निर्णय नं. २५८० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

निर्णय नं. २५८० ने.का.प. २०४२ अङ्क १२
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४२ सालको रिट नं. १६४९
विषय : उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ ।
निवेदक :ल.पु.न.पं.वार्ड नं.१ बस्ने वल्लभशंसेर ज.ब.रा.।
विरुद्ध
विपक्षी :संचालक समिति नेपाल बैंक लिमिटेड ।
आदेश भएको मिति:२०४२।१२।२७।४ मा
मृत्यु भएको कारणबाट पद रिक्त हुन आएकोलाई बहाल टुटी पद रिक्त हुन आएको भन्न नमिल्ने ।
(प्रकरण नं. १८)
निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त, विद्वान अधिवक्ताहरु श्री शुसिल कुमार सिन्हा, श्री यादव प्रसाद खरेल
विपक्षी तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान अधिवक्ता श्री को मलप्रकाश घिमिरे
उल्लेखित मुद्दाःX
आदेश
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ ।
२. ने.बैं.लि.नियमावली, २०३२ को नियम २९ मा निर्वाचित हुने संचालकले आफ्नो नाउँमा कमसे कम बीस शेयर लिएको हुनु पर्दछ भन्ने कानुनी व्यवस्था अनुरुप म नेपाल बैंक लिमिटेडको २० भन्दा बढी शेयरको प्रमाणपत्र प्राप्त व्यक्ति हुँ । वाणिज्य बैंक ऐन, २०३१ को दफा ५(२) अनुसार संचालकहरूको नियुक्ति साधारण सभाबाट हुने र ऐ. ऐनको दफा ५(५) अनुसार अध्यक्ष लगायत संचालकहरूको कार्यअवधि चारवर्षको हुने र अवधि समाप्त भएको संचालक पुनः निर्वाचित वा मनोनीत हुन सक्नेछ भन्ने कानुनी प्रावधान छ वाणिज्य बैंक ऐन, २०३१ मा गरिएको परिभाषा अनुरुप नेपाल बैंक लि.वाणिज्य बैंक हो नेपाल बैंक लिमिटेड नियमावली, २०३२ को परिच्छेद १ को नियम २ को उपनियम (३) मा संचालक समिति भन्नाले वाणिज्य बैंक ऐन, २०३१ को दफा ५ अन्तर्गत गठित यस बैंकको संचालक समितिलाई जनाउँछ भनिएको छ र ऐ. को परिच्छेद ३ को नियम २१ मा वार्षिक साधारण सभामा संचालकहरू रोज्दा गुप्त मतदानद्वारा रोजिने कुरा उल्लेख छ । वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ मा संचालक पद रिक्त हुने अवस्था वर्णित छ । त्यो अवस्था ऐनको दफा ८ बमोजिम संचालक रहन अयोग्य भएमा, संचालकको पदबाट दिएको राजीनामा स्वीकृत भएमा, मृत्यु भएमा, मनासिव माफिकको कारण बिना लगातार तीनपटक भन्दा बढी संचालक समितिको बैठकमा अनुपस्थित भएमा, श्री ५ को सरकारको वा राष्ट्र बैंकको कर्मचारीको हैसियतमा संचालक भएको व्यक्ति सरकारी पद वा राष्ट्र बैंकको पदमा बहाल नरहेमा, भन्ने छ, ती उल्लिखित अवस्थाहरूमा संचालकको पदरिक्त भएको मानिने कुरा निर्विवाद रहेकोछ । संचालक श्री सुर्यकृष्ण श्रेष्ठको मृत्यु हुन गएबाट संचालकको पद रिक्त भएको थियो नेपाल बैंक पत्रिका २०४२ भदौ मसान्तको अंक ११ पूर्णाङ्क १७ को बैंक समाचार शिर्षक रहेको पाना नं.२० मा बधाई भन्ने उपशिर्षकमा ने.बैं.लि.को संचालकसमितिको रिक्तरहेको संचालक पद एकमा संचालकसमितिको निर्णयानुसार डा.दुर्गेशमान सिंह नियुक्त हुनुभएको भन्ने समेत उल्लेख गरिएको रहेछ कसरी संचालक समितिले नियुुक्ति गरेको रहेछ भनी बुझ्दा ०४२।५।२० को विपक्षी संचालकसमितिको निर्णयअनुसार नियुक्ति गरिनुभएको भन्ने बुझियो । निर्णयको नक्कल पाइन्छ कि भन्दा गोप्य हुन्छ दिनमिल्दैन भनियो । विपक्षी संचालकसमितिले त्यसरी संचालक नियुक्ति गर्नसक्ने कानुनीअधिकार भएगरेको नहुँदा सम्मानीत अदालतको असाधारण अधिकारक्षेत्रको प्रयोग गराई माग्न आएको छु शेयर होल्डरको नाताले संचालकमा निर्वाचित हुने अधिकार मलाई पनि छ । संचालक सुर्यकृष्णको मृत्युभएबाट रिक्त हुनआएको संचालकको पदमा विपक्षी संंचालक समितिलाई संचालक नियुक्त गर्न सक्ने अधिकार कानुनले प्रदान गरेको छैन । विपक्षी दुर्गेशमानको नियुक्ति गैरकानुनी छ । यस अवस्थामा संचालक नियुक्ति गर्न सक्ने अधिकार साधारण सभालाई मात्र छ । जसले निर्वाचनको प्रकृयाद्वारा संचालक नियुक्ति गर्दछ । संचालकको पद रिक्त हुने विविध अवस्था मध्य बहाल टुट्न गएको एक हो भने मृत्युको कारणबाट संचालकको पद रिक्त हुन आएको अवस्था विपक्षी संचालक समितिमा संचालक नियुक्त गर्न समक्ष नहुँदा विपक्षीलाई संचालक नियुक्त गर्ने गरेको मिति ०४२।५।२० को निर्णय अनधिकृत गैरकानुनी हुँदा उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय बदर गरी उक्त रिक्त पदमा साधारण सभाद्वारा निर्वाचन गराई पद पूर्ति गर्नु भन्ने परमादेश समेत जारी गरिपाउँ भन्ने समेत बल्लभ शम्सेरको रिट निवेदन ।
३. विपक्षीहरूबाट लिखिन जवाफ झिकाई आएपछि पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगल बेञ्जको मिति २०४२।६।१५ को आदेश ।
४. म प्रत्यर्थी ने.बैं.लि.को पहिलेदेखिकै शेयरवाला हुँ स्व.सुर्यकृष्ण श्रेष्ठको देहावसानको कारण बहन गर्नुभएको संचालक पदको बहाली टुट्नगएकोले उक्त रिक्तपदमा अब हुने बैंकको साधारणसभाको समर्थनको अधिनमा रही म प्रत्यर्थीलाई बैंकको संचालक समितिले नियुक्त गरिए अनुसार संचालकको हैसियतले काम गर्दै आएको छु । बैंकको संचालक पद वा.बैं.ऐन, २०३१ को दफा ९ को अवस्था सिर्जना भएको नै अमूक संचालकको बहाल टुट्नजानु जसको परिमाणस्वरुप पद रिक्त हुन्छ त्यसैले ऐनको दफा ५(६) मा बहाल टुट्न गएमा सो रिक्त पदमा भन्ने वाक्यांश प्रयुक्त भएको हो पदावधी ४ वर्षको गराइएमा मृत्यु वा दफा ९ को अवस्थाको कुनै कारण ४ वर्षे पदिय बहाल टुट्नगएको हुन्छ सो रिक्त पदको बाँकी अवधिको लागी संचालक समितिले पछि हुने साधारण सभाद्वारा समर्थन गराउने गरी सञ्चालक हुनसक्ने व्यक्ति लाई नियुक्त गर्न सक्ने प्रावधान हो अतः यस्तो स्थितिमा संचालक समितिले मलाई संचालकमा नियुक्त गरेको कानुन अनूरुप नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी डा.दुर्गेशमान सिंहको लिखिन जवाफ ।
५. स्व.सुर्यकृष्ण श्रेष्ठको देहावसानको कारण वहाँको संचालकको बहाल टुट्न गएकोले सो रिक्त पदमा बाँकी अवधिकोलागि अब हुने बैंकको साधारणसभाको समर्थनको अधिनमारही बैंकको वरिष्ठ शेयरवाला डा. दुर्गेशमान सिंहलाई उक्त संचालक पदमा नियुक्त गरिएको हो । यसप्रकारको नियुक्ति वा.बैं.ऐन, २०३१ को दफा ५(६) कं.ऐन, २०२१ को दफा ६४(ख) ले अधिकार गराएको छ । गैरकानुनी र अनाधिकार भन्ने रिट निवेदककोभनाई सरासर असत्य हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने ने.बैं.संचालकसमितिको लिखिन जवाफ ।
६. निवेदक तर्फबाट रहनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता श्री शुसिलकुमार सिन्हा र विद्वान अधिवक्ता श्री यादव खरेल समेतले कुनै संचालक मृत्यु भई खाली हुन आएको पदमा संचालक नियुक्त गर्ने अधिकार वाणिज्य बैंक ऐन, २०३१ को दफा ५(२) ले साधारण सभालाई मात्र छ । वाणिज्य बैंक ऐन, २०३१ को दफा ५(६) अनुसार विपक्षीलाई संचालक समितिले संचालकमा नियुक्त गर्ने गरेको निर्णय अनधिकृत गैरकानुनी हुँदा संचालक समितिको मिति ०४२।५।२० को त्रुटिपूर्ण निर्णय बदर हुनुपर्छ भन्ने र प्रत्यर्थीहरू तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरेले संचालक समितिले संचालक पद रिक्त रहन गएमा नियुक्त गर्न सक्ने अधिकार वाणिज्य बैंक ऐन, २०३१ को दफा ५(६) र कम्पनी ऐन, २०२१ को दफा ६४(ख) ले दिएको छ । मृत्युबाट पनि बहाल टुट्न सक्छ । बहाल टुट्न गएको अर्थ बहाल नरहनु हो । अतः संचालक समितिको निर्णय गैरकानुनी नहुँदा रिट निवेदन खारेज हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
७. प्रस्तुत रिट निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
८. यसमा निर्णयतर्फ हेर्दा नेपाल बैंक लिमिटेडको संचालक सुर्यकृष्ण श्रेष्ठको मृत्यु भई रिक्त रहन आएको संचालकको पदमा साधारण सभाद्वारा निर्वाचन गराई पदपूर्ति गर्नु पर्नेमा सो नगरी विपक्षी सञ्चालक समिति नेपाल बैंक लिमिटेडले उक्त रिक्त पदमा डा.दुर्गेशमान सिंहलाई संचालक नियुक्त गरेको छ । मृत्यु भई रिक्त रहन आएको संचालकको पदमा विपक्षी संचालक समितिलाई नियुक्त गर्ने अधिकार कानुनले प्रदान गरेको छैन । वाणिज्य बैंक ऐन, ०३१ को दफा ५ को उपदफा (६) अनुसार कुनै कारणवस तोकिएको म्याद अगावै बहाल टुट्न गई रिक्त हुन आएको पदमा मात्र बाँकी अवधिको लागि संचालक समितिले नियुक्ति गरी साधारण सभाद्वारा समर्थन गराउनु पर्छ । दुर्गेशमान नियुक्त भएको पद बहाल टुटी रिक्त भएको नभई मृत्यु भई रिक्त हुन आएको पद हो । यस्तो अवस्थामा निर्वाचनद्वारा संचालक नियुक्त गर्ने अधिकार साधारण सभालाई मात्र हुँदा विपक्षी संचालक समिति नेपाल बैंक लिमिटेडले विपक्षी डा.दुर्गेशमान सिंहलाई संचालक पदमा नियुक्त गर्ने गरेको ०४२।५।२० को निर्णय गैरकानुनी भई त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी उक्त रिक्त पदमा साधारण सभाबाट निर्वाचनको प्रकृयाद्वारा पदपूर्ति गर्नु भनी परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने रिट निवेदकको जिकिर देखिन्छ।
९. प्रत्यर्थी नेपाल बैंक लिमिटेडको संचालकको नियुक्ति सम्बन्धको कानुनी व्यवस्था वाणिज्य बैंक ऐन, ०३१ को दफा ५ को उपदफा (२) मा “संचालकहरूको नियुक्ति साधारण सभाबाट हुनेछ” उल्लेख भएको र त्यस्तो संचालकको कार्यअवधि सम्बन्धमा ऐ. दफा ५ को उपदफा (५) मा चारवर्षको हुनेछ भन्ने कानुनी व्यवस्था भएको पाइन्छ ।
१०. संचालकको पद कुन कुन अवस्थामा रिक्त हुन्छ भन्ने सम्बन्धमा वाणिज्य बैंक ऐन, ०३१ को दफा ९ को देहाय ५ को अवस्थामा संचालकको पद रिक्त हुनसक्ने कानुनी व्यवस्था गरेको पाइन्छ ।
क. दफा ८ बमोजिम संचालक रहन अयोग्य भएमा ।
ख. संचालकको पदबाट दिएको राजीनामा स्वीकृत भएमा ।
ग. मृत्यु भएमा ।
घ. मनासिव माफिकको कारण बिना लगातार तीनपटक भन्दा बढी संचालक समितिको बैठकमा अनुपस्थित भएमा ।
ङ. श्री ५ को सरकार वा राष्ट्र बैंकको कर्मचारीको हैसियतमा संचालक भएको व्यक्ति सरकारी पद वा राष्ट्र बैंकको पदमा बहाल नरहेमा ।
११. प्रस्तुत मुद्दामा नेपाल बैंक लिमिटेडका संचालक सुर्यकृष्ण श्रेष्ठको मृत्यु भई रिक्त हुन आएको संचालकको पदमा नेपाल बैंक लि.का संचालक समितिको मिति ०४२।५।२० को निर्णय अनुसार दुर्गेशमान सिंहलाई नियुक्त गरेको देखिन्छ ।
१२. प्रत्यर्थी संचालक समिति ने.बैं.लि.को लिखिन जवाफमा स्व.श्री सुर्यकृष्ण श्रेष्ठको देहावसानको कारण उहाँको संचालकको बहाल टुट्न गएकोले सो रिक्त पदमा बाँकी अवधिको लागि वाणिज्य बैंक ऐन, ०३१ को दफा ५(६) बमोजिम दुर्गेशमान सिंहलाई संचालकको पदमा नियुक्ति गरिएको हो भन्ने छ ।
१३. वाणिज्य बैंक ऐन, ०३१ को दफा ५ को उपदफा (६) को कानुनी व्यवस्था हेर्दा उक्त उपदफा (६) मा “कुनै कारणबाट तोकिएको म्याद अगावै अध्यक्ष वा संचालकको बहाल टुट्न गएमा सो रिक्त पदमा बाँकी अवधिसम्मको लागि संचालक समितिले अर्को अध्यक्ष वा संचालक नियुक्त गर्न सक्नेछ र त्यस्तो नियुक्ति त्यसपछि हुने शेयर होल्डरहरूको साधारण सभाद्वारा समर्थन गराउनु पर्नेछ” भन्ने उल्लेख भएको पाइन्छ ।
१४. कुन कुन अवस्थामा बहाल टुट्छ भन्ने सम्बन्धमा कानुनी व्यवस्थातर्फ ध्यान दिंदा वाणिज्य बैंक ऐन, ०३१ मा उक्त अवस्था सम्बन्धमा व्यवस्था गरेको पाइँदैन ।
१५. नेपाल बैंक लिमिटेड, वाणिज्य बैंक ऐन, ०३१ र कम्पनी ऐन, २०२१ अन्तर्गत सो ऐन बमोजिम कार्य गर्ने गरी गठित बैंक भएकाले वाणिज्य बैंक ऐनमा लेखिएजतिमा सोही ऐन बमोजिम र सो ऐनमा व्यवस्था नभएको कुरामा कम्पनी ऐन, २०२१ को व्यवस्था लागू हुने हुँदा बहाल टुट्ने (नरहने) अवस्था सम्बन्धमा कम्पनी ऐनले गरेको व्यवस्था हेर्नै पर्ने हुन्छ । कम्पनी ऐन, ०२१ को दफा ६६ को उपदफा (२) मा बहाल ट्ुट्ने अवस्थाहरू वर्णित छन् जुन वर्णित अवस्था भित्रै मृत्यु भएको अर्थात मृत्यु भई संचालक पद रिक्त हुन आएको अवस्था परेको पाइएन ।
१६. यसबाट वाणिज्य बैंक ऐन, ०३१ को दफा ९ बमोजिम संचालकको पद रिक्त हुने एक कानुनी व्यवस्था र अर्को कम्पनी ऐन, ०२१ को दफा ६६ बमोजिम बहाल टुटी रिक्त हुने अर्को कानुनी व्यवस्था भई छुट्टा छुट्टै रिक्त हुन आउने कानुनी व्यवस्था भएको देखिन आएबाट बहाल टुटी पद रिक्त हुने अवस्था र वा.बैं.ऐन, ०३१ को दफा ९ बमोजिम पद रिक्त हुने अवस्था एउटै हुन भन्न नमिल्ने हुँदा वा.बैं.ऐन, ०३१ को दफा ९ मा वर्णित मृत्युको कारण रिक्त हुन आएको संचालक पदलाई बहाल टुटी रिक्त हुन आएको भन्न मिलेन ।
१७. वा.बैं.ऐन, ०३१ को दफा ९ को अवस्थामा संचालकको पद रिक्त भएको त्यस्तो पदमा संचालकहरूको नियुक्ति गर्ने अधिकार वा.बैं.ऐन, ०३१ को दफा ५ को उपदफा (२) ले साधारण सभालाईमात्र भएको र कं. ऐन, ०२१ को दफा ६६ बमोजिम बहाल टुट्न गएको अवस्थामा त्यसरी बहाल टुटी रिक्त हुन आएको संचालकको पदमा मात्र वा.बैं.ऐन, ०३१ को दफा ५ को उपदफा (६) अनुसार बाँकी अवधिकालागि मात्र सं.स.ले संचालक नियुक्ति गर्न पाउने कानुनी व्यवस्था भएको देखिन आयो ।
१८. वाणिज्य बैंक ऐन, ०३१ को दफा ९ बमोजिम संचालकको मृत्यु भई रिक्त हुन आएको संचालकको पदमा संचालक समितिलाई संचालक नियुक्ति गर्न पाउने अधिकार ऐनले प्रदान गरेको नदेखिएको र मृत्यु भएको कारणबाट पद रिक्त हुन आएकोलाई बहाल टुटी पद रिक्त हुन आएको भन्न नमिल्ने हुँदा संचालक सुर्यकृष्णको मृत्यु भई रिक्त हुन आएको संचालकको पदमा प्रत्यर्थी संचालक समिति नेपाल बैंक लिमिटेडले प्रत्यर्थी दुर्गेशमान सिंहलाई संचालक नियुक्ति गर्ने गरेको उक्त समितिको मिति ०४२।५।२० को निर्णय वाणिज्य बैंक ऐन, ०३१ को दफा ५ को उपदफा (२) तथा (६) समेतको विपरीत तथा अनधिकृत भई त्रुटिपूर्ण निर्णय गरेको देखिन आयो ।
१९. अतः प्रत्यर्थी नेपाल बैंक लिमिटेड संचालक समितिले संचालक सुर्यकृष्ण श्रेष्ठको मृत्यु भई रिक्त हुन आएको पदमा दुर्गेशमान सिंहलाई नियुक्त गर्ने गरेको मिति ०४२।५।२० को अनधिकृत त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । उक्त रिक्त संचालक पदमा कानुन बमोजिम साधारण सभाद्वारा निर्वाचन गराई पद पूर्ति गर्नु भनी प्रत्यर्थी नेपाल बैक लिमिटेड संचालक समितिका नाउँमा यो परमादेशको आदेश समेत जारी गरिएको छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४२ साल चैत्र २७ गते रोज ४ शुभम् ।