निर्णय नं. ६९६ - पर्चा बदर

निर्णय नं. ६९६ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री ब्रह्मदत्त तिवारी
माननीय न्यायाधीश श्री वृषबहादुर थापा
सम्वत् २०२७ सालको दे.फु.नं. १२९
फैसला भएको मिति २०२८।१२।८।३
निवेदक : का.जि.चावहिल बस्ने रमाकेतन ढुङ्गाना
विरुद्ध
विपक्षी : ऐ.का जि.हालको नरदेवी डेरा गरी बस्ने मैयाँ ढुङ्गाना
मुद्दा : पर्चा बदर
(१) कुनैपनि लिखतको अर्थ गर्दा बीचको एउटा कुनै शब्द अथवा वाक्यलाईसम्म लिई अर्थ गर्न नमिल्ने ।
मुख्य सो घर ०२१।२।१६।६ मा पास भएको बकसपत्रमा परे नपरेको के रहेछ भन्ने तर्फ उक्त बकसपत्र लिखतमा निज संस्थापकको व्यक्तिगत घरवार नै उक्त संस्थानको नाममा बकस गरी भन्ने बोली परेकोलाई आधार लिई घरसमेत बकस गरी दिएको भन्ने निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ताले बहसमा जिकिर लिनु भएको छ । खास गरी कुनै पनि लिखतको अर्थ गर्दा बीचको एउटा कुनै शब्द अथवा वाक्यसम्म लाई लिई अर्थ गर्न मिल्ने नभई सम्पूर्ण लिखतको अध्ययन गरी त्यसको अर्थ गर्नुपर्ने हुन्छ । यस तथ्यलाई ध्यानमा राखी उक्त बकसपत्र लिखत सम्पूर्ण अध्ययन गरी हेर्दा आखिरी बकसपत्र गरी दिएको भन्ने उल्लेख गरेको ठाउँमा पूर्व सडक पश्चिम सडक दक्षिण ज्यापुको रैकर उत्तर आधा सडक र आधा सत्येलको रैकर यति ४ किल्ला भित्रको मेरो नाउँमा काठमाडौं माल दोश्रामा नं.९१ मा दर्ता भएको मौजे चावेलको सो मालमा सालको रू.७९८ तिर्नु पर्ने चसीको पाखो बारी रोपनी ७ सातको खला स्कूल बनाउनाको निमित्त बकस गरी दियाँ । सो जग्गा स्कूलकी सेवीका एवं उपचारीका रमाकेतनाका नाउँमा दर्ता हुने गरी हालको बकसलेखी दियाँ भन्ने लेखी जग्गासम्म बकस गरिदिएको कुरा किटानी उल्लेख गरेको पाइन्छ । यदि घरसमेत बकस गरी दिएको भए यति ४ किल्लाभित्रको यो यति लम्बा चौडा यो यति तलाको कच्ची या पक्की घरसमेत बकस दिएँ भन्ने उक्त लिखतमा प्रष्ट किटानी उल्लेख हुनुपर्ने थियो तर सो उल्लेख छैन लिखतमा सो प्रष्ट उल्लेख भएको हुनु बेगर बकस गरी दिनु परेको कारणको भूमिकामा निज संस्थापकको व्यक्तिगत घरबार नै उक्त संस्थाको नाममा बकस गरी भन्ने उल्लेख गरेको सम्मबाट घरसमेत बकस गरिदिएको भन्ने अर्थ गर्न मिल्दैन, किनकी व्यक्तिगत घरबार भन्नेसम्म लेखाइको त्यस्तो अर्थ आउन सक्तैन ।
(प्र.नं. १३)
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. ज्ञानबहादुर ढुङ्गाना क्षेत्रीसँगको माना चामल मुद्दामा का.दे.इ.अ.को ०२१।२।७।४ का फैसलाबमोजिम निजसँग भरी पाउने ठहरेको बिगो रु. १३८६। र अरु दस्तुर रु. ।९७ समेत जम्मा रु. १३८६।९७ भराई पाउँ भन्ने मिठु मैयाँको ०२१।५।१९ को दर्खास्त ।
२. ज्ञानबहादुर ढुङ्गानाबाट मिठुमैयाँले पाउने बिगो बारे भनी यस अदालतबाट निज ज्ञानबहादुरको जायजात गर्न भनी डोर खटी आई निज ज्ञानबहादुरको भनी तायदात गरी ल्याएको तपसीलबमोजिमको घर जग्गा निज ज्ञानबहादुरको हकको नभई सो जायजात भएको घर जग्गा श्री दिर्घमानको सभापतित्वमा ०१९ साल फाल्गुण १८ गतेका दिन महेन्द्र चिल्ड्रेन्स पेडागोजीको उद्घाटन समारोह सम्पन्न भई श्री ज्ञानबहादुरको निजी सम्पत्ति एवं स–परिवार संयुक्त प्रयासबाट विश्वमा सर्वप्रथम प्रारम्भ भएको यो बाल शिक्षक संलग्न संस्थानले प्राथमिक स्कूलमा विद्यार्थीहरूको बारेमा निमित्त निजको घरबार नै उक्त संस्थाको नाममा रजिष्ट्रेशन मार्फत् ०२१।२।१६।६ मा रमाकेतनलाई सेवा र उपचार गर्नाको लागि मेरै नाउँमा दर्ता हुने गरी बकसपत्र लेखी दिई सो घरमा मैले आफ्नो दाईजो खर्च गरी घर नै बनाई सकेको छु । ऐन सवालबमोजिम भई सो घर लिलाम नहोस् भन्नेसमेत रमाकेतन ढुङ्गानाको उजूरी दर्खास्त ।
३. तायदात भई आएबमोजिमको बकसपत्रमा परेको नभई रू.७।९८ तिर्नुपर्ने चसीको पाखो बारी रोपनी ७ को खला स्कूल बनाउनको निमित्त बकस गरी दियो भन्ने बोली परेको बकसपत्र नक्कलबाट देखिएकोले बकसपत्रमा नलेखिएको उक्त तायदाती मुचुल्कामा लेखिएबमोजिम घर लिलाम गर्न कुनै अड्काउ पर्ने नदेखिएको तायदातीमा लेखिएबमोजिमको घर लिलाम गरी भरी पाउने भए फैसलाबमोजिम बिगो भराई दिने र तायदातीमा लेखी आएको जग्गा रोपनी १० भनेको हकलाई जग्गा रोपनी ७ बकसपत्र लेखीदिएको भन्ने उजूरीतर्फलाई सो जग्गातर्फ हकबेहक गर्नुपर्ने हुन आएकोले हक बेहकमा ऐनबमोजिमको म्यादभित्र अदालतमा गई नालिस गर्न जानु भनी बिगो पाउनेलाई सुनाई दिने र लिलाम हुने ठहरेको घरको हकमा अपील परे आखिर किनारा भएको मितिले र नपरे अपील अवस्था नाघेको मितिले ३५ दिनभित्र दर्खास्त दिन आउनु र लिलाम भई भरी भराउ हुनेछ भनी बिगो पाउने निज मिठुमैयाँलाई सुनाई दिने भन्नेसमेत ०२१।११।१५।६ को काठमाडौं श्रेस्ता अदालत तहसीलको पर्चा ।
४. सो पर्चाउपर चित्तबुझेन भन्नेसमेत रमाकेतनको बा.अञ्चल अदालतमा परेको पुनरावेदन ।
५. पुनरावेदन जिकिरबमोजिम प्रो.ज्ञानबहादुरले गरिदिएको भनेको ०२१।२।१६ को बकसपत्र पास लिखतको नक्कल हेरिएमा तायदाती मुचुल्कामा चढेको प्रो.ज्ञानबहादुरको भनेको घर स्कूललाई बकस दिएको देखिएन पछि बन्ने बनाएको भन्ने जिकिरलाई पनि नक्सापास घरको रजिष्ट्रेशन समेतका स्वीकृत कागजहरू प्रमाण गुज्रन नआएकोले समेत पुनरावेदन जिकिर मनासिव देखिन आएन शुरु का.श्रे.अ.त.बाट गरेको पर्चा मनासिव छ भन्नेसमेत बागमती अञ्चल अदालतको ०२४।१२।२२।५ को फैसला ।
६. का.ई.नरदेवी डेरा गरी बस्ने भनेकी मिठुमैयाँ ढुङ्गानासँगको पर्चा बदर मुद्दा हदमुनी भनी गत ०२४।१२।२२ मा बागमती अञ्चल अदालतबाट भएको फैसलाउपर पुनरावेदन वा इन्साफ जाँच गरिपाउँ भनी का.जि.चावहिल बस्ने रमाकेत ढुङ्गानाले चढाएको क.१३७७ स.अ.तो.नं.९५।११।१९ को निवेदनपत्रमा व्यहोरा साँचो भयो श्री प्रधान न्यायाधीश वा सबै निवेदनपत्रको व्यहोरा हेरी न्याय नै परेको जति सम्झाई बुझाई ऐनबमोजिम गरी पठाई दिन न्याय नपरेको जस्तो देखिएमा एकपटक इन्साफ जाँची ऐनबमोजिम गरी निर्णय गर्नु गराउनु निवेदकलाई जनाउ पनि दिनु भनी तहाँ पठाउन हुकूमबक्सेको छ भनी श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभागबाट ०२६।२।२१।३ मा छुट्टै लेखी आएको हुकूम प्रमांगी ।
७. निवेदीकालाई समेत राखी मुद्दा किनारा गरिदिनु भन्ने हु.प्र.पाउँ भनी शिला नेपालले श्री ५ महाराजाधिराजको जुनाफमा चढाएको क.६२५८ को निवेदनमा श्री सर्वोच्च अदालत यसमा व्यहोरा साँचो भए मुद्दा पेश हुने तारेखका दिन उपस्थित हुन आए निवेदकलाई समेत रोहवरमा राखी मुद्दा हेरी कानूनबमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिजाबाट हुकूम बक्सेको छ भनी मौसूफका विशेष जाहेरी विभागबाट ०२६।१०।५।१ मा लेखी आएको रहेछ ।
८. ज्ञानबहादुर ढुङ्गानाबाट मिठुमैयाँले पाउने बिगोबारे ज्ञानबहादुरको जायजात गर्न भनी डोर खटी तायदातीमा ल्याइएको घर जग्गा महेन्द्र चिल्डे«न्स पेडागोडी नामक शिक्षण संस्थाको नाममा रजिष्ट्रेशन मार्फत् ०२१।२।२६।६ मा मलाई सेवा र उपचार गर्नाको लागि बकसपत्र लेखी दिई मैले आफ्नो दाइजो खर्च गरी बनाएको घर लिलाम नहोस् भन्नेसमेत नै निवेदकको जिकिर भएकोले सो बकसपत्रबाट घरसमेत निज निवेदकको हकमा गयो गएन भन्न नै सर्वप्रथम हेर्नु परेको छ । उक्त बकसपत्रको बोली हेर्दा पूर्व सडक पश्चिम सडक उत्तर सत्यालको रैकर र आधा सडक दक्षिण ज्यापुको रैकर यति ४ किल्लाभित्रको मेरो नाउँमा काठमडौं माल दोश्रोमा हाल ९३ नं.मा दर्ता भएका मौजे चाबेलको चासिको पाखो बारी रोपनी ७ को खला स्कूल बनाउनको निमित्त बकस गरी दिए सो जग्गा उक्त स्कूलको सेवीका एवं उपचारीका रमाकेतनका नाउँमा दर्ता हुने गरी हालको बकसपत्र लेखी दियौं बकसपत्र पाएको जानी भोग चलन गर्नु भन्नेले लेखिएको देखिनाले स्कूल बनाउन भनी ७ रोपनीको खला जग्गासम्म किटान गरी लेखिदिएको देखिन्छ । घर पनि बकसपत्रमा गयो भन्न उक्त शब्दहरूबाट नमिल्ने हुँदा घरको हकमा प्रो.ज्ञानबहादुर ढुङ्गानाको हकको देखिनाले र बकसपत्रबाट नगएको देखिएकोले सो घर लिलाम बिक्री गरिआएको रकमबाट मिठु मैयाँले का.दे.इ.अ.को ०२१।२।७४ का फैसलाबाट भरी पाउने भएको माना चामलको बिगाहा भराई दिने ७ रोपनीको हकमा हक बेहकमा उजूर गर्नु भनी सुनाई दिने गरेको ०२१।११।१५।६ को को.श्रे.अ.त.को पर्चा मनासिव गरी बागमती अञ्चल अदालतबाट ०२४।१२।२२ मा गरेको इन्साफ मनासिव ठहर्छ भन्ने ०२६।१२।३।२ को डिभिजन बेञ्चको फैसला ।
९. सो इन्साफमा चित्त बुझेन दोहर्याई पाउँ भन्ने रमाकेतन ढुङ्गानाको बिन्तिपत्र परेकोमा सो बिन्तिपत्रको व्यहोरा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट छिनिएको मुद्दा एकपटक फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनी दिनु निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभाग राजदरवारबाट लेखी आएको ०२७।१०।१०।३ को हुकूम प्रमांगी ।
१०. बक्स भई आएका हुकूम प्रमांगीबमोजिम गर्ना निमित्त नियमको रीतपुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई निवेदिकालाई दिन ७ सातको र विपक्षी मिठु मैयाँ ढुङ्गाना र निवेदनमा विपक्षी लेखिएको शिला नेपाललाई दिन १५ पन्ध्रको म्याद दिई झिकाई आएपछि फुल बेञ्चमा पेश गर्नु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको ०२७।१०।२७।३ को आदेश ।
११. यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२८।११।२७।६ मा पेश भई निवेदिका प्रतिवादी रमाकेतनतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले र शिला नेपालतर्फबाट विद्वान अघिवक्ता श्री गंगाप्रसाद उप्रेतीले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी मिठु मैयाँले ज्ञानबहादुरबाट भरी पाउने ठहरेको माना चावलको बिगोवापत ०२१।७।३।५ को तायदाती मुचुल्कामा बढी आएको घर निवेदिका प्र. रमाकेतनको जिकिर अनुसार ज्ञानबहादुले महेन्द्र चिल्ड्रेन्स पेडागोजी नामक शिक्षण संस्थाको नाममा ०२१।२।१६।६ मा पास गरिदिएको बकसपत्र भित्र परेको छ छैन ? सो घर उक्त बिगोवापत लिलाम हुन सक्ने नसक्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने प्रश्न उपस्थित भएको छ ।
१२. उक्त घर ज्ञानबहादुरको हकको नभई सेवा र उपचार गर्नाको लागि मेरो नाउँमा दर्ता हुने गरी महेन्द्र चिल्ड्रेन्स पेडा गोजी नामक शिक्षा संस्थाको नाममा बकसपत्र पासगरी दिएको हुँदा मैले आफ्नो दाइजो खर्च गरी घरै नै बनाइसकेको भन्ने पहिलेको उजूरी दर्खास्तमा र जग्गा बकस दिई घर नदिएको वा म निवेदकले आफ्नो दाइजो समेतको सम्पत्तिबाट घर नबनाइएको भए जग्गा दिँदा सो जग्गामा बनेको घर बाहेक भनी किटानी उल्लेख हुने थियो सो नभएमा घर मैले बनाएको होइन भनी भन्न नहुने भन्ने हाल मुद्दा दोहर्याई पाउँ भनी दिएको निवेदनपत्रमा निवेदिका प्रतिवादीले उल्लेख गरेको देखिन्छ । उक्त दुवै कागजलाई मध्यनजर राखी संयुक्त रुपमा हेर्ने हो भने निवेदिकाले आफ्नो दाइजोसमेतको सम्पत्तिलाई घर बनाएको भन्ने कुरा ज्ञानबहादुरले बकसपत्र पास गरी दिनु भन्दा अगाडी पछाडि कहिले हो सो बाझिएको प्रष्ट हुन्छ । वास्तवमा आफ्नो दाइजो समेतको सम्पत्तिलाई सो घर बनाएको सबूद निवेदिकाले कुनै दिन सकेको पाइएन ।
१३. मुख्य सो घर ०२१।२।१६।६ मा पास भएको बकसपत्रमा परे नपरेको के रहेछ भन्ने तर्फ उक्त बकसपत्र लिखतमा निज संस्थापकको व्यक्तिगत घरवार नै उक्त संस्थानको नाममा बकस गरी भन्ने बोली परेकोलाई आधार लिई घरसमेत बकस गरी दिएको भन्ने निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ताले बहसमा जिकिर लिनु भएको छ । खास गरी कुनै पनि लिखतको अर्थ गर्दा बीचको एउटा कुनै शब्द अथवा वाक्यसम्म लाई लिई अर्थ गर्न मिल्ने नभई सम्पूर्ण लिखतको अध्ययन गरी त्यसको अर्थ गर्नुपर्ने हुन्छ । यस तथ्यलाई ध्यानमा राखी उक्त बकसपत्र लिखत सम्पूर्ण अध्ययन गरी हेर्दा आखिरी बकसपत्र गरी दिएको भन्ने उल्लेख गरेको ठाउँमा पूर्व सडक पश्चिम सडक दक्षिण ज्यापुको रैकर उत्तर आधा सडक र आधा सत्येलको रैकर यति ४ किल्ला भित्रको मेरो नाउँमा काठमाडौं माल दोश्रामा नं.९१ मा दर्ता भएको मौजे चावेलको सो मालमा सालको रू.७९८ तिर्नु पर्ने चसीको पाखो बारी रोपनी ७ सातको खला स्कूल बनाउनाको निमित्त बकस गरी दियाँ । सो जग्गा स्कूलकी सेवीका एवं उपचारीका रमाकेतनाका नाउँमा दर्ता हुने गरी हालको बकसलेखी दियाँ भन्ने लेखी जग्गासम्म बकस गरिदिएको कुरा किटानी उल्लेख गरेको पाइन्छ । यदि घरसमेत बकस गरी दिएको भए यति ४ किल्लाभित्रको यो यति लम्बा चौडा यो यति तलाको कच्ची या पक्की घरसमेत बकस दिएँ भन्ने उक्त लिखतमा प्रष्ट किटानी उल्लेख हुनुपर्ने थियो तर सो उल्लेख छैन लिखतमा सो प्रष्ट उल्लेख भएको हुनु बेगर बकस गरी दिनु परेको कारणको भूमिकामा निज संस्थापकको व्यक्तिगत घरबार नै उक्त संस्थाको नाममा बकस गरी भन्ने उल्लेख गरेको सम्मबाट घरसमेत बकस गरिदिएको भन्ने अर्थ गर्न मिल्दैन, किनकी व्यक्तिगत घरबार भन्नेसम्म लेखाइको त्यस्तो अर्थ आउन सक्तैन ।
१४. उक्त बकसपत्र लिखतलाई अझै गौर गरी हेर्ने हो भने स्कूल बनाउनको निमित्त भन्ने र मेरो घरमा बसी बकस लेखी भन्ने यो मुद्दाको विवादको निर्णयका लागि विशेष महत्त्व राख्ने शब्दहरू पनि उल्लेख भएको पाइन्छ । बनी राखेको घरैसमेत बकस दिएको हो भने स्कूल बनाउनको निमित्त भन्ने वाक्य र बकस लेखी दिइसकेपछि त्यस घरमा बकस दिनेको हक कायम रहन नसक्नेमा मेरै घरमा बसी भन्ने शब्द किन उल्लेख भयो । उक्त कुराहरू समेतको निवेदक तर्फबाट हाल बहससमेतमा सन्तोषजनक जवाफ आउन नसकेकोसमेत हुँदा घरसमेत बकस गरीदिएको भन्ने बकसपत्र लिखतले नै पुष्टि नगरेको निवेदकको जिकिरसँग सहमत हुन मिलेन ।
१५. तसर्थ उपरोक्त उल्लिखित प्रमाणहरू समेतबाट घरको हकमा ०२१।१६।६ को बकसपत्र लिखतमा परेको नदेखिँदा घर लिलाम हुनुनपर्ने भन्नेसमेत निवेदकको जिकिर पुग्न सक्तैन ज्ञान बहादुरको हकको सो घर लिलाम हुन सक्ने ठहराएको समेत का.श्रे.अ.त.तथा बागमती अं.अ. को सदर गरी ०२६।१२।३।२ को डि.बे.ले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेको हुँदा मुद्दा दोहर्याएमा निवेदकलाई अरु साजय गर्नु परेन । नियमबमोजिम मिसिल बुझाई दिनु ।
न्या. ब्रम्हदत्त तिवारी,
न्या. वृषबहादुर थापा
उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।
इति सम्वत् २०२८ साल चैत्र ८ गते रोज ३ शुभम् ।