शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८६६८ - जिउँदो बालक फालेको

भाग: ५३ साल: २०६८ महिना: मंसिर अंक:

ने.का.प. २०६८,           अङ्क ८

निर्णय नं. ८६६८

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री तपबहादुर मगर

माननीय न्यायाधीश डा श्री भरतबहादुर कार्की

फौजदारी पुनरावेदन नं. ०६५CR०६१०

मुद्दा :जिउँदो बालक फालेको 

पुनरावेदक प्रतिवादीः इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी वादीः डोटी जिल्ला, दिपायल सिलगढी नगरपालिका वडा नं. १२ बस्ने धौलीदेवी विष्ट

 

शुरु फैसला गर्नेः

मा.न्या.श्री रामप्रसाद अधिकारी

पुनरावेदन फैसला गर्नेः

का.मु.मा.मु.न्या.श्री गोपाल पराजुली

मा.न्या.श्री डम्वरबहादुर शाही

 

§  घटना वारदातको सत्यता अनुसन्धान प्रक्रियाबाटै स्थापित हुने हुँदा वारदातको वास्तविकतालाई अनुसन्धानको चरणबाट अलग गर्न नसकिने 

§  कसैउपर कुनै कसूरको आरोप लगाई पक्राउ गरी हिरासतमा राख्नु र निजहरूको बयान लेख्नुले अनुसन्धान भरपर्दो र विश्वासिलो हुन सक्दैन । आरोप लगाएपछि सोको सत्यताको परीक्षण अनुसन्धानको क्रममा हुनु जरुरी हुन्छ । आरोप वास्तविक भए नभएतर्फ मौका अनुसन्धानकै चरणमा विचार गरिनु पर्ने 

§  सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ६(१) बमोजिम कुनै अपराधको तहकीकात शुरु गर्नुभन्दा पहिले तहकीकात गर्ने प्रहरी कर्मचारीले तहकीकात गर्ने कुराहरू खुलाई सम्बन्धित सरकारी वकील कार्यालयमा अपराधसम्बन्धी प्रारम्भिक प्रतिवेदन पठाउनु पर्ने र उपदफा (२) बमोजिम त्यस्तो प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि सरकारी वकीलले तहकीकातको सम्बन्धमा तहकीकात गर्ने प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनसक्ने 

§  कानूनी व्यवस्थामा बाध्यात्मक रुपमा कर्तव्य नतोकेको अवस्था भए पनि जिम्मेवार पदाधिकारीले उक्त कानूनी प्रावधानलाई निष्क्रियताको रुपमा लिन मिल्ने हुँदैन । सरकारी वकीलले अनुसन्धानलाई बलियो, भरपर्दो र विश्वासिलो बनाउन सम्बन्धित प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनसक्ने अधिकार कानूनले दिएको कुरालाई विर्सन नहुने 

(प्रकरण नं.७)

§  अदालतमा साक्षी उपस्थित गराउन अदालतले आदेश दिएपछि जुन प्रयोजनको लागि साक्षी झिकाइएको हो, सो प्रयोजन पूरा नहुन्जेलसम्म सम्बन्धित पक्षले अदालतले तोकेको दिनमा साक्षी उपस्थित गराउनु पर्ने हुन्छ । अदालतले पुनः पत्राचार गरिरहनु नपर्ने 

§  एकपटक साक्षी अदालतमा दाखिला गराउँदैमा साक्षीको वकपत्र नभएसम्म साक्षी उपस्थित गराउने दायित्व समाप्त भएको सम्झन नमिल्ने 

(प्रकरण नं.८)

 

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता किरण पौडेल

प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता सतिषकुमार झा

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क)

§  मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १८ नं.

§  सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ३(३), ६(१), (२)

 

फैसला

            न्या.तपबहादुर मगरः पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०६५।३।१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ :

मिति २०६३।१२।११ गते ९.३० बजेको समयमा जि.कञ्चनपुर कृष्णपुर गा.वि.स.वडा नं २ वाणी स्थित मछली पुलबाट दक्षिण ५०० मीटर टाढा खोलाको किनारमा धौलीदेवी विष्ट र तुलाराम महरा समेत जना २ ले धौलीदेवी विष्टबाट जन्मेको १२ दिनको अवैध शिशुलाई जीउँदै माटोमा गाडेको अवस्थामा फेला परेको हुँदा निजहरूलाई आवश्यक कारवाही गरिपाऊँ भन्ने व्यहोराको इ.प्र.का गुलरियाको पत्र जाहेरी 

            कृष्णपुर गा.वि.स. वडा नं. २ स्थित मछली खोला किनारामा सानो सुख्खा खोल्साको पूर्वी किनारामा अं. १ फीट गहिराई र १ फीट चौडाई भएको खाल्डो खनेको र त्यसको वरिपरी आलो माटोका डल्ला छरिएको भन्ने चार किल्ला उल्लेख गरेको घटनास्थल प्रकृति मुचुल्का 

            गोवडे विष्टसँग मेरो विवाह भएको र निज भारत गएको ५ वर्ष भयो । खेतमा राति पानी हाल्न गएका अवस्था मेरो देवर नाता पर्ने शालिभान विष्टले २०६३ असार पहिलो हप्तामा मलाई करणी गरेको हो । महिनावारी बन्द भएपछि पुस महिनामा माइतीघर आएँ । पेटमा पत्थरीको रोग छ अप्रेशन गराई दिनु पर्‍यो भनी भाई तुलाराम महरालाई भन्दा निज मुम्बईमा नोकरी गर्ने भएकोले मुम्बईमा उपचार गराई दिउँला जाउँ भन्यो । निजसँग बम्वै गई अस्पतालमा चेकजाँच गर्दा पेटमा बच्चा भएकोले बच्चा जन्मेपछि मात्र अप्रेशन गर्नुपर्छ भनेकाले पेटमा बच्चा भएको कुरा थाहा पाई भाईले मद्रासमा भएका आफ्नो श्रीमानलाई जानकारी गराउँदा अवैध सम्बन्ध राखी बनाएको बच्चाको मलाई कुनै मतलव छैन, भेट गर्न आउनु पनि पर्दैन भनेकाले भाईको डेरामा बसें । फागुन ३० गते राति बालिकाको जन्म भएको र सोपश्चात् भाईले घरमा पुर्‍याई दिन्छु भनी भाईसमेत सँगै आएको अवस्थामा २०६३।१२।११ गते विहान कृष्णपुर गा.वि.स. वडा नं. २ वाणी पुग्दा वच्चीले दूध पिउन छोडी हलचलसमेत नगरेकोले श्वास प्रश्वास समेत बन्द भएको जस्तो भएकोले भाई तुलारामलाई वच्ची त मरी हाली के गर्नु भन्दा मरी हाली भने घरमा लगेर के गर्नु, घरमा पुर्‍याए पछि समेत ल्याउनु पर्ने हो भनेकोले मैले वाणीस्थित मछली खोलामा वालुवामा हातले सानो खाल्डो खनी बालिकालाई सोही खाल्डोमा राखी वालुवाले छोपेकी हुँ भन्ने समेत व्यहोराको प्रतिवादी धौलीदेवी विष्टले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान 

            म मम्वैमा नोकरी गर्ने हुँदा दिदी धौलीलाई उपचार गराउन मुम्बई लगेकोमा बच्चा जन्मेपछि उपचार हुने भनेकोले घरमा आउने क्रममा मछली खोला नजिक पुग्दा दिदीले बच्चीले दूध खान छोडी, स्वास प्रस्वास बन्द भयो मरीसकी भनी हातले खाडल खनी बच्चीलाई सो खाडलमा हाली वालुवाले ढाकेको र हामीहरू घरतर्फ जान लाग्दा सोही ठाउँका मानिसहरूले बालिका जीउँदै छ भन्दा पुनः मसमेत सो ठाउँमा गई खाल्डोबाट बालिकालाई जीउँदै पाएका हौं भन्ने समेत व्यहोराको प्रतिवादी तुलाराम महराले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान 

            २०६३।१२।११ गते विहान गाई गोरु चराउन मछली खोलामा आएकी हु । त्यहाँ खोलाको किनारामा धौलीदेवी र तुलारामले खाडल खनिरहेको देखेकी र एकछिन पछि निजहरू माथि आएका थिए । केही समयपछि मलगायतका छर छिमेकी सो स्थानमा गई हेर्दा खाडलमा पुरानो कपडाभित्र नवजात शिशुलाई जीउँदै गाडेको फेला पारेका हौं भन्ने समेत व्यहोराको शान्तिदेवी चौधरीले गरेको कागज 

            २०६३।१२।११ गते विहान ९.३० वजे मछली खोलामा मानिसहरूको भिड देखी के रहेछ भनी हेर्दा धौलीदेवी र तुलारामले १२ दिनकी अवैध बच्चीलाई जीउँदै खाडलमा राखेको देखेको भन्ने समेत व्यहोराको दानीदेवी चौधरी समेत जना ३ ले लेखाई दिएको वस्तुस्थिति मुचुल्का 

            अभियुक्तहरू धौलीदेवी विष्ट र तुलाराम महराले धौलीदेवीले अवैध गर्भ धारण गरी जन्माएकी बालिकालाई जीउँदै खाल्डो खनी गाडी ज्यान सम्बन्धी महलको १८ नं. को कसूर अपराध गरेकोले निज अभियुक्तहरूलाई सोही १८ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग माग दावी 

            मैले मबाट जन्मेको बच्चीलाई जीउँदै गाडेको भन्ने कुरा झूठा हो । डोटी बस्ने शालीमान विष्टसँग अवैध यौनसम्पर्क भएको र भाई रहने ठाउँ आई आफू विरामी भएको वताएपछि भाईको साथ मुम्बई गएको र चेक जाँच गराउदा पेटमा बच्चा छ भनी डाक्टरले भनेको र फालिदिनु भन्दा नमानेकोले बच्चाको जन्म भएपछि सवै कुरा भाईलाई बताउँदा जे भयोभयो, फाले पाप लाग्छ भनी भनेकोले आफूले पनि जेजे हुन्छ कोखबाट जन्मेको बच्चा भनी पालन पोषण गर्न घरमा ल्याई राखें । मुम्बईबाट भाईसँग आई महेन्द्रनगरबाट माइतीघर जान भनी वाणीनिर बसबाट उत्री जान लाग्दा नगरे नभएको आरोपमा पक्राउ गरिएको हो भन्ने समेत प्रतिवादी धौलीदेवी विष्टले शुरु अदालतसमक्ष गरेको बयान 

            धौलीदेवीको बच्चा अवैध वा वैध के हो मलाई थाहा छैन । दिदी धौलीदेवीले मेरो पेटमा पत्थरी छ, उपचार गराई दिनु भनेकीले मेरो नोकरी मुम्बईमा भएकोले त्यहाँ लगी उपचार गराई दिएको सम्म हुँ । बच्ची जन्मी सकेपछि जीउँदै गाड्न लगाएको होइन । बच्चा फाल्नै पर्ने अवस्था थिएन । मैले दावीअनुसारको कसूर नगरेकोले सजाय हुनुपर्ने होइन भन्ने समेत प्रतिवादी तुलाराम महराले शुरु अदालतमा गरेको बयान 

            यसमा प्रतिवादीहरू कसूरमा इन्कार रहेको र मुम्बईमा जन्मेकी बच्चीलाई नेपालमा ल्याउने आमाले अवैध गर्भबाट जन्म भएको कारण मात्र मार्ने नियतले जीउँदै फालेको होला भनी भन्नलाई ठोस सबूद प्रमाणको अभाव देखिएको र फालिएको भनिएकी बालिका प्रतिवादीहरूकै भरण पोषणमा रहेको अवस्था हुँदा प्रतिवादीहरूले अभियोग दावीवाट सफाइ पाउने ठहर्छ भन्ने समेत शुरु कञ्चनपुर जिल्ला अदालतको मिति २०६४।३।२४ को फैसला 

            प्रतिवादीहरूले जीउँदै बच्चा गाडेको देख्ने प्रत्यक्षदर्शीहरूलाई अ.बं. ११५ नं. बमोजिम बुझिएन । स्थानीय व्यक्तिहरूको प्रतिवादीहरूसँग चिनजान रिस इवी नरहेकोले झूठा घट्ना भन्न सकिँदैन । अवैध सम्बन्धबाट बच्चा जन्मेको प्रतिवादीले स्वीकार गरेको अवस्थामा प्रमाणको मूल्याङ्कन नगरेको शुरुको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र 

            मुम्बईमा जन्मेकी वच्चीलाई नेपालमा ल्याउने आमाले अवैध गर्भबाट जन्म भएकै कारणले मात्र मार्ने नियतले नै जिउँदो फालेको होला भनी भन्नलाई तथ्ययुक्त ठोस सबूद प्रमाणको अभावमा मनासिव हुने देखिएन । फालिएको भनिएको बालक प्रतिवादीहरूकै भरण पोषणमा रहेको मिसिलसंलग्न प्रमाणबाट देखिँदा शुरु कञ्चनपुर जिल्ला अदालतले २०६४।३।२४ मा प्रतिवादीहरूलाई सफाइ दिने गरी गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०६५।३।१ को फैसला 

            प्रतिवादीहरू मौकामा बच्चा गाडेकोमा सावित रहेका छन् । प्रतिवादी अदालतमा इन्कार भए पनि अन्य मानिसहरूले गाडेको ठाउँवाट जीवितै बच्चाको उद्दार गरेको कुरालाई खण्डन गर्न सकेका छैनन् । प्रतिवादीले अवैध शारीरिक सम्बन्धको कारण गर्भ बोकेको कुरा स्वीकार गरेको र जीउँदै बच्चालाई नगाडेको भए जीउँदै प्रत्यक्षदर्शीहरूले देखेर प्रहरीमा खवर गरी पक्राउ गरी प्रतिवादीहरूलाई फसाउनु पर्ने बस्तुनिष्ठ आधार प्रमाण केही छैन । मौकाको घटनास्थल मुचुल्कामा अं.१ फीट गहिराई १  फीट चौडाई भएको खाल्डो खनेको र उक्त खाल्डोको वरिपरी आलो माटोका डल्ला छरिएर रहेको अवस्था भएको भन्ने उल्लेख भएबाट पुनरावेदन अदालत महेन्द्रनगरको फैसला प्रमाण ऐन २०३१ को दफा ९, ५४ मुलुकी ऐन, अ.बं. ११५ नं. समेतको प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अनुसार मुद्दा दोहोर्‍याई हेरी पाउन निस्सा प्रदान भई पुनरावेदन अदालत महेन्द्रनगरको फैसला बदर गरी प्रतिवादीहरूलाई शुरु अभियोग दावीअनुसार सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा परेको निवेदन 

            यसमा वारदात हुदैका अवस्थामा शान्तिदेवीले देखी गाडेको ठाउँबाट बच्चा निकाली यिनै प्रतिवादीलाई दिएको भन्ने वारदात प्रकृति मुचुल्का समेतबाट देखिएको र त्यसलाई प्रहरी नायव निरीक्षक जनकबहादुर धानीको प्रतिवेदनले समेत पुष्टि गरिरहेको अवस्थामा प्रतिवादीलाई सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला ज्यान सम्बन्धीको १८ नं. समेतको व्याख्यात्मक त्रुटि रहनुका साथै अ.बं. १८४क. र प्रमाण ऐन, २०३१ को दफा ५४ अनुसार प्रमाण मूल्याङ्कनको अभाव रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । नियमबमोजिम गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०६६।२।१ को आदेश 

            नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन जिकीर सहितको मिसिल अध्ययन गरी विद्वान सहन्यायाधिवक्ता किरण पौडेलेको प्रतिवादीहरूले गाडेको बच्चालाई देख्ने प्रत्यक्षदर्शीले जीवितै बच्चालाई उद्दार गरेको अवस्था छ । देवरसँगको अनैतिक सम्बन्धबाट जन्मेको बालिकालाई फाल्ने लुकाउने नियतले गाड्नु स्वाभाविक हो । घटनास्थल प्रतिवादीहरूको स्थानिय ठाउँ नभएको र प्रत्यक्षदर्शीहरू प्रतिवादीहरूका चिनजानका मानिस नभएको कारण प्रतिवादीहरूलाई फसाउन झूठो कुरा व्यक्त गर्ने अवस्था नै आउँदैन । प्रतिवादीले अवैध गर्भ रहेको र मुम्बईमा बच्चा फाल्न डाक्टरले नमानेको भन्ने स्वीकार गरेको समेत देखिँदा अपराध गरेको तथ्य स्थापित भएको छ । प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्छ भनी तथा प्रत्यर्थीतर्फका विद्वान अधिवक्ता सतिषकुमार झाले अभियोग दावी अदालतमा पुष्टि भएको छैन । जीवित बच्चा फालेको भनी देख्ने व्यक्तिहरूले प्रतिवेदन दिएको अवस्था छैन । प्रतिवादी धौलीदेवीको भाई मुम्बईमा काम गर्ने भएको र दिदीलाई उपचार गराउन सोही ठाउँमा बोलाई चेक जाँच गराउँदा पेटमा बच्चा देखिएको हो । मुम्बईमा जन्मेको बच्चा जीवितै नेपालमा ल्याएको अवस्था छ । बच्चा फाल्नु पर्ने भए नेपालसम्म ल्याउनु पर्ने प्रयोजन नै नरहने हुँदा पुनरावेदन अदालतले प्रतिवादीहरूलाई सफाइ दिएको फैसला मनासिव हुँदा सदर हुनुपर्छ भनी गर्नु भएको बहस सुनियो 

            २. दुवैपक्षका तर्फबाट प्रस्तुत भएको बहस तथा मिसिलबाट देखिएको तथ्यलाई दृष्टिगत गरी इन्साफतर्फ विचार गर्दा संकलित सबूद प्रमाणहरूबाट अभियुक्त धौलीदेवी बिष्ट र तुलाराम महराले धौलीदेवी विष्टले आफूले अवैधरुपमा गर्भधारण गराएको बच्चीलाई जन्माई सोपश्चात जीउँदै मछली खोलामा खाल्डो खनी गाडी मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १८ नं. अन्तर्गतको कसूर अपराध गरेकाले निज अभियुक्तहरू धौलीदेवी विष्ट र तुलाराम महरालाई सोही १८ नं. बमोजिम सजाय गरी पाउन माग दावी लिई अभियोगपत्र दायर भएको देखियो । शुरु जिल्ला अदालतले प्रतिवादीहरूलाई अभियोग दावीबाट सफाइ दिएको फैसलालार्इं पुनरावेदन अदालतले सदर गरेकोमा सो फैसलाउपर वादी नेपाल सरकारले मुद्दा दोहोर्‍याई हेरिपाऊँ भनी प्रस्तुत गरेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) का आधारमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई आज निर्णयार्थ प्रस्तुत मुद्दा पेश भएको अवस्था छ 

            ३. मिसिल हेर्दा मछली खोलाको किनारामा धौलीदेवी विष्ट र तुलाराम महराले धौलीदेवी विष्टबाट अवैध सम्बन्धबाट जन्मेको नवजात १२ दिनको शिशुलाई खाल्डो खनी गाडिरहेको अवस्थामा शान्तिदेवी चौधरीले देखी स्थानिय मानिसहरूलाई बोलाई बच्चीलाई खाल्डोबाट जीवितै निकाल्नुका साथै निजहरू धौलीदेवी विष्ट र तुलाराम महरालाई समाती यस कार्यालयमा बुझाएकोले निजहरू दुवै जनालाई आवश्यक कारवाहीको लागि पठाएको भन्ने इलाका प्रहरी कार्यालय गुलरीया कञ्चनपुरले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई २०६३।१२।११ मा गरेको पत्राचारबाट प्रस्तुत मुद्दाको अनुसन्धान तथा कारवाही शुरु भएको देखियो । सोही मितिमा भएको घटनास्थल मुचुल्काबाट कृष्णपुर गा.वि.स. वडा नं. २ स्थित मछली खोला किनारामा सानो सुख्खा खोल्साको पूर्वी किनारामा अं. १ फीट गहिराई र १  फीट चोडाई भएको खाल्डो खनेको र त्यसको वरिपरी आलो माटोका डल्ला छरिएको भन्ने देखिन्छ 

            ४. प्रतिवादी धौलीदेवीको मौकाको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान हेर्दा निजको सालिभान विष्टसँग २०६३ असार महिनामा करणी भई महिनावारी बन्द भएको र पुस महिनामा माइतीघर आई पेटमा पत्थरीको रोग छ अप्रेशन गराई दिनु पर्‍यो भनी भाई तुलाराम महरालाई भन्दा निज मुम्बईमा नोकरी गर्ने भएको मुम्बईमा उपचार गराई दिउँला जाऊँ भनेकाले निजसँग बम्वै गई अस्पतालमा चेकजाँच गर्दा पेटमा भएकोले बच्चा जन्मेपछि मात्र अप्रेशन गर्नुपर्छ भनेकाले पेटमा बच्चा भएको कुरा भाईले मद्रासमा भएका आफ्नो श्रीमानलाई जानकारी गराउँदा अवैध सम्बन्ध राखी बनाएको बच्चाको मलाई कुनै मतलव छैन, भेट गर्न आउनु पनि पर्दैन भनेकाले भाईको डेरामा बस्दा फागुन ३० गते राति बालिकाको जन्म भएको, सो पश्चात् भाईले घरमा पुर्‍याई दिन्छु भनी भाईसँगै आउँदा २०६३।१२।११ गते विहान कृष्णपुर गा.वि.स. वडा नं. २ वाणी पुग्दा बच्चीले दूध पिउन छोडी हलचलसमेत नगरेकोले श्वास प्रश्वास समेत बन्द भएको जस्तो भएकोले भाई तुलारामलाई बच्ची त मरी हाली के गर्नु भन्दा मरी हाली भने घरमा लगेर के गर्नु, घरमा पुर्‍याएपछि समेत ल्याउनु पर्ने हो भनेकोले मैले वाणीस्थित मछली खोलामा वालुवामा हातले सानो खाल्डो खनी बालिकालाई सोही खाल्डोमा राखी वालुवाले छोपेकी हुँ भन्ने उल्लेख गरेको पाइयो । अर्का प्रतिवादी तुलाराम महराले समेत मौकामा बयान गर्दा प्रतिवादी धौलीदेवीको बयानअनुरूपकै मिल्दोजुल्दो बयान गरेको देखियो । यसरी मौकाको अदालत बाहिर भएको दुवै प्रतिवादीहरूको बयानबाट निजहरू दुवैले बालिका मरेको भन्ने ठानी वालुवामा खाल्डो बनाई सोही खाल्डोमा हाली वालुवाले छोपेको भन्ने उल्लेख गरेको देखियो 

            ५. दुवै प्रतिवादीहरूले मौकामा भएको उल्लिखित बयानको व्यहोरालाई अदालतमा इन्कार गरेको अवस्था छ । प्रतिवादी धौलीदेवीको अदालतमा भएको बयान हेर्दा डोटी बस्ने शालीमान विष्टसँग अवैध यौन सम्पर्क भएको र भाई रहने ठाउँ आई आफू विरामी भएको बताएपछि भाईको साथ मुम्बई गएको र चेक जाँच गराउदा पेटमा बच्चा छ भनी डाक्टरले भनेकाले फालिदिनु भन्दा नमानेको हुँदा बच्चाको जन्म भएपछि सवै कुरा भाईलाई बताउँदा जे भयोभयो, फाले पाप लाग्छ भनी भनेकोले आफूले पनि जेजे हुन्छ कोखबाट जन्मेको बच्चा भनी पालन पोषण गर्न ल्याई मुम्बईबाट भाईसँग आई महेन्द्रनगरबाट माइतीघर जान भनी वाणीनेर बसबाट उत्री जानलाग्दा नगरे नभएको आरोप लगाई थुनामा परेको भनी उल्लेख गरेको देखियो । अर्का प्रतिवादी तुलाराम महराको बयान हेर्दा मौकामा भएको बयान आफूले नगरेको लेख्नेले आफैं लेखी कुटपीट गरी डर धाक देखाई जवर्जस्ती सहिछाप गर्न लगाएको भन्दै धौलीदेवीले पेटमा पत्थरीको बिमार छ, उपचार गरी दिनुपर्‍यो भनेकीले मुम्बई लगी उपचार गराई दिएको सम्म हो, बच्चा जन्मिसकेपछि घर फर्कने क्रममा अवैध बच्चा भनेकाले जसको भएपनि पालनपोषण गरी वस भनेको, बच्ची जन्मिसकेपछि जीउँदै गाड्न लगाएको होइन भनी अभियोग दावीप्रति इन्कार रहेको पाइयो 

            ६. प्रत्यक्षदर्शी भनिएका शान्तिदेवी चौधरीलगायत कसैले प्रत्यर्थी प्रतिवादीहरूले बालिकालाई जीउँदै खाल्डो खनी पुरेकोमा बालिकालाई उद्दार गरेको भनी प्रहरी कार्यालयमा उजूर गरेको मिसिलबाट देखिँदैन । इलाका प्रहरी कार्यालय गुलरीया कञ्चनपुरले २०६३।१२।११ को च.नं. ९९ को पत्रबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गरेको पत्राचारमा बच्चीलाई खाल्डोबाट जीवितै निकाली दुवैजना प्रतिवादीहरूलाई बुझाउन ल्याएको भन्ने देखिन्छ । अपराधको सूचना दिने व्यक्तिले मौखिक रुपमा सूचना दिएको भए पनि सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ३(३) बमोजिम लेखबद्ध गरी सहीछाप गराई राख्नुपर्ने व्यवस्था भएको पाइन्छ । सोबमोजिम गरेको मिसिलबाट देखिन आएन । अभियोगपत्रमा गवाहको रुपमा प्रत्यक्षदर्शी भनिएकी शान्तिदेवी चौधरीको मौकाको व्यहोरा हेर्दा २०६३।१२।११ गते विहान अं.९.३० बजेको समयमा गाई वस्तु चराउन र पानी खुलाउन मछली खोलामा आउँदा उक्त खोलाको किनारामा प्रतिवादीहरूले खाडल खनिरहेको र एकैछिन पछि दुवै जना सो ठाउँबाट माथि आएका र केही समयपछि अन्य छरछिमेकसहित उक्त स्थानमा गई हेर्दा पुरानो कपडाभित्र नवजात शिशुलाई देखेको र खाडलवाट बाहिर निकाली हेर्दा उक्त जीउँदै नवजात शिशुको शरीरमा माटोसमेत लागेको अवस्था रहेको र निजहरू दुवैजना महेन्द्र राजमार्ग सडकमा आईरहेको अवस्थामा समात भनी कराउँदा तिनीहरूलाई समातेको भन्ने समेत उल्लेख गरेको रहेछ । तर, निजको अदालतमा वकपत्र भएको पाइएन । त्यस्तै प्रत्यर्थी प्रतिवादीहरूले बच्ची जीउँदै खोलाको छेउमा खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले पक्राउ गरेको र बच्चाको नाक मुखभित्र माटो र शरीरमा नीलडाम भई पूरै शरीर माटो लागेको देखेको भनी फिरियादेवी र ज्ञानीदेवी चौधरीले वस्तुस्थिति मुचुल्कामा लेखाएको पाइन्छ तथापि अदालतमा निजहरूको समेत वकपत्र भएको अवस्था मिसिलबाट देखिएन 

            ७. प्रस्तुत घटना वारदातको सम्बन्धमा अदालतमा मुद्दा पेश हुनु पूर्वका संकलित प्रमाणहरू हेर्दा जीवित गाडिएको भनिएको बच्चाको अवस्था कस्तो रहेको भन्ने सम्बन्धमा कुनै मुचुल्का भएको वा गाडिएको भनिएको बालिकाको स्वास्थ्य परीक्षण गरिएको मिसिलबाट देखिएको छैन । वस्तुस्थिति मुचुल्कामा व्यहोरामा बच्चाको शरीरमा नीलडाम समेत रहेको भन्ने व्यहोरा उल्लेख भएको भए पनि सो कुरालाई समर्थन जनाउनेतर्फ अनुसन्धान प्रक्रिया अगाडि बढेको पाइएन । घटना वारदातको सत्यता अनुसन्धान प्रक्रियाबाटै स्थापित हुने हुँदा वारदातको वास्तविकतालाई अनुसन्धानको चरणबाट अलग गर्न सकिँदैन । कसैउपर कुनै कसूरको आरोप लगाई पक्राउ गरी हिरासतमा राख्नु र निजहरूको बयान लेख्नुले अनुसन्धान भरपर्दो र विश्वासिलो हुन सक्दैन । आरोप लगाएपछि सोको सत्यताको परीक्षण अनुसन्धानको क्रममा हुनु जरुरी हुन्छ । आरोप वास्तविक भए नभएतर्फ मौका अनुसन्धानकै चरणमा विचार गरिनु पर्दछ । सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ६(१) बमोजिम कुनै अपराधको तहकीकात शुरु गर्नुभन्दा पहिले तहकीकात गर्ने प्रहरी कर्मचारीले तहकीकात गर्ने कुराहरू खुलाई सम्बन्धित सरकारी वकील कार्यालयमा अपराधसम्बन्धी प्रारम्भिक प्रतिवेदन पठाउनु पर्ने र उपदफा (२) बमोजिम त्यस्तो प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि सरकारी वकीलले तहकीकातको सम्बन्धमा तहकीकात गर्ने प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनसक्ने व्यवस्था भएबाट सरकारी वकीललाई अनुसन्धानको दायराबाट निरपेक्ष राखेको अवस्था छैन । प्रस्तुत वारदातको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २०६३।१२।१४ मा जिल्ला सरकारी वकील कार्यालयलाई पत्र जाहेरीको प्रतिलिपिसहित प्रारम्भिक प्रतिवेदन पठाएको पाइए पनि माथि उल्लिखित कानूनी व्यवस्थाअनुरूप तहकीकातको सम्बन्धमा सरकारी वकीलले कुनै निर्देशन दिएको देखिएन । वारदातको प्रकृतिअनुसार के कसरी अनुसन्धान गर्नुपर्ने भन्नेतर्फ मार्गदर्शन गर्नु सरकारी वकीलको कर्तव्य हुन आउँछ । कानूनी व्यवस्थामा बाध्यात्मक रुपमा कर्तव्य नतोकेको अवस्था भए पनि जिम्मेवार पदाधिकारीले उक्त कानूनी प्रावधानलाई निष्क्रियताको रुपमा लिन मिल्ने हुँदैन । सरकारी वकीलले अनुसन्धानलाई बलियो, भरपर्दो र विश्वासिलो बनाउन सम्बन्धित प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनसक्ने अधिकार कानूनले दिएको कुरालाई विर्सनु हुँदैन 

            ८. यस मुद्दामा प्रत्यक्षदर्शी शान्तिदेवी चौधरीलगायतका व्यक्तिहरूलाई जिल्ला सरकारी वकील कार्यालय, महेन्द्रनगरले कञ्चनपुर जिल्ला अदालतमा २०६४।१।२३ मा उपस्थित गराएको देखियो । निजहरूको सो दिन बकपत्र हुन नसकेको र भोलिपल्ट उपस्थित हुन तोकिएको तारिखमा निजहरू उपस्थित भै बकपत्र गरेको मिसिलबाट देखिएन । अदालतमा साक्षी उपस्थित गराउन अदालतले आदेश दिएपछि जुन प्रयोजनको लागि साक्षी झिकाइएको हो, सो प्रयोजन पूरा नहुन्जेलसम्म सम्बन्धित पक्षले अदालतले तोकेको दिनमा साक्षी उपस्थित गराउनु पर्ने हुन्छ । अदालतले पुनः पत्राचार गरिरहनु पर्दैन । एकपटक साक्षी अदालतमा दाखिला गराउँदैमा साक्षीको बकपत्र नभएसम्म साक्षी उपस्थित गराउने दायित्व समाप्त भएको सम्झन मिल्ने हुँदैन । प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम अनुसन्धान तहकीकातको सिलसिलामा तयार भएको लिखतमा उल्लेख भएको कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रुपमा अदालतमा उपस्थित भै बकपत्र गरेमा मात्र प्रमाणमा लिन मिल्ने भएकाले तहकीकातको सिलसिलामा तयार भएको लिखतमा उल्लिखित कुरालाई अदालतमा उपस्थित भै बकपत्र नगरेसम्म प्रमाणमा लिन मिल्ने देखिन आएन । मौका अनुसन्धानको समयमा कागज गर्ने व्यक्तिहरूले जे जस्ता कुराहरू व्यक्त गरे पनि ती व्यक्तिहरू अदालतमा आई बकपत्र नगरेको र मिसिलमा ती कुराहरू अन्य प्रमाणहरूबाट समर्थित नरहेको अवस्थामा मौकामा व्यक्त गर्ने व्यक्तिहरूको भनाइलाई प्रामाणिक दृष्टिले महत्वपूर्ण मान्न सकिएन । साथै जीउँदै गाडेको भनिएकी बालिका अवैध सम्बन्धबाट जन्मिएको भए पनि आफूले नै पालन पोषण गर्न ल्याएको भन्ने प्रतिवादी धौलीदेवीको बयान भई उक्त बालिका अन्य माथवर व्यक्तिको जिम्मा लगाएको समेत मिसिलबाट नदेखिई निज प्रतिवादीकै संरक्षणमा रहेको अवस्थामा बालिकालाई प्रतिवादीहरूले जीउँदै गाडेको भनी अभियोगपत्रमा दावी लिएकै आधारमा सो दावी पुष्टि भएको मान्न मिल्ने देखिएन 

            ९. यसरी जीवित गाडिएको भनिएको बच्चा प्रतिवादी धौलीदेवीले सँगसाथमा राखी पालेको देखिएको, बच्चा जीवितै गाडिएको भनिए पनि उक्त बच्चाको सम्बन्धमा शारीरिक परीक्षणलगायतको कुनै चेक जाँच गराएको अवस्था नदेखिएको, अपराधको सम्बन्धमा मौकामा बुझिएका व्यक्तिहरूको अदालतमा वकपत्र हुन नसकेको र स्वयम् प्रतिवादीहरूको मौकाकै बयानबाट पनि जीवित बच्चा फाल्ने उद्देश्यले खाल्डोमा पुरेको भन्ने देखिन नआएको अवस्थामा मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान गरिएको मिति २०६६।२।१ को आदेशमा व्यक्त रायसँग सहमत हुन सकिएन । अभियोग दावीवाट प्रतिवादीहरूलाई सफाइ दिने ठहराएको शुरु कञ्चनपुर जिल्ला अदालतको मिति २०६४।३।२४ को फैसला सदर गरेको पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०६५।३।१ को फैसला मिलेकै देखिँदा सदर हुन्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू 

 

उक्त रायमा म सहमत छु 

 

डा.न्या.भरतबहादुर कार्की

 

इति संवत् २०६७ साल फागुन ३ गते रोज ३ शुभम्

इजलास अधिकृत : दीपककुमार दाहाल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु