निर्णय नं. २५६७ - उत्प्रेषण

निर्णय नं. २५६७ ने.का.प. २०४२ अङ्क १२
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४२ सालको रि.नं. २४३६
विषय : उत्प्रेषण ।
निवेदक :का.जि.का.न.पं.वडा नं.२१ यङ्गालटोल बस्ने चक्र बहादुर राजभण्डारी ।
विरुद्ध
विपक्षी :भूमि सुधार कार्यालय काठमाडौं ।
का.जि.महांकाल गा.पं. वडा नं.३ मंगल माझीटार बस्ने कृष्ण प्रसाद भन्ने दिव्य प्रसाद पराजुली ।
आदेश भएको मिति:२०४२।११।१३।२ मा
अधिकार प्राप्त अधिकारीले गरेको निर्णय त्रुटि नदेखिँदा रिट निवेदन खारेज हुने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबा :विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ
विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट र विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्याल
उल्लेखित मुद्दाःX
आदेश
न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको रिटनिवेदकको निवेदन जिकिर निम्न प्रकार छन् :
२. मेरो दर्ता का.जि.चपली गा.पं. वडा नं. ७(क) कि.नं.२२ खेत दो २–२४–० वार्ड नं.७(ग) कि.नं.१२४ पा.अ.१–७–१ कि.नं.१७५ पा.अ.३–९–० कि.नं.१७७ पा.अ.०–१३–२ कि.नं.१२९ खेत सिम ०–२–१ समेत कित्ता ५ विपक्षी मोही भई कमाएको २०३९ सालको कुत बाली नदिएको बिगो रु. १०८३।८१ भराई मोहीबाट निष्कासन गरिपाउँ भन्ने मेरो फिराद । म्यादभित्र स्थानीय पञ्चायतमा धरौटी राखेको छु भन्ने प्रतिउत्तर धरौट राखेको छैन भन्ने स्थानीय भद्रकाली गा.पं. को पत्र । मोहीले सक्कल भर्पाई पेश गर्न नसकेको पञ्चायतले धरौट छैन भन्ने जवाफ दिएको प्रतिवादीबाट बाली वादीले भरी पाउने ठहर्छ निष्कासनको हकमा यो १ साल मात्र मुद्दा भएको र वादी दावीको जग्गा अन्यत्र बिक्री भइसकेकोले नहुने ठहर्छ भन्ने समेत विपक्षी कार्यालयको ०४२।१।९।१ को फैसला पछि जग्गा साविकमा श्रीमती तेजकुमारीको नाउँमा दर्ता भएको २०२०–२०२१ सालको कुत बालीमा र निष्कासन गर्ने गरी ०२५।१०।६।१ मा का.जि.अ.बाट फैसला भएको छ त्यसपछि अब कुत बाँकी राख्दीन भनेकोले कमाउन दिएकोमा ०२७ देखि ०३० सालसम्मको बालीमा सालै पिच्छे नालेश परेकोमा निर्णय भएकोले तारेख गुजारी डिसमिस फैसला भयो ।
३. ०३१ देखि ०३५ साल सम्मको बाली र निष्कासनमा पृथक–पृथक नालिश गरेकोमा सबै मुद्दामा बाली भरी पाउने भन्दै ०३३ सालको मुद्दामा यो एकपटकलाई निष्कासन नहुने भनी र २०३४ सालको मुद्दामा यो एकपटक निष्कासन नगर्ने भनी भू.सु.का.बाट फैसला भयो । तेजकुमारीको देहान्त भई मेरो नाउँमा नामसारी दर्ता भई ०३७–३८ सालको बाली भराई निष्कासन गरिपाउँ भनी नालेश गरेकोमा धरौट राखेको देखी निष्कासन नगर्ने भनी ०३९।११।१९ मा भू.सु.का.बाट फैसला भयो ।
४. उल्लिखित कि.नं.१२४ मा मेरो आफ्नो घर छ सो घर केही बढाई विपक्षीले बनाएकोमा बढी बनाएको जति भत्काई पाउँ भन्ने समेत मेरो नालेश परकोमा मोहीको हैसियतले कच्ची घर रुपमा छाप्रो बनाउन पाउने भनी मध्यमाञ्चल क्षेत्रिय अ..डिभिजन बेञ्जबाट ०३८।१।३।४ मा फैसला भएको छ भू.सं.ऐन अनुसार मोहीले खेतीको लागि कुरुवा छाप्रो समेत बनाउन पाउने भन्ने समेत र मोहीको हक टुट्ने भएमा सो जग्गामा जोडेको अचल सम्पत्ति बाहेक अरु सम्पत्ति पुरेको ३० दिनभित्र हटाउन पाउने छ तर पञ्चायतले तोकेको बिगो जग्गावालाले मोहीलाई दिन्छ भने स्थायी उन्नती निमित्त बनेको कुनै चिज वस्तु हटाउन पाउने छैन भन्ने समेत छ । विवादित जग्गाहरू एकै ठाउँमा छ र कि.नं.१२४ मा मेरो घर छ ०३९ सालको बालीमा मुद्दा परेपछि मैले अन्य व्यक्तिलाई बिक्री गरेपछि जग्गाधनी हक मात्र बिक्री गरेको हुँ मोहियानी हक उल्लिखित घर बिक्री गरेको छैन कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४ बमोजिम पछि जग्गाधनी हक बिक्री गरेको नाताले मोहियानी हकको मेरो दावीमा असर पर्न सक्दैन । २०२०–२१ सालको बालीमा नालेश परी का.जि.अ.बाट ०२५।१०।६।१ मा निष्कासन समेतको फैसला भएको छ । ०२७ देखि ०३० सालको बालीमा परेको नालेश डिसमिस हुन पुगेको छ । ०३१ देखि ०३५ सालको नालेश परी फैसला हुँदा एकपटकलाई निष्कासन नहुने गरी फैसला भएको छ । ०३७–३८ को बाली निष्कासनमा मुद्दा परेको फैसला भएको छ । ०३९ सालको प्रस्तुत मुद्दामा नराखेको धरौट राखे भन्ने मोहीलाई फेरी पनि यो १ सालको मात्र झुठ्ठा भएको भन्ने घोर आश्चर्यको कुरा छ । भू.सु.वा.अर्ध न्यायिक निकायले प्रमाणको मूल्यांकन नगरी गरेको निर्णय त्रुटिपूर्र्ण छ । उक्त निर्णयले संविधानको धारा १०(१)(२) धारा ११(२)(ङ) धारा १५ वा प्रदत्त हकमा आघात पुर्याएका कानुन बमोजिम निष्कासन गर्न नपर्ने कुनै मनासिव माफिकका कारण उल्लेख गर्न नसकी गरेको निर्णयबाट उल्लिखित संवैधानिक हकबाट वञ्चित हुनु परेको छ र उपचारका अन्य व्यवसाय नभएकोले धारा १६ बमोजिम उत्प्रेषण मिश्रित परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी विपक्षी कार्यालयबाट भएको फैसला बदर गरी कानुन बमोजिम निर्णय गर्नु भन्ने विपक्षी नं.१ को नाउँमा आदेश गरी प्रदत्त हक प्रचलन गरिपाउँ भन्ने निवेदकको मुख्य जिकिर रहेछ ।
५. यसमा के कसो भएको हो विपक्षी कार्यालय समेतबाट लिखिन जवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतको सिंगल बेञ्जबाट ०४२।४।१३ मा भएको आदेश रहेछ ।
६. यसमा वादीले ०३९ सालको बाली भराई जग्गाबाट समेत निष्कासन गरिपाउँ भनी दावी गरेको र प्र.वादीले बाली तिर्न समेत मन्जूर भएकोले वादीले बाली भराई पाउने र जग्गाबाट निष्कासन नहुने गरी यस कार्यालयबाट गरेको निर्णय कानुन बमोजिम नै भएकोले उक्त रिट निवेदन खारेज गरी पाउन सादर अनुरोध छ भन्ने समेत भूमि सुधार कार्यालय काठमाडौंको लिखिन जवाफ रहेछ ।
७. कि.नं.१२४ मा निवेदकको कुनै घर छैन म मोहीको घरमा मात्र र मेरो बसोबास पनि सोही घरमा नै छ विपक्षीको घर भएको भए घर मात्र बाँकी राखी जग्गा मात्र बिक्री गर्ने थिएनन् यसबाट विपक्षीको घर नभएको प्रष्ट छ । भू.सु.ऐन, २०२१ को दफा २९(१) मा मोहीले कुत बुझाएन भने मोहीलाई निष्कासन गर्नु भन्ने किटानी गरेको पाइँदैन । मुद्दाको स्थिति र सबूद प्रमाण हेरी निष्कासन गर्न नपर्ने देखि गरेको फैसलामा कानुनी त्रुटि नहुँदा सो फैसला सदरै राखी प्रस्तुत निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी लिखिन जवाफवाला कृष्णप्रसाद भन्ने दिव्यप्रसाद पराजुलीको लिखिन जवाफ रहेछ ।
८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत विषयमा रिट निवेदकका तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ, विपक्षी कार्यालयको तर्फबाट बहसको लागि उपस्थित विद्वान सह–न्यायाधीवक्ता श्री प्रेमबहादुर विष्ट तथा विपक्षी दिव्यप्रसाद पराजुलीको तर्फबाट बहसको लागि उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
९. प्रस्तुत विषयमा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आएको छ ।
१०. यसमा विवादित जग्गाहरू सबै एकै ठाउँमा छ र कि.नं.१२४ मा मेरो घर ०३९ सालको बालीमा मुद्दा परिसकेपछि जग्गाहरू मैले अन्य व्यक्तिलाई बिक्री गरे पनि जग्गाधनी हक मात्र बिक्री गरेको हुँ मोहियानी हक र उल्लिखित घर बिक्री गरेको छैन जग्गाधनी हक मुद्दा परेपछि मात्र बिक्री गरेको छु । कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४ बमोजिम पछि जग्गाधनी हक बिक्री गरेको नाताले मोहियानी हकको मेरो दावीमा असर पर्न सक्तैन उही एउटै नालेशको बिगोको दावी बमोजिम भरी पाउने गरेको छ भने निष्कासनतर्फ जग्गा अन्यत्र बिक्री भइसकेको भन्ने कुरा न्यायिक मनको अभावको साथै उल्लिखित कानुन व्याख्या सम्बन्धी ऐनको त्रुटि र भू.सं.ऐन, ०२१ को दफा २९(१) को त्रुटि भएको छ भन्ने समेत मुख्य निवेदन जिकिर देखिन्छ । भू.सु.का.बाट निर्णय हुनुभन्दा अगाडि नै निवेदकले विवादको जग्गा बिक्री गरी सकेको भन्ने देखिन्छ । त्यसपछि भू.सु.का.बाट ०४२।१।९।१ मा निर्णय हुँदा वादी दावी बमोजिमको ०३९ को सालको बाली प्रतिवादीबाट वादीले भरी पाउने ठहर्छ, निष्कासनका हकमा यो १ सालको मुद्दा भएको र वादी दावीको जग्गा नै अन्यत्र बिक्री गरिसकेको समेतका आधारमा निष्कासन नहुने भनी ठहर गरेकै छ । प्रस्तुत निवेदन गर्दा विवादको जग्गामा निवेदकको हक कायम नरहेको देखिन्छ तसर्थ अधिकार प्राप्त अधिकारीले गरेको निर्णय त्रुटि नदेखिँदा रिट निवेदन खारिज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४२ साल फाल्गुण १३ गते रोज २ शुभम् ।