निर्णय नं. ७७५ - अंश

निर्णय नं. ७७५ ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०२८ सालको दे.फु.नं. १०७
फैसला भएको मिति : २०३०।५।१२।३ मा
निवेदक : का.जि.तालाछाप बस्ने लेखबहादुर थापा क्षेत्री
विरूद्ध
विपक्षी : ऐ.ऐ.बस्ने बलबहादुर थापा खत्रीसमेत
मुद्दा : अंश
(१) वादीले लिई पाई सकेको सबूत गुजार्न प्रतिवादीहरूको नसके अंश दिनु नपर्ने भन्ने प्रतिवादीहरूको जिकिर मनासिव नदेखिने ।
यसमा वादी दावी बमोजिम वादीले अंश पाउने हो होइन पाउने भए के कति पाउने हो सो कुराको निर्णय दिनुपर्ने देखिन्छ । ८२ सालमै भिन्न भई जो भएको श्री सम्पत्ति बण्डा गरी वादीको बाबुले आफ्नो भाग लिई १११८ नं.कित्ता मध्यको निजको अंश भागको रोपनी ३। म बलबहादुरलाई ९०।१११८ मा राजीनामा पाससमेत गरिदिएकोले अंश दिन नपर्ने भन्ने प्रतिवादीहरूको मुख्य जिकिर भएकोमा १ अंशी कुलबहादुरले यो वादी लेखबहादुरसमेतका उपर यो भन्दा पहिले दिएको अंश मुद्दामा पनि प्रतिवादी कृष्णकुमारी बलबहादुरले यस्तै किसिमको इन्कार जिकिर लिएकोमा पहिले नै अंशबण्डा गरिसकेको भन्ने कुरा कायम नभई वादीको बाबु नरबहादुरसमेतको ४ भाग लगाई एक भाग कुलबहादुरलाई अंश छुट्याई दिनेसमेत गरी भक्तपुर अदालतबाट ०१६।९।२२।४ मा र सोही सदर गरी तत्कालिन जिल्ला अदालत भक्तपुरबाट ०१७।१२।२८।२ मा फैसला भएको र सो अनुसार वादीको बाबुको १ भाग वादीले लिई पाइसकेको सबूद गुजार्न प्रतिवादीहरूले नसकेकाले अंश दिन नपर्ने भन्ने प्रतिवादीहरूको जिकिर मनासिव देखिन आएन वादीले के कति अंश पाउने हो भन्नेतर्फ कुलबहादुरले दिएको अंश मुद्दामा प्रतिवादी बलबहादुरले कृष्णकुमारीले दिएको तायदातीमा कि.नं.१११८ को रोपनी ३।२ को १ कित्ता र रोपनीको ३। को १ कित्ताकोसमेत तायदाती दिएको र सो कित्तासमेतको जम्मा बिगो रू.३७०।७० कायम गरी ४ भागको ३ भाग रू.२६०।७७।३ परसारी १ भाग रू.८६।९२।२ को अंश कुलबहादुरलाई छुट्याई दिने गरी उस बखत फैसला भएकोले परसारिएको रू.२६०।७७।३ को ३ भागको १ भाग वादीले पाउनु पर्ने हो की भन्ने सामान्य रूपमा देखिन्छ । तर सो १११८ नं.कित्ता मध्यकै खेत मुरी ।८।१२ मेरो अंश भागको भनी वादीको बाबु नरबहादुरले बलबहादुरलाई राजीनामा रजिष्ट्रेशन पास गरिदिसकेको देखिन आएको अब फेरी सो कित्ताको पनि वादीलाई अंश दिलाई दिँदा त्यस कलममा वादीले दोहोरो अंश पाउने अवस्था पर्न जाने भएकाले ०२६।१।२६।५ को डिभिजन बेञ्चले उक्त कुलबहादुरले दिएको अंश मुद्दामा बलबहादुर कृष्णकुमारीले दिएको तायदातीमा लेखिएको सो १११८ नं.कित्ता कटाई बाँकी रू.१४१।७० को ४ भागको भाग रू.३५।४२।२ को मात्रको अंश वादीले पाउने ठहराएको वेमनासिब भन्न भएन तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट अंश दिन नपर्ने भन्ने प्रतिवादीको र सो १११८ नं.कित्तासमेतको अंश पाउनु पर्ने भन्ने वादीको जिकिर पुग्न सक्तैन वादीले प्रतिवादीहरूबाट बिगो रू.३५।४२।२ को अंश पाउन ठहराई ०२६।१।२६।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ प्रतिवादी कृष्णकुमारी बलबहादुरबाट कोर्टफी असूल भइसकेकोले निजहरूलाई मुद्दा दोहराएमा अरू सजाय गर्नु परेन वादी लेखबहादुरबाट मुद्दा दोहराएमा लाग्ने कोर्टफी असूल गर्न छुटाएको देखिँदा निजको निवेदन जिकिर भएको १११८ नं.कित्ताको बिगो रू.२०६ को शुरुमा लाग्ने कोर्टफी रू.१०।३० को मुद्दा दोर्याएमा कोर्टफी ऐन, ०१७ को दफा १९ बमोजिम सयकडा १० ले रू.१।३ कोर्टफी लाग्छ रुजु हुँदा असूल गरी कानूनबमोजिम लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : अधिवक्ता नारायणप्रसाद श्रेष्ठ
विपक्षी तर्फबाट : अधिवक्ता सुधनाथ पन्त
उल्लिखित मुद्दा :
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई दोहोरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : बाजे शिवकुमारको छोरा जेठा मेरा बाबु माहिला कृष्णकुमारीको लोग्ने साहिँला कुलबहादुर कान्छा बलबहादुर हुन् म सानो छँदै दाजु देशतर्फ गएको मरे बाँचेको थाहा छैन म पनि देशतर्फ गएको बाबु परलोक भएको १५ सालमा आई बाबुको जग्गा छाडी दिनुहोस भन्दा आफ्नो जानी खाई आएको भनेकोले मैले खिचोलामा नालेस गरेको पछि म समेत उपर कुलबहादुरका अंशमा नालेश परी खिचोला मुद्दा मुल्तवी रही अंश मुद्दामा तायदाती बमोजिम रू.३४७।७० को ४ खण्डको १ खण्ड कुलबहादुरले अंश छुटाई लिएको ३ खण्ड अन्याय जिम्मा रहेको मैले पाउने १ खण्ड रू.८६।९२।२ को अंश छुटाई पाउँ भन्नेसमेत वादी लेखबहादुरको फिरादपत्र ।
३. वादीको दाजु चेतबहादुरको वारिस भई नालेस नपरी यो नालेस लाग्न नसक्ने बलबहादुर नरबहादुर वीरबहादुर ८२ सालमा भिन्न भएको नरबहादुरको भागको नं.१११८ को रोपनी ३ रू.२००। मा बलबहादुरलाई राजीनामा दिएको बलबहादुरबाट रोपनी १। वीरबहादुरले राजीनामा लिएकोमा दोहोरो अंश पाउँ भनी झुठ्ठा उजूर गरेको भन्नेसमेत प्रतिवादी बलबहादुर कृष्णकुमारीको एउटै प्रतिवादी ।
४. यिनीहरूको अंश मुद्दा हेर्दा वादीको बाबु बलबहादुरले जग्गा राजीनामा गरिदिएको देखिएको यिनै वादी प्रतिवादीको जग्गा खिचोला मुद्दामा खिचोला गरेको ठहराई फैसला भएको देखिनाले अंश पाएको छैन भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने तत्कालिन ई.अ.भ.पु.को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा अञ्चल अदालतबाट निर्णय हुँदा वादी दावी बमोजिम अंशियार भन्नेमा प्रतिवादी सावितै रहेको वादी कुलबहादुर प्रतिवादी बलबहादुरको अंश मुद्दामा अंश छुट्याई दिने ठहरी वादीसमेतको ३ अंशियारको भाग ३ खण्ड छुट्याउन बाँकी रहेको देखिनाले वादीको बाबुको अंश तिरमा पर्ने ३ खण्डको १ खण्ड अंश रू.८६।९२।२ को अंश भाग वादीले छुट्याई लिन पाउने ठहर्छ भन्नेसमेत बागमती अञ्चल अदालतबाट फैसला भएको ।
६. अञ्चल अदालतले हदमुनी गरी छिनेको इन्साफ जाँच गरिपाउँ भन्ने प्रतिवादीको निवेदनमा बक्स भई आएको हुकुम प्रमांगीबमोजिम इन्साफ जाँच भई डिभिजन बेञ्चबाट निर्णय हुँदा नरबहादुरले यो यति अंश बुझेको भन्ने कानूनको रीत पुगेको लिखत अन्य प्रमाणित सबूद नभएकोले अंश लिइसकेको भन्न नहुने कुलबहादुरले अंशमा नालेस गर्दा ४ खण्डको १ खण्ड अंश पाउने ठहरी फैसला भइरहेको देखिएकोले उसै सरहको अंशियार वादीलाई मानो छुट्टिएको मिति ७८।१०।१५ कायम गरी अंश छुट्याई दिलाई दिनुपर्ने देखिन आउँछ के कति पाउने भन्ने तर्फमा छुट्टिएपछि ९०।१।१८।१ मा वादीको बाबु नरबहादुरले बलबहादुरलाई मेरो अंश भागको भनी खेत मुरी ८।१२ राजीनामा गरेबाट सो जग्गामा अंश पाई आफ्नो अंश विक्री गरी सकेको देखिन आयो त्यसै कित्ता मध्येको बाँकी जग्गामा भाग दिलाउँदा दोहोरो अंश पाउने हुन जाने भएकोले सो कित्तामा बिक्री भएकोलाई अंश पाएको मानी अंश दिनु नपर्ने देखिन आउँछ सो बाहेकका जग्गामा कुलबहादुरले अंश पाउने भएको चार भागको १ भाग छोडी बाँकी ३ भागबाट ने.रू.३५।४२।२ को जग्गा वादीले अंश पाउने ठहर्छ भन्नेसमेत ०२६।१।२६ मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।
७. यस बेञ्च समक्ष निवेदक वादी तर्फबाट विद्वान अधिवक्ता श्री नारायणप्रसाद श्रेष्ठले १ अंशी कुलबहादुरले पहिले दिएको अंश मुद्दामा भएको फैसलाबाट मेरो पक्षको बाबुसमेत ४ भाइको ४ भाग लाग्ने कायम भई कुलबहादुरको १ भाग अंश छुट्याई लिएको ३ भाग प्रतिवादीहरूको जिम्मामा रहेकोले अंश दिनु नपर्ने भन्ने प्रतिवादीहरूको जिकिर पुग्न सक्ने होइन सो मुद्दामा १११८ नं.कित्तासमेतको बलबहादुर कृष्णकुमारीले तायदाती दिई सोसमेतको ४ भाग लाग्ने ठहरी उस बखत फैसला भएकोले मेरो पक्षले पहिलेको फैसलाबमोजिम पुरै अंश पाउनु पर्नेमा डिभिजन बेञ्चले १११८ नं.कित्ताको अंश नपाउने गरेको मिलेको छैन भन्नेसमेत र प्रतिवादीहरूतर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले वादीको बाबुले नै अंशबण्डा लिई आफ्नो अंशको भनी जग्गा बिक्रीसमेत गरेकोमा बण्डापत्र नभएको भनी पुनः बण्डा दिलाई दिने गर्न मिल्ने होइन डिभिजन बेञ्चले अंश दिलाउने गरेको बदर हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
८. यसमा वादी दावी बमोजिम वादीले अंश पाउने हो होइन पाउने भए के कति पाउने हो सो कुराको निर्णय दिनुपर्ने देखिन्छ । ८२ सालमै भिन्न भई जो भएको श्री सम्पत्ति बण्डा गरी वादीको बाबुले आफ्नो भाग लिई १११८ नं.कित्ता मध्यको निजको अंश भागको रोपनी ३। म बलबहादुरलाई ९०।१११८ मा राजीनामा पाससमेत गरिदिएकोले अंश दिन नपर्ने भन्ने प्रतिवादीहरूको मुख्य जिकिर भएकोमा १ अंशी कुलबहादुरले यो वादी लेखबहादुरसमेतका उपर यो भन्दा पहिले दिएको अंश मुद्दामा पनि प्रतिवादी कृष्णकुमारी बलबहादुरले यस्तै किसिमको इन्कार जिकिर लिएकोमा पहिले नै अंशबण्डा गरिसकेको भन्ने कुरा कायम नभई वादीको बाबु नरबहादुरसमेतको ४ भाग लगाई एक भाग कुलबहादुरलाई अंश छुट्याई दिनेसमेत गरी भक्तपुर अदालतबाट ०१६।९।२२।४ मा र सोही सदर गरी तत्कालिन जिल्ला अदालत भक्तपुरबाट ०१७।१२।२८।२ मा फैसला भएको र सो अनुसार वादीको बाबुको १ भाग वादीले लिई पाइसकेको सबूद गुजार्न प्रतिवादीहरूले नसकेकाले अंश दिन नपर्ने भन्ने प्रतिवादीहरूको जिकिर मनासिव देखिन आएन वादीले के कति अंश पाउने हो भन्नेतर्फ कुलबहादुरले दिएको अंश मुद्दामा प्रतिवादी बलबहादुरले कृष्णकुमारीले दिएको तायदातीमा कि.नं.१११८ को रोपनी ३।२ को १ कित्ता र रोपनीको ३। को १ कित्ताकोसमेत तायदाती दिएको र सो कित्तासमेतको जम्मा बिगो रू.३७०।७० कायम गरी ४ भागको ३ भाग रू.२६०।७७।३ परसारी १ भाग रू.८६।९२।२ को अंश कुलबहादुरलाई छुट्याई दिने गरी उस बखत फैसला भएकोले परसारिएको रू.२६०।७७।३ को ३ भागको १ भाग वादीले पाउनु पर्ने हो की भन्ने सामान्य रूपमा देखिन्छ । तर सो १११८ नं.कित्ता मध्यकै खेत मुरी ।८।१२ मेरो अंश भागको भनी वादीको बाबु नरबहादुरले बलबहादुरलाई राजीनामा रजिष्ट्रेशन पास गरिदिसकेको देखिन आएको अब फेरी सो कित्ताको पनि वादीलाई अंश दिलाई दिँदा त्यस कलममा वादीले दोहोरो अंश पाउने अवस्था पर्न जाने भएकाले ०२६।१।२६।५ को डिभिजन बेञ्चले उक्त कुलबहादुरले दिएको अंश मुद्दामा बलबहादुर कृष्णकुमारीले दिएको तायदातीमा लेखिएको सो १११८ नं.कित्ता कटाई बाँकी रू.१४१।७० को ४ भागको भाग रू.३५।४२।२ मात्रको अंश वादीले पाउने ठहराएको वेमनासिब भन्न भएन तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट अंश दिन नपर्ने भन्ने प्रतिवादीको र सो १११८ नं.कित्तासमेतको अंश पाउनु पर्ने भन्ने वादीको जिकिर पुग्न सक्तैन वादीले प्रतिवादीहरूबाट बिगो रू.३५।४२।२ को अंश पाउने ठहराई ०२६।१।२६।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ प्रतिवादी कृष्णकुमारी बलबहादुरबाट कोर्टफी असूल भइसकेकोले निजहरूलाई मुद्दा दोहराएमा अरू सजाय गर्नु परेन वादी लेखबहादुरबाट मुद्दा दोहराएमा लाग्ने कोर्टफी असूल गर्न छुटाएको देखिँदा निजको निवेदन जिकिर भएको १११८ नं.कित्ताको बिगो रू.२०६ को शुरुमा लाग्ने कोर्टफी रू.१०।३० को मुद्दा दोर्याएमा कोर्टफी ऐन, ०१७ को दफा १९ बमोजिम सयकडा १० ले रू.१।३ कोर्टफी लाग्छ रुजु हुँदा असूल गरी कानूनबमोजिम लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।
हामीहरूको सहमती छ ।
न्या. सुरेन्द्रप्रसाद सिंह,
न्या. धनेन्द्रबहादुर सिंह
इति सम्वत् २०३० साल भाद्र १२ गते रोज ३ शुभम् ।