निर्णय नं. ६९९ - निखनाई पाउँ

निर्णय नं. ६९९ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री मीनबहादुर थापा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२८ सालको दे.फु.नं. १३२
फैसला भएको मिति : २०२९।६।१६।२
निवेदक : का.जि.वानेश्वर बस्ने ना.सु.विष्णुरमण उप्रेती
विरुद्ध
विपक्षी : का.जि.डि.बजार बस्ने राजेश्वरीदेवी उपाध्या समेत
मुद्दा : निखनाई पाउँ
(१) देवानी फौज्दारी २ मुद्दाको एउटै नालिस भएको भन्ने आधारले पुरै नालिस खारेज हुने भन्न नमिल्ने ।
देवानी फौज्दारी २ मुद्दाको एउटै फिरादपत्र दर्ता गर्न ल्याएको देखिएपछि उपरोक्त अ.बं ७२ नं.अनुसार एक मुद्दाको यसै फिरादपत्रबाट कारवाई गर्ने गरी दर्ता गरी दिने र एक मुद्दाको चाहिं यस फिरादपत्रबाट इन्साफ गर्नु नपर्ने अर्को फिराद दिएमात्र इन्साफ गर्नुपर्ने भनी सो फिरादपत्रको शिरमा लेखी हाकिमले दस्तखत गरी सो कुरा फिरादपत्रवाला लाई थाहा हुना निमित्त सो फिरादपत्रको भर्पाईमा लेखी दिनुपर्ने कर्तव्य अदालतको थियो, तर सो अनुसार नगरी देवानी फौज्दारी २ मुद्दाको दावीको एउटै फिरादपत्र दर्ता गरी कारवाई चलाउनु अदालतको गल्ती हो, यस किसिमको अदालतको गल्तीले देवानी फौज्दारी २ मुद्दाको एउटै नालिस दर्ता गरिदिएकोमा पछि आई देवानी फौज्दारी दुई मुद्दाको एउटै नालिसबाट कारवाई इन्साफ गर्न नमिल्ने भनी पुरै नालिस खारेज गरी दिँदा ऐनको विरुद्ध पक्षलाई आघात पुग्न जाने हुन्छ, अदालतको गल्तीले पक्षको हकमा आघात पुग्न नसक्ने सिद्धान्तलाई यस अदालतले मानिराखेको पनि छ, खास गरी उक्त अ.बं.७२ नं.ले निर्देश गरेबमोजिम एउटै फिरादपत्रमा देवानी फौज्दारी दुई मुद्दाको दावी भएकोमा एक मुद्दाको चाहिं यसै नालिसबाट कारवाई चल्न सक्ने नै हुँदा देवानी फौज्दारी २ मुद्दाको एउटै नालिस भएको भन्ने आधारले पुरै नालिस खारेज हुने भन्ने रायमा सहमत हुन मिलेन ।
(प्र.नं. १०)
(२) (क) निखन्न पाउँ भन्ने दावीको साथै बढी अंक राखी थैली जालसाज गरे भन्ने दावी परिणाममा निखन्ने कुराको लागि नै हुने ।
(ख) थैली थाहा भएकोमा निखनी लिन चाहनेले लेनदेन व्यवहारको ११ नं.को म्यादभित्र थैली धरौट राखी नालिस गर्नुपर्ने ।
अब वादी दावीको देवानी या फौज्दारी कुन चाहिं मुद्दाको यस नालिसबाट कारवाई इन्साफ गरी दिने कुन चाहिंमा अर्को नालिस गर्नुपर्ने भनी सुनाउने भन्ने प्रश्न आउँछ । निखनाई पाउँ भन्ने दावीको साथै बढी अंक राखी थैली जालसाज गरे भन्ने वादीमा अर्को जुन दावी लिएको छ त्यो पनि परिणाममा निखन्ने कुराको लागि नै हो अतः निखनाई माग्नलाई कानूनले निर्देश गरेबमोजिम विधि पुर्याई वादी आएको भएमात्र निखनाई पाउँ भन्ने हक प्राप्त भई निखनाई पाउँ भन्ने र जालसाजी समेतमा कारवाई चल्न सक्ने स्थिति आउने हुनाले पहिले त्यसतर्फ नै विचार गर्नुपर्ने हुन आयो । यस सन्दर्भमा लेनदेन व्यवहारको १६ नं.हेर्दा थैली तिरी निखनी लिन पाउने गैह्र कुरामा निखनाई पाउँ भनी अड्डामा उजूर गर्न आउँदा थैली थाहा भएकोमा पहिले नै थैलीसमेत ल्याई धरौट राख्नुपर्ने र थैली थाहा नभएकोमा सम्म प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र र मुख नमिलेकोमा बुझाउन पाउने ठहरी फैसला भई अपील तहसम्मबाट फैसला भएपछि वा ऐनले अपील नलाग्ने अवस्था पुगेको ३५ दिनभित्र सो तिर्नुपर्ने थैली ल्याई धारौट राख्नु पर्ने व्यवस्था भएको पाउँछौं । वादीले थैली थाहा नभएको भन्न नसकी रु. २६९९९। थैली हाली राजीनामा लिनु दिनु गरेको भन्ने कुरा फिरादपत्रमै उल्लेख गरेको छ, २६५००। लिनु दिनु गरी रु. २६९९९। थैली हाली रु. ४९९। बढी अंक राखी जालसाज गरेको भन्ने लेखाई भएपछि त्यसतर्फ जालसाजीमा मुद्दा परी कारवाई चली जालसाजी ठहरी फैसला भएपछि मात्र ठहरेबमोजिम हुने कुरा हो थैली थाहा भइसकेपछि जालसाजी भन्दैमा निखन्ने कुरालाई पहिले थैली धरौट राख्नु नपर्ने गरी ऐनले छुट दिएको छैन । थैली थाहा भएकोमा पहिले नै थैली धरौट राख्नुपर्ने उपरोक्त लेनदेन व्यवहारको १६ नं.ले बाध्यता गराएको छ उक्त उल्लेख भएबमोजिम थैली थाहा भएकोमा निखनी लिन चाहने वादीले लेनदेन व्यवहारको ११ नं.को म्यादभित्र थैलीसमेत धरौट राखी नालिस गर्नुपर्नेमा थैली धरौट राखी नालिस गरेको नदेखिएकोले म्यादभित्र थैली धरौट राखेको हुनुबेगर वादीले निखन्न पाउने अवस्थै नहुँदा वादी दावीको निखनाई पाउँ भन्ने र थैली जालसाजी भन्नेसमेत दुवै कुरामा ऐनले कारवाई चल्न सक्ने देखिएन ऐनले कारवाई नै चल्न नसक्ने भएपछि कुन मुद्दामा यस मुद्दाबाट कारवाई गर्ने कुन मुद्दामा अर्को नालिस गर्ने भनी सुनाउने भन्ने कुरा विचार गरिरहनु नै परेन ।
(प्र.नं.११)
(३) म्यादभित्र धरौट नराखी नालिस गरे खारेज हुने ।
तसर्थ उपरोक्त उल्लेख भएअनुसार थैली थाहा भएकोमा लेनदेन व्यवहारको १६ नं. बमोजिम सोही महलको ११ नं.को म्यादभित्र थैली धरौट राख्नुपर्ने नराखेको कारणबाट वादीको यो नालिस खारेज हुने ठहर्छ देवानी फौज्दारी २ मुद्दाको एउटै नालिसबाट कारवाई इन्साफ गर्न नमिल्ने भनी ०२८।१।१५।४ को डिभिजन बेञ्चले खारेज गर्ने गरेकोमा उक्त तर्कसम्म नमिलेको देखिन्छ । मुद्दा दोहर्याएमा लाग्ने कोर्टफी दाखिल भएको हुँदा अरु सजाय गर्नुपरेन, नियमबमोजिम मिसिल बुझाई दिनु ।
(प्र.नं. १२)
निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : अधिवक्ता कृष्णकुमार शर्मा
उल्लिखित मुद्दा :
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिने श्री ५ महाराजाधिराजबाट हुकूमको प्रमांगी बक्स भई यस बेञ्चसमक्ष पेश हुन आएको छ ।
२. मुद्दाको विवरण यसप्रकार छन् : राधीकादेवी मेरी भाउजू हुनुहुन्छ । उहाँले आफ्नो नाममा दर्ता भएको नं.२२६६ को खेतमुरी ।२० र सो जग्गामा बनेको २ नाले ४ तले टायल छाना भएको पक्की घरसमेत ०२० साल भाद्र ३० गते रू.२६५००। लिई रू.२६९९९। थैली हाली रू.४९९। अंक बढाई कीर्ते कागजको ३ नं. बमोजिम हानी नोक्सानी हुने गरी राजेश्वरी देवीलाई राजीनामा गरिदिनु भएछ । कीर्ते कागजको १० नं. बमोजिम विपक्षीहरूलाई सजाय गरी लेनदेन व्यवहारको १६ नं. अनुसार थैली कायम भएको अन्तिम फैसलाको ३५ दिनभित्र निखनी लिन पाउने गरीपाउँ भन्ने विष्णुरमणको फिराद ।
३. सो घर जग्गा मेरो हकको भएकोले २०।५।३० मा राजेश्वरीलाई बिक्री गरेको हुँ रुपैयाँ चुक्ती नदिएकोले दिनुपर्ने रुपैयाँको कागज गरिदिएको नदिएमा कानूनबमोजिम गराई माग्नेछु भन्नेसमेत राधिकादेवीको र, राधीकादेवीले रु. २६९९९। मसँग लिई निजका हक भोगको घर जग्गा फार्छे राजीनामा गरी दिनु भएको हो, सो फार्छे गरी दिँदा लिँदा वादी सोही घरको भई मौकैमा थाहा पाउनु भएको हो रू.२६५००। लिनु दिनु गरी रु. ४९९। बढाई रु. २६९९९। थैली हालेको होइन रु. २६५००। मात्र हो भनी लेखे पनि रु. ४९९। को हकमा पछि ठहरेबमोजिम गर्ने गरी हाल रु. २६५००। धरौट राख्न ल्याएको छु भनी त्यति रुपैयाँसम्म धरौट राख्नु पर्ने सो धरौट राख्न नसकेकोले यो नालिस खारेज हुनैपर्छ भन्नेसमेत राजेश्वरीदेवीको प्रतिवादी ।
४. थैली बढाई कीर्ते कागजको ३ नं. बमोजिम हानी नोक्सानी हुने गरी लिखत गरिदिएको ऐ. १० नं. बमोजिम सजाय गरी निखानाई पाउँ भन्ने कुरा वादीले दावी गरेको फौज्दारी र देवानी एउटै नालिसबाट कारवाई गर्न नमिल्ने हुँदा खारेज हुने ठहर्छ भन्ने का.जि.अ. को फैसला ।
५. सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा थैली जालसाजी र निखानाई पाउँ भन्ने देवानी फौज्दारीको २ विषयलाई दावा लिई फिराद दावी गरेको देखिनाले यस फिरादपत्रबाट निर्णय दिन कानूनले नमिल्ने हुँदा खारेज गर्ने गरेको शुरुको मनासिव ठहर्छ भन्ने बागमती अञ्चल अदालतबाट फैसला भएको ।
६. सोउपर पनि चित्त बुझेन भन्ने वादीकै पुनरावेदन परेकोमा वादीले थैली थाहा पाएकोमा निखन्न पाउँ भनी दावी गर्न थैली थाहा पाएकोमा थैली धरौटी राखी देवानी मुद्दाको नालिस र त्यस्तो आफू उपर दायित्व हुने थैलीमा घटि बढी जालसाजी भएमा सो कुरामा जालसाजी तर्फ नालिस गर्न पाउने हकदैया वादीलाई छैन भन्न मिलेन । त्यस्तो नालिस गर्दा निखनाई पाउँ भन्नेतर्फ देवानी र थैली जालसजीतर्फ फौज्दारी मुद्दाको नालिस कानूनको रीतपुर्याई छुट्टाछुट्टै दर्ता गर्नुपर्ने अ.बं.७२ नं.ले बाध्यता गराएको देखिन्छ । सो बमोजिम नगरी दुवै कुराको देवानी फौज्दारी मुद्दाको नालिस एउटै दर्ता गर्नु उक्त ऐनको बर्खिलाप र वेरीतसमेत हुन गएको देखियो । त्यस्तो वेरीतको नालिसबाट हक बेहक हुन सक्तैन खारेज गर्ने गरेको शुरुको सदर गरी बागमती अञ्चल अदालतले छिनेको मनासिव ठहर्छ भन्ने ०२८।१।१५।४ को डिभिजन बेञ्चको फैसला भएको ।
७. यसमा थैली बढी अंक राखी जालसाजी गरे भन्नेतर्फ फौज्दारी र निखनाई पाउँ भन्नेतर्फ देवानी दुई मुद्दाको एउटै नालिसमा दावी गरिएको भन्ने कुरामा विवाद नभएको र यस्तो दुई मुद्दाको एउटै नालिस दर्ता भएकोमा पुरै नालिस खारेज हुने हो वा एक मुद्दाको खारेज गरी एक मुद्दाको यसै नालिसबाट कारवाई इन्साफ गरिदिनु पर्ने केही भन्ने कुराको मुल प्रश्न उपस्थित भएकोले उक्त प्रश्नउपर नै सर्वप्रथम विचार गर्नुपर्ने हुन आएको छ ।
८. यस प्रश्नमा निवेदक वादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले अ.बं.७२ नं.अनुसार देवानी फौज्दारी २ मुद्दाको एउटै नालिस दर्ता हुनु नसक्ने भएपछि मेरो पक्षको मुख्य दावी निखनाई पाउँ भन्ने तर्फ यसै नालिसबाट कारवाई गर्ने र थैली जालसाजी पट्टि यस नालिसबाट कारवाई हुन नसक्ने भनी मौकैमा फिरादपत्रको शिरमा लेखी सुनाई दिनुपर्ने अदालतको कर्तव्य थियो सोअनुसार नगरी दुवै विषयको एउटै नालिस दर्ता गरी दिएको र अदालतको गल्तीले पक्षको हक जान नसक्ने हुँदा निखनाई पाउँ भन्नेतर्फसमेत खारेज गरेको मिलेको छैन निखनाई पाउँ भन्नेतर्फ यसै मुद्दाबाट कारवाई इन्साफ हुनुपर्छ भन्नेसमेत र प्रतिवादी राजेश्वरीदेवीतर्फका विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्माले लेनदेन व्यवहारको १६ नं.अनुसार मुख मिलेकोमा थैली धरौट राख्नुपर्ने राखेको छैन अब जालसाजी तर्फ अर्को नालिस गर्न पाउने अवस्था नरहेको र थैली धरौट राख्नु बेगर निखनाई पाउँ भन्नेतर्फ ऐनले कारवाई चल्न नसक्नेसमेत हुँदा डिभिजन बेञ्चले पुरै नालिस खारेज गर्ने गरेको कायमै हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
९. नालेस दर्ता गर्ने सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा अ.बं.७२ नं.मा फिरादपत्र लिँदा देवानी फौज्दारी मुद्दाको छुट्टाछुट्टै लिनुपर्छ सो बाहेक एउटै फिरादपत्रमा एउटै मानिसले एउटै मानिसउपर जतिसुकै झगडाको विषयको कुरा लेखी ल्याएको र जतिसुकै मानिसले जतिसुकै मानिसउपर एउटै झगडाका विषयको कुरा लेखी ल्याएको भए पनि लिई सो बमोजिम सबै कुराको सोही फिरादपत्रबाट इन्साफ गर्नु पर्छ, लेखिए भन्दा बढ्ता कुरा एउटै फिरादपत्रमा लेखी ल्याएको रहेछ भने फिरादपत्र फिर्ता गर्न भने हुँदैन बढी जति लेखी ल्याएको कुराको यस फिरादपत्रबाट इन्साफ गर्नुनपर्ने अरु अड्डा वा यसै अड्डाबाट अर्को फिरादपत्र दिए मात्र इन्साफ गर्नु पर्ने भनी सो फिरादपत्रबाट जति कुराको इन्साफ गर्नु नपर्ने हो उति कुरा सोही फिरादपत्रका शिरमा लेखी हाकिमले दर्खास्त गरी सो इन्साफ गर्नु नपर्ने जति कुरा फिरादपत्रवालालाई थाहा हुना निमित्त सोही फिरादपत्रको भरापाईमा लेखी दिनुपर्छ भन्ने उल्लेख भएको पाइन्छ ।
१०. देवानी फौज्दारी २ मुद्दाको एउटै फिरादपत्र दर्ता गर्न ल्याएको देखिएपछि उपरोक्त अ.बं ७२ नं.अनुसार एक मुद्दाको यसै फिरादपत्रबाट कारवाई गर्ने गरी दर्ता गरी दिने र एक मुद्दाको चाहिं यस फिरादपत्रबाट इन्साफ गर्नु नपर्ने अर्को फिराद दिएमात्र इन्साफ गर्नुपर्ने भनी सो फिरादपत्रको शिरमा लेखी हाकिमले दस्तखत गरी सो कुरा फिरादपत्रवाला लाई थाहा हुना निमित्त सो फिरादपत्रको भर्पाईमा लेखी दिनुपर्ने कर्तव्य अदालतको थियो, तर सो अनुसार नगरी देवानी फौज्दारी २ मुद्दाको दावीको एउटै फिरादपत्र दर्ता गरी कारवाई चलाउनु अदालतको गल्ती हो, यस किसिमको अदालतको गल्तीले देवानी फौज्दारी २ मुद्दाको एउटै नालिस दर्ता गरिदिएकोमा पछि आई देवानी फौज्दारी दुई मुद्दाको एउटै नालिसबाट कारवाई इन्साफ गर्न नमिल्ने भनी पुरै नालिस खारेज गरी दिँदा ऐनको विरुद्ध पक्षलाई आघात पुग्न जाने हुन्छ, अदालतको गल्तीले पक्षको हकमा आघात पुग्न नसक्ने सिद्धान्तलाई यस अदालतले मानिराखेको पनि छ, खास गरी उक्त अ.बं.७२ नं.ले निर्देश गरेबमोजिम एउटै फिरादपत्रमा देवानी फौज्दारी दुई मुद्दाको दावी भएकोमा एक मुद्दाको चाहिं यसै नालिसबाट कारवाई चल्न सक्ने नै हुँदा देवानी फौज्दारी २ मुद्दाको एउटै नालिस भएको भन्ने आधारले पुरै नालिस खारेज हुने भन्ने रायमा सहमत हुन मिलेन ।
११. अब वादी दावीको देवानी या फौज्दारी कुन चाहिं मुद्दाको यस नालिसबाट कारवाई इन्साफ गरी दिने कुन चाहिंमा अर्को नालिस गर्नुपर्ने भनी सुनाउने भन्ने प्रश्न आउँछ । निखनाई पाउँ भन्ने दावीको साथै बढी अंक राखी थैली जालसाज गरे भन्ने वादीमा अर्को जुन दावी लिएको छ त्यो पनि परिणाममा निखन्ने कुराको लागि नै हो अतः निखनाई माग्नलाई कानूनले निर्देश गरेबमोजिम विधि पुर्याई वादी आएको भएमात्र निखनाई पाउँ भन्ने हक प्राप्त भई निखनाई पाउँ भन्ने र जालसाजी समेतमा कारवाई चल्न सक्ने स्थिति आउने हुनाले पहिले त्यसतर्फ नै विचार गर्नुपर्ने हुन आयो । यस सन्दर्भमा लेनदेन व्यवहारको १६ नं.हेर्दा थैली तिरी निखनी लिन पाउने गैह्र कुरामा निखनाई पाउँ भनी अड्डामा उजूर गर्न आउँदा थैली थाहा भएकोमा पहिले नै थैलीसमेत ल्याई धरौट राख्नुपर्ने र थैली थाहा नभएकोमा सम्म प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र र मुख नमिलेकोमा बुझाउन पाउने ठहरी फैसला भई अपील तहसम्मबाट फैसला भएपछि वा ऐनले अपील नलाग्ने अवस्था पुगेको ३५ दिनभित्र सो तिर्नुपर्ने थैली ल्याई धारौट राख्नु पर्ने व्यवस्था भएको पाउँछौं । वादीले थैली थाहा नभएको भन्न नसकी रु. २६९९९। थैली हाली राजीनामा लिनु दिनु गरेको भन्ने कुरा फिरादपत्रमै उल्लेख गरेको छ, २६५००। लिनु दिनु गरी रु. २६९९९। थैली हाली रु. ४९९। बढी अंक राखी जालसाज गरेको भन्ने लेखाई भएपछि त्यसतर्फ जालसाजीमा मुद्दा परी कारवाई चली जालसाजी ठहरी फैसला भएपछि मात्र ठहरेबमोजिम हुने कुरा हो थैली थाहा भइसकेपछि जालसाजी भन्दैमा निखन्ने कुरालाई पहिले थैली धरौट राख्नु नपर्ने गरी ऐनले छुट दिएको छैन । थैली थाहा भएकोमा पहिले नै थैली धरौट राख्नुपर्ने उपरोक्त लेनदेन व्यवहारको १६ नं. ले बाध्यता गराएको छ उक्त उल्लेख भएबमोजिम थैली थाहा भएकोमा निखनी लिन चाहने वादीले लेनदेन व्यवहारको ११ नं.को म्यादभित्र थैलीसमेत धरौट राखी नालिस गर्नुपर्नेमा थैली धरौट राखी नालिस गरेको नदेखिएकोले म्यादभित्र थैली धरौट राखेको हुनुबेगर वादीले निखन्न पाउने अवस्थै नहुँदा वादी दावीको निखनाई पाउँ भन्ने र थैली जालसाजी भन्नेसमेत दुवै कुरामा ऐनले कारवाई चल्न सक्ने देखिएन ऐनले कारवाई नै चल्न नसक्ने भएपछि कुन मुद्दामा यस मुद्दाबाट कारवाई गर्ने कुन मुद्दामा अर्को नालिस गर्ने भनी सुनाउने भन्ने कुरा विचार गरिरहनु नै परेन ।
१२. तसर्थ उपरोक्त उल्लेख भएअनुसार थैली थाहा भएकोमा लेनदेन व्यवहारको १६ नं. बमोजिम सोही महलको ११ नं.को म्यादभित्र थैली धरौट राख्नुपर्ने नराखेको कारणबाट वादीको यो नालिस खारेज हुने ठहर्छ देवानी फौज्दारी २ मुद्दाको एउटै नालिसबाट कारवाई इन्साफ गर्न नमिल्ने भनी ०२८।१।१५।४ को डिभिजन बेञ्चले खारेज गर्ने गरेकोमा उक्त तर्कसम्म नमिलेको देखिन्छ । मुद्दा दोहर्याएमा लाग्ने कोर्टफी दाखिल भएको हुँदा अरु सजाय गर्नुपरेन, नियमबमोजिम मिसिल बुझाई दिनु ।
न्या. मीनबहादुर थापा,
न्या. विश्वनाथ उपाध्याय
हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल आश्विन १६ गते रोज २ शुभम् ।