे मराएको होइन । प्रहरीमा नाम नजानेको प्रहरीले कुटपीट गरेको डरमा परी कर्तव्य गरेको हुँ भन्ने बयान गरेका हुँ । झुठ्ठा अभियोबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको बहादुर सिंह भन्ने दिलीप सिंहले अदालतमा गरेको बयान ।

१४.   मैले पाली राखेको मेरो साडु भाईको छोरा वर्ष ५ को टिङकु भन्ने प्रशान्त चेतनी २०३५ साल भाद्र १ गते झांकी हेर्न भनी गएकोमा राती १० बजेसम्म नफर्केकोले खोजतलाश प्रहरीमा समेत खबर गरे तापनि फेला परेन । तर अकस्मात भाद्र ५ गते बच्चाको लाश टेबहालको सडकमा फाली राखेकोले हेर्न पठाउँदा लाश सडी गली सकेकोले चिन्ह सकिएन । अपराधी मध्ये महमद अजहर ईशा अरुण इम्पोरियममा रंग लगाउन आएका थिए । दुबै अभियुक्त रंग लगाउन आएको थिए । दुबै अभियुक्तहरूको मिलोमतोबाट टिङकुलाई मारेकोले कानुन बमोजिम सजायँ होस् भन्ने समेत व्यहोराको लुनकरण चौधरीले प्रहरीमा गरेको कागज ।

१५.   पुर्पक्ष निमित्त थुनिएको बन्दी महमद अजहर इशा भन्ने भारत महावीर कलामपुर पोष्ट अफिस बजीफल्पु घर हुने दायाँ गालामा कालो कोठी भएको वर्ण गोरो केही अग्लो पातलो अन्दाजी ३०३५ वर्षको व्यक्ति औषधि उपचारको निमित्त वीर अस्पतालको आँखा विभागबाट मिति २०३८।३।१९ को दिनको ११ बजेभागी बेपत्ताभयो भन्नेसमेत व्यहोराको जिल्लाकार्यालय कारागार शाखा काठमाडौंको मिति २०३८।३।१९ को पत्र ।

१६.    महमद अजहर इशा र दिलीप सिंहले मौकामा प्रहरीमा गरेको साविती कागज निजहरूको स्वेच्छा विरुद्ध कै हो भन्ने नदेखिँदा प्रहरी प्रतिवेदन दावी अनुसार निजहरूले टिङकु भन्ने प्रशान्त चेतनीलाई कर्तव्य गरी मारेको ठहरेकोले महमद अजहर इशालाई १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैद हुने र बहादुर सिंह भन्ने दिलीप सिंहलाई १३(४) नं. बमोजिम जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतबाट मिति २०३८।७।२१।६ मा भएको फैसला ।

१७.   महमद अजहर इशाको हकमा साधकको रुपमा सर्वोच्च अदालतको मिति २०४२।१।१० को आदेशानुसार दर्ता हुन आएको रहेछ ।

१८.   फेला परेको लाश मृतक टिङकु भन्ने प्रशान्तचेतनीको लाश हो र सो लाश कर्तव्यबाटै मरेको हो भन्ने पोष्ट मार्टमबाट देखिन आएकोले अभियुक्त मध्येका बहादुरसिंह भन्ने दिलिप सिंहका हकमा अघि यसै अदालतबाट अभियुक्त मध्येको महमद अजहरलाई कर्तव्य गर्नमा मद्दत पुर्‍याएको ठहर्‍याई फैसला भइसकेकोले अभियुक्त मध्येको महमद अजहरलाई कर्तव्य गर्नमा मद्दत पुर्‍याएको ठहर्‍याई फैसला भइसकेकोले अभियुक्त मध्येको महमद अजहर इशा पनि प्रहरीमा मर्ने बालकलाई कर्तव्य गरी मारेमा सावित भई रहेकोमा अदालतमा आई बयान गर्दा इन्कार भई बयान गरे पनि सो इन्कारीको सबूद पेश नगरी थुनाबाट समेत भागेको देखिन आएकोले यस्तो लाश जाँच भई कर्तव्य देखिन आएकोमा प्रहरीमा सावित भई कागज गरेको छँदाछँदै आफ्ना सबूद प्रमाणबाट समर्थन गराउन नसकेकोमा अदालतको इन्कारीको आधारबाट अभियुक्त कतवर््य गरेको होइन भनी भन्न सकिने अवस्था नरहेकोले निज अभियुक्त महमद अजहर इशाले मर्ने टिङकु भन्ने प्रशान्त चेतनी भन्ने बालकलाई कर्तव्य गरी मारेकै ठहर्‍याई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरुको इन्साफ मनासिव देखिएकोले साधक सदरको लागि स.अ.मा जाहेर गरी पठाउने ठहर्छ भन्ने समेत  मध्यमाञ्चल क्षेत्रिय अ.दालतको मिति २०४२।६।३०।४ को फैसला ।

१९.    उक्त फैसलामा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदक दिलिप सिंह ठाकुरले प्रहरीमा गरेको कागजबाट मर्ने टिङकु भन्ने प्रशान्तको जिउमा हात हाली पछि समाती मार्नलाई संयोग पारी दिएको भन्ने कुरा लेखाएको पाइँदैन । महमद अजहर इशाले पनि प्रहरीमा गरेका कागजमा दिलिप सिंहले पनि भनी वचन दिएको वा मार्नलाई संयोग पारी दिएको भनी लेखाएको देखिँदैन । मिसिलबाट सो कुरा प्रमाणित हुनसक्ने आधार प्रमाण देखिन नआएकोले यस्तो अवस्थामा पुनरावेदक दिलीप सिंह ठाकुरलाई ज्यानसम्बन्धीको दफा १३ को उपदफा (४) बमोजिम जन्मकैदको सजायँ गरेको काठमाडौं जि.अ.को इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा अ.बं.२०२ नं.र स.अ.नियमावली बमोजिम नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०४१।७।१६।५ को आदेश ।

२०.   पुनरावेदक प्रतिवादीतर्फका वैतनिक अधिवक्ता श्री रमेशविक्रम कार्कीले ज्यानसम्बन्धी मुद्दामा मेरो पक्षलाई अनाहकमा थुनामा राखेकोले थुनाबाट मुक्त हुन पर्छ भन्ने र विपक्षी वादी श्री ५ को सरकारतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सहन्यायाधीवक्ता श्री बलिरामकुमारले क्षेत्रीय अदालतबाट प्रतिवादीलाई कानुन बमोजिम थुनामा राखिएको हुँदा उक्त इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।

२१.   प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रिय अ.दालतले गरेको फैसला मनासिव या बेमनासिव के रहेछ निर्णय दिनु परेको छ ।

२२.   यसमा निर्णयतर्फ हेर्दा मेरो भाइ साढे पाँच वर्षको टिङकु कुमार हिजो भदौ १ गते बेलुका करीव ९ बजेतिर खिचापोखरी आफ्नै घर बाहिरबाट हराएकोले निजको छानबीन समेत गरिपाउँ भन्ने समेत बशन्तकुमार चौधरीको मिति २०३३।५।२ गते प्रहरीमा निवेदन परेको र २०३३ भदौ ५ गते विहान अंदाजी ५ बजे का.जि.टेबहालमा शाही नेपाल वायु सेवा निगमको कार्गो शाखाको घरनिर मोटर राखेको कुनामा हरियो रंगको झोलामा एकजना मृतक बच्चा राखी फाली राखेको देखाएको भन्ने प्रहरी देवीबहादुर पाण्डे समेतका रमन गस्ती गर्न गएका प्रहरीहरूको प्रतिवेदन परेको देखिन्छ । लाश प्राप्त बरामद भएको स्थिति तथा दाहिने कानबाट रगत निस्किएको र शरीरलाई नाड्डै पारी झोलामा कोची राखेको भन्ने लाश प्रकृति मुचुल्का तथा सो बच्चा राखी फालेको झोला सनाखत गरी गरेको अभियुक्तहरूको बयानबाट समेत मृतक टिङकु भन्ने प्रशान्त चेतनी नाम गरेको ५ वर्षीय बालकको मृत्यु कर्तव्यबाट भएकोमा विवाद देखिँदैन ।

२३.   शुरु का.जि.अ.बाट भारतीय नागरिक प्र.मोहमद अजहर इशालाई ज्यानसम्बन्धीको १३(३) बमोजिम र बहादुरसिंह भन्ने भारतीयनागरिक प्र.दिलीपसिंह ठाकुरलाई ज्यानसम्बन्धीको १३(४) नं.बमोजिम जन्मकैदको सजायँ गरे उपर प्र.बहादुर सिंह भन्ने दिलीप सिंह ठाकुरको पुनरावेदन परेकोमा पुनरावेदन तहबाट मिति २०४०।२।२५ मा र प्र.ईशा अजहरको हकमा साधकतर्फबाट मिति २०४२।६।३०।४ मा मध्यमाञ्चल क्षेत्रीय अदालतले शुरु इन्साफ सदर गरेको देखिन्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्र.दिलीप सिंह ठाकुरको पुनरावेदन परी र ईशा अजहरको हकमा साधक निकासाको लागि प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुन आएको छ।

२४.   प्रतिवादी बहादुर सिंह भन्ने दिलीप सिंह ठाकुर तथा प्र.इशा अजहर मियांले अरुण ईम्पोरियमको मालिक लुनकरण चौधरीले पालेको पाँच वर्षीय बालक प्रशान्त चेतनलाई रु.एकलाख माग्ने दाउले अपहरण गरी निलकण्ठ लजमा लगी मारी सकेपछि दुईचार दिन बाथरुममा राखी लाश गनाउन थालेपछि लाशलाई डोरीले बाँधी एक डल्लो पारी झोलामा हाली फालेमा प्र.दिलीप सिंह ठाकुर तथा प्र.ईशा अजहर प्रहरीमा सावित भई बयान गरेको पाइन्छ । अभियुक्तहरूले प्रहरीमा बयान गर्दा वारदातमा आफू सावित भई एक अर्कालाई पोल गरी बयान गरेको देखिन्छ । यी बयानहरूमा अपराधको सम्पूर्ण कथा प्रस्तुत गरिनुको साथै यिनमा ससाना तथ्यहरू समेत खुलाइएको छ । उनीहरूको बयानमा कुनै अस्वभाविकता देखिँदैन । अपराध गर्दाको अवस्था एवं प्रकृयालाई प्राकृतिक रुपले चित्रण गरिएको यी बयानहरू बढी कुटपीट गरी वा बाध्यताबस गराइएको भए अवश्य पनि त्यस्तो हुँदैनथ्यो । अदालतमा आएर दुबै अभियुक्तहरूले ईन्कारी बयान गरेका छन् । तापनि बयानमा कुनै तथ्यपूर्ण आधार देखिँदैन । प्रहरीमा कुटपीट गरी सावित गराइयो भन्ने प्रतिवादी दिलीप सिंहले पुनरावेदनमा जिकिर लिए पनि प्रहरीमा कुटपीट गरी सावित गराइयो भन्ने प्रतिवादी दिलीप सिंहले घा जाँच गराउने लगायतका कुनै प्रमाण पेश गर्न सकेको पाइँदैन । यस्तो स्थितिमा अदालतमा आई निजले गरेको बयानलाई अपराधबाट बच्न सकिन्छ कि भनी अभियुक्तहरूले अदालतमा आएर गर्ने आम प्रकृया अनुसारको अभिनयपुर्ण कथन भन्नुपर्ने अवस्था छ । अदालतमा गरेको यी बयानहरूलाई केवल इन्कारीको निमित्ति इन्कारी भन्नमा कुनै बाधा देखिँदैन । यस अवस्थामा अभियुक्त बहादुर सिंह भन्ने दिलीप सिंह ठाकुरको बयानलाई प्रमाण ऐन, २०३१ को दफा ९(२) बमोजिम प्रमाणमा नलिनु पर्ने कुनै कारण देखिँदैन । वारदातको सह अभियुक्त ईशा अजहर मियाँले वारदातमा आफू सावित भई अभियुक्त दिलीप सिंहलाई मुख्य षडयन्त्रकारी तथा सहयोगी समेत देखाई पोल गरेको देखिन्छ । ईशा अजहरले आफू बच्नलाई अथवा दिलीप सिंहलाई मात्र फसाउनको लागि पोल गरेको भन्न मिल्ने अवस्था पनि देखिँदैन । सह अभियुक्तले आफू सावित भई अरुलाई समेत पोलेकोमा जसलाई पोलेको छ उसको निमित्त वादीको साक्षी सरह हुन जान्छ । यस स्थितिमा उसको पोललाई साक्षी सरह मूल्याङ्कन गरिनु पर्दछ । यसप्रकारको साक्षीको बकाइलाई अदालतले सह अभियुक्तको पोल भनी पन्छाउन   मिल्दैन । सह अभियुक्तहरूले वारदातमा आफू सावित भई अरुलाई पोल गरी गरेको बयानलाई मान्यता दिने गरी फूलबेञ्चले विष्णुबहादुर गिरी समेत वि.श्री ५ को सरकार भएको खुन डाँका मुद्दामा सिद्धान्त प्रतिपादन गरी सकेको छ । (२०४२ ने.का.प.(जेष्ठ) निर्णय नं. २२६६ पृष्ठ १४४)

२५.   मृतक टिङकु भन्ने प्रशान्त चेतन नाम गरेको ५ वर्षको बालकको फोटो एवं बच्चालाई मारी फालेको झोलालाई प्रतिवादी दिलीप सिंहको सनाखत गरी बयान गरेको समेत देखिएकोबाट यी अभियुक्तहरू उपरको अभियोग परिस्थितिजन्य प्रमाण समेतबाट समर्थित भएको देखिन्छ । अभियुक्तले प्रहरीमा दिएको तथ्यपूूर्ण बयान परिस्थितिजन्य प्रमाण समेतबाट समर्थित भएको खण्डमा त्यस्ता बयानहरूलाई प्रमाणमा लिन नमिल्ने होइन । (भारतीय उच्चतम न्यायालयले अपीलाट हेनरी वेष्टमुलर बि स्टेट अफ आसाम समेत भएको बच्चा अपहरण गरी मारेको मुद्दामा यसै किसिमको कुरालाई मान्यता दिई निर्णय गरेको समेत देखिन्छ । ए.आई.आर.१९८५ सुप्रीम कोर्ट ८२३)

२६.   माथि उल्लेख गरिए झैं बच्चा अपहरण गरी रु.एक लाख कमाउने उद्देश्यले यी अभियुक्तहरूले निर्दोष बालकलाई अपहरण गरी मारी फालेको देखिएको समेतबाट निजहरूलाई निर्दोष मान्न सकिने अवस्था देखिएन । प्रतिवादी बहादुर सिंह भन्ने प्रतिवादी दिलीपसिंह ठाकुरको पुनरावेदन जिकिर पुग्न सक्दैन । ज्यानसम्बन्धीको १३(४) नं.बमोजिम निजलाई जन्मकैदको सजायँ गर्ने गरेको शुरु इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।२।२५ को इन्साफ मनासिव ठहर्छ । प्रतिवादी महमद ईशा अजहरको हकमा साधकको लागि पेश भएकोमा ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको  शुरुको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।६।३०।५ को इन्साफ मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल पौष १७ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु