शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १३१७ - अंश दपोट

भाग: २१ साल: २०३६ महिना: बैशाख अंक:

निर्णय नं. १३१७     ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री घनानाथ पन्त

सम्वत् २०३४ सालको देवानी विविध नम्बर ७२

फैसला भएको मिति : २०३६।९।२३।२ मा

वादी :  कैलाली जिल्ला त्रिनगर गा.पं.वार्ड नं. २ बस्ने बालकुमारी क्षेत्रीनी

विरूद्ध

विपक्षी : ऐ.ऐ. बस्ने लोचनाथ रिजाल समेत जना ९

मुद्दा : अंश दपोट

(१)  वादीले आफ्नो फिरादमा किटान साथ दावी गर्न नकसेको र सो वादी दावीको जग्गा ०२२ सालमै बिक्री भई खरीद गर्ने साहुले घर समेत बनाएको भन्ने कुरा ०२३ सालमै वादीले थाहा पाएपछि मुलुकी ऐन जग्गा मिच्नेका १८ नं. र घर बनाउनेको ११ नं. अनुसार म्यादभित्रै उजूर गर्नुपर्ने ।

(प्रकरण नं. १३)

फैसला

          न्या. बासुदेव शर्मा : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ जाँची कानून बमोजिम गर्नु भन्ने समेत श्री ५ महाराजाधिराजबाट मिति ०३४।३।१५ मा भएका हुकुम प्रमांगी अनुसार इन्साफ जाँच निमित्त पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ।

          २.   विपक्षी तोयनाथसँग अंशदिलाई पाउन मेरो ०२०।११।२७ मा नालिसगर्दा ०२३।८।२६ गते ३ खण्डको १ खण्ड पाउने र पुनः विपक्षी हरिप्रसादको अंशमा नालिसपर्दा ५ खण्डको १ खण्ड अंश पाउने गरी ०२६।३।१५ मा भएको फैसला बमोजिम अंश पाएको तोयनाथले अंशको फाँटवारी दिँदा अंश दिनुपर्ने निम्न जग्गाको फाँटवारी नदिई दबाई राखेको कुरा ०२३।५।२६ मा राजीनामा नक्कल लिई थाहा पाएँ । भिनगा गा.पं.वार्ड नं. २ख कि.नं. २६७ को जग्गा विगाहा ६।२।। मध्य ३० विपक्षी हरिनन्द, मानबहादुर, जीवनबहादुर, गंगा सिंह, लालसिंह समेतलाई ०२२।८।१ गते राजीनामा गरी ०२२।८।१० मा रजिष्ट्रेशन पास गरी दिएको र ऐ.२क कि.नं. २७ को ०० मध्ये ०७ जग्गा विपक्षी मोतिराम पन्तलाई ०२२।१२।२६ गते पास गरी दिएको सो जग्गा मेरो अंशमा ०२०।११।२७ मा नालिस परी सकेपछि मुद्दा टुङ्गो नलागेसम्म अरूलाई राजीनामा गरी दिन समेत नहुने ज.मि.का.१ नं. ले लिए दिए पनि सदर नभई बदर हुने हुँदा घर बनाउनेको ४ नं. बमोजिम क्षतिपूर्ति दिलाई अंशबण्डाको २७ नं. बमोजिम मेरो हक कायम गरी दर्ता गरिपाउँ कानून बमोजिम जग्गा खाली गराई दिन नमिले उक्त दबाएको जग्गाको बिगो दिलाई विपक्षहरूलाई सजाय समेत गरिपाउँ भन्ने समेत मिति ०२६।१०।२७ को बालकुमारी क्षेत्रीनीको फिरादपत्र रहेछ ।

          ३.   फिरादको दावा झुठ्ठा हो बालकुमारीले तोयनाथ मैनाकुमारीका नाउँमा दिएका मुद्दाबाट अंश पाएको भए तापनि अंशियार भनी यो नालिस दिएका कुराको हामीहरू अंशियार र हकवाला नहुँदा तोयनाथ मैनाकुमारीले हामीलाई राजीनामा दिँदा अड्डामा पारित भएको काम दबाई छिपाई भन्न नमिल्ने उक्त जग्गा हामीलाई बिक्री गरी दिएको कुरा फिरादीले थाहा पाएको भनी वादी लेखबाटै सावित हुँदा कानूनको म्यादभित्र फिराद दावी गर्न नसक्नु भएकोले फिराद खारिज हुनुपर्छ भन्ने समेत होइन, हरिनन्दन जोशी १, मानबहादुर खड्का १, गंगा सिंह ऐ.१, लाल सिंह ऐ.१, जीवनबहादुर विष्ट १, मोतिराम पन्त १ समेत जना ६ को संयुक्त प्रतिवादी रहेछ ।

          ४.   फिराद दावी झुठ्ठा हो फिरादी र हाम्रे अंशबण्डा फिरादीले ०२०।११।१२ मा दिएको मुद्दाबाट कायम रहे भएको नभई हरिप्रसाद समेतले ०२५ सालमा जि. अ.कैलालीमा फिरादी समेतका नाउँमा दायर गरेको मुद्दाबाट ०२६।३।१५ मा फैसला भई बण्डा कायम भएको फिराद पर्नु अघि ०२२ सालमा अड्डामा राजीनामा पास भई विभिन्न व्यक्तिले पक्की घर बनाई भोगी राखेको जग्गालाई हामीले दबाएको भनी अंशबण्डाको २७, ३५ नं. ज.मि.९ नं. को परिधिको म्यादभित्र भन्ने न्यायसंगत छैन राजीनामाको जग्गाको हक लाग्ने भए ज.मि.को १८ नं. को म्यादभित्र नालिस दिन सक्नु पर्ने म्यादभित्रको उजूरी नहुँदा फिराद खारेज पाउँ भन्ने समेत सु.तोयनाथ रिजाल १, हरिप्रसाद रिजाल १, समेत जना ३ को संयुक्त प्रतिवादी परेको रहेछ ।

          ५.  लेनदेन व्यवहारको १० ज.मि.को १८ नं. बमोजिम म्यादभित्रको उजूर नहुँदा साहुले लिएको जग्गा पाउँ भन्ने तर्फ उजूर नपूग्ने ५ अंशको १ अंश वादीको भागमा पर्न आउने रू.१३९९।८० प्र.तोयनाथले तायदातीमा नचढाएबाट दपोट गरेको देखिँदा नदबाउने वादीले अंशबण्डाका २७ नं. बमोजिम पाउने ठहर्छ भन्ने समेत शुरू कैलाली जिल्ला अदालतको मिति ०२७।७।१२।४ को फैसला ।

          ६.   उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन परेकोमा वादी बालकुमारीले २०२०।११।२७ मा प्र.तोयनाथ समेत उपर अंश मुद्दा दायर गरेपछि ०२२।८।१० र ०२२।१२।२६ मा रजिष्ट्रेशन पारित भई खरीद बिक्री भए गरेको देखिएको सो सम्बन्धमा घर बनाउनेको ४ नं. ले झगडा परी रहेको जग्गामा घर बनाउन निषेध गरेकोले उक्त दुवै मितिको रजिष्ट्रेशन पारित गरेको कुरालाई कानूनले मान्यता दिन नमिल्ने हुँदा दपोट गरेको भनेको जग्गाको ५ खण्डको ३ खण्ड पुनरावेदक बालकुमारीको हिस्सामा पर्न आउने र उक्त जग्गामा घर बनेका भए घर बनाउनेको ४ नं. बमोजिम पञ्चकृती बाहेक जग्गाधनीबाट लिई वा ६ महीना भित्र घर भत्काई लगेन भने म्याद नाघेपछि सो घर जग्गाधनीकै हुने ठहर्छ भन्ने समेत सेती अञ्चल अदालतको मिति ०२९।३।१४।३ को फैसला रहेछ ।

          ७.  उक्त इन्साफमा चित्त बुझेन वादीको माग भन्दा बढी दपोट ठहर गरेको हुँदा समेत उक्त फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने समेत प्रतिवादी तोयनाथ मैनाकुमारी रिजालको संयुक्त पुनरावेदन र सोही अनुसार उक्त इन्साफ बदर गरिपाउँ भन्ने समेत प्र.हरीनन्दन, मानबहादुर, गंगा सिं, लालसिं, जीवनबहादुर, मोतिराम समेतको सर्वोच्च अदालतमा संयुक्त पुनरावेदन परेकोमा न्यायप्रशासन सुधार अध्यादेश, २०३० अनुसार प्रस्तुत मुद्दा यस अदालतबाट सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतमा सरी गएको रहेछ ।

          ८.   तोयनाथको हकमा ०२० सालमा अंश दिलाई पाउँ भन्ने मुद्दा परेपछि २०२२ सालमा जिग्गा बिक्री गरी सो बिक्री गरेको समेत तायदाती फँटवारी दिँदा नखुलाएबाट वादी दावीको उक्त दुई कलम जग्गा अंशदपोट गरेको होइन भनी भन्न नमिल्ने ।

          ९.   उक्त दुई कलम जग्गा बिक्री गरेको ०२३।५।२६ गते राजीनामाको नक्कल लिंदा थाहा पाए भन्ने वादीले खरीद गर्ने साहुहरू समेत उपर २०२६।१०।२७ मा फिराद दायर गरेको देखिन्छ । जग्गा दपोट गरेको जग्गा खाली गराई दिने वा कानून बमोजिम खाली गराउन नमिल्ने भए उक्त जग्गाको बिगो दिलाई पाउँ भन्ने उल्लेख भएबाट वादी दावी किटान गर्न नसकेको र वादी दावीको जग्गा ०२२ सालमा साहूहरूलाई बिक्री भई घर समेत बनाएको ०२३ सालमा थाहा पाएपछि ज.मि.का १८ घर बनाउनेका ११ नं. अनुसार म्यादभित्र उजूर गरेको नदेखिँदा अञ्चल अदालतको निर्णय मनासिव देखिएन म्याद नाघी परेको उजूर हेर्न सुन्न नमिल्ने हुँदा खारेज हुन्छ । तोयनाथले अंश दपोट गरी बिक्री गरेको जग्गाको बिगो रू.६९९९। मध्य बालकुमारीको भागमा पर्ने ५ भागको २ भाग रू.१३९९।९० अंशबण्डाको २७ नं. ले दपोट गर्ने प्र.तोयनाथको भागको दपोट नगर्ने ४ अंशियारमा दामासाहीले बण्डा गर्दा एक भागमा पर्न आउने रू.३४९।९५ समेत गरी जम्मा रू.१७४९।७५ प्र.तोयनाथबाट वादी बालकुमारीले पाउने ठहर्छ भन्ने समेत सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको मिति २०३२।१।१७।४ को फैसला ।

          १०.  उक्त इन्साफ चित्त बुझेन क्षेत्रीय अदालतको इन्साफ सर्वोच्च अदालत फुल बेञ्चबाट जाँच गरी दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भन्ने समेत व्यहोराको वादी बालकुमारीको निवेदनमा व्यहोरा साँचो भए तोयनाथ रिजाल समेतसँगको अंश दपोट मुद्दाको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलाको मिसिल त्यस अदालतबाट झिकाई इन्साफ गरी कानून बमोजिम गर्नु भन्ने समेत श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभाग मार्फत लेखी आएको उक्त हुकुम प्रमांगीको व्यहोरा पेश हुँदा बक्स भई आएका हुकुम प्रमाङ्गी बमोजिम इन्साफ जाँच गर्न विविधको लगतमा दर्ता गरी बेञ्चमा पेश गर्नु भन्ने समेत स.अ.डिभिजन बेञ्चका ०३४।३।२९।४ का आदेशानुसार लगतमा दर्ता भएको रहेछ ।

          ११.  उक्त आदेशानुसार इन्साफ जाँचको लागि लगतमा दर्ता भई जनाउका म्यादमा हाजिर भई तारिखमा रहेका निवेदिका वादी बालकुमारी क्षेत्रिनीको वारेस गणेशदेव पन्तलाई रोहवरमा राखी निजतर्फका वि.अधिवक्ता श्री रामगोपाल श्रेष्ठको बहस समेत सुनी बुझ्दा प्रस्तुत मुद्दामा सुदूर प.क्ष.अ.बाट भएको इन्साफ ठीक बेठिक के रहेछ सो कुराको निर्णय दिनु परेको छ ।

          १२.  यसमा यिनै निवेदिका वादी बालकुमारी वादी भई यिनै विपक्षी तोयनाथ रिजाल उपर अंशमा मिति २०२०।११।२७ मा नालेस परी प्रतिवादी तोयनाथबाट दाखिल भएका अंशको तायदाती फाँटको ३ अंशको एक अंश वादीले पाउने ठहरी ०२३।८।२६ मा फैसला भएकोमा सोही अंशियार हरिप्रसाद, तुलाराम समेतको तोयनाथ उपर पुनः अंशमा ०२५।२।२९ मा फिराद परी आखिर २०२६।३।१५ का कैलाली जिल्ला अदालतका फैसलाले वादी बालकुमारीसमेतले अंश पाउने ठहरी फैसला भएको कुरा प्राप्त मिसिलहरूबाट देखिन्छ ।

          १३.  लेखिए अनुसार अंशमा मुद्दा पर्दाकै अवस्था प्रतिवादी तोयनाथले विवादको जग्गा ०२२।८।१ मा र ०२२।१२।२६ मा पास गरी हरिनन्दन समेतलाई बिक्री गरेको भन्ने कुरा ०२३।५।२६ मा नक्कल सारी थाहा भयो भनी प्रस्तुत अंश दपोट मुद्दामा मिति २०२६।१०।२७ गते फिराद दर्ता गरेको देखिन्छ । सो फिरादमा कानून बमोजिम जग्गा खाली गराई दिन नमिले दबाएको जग्गाको बिगोको बिगो दिलाई पाउँभन्ने समेतका कुरा उल्लेख भएबाट वादीले आफ्नो फिरादमा नै किटान साथ दावी गर्न नसकेको र सो वादी दावीको जग्गा ०२२ सालमै बिक्री भई खरीद गर्ने साहुले घर समेत बनाएको भन्ने कुरा ०२३ सालमै यी वादीले थाहा पाएपछि मुलुकी ऐन जग्गा मिच्नेका १८ नं. र घर बनाउनेका ११ नं. अनुसार म्यादभित्रै उजूर गर्नुपर्ने सो भए गरेको छ भन्ने कुरा मिसिल प्रमाणबाट देखिन आउँदैन । तसर्थ क्षेत्रीय अदालतका फैसलामा उल्लेख भएका बुँदा प्रमाण समेतबाट अंश मुद्दामा तायदाती फाँट खुलाई दिने घरका मुख्य प्रतिवादी तोयनाथ रिजालबाट सो दपोट गरेको भनेको जग्गाको मोल रू.१७४९।७५ वादी निवेदिका बालकुमारीले पाउने ठहराई सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०३२।१।१७ मा भएको इन्साफ मनासिव ठहर्छ । इन्साफ जाँच निमित्त आएको मुद्दा हुँदा केही गर्न परेन । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. घनानाथ पन्त

 

इति सम्वत् २०३६ साल पौष २३ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु