निर्णय नं. १३१८ - अंश

निर्णय नं. १३१८ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०३५ सालको दे.पु.नं. ९४
फैसला भएको मिति : २०३६।११।२७।२ मा
पुनरावेदक : जि. लम्जुङ्ग चिति पञ्चायत वार्ड नं. ७ बस्ने भोजबहादुर सेढाई क्षेत्री
विरूद्ध
प्रतिवादी : ऐ.ऐ.बस्ने ईश्वरीदत्त सेढाई
मुद्दा : अंश
(१) अ.बं.८३ नं. बमोजिम विक्षिप्त भई वेपत्ता परेको हो होइन भनी बुझिएको सरजमीनबाट वादी लिखत बमोजिम विक्षिप्त भई वेपत्ता भएको भन्ने नदेखिएको र प्रधानपञ्चले गरी दिएको सिफारिशपत्रको नक्कलमा पनि विक्षिप्त भई वेपत्ता भएको भन्ने किटानी साथ लेखिएको नभई विक्षिप्त जस्तो भनी अन्दाजी किसिमसँग लेखिएको देखिएकोले बाबु विक्षिप्त भई वेपत्ता भएको भन्ने प्रमाण प्राप्त हुन नसकेकोले बाबु जीवित छँदै बाबुको अख्तियारनामा बेगर वादीले नालिस गर्न अ.बं.८२ नं. ले हकदैया पुग्ने देखिन नआएकोले वादी दावी खारेज हुने ।
(प्रकरण नं. ११)
फैसला
न्या. त्रैलोक्यराज अर्याल : प.क्षेत्रीय अदालतबाट भएको फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीले चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. बाजे लक्ष्मीदत्तका २ परिवारमा कान्छी यामकुमारी र जेठी पट्टि मेरो बाबु ईन्द्रबहादुर भएको बाजे लक्ष्मीदत्त परलोक भइसकेको र मेरो बाबु ईन्द्रबहादुर पनि २७।२८ वर्ष भयो विक्षिप्त हुनुको साथ मरे बाँचेको समेत थाहा नभएको हुँदा बाबुको र काका ईश्वरीदत्त बज्यै यामकुमारीको अंश हुन बाँकी नै हुँदा बाबुले पाउने अंश म जिम्मा गरी अंश देउ भन्दा नदिएकोले फिराद गरेको छु । रीत पूर्वकको अंश दिलाइपाउँ भन्नेसमेत व्यहोराको भोजबहादुरको फिराद रहेछ।
३. बाबु लक्ष्मीदत्तकी श्रीमती एक मात्र मेरी आमा यामकुमारी हुनु हुन्थ्यो वादीको बुढी आमा पनि मेरी बाबुकी श्रीमती थिइन भन्ने कुरा मलाई थाहा छैन, सो कुरा साँचो नै भएको भए निजले बाबु लक्ष्मीदत्तसँग अंश लिनु पर्दथ्यो अथवा लोग्ने कायम गराई राख्नु पर्दथ्यो सो कुनै कुरा हुन सकेको छैन, कारणी मानिसहरू दुबैको निधन भएपछि मात्र मेरो सम्पत्ति खान जालीहरूले जालझेल गरेको मात्र हो, वादी भोजबहादुरको बाबु ईन्द्रबहादुरका नाउँमा रूम्टो भन्ने खेत र जुडी भन्ने पाखो १९९०।१९९१ सालमा दर्ता छ सो जग्गा वादीको बाबुले कसरी प्राप्त गरे भन्ने समेत व्यहोराको यामकुमारी मरी सकेको भन्ने समेत व्यहोराको ईश्वरीदत्तको प्रतिउत्तर रहेछ ।
४. मेरी बज्यै लक्ष्मीदत्तकी श्रीमती मेरा बाबु ईन्द्रबहादुरकी आमा ल्याइते हुनुहुन्थ्यो नाम थाहा छैन मेरी ल्याइते बज्यैबाट मेरा बाबु ईन्द्रबहादुर १ मात्र जायजन्म भएको हो, सो बज्यै कहिले कुन सालमा परलोक हुनु भएको सो पनि मलाई थाहा छैन, वादीमा लेखिएका जग्गा बाजे लक्ष्मीदत्तले १९९०।१९९१ सालमा दर्ता गराउनु भएको र सोही दर्ताको जग्गा २००० सालमा बाजे लक्ष्मीदत्तकै जिम्माको जग्गा जीवनवृतिलाई दिएको भन्ने कुरा सुनी जानेको हुँ भन्ने समेत व्यहोराको भोजबहादुरको बयान रहेछ ।
५. वादीमा लेखिएको जग्गा वादीले नै खाई आएका छन अंश भए नभएको कुरा मलाई थाहा छैन भन्ने समेत भवदत्त समेतको बकपत्र, प्राप्त दर्तामा लक्ष्मीदत्त जिम्मा ईन्द्रबहादुरका नाउँमा खेत ।२१ घर बारी विज ।.।१।५ र जडी खेत पाखो ।.।३ दर्ता देखिन्छ सो लक्ष्मीदत्त जग्गा दर्ता भएका नकि लक्ष्मीदत्तका छोरा भन्ने उल्लेख भएको पाइन्छ १९९० सालमा वादीका बाबुका नाउँमा उक्त जग्गा दर्ता भएको र सो जग्गा वादीका बाबुले हाल वादीले नै भोगचलन गरेको देखिएकोले र वादी दावा बमोजिम वादीले प्र.बाट अंश पाउनेहुन भनी ठहराउन न्यायोचित नपर्ने भई वादी दावा पुग्नसक्तैन वादीदावा खारेज हुने ठहर्छ भन्नेसमेत व्यहोराको शुरू म.तथा लम्जुङ्ग जि. अ.को फैसला रहेछ ।
६. शुरू जिल्ला अदालतले अंश पाउने हुन भनी ठहराउन नहुने हुँदा खारेज हुने ठहराई छिनेको इन्साफमा चित्त बुझेन भन्ने समेत पुनरावेदन जिकिर रहेछ ।
७. वादीले लक्ष्मीदत्तलाई मूल पूर्खा बनाई लक्ष्मीदत्तलाई बाजे मानी यामकुमारीलाई सौतेनी बन्यै बनाएको छ । वादीको बाबु ईन्द्रबहादुरले लक्ष्मीदत्तबाट गुजाराका लागि ४ कित्ता जग्गा लिई मानो छुट्टी बसेको अंश नभएको भन्ने वादीको मुख्य जिकिर रहेको छ । नाता कायम सम्बन्धमा मनाङ्ग तथा लम्जुङ्ग जिल्ला अदालतबाट वादीलाई बयान गराउँदा लक्ष्मीदत्तको दर्ता जग्गा बाबु ईन्द्रबहादुरलाई २००० सालमा जीवनवृत्तिको लागि लक्ष्मीदत्तले दिएको सुनेको हुँ भनी लेखाई दिएको छ । मिसिल सामेल रहेको दर्ता उत्तार हेर्दा ईन्द्रबहादुरका नाउँमा केही जग्गा र वादी दर्ता भएकै देखियो सो दर्तामा लक्ष्मीदत्तबाट सरी आएको भन्ने देखिएन लक्ष्मिदत्तलाई बाजे नाता भन्ने वादीको दावी नै उक्त दर्ताबाट पुष्ट्याँई हुन आएन । वादीका साक्षीहरूले पनि वादी प्रतिवादीका बीच नाता कायम गरी प्रष्ट बकी लेखाई दिएको पाइएन वादीबाट सबूद गुज्रन आउनु पर्ने वादीका बाबुका नाउँमा दर्ता रहेको जग्गा वादीले भोग गरी रहनु भएकोमा विवाद छैन नाता कायम भएको अवस्थामा मात्र अंशबण्डाको अभाव भन्ने प्रश्न विचारणीय हुने थियो ।
८. यस अवस्थामा वादीको पुनरावेदन जिकिर मनासिव देखिएन मनाङ्ग तथा लम्जुङ्ग जिल्ला अदालतको इन्साफ मनासिव छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
९. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीले चढाएको निवेदनमा नाता कायम भएको अवस्थामा मात्र अंशबण्डा विचारणीय हुनेछ भनी वादीले अंश नपाउने गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले फैसला गरेकोमा प्रतिवादीका लेखबाट वादीको नाता कायम गर्नुपर्ने भएको भए यसै मिसिलबाट जो गर्नुपर्ने कारवाही गरी निर्णय गर्नुपर्नेमा सो गरेको नदेखिँदा कानूनी त्रुटि हुन गई सार्वजनिक महत्वको प्रश्नमा निर्णय गर्नुपर्ने हुँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिमको अवस्था विद्यमान भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने डि.बेञ्चको आदेश ।
१०. पुनरावेदन वादी तर्फबाट रहनुभएका वि.अ.श्री विष्णुबहादुर तथा विपक्षी प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री विश्वराज पाण्डेले गर्नु भएको बहस समेत सुनियो ।
११. यसमा बाबु ईन्द्रबहादुर विक्षिप्त भई वेपत्ता भएको भनी वादी भोजबहादुरको फिराद पर्न आएको देखिन्छ । अ.बं.८३ नं. बमोजिम सो कारण परेको हो होइन भनी बुझिएको सरजमीनबाट वादी लेख बमोजिम विक्षिप्त भई वेपत्ता भएको भन्ने नदेखिएको र प्रधानपञ्चले गरी दिएको सिफारिशपत्रको नक्कलमा पनि विक्षिप्त भई बेपत्ता भएको भन्ने किटानीसाथ लेखिएको नभई विक्षिप्त जस्तो भनी अन्दाजी किसिमसँग लेखिएको देखिएकोले बाबु ईन्द्रबहादुर विक्षिप्त भई बेपत्ता भएको भन्ने प्रमाण प्राप्त हुन नसकेकोले बाबु जीवित छँदै बाबुको अख्तियारनामा बेगर वादीले नालिस गर्न अ.बं.८२ नं. ले हकदैया पुग्ने देखिन नआएकोले वादी दावी खारेज गर्ने गरेको शुरू मनाङ्ग तथा लम्जुङ्ग जिल्ला अदालतको निर्णय मनासिव ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ । कोर्टफी राखी पुनरावेदन दायर भएकाले कसैलाई केही गर्नु परेन । नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३६ साल फाल्गुण २७ गते रोज ३ शुभम् ।