शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५६५ - उत्प्रेषण

भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२

निर्णय नं. २५६५    ने.का.प. २०४२      अङ्क १२

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको रिट नं. २०००

विषय : उत्प्रेषण ।

 

निवेदक      :हेटौंडा कपडा उद्योग लि.का.कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक केशवप्रसाद प्रधान ।

विरुद्ध

विपक्षी : श्रम कार्यालय,नारायणी अंचल वीरगञ्जका श्रम अधिकृत श्री मुकुन्द कार्की ।

ऐ.लि.का.विविध विभागका मजदुर दिवाकर लामिछाने ,

आदेश भएको मिति:२०४२।१०।१५।३ मा

     मानिस जम्मा गरी टेबुल तोडफोड समेत गरेको अभियोगमा स्पटीकरण लिई नसिहत दिने गरेको निर्णय नेपालको संविधानको धारा ९ को विपरीत भएको भन्न नमिल्ने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री किशोर कुमार अधिकारी

विपक्षी तर्फबाट      : विद्वान सहन्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट

उल्लेखित मुद्दाःX

आदेश

न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ ।

२.    मिति ०४१।२।२८ का दिन आफ्नो डिउटीमा नबसी काम छाडी अन्यत्र गएको ०४१।३।२० का दिन ३५४० जना कामदार लिई आई कारखानाभित्र घेराउ गरी सुपरभाईजरलाई धम्की दिएको । ०४१।३।२१ का दिन २.४५ बजे अरु विभागका मजदुर समेत ल्याई घेराउ गरी हुलदंगा गरेको, अनुशासन तोड्ने कार्य गरेको तथा टेबुल तोडफोड गरी उद्योगको सम्पत्ति हानी नोक्सानी गरेको भन्ने आरोप लगाई प्रचलित कानुन बमोजिम किन सजायँ नगर्ने ३ दिनभित्र स्पष्टीकरण पेश गर्नु भनी सोधिएकोमा ०४१।२।२८ को घटनाबारे त्यसबेला म आफ्नो विभागमा काम नभएकोले बाहिर बसेको थिएँ । विभागीय प्रमुखसँग तत्काल माफी नमागी ०४१।३।२८ मा माफी मागी हाजिर समेत पाई सकेपछि ०४१।३।२२, ०४१।३।२० र ०४१।३।२१ को घटनालाई समेत लिई स्पष्टीकरण माग गरेकोमा सन्तोषप्रद नभएको भनी कसूर बिना ०४१।६।९ मा नसिहत दिएको हुँदा उक्त नसिहत बदर गरिपाउँ भन्ने विपक्षी दिवाकर लामिछानेको उजूरी पत्र ।

३.    काममा हेलचेक्र्याई गरेको, हुलदड्डा गरी अनुशासन तोडेको, घेराउ गर्ने काम गरेको र उद्योगले तोकेको म्यादभित्र स्पष्टीकरण समेत पेश नगरी आदेशको अवहेलना समेत गरी अनुशासनहिन भएको कारणहरूबाट नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ५१ को उपदफा (२) को (घ) अनुसारको खराब आचरण बापत वादीलाई नसिहत दिएको हुँदा नसिहत पत्र सदर कायम राखी पाउँ भन्ने समेत हेटौंडा कपडा उद्योग लि.को प्रतिउत्तर ।

४.    मुख्य विषय हाजिरी सम्बन्धी कुरालाई नै लिएर दुबै तर्फबाट वादविवाद भएको देखिएको र आफ्नो गल्ती स्वीकार गर्दै क्षमा मागी वादीले निवेदन दिएको तथा ०४१।३।२९ मा विभागीय प्रमुखबाट क्षमा समेत पाइसकेकोले ०४१।६।९ मा पुनः उद्योगले दिएको नसिहत नेपालको संविधान, २०१९ को धारा ११(४) र प्रचलित ऐन कानुन समेतबाट अनुकूल नभएको हुँदा नसिहत बदर हुने ठहर्छ भन्ने श्रम अधिकृतको ०४१।११।१३ को निर्णय पर्चा ।

५.    उल्लिखित ०४१।११।१३ को निर्णय पर्चामा नेपालको संविधानको धारा ११(४) को गलत प्रयोग हुनुको अलावा अ.बं.१८५।१८९ नं.प्रमाण ऐनको दफा ८ तथा कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ५१ को उपदफा (२)(घ) समेतको प्रत्यक्ष त्रुटि भएकोले निवेदकको कानुनी हकमा र नेपालको संविधानको धारा ९(घ) धारा १०(१) द्वारा प्रदत्त हकमा समेत आघात पुगेकोले धारा ७१ अन्तर्गत यो निवेदन गर्न आएको छु । विपक्षी श्रम अधिकृतको ०४१।११।१३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी मौलिक हक एवं कानुनी हकको संरक्षण गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।

६.    यसमा के कसो भएको हो विपक्षीहरूबाट लिखिन जवाफ मगाई आएपछि नियमानुसार पेश गर्नु भन्ने स.अ.सिंगल बेञ्जको मिति ०४२।१।२३।१ को आदेश ।

७.    श्रम कार्यालय ना.अञ्चल वीरगञ्जका श्रम अधिकृतले निर्णय गर्दा उजूरवालाको उजूरी वादी प्रतिवादीको प्रतिउत्तर जिकिर, साक्षीहरूको बकपत्र, पेश भएको प्रमाण तथा विद्वान वकिलहरूको बहस समेत सुनी इन्साफ गरिएको मिसिलसाथ संलग्न २०४१।११।१३ को निर्णय पर्चाको ठहरको प्रारम्भले समेत प्रष्ट्याई गरेको छ । प्रमाणमा लिनुपर्ने कुराहरू नलिई निर्णय भएको भन्ने विपक्षी उद्योगको भनाई छ । निरर्थक हुँदा  विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने श्रम कार्यालय नारायणी अञ्चल वीरगञ्जका श्रम अधिकृतको लिखिन जवाफ ।

८.    म एक मजदुर नागरिकलाई दुःख दिने प्रयास गरी हाजिरी सम्बन्धी विवादलाई लिएर झुठ्ठा आरोप लगाई स्पष्टीकरण माग गरी निवेदन लिई क्षमा प्रदान गरेपछि नसिहत दिने र उक्त नसिहत बदर गरी दिंदा चित्त नबुझे ३५ दिनभित्र श्रम विभागमा पुनरावेदन गर्न जानु भन्दा भन्दै उपचारको मार्ग छैन भनी असाधारण अधिकारक्षेत्र गुहार्ने निवेदकलाई हक नहुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने दिवाकर लामिछानेका लिखिन जवाफ ।

९.    नियमानुसार दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनका सम्बन्धमा विपक्षको वा. अनुपस्थित भएकोले उपस्थित रिट निवेदकका वा.लाई रोहवरमा राखी रिट निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री किशाोरकुमार अधिकारी र विपक्षी श्रम कार्यालयका तर्फबाट उपस्थित सहन्यायाधीवक्ता श्री प्रेमबहादुर विष्टले गर्नु भएको बहस जिकिर समेत सुनियो । प्रस्तुत विषयमा निवेदकको माग दावी अनुसारको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सोतर्फ नै निर्णय गर्नु पर्ने हुन आयो ।

१०.    यसमा हाजिर सम्बन्धी कुरालाई लिएर दुवै तर्फबाट वादविवाद भई वादीले आफ्नो गल्ती स्वीकार गर्दै क्षमा मागी निवेदन दिएकोमा विभागीय प्रमुखबाट समेत क्षमा पाइसकेकोमा पुनः ०४१।६।९ मा उद्योगले दिएको नसिहत नेपालको संविधानको धारा ११(४) विपरीत हुँदा उक्त नसिहत बदर हुने ठहर्छ भनी श्रम कार्यालयबाट ०४१।११।१३ मा भएको निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने रिट निवेदकको मुख्य जिकिर रहेको देखिन्छ । प्रत्यर्थी दिवाकर लामिछाने ०४१।२।२८ मा हाजिर नभएकोमा निजले लिखित रुपमा क्षमायाचना गरेकोमा ०४१।३।२९ मा निजलाई हाजिर गर्न दिने भनी उक्त विवाद त्यहीं समाप्त भएको देखिन्छ । प्रस्तुत विवाद निजले पुनः ०४१।३।२० र ०४१।३।२१ मा मानिस जम्मा गरी टेबुल तोडफोड समेत गरेको अभियोगमा निजसँग स्पष्टीकरण लिई निजलाई नसिहत दिएकोमा प्रत्यर्थी श्रम अधिकृतले उक्त हेटौंडा कपडा उद्योगले गरेको पछिको निर्णयलाई अघि माफी दिई सकिएको भनी नेपालको संविधानको धारा ११(४) को विपरीतको भनी हेटौंडा कपडा उद्योगको सो पछिको कारवाई सम्बन्धमा निर्णय बदर गरेको पाइन्छ । प्रत्यर्थीलाई ०४१।३।२० र ०४१।३।२१ मा निजले पछि गरेको अभियोगमा हेटौंडा कपडा उद्योगले नसिहत दिने गरेको निर्णय नेपालको संविधानको धारा ९ को विपरीत भएको भन्न मिलेन, तसर्थ श्रम कार्यालय नारायणी अञ्चलका श्रम अधिकृतको ०४१।११।१३ गतेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । विपक्षी कार्यालयको जानकारीको लागि यो आदेशको एकप्रति प्रतिलिपि म.न्या.का.मा पठाई नियमानुसर गरी फाईल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४२ साल माघ १५ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु