शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १३१२ - राजकाज

भाग: २१ साल: २०३६ महिना: बैशाख अंक:

निर्णय नं. १३१२     ने.का.प. २०३६

फुल बेञ्च

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् ०३६ सालको फौ.फु.नं. ११

फैसला भएको मिति : ०३६।१०।२२।३ मा

निवेदक : फिदिम गा.पं. वडा नं. ३ घर भई का.जि. कमलपोखरी डेरा गरी बस्ने शुभाष नेम्वाङ

विरूद्ध

विपक्षी : श्री ५ को सरकार

मुद्दा : राजकाज

(१)  पुनरावेदनबाट इन्साफ जाँची निर्णय गर्दा पुनरावेदन नपर्नेको हकमा समेत इन्साफ उल्टने भयो भने निजको हकमा समेत इन्साफ उल्टाई निर्णय गर्ने भन्ने कानूनमा व्यवस्था प्रष्ट देखिने।

(प्रकरण नं. २७)

निवेदक तर्फबाट :  विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

विपक्षी तर्फबाट :  विद्वान सरकारी अधिवक्ता श्री भैरबप्रसाद लम्साल

उल्लिखित मुद्दा :

फैसला

          न्या. सुरेन्दप्रसाद सिंह : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहोर्‍याई पाउँ भनी निवेदक प्रतिवादी शुभाष नेम्वाङले चढाएको निवेदनमा न्यायिक समितिबाट भएको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएका हुकुमप्रमाङ्गी बमोजिम मुद्दा दोहरिई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

          २.   मुद्दाको विवरण यस प्रकार छ : एरिया घुम्दै जाँदा त्रिचन्द्र क्याम्पस बाहिर नेपाल सरकारको घुँडाटेकुवा नीतिको भत्सर्ना गरौं, देशको भविष्यप्रति चिन्तित भएका साथीहरू भन्ने शीर्षक भएको पर्चा फेला परेकोले दाखिल गरेको छु भन्ने समेत ०३३।१।४ को प्रहरी प्रतिवेदन ।

          ३.   नेपालका प्रधानमन्त्री श्री तुलसी गिरी नेपाल भारत सम्बन्धको सिलसिलामा भारत जानु भएकोमा भारतीय पत्रपत्रिकाले गरेको अनुचित टिकाटिप्पणींको सम्बन्धमा नेपालको नागरिकको हैसियतले स्वस्थ आलोचना गरी नेपाल सरकारको घुँडाटेकुवा नीतिको भत्र्सना गरौं भन्ने समेत शीर्षक राखी मिति ०३३।१।२ को दिन बेलुका सुनिलकुमार राई, सुभाष नेम्वाङ, भीम रावल र माधवप्रसाद पौडेल समेत मेरो डेरामा नेपाल तथा भारतीय पत्रपत्रिका समेत लिई आएकोले उक्त पर्चा म समेतले ड्राफ्ट गरी छापी ४ गतेका दिन अं.३४ बजेको समयमा त्रिचन्द्र क्याम्पसको २७, २८ नं. कोठामा छरी दिएको हुँ भन्ने समेत भीम न्यौपानेको प्रहरीमा भएको ततिम्बा सहितको बयान कागज ।

          ४.   देखाएको पर्चा देखेँ, सो पर्चा कसले लेखी छाप्न लगाई कुन व्यक्तिले छरे छर्न लगाएका हुन मलाई थाहा छैन, सुनिलकुमार, भीम न्यौपानेसँग भेटघाट भएको छैन भन्ने समेत टोमलाल पाण्डेको प्रहरीमा भएको प्रतिवेदन बयान कागज ।

          ५.  पर्चा छरे सम्बन्धमा थाहा छैन भनी मैले ०३३।१।१४ का दिन बच्ने विचारबाट झुठ्ठा बयान दिएको थिएँ, पछि पक्राउ भई आएका साथीहरूले पोलेको सम्बन्धमा साँचो व्यहोरा यो छ कि प्रधानमन्त्री तुलसी गिरीज्यू भारत भ्रमणबाट फर्कने कुरा सुनेकोले सल्लाह भई ०३३।१।२ गते भीम न्यौपानेको डेरामा गयौं, त्यहाँ भीम न्यौपाने, भीम रावल, माधवप्रसाद पौडेल रहेछन् र शुभाषले पर्चा ड्राफ्ट गर्‍यो र सबै साथीलाई देखाउँदा ठीक भनेकोले ड्राफ्ट कपी लिथो गरी ल्याउँछु भनी माधवप्रसादले लगे भोलिपल्ट ३ गते सुनिल चित्रकारको डेरामा निजलाई मैले चुरोटमा चरेस हाली खान दिई बेहोस भएपछि सो पर्चा लिथो गरी छरेको हो सो पर्चाको हस्ताक्षर मेरो होइन भन्ने समेत सुनिलकुमार राईले प्रहरीमा गरेको ततिम्बा बयान कागज ।

          ६.   नेपालका प्रधानमन्त्री श्री तुलसी गिरी भारत भ्रमणमा गई भारतीय नेतासँग नेपालको हितका लागि कुनै कुरा नगरेको भन्ने आम चर्चा सुनिएकोलाई लिएर सुनिलकुमार राई, सुभाष नेम्वाङ, भीम न्यौपाने, भीम रावल र म समेत भीम न्यौपानेको डेरामा भेला भई यस कुराको भत्र्सना गर्नुपर्छ भन्ने मिटिङबाट निर्णय भए अनुरूप शुभाष नेम्वाङले पर्चा ड्राफ्ट गरी सुनिल चित्रकारको घरमा राजेन्द्र पाण्डेलाई साफी गर्न लगाई पर्चा तयार गर्‍यो त्रिभुवन विश्वद्यिालय र अन्य कलेजमा छर्न बाँडी लिई गयौं । बैशाख ४ गते मैले युनिभरसिटी र कलेज अफ एजुकेशनमा छरें अरूले कुन ठाउँमा छरे मलाई याद भएन भन्ने समेत माधवप्रसाद पौडेलले प्रहरीमा गरेको बयान कागज ।

          ७.  नेपाल सरकारको घुँडाटेकुवा नीतिको भत्र्सना गरौं भन्ने शीर्षक भएको पर्चा देखेँ सो पर्चा स्टेनसिलमा मैले लेखी दिएको हुँ भन्ने समेत राजेन्द्रप्रसाद पाण्डेको प्रहरीमा भएको बयान कागज ।

          ८.   ०३३।१।१ गते म सुनिल राई र भीम न्यौपाने रत्नपार्कमा भेटी प्रधानमन्त्री श्री तुलसी गिरीको भारत यात्राको आलोचना गरी पर्चा निकाल्ने सल्लाह गर्‍यौं भोलिपल्ट बैशाख २ गते भीम न्यौपानेको डेरामा पुग्दा सुनिल राई, भीम न्यौपाने, भीमबहादुर रावल, माधवप्रसाद पौडेल बसी रहेको रहेछ । एउटा ड्राफ्ट तयार गर्‍यौं र सो ड्राफ्ट माधवप्रसादले लिथो गरी ल्याउँछु भनी लिए, सुनिल चित्रकारको घरमा लिथो गरी माधवप्रसाद र भीम रावलले पर्चा बोकी ल्याए म र सुनिल राईले पर्चा बोकेनौं । नेपाल सरकारको घुँडाटेकुवा नीतिको भत्सर्ना गरौं भन्ने शीर्षक भएको पर्चा म समेतले ड्राफ्ट गरी निकाली राष्ट्रियताको भावनालाई अगाडि राखेर आफ्नो भाव अभिव्यक्त गर्नको लागि उक्त पर्चा छर्न लगाएको हो अरू कुनै उद्देश्य थिएन भन्ने समेत सुभाष नेम्वाङको प्रहरीमा भएको बयान कागज ।

          ९.   बैशाख २ या ३ गतेतिर परिचित साथी सुनिलकुमार राई आई आज तपाईंको घरमा बेलुकातिर १२ जना साथीलाई चरेस खाई गान भजन गर्न पर्‍यो कोठा खाली गरी दिन पर्‍यो भनेकोले हुन्छ भनेँ, बेलुका रातको ९ बजेतिर बाहिरबाट घर आउँदा मेरो घरको छिँडी तल्ला कुर्सिमा बसी चरेस मल्दै थिएँ, म भात खाई आउँदा चरेस मली चुरोटमा राखी ठीक पारेका रहेछन् मैले १ खिल्ली सल्काई पुरै खाएपछि मादक पदार्थ लाग्दै आयो र बेहोस भएँ भोलिपल्ट ब्यूँझी मेरो सुत्ने गरेको कोठा हेर्न जाँदा कोठामा कार्पेटमा कालो मसी लागेको र पलङ मुनि मसीको ट्यूब र सिसा पनि राखी छाडेको र कोठा पनि फोहोर देखी सुनिलकुमारसँग बुझ्दा नेपालका प्रधानमन्त्रीको विषयमा त्यस्तै पर्चाहरू बनाएको मालहरू राम्रो लुकाई राखी दिनु भनेँ भन्ने समेत सुनिल चित्रकारले प्रहरीमा गरेको बयान कागज ।

          १०.  सुनिलकुमार राई, सुभाष नेम्वाङ, भीमबहादुर रावल, भीम न्यौपाने समेतको सल्लाहबाट नेपाल सरकारको घुँडाटेकुवा नीतिको भत्र्सना गरौं भन्ने शीर्षक भएको पर्चा छापी छरेको हो भन्ने माधवप्रसादको बयान भएको निजले पोलेका सुनिल राई, सुभाष नेम्वाङ, भीमबहादुर रावल समेतका व्यक्तिहरूले पनि पर्चा छापी छरेको हुँ भनी साविती बयान गरेको सो पर्चा साफी गरी दिएको हुँ भनी राजेन्द्र पाण्डेले बयान गरेकोबाट निजाहरूलाई राजकाज (अपराध सजाय) ऐन, २०१९ को दफा ६ को उपदफा (२) अनुसार सजाय हुन अनुरोध गरिन्छ । सुनिल चित्रकार उक्त कार्यमा सरिक भएको नदेखिएकोले फेल जमानीमा छाडेको टोमलाल पाण्डे, जगतबहादुर बोगटी पनि पर्चा बनाउने र छर्ने कुरामा सरिक भएको देखिन नआएकोले जमानीमा छाडिएको भन्ने समेत श्री ५ सरकार प्रहरी नायब उपरीक्षक कार्यालय काठमाडौंको प्रतिवेदन ।

          ११.  प्रधानमन्त्री श्री तुलसी गिरीज्यूको भारत भ्रमणको सिलसिलामा भारतीय पत्रपत्रिकाले गरेको अनुचित टिकाटिप्पणींको स्वस्थ आलोचना गरेको हुँ सो पर्चाबाट श्री ५ को सरकारप्रति समेत कुनै किसिमको अपहेलना गरेको छैन सो पर्चा दिब्यध्वज कार्की समेतका हामीहरूको आपसी सल्लाहबाट मेरो डेरामा खेस्रा तयार गरी सुनिल चित्रकारको कोठामा बसी छापेको हो भन्ने समेत भीम न्यौपानेले अञ्चलाधिशको कार्यालय बागमती अञ्चलमा गरेको बयान ।

          १२.  मैले सुनिल चित्रकारलाई चुरोटमा चरेस हाली खान दिएँ र बेहोस पारी सो पर्चा निजको घरमा लिथो गरेको हो पर्चा ड्राफ्ट गर्दा र लिथो गर्दा समेत दिब्यध्वज कार्की पनि थिए राष्ट्रियतालाई अगाडि राखेर स्वच्छ आलोचना गरेको हुँ सो पर्चाबाट व्यवस्थाप्रति र श्री ५ को सरकारप्रति समेत आँच आउने कुरा गरेको र गर्न खोजेको पनि हैन भन्ने समेत सुनिलकुमार राईले अञ्चलाधिश कार्यालय बागमती अञ्चलमा गरेको बयान ।

          १३.  ०३२ साल चैत्रको आखिरी तिर नेपालको प्रधानमन्त्री श्री डा.तुलसी गिरी भारत भ्रमण हुँदाका अवस्था भारतीय पत्रपत्रिकाले नेपाल भारतको बीच विशेष सम्बन्ध भनी प्रधानमन्त्री गिरीज्यूले भन्नुभयो भनी लेखेको कुराहरूलाई आधार मानेर त्यस भनाईमा हामी सहमत छैनौं भनी देखाउन नेपाल नागरिकको हैसियतले पर्चा निकालेको हो सो पर्चामा श्री ५ को सरकारप्रति कुनै अपहेलना भएको छैन सो पर्चा राजेन्द्र पाण्डेको हस्ताले स्टेनसीलमा लेखाएको हुँ, दिव्यध्वज समेत भई पर्चा छरेको हुँ भन्ने समेत अञ्चलाधिश कार्यालय बागमती अञ्चलमा माधवप्रसाद पौडेलले गरेको बयान ।

          १४.  प्रधानमन्त्री डा.तुलसी गिरीज्यू भारत भ्रमण जानुहुँदा नेपाल र भारतको विशेष सम्बन्ध छ भन्ने समेत वक्तव्य दिएको कुरालाई लिएर पाम्ल्पेटिङ गर्नु पर्छ भन्ने सल्लाह भई पर्चा तयार गरी लिथो निकाली छरेको हो सो पर्चाद्वारा हामीले श्री ५ को सरकार तथा व्यवस्थाप्रति समेत आँच आउने कुनै कुरा गरेका छैनौं गर्न खोजेको पनि हैन, स्वस्थ आलोचना सम्म हो भन्ने समेत अञ्चलाधिश कार्यालय बागमती अञ्चलमा भीमबहादुर रावलले गरेको बयान।

          १५.  ०३३।१।१ गतेका दिन सुनिल राई, भीम न्यौपानेसँग भेटी प्रधानमन्त्री तुलसी गिरीको भारत यात्राको आलोचना गरी पर्चा निकाल्ने सल्लाह भई पर्चा तयार गरी लिथो गरी पर्चा छरेको हो प्रधानमन्त्रीज्यूले भारत भ्रमणको क्रममा दिनुभएको वक्तव्य भारतप्रति प्रत्यक्ष झुकाव देखिन आएकोले एक नागरिकको हैसियतले राष्ट्रियताको भावनाले प्रेरित भई त्यस सम्बन्धमा चर्चा उठाएर पर्चा निकालेको हुँ स्वच्छ आलोचना मात्र हो भन्नेसमेत अञ्चलाधिश कार्यालय बागमतीमा गरेको सुभाष नेम्वाङको बयान ।

          १६.  ०३३ साल बैशाख २, ४ गते तिर माधवप्रसाद पाण्डेले मेरो डेरामा आउनु भई नेपाल सरकारको घुँडाटेकुवा नीतिको भत्र्सना गरौं भन्ने शीर्षक भएको पर्चा निकाल्न, स्टेन्सिल पेपरमा लेखी दिनु पर्‍यो भनेकोले लेखी दिएको हुँ भन्ने समेत राजेन्द्रप्रसाद पाण्डेले अञ्चलाधिशको कार्यालय बागमती अञ्चलमा गरेको बयान ।

          १७.  सो पर्चा तयार गर्ने छर्ने समेत काममा सहयोगी भई भाग लिएको छैन, किन पोल गरे निजहरू नै जानून् भन्ने समेत दिव्यध्वज कार्कीले अञ्चलाधिशको कार्यालय बागमती अञ्चलमा गरेको बयान ।

          १८.  सुनिलकुमार चित्रकार, टोमलाल पाण्डे, जगतबहादुर बोगटीलाई प्रहरीबाटै छाडी दिएकाले निजहरूका हकमा केही गरी रहन परेन । दिव्यध्वज कार्कीको हकमा राजकाज अपराध गरेको ठहर्दैन । प्रतिवादी भीम न्यौपाने १, सुनिलकुमार राई १, माधवप्रसाद पौडेल १, भीमबहादुर रावल १, सुभाष नेम्वाङ १, राजेन्द्रप्रसाद पाण्डे १ समेतले श्री ५ को सरकारप्रति घृणा, द्वेष, अपहेलना हुने पर्चा तयार गरी राजकाज अपराध गरेको ठहर्छ, जनही कैद राजकाज (अपराध र सजाय) ऐन, ०१९ को दफा ६(२) बमोजिम ।६ महीनाका दरले हुन्छ भन्ने समेत अञ्चालधीशको कार्यालय बागमती अञ्चलको फैसला ।

          १९.  सो फैसलामा चित्त बुझेन भन्ने समेत माधवप्रसाद समेत जना ६ को पुनरावेदन ।

          २०.  राजकाज अपराध गरेको ठहराई राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ६(२) अन्तर्गत सजाय गर्ने गरेको शुरूको फैसला मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको फैसला ।

          २१.  म.क्षे.अ.उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी भीम न्यौपाने, सुनिलकुमार राई, सुभाष नेम्वाङ र भीमबहादुर रावलको निवेदनमा अनुमति प्राप्त भई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट निर्णय हुँदा पुनरावेदक शुभाष नेम्वाङले तारिख गुजारी बसेको देखिन आएकोले निजको हकमा पुनरावेदन डिसमिस हुने ठहर्छ अरू पुनरावेदकहरूको हकमा अभियुक्त पुनरावेदकहरूले नेपाल सरकारको घुँडाटेकुवा नीतिको भत्र्सना गरौं भन्ने शीर्षक भएको पर्चा तयार गरी राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ६(२) को अपराध गरेको हो होइन भन्ने तर्फ हेर्दा नेपाल सरकारको घुँडा टेकुवा नीतिको भत्र्सना गरौं देशको भविष्यप्रति चिन्तित सचेत साथीहरू भन्ने शीर्षक भएको पर्चाको अन्तमा सारांशमा डा.तुलसी गिरीको भारत भ्रमणले देशले केही पाएन । बरू भारतलाई अप्ठ्यारो पार्ने कुरा गर्ने बिन्ति चढाउनु र भारतप्रतिको स्पष्ट झुकावलाई देखाएर वहाँले भारतीय सरकारको आफूप्रति भने सद्भावना बटुल्नु भयो होला, जो देशको हितमा छैन भन्ने समेत उल्लेख भएको पाइन्छ । अभियुक्तहरूले अञ्चलाधिशको कार्यालय बागमती अञ्चलमा नेपालको प्रतिनिधित्व गरेर गएका कुटनितिज्ञले भारतप्रति आफ्नो झुकाव देखाएको र एउटा नागरिकको हैसियतले राष्ट्रियतालाई अगाडि राखेर त्यस कुराको स्वच्छ आलोचना गरेको हो व्यवस्थाप्रति र श्री ५ को सरकारप्रति आँच आउने कुरा गरेको छैन भन्ने समेत बयान गरेको मिसिलबाट देखिन आयो ।

          २२.  उक्त बयानहरूबाट श्री ५ को सरकारप्रति घृणा, द्वेष वा अपहेलना गर्ने मनसाय पुनरावेदकहरूको भएको भन्ने कुरामा इन्कार रहेको देखिन्छ ।

          २३.  उपरोक्त उल्लिखित कुराहरूबाट अभियुक्तहरूले तयार गरी छरेको उक्त पर्चाबाट शान्ति र व्यवस्था खलबल्याउने वा अराजकता फैलाउने अहिंसात्मक कारवाही चम्काउने प्रवृत्ति वा मनसाय लिई श्री ५ को सरकारप्रति घृणा, द्वेष वा अपहेलना गर्ने गराउने वा गर्ने उद्योग गरेको देखिन नआएकोले शुरू अञ्चलाधिशको कार्यालय बागमती अञ्चलले पुनरावेदक भीम न्यौपाने, सुनिलकुमार राई र भीमबहादुर रावलको हकमा श्री ५ को सरकारप्रति घृणा, द्वेष वा अपहेलना हुने पर्चा तयार गरी राजकाज अपराध गरेको ठहराएको इन्साफ मनासिव गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गरेको फैसला मिलेको देखिएन ।

          २४. अतः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला केही गल्ती भई प्रतिवादी पुनरावेदक भीम न्यौपाने, सुनिलकुमार राई र भीमबहादुर रावलले सफाई पाउने ठहर्छ भन्ने समेत ०३५ साल माघ १४ गते निर्णय भएको रहेछ ।

          २५. प्रस्तुत मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी साथ संलग्न न्यायिक समितिको सिफारिश पर्चामा अ.बं.२०५ नं. मा पुनरावेदन उजूर नदिने झगडीयाका हकमा समेत इन्साफ उल्टिन जाने भयो भने पुनरावेदन नदिनेको हकमा समेत पुनरावेदन दिने सरह उल्टाई छिनी दिनुपर्छ भन्ने उल्लेख भएको पाइन्छ पुनरावेदन दिई तारिख गुजार्नेको हकमा कुनै उल्लेख भएको देखिँदैन यस स्थितिमा डिसमिस गर्नुपर्ने हो कि भन्ने भ्रम उठ्न सक्छ तर अदालतले ऐनको मुख्य मनसाय के हो सो को यकिन गरी तदनुसार निर्णय दिनु युक्तिसंगत हुन्छ । प्रतिवादीले गर्‍यो भनेको अपराध नै ठहरेन भने प्रतिवादी मध्येका कसैले पुनरावेदन नदिएको भए पनि सफाई दिनुपर्छ भन्ने ऐनको मुख्य उद्देश्य देखिन्छ । अदालतबाट गरेको सजाय भोग्न इन्कार गरी पुनरावेदन दिएको र पछि कुनै कारणवस तारिख सम्म छाडिएकोमा सजाय भागी तुल्याई गरेको निर्णय कानूनको मूलभूत मनसायको विपरीत देखिन आउँछ भन्ने समेत उल्लेख भएको रहेछ ।

          २६.  निवेदक प्रतिवादी शुभाष नेम्वाङको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश वस्तीको र विपक्षी वादी श्री ५ को सरकार तर्फबाट खटिई आउनु भएको वरिष्ठ सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा निवेदक प्रतिवादी शुभाष नेम्वाङ समेतले श्री ५ को सरकारप्रति घृणा, द्वेष अपहेलना हुने पर्चा तयार गरी राजकाज अपराध गरेको ठहराएको इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको निर्णय उपर हार्ने निवेदक प्रतिवादी शुभाष नेम्वाङ र अरू प्रतिवादी भीम न्यौपाने, सुनिलकुमार राई, भीमबहादुर रावलको पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्राप्त भई डिभिजन बेञ्चबाट निर्णय हुँदा निवेदक प्रतिवादी शुभाष नेम्वाङले तारिख गुजरी बसेको हुनाले निजको हकमा पुनरावेदन डिसमिस हुने ठहर्छ अरू प्रतिवादी भीम न्यौपाने, सुनिलकुमार राई, भीमबहादुर रावलको हकमा श्री ५ को सरकारप्रति घृणा, द्वेष अपहेलना हुने पर्चा तयार गरी राजकाज अपराध गरेको ठहराएको मनासिव गरी म.क्षे.अ.ले गरेको फैसला मिलेको देखिएन प्रतिवादी भीम न्यौपाने, सुनिलकुमार, भीमबहादुर रावलले सफाई पाउने ठहर्छ भन्ने निर्णय भएको देखिन्छ ।

          २७. अ.बं.२०५ नं. मा एकै मुद्दामा हार्ने झगडीया मध्ये कसैको पुनरावेदन उजूर परेकोबाट जाँचिदा इन्साफ वा सजाय उल्टिने भई सो इन्साफ सजाय उल्टाई फैसला गर्दा पुनरावेदन उजूर नदिने झगडीयाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने त्यस्तोमा पुनरावेदन उजूरी परेको छैन भनी सदर गरी दिन हुँदैन पुनरावेदन उजूर नदिनेका हकमा समेत पुनरावेदन उजूरी दिने सरह उल्टाई छिनी दिनु पर्छ भन्ने उल्लेख भएबाट पुनरावेदनबाट इन्साफ जाँची निर्णय गर्दा पुनरावेदन नपर्नेको हकमा समेत इन्साफ उल्टिने भयो भने निजको हकमा समेत इन्साफ उल्टाई निर्णय गर्ने भन्ने उक्त कानूनमा व्यवस्था भएको प्रष्टै छ ।

          २८.  प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी शुभाष नेम्वाङ सरहकै एउटै अभियोगमा श्री ५ को सरकारको वादी दावी भएको पुनरावेदन गर्ने अरू प्रतिवादी उपर कानून अनुसार अभियोग कायम नभई निज प्रतिवादीहरूले सफाई पाउने ठहरेको र त्यस्तै पुनरावेदन भने गर्ने तारिख गुजारी बस्ने निवेदक प्रतिवादीको हकमा भने पुनरावेदन डिसमिस गरी डिसमिस गरे वापत थप सजाय समेत डिभिजन बेञ्चले गरेको देखिन्छ । निज निवेदक प्रतिवादी शुभाष नेम्वाङले पुनरावेदन नै नगरेको भए पनि इन्साफ उल्टी भई निज सरहको प्रतिवादीहरूले सफाई पाउने ठहरे पछि निज प्र.शुभाष नेम्वाङको हकमा पनि उल्टाई सफाई दिनुपर्ने अ.बं.२०५ नं. मा व्यवस्था भएकोमा पुनरावेदन दिई तोकिएको तारिख गुजारेको भनी पुनरावेदन डिसमिस गरी निजको हकमा इन्साफ नउल्टाई डिसमिस गराएको भनी सजाय थप गरी निर्णय गरेको डिभिजन बेञ्चको निर्णय उक्त अ.बं.२०५ नं. को कानूनी मनसायको विपरीतको निर्णय हुन जान्छ यस्तो स्थितिमा निज शुभाष नेम्वाङको हकमा पनि अरू प्रतिवादी सरह इन्साफ उल्टाई सफाई दिनु पर्नेमा निज प्र.शुभाष नेम्वाङको हकमा सफाई नदिई डिसमिस गरेको डिभिजन बेञ्चको ०३५।१०।१४।१ को निर्णय सम्म मिलेको देखिएन । तसर्थ निज प्र.शुभाष नेम्वाङ सरहकै अरू प्रतिवादीलाई सफाई दिने गरेको डिभिजन बेञ्चको निर्णय अनुसार प्र.शुभाष नेम्वाङ पनि कसूरदार नठहरी सफाई पाउने ठहर्छ तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

तपसील

निवेदक प्रतिवादी शुभाष नेम्वाङके देहायको कलममा देहाय बमजिम गर्नु भनी का.जि. अ.त.मा कानून बमोजिम लगत दिने..१

बागमती अञ्चलाधिश का.को ०३३।६।११ को फैसलाले लाग्ने गरेको कैद महीना ।६ छ महीना हाल नलाग्ने भएकोले व्यहोरा जनाई सो कैदको लगत कट्टा गरी दिने ......१

मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३४।८।२९ को फैसलाले लाग्ने गरेको कैद दिन ।।१८ हाल नलाग्ने भएकोले व्यहोरा जनाई लगत कट्टा गरी दिने ......................... २

स.अ.डिभिजन बेञ्चको ०३५।१०।१४।१ को फैसलाले लाग्ने गरेको कैद १० दश घण्टा ४८ अठ्चालिस मिनेट हाल नलाग्ने हुँदा व्यहोरा जनाई लगतकट्टा गरी दिने ......................३

डिभिजन बेञ्चको फैसलाले गर्ने गरेको कैद वापतको धरौटी मुद्दा फु.बे.बाट दोहोर्‍याउँदा दाखिल गरेको धरौटी रू.।६६ फिर्ता लिन कानूनको रीतपुर्‍याई फिर्ता दिने .....................४

 

हामीहरू सहमत छौं ।

 

न्या. विश्वनाथ उपाध्याय,    

न्या. त्रैलोक्यराज अर्याल

 

इति सम्वत् २०३६ साल माघ २२ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु