निर्णय नं. २५७१ - ज्यान

निर्णय नं. २५७१ ने.का.प. २०४२ अङ्क १२
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४१ सालको फौ.पु.नं. ४३४
मुद्दा : ज्यान ।
पुनरावेदक/वादी:प्र.ह.नेत्र बहादुर खत्रीको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
विपक्षी/प्रतिवादी:तनहुँ जिल्ला आंबुखैरनी गा.पं.वडा नं.६ बस्ने इश्वरी पन्त
फैसला भएको मिति:२०४२।११।२३।५ मा
जन्म दिने आमालाई मात्र बच्चा जिउँदो वा मरेको कुन अवस्थामा जन्मेको थियो भन्ने कुरा थाहा हुने र मातृप्रेमको कोमल ह्दय हुने आमाले शिशुलाई कर्तव्य गरी मारिन् होला भनी कल्पना गर्नु पनि स्वाभाविक नहुने ।
(प्रकरण नं. २१)
पुनरावेदक,वादी तर्फबाटः विद्वान मुख्य न्यायाधीवक्ता श्री केदार प्रसाद शर्मा ।
विपक्षी,प्रतिवादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.पृथ्वी बहादुर सिंहः श्री पश्चिमान्चल क्षेत्रिय अदालतको फैसलाउपर पुनरावेदन पर्नआएको प्रस्तुतमुद्दाको संक्षिप्ततथ्य एवं जिकिर यसप्रकार छ ।
२. मिति ०३८।४।१८ गते राती अविवाहिता इश्वरी पन्तले बच्चा पाई कसैलाई थाहा नदिई सो बच्चा लगी पुरी गाडी भन्ने शंका लागेकोले कानुन बमोजिम आवश्यक कारवाही गरिपाउँ भन्ने प्र.ह. नेत्रबहादुर खत्रीको प्रतिवेदन ।
३. डेढ फिट गहिराई, तीन फिट चौडाई, तीन पिटि लम्बाई भएको खाल्टो भित्र मृतक बच्चाको लाश रहेको, लाश सडी गली मुख, आँखा समेत नदेखिएको र खाल्टो भित्र टाउको रहन गई खप्पर फुटेको भन्ने लाश जाँच प्रकृति मुचुल्का ।
४. सार्की भन्ने कुमार श्रेष्ठसँग ०३७ साल कार्तिक महिनामा करणी भएको र ऐ. मार्ग महिनामा नै दोस्रोपटक करणी भई मेरो पेटमा गर्भ रहन गई ९ (नौ) महिना पुगेपछि ०३८।४।१८ गते बेलुकी माइत घरमा मृतक अवस्थामा बच्चा छोरी पैदा भएको हो पछि दाजु, आमाले मरेको बच्चा गाडी पुरेका हुन । मैले कर्तव्य गरी मारेको होइन भन्ने इश्वरी पन्तको प्रहरीमा भएको बयान कागज ।
५. मिति ०३८।४।१८ गते इश्वरी पन्तले मेरो घरमा मृतक जन्मिएको छोरी, छोरा र म भई गाडी ढुंगाले च्यापी आएको हो । कर्तव्य गरी उक्त बच्चा मारे मराएको होइन भन्ने इश्वरीकी आमा साननानी पन्तले प्रहरीमा गरेको बयान कागज ।
६. मिति ०४०।४।१८ गते बहिनी इश्वरीपन्तले सार्की भन्ने कुमारकेटाको करणीबाट रहनगएको गर्भबाट मरेको बच्चा छोरी जन्मिएकोले मृतक बच्चा आमा र म भई जमीनमा दबाएका हौं । कर्तव्य गरी मारे मराएको होइन भन्ने इश्वरी पन्तको दाजु रामबहादुरले प्रहरीमा गरेको बयान कागज ।
७. इश्वरी पन्तले जन्माएको बच्चा मरेको थियो वा जिउँदो थियो सो हामीलाई थाहा छैन । भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
८. मिति ०३८।४।१८ गते जन्मेको बच्चा मेरो करणी विर्यबाट नै गर्भ रहन गई मृतक बच्चा पैदा भएको जस्तो लाग्छ भन्ने समेत व्यहोराको सार्की भन्ने कुमार श्रेष्ठको प्रहरीमा भएको बयान कागज ।
९. इश्वरी पन्तले मिति ०३८।४।१८ गते बेलुकी जिउँदो बच्चालाई कर्तव्य गरी मारी पछि आमा र दाजुलाई खबर गरी आमा र दाजुले घर देखि पश्चिमपट्टी लगी पुरेकोले निज इश्वरी पन्तलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३(३) नं.अनुसार सजायँ हुन माग दावी लिएको र निज इश्वरीको दाजु रामबहादुर र आमा सान्नानी उपर ज्यानसम्बन्धी महलको २४ नं.बमोजिम गर्ने गरी खोजीएका बखत दाखेल गराउने गरी हाजिर जमानिमा छाडीएको भन्ने समेत माग दावी भएको प्रहरी प्रतिवेदन ।
१०. सार्की भन्ने कुमार श्रेष्ठको दोस्रो करणी विर्यबाट मेरो पेटमा गर्भ रहन गई नौ महिनामा ०३८।४।१८ गते राती मृतक छोरीको जन्म भई सो बच्चा आमा र दाजु समेत भई बाँसको झ्याङमा लगी गाडी आएका हुन् । जिउँदो बच्चा जन्माई कर्तव्य गरी मारे मराएको समेत छैन भन्ने व्यहोराको र अदालतमा प्र.इश्वरी पन्तले गरेको बयान ।
११. मिति ०३८।४।१८ गते राती मेरो बहिनी इश्वरीपन्तले मृतकबच्चा जन्माई सो बच्चालाई आमाले र मैले जमीनमा दवाएका हौं कर्तव्य गरी मारे मराएको हैन भन्ने रामबहादुर पन्तले अदालतमा गरेको बयान ।
१२. मिति ०३८।४।१८ गते राती अन्दाजी ९।१० बजेको समयमा छोरी इश्वरी पन्तले मृतक छोरी जन्माई मृतक जातकलाई छोरा र म भई जमीनमा गाडेको हो, बच्चालाई कर्तव्य गरी मारे मराएको समेत हैन भन्ने सान्नानी पन्तले अदालतमा गरेको बयान ।
१३. कसूर गरेको सबूद प्रमाणको अभावमा अभियुक्त इश्वरी पन्तले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु तनहुँ जिल्ला अदालतले ०३८।१२।२८ को फैसला ।
१४. शुरु जि.अ.ले प्र.लाई सफाई दिने गरी गरेको फैसला कानुनसंगत नभएबाट शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्नेसमेत श्री ५ को सरकारकोतर्फबाट प.क्षे.अदातलमा पुनरावेदन गरेको रहेछ ।
१५. प्रमाणकोअभावमा शुरुले इश्वरीपन्तलाई सफाइदिने ठहरगरेको फैसला कानुनसंगत देखिन आएकोले पुनरावेदन जिकिर पुग्न नसक्ने भई शुरुफैसला मनासिव ठहर्छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतडि.बे.को मिति ०४१।२।१६ को फैसला ।
१६. बच्चीलाई गाड्दा बच्चीको बाबु वा हकदारहरूलाई सूचनासम्म पनि नदिई लाशलाई रातमा गाडिएको समेत देखिँदा बच्चीको मृत्यु स्वभाविक नभई कर्तव्यबाट भएको स्पष्ट देखिन्छ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परेको ।
१७. नियम बमोजिम पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी वादी श्री ५ को सरकारतर्फबाट खटिनुभएका विद्वान मुख्य न्यायाधीवक्ता श्री केदार प्रसाद शर्माको बहस समेत सुनियो ।
१८. प्रस्तुत मुद्दामा तनहूँ जि.अ.ले प्र.लाई सफाई दिने ठहराएको प.क्षे.अदालतले शुरुको इन्साफ मनासिव ठहराई सदर गरेको इन्साफ मिले वा नमिलेको के रहेछ त्यसमा निर्णय दिनु पर्ने भएको छ ।
१९. निर्णयतर्फ बिचारगर्दा यसमा सार्की भन्ने कुमार श्रेष्ठसंगको अनुचितसम्बन्धबाट प्र.इश्वरी पन्तले बच्ची छोरी जन्माई निजको जातक मारी गाडेको भन्ने वादी पक्षको जिकिर दावी भएकोमा ठोस सबूद प्रमाणको अभावमा प्र.इश्वरी पन्तलाई शुरु जि.अ.देखि नै अभियोगबाट सफाई दिएको देखिन्छ ।
२०. सार्की भन्ने कुमार श्रेष्ठको अनुचित सम्बन्धबाट बच्चा जन्मेको हो भन्ने कुरामा विवाद देखिँदैन । किनभने कुमार श्रेष्ठले जातक मेरै हो भनी स्वीकार गरेको र प्रतिवादी इश्वरी पन्तले पनि सहमति जनाएकी छिन् ।
२१. बच्ची मरेको थियो या जिउँदो बच्चीलाई कर्तव्य गरी मारी गाडेको हो भन्ने कुराको हकमा बिचार गर्दा जाहेरवालाले पनि बच्ची जन्मेको थियो भनी स्पष्ट रुपमा जाहेर गर्न नसकी केवल, शंका मात्र देखाई जाहेर गरेको देखिन्छ । लाश जाँच प्रकृति मुचुल्काबाट लाशको टाउको शरीरबाट छुट्टिएको खप्पर फुटेको समेत भन्ने कुराको हकमा भर्खर जन्मिएको बच्ची ढुंगाले किची माटोले पुरेको र दुर्गन्ध आउने गरी सडी गली गएको अवस्थामा लाश जाँच प्रकृति मुचुल्का भएकोले त्यस्तो हुनु स्वभाविकै देखिन्छ । बच्चा जिउँदो थियो भनी देख्ने वादी पक्षको चस्मदित गवाहको अभाव छ । जन्मदिने आमालाई मात्र बच्चा जिउँदो वा मरेको कुन अवस्थामा जन्मेको थियो भन्ने कुरा थाहा हुने र मातृप्रेमको कोमल ह्दय हुने आमाले शिशुलाई कर्तव्य गरी मारिन् होला भनी कल्पना गर्न पनि स्वाभाविक हुँदैन । बच्ची मृत अवस्थामा जन्मेको हो भनी जन्म दिने आमा अभियोगमा शुरुदेखि इन्कार रही आएकी छिन् । तसर्थ अभियोग प्रमाणित गर्ने ठोस सबूद प्रमाणको अभावमा शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने सर्वमान्य फौज्दारी न्याय सिद्धान्त अनुसार तनहूँ जि.अ.को इन्साफ सदर गरेको पश्चिमान्चल क्षेत्रिय अदालतको इन्साफ मनासिव ठहर्छ वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४२ साल फाल्गुण २३ गते रोज ५ शुभम् ।