निर्णय नं. ७८० - लिखत पास

निर्णय नं. ७८० ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०२८ सालको दे.फु.नं. १६३
फैसला भएको मिति : २०३०।६।७।३ मा
निवेदक : जि. धुनषा मौजे जनकपुर वेलही विर्ता बस्ने वसन्तकुमारी पाध्यायी
विरूद्ध
विपक्षी : ऐ.ऐ.बस्ने असर्फी साहू तेली
मुद्दा : लिखत पास
(क) राजीनामाको व्यहोराको लिखतलाई छ्वमासी भन्ने शब्द उल्लेख भएकोसम्म कारणबाट अलिफार्छे लिखतको संज्ञा दिन नमिल्ने ।
(ख) आय टिकट टाँसिएको कारणले लिखतको व्यहोरा तर्फ ध्यानै नदिई पास गर्नु पर्ने लिखत होइन भन्न नमिल्ने ।
यसमा वादी दावीको ०२०।२।२६ को लिखत रजिष्ट्रेशन पास हुने नहुने के हो सो कुराको मुख्य निर्णय दिनुपर्ने हुन आएको छ उक्त लिखतको अन्तमा राजीनामा छ्वमासी लेखी भन्ने बोली परेकोबाट छ महिना नाघेपछि अर्को कागज गराउनु पर्ने स्थितिको कागज देखिएकोले अलिफार्छेको लिखतको संज्ञा दिन मिल्ने भन्ने तर्क उठाइएको हकमा जुनसुकै कागजको अर्थ गर्दा त्यसको सम्पूर्ण व्यहोराको अध्ययन नगरी एउटा वाक्य या शब्दसम्मलाई लिई कुनै अर्थ गर्न नमिल्ने सर्वमान्य कुरा हो उक्त लिखतको सम्पूर्ण व्यहोरा अध्ययन गरी हेर्दा थैली रू.४७५२।४० लिनु दिनु गरी २० सालका बालीदेखि जग्गा साहूले दर्ता भोग गर्न पाउनेसमेत बोली पारी जग्गा राजीनामा गरी दिए लिए राजीनामाको व्यहोरा प्रष्ट उल्लेख भएको र छ्वमासी भन्ने जुन शब्द छ त्यसको हकमा छ महिनामा रजिष्ट्रेशन अड्डामा गई रजिष्ट्रेशन पास गराउनु पर्ने लिखत भएबाट छ्वमासी भन्ने शब्द परेको पनि हुन सक्ने हुनाले यस्तो राजीनामाको व्यहोराको लिखतलाई उक्त छ्वमासी भन्ने शब्द उल्लेख भएकोसम्म कारणबाट अलिफार्छेको लिखतको संज्ञा दिन मिल्ने देखिँदैन, उक्त लिखतमा भएको सहिछाप आफ्नो होइन भन्ने प्रतिवादी वसन्तकुमारीले नसकेकी र लिखतको मिति भन्दा ७ दिन अगावै छोरी भेट्न वीरगञ्ज गएको विरामी परी १ महिना वीरगञ्जमै छु २० साल माघ फाल्गुण कता हो आई चिनीको निमित्त दिने निवेदन हो भनी झुक्याई सही गराएकोले पास गरी दिनु नपर्ने भन्नेसमेत प्रतिवादीको मुख्य जिकिर भएको हकमा विरामी भई औषधी गराएको डाक्टरले जाँच गरी दिएको सर्टिफिकेट जवाफ नारानप्रसादसँग छ भनी प्रतिवादीमा प्रमाण दिएको सर्टिफिकेट भने दीर्घ जीवन औषधालय वीरगञ्जको कविराजको पेश हुन आएकोबाट वीरगञ्जमा विरामी भई डाक्टरसँग औषधी गराएको भन्ने प्रतिवादीको कुरै मिल्न नआएको र वादीले मलाई झुक्याई सही गराएको बारेमा मैले जिल्ला अदालतमा निवेदन पठाएको छु भन्ने प्रतिवादीमा उल्लेख गरेकी यदि वादीले झुक्याई सही गराएको साँचो भए सो कुरा पहिले नै आफूलाई थाहा भइसकेपछि त्यसरी निवेदन दिन सक्नेले सो लिखत बदर गराउन मौकैमा कानूनबमोजिम नालेस पनि गर्न सक्नुपर्ने सो गरेको पनि देखिन नआएको प्रतिवादी लेखाई अनुसार चिनीको पूर्जि गराउन पनि आफ्नो लोग्ने गोविन्दप्रसाद स्वयम् नगरपञ्चायतमा गइरहेको छँदै बीचको मानिसले चिनीको निमित्त दिने निवेदन भनी सहिछाप गराउन ल्याएको विश्वास मानी निवेदन भन्ने पत्यारै नपर्ने किसिमको उक्त लिखतको शीर पुछार र शीरमा टिकट टाँसिएकोसमेत धेरै ठाउँमा दायाँ वायाँ सहिछाप गरी दिए होलिन् भन्ने कुरा विलकुलै पत्यारलायक पनि नभएकोसमेत बाट झुक्याई सहिछाप गराएको जालसाजी भन्ने प्रतिवादीको जिकिर साँचो देखिन आएन उक्त लिखतको किनारामा लोग्ने गोविन्दप्रसाद भनी साक्षी लेखेको ठाउँमा भएको हस्ता सही मेरो होइन भन्ने गोविन्दप्रसादको भनाई भएको हकमा निज आई पदमा बहाल छँदा रामरोज राईको उजूर परेको खुन मुद्दाको मौका सर्जमिन मुचुल्काको काम तामेलीमा भए गरेको निज गोविन्दप्रसादको हस्ता सहीसँग भिडाउँदा उक्त राजीनामा लिखतमा अस्वभाविक किसिमले अक्षर टाढा पारी अक्षर लेखी सही गरेकोबाट सामान्य हेर्दा केही फरक जस्तो वादी सही गरे पनि लिपी टाँका मिलेकै देखिन आएकोबाट उक्त राजीनामामा लिखतको साक्षीमा भएको हस्ता सही मेरो होइन भन्ने निज गोविन्दप्रसादको जिकिर पनि साँचो देखिँदैन राजीनामा भए शीरमा आय टिकट टाँसिनु नपर्ने टाँसिएकोबाट पास गर्नु पर्ने लिखत होइन भन्न नमिल्ने भन्नेसमेत प्रतिवादीतर्फका विद्वान अधिवक्ताले बहसमा जिकिर लिनु भएको हकमा राजीनामामा आय टिकट टाँस्नु नपर्ने भन्ने कुराको राम्रो ज्ञान हुन नसकेकोबाट पनि लिखत टाँसेको हुन सक्ने त्यतिकै कारणले लिखतको व्यहोरा तर्फ ध्यान नदिई पास गर्नु पर्ने लिखत होइन भन्न नमिल्ने उपरोक्त उल्लेख भएबमोजिम प्रतिवादीको लोग्ने गोविन्दप्रसादले साक्षीमा सहिछाप गर्दा अक्षर बिगारी सहिछाप गर्नु प्रतिवादीले मलाई झुक्याई सही गराएमा भनी अदालतमा निवेदन पठाउनुसमेत पहिले नै अन्य विचारको नियत राखी पछि झुक्याएको जालसाजी भन्न नसकिने प्रपञ्च मिलाउँदै आएको भए पनि वास्तवमा उक्त लिखतका बुझिएसम्मका अरू लिखत बखत साक्षीहरूको बयान गराईसमेत बाट उक्त राजीनामा लिखत खास भए गरेको सद्दे साँचो व्यवहारको प्रमाणित हुन आएकोसमेत हुँदा झूक्याएको जालसाजी लिखत हुँदा पास गरी दिनु नपर्ने भन्ने निवेदक प्रतिवादीको जिकिर पुग्न सक्दैन उक्त लिखत पास हुने ठहराई ०२७।९।९।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेकोले मुद्दा दोहर्याएमा निवेदक प्रतिवादीलाई अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाई दिनु ।
(प्रकरण नं. १४)
निवेदक तर्फबाट : अधिवक्ता झुलेन्द्रप्रसाद छत्कुली
विपक्षी तर्फबाट : अधिवक्ता गंगाप्रसाद उप्रेती
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२८।२।१४।६ को हुकुम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. तथ्य यस प्रकार छ : प्रतिवादीले रू. ४७५२।४० लिई वेलही विर्ताको ।।२।।।३ जग्गा ०२०।२।२६ गते लोग्ने गोविन्द्रप्रसादसमेत साक्षी बसी राजीनामा गरिदिएको पास गरिनदिएकीले पास गराई पाउँ भन्ने वादी ।
३. दावीबमोजिम रूपैयाँ लिई राजीनामा गरिदिएकोसमेत होइन लिखतको मितिभन्दा ७ दिन अगावै छोरी भेट्न वीरगञ्ज गएकोले विरामी परी १ महिनासम्म वीरगञ्जमै छु छोरा बाहिर गएको मौका पारी आई चिनी नपाई मुस्किल पर्यो निवेदन दिनु पर्यो तपाईंको लोग्ने नगरपञ्चायतमा हुनुहुन्छ वहाँले पठाएको यो निवेदनमा सही गरिदिनुस भनेकाले होला भनी वादीले भनेको ठाउँमा सही गरिदिएको हुँ सक्कल सुन्न पाएमा म्यादभित्र ऐनबमोजिम गरी माग्ने छु भन्नेसमेत प्रतिवादी ।
४. सक्कल लिखत देखाउन ०२१।५।२१ को तारेख तोकिएकोमा प्रतिवादी हाजिरै नभई तारेख गुजारी बसेकीबाट लिखत गरेको रहेनछ भन्ने जिकिर पत्यार नपर्ने लिखत कानून बमोजिमको रीत पुगेको देखिएकोलेसमेत पास हुने ठहर्छ भन्नेसमेत जलेश्वर इलाका अदालतको ०२१।७।६।५ को फैसला ।
५. सो उपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।
६. लिखत देखाई सुनाउँदा जालसाजी हो भन्नेसमेत प्रतिवादीको र सद्दे नै हो भन्ने वादीको बयान भएको ।
७. सो लिखितमा म साक्षी भई सही गरेको हुँ रूपैयाँ लेनदेन भएको मेरो आँखाले देखेको भनेको होइन ।
८. साक्षीमा बसी दिनु पर्यो भनी वसन्तकुमारीको लोग्ने गोविन्दप्रसादले बोलाएकोबाट म साक्षी बसी सही गरी दिएको हुँ भन्नेसमेत सोनेलालको र रू.४७५२।४० मा जग्गा विगाहा ।।२।।।३ राजीनामा लिनु दिनु गरी ०२०।२।२६ गते आसामीको लोग्ने गोविन्दप्रसादसमेत साक्षी बसी राजीनामा मैले लेखी दिएको सद्दे हो भन्ने कुसेसरलाल कायस्थ सो राजीनामामा भएको सही मेरो होइन जालसाजी हो भन्नेसमेत वसन्तकुमारीको लोग्ने गोविन्दप्रसादको बयान ।
९. २० साल ज्येष्ठ २० गतेदेखि २० साल आषाढ १७ गतेसम्म ट्राईफरको जरोले विरामी रहेको भन्ने चिकित्सकले गरिदिएको सर्टिफिकेट र प्रतिवादीका साक्षीको बकाईबाट समेत लिखतको मितिमा प्र.वसन्तकुमारी वीरगञ्जमा रहे भएको देखिएकोबाट सद्दे व्यवहार नभई वसन्तकुमारीलाई झुक्याई सही गराएको देखिन आएको लिखत पास हुने ठहराएको शुरू इन्साफ गल्ती ठहर्छ भन्ने जनकपुर अञ्चल अदालतको फैसला ।
१०. सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
११. लिखतमा सही गरिदिएमा प्रतिवादी सावितै भएको चिनीको निवेदन भनी लिखतको सिरपुछारमा र सिरमा टाँसिएको टिकटमासमेत त्यतिका ल्याप्चे सही गरी दिएको होलान भन्न नमल्निे र तत्कालै चिनीको निवेदन होइन भनी जानी थाहा पाएँ भनी हुलाकद्वारा जिल्ला अदालतमा जाहेरी पठाउने प्रतिवादीले उसै मौकामा झुक्याई गराएको लिखत बदर गराई पाउँ भनी कानूनबमोजिम दावी फिराद गर्नु पर्ने सो गरेको नदेखिएको गोविन्दप्रसादको नामको लिखत सही मेरो होइन भन्ने गोविन्दप्रसादको भनाई भएकोमा निज प्रहरी अ.ई.मा बहाल छँदा गरेको सरजमीनको काम तामेलीमा परेको सहिछाप अंक लिपी मिलेको साक्षीमा सहिछाप गर्दा सोचविचार गरी अक्षर टाढा टाढा पारी लेखेकोबाट सामान्य किसिमले हेर्दा नमिल्ने जस्तो देखिन आउँछ तापनि लिपी मिलेकै हुँदा लिखत जालसाजी हो भनी निर्णय दिन मिलेन वादी दावीबमोजिम लिखत पास हुने ठहराई जलेश्वर ई.अ.ले निर्णय दिएको मनासिव र जनकपुर अञ्चल अदालतको इन्साफ उल्टी ठहर्छ भन्ने ०२७।९।९।५ को डिभिजन बेञ्चको फैसला ।
१२. हुकुम प्रमांगीमा उद्धृत भएको न्यायिक समितिको सिफारिस व्यहोरामा राजीनामाको पुछार मितिमा रोजको अंक नपरेको लिखतको अन्तिम वाक्यांशमा राजीनामा छ्वमासि भनी लेखी भन्ने शब्द परेको सो शब्द के को निमित्त प्रयोग भएको हो सो कुरा वादीले फिरादपत्रमा नखुलाएको लिखतको पेट व्यहोरामा अरू सगोलको अंशियारहरू नभई खास मेरोमात्र हक भोगको शब्दहरू परेको, किनारामा लेखिएको गोविन्दप्रसादको व्यहोरामा यो जग्गा राजीनामा गर्नमा मञ्जुर भई सहिछाप गर्ने निज ऋणीको लोग्ने भन्नेसमेत उल्लेख भएको सो शब्दले लोग्ने पनि जग्गाको धनी भन्ने जनाउने त्यसबाट र दाइजो पेवाको प्रमाण नभएकोले स्वास्नीका नाउँमा दर्ता गराएको वास्तवमा सम्पत्ति लोग्नेको हकको भएकोमा दर्ताका नाताले कारणी स्वास्नीलाई बनाएको भन्ने देखिने छवमासिको लिखत भनेकोले तत्कालिन साहू आसामीको ३३ नं.अनुसार म्याद अर्थात अस्थायी छ महिना नाघेपछि अर्को कागज गराउनुपर्ने स्थितिको कागज देखिएको त्यस्तो कागजलाई अलिफार्छेको संज्ञा दिन मिल्ने र सो ऐनले १९८९ साल श्रावण १ गतेदेखि अलिफार्छेको लिखत गरेको सदर नहुने उपरोक्त लिखतको अवस्था कानून अनुरूप नभई वेरीतको देखिएकोले मूल व्यहोरा नै वेरीत भएपछि साक्षी बसेको व्यहोरा सद्दे कीर्ते तहकिकात गरिरहनु नपर्ने हुन आएकोले लिखत झुक्याए नझुक्याएको हो तहकिकात गरी पास हुने ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन भन्नेसमेत उल्लेख भएको ।
१३. यस बेञ्च समक्ष निवेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुलीले लिखतमा छ्वमासी भन्ने बोली परेको छ राजीनामा भए आय टिकट टाँसिनु नपर्ने टाँसिएको छ त्यकारण पास गर्नु पर्ने लिखत हो भन्न मिल्दैन छ्वमासि भन्नाले छ महिनाको लागि मात्रको लिखत जमानतको रूपमासम्म जग्गा लेखी लिखत गरेको उक्त लिखतकै व्यहोराले जनाएको छ यस्तो लिखत ऐनले पास हुन सक्दैन उसमा पनि झुक्याई सही गराएको भन्ने मिसिलबाट प्रष्ट भइराखेकै छ । त्यसकारण डिभिजन बेञ्चले पास हुने ठहराएको बदर हुनुपर्छ भन्नेसमेत र वादी तर्फबाट विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले छ महिनामा पास गर्नु पर्ने लिखत भएकोले सो पास गर्ने कुरालाई छ्वमासि भन्ने लेखिएको हो वास्तवमा रूपैयाँ लिई राजीनामा लिनु दिनु गरेको लिखत व्यहोरामा प्रष्ट उल्लेख भइराखेको यस्तो लिखतलाई राजीनामा होइन पास गर्नुपर्दैन भन्ने अर्थ गर्न कदापि मिल्दैन आय टिकट टाँसिनु नपर्ने ऐन कानूनको राम्रो ज्ञान नभई टाँसी हालेको भए पनि त्यसबाट लिखत कच्चा हुने अवस्था पर्दैन लिखतको मितिमा प्रतिवादी वीरगञ्जमा विरामी थिए भन्ने कुरा प्रमाणबाट समर्थित हुन नआएको इन्स्पेक्टर जस्तोकी स्वास्नी वादीलाई एक साधारण व्यक्ति मेरो पक्षले झुक्याई चिनीको निवेदन भनी त्यतिको ठाउँमा सही गरायो होला भन्ने कुरा प्रतितलायक नभएकोसमेत बाट झुक्याई सही गराएको भन्ने प्रतिवादीको जिकिर झुठ्ठा देखिएकै छ डिभिजन बेञ्चको इन्साफ कायम हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
१४. यसमा वादी दावीको ०२०।२।२६ को लिखत रजिष्ट्रेशन पास हुने नहुने के हो सो कुराको मुख्य निर्णय दिनुपर्ने हुन आएको छ उक्त लिखतको अन्तमा राजीनामा छ्वमासी लेखी भन्ने बोली परेकोबाट छ महिना नाघेपछि अर्को कागज गराउनु पर्ने स्थितिको कागज देखिएकोले अलिफार्छेको लिखतको संज्ञा दिन मिल्ने भन्ने तर्क उठाइएको हकमा जुनसुकै कागजको अर्थ गर्दा त्यसको सम्पूर्ण व्यहोराको अध्ययन नगरी एउटा वाक्य या शब्दसम्मलाई लिई कुनै अर्थ गर्न नमिल्ने सर्वमान्य कुरा हो उक्त लिखतको सम्पूर्ण व्यहोरा अध्ययन गरी हेर्दा थैली रू.४७५२।४० लिनु दिनु गरी २० सालका बालीदेखि जग्गा साहूले दर्ता भोग गर्न पाउनेसमेत बोली पारी जग्गा राजीनामा गरी दिए लिए राजीनामाको व्यहोरा प्रष्ट उल्लेख भएको र छ्वमासी भन्ने जुन शब्द छ त्यसको हकमा छ महिनामा रजिष्ट्रेशन अड्डामा गई रजिष्ट्रेशन पास गराउनु पर्ने लिखत भएबाट छ्वमासी भन्ने शब्द परेको पनि हुन सक्ने हुनाले यस्तो राजीनामाको व्यहोराको लिखतलाई उक्त छ्वमासी भन्ने शब्द उल्लेख भएकोसम्म कारणबाट अलिफार्छेको लिखतको संज्ञा दिन मिल्ने देखिँदैन, उक्त लिखतमा भएको सहिछाप आफ्नो होइन भन्ने प्रतिवादी वसन्तकुमारीले नसकेकी र लिखतको मिति भन्दा ७ दिन अगावै छोरी भेट्न वीरगञ्ज गएको विरामी परी १ महिना वीरगञ्जमै छु २० साल माघ फाल्गुण कता हो आई चिनीको निमित्त दिने निवेदन हो भनी झुक्याई सही गराएकोले पास गरी दिनु नपर्ने भन्नेसमेत प्रतिवादीको मुख्य जिकिर भएको हकमा विरामी भई औषधी गराएको डाक्टरले जाँच गरी दिएको सर्टिफिकेट जवाफ नारानप्रसादसँग छ भनी प्रतिवादीमा प्रमाण दिएको सर्टिफिकेट भने दीर्घ जीवन औषधालय वीरगञ्जको कविराजको पेश हुन आएकोबाट वीरगञ्जमा विरामी भई डाक्टरसँग औषधी गराएको भन्ने प्रतिवादीको कुरै मिल्न नआएको र वादीले मलाई झुक्याई सही गराएको बारेमा मैले जिल्ला अदालतमा निवेदन पठाएको छु भन्ने प्रतिवादीमा उल्लेख गरेकी यदि वादीले झुक्याई सही गराएको साँचो भए सो कुरा पहिले नै आफूलाई थाहा भइसकेपछि त्यसरी निवेदन दिन सक्नेले सो लिखत बदर गराउन मौकैमा कानूनबमोजिम नालेस पनि गर्न सक्नुपर्ने सो गरेको पनि देखिन नआएको प्रतिवादी लेखाई अनुसार चिनीको पूर्जि गराउन पनि आफ्नो लोग्ने गोविन्दप्रसाद स्वयम् नगरपञ्चायतमा गइरहेको छँदै बीचको मानिसले चिनीको निमित्त दिने निवेदन भनी सहिछाप गराउन ल्याएको विश्वास मानी निवेदन भन्ने पत्यारै नपर्ने किसिमको उक्त लिखतको शीर पुछार र शीरमा टिकट टाँसिएकोसमेत धेरै ठाउँमा दायाँ वायाँ सहिछाप गरी दिए होलिन् भन्ने कुरा विलकुलै पत्यारलायक पनि नभएकोसमेत बाट झुक्याई सहिछाप गराएको जालसाजी भन्ने प्रतिवादीको जिकिर साँचो देखिन आएन उक्त लिखतको किनारामा लोग्ने गोविन्दप्रसाद भनी साक्षी लेखेको ठाउँमा भएको हस्ता सही मेरो होइन भन्ने गोविन्दप्रसादको भनाई भएको हकमा निज आई पदमा बहाल छँदा रामरोज राईको उजूर परेको खुन मुद्दाको मौका सर्जमिन मुचुल्काको काम तामेलीमा भए गरेको निज गोविन्दप्रसादको हस्ता सहीसँग भिडाउँदा उक्त राजीनामा लिखतमा अस्वभाविक किसिमले अक्षर टाढा पारी अक्षर लेखी सही गरेकोबाट सामान्य हेर्दा केही फरक जस्तो वादी सही गरे पनि लिपी टाँका मिलेकै देखिन आएकोबाट उक्त राजीनामामा लिखतको साक्षीमा भएको हस्ता सही मेरो होइन भन्ने निज गोविन्दप्रसादको जिकिर पनि साँचो देखिँदैन राजीनामा भए शीरमा आय टिकट टाँसिनु नपर्ने टाँसिएकोबाट पास गर्नु पर्ने लिखत होइन भन्न नमिल्ने भन्नेसमेत प्रतिवादीतर्फका विद्वान अधिवक्ताले बहसमा जिकिर लिनु भएको हकमा राजीनामामा आय टिकट टाँस्नु नपर्ने भन्ने कुराको राम्रो ज्ञान हुन नसकेकोबाट पनि लिखत टाँसेको हुन सक्ने त्यतिकै कारणले लिखतको व्यहोरा तर्फ ध्यान नदिई पास गर्नु पर्ने लिखत होइन भन्न नमिल्ने उपरोक्त उल्लेख भएबमोजिम प्रतिवादीको लोग्ने गोविन्दप्रसादले साक्षीमा सहिछाप गर्दा अक्षर बिगारी सहिछाप गर्नु प्रतिवादीले मलाई झुक्याई सही गराएमा भनी अदालतमा निवेदन पठाउनुसमेत पहिले नै अन्य विचारको नियत राखी पछि झुक्याएको जालसाजी भन्न नसकिने प्रपञ्च मिलाउँदै आएको भए पनि वास्तवमा उक्त लिखतका बुझिएसम्मका अरू लिखत बखत साक्षीहरूको बयान गराईसमेत बाट उक्त राजीनामा लिखत खास भए गरेको सद्दे साँचो व्यवहारको प्रमाणित हुन आएकोसमेत हुँदा झूक्याएको जालसाजी लिखत हुँदा पास गरी दिनु नपर्ने भन्ने निवेदक प्रतिवादीको जिकिर पुग्न सक्दैन उक्त लिखत पास हुने ठहराई ०२७।९।९।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेकोले मुद्दा दोहर्याएमा निवेदक प्रतिवादीलाई अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाई दिनु ।
हामीहरूको सहमती छ ।
न्या. रङ्गनाथ उप्रेती,
न्या. त्रैलोक्राय अर्याल
इति सम्वत् २०३० साल कार्तिक ७ गते ३ शुभम् ।