निर्णय नं. ६९८ - ज्यान मार्न उद्योग

निर्णय नं. ६९८ ने.का.प. २०२९
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री ब्रह्मदत्त तिवारी
सम्वत् २०२५ सालको फौ.फु.नं. ४३६
फैसला भएको मिति :२०२८।४।२४।२
निवेदक : श्री ५ को सरकार
विरुद्ध
विपक्षी : धवलागिरी अञ्चल वाग्लुङ मुलपानी गौरागाउँ ठाडा स्वारा बस्ने कविराज सुनार
मुद्दा : ज्यान मार्न उद्योग
(१) कुन अवस्थामा उद्योग गर्नेले, मर्नेसम्मको काम गरिसकेको देखिने ।
ज्यानमार्नमा उद्योग गरेको बारेमा लागू हुने एउटा ऐन ज्यानसम्बन्धी १५ नं.देखिएको छ । उक्त ऐनमा ज्यान मार्नको लागि उद्योग गरी मर्नेसम्मको जुनसुकै काम गरिसकेको सो काम गर्दा पनि ज्यान भने मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र त्यस्तो मुख्य भई बचन दिनेलाई दश बर्ष कैद गर्नुपर्छ भन्ने लेखिएको छ ।
ज्यान मार्नका लागि उद्योग गरे भन्ने वाक्यांश परेकोबाट गरेको जुनसुकै उद्योगको पनि सफलता ज्यान मारेपछि मात्र प्रष्ट हुने भयो यसबाट निजबाट सो उद्योग गर्नेको मनसाय के रहेछ भन्ने थाहा पाएपछि ज्यान मार्ने मनसाय रहेको भए उक्त ऐन लागू हुने देखिन्छ ।
मर्नेसम्मको जुनसुकै काम गरिसकेको सो काम गर्दा पनि ज्यान भने मर्न पाएको रहेनछ भने भन्ने वाक्यांशको मतलब के हुने हो भनी विचार गर्दा निजले गरेको काम यदि मर्नेसम्मको हो भने ज्यान मरी हाल्नेछ ज्यान भने मर्न पाएको रहेनछ भने निजले मर्नेसम्मको काम गरिसकेको देखिने छैन यस्तो परस्पर बिरोधी वाक्य हो भने उक्त ऐन नै निष्कृय हुनेछ । यो ऐनमा निस्कृय हुन नसक्ने कुरा केही छ कि भनी विचार गरेमा उद्योग गर्नेले मर्नेसम्मको काम गरेको बखतमा मर्न नपाउने हालत त्यस बेलामा मात्र हुनु सम्भव छ जब घटनामा पर्नेलाई बचाउने कुनै रक्षा पाउँछ घटनामा पर्नेको रक्षा भएमा उद्योग गर्नेलाई बिघ्न पर्छ । उद्योग गर्नेतर्फबाट गरेको त्यो काम सम्पूर्णतवरले गरिसकेको भएमात्र मर्नेसम्मको काम गरेको हुन्छ त्यस्तो काम गर्दा चाहिँदो प्रयत्न र मात्र पुर्याएको हुनुपर्छ घटनामा पर्नेको रक्षा हुनलाई निज तर्फबाट कुनै साधन वा उपाय गरेको हुन्छ वा पर्न आउँछ । त्यस बखतमा घटनामा पर्नेको रक्षा हुन जाँदा उद्योग गर्नेलाई बिध्नपर्छ जब त्यस्तो बिध्न वा रक्षा पर्न आउँछ भने मात्र उद्योग गर्नेले मर्ने सम्मको काम गरिसकेको र मर्न भने पाएको रहेनछ भनी यो वाक्यले देखाएको अवस्था उत्पन्न हुन्छ ।
(प्र.नं. १३, १४, १५)
(२) मर्नेसम्मको काम गरिसकेको नदेखिए ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजाय गर्न नमिल्ने ।
कविराज सुनारले खुकुरीले हानी सुतेको मनकुमार र नरदेवीलाई चोट पुर्याइएको छ । निज चोट पर्नेहरूले आफ्नो बचाउ गरेको छैन र खुकुरीको चोट चाहेको अङ्गमा नपर्नेमा त्यस्तो चोट हलुका गराउने कुनै कुरा गरेको वा पर्न आएको वास्तविकता देखिँदैन जब अभियुक्तले हाने जत्तिकै मार हानेको अङ्गमा लागेको चोट पुगेको छ भन्ने अभियुक्तले नै त्यस्तो चोट पुर्याएको रहेछ भन्ने देखिएको हुँदा त्यसबाट मर्नेसम्मको काम गरिसकेको देखिएन । त्यसकारण उक्त ऐनबमोजिम सजाय गर्न मिल्दैन । ज्यान सम्बन्धीको १२ नं. बमोजिम मार्ने नियतले कुटेको हो कि भन्नलाई मार्ने अवसर छँदाछँदै उपरोक्त रक्षा वा बिध्न नपरेको हालतमा त्यस्तो चोट परेकोले मार्ने नियत पनि देखिएन । ज्यानसम्बन्धीको १२ नं.ले नियत नदेखिएमा कुटपीटको महलबमोजिम सजाय गर्नुपर्छ । अब यस मुद्दामा सरकारी मुद्दामा सरकारी मुद्दासम्बन्धी ऐनको दफा ७ (क) बमोजिम चोट पर्नेहरूलाई झिकाई निजहरूले मुद्दा चलाउन चाहेमा कुटपीटको ऐनबमोजिम तहकिकात सजाय गर्नु यसै मिसिलबाट कुटपीटतर्फको कारवाही उठ्ने भएकोले अभियुक्त थुनिएको समय जति पछि लाग्ने सजाय भयो भने त्यसमा कट्टा गर्नुपर्छ भनी मिसिल वाग्लुङ्ग जिल्ला अदालतमा पठाई दिनु । ज्यानसम्बन्धीको महलबमोजिम सजाय नगर्ने गरेकोसम्म धवलागिरी अञ्चल अदालतको मनासिव छ ।
(प्र नं.१६)
पुनरावेदक तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता गोविन्दबहादुर श्रेष्ठ
विपक्षी तर्फबाट : अधिवक्ता इच्छाहर्ष
उल्लिखित मुद्दा :
फैसला
न्या. हेरम्बराज
१. कविराजले ०२४।४।२७ गतेको रात ज्यान मार्न उद्योग गरी मनकुमारको घरमा गई मनकुमार र निजको श्रीमती नरदेवीलाई खुकुरीले हानी घाउ खत गरेकोले उचित कारवाही उपर गरिपाउँ भन्ने मुलपानी पञ्चायतको जाहेरी ।
२. २०२४।४।२७ गतेको रात अन्दाजी ३ बजेको टायममा हामी सुतिरहेको अवस्था अन्ययवाला आई ढोका फोरी भित्र पसी हामीहरू बिउँझी सोध्दा तेरो आमालाई मार्छु भनी भनेकोले किन त्यसो गर्छस् भन्दा त्यसो भए तिमीलाई पनि मार्छु भनी खुकुरीले ८।९ चोट हानेपछि म मुर्छा भएं स्वास्नीले गुहार माग्दा स्वानीलाई पनि एक चोट हाने । पञ्चायतका सदस्य आएपछि सोधपुछ गरी निजको घरबाट बाँधी ल्याई उज्यालो भएपछि पञ्चायतको सिफारिस साथ दर्खास्त दिन आएको छु । घा जाँच गरी कारवाही गरिपाउँ भन्नेसमेत मनकुमार, नरदेवी सुनार्नीको जाहेरी दर्खास्त ।
३. २७ गते शनिवारको राति खाना खाइसकेपछि आमा तलामा र हामी बच्चाहरू सहित तल्लो तल्लामा सुतेको मौका नबोली आई २,३ चोट खुकुरीले हानेपछि बिउँझेर को हो को हो भनी उठ्दा धेरै चोट काटि सकेछ । मैले पहिले को हो थाहा पाइन । पछि कविराजको आमा स्वास्नी सासूसमेत आई तानेर लगेबाट तिनीहरू सबै भई रातको समयमा मार्ने नियतले आएको विश्वास लाग्छ भन्ने मनकुमारको ठानामा भएको बयान ।
४. हामी सबै सुतिरहेकै थियौं मेरो लोग्ने कविराजले खुकुरी झिकी गएको थाहा भएन खुकुरीले मार्ने उद्देश्य लिई काटेका रहेछन् पछि फर्केर सुतेपछि थाहा भयो यसमा हाम्रो मद्दत छैन भन्नेसमेत निजकी स्वास्नी पुतली सुनार्नी, सासू कोसिला सुनार्नी आमा पुतली सुनार्नीको ठानामा कागज ।
५. ०२४।४।२७ को रात अन्दाजी २।३० बजे तिर बिउँझे कहाँ जानु के गरुँ भयो र छानामा घुसारेको खुकुरी लिई बाहिर निस्कें घुमि फर्कंदा पनि जाहेरवालासमेत भई त्यस बेला पनि मेरै कुरा गरिरहेको सुनेर ढोका घच्याटि भित्र जाँदा अध्याँरो थियो आधा रातमा पनि मेरो कुरा किन काटी रहन्छौं भनी लोग्नेको टाउकोमा खुकुरीले प्रहार गरें सो प्रहार गरेपछि लोग्ने स्वास्नी दुवै उठी मलाई दाउराले टाउकोमा हाने मैले पनि मनकुमारलाई खुकुरीले ठाउँ ठाउँमा हानें आफ्नो बचावट गर्दा नरदेवीलाई समेत काँधमा हानें निजहरू पनि हान्दै थिए म भागी घरमा आएँ । आधा रातमा पनि मेरो कुरो काटीरहेको रिसले हानेको हुँ ज्यान मार्ने उद्देश्यले हानेको होइन भन्नेसमेतको कविराज सुनारको ठानामा कागज ।
६. मनकुमारलाई अभियुक्त कविराजले मार्ने नियतले खुकुरीले हानी काटेको मर्न नपाएकोले ज्यानसम्बन्धी १५ नं. बमोजिम कैद बर्ष १० र अरुउपर मुद्दा नचल्ने भन्ने प्रहरीप्रतिवेदन ।
७. मनकुमारलाई मार्छु नै भनेर हानेको होइन मेरो ज्यान बेरामी भएकोले घाउ गराउँदछु भनेर हानेको हुँ खुकुरीसमेत निजै मनकुमारको घरमा छाडी घरमै गई सुतेको छु, निजलाई काटेको कुरामा र बचन दिनेमा कोही छैनन् भन्नेसमेतको कविराजको बयान ।
८. वारदात भएकोमा कुनै विचार गर्न नपर्ने । वारदार भन्दा पहिले नै कुटिने काटिने व्यक्ति उपर रिसइवी भएको यो कविराजले खुकुरी जस्तो हतियार लिई रातको समयमा टाउकोमा प्रहार गर्ने व्यक्तिले दुःख दिनुसम्म प्रहार गरेको भन्ने मनासिव नदेखिने । घाउ मात्र लगाउने नियत भए संधी ठाउँ जोगाई अन्यत्रै काटिने सो नगरी मारौं भने इच्छाले नै टाउकोमा प्रहार गरेको समेत कारणबाट ज्यान मार्ने उद्योग गरी खुकुरीले हानेको ठहर्छ भन्नेसमेतको वागलुङ्ग जिल्ला अदालतका फैसला ।
९. ज्यान मार्ने उद्योग ठहराएको वागलुङ्ग जिल्ला अदालतको फैसलाउपर चित्त बुझेन भनेसमेत व्यहोराको कविराज सुनारको घवलागिरी अञ्चल अदालतमा पुनरावेदन ।
१०. अभियुक्त कविराजले मार्ने उद्देश्य लिई मनकुमारलाई हानेको कुटेको नदेखिई आफ्नो अन्धविश्वासको कारणबाट बोक्सी भई आफू र आफ्नो स्वास्नीलाई समेत दुःख दिने भनी सम्झेको । मनकुमारको आमालाई मार्छु भनी ढोका खोली भित्र जाँदा बिउँझी रोक्ने मनकुमार तथा नरदेवीसमेतसित भएका कुटपीटको वारदातामा आफ्नो हातमा लिई गएको नलाग्ने खुकुरीले कुटपीट हुँदा लाग्न गएको मर्ने सम्भव पनि नभएको समेतबाट अभियुक्तले सफाई पाउने ठहर्छ भन्नेसमेतको धवलागिरी अञ्चल अदालतको फैसला ।
११. अभियुक्तहरूलाई सफाई दिने गरेको अञ्चल अदालतको फैसला बदर गरी वाग्लुङ जिल्ला अदालतको फैसला कायम राखी निज कविराजलाई कानूनबमोजिम सजाय होस् भन्नेसमेतको श्री ५ को सरकारको पुनरावेदन ।
१२. प्रतिवादी सुनारलाई अ.बं.२।२ नं. र स.अ. नियमावलीबमोजिम झिकाई पेश गर्नु भन्ने स.अ. डिभिजन बेञ्चको ०२७।१२।५ को आदेश ।
१३. नियमबमोजिम कजलिष्टमा चढी पेश हुन आएको यस मुद्दामा झिकाई आउनु भएका कविराज सुनारलाई रोहवरमा राखी प्रस्तुत मुद्दा सुनी श्री ५ को सरकारतर्फबाट खटिई आउनु भएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री गोविन्दबहादुर श्रेष्ठ र असमर्थतर्फबाट बहस निमित्त उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री इच्छाहर्षको बहससमेत ०२८।४।२१ मा सुनी आज निर्णय सुनाउने तारेख तोकिएकोमा निर्णयतर्फ विचार गर्दा ज्यान मार्नमा उद्योग गरेको बारेमा लागू हुने एउटा ऐन ज्यानसम्बन्धी १५ नं.देखिएको छ । उक्त ऐनमा ज्यान मार्नको लागि उद्योग गरी मर्नेसम्मको जुनसुकै काम गरिसकेको सो काम गर्दा पनि ज्यान भने मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र त्यस्तो मुख्य भई बचन दिनेलाई दश बर्ष कैद गर्नुपर्छ भन्ने लेखिएको छ ।
१४. ज्यान मार्नका लागि उद्योग गरे भन्ने वाक्यांश परेकोबाट गरेको जुनसुकै उद्योगको पनि सफलता ज्यान मारेपछि मात्र प्रष्ट हुने भयो यसबाट निजबाट सो उद्योग गर्नेको मनसाय के रहेछ भन्ने थाहा पाएपछि ज्यान मार्ने मनसाय रहेको भए उक्त ऐन लागू हुने देखिन्छ ।
१५. मर्नेसम्मको जुनसुकै काम गरिसकेको सो काम गर्दा पनि ज्यान भने मर्न पाएको रहेनछ भने भन्ने वाक्यांशको मतलब के हुने हो भनी विचार गर्दा निजले गरेको काम यदि मर्नेसम्मको हो भने ज्यान मरी हाल्नेछ ज्यान भने मर्न पाएको रहेनछ भने निजले मर्नेसम्मको काम गरिसकेको देखिने छैन यस्तो परस्पर बिरोधी वाक्य हो भने उक्त ऐन नै निष्कृय हुनेछ । यो ऐनमा निस्कृय हुन नसक्ने कुरा केही छ कि भनी विचार गरेमा उद्योग गर्नेले मर्नेसम्मको काम गरेको बखतमा मर्न नपाउने हालत त्यस बेलामा मात्र हुनु सम्भव छ जब घटनामा पर्नेलाई बचाउने कुनै रक्षा पाउँछ घटनामा पर्नेको रक्षा भएमा उद्योग गर्नेलाई बिघ्न पर्छ । उद्योग गर्नेतर्फबाट गरेको त्यो काम सम्पूर्णतवरले गरिसकेको भएमात्र मर्नेसम्मको काम गरेको हुन्छ त्यस्तो काम गर्दा चाहिँदो प्रयत्न र मात्र पुर्याएको हुनुपर्छ घटनामा पर्नेको रक्षा हुनलाई निज तर्फबाट कुनै साधन वा उपाय गरेको हुन्छ वा पर्न आउँछ । त्यस बखतमा घटनामा पर्नेको रक्षा हुन जाँदा उद्योग गर्नेलाई बिध्नपर्छ जब त्यस्तो बिध्न वा रक्षा पर्न आउँछ भने मात्र उद्योग गर्नेले मर्ने सम्मको काम गरिसकेको र मर्न भने पाएको रहेनछ भनी यो वाक्यले देखाएको अवस्था उत्पन्न हुन्छ ।
१६. कविराज सुनारले खुकुरीले हानी सुतेको मनकुमार र नरदेवीलाई चोट पुर्याइएको छ । निज चोट पर्नेहरूले आफ्नो बचाउ गरेको छैन र खुकुरीको चोट चाहेको अङ्गमा नपर्नेमा त्यस्तो चोट हलुका गराउने कुनै कुरा गरेको वा पर्न आएको वास्तविकता देखिँदैन जब अभियुक्तले हाने जत्तिकै मार हानेको अङ्गमा लागेको चोट पुगेको छ भन्ने अभियुक्तले नै त्यस्तो चोट पुर्याएको रहेछ भन्ने देखिएको हुँदा त्यसबाट मर्नेसम्मको काम गरिसकेको देखिएन । त्यसकारण उक्त ऐनबमोजिम सजाय गर्न मिल्दैन । ज्यान सम्बन्धीको १२ नं. बमोजिम मार्ने नियतले कुटेको हो कि भन्नलाई मार्ने अवसर छँदाछँदै उपरोक्त रक्षा वा बिध्न नपरेको हालतमा त्यस्तो चोट परेकोले मार्ने नियत पनि देखिएन । ज्यानसम्बन्धीको १२ नं.ले नियत नदेखिएमा कुटपीटको महलबमोजिम सजाय गर्नुपर्छ । अब यस मुद्दामा सरकारी मुद्दामा सरकारी मुद्दासम्बन्धी ऐनको दफा ७ (क) बमोजिम चोट पर्नेहरूलाई झिकाई निजहरूले मुद्दा चलाउन चाहेमा कुटपीटको ऐनबमोजिम तहकिकात सजाय गर्नु यसै मिसिलबाट कुटपीटतर्फको कारवाही उठ्ने भएकोले अभियुक्त थुनिएको समय जति पछि लाग्ने सजाय भयो भने त्यसमा कट्टा गर्नुपर्छ भनी मिसिल वाग्लुङ्ग जिल्ला अदालतमा पठाई दिनु । ज्यानसम्बन्धीको महलबमोजिम सजाय नगर्ने गरेकोसम्म धवलागिरी अञ्चल अदालतको मनासिव छ ।
न्या. ब्रह्मदत्त तिवारी
उक्त रायमा म सहमत छु ।
इति सम्वत् २०२८ साल श्रावण २४ गते रोज २ शुभम् ।