निर्णय नं. २५६४ - उत्प्रेषण

निर्णय नं. २५६४ ने.का.प. २०४२ अङ्क १२
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
सम्वत् २०४१ सालको रिट नं. १५९१
विषय : उत्प्रेषण ।
निवेदक :भ.पु.न.पं वडा नं.८ सिबुकछे सुकुल ढोका बस्ने राधीका माया वैद्य ।
विरुद्ध
विपक्षी :भक्तपुर नगर पञ्चायत कार्यालयको प्रधान पञ्च ज्ञान बहादुर न्याईच्याई ।
भ.पु.न.पं. वडा नं.१८ नरदेवी नेटपाचो बस्ने उमाचरण वैद्य ।
आदेश भएको मिति:२०४२।१०।७।३ मा
जिल्ला अदालतमा नालेश परी विचाराधीन भई मुद्दा चल्दाचल्दैको अवस्थामा असाधारण अधिकारक्षेत्रको प्रयोग गरी रिट निवेदनबाट उपचार गर्न मिल्ने देखिएन ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
उल्लेखित मुद्दाःX
आदेश
न्या.सुरेन्द्र प्रसाद सिंहः भक्तपुर नगर पञ्चायतको २०४१।३।१२।२ को आदेश पर्चा बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदन पत्रको संक्षिप्त तथ्य यसप्रकार रहेछ ।
२. विपक्षी नक्सावालाको म पश्चिम संधियार हुँ । हाल विपक्षीले घर बनाउँदा नक्शा भन्दा अदल बदल गरी मेरो पाताल जग्गामा दक्षिणतर्फबाट उत्तर दक्षिण ६’९” पूर्व पश्चिमतर्फ ६’६’ गरी पाताल जग्गा मिची घर बनाउँदै गरेको हुँदा उक्त घर रोक्का गरिपाउँ भन्ने भ.पु.नगर पंचायतमा उमाचरणको निवेदनपत्र । मेरो कानुनी हक भोगचलनको भ.पु.नगर पंचायतवडा नं.८ तुलाछे टोलको पूर्व दक्षिण सडक, पश्चिम नन्दलालको घर पाताल, उत्तर विपक्ष उमाचरणको किलास साझा सागाल र आफ्नै पाताल यती ४ किल्ला भित्रको जग्गामा नक्शा पास गर्न भ.पु.नगर पंचायतमा निवेदन परेकोमा विपक्षको उजूर परी हक बेहकमा मुद्दा चली न.नं.६ मैले बनाएको घरको उत्तर दक्षिण पूर्वतर्फ २१ फीट पश्चिमपट्टी ३० फीट पूर्वपट्टी ३० फीट ३ ईञ्च र न.नं.६(क) को ३ फीट ३ ईञ्च समेतको पातालमा मेरो घर बनाउन पाउने गरी बा.अं.अ.बाट ०३८।७।१७ मा फैसला भएबमोजिम नक्शा पास गरी घर बनाएको हुँदा निवेदन झुठ्ठा हो भन्ने राधीकामाया वैद्यको प्रतिउत्तर जिकिर भएकोमा ०३८।१२।२८ मा पास भएको नक्सामा पूर्व पश्चिम ३० फीट उत्तर दक्षिण २१ फीट मात्रको लम्बाई चौडाईमा घर बनाउन नक्शा पास भएकोमा नक्साभन्दा बढी उत्तर दक्षिण ८’१०” पूर्व पश्चिम ५’१०” मा धारा चर्पी राखी १ तले गारो उठाई बनाएतर्फ नगर पंचायतऐन, २०१९ को दफा ५४(क) बमोजिम रु. ५०।– जरिवाना गर्ने । प्रतिवादीले वादीको मिचेको भए के कति पाताल जग्गा मिचेको छ सो सम्बन्धमा सम्बन्धित अदालतमा हक कायम गर्न सक्ने भएकोले सो अनुसार गर्नु भनी सुनाई दिने भन्ने मिति २०४१।३।१२ को भक्तपुर नगर पञ्चायतको प्र.पं.को पर्चा ।
३. सर्वप्रथम यस विपक्षीको निवेदन लिई निर्णय गर्ने अधिकार नगर पञ्चायत ऐन, २०१९ बमोजिम नगर पञ्चायतलाई भई न्याय प्रशासन सुधार ऐन, ०३१ समेतबाट सम्बन्धित जिल्ला अदालतलाई भएको हुँदा प्रस्तुत निर्णय र कारवाही अ.बं.३५ नं.को विपरीत हुँदा स्वतः बदरभागी छ । मैले घर बनाउन पाउने गरी पाएको नक्शा पछाडि चर्पी राख्न र घर बनाउन पाउने लेखिएको छ सो नहेरी नक्शा भन्दा बढी बनायो भनी जरिवाना गर्ने गरेको प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि भएको छ । भ.पु.नगर पंचायतको बैठकले गरेको पर्चा र नक्शा अनुसार आफ्नो हकमा मात्र घर चर्पी समेत बनाएको जग्गा मिची बनायो भनी उजूर गर्न अ.बं.८२ नं.ले विपक्षीलाई अधिकार छैन । विपक्षीको जग्गा मिची घर बनाएको छैन । आफ्नै बैठकबाट भएको निर्णय पर्चा र बा.अं.अ.को फैसला तथा नक्सालाई बेवास्था गरी उजूरी सुनी हेरिएको स्पष्टै छ तसर्थ उक्त कारवाहीबाट मेरो संवैधानिक हकमा आघात परेको हुँदा संविधानको धारा १६।७१ अन्तर्गत उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरी विपक्षी भक्तपुर नगर पञ्चायतको २०४१।३।१२ को निर्णय पर्चा बदर गरिपाउँ भन्ने समेतको रिट निवेदनपत्र ।
४. विपक्षीहरूबाट लिखिन जवाफ मगाई आए पछि पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्जको ०४१।८।७ को आदेश ।
५. मिति २०४१।३।१२ को भक्तपुर नगर पञ्चायतको निर्णय पश्चात म प्रत्यर्थीले विपक्षीका उपर ऐनका म्यादभित्रै विपक्षीले मेरो जग्गा मिची धारा चर्पी घर बनाएकोले सो भत्काई मेरो पाताल जग्गा दिलाई चलन समेत चलाई पाउँ भनी भक्तपुर जिल्ला अदालतमा फिराद दायर गरी सकेको छ विपक्षीको रिट निवेदन मेरो फिराद परेको कुरा थाहा पाएपछि अनुचित विलम्ब गरी ०४१ साल मार्ग महिनामा परेको देखिन्छ । मेरो परेको नालेश सम्बन्धमा विपक्षीलाई जानकारी रहँदा रहँदै स्वच्छ हात बेगर रिट गर्नु भएको छ । यसरी अनुचित विलम्ब गरी एवं सफा हात बेगर दायर गरेको रिट निवेदन खारेज योग्य छ । नगर पञ्चायत ऐन, २०१९ को दफा ५४(क) ले नक्शा भन्दा बढी वा हेरफेर गरी घर आदी बनाएमा जरिवाना गर्न सक्ने अधिकार प्र.पं.लाई प्रदान गरेकोले सोही ऐनको अख्तियारी भित्र बसी गरेको काम कारवाही बदर हुनु पर्ने होइन । हक बेहकतर्फ नगर पञ्चायतबाट निर्णय भएको छैन तसर्थ विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको उमाचरण वैद्यको लिखिन जवाफ रहेछ ।
६. रिट निवेदकले घर बनाउन भनी पू.पं. ३०’२” उत्तर दक्षिण २०’५” को नक्शा पास गराई लगेकोमा नक्शा घरको उत्तर पश्चिम कुनामा ८’१०” ५’१०” लम्बाई चौडाइको धारा र चर्पीको १ तले बढी घर बनाएको देखिएको हुनाले निजलाई नगर पंचायतऐनको दफा ५४(क) अनुसार रु. ५०।– जरिवाना गरिएको हो । नक्शा भन्दा बढी बनाइएको जग्गा दर्तावालाको नभई जग्गा मिचिएको छ भन्ने प्रत्यर्थीको उजूर परेको हकमा अदालतबाट हक कायम गर्न सक्ने भएकोले सो अनुसार गर्नु भनी सुनाई दिएको आदेश यस नगर पञ्चायतको काम कारवाही कानुन अनुरुपकै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको भक्तपुर नगर पञ्चायतको लिखिन जवाफ रहेछ ।
७. नियम बमोजिम पेशीसूचीमा चढी बेञ्चसमक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदन पत्रमा रिट निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी भक्तपुर नगर पंचायततर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर तथा विपक्षी उमाचरण वैद्यको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले प्रस्तुत गर्नु भएको बहस समेत सुनियो ।
८. भक्तपुर नगर पञ्चायतका प्रधानपञ्चबाट भएको मिति २०४१।३।१२।२ को गैरकानुनी निर्णय उत्प्रेषण लगायतको आदेशद्वारा बदर गरिपाउँ भन्ने रिट निवेदकको मुख्य निवेदन जिकिर भएकोले सो बमोजिम गर्न मिल्ने नमिल्ने के हो त्यसतर्फ बिचार गर्दा यसमा लिखिन जवाफवाला उमाचरण वैद्यको लिखिन जवाफको प्रकरण नं.२ मा विपक्षीले मेरो जग्गा मिची धारा, चर्पी घर बनाएकोले सो धारा, चर्पी घर भत्काई म प्रत्यर्थीको पाताल जग्गा मलाई दिलाई चलन समेत चलाई पाउँ भनी भक्तपुर जिल्ला अदालतमा फिराद दायर गरी सकेको छु भनी उल्लेख भएको देखिन्छ । यसरी भक्तपुर जिल्ला अदालतमा नालेश परी विचाराधीन भई मुद्दा चल्दाचल्दैको अवस्थामा असाधारण अधिकारक्षेत्रको प्रयोग गरी रिट निवेदनबाट उपचार प्रदान गर्न मिल्ने देखिन आएन । तसर्थ प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । नियमानुसार गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वी बहादुर सिंह
इतिसम्वत् २०४२ साल माघ ७ गते रोज २ शुभम् ।