निर्णय नं. २५७७ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. २५७७ ने.का.प. २०४२ अङ्क १२
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४१ सालको रिट नम्बर १८४१
विषय : उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
निवेदक :जि.सिरहा कर्जन्हा गा.पं.वडा नं.७ बस्ने कुरेसा खातुन ।
ऐ.ऐ बस्ने जमिर शेख मिया ।
विरुद्ध
विपक्षी :जि.सिराहा कर्जन्हा गा.पं.वडा नं.७ बस्ने महम्मद खुरसेद आलम ।
भूमि सुधार कार्यालय सिरहाका श्री भूमि सुधार अधिकारी ।
आदेश भएको मिति:२०४२।११।२०।२ मा
आवश्यक सबूद प्रमाण बुझी सो को मूल्यांकन समेत गरी अधिकार प्राप्त अधिकारीले प्रचलित कानुनको परिधीभित्र रही गरेको निर्णयमा कुनै कानुनको त्रुटि भएको नहुँदा निवेदन जिकिर बमोजिम आदेश जारी गर्न नमिल्ने ।
(प्रकरण नं. १५)
निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शिवानन्द दाश शरस
विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री भैरव प्रसाद लम्साल
उल्लेखित मुद्दाःX
आदेश
न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ ।
२. कुरेसाका ससुरा र जमिरका बाजे कर्मान मियां तत्कालिन जग्गाधनी गिरधर गोपालको जग्गा मोहिमा कमाई आएको, भू.सु.लागू हुँदा १ नं.मोही लगत भरी २ नं.अनुसूची प्रकाशित भई ४ नं.जो.अ.नि.पाएको र पछि सर्वे हुँदा मोही लेखाई कर्जन्हा गा.पं.वार्ड नं.२क. कि.नं.२६९ को ०–५–१५ को मोहियानी हकको प्रमाणपत्र समेत पाई निज जीवित छँदासम्म निजै कुर्मानले कमाई आउनु भएको थियो । उक्त जग्गा विपक्षी खुरसेदले ०३०।३१ सालतिर खरीद गरी लिएपछि पनि ससुरा बाजेले नै कमाई आउनु भएको थियो । कर्मान ०३३ सालमा परलोक हुनु भयो । कर्मानको जहान सासु बजै जीवित नहुँदा विपक्षी जग्गाधनीको मन्जूरी बमोजिम पति बाबु जमसेदले ०३३।०३४ सालको बाली मोहीकै हैसियतले कमाई जग्गाधनीलाई धानबाली दिनु भएको थियो । कुर्मानको मृत्यु पश्चात जमसेदले भू.सु.ऐनको दफा २६(१) ले मोहियानी हक पाई जग्गा मोहीको हैसियतले २ वर्षसम्म भोगी सकेपछि ०३४ सालको अन्ततिर परलोक हुनुभएकोले हामी आमा छोराले जग्गा कमाई विपक्षीलाई कुतबाली बुझाउँदै आई रहेको थियो । हित्तचित्त मिलेकोले रसिदको चलन थिएन । हाम्रा पनि बाबु पछि हामी कुनै एकजनालाई विपक्षीको दफा २६(१) अनुसारको मोही रोज्नु पर्नेमा ०२४ सालमा कुर्मान परलोक भएपछि आफैं कमाई भोगी आएको र कुर्मानको स्वास्नी छोरा समेत नभएकोले मोही लगत कट्टा गरिपाउँ भन्ने विपक्षी जग्गाधनीले ०४१।६।३ मा भू.सु.का.मा निवेदन दिनु भई भू.सु.का.बाट कुर्मानका हकदारका नाउँमा म्याद जारी हुँदा कुर्मान ०३३ सालमा परलोक भएको र त्यसपछि जमसेदले कमाई ०३४ मा निज पनि परलोक भएकोले हामीले जग्गा कमाउँदै आएको हुँदा कुर्मानको मोही लगत कट्टा नभई हाम्रो नाउँमा मोही नामसारी हुनु पर्ने भनी प्रतिवाद गरें । भू.सु.का.बाट कुनै सबूद प्रमाण नबुझी गा.पं.को सिफारिशको आधारमा कुर्मानको छोरा पत्नि नभएकोले बुहारी नातामा मोही सर्न नसक्ने हुँदा कुर्मान मियांको नामको मोही लगत कट्टा गरिदिने ठहराई ०४१।९।१७ मा निर्णय भएको रहेछ ।
३. अ.बं.१८४(क) अनुसार विवादको विषयमा सबूद प्रमाण नबुझी निर्णय भएबाट ऐनको प्रत्यक्ष त्रुटि हुनुको साथै ०२४ सालमा कुर्मानको परलोक भएको भन्ने विपक्षीको दावी र ०३३ सालमा परलोक भएको भन्ने हाम्रो प्रतिवाद हुँदा कुन मितिमा परलोक भएको हो भन्ने कुरा र जमसेदले मोही सरह जग्गा कमाए नकमाएको विषयमा समेत विवादीत विषयमा विपक्षी अधिकारीज्यूले कुनै सबूद प्रमाण नबुझी गर्नु भएको निर्णय प्रमाण ऐन, ०३१ को दफा ३ को समेत प्रत्यक्ष त्रुटि गरी मोही लगत कट्टा गर्ने निर्णय गर्नु भएको छ । भूमि सुधार अधिकारीज्यूले आफैं सबूद प्रमाण बुझी निर्णय गर्नुपर्नेमा पञ्चायतले अनधिकृतरुपमा दिएको सिफारिशको आधारमा निर्णय गरिएकोले अ.बं.१८४(क), १८५ नं.तथा भू.सु.ऐनको दफा ५३ बमोजिम आफैं बुझ्नु पर्ने प्रमाण नबुझी गा.पं.को सिफारिशको भरमा भएको निर्णय स्वतः अधिकारक्षेत्रको त्रुटिपूर्ण छ । विपक्षी जग्गाधनीले ०३०।०३१ सालमा खरिद गरेको जग्गा ०२४ सालदेखि कमाएको भनी गर्नु भएको जिकिर स्वयंमा झुठ्ठा रहेको प्रमाणित छ । किनभने ०२४ सालमा कुर्मान परलोक भएको भए विपक्षीको दाताले नै मोही लगत कटाएको हुनु पर्थ्यो । अर्थात विपक्षीले जग्गा खरिद गरेपछि लगतै मोही लगत कटाएको हुनु पर्ने थियो । १४, १५ वर्षसम्म मोही लगत रहने स्थिति थिएन । ०२४ सालमा कुर्मान परलोक भएको भए ०२६।२७ सालमा सर्वे हुँदा कुर्मानको नाउँमा मोही हुने प्रश्नै थिएन र कुर्मानले सर्भे पछि मोहियानी हकको प्रमाणपत्र पाउन सक्ने थिएन । अतः आवश्यक सबूद प्रमाण सङ्कलन नगरी निर्णय गरिएबाट भू.सु.का.को निर्णय प्रमाण ऐनको दफा ३।५४ समेतको त्रुटि गरी अधिकारीज्यूले ०४१।९।१७ मा गर्नु भएको त्रुटिपूर्ण निर्णय बदर गरिपाउँ भन्ने रिट निवेदन जिकिर रहेछ ।
४. विपक्षीहरूबाट लिखिन जवाफ मगाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको सिंगल बेञ्जको आदेश ।
५. मिति ०४१।९।१७ मा निर्णय भएपछि आफ्नो हक हनन् भएको पक्षले समयमै उपचार गराउन आउनु पर्थ्यो । विलम्ब गरी आएकोले विलम्बको सिद्धान्त अन्तर्गत रिट निवेदन खारेज हुनुपर्छ । रिट निवेदकहरू क्रमशः छोरा, बुहारी र नाती समेतको संयुक्त नाउँमा मोही हक सर्भे भू.सु.ऐनमा कहिं पनि व्यवस्था गरिएको पाइँदैन । स्वास्नी र छोराहरू मध्ये ज.ध.ले पत्याएको व्यक्ति बाहेक अन्यलाई मोही हक प्राप्त हुन सक्ने कानुनी व्यवस्था छैन । कुर्मानको मृत्यु २०३३ सालमा भएको नभई २०२४ सालमा नै भएको हो भन्ने कुराको पुष्टी स्थानीय गा.पं.को सिफारिशबाट भएको छ । निज मोहीको मृत्यु पछि म आफ्नो जग्गा आफैं हालसम्म जोतकोड आवाद गर्दै आएको छु । विपक्षीले गरेको छैन । यदि विपक्षीले कर्जन्हा गा.पं. वार्ड नं.२ क. कि.नं.२६९ को –५–१५ जग्गा मोहीमा जोतकोड आवाद गरेको भए साल सालै म जग्गाधनीलाई कुत बुझाएको भर्पाई पेश गर्नु पर्ने वा कुनै निकायमा कुत धरौट राखेको निस्सा देखाउनु पर्ने सो केही पनि देखाउन वा पेश गर्नु सक्नु भएको छैन । कुर्मान मियांको शेषपछि जमसेद मियांले मोहीको नामसारी नगराई चित्त बुझाई बस्नु भयो र मोहीको प्रमाणपत्र समेत म जग्गाधनीलाई सुम्पिसकेको छ । अतः उपर्युक्त कारणहरूले गर्दा भू.सु.का.सिरहाको मिति ०४१।९।१७ को निर्णय बदर हुनु पर्ने होइन रिट निवेदन खारेज गरिपाउँ भन्ने महम्मद खुरशेद आलमको लिखिन जवाफ ।
६. मोही लगत कट्टा गरिपाउँ भन्ने सम्बन्धित गा.पं.को सिफारिश सहितको विपक्षी मोहम्मद खुरसेद आलमको निवेदन उजूरी परी कानुनी हकदार व्यक्ति मोही भए आफ्नो सबूद प्रमाण सहित यस कार्यालयमा हाजिर हुन आउनु होला भनी सूचना प्रकाशित गरिएकोमा उक्त सूचना बमोजिम प्रतिवाद गर्न रिट निवेदकहरू नआएको साथै भू.सु.ऐन, २०२१ को दफा २६ को उपदफा (१) अनुसार हकवाला व्यक्ति नदेखिँदा र बुहारी र नातीमा मोही हक संयुक्त सार्ने कानुनी व्यवस्था नहुँदा भू.सु.ऐनमा व्यवस्था भए अनुसारको आधारमा र मिसिल संलग्न सम्बन्धित गा.पं.को सिफारिश समेतको ठोस प्रवल प्रमाणको आधारभूत प्रमाण कागजबाट उक्त जग्गाको मोही लगत कट्टा हुने नै देखिँदा यस कार्यालयबाट मिति ०४१।९।१७ मा मोही कुर्मान मियांको नाउँको लगत कट्टा गरिदिने गरिएको निर्णय त्रुटिपूर्ण नभई कानुन बमोजिम भएकोले न्यायसंगत नै भएकोले रिट निवेदकहरूको रिट निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको भू.सु.का.सिराहाको लिखिन जवाफ रहेछ ।
७. नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनको फाइल सहित अध्ययन गरी रिट निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शिवानन्द दाश शरस र विपक्षी कार्यालयतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सह–न्यायाधीवक्ता श्री भैरवप्रसाद लम्सालले प्रस्तुत गर्नु भएको बहस समेत सुनियो ।
८. अब निवेदकको माग बमोजिम आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो को निर्णय दिनु परेको छ ।
९. निर्णयतर्फ बिचार गर्दा यसमा बाजे कर्मानको पाला देखि मोहियानीमा कमाई आएको जग्गामा निज कुर्मानको मृत्यु पछि बाबु जमसेदले कमाई आएकोमा निजको पनि मृत्यु भएपछि हामी आमा छोराले संयुक्त रुपमा कमाई भोगी आएकोमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम ज.ध.ले रोक्नु पर्नेमा मोही लगत कट्टा गरिपाउँ भन्ने निवेदनको आधारमा हाम्रो मोहियानी लगत कट्टा गर्ने गरेको भू.सु.का.को निर्णय त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने मुख्यत रिट निवेदन जिकिर देखिन्छ ।
१०. विपक्षी जग्गाधनी महम्मद खरसेद आलमका विवादको जग्गाको दर्र्तावाला मोही कुर्मान भएको र निजको मृत्यु भएको कुरामा कुनै विवाद देखिँदैन ।
११. रिट निवेदकहरूको भनाई अनुसार निज कुर्मानको मृत्यु पछि निजका छोरा जमसेदले कमाएको र निजको पनि मृत्यु भएकोले निज पछि हामी निजका छोरा र श्रीमतीले संयुक्त रुपमा कमाई आएको भन्ने देखिन्छ ।
१२. मोहीको हकवाला कोही नहुँदा मोही लगत कट्टा गरिपाउँ भन्ने जग्गाधनीको निवेदन भू.सु.का.मा परेपछि मोहीको हकवाला कोही छ छैन भनी सम्बन्धित पञ्चायत बुझ्दा मोही कुर्मानको हकवाला कोही नभएको भन्ने सिफारिश दिएकोले सो को आधारमा भू.सु.का.ले मोहीको लगत कट्टा गरेको देखिन्छ ।
१३. रिट निवेदकहरूले पनि कुर्मानको आफूहरू भू.सं.ऐन, २०२१ को दफा २६(१) बमोजिम हकवाला भएको कुनै लिखित प्रमाण दिन सकेको पाइँदैन ।
१५. तसर्थ आवश्यक सबूद प्रमाण बुझी सो को मूल्याङ्कन समेत गरी अधिकार प्राप्त अधिकारीले प्रचलित कानुनको परिधिभित्र रही गरेको निर्णयमा कुनै कानुनको त्रुटि भएको नहुँदा रिट निवेदन जिकिर बमोजिम आदेश जारी गर्न मिलेन रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४२ साल फाल्गुण २० गते रोज २ शुभम् ।