शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५५१ - परमादेश मिश्रित उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ

भाग: २७ साल: २०४२ महिना: फागुन अंक: ११

निर्णय नं. २५५१    ने.का.प. २०४२      अङ्क ११

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४२ सालको रि.नं.२३९४

विषय : परमादेश मिश्रित उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ ।

 

निवेदक      :धादिङ जिल्ला केवलपुर गा.पं.वडा नं.१ बस्ने चन्द्र प्रसाद पाण्डे ।

विरुद्ध

विपक्षी:जिल्ला भूमि सुधार कार्यालय धादिङका का.मु.शाखा अधिकृत रामचन्द्र बुढाथोकी ।

जि.धादिङ थाक्रे गा.पं.वडा नं.३ बस्ने भवनाथ पण्डित ।

आदेश भएको मिति:२०४२।१०।२९।३ मा

     न्यायिक आधार बिना मोही निष्कासन नहुने ठहराएको प्रत्यर्थी भू.सु.का.धादिङको निर्णयलाई न्यायिक निर्णय मान्न नमिली त्रुटिपूर्ण देखिने ।

(प्रकरण नं. १२)

निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्याल

विपक्षी तर्फबाट      :विद्वान सहन्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट

उल्लेखित मुद्दाःX

आदेश

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः     भू.सु.का.धादिङको मिति ०४२।२।१३ को निर्णय उत्प्रेषणद्वारा बदर गरिपाउँ भनी नेपालको संविधान, २०१९ धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्तविवरण यसप्रकार छ ।

२.    मैले विपक्षीउपर धा.जि.थाक्रे गा.पं.वार्ड नं.७(क) कि.नं.१८ को रो.१४ खेतको साविक २० मुरी माटोको धान मुरी ९ को हिसाबले कुत लिन पर्ने ०३९ सालको कुत धान मुरी २० को रु.३१५। दिलाई मोही निष्कासन गरिपाउँ भन्ने निवेदन परी म्याद जारी हुँदा प्र.ले म्याद गुजारी बसेकोमा दावी अनुसार कुत प्र.बाट भराई लिन पाउनेठहर्छ मोही निष्कासन नगर्ने यथावतै राख्ने भनी निर्णय गरी दियौं भनी २०४२।२।१३ मा विपक्षी शाखा अधिकृतज्यूले निर्णय गर्नुभयो ।

३.    भूमिसम्बन्धी ऐनको दफा २९(१) मा बाली नबुझाएमा निष्कासन गर्ने आदेश दिन सक्नेछ भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा विपक्षीले बाली नबुझाएको ठहर गरिएको छ तर मोहीबाट निष्कासन नगर्ने निर्णय गर्दा कुनै आधार प्रमाण उल्लेख नै छैन । त्यसरी आधार प्रमाण बिना मोही निष्कासन नहुने ठहराएको विपक्षी शाखा अधिकृतज्यूको मिति ०४२।२।१३ को निर्णय भू.सं. ऐन, ०२१ को दफा २९(१) समेतको विपरीत भई त्रुटिपूर्ण हुँदा उक्तनिर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत चन्द्रप्रसाद पाण्डेको मिति ०४२।३।१४ को रिट निवेदन जिकिर ।

४.    विपक्षीहरूबाट लिखिन जवाफ मगाई पेश गर्नु भन्ने यसअदालत सिं.बे.को मिति ०४२।४।२१ को आदेश ।

५.    भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) मा मोहीले कुत नतिर्दैमा भूमि सुधार कार्यालयले निष्कासन गर्नुपर्छ भन्ने किटानी कानुनी व्यवस्था पनि छैन साथै मोहीले कुत नदिँदैमा भूमि सुधार कार्यालयले निष्कासन गर्ने हो भने भूमि सुधारको लक्ष्य र पोलिसी  विपरीत हुन जान्छ । मोहीको सुरक्षा गर्नु भूमि सुधारको लक्ष्य र कर्तव्य हुँदा विपक्षीको रिट निवेदन गैरकानुनी हुँदा खारेज गरिपाउँ भन्ने समेत इन्द्रबहादुर बास्कोटा क्षेत्रीको लिखिन जवाफ ।

६.    विपक्षीको दावीअनुसार भू.सं.ऐन,२०२१ को दफा २९(१) अनुसार मोहीनिष्कासन हुनु पर्ने भन्नेमा उक्त ऐनको उक्त दफामा मोही निष्कासन गर्नै पर्छ भन्ने बाध्यता पनि नभएको र धनीको दावी अनुसार कुतबाली भराउने निर्णय भइसकेको हुँदा दोहोरो सजायँ गर्न कानुनसंगत नहुने हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत भू.सु.शाखा धादिङको मिति ०४२।५।३१ को लिखिन जवाफ ।

७.    रिट निवेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले विपक्षी भूमि सुधार कार्यालयबाट विपक्षी मोहीले बाली नबुझाएको ठहर गरी बाली भराउने निर्णय गरी सकेपछि निष्कासनतर्फ कुनै न्यायिक आधार बेगर निष्कासन नहुने ठहराएको मिति ०४२।२।१३ को निर्णय त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः कानुन बमोजिम निष्कासनतर्फ निर्णय गर्नु भनी विपक्षी भू.सु.का.का नाउँमा परमादेश समेत जारी हुनुपर्छ भन्ने र प्रत्यर्थी भू.सु.का.तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान सहन्यायाधीवक्ता श्री प्रेमबहादुर विष्टले भू.सं.ऐन, ०२१ को दफा २९(१) को व्यवस्था बाध्यात्मक होइन । बाली भरी पाउने र मोही निष्कासन नहुने भनी गरेको भू.सु.का.धादिङको मिति ०४२।२।१३ को निर्णय न्यायपूर्ण र कानुनद्वारा प्रदत्त अधिकार अन्तर्गत रही गरेको हुँदा माग बमोजिमको आदेश जारी हुनुपर्ने होइन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

८.    प्रस्तुत मुद्दामा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने वा नपर्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

९.    यसमा निर्णयतर्फ हेर्दा विपक्षी मोहीले बाली नबुझाएको ठहराई बाली दिलाउने ठहर गरेपछि कुनै आधार बेगर मोही निष्कासन नहुने ठहराएको भू.सु.का.धादिङको मिति ०४२।२।१३ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी मोही निष्कासनतर्फ पुनः निर्णय गर्नु भनी प्रत्यर्थी भू.सु.कार्यालयका नाउँमा आदेश जारी गरिपाउँ भन्ने रिट निवेदकको मुख्य जिकिर छ ।

१०.    रिट निवेदकको बाली दिलाई मोही निष्कासन समेत गरिपाउँ भनी भूमि सुधार कार्यालयमा उजूरी परेपछि भूमि सुधार अधिकारीले मोहीले बाली नबुझाएको ठहराई बाली भराउने निर्णय गरी सकेपछि मोही निष्कासन नहुने भनी निर्णय गर्दा आधार प्रमाण खुलाई के कति आधार प्रमाणबाट मोही निष्कासन नहुने हो सो आधार प्रमाणको आधारमा मोही निष्कासन नहुने भन्ने कुराको कारण खुलाई न्यायिक निर्णय गर्नुपर्ने हुन्छ ।

११.    तर प्रस्तुत मुद्दामा भूमि सुधार कार्यालय धादिङको मिति ०४२।२।१३ को निर्णय हेर्दा निवेदकको माग बमोजिम प्रत्यर्थी मोहीबाट बाली भराउने निर्णय गरी सकेपछि के कति आधार कारणबाट मोही निष्कासन नहुने हो सो कुराको न्यायिक आधार कारण खुलाई निर्णय गरेको देखिएन ।

१२.   यसबाट न्यायिक आधार बिना मोही निष्कासन नहुने ठहराएको प्रत्यर्थी भू.सु.का.धादिङको मिति ०४२।२।१३ को निर्णयलाई न्यायिक निर्णय मान्न नमिली त्रुटिपूर्ण देखिन आयो ।

१३.   अतः उपरोक्त उल्लेख भए बमोजिम प्रत्यर्थी भूमि सुधार कार्यालय धादिङको मिति ०४२।२।१३ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको ओदशद्वारा बदर हुने ठहर्छ । पुनः कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी भूमि सुधार कार्यालय धादिङका नाउँमा यो परमादेशको आदेश जारी गरिएको छ । जानकारीको लागि निर्णयको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधीवक्ताको  कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४२ साल माघ २९ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु