निर्णय नं. २५२५ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

निर्णय नं. २५२५ ने.का.प. २०४२ अङ्क १०
सिंगल बेञ्ज
इजलाश
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
सम्वत् २०४२ सालको रि.नं. १८९४
विषय : बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ ।
निवेदक : तनहुँ जिल्ला गद्धी चौतारा गा.पं.वडा नं.२ कुसुम पानी घर भै हाल जि.का.का.शाखा भद्रगोल काठमाडौंमा थुनामा रहेका मोतीलाल कसाई ।
विरुद्ध
विपक्षी :तनहुँ जिल्ला अदालत दमौली ।
आदेश भएको मिति:२०४२।१०।१४।२ मा
सबूद प्रमाणको आधारमा रिट निवेदकलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्ने गरी प्रत्यर्थीबाट फैसला भई सो फैसला बमोजिम थुनामा रहेको देखिन आएको हुनाले गैरकानुनी थुनामा रहेको भन्न मिलेन ।
(प्रकरण नं. ८)
तथ्यसम्बन्धी कुरामा पुनरावेदन हेरेजस्तो गरी रिटक्षेत्रबाट हेर्न नमिल्ने ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री रमेश कार्की
विपक्षी तर्फबाटःX
उल्लेखित मुद्दाःX
आदेश
प्र.न्या.धनेन्द्र बहादुर सिंहः बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ ।
२. गुणाडी महेन्द्रपुर गा.पं.अन्तर्गत बर्राचौर भन्ने बाटो मुनि महिलाको लाश देखिएकोले लाश जाँच गरिपाउँ भन्ने पं.स हरिनाथ खनालको ०३३।९।२८ गते जाहेरी दर्खास्त परेपछि, सो लाश मोतिलाल कसाईले मेरो छोरी लालुमायालाई कर्तव्य गरी मारी फालेको बुझिएको भन्ने बुद्धीबहादुरको जाहेरी सनाखत कागज, मृतकको लोग्ने विदेश भारत नोकरी गरी बसेको अवस्था ०३३ आषाढ देखि मृतक र मेरो बीच सम्बन्ध भई गर्भ रहन गएछ निजले अब गाउँ घरमा व्यापक हुन थाल्यो विदेश जाउँ भनी सल्लाह गरी पौष १ गते दमौली भेटौंला भनी सल्लाह भई पोखरा बस स्टपमा भेट भई दमौली आई पोखरा जाने बस नपाएकोले पैदल गुणाडीतर्फ जाँदा महेन्द्रपुर नजिक पुगेपछि खाजा खाउँ भनी बाटो मुनि गई एउटा रोटी खायौं सोही अवस्था यो मलाई पिछा गरी हिड्नेलाई कसरी पन्छाउँ भन्ने सुरझांकले सालको लठ्ठीले टाउकोमा प्रहार गर्दा मृत्यु हुन गएको भन्ने समेत म रिट निवेदकको बयान भएकोमा सबूद प्रमाणको अभावबाट ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजायँ गरी ०३३।१०।१५ मा तनहुँ जिल्ला अदालतले निर्णय फैसला गरेको छ ।
३. सो फैसला गैरकानुनी तरिकाबाट गरी कैदी पुर्जी समेत नदिई कानुन विपरीत ढंगबाट भएको छ । मृतकसँग कुनै रीसइवी भनाबैरी भएको थिएन । मार्छु भन्ने पूर्व मनसाय पनि थिएन । अपरझट कुनै परिणाम सोच्न नसकी आवेशमा प्रहार गर्दा मृत्यु हुन गएको हुँदा मेरो हकमा १३(३) नं.प्रयोग गर्न नमिल्ने प्रत्यक्ष दर्शित छ । यो मुद्दा मुलुकी ऐन ज्यानसम्बन्धीको ५ नं.र ८ नं.को परिभाषाभित्र पर्न आउने हुँदा ज्यानसम्बन्धी १४ नं.बमोजिम सजायँ गरी पाउन रिट निवेदन प्रस्तुत गरेको छु । शुरु जि.अ.ले घटनाको प्रकृतिलाई बिचार नगरी सिधै १३(३) नं.अनुसार सजायँ गर्नु कानुनको मर्यादा नगरेको प्रष्ट हुन आउँछ । निम्न नजीर प्रयोग गरी शुरु तनहुँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ बदर गरी १४ नं.बमोजिम सजायँभागी हुन पाउने बन्दी–प्रत्यक्षीकरणको जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने रिट निवेदन ।
४. निवेदक तर्फबाट रहनुभएका विद्वान वैतनिक कानुन व्यवसायी अधिवक्ता श्री रमेश कार्कीले मृतकलाई मार्नु पर्नेसम्मको रीसइवी छैन । आवेशमा प्रहार गर्दा मृत्यु हुन गएको भन्ने छ । यस्तोमा ज्यानसम्बन्धीको ५ र ८ नं.ले भवितव्यको परिभाषाभित्र पर्छ । तसर्थ रिट निवेदकलाई ज्यानसम्बन्धीको १३(३) ले सर्वस्वसहित जन्मकैद गर्ने गरेको जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने समेत बहस गर्नु भयो ।
५. प्रस्तुत मुद्दामा निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
६. यसमा निर्णयतर्फ हेर्दा सावित भएको आधार लिई मृतक लालुमायालाई कर्तव्य गरी मारेको भनी ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ गरेको शुरु जिल्ला अदालतले कानुनको मर्यादा नगरेको र मेरो हकमा १३(३) प्रयोग गर्न नमिल्ने प्रष्ट छ । ज्यानसम्बन्धीको ५ नं.र ८ नं.को परिभाषाभित्र पर्ने हुँदा ज्यानसम्बन्धीको १४ नं.बमोजिम सजायँ गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर देखिन्छ ।
७. मोतीलालले कर्तव्य गरी मारेको हुनुपर्छ भन्ने सरजमीन मुचुल्का र कर्तव्य गरी मरेमा सावित भएको आधारमा रिट निवेदकलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन परेको सो मुद्दामा अदालतमा समेत कर्तव्य गरी मारेमा सावित भएको आधार समेतबाट रिट निवेदकलाई ज्यानसम्बन्धीको १३(३) नं.अनुसार सर्वस्वसहित जन्मकैदको सजायँ गर्ने गरी शुरु तनहुँ जिल्ला अदालतबाट फैसला गरेको भन्ने रिट निवेदनमा उल्लेख भएको पाइन्छ ।
८. त्यसरी प्रहरी प्रतिवेदन परी रिट निवेदकको बयान समेत गराई सबूद प्रमाणको आधारमा रिट निवेदकलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजायँ गर्ने गरी प्रत्यर्थी तनहुँ जिल्ला अदालतबाट फैसला भई सो फैसला बमोजिम थुनामा रहेको देखिन आएको हुनाले गैरकानुनी थुनामा रहेको भन्न मिलेन । ज्यानसम्बन्धीको १४ नं.बमोजिम सजायँ गरिपाउँ भन्ने रिट निवेदन जिकिरको हकमा तथ्य सम्बन्धी कुरामा पुनरावेदन हेरे जस्तो गरी रिट क्षेत्रबाट हेर्न नमिल्ने भएकोले समेत विपक्षीसँग लिखिन जवाफ मगाई रहन परेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
इतिसम्वत् २०४२ साल माघ १४ गते रोज २ शुभम् ।