निर्णय नं. १३१४ - निखनी पाउँ

निर्णय नं. १३१४ ने.का.प. २०३६
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री घनानाथ पन्त
सम्वत् ०३६ सालको रि.फु.नं. ३७
फैसला भएको मिति : २०३६।८।२८।६ मा
निवेदक : का.जि. न.पं. वडा नं. १३ नरदेवी नेटपाचो बस्ने सुन्दरचरण बैद्य
विरूद्ध
विपक्षी : भ.पु.जि. भ.पु.न.पं. वडा नं. ८ तुलाछे टोल बस्ने कृष्णचरण बैद्य
मुद्दा : निखनी पाउँ
(१) तत्काल प्रचलित मुलुकी ऐन लेनदेन व्यवहारको ११ नं. को व्यवस्थाले मुख्यले थाहा पाएकोमा एकाघर सगोलका सबैले थाहा पाएको मान्नु पर्ने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा वि.अधिवक्ता श्री प्रकाश वस्ती
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चको मिति ०३५।९।२४।२ को निर्णय दोहर्याई पाउँ भन्ने निवेदक सुन्दरचरण बैद्यको परेको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हु.प्र.बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. उमाचरण बैद्यले ०२९।१।१३ मा भ.पु.न.पं. वडा नं. ८ तुलाछे टोल बस्ने नारायणभक्त त्वायनालाई ऐ.वडा नं. ८ तुलाछे टोलको पूर्व कृष्ण बैद्यको घर साझा चोक पश्चिम साझा चोक उत्तर दिवाकरहरू समेतको पाताल र साझा चोक दक्षिण म ऋणिको बाँकी कौशीपुर र उक्त कौशी पुल मुनिको कौशीपुर र बाँकी घर गल्ली बाटो यति ४ किल्ला भित्रको दक्षिण मोहडा पूर्व पश्चिम लङको पूर्व दक्षिण लम्बाई हात १२ उत्तर दक्षिण चौडाई हात ४ र अंगुल १६ भएको १ नाले ३ तल्ले कौशी समेत भएको घर र सो घरदेखि पश्चिम पट्टि जोडिएको पूर्व पश्चिम लम्बाई हात ९ उत्तर दक्षिण चौडाई हात ५ भएको १ नाले ३ कवले पक्की झिंगटी छाना भएको र सो घरले चर्चेको लगापात समेत रू.४०००। मा र पूर्व तपाईं साहूलाई बिक्री गरेको घर पश्चिम हरिभक्त चिबन्जार समेतको घर पाताल बगैंचा दक्षिण गल्ली बाटो र कृष्णचरणको घर पाताल बनेको यति ४ किल्ला भित्रको ऐ.ऐ.को उत्तर दक्षिण लम्बाई हाल ३२ पूर्व पश्चिम चौडाई हात १६ को चोक छाप्रो बगैंचा र सो चोक छाप्रो बगैंचा देखि पश्चिम पट्टिको पूर्व पश्चिम लम्बाई हात ५२।। उत्तर दक्षिण चौडाई हात १३ भएको घर पाताल बगैंचा र सो घर पाताल बगैंचाहरूले चर्चेको लगापात समेत रू.३००१। मा भ.पु.भू.प्र.का.बाट राजीनामा रजिष्ट्रेशन पारित गरी दिएछ । सो कुरा थाहा पाई नजिकको हकदार भएको ०२९।२।२२ मा भ.पु.भू.प्र.का.मा थैली धरौट राखेकोमा विपक्षीहरूले मलाई निखन्न नदिन विपक्ष मध्येको उमाचरणको एकाघर सगोलको छोरा सुन्दरचरण बैद्यले मानो छुट्टिई भिन्न बसेको भनी झुठ्ठा जिकिर लिई म्याद नाघेपछि ०२९।२।२६ मा भू.प्र.का.मा थैली धरौट राखेकोमा सुन्दरचरणले निखन्न पाउने गरी भू.प्र.का.ले गरेको निर्णय उपर प्र.जि. अ.का.भ.पु.मा मेरो पुनरावेदन परी रजिष्ट्रेशनको नं. ३५(२) बमोजिम इन्साफ दिन पर्ने कुरा देखिन आएकोले ३५ दिनभित्र नालिस गर्नु भनी निखन्न पाउने बदर समेत गरी ०३१।२।१५ मा फैसला भएको उपरोक्त कारणहरूबाट विपक्षीको मानु छुट्टी भिन्न रहेको भन्ने झुठ्ठा दावीको निराकरण गरी मेरो घरसँगै जोडिएको घर र नजीकको हकदार समेत हुँदा मैले निखन्न पाउने गरिपाउँ भन्ने समेत वादी दावी ।
३. प्र.नारायणभक्त त्वायना भ.पु.जि. न.पं. वडा नं. ८ तुलाछेले २०३१।३।२९।७ मा तामेल भएको इतलायनामाको म्याद गुजारी बसेको ।
४. घर जग्गा बिक्री गर्ने उमाचरणको छोरा म सुन्दरचरण सबभन्दा नजिकको हकवाला नभई अंशियार भाइ विपक्ष कृष्णचरण नजिकको हकवाला हुन नसक्ने सबभन्दा नजिकको हकवालाले म्यादभित्र ननिखनेमा मात्र सन्धीसर्पन पर्ने हकवालाले निखन्न पाउने ऐनमा व्यवस्था भएको र उमाचरण मेरो पिताजी हुँदा म सबभन्दा नजिकको छोराले निखनी लिन नपाउने हुनाले मेरो म्यादभित्र रहेको धरौट नारायणभक्त त्वायनालाई बुझाउन लगाई मैले निखन्न पाउने गरिपाउँ भन्ने समेत सुन्दरचरण बैद्यको प्रतिउत्तर जिकिर ।
५. एकाघर सगोलका बाबु उमाचरणले बिक्री गरेको घर प्र.मध्यका सुन्दरचरणले निखन्न चाहेमा सो लिखत रजिष्ट्रेशन पारित भएको ३५ दिनभित्र धरौट राखी निखनी लिनु पर्नेमा सो म्याद नाघी धरौट दाखिल गरेकोले प्र.ले निखनी लिन पाउँदैन । वादी सन्धीसर्पनवाला र हकवाला भएको र म्यादभित्र दर्खास्त परेबाट वादीले उक्त घर निखनी लिन पाउने ठहर्छ भन्ने समेत शुरू भ.पु.जि. अ.का २०३१।९।१६।३ को फैसला ।
६. उमाचरणले नारायणभक्तलाई २०२९।१।१३ मा बिक्री गरेको कुरा उमाचारणको एकाघरको छोरा सुन्दरचरणले सोही दिन थाहा पाएको मान्नु पर्ने हुँदा निज उमाचारणले २०२९।१।१३ मा बिक्री गरेको उसै दिन थाहा पाएको देखिए पछि निखनी पाउन ०२९।२।२६ मा धरौट राखेको लेनदेन व्यवहारको ११ नं. ले तोकेको म्याद थाहा पाएको मिति ३५ दिन नाघेपछिको देखिनाले समेत निखन्न नपाउने गरी गरेको भ.पु.जि. अ.को फैसला बदर गरी मैले निखन्न पाउँ भन्ने पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन इन्साफ शुरू भ.पु.जि. अ.को मनासिव ठहर्छ भन्ने बागमती अञ्चल अदालतको ०३३।२।८।६ को फैसला ।
७. सो फैसलामा चित्त बुझेन भन्ने निवेदक प्रतिवादी उमाचरण बैद्यको मध्यमाञ्चल क्षेत्रीय अदालतमा अनुमतिको निवेदन परी अनुमति दिने आदेश भएकोमा बिक्री गर्नेको छोरा प्र.सुन्दरचरण नजिकको हकदार भई निजले निखनी लिन पाउने र वादीले नपाउने ठहर्छ वादी कृष्णचरणले निखनाई दिने गरेको शुरू भु.पु.जि. अ.र बा.अं.अ को गल्ती ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३४।२।५।४ को फैसला ।
८. मध्यमाञ्चल क्षेत्रीय अदालतको उक्त फैसला चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादी कृष्णचरण वैद्यको २०३४।३।७।३ को निवेदनपत्रमा अनुमति दिने आदेश भएकोमा हक सफा गरी लिनलाई थाहा पाएको मितिबाट म्यादको गणना हुने हुनाले थाहा पाएको मितिबारेमा निर्णय गर्नु परेको छ वादी कृष्णचरणले ०२९।१।२१ गते थाहा पाएको भनी कृष्णचरणले दरखास्त गरेकोमा निजले सो मिति भन्दा अघि नै थाहा पाएको हो भन्ने प्रतिवादी तर्फबाट जिकिर नआएकोले निजले थाहा पाएको भनी लेखेको मिति ०२९।१।२१ गते कायम हुन्छ । अब बिक्री गर्ने उमाचरणको छोरा सुन्दरचरणले थाहा पाएको भनी ०२९।२।२५ लाई भनेको भए पनि लेनदेन व्यवहारको ११ नं. ले एकाघरका सगोलमा उमेर पुगेका कसैले थाहा पाएकोमा सगोलमा भएका मुख्य समेत सबै हकवालाले थाहा पाएको ठहर्छ भन्ने लेखेकोले ऋणी उमाचरणको एकाघरसँगको श्रीमती जुननानी, लिखतमा साक्षी बसेकोबाट निज जुननानीले थाहा पाएपछि एकाघरका सगोलका सबैको थाहा पाएका छ भने छोराहरूले थाहा पाएको ठहर्ने हुँदा तमसुक भएको मिति ०२९।१।१३ मा थाहा पाएको हुने भई त्यसबाट ३५ दिन नघाई ०२९।२।२६ मा दरखास्त गरेको हुँदा सुन्दरचरणको निखनाई पाउँ भन्ने म्यादभित्र उजूर परेको देखिएन । बिक्री गर्नेको छोराले निखन्न पाउने अधिकार भएको भए पनि म्यादभित्र दरखास्त नपरेको कारणले यस बारेमा अरू चर्चा गरिरहन परेन तसर्थ कृष्णचरणले धरौटी थैली बुझाई निखन्न पाउने ठहराएको भक्तपुर जिल्ला अदालतको फैसला मनासिव छ सुन्दरचरणको निखन्न पाउने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी ठहर्छ भन्ने २०३५।९।२४।२ को डिभिजन बेञ्चको फैसला ।
९. प्रस्तुतमुद्दा दोहोर्याई दिनु भन्ने बक्स भई आएको हु.प्र.साथ संलग्न न्यायिक समतिको सिफारिश पर्चामा निवेदकले सो लिखत रजिष्ट्रेशन भएको अघि नै थाहा पाएको भन्ने कुरा स्थापित गर्न सकेको छैन त्यसकारण रजिष्ट्रेशन भएको ६ महीनासम्ममा थाहा पाएको ३५ दिनभित्रै सबभन्दा नजिकको हकवाला निवेदक सुन्दरचरणको धरौट रही सकेकोले म्यादै भित्र धरौट राखेको भन्नु पर्ने हुन आउँछ । यस्तोमा एकाघरसँगकी बिक्री गर्नेको श्रीमती जुननानी लिखतमा साक्षी बसेकोबाट निज जुननानीले थाहा पाएपछि एकाघर सगोलका सबैले थाहा पाएको भनी सो आधारमा निवेदक सुन्दरचरणले तमसुक भएको मिति ०२९।१।१३ भई थाहा पाएको र त्यसबाट म्यादभित्र उजूर नपरेको भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०३५।९।२४।२ मा गरेको निर्णय उपरोक्त कारणहरूबाट तत्काल प्रचलित मुलुकी ऐन लेनदेन व्यवहारको ११ नं. ले गरेको कानूनी व्यवस्थाको प्रतिकूल देखिनआउँछ भन्ने उल्लेख भएको रहेछ ।
१०. निवेदक प्रतिवादी सुन्दरचरण बैद्यको तर्फबाट उपस्थित हुनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापितले बिक्री गर्ने उमाचरणको छोरा सुन्दरचरण सबैभन्दा नजिकको हकदार भएको र निखन्ने व्यक्ति मध्येको मुख्य मानिस निजै भएकोले थाहा पाएको मितिले म्यादभित्रै धरौट राखेको हुँदा निजले निखन्न पाउन पर्ने भन्ने बहस प्रस्तुत गर्नुभयो र विपक्षी वादी कृष्णचरण बैद्यका तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा अधिवक्ता श्री प्रकाश वस्तीले विपक्षी सुन्दरचरण सगोलको एकाघरको परिवार भएको र बिक्री गर्नेको श्रीमती जुननानी लिखतमा साक्षी समेत बसेकोले बिक्री गरेकै दिनमा सुन्दरचरणलाई थाहा भएको मान्नु पर्ने हुँदा सो मितिले ३५ दिनको म्याद नघाई धरौट राखेकोले निजको निखन्न पाउँ भन्ने निवेदन म्याद नाघी आएको हुँदा वादी कृष्णचरणले म्यादभित्रै धरौट राखी आएकोले निज मात्र हक निखनी लिन पाउने हकवाला हुन आउँछ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
११. यसमा निर्णयतर्फ विचार गर्दा तत्काल प्रचलित मुलुकी ऐन लेनदेन व्यवहारको ११ नं. को व्यवस्थाले मुख्यले थाहा पाएकोमा एकाघर सगोलका सबैले थाहा पाएको मान्नु पर्ने निर्देश भएको पाइन्छ । बिक्री गर्ने उमाचरण निवेदक प्रतिवादी सुन्दरचरणको एकाघर सगोलको बाबु भएकोले निज उमाचरणले बिक्री गरेको व्यवहार सुन्दरचरणलाई उसै दिन थाहा हुने अवस्था विद्यमान छ निज उमाचरणलाई अलग गरेपछि लिखतमा साक्षी बस्ने निवेदक प्र.सुन्दरचरणको आमा जुननानी भएकीले बिक्री गर्ने उमाचरण पछि जुननानी घरको मुख्य हुन आउने र जुननानीले लिखतपास भएको मिति ०२९।१।१३ मा थाहापाएकीले निवेदक प्र.सुन्दरचरणले सोही दिन थाहा पाएको कायम हुन आउने भएबाट प्रतिवादी सुन्दरचरणले म्याद नघाई थैली धरौट राखेको हुनाले निज प्रतिवादी सुन्दरचरणले हक निखन्न नपाउने ठहर्याएको डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ एकाघर सगोलका उमेर पुगेका कसैले थाहा पाएको सबैले थाहा पाएको ठहर्छ भन्ने संशोधित मुलुकी ऐन लेनदेन व्यवहारको ११ नं. को वाक्यांश प्रयोग गरेको त्यति हदसम्म नमिलेकोले सो वाक्यांश हटाई दिने सम्म ठहर्छ । इन्साफ दोहोर्याएमा लाग्ने कोर्टफी दाखिल गरेको केही गर्न परेन । मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा हामीहरू सहमत छौं ।
प्र.न्या. नयनबहादुर खत्री
न्या. घनानाथ पन्त
इति सम्वत् २०३६ साल मार्ग २८ गते रोज ६ शुभम् ।