निर्णय नं. ४७९९ - घरजग्गा खिचोलासमेत

निर्णय नं. ४७९९ ने.का.प. २०५० (ग) अङ्क १०
पूर्ण इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री कृष्ण जंग रायमाझी
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
सम्वत् २०४६ सालको दे.पु.इ.नं. – ७६
फैसला मिति : २०५०/३/२५/६
विन्तिपत्रवाला/वादी: का.जि.का.न.पा. वडा नं. १ ज्ञानेश्वर बस्ने अम्विका देवी उपाध्याय ।
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने पोषणनाथ उपाध्यायसमेत ।
मुद्दा : घरजग्गा खिचोलासमेत ।
(१) प्रतिवादीको राजिनामाको किल्लाबाट निजको पश्चिम किल्ला बुना महारानीको वंगला घरदेखि पूर्वपट्टिको ढल भन्ने छ सो बंगला घर राजिनामाबाट वादीले लिएको देखिने भएपछि सो घरदेखि पूर्व तर्फको ढल प्रतिवादीको राजिनामाको साँध मान्नु पर्ने ।
(प्र. नं. १९)
(२) वादीले राजिनामा लिँदा ग्यारेज घर र चर्पी लिएको देखिँदैन । प्रतिवादीको राजिनामामा भने ग्यारेज घर र चर्पीसमेत प्रष्ट रुपमा उल्लेख भएको देखिन्छ । वादीले राजिनामा लिँदा बंगला घर १ र भत्कन लागेको पुरानो २ तले घर १ सम्म खरिद गरेकोमा सो घरको मोहडा पश्चिम भन्ने उल्लेख छ । न.नं. २ को ग्यारेज घरको मोहडा प्रस्तुत मुद्दाको ०२९ सालको नक्सा र प्रमाण मिसिल सामेल रहको ०१९ सालको नक्साबाट समेत दक्षिण तर्फ रहेको देखिन्छ । प्रतिवादीले राजिनामा लिँदा ग्यारेजको मोहडा दक्षिण भन्ने हुँदा मोहडाको दृष्टिबाट पनि सो ग्यारेज र चर्पी घर वादीको भन्न नमिल्ने ।
(प्र. नं. २०)
(३) किल्ला वदरमा उभय पक्ष कसैको दावी नभए पछि उत्तरको सो किल्लासम्म वादी प्रतिवादी दुवै थरीको जग्गा रहेछ भन्ने कुरामा दुवै थरीको मुख मिलेकै सम्झनु पर्ने ।
(प्र.नं. २०)
(४) २०२९ सालको नक्साको विवादको न. नं. १ को पूर्व पट्टि र पश्चिम पट्टि समेत पर्खाल देखिन्छ । वादीले पर्खाल लिएको नभै निजको राजिनामाको पूर्व किल्ला पर्खालको साँधसम्म भएकोमा सो साँध न. नं. १ को पूर्व पट्टिको पर्खाललाई मान्दा पश्चिम पट्टिको पर्खाल वादीको राजिनामा भित्र पर्न जाने भै वादीले किन्दै नकिनेको पर्खाल पनि निजले प्राप्त गर्ने अवस्था पर्न आउने ।
(प्र. नं. २१)
(५) प्रतिवादीले पर्खाल भत्काई बनाएको भन्ने वादीको कथनबाट पनि साविकदेखि नै प्रतिवादीको पर्खाल रहेको कुराको पुष्टि हुने ।
(प्र. नं. २१)
(६) प्रतिवादीले राजिनामा गरी लिँदा घर जग्गामा लगाएको पर्खाल समेत खरिद गरेको र वादीको राजिनामामा पर्खाल साँध भनेको सोही पर्खाल वादी प्रतिवादी बीच सीमाना कायम भै निजहरुको साँधमा उत्तर दक्षिण रहेको तथ्य प्रमाण मिसिलको २०२० सालको नक्साबाट पनि देखिन्छ । सा १ नं. को जग्गा वादीलाई दिलाउने हो भने माथि लेखिए अनुसार वादीले समेत स्वीकार गरेको प्रतिवादीको उत्तर साँध वासुदेव समशेरको घर जाने बाटोसम्मको जग्गा प्रतिवादीले नपाउने हुन जान्छ । साथै वादीको राजिनामाको पूर्व किल्लामा पूर्वको विर्ता र बुना महारानीको पर्खाल साँध भन्ने उल्लेख भएकोमा विर्ताको साँधमा रहेको पर्खालसम्म नै वादीलाई जग्गा दिएको मान्दा बुना महारानीको स्वामित्वमा पर्खाल मात्र रहन जाने भै त्यसरी पर्खाल मात्र बाँकी राख्नु पर्ने कुनै औचित्य नदेखिने ।
(प्र. नं. २१)
(७) जग्गा यकिन गर्न चारकिल्लाको सर्वाधिक महत्व हुने ।
(प्र. नं. २२)
निवेदक तर्फबाट :– विद्वान अधिवक्ता श्री प्रचण्डराज अनिल
विद्वान अधिवक्ता श्री प्रकाश बस्ती
विद्वान अधिवक्ता श्री वसन्त राम भण्डारी
प्रत्यर्थी तर्फबाट :– विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव प्रसाद ढुङ्गाना
विद्वान अधिवक्ता श्री शम्भु थापा
विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
फैसला
न्या. उदयराज उपाध्याय
१. सर्वोच्च अदालत पूर्ण इजलासबाट मिति २०४४/२/१५ मा भएको फैसला पूर्ण इजलासबाट दोहोर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४६/७/२७ मा लेखी आए अनुसार पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. यस का. जि. वानेश्वरको बुना महारानीको क्याम्प मध्ये पूर्व वासुदेव शम्सेरको बिर्ता र बुना महारानीको पर्खाल साँध र वहाँकै बंगला घर देखि दक्षिण १७ फिट पूर्व वहाँकै जेठा छोरा मेहर सम्सेरको बिर्ताको साँध, पश्चिम मूल सडक, उत्तर गुहेश्वरीको रथ लग्ने बाटो यति ४ किल्ला भित्रको बिर्ता जग्गा रोपनी ७ र त्यसैमा बनेको उत्तर दक्षिण लङको दक्षिण मोहडाको ल.फु. ४२ ग.फु. २१ को १ तले वंगला भुई घर १ र मेहर शम्शेरको घरको किल्ला गारोमा जोडिएको पुरानो उत्तर दक्षिण लङको पश्चिम मोहडाको ल.फु. ३९ ग.फु. १४ को १ नाले २ तले घर सो घरहरुले चर्चेको लिग लगापात समेतको उक्त घर जग्गा समेत रु. १६,१०१/– मा २००७/४/२८/४ मा बुना महारानीबाट फाछ गरी लिई भोगी आएको बंगला भुइघरलाई किलास समेत थपि बसी आएकोमा उक्त पुरानो भुई बारदली र झ्यालढोका फेर्न गाह्रो समेत मर्मत गर्ने सामान ल्याई राखेकोमा २०२०/२/१७ का दिन अं. १० बजे विपक्षीहरुका मानिस समेत आई पोषण नाथको घरको उत्तर पट्टिको गारो फोरी मेरो बारीमा आउन हुने गरी ढोका झिक्न लागेको र पोषणनाथको घर पश्चिम पट्टिको सडक पश्चिम हक भोगको जग्गामा पर्खाल भत्काई किन यसो गरेको भन्दा जे गर्छस गर भनी जवाफ दिएकाले घर जग्गा रोपनी १ सो घरमा रहेको सामानको बिगो रु. २६४०/– भराई रु. १५,०००/– पर्ने घर जग्गाको खिचोला मेटाई चलन चलाई पाउँ भन्ने फिरादी दावी ।
३. उक्त वादी दावीको घरजग्गा र ग्यारेज वादीको होइन । घरधनी पोषणनाथको हक भई २०११ सालसम्म वहाँले र पछि आजसम्म खिचोला नभै भोगी आएको छु । २०११ सालमै पोषणनाथको आज्ञा बमोजिम मर्मत गरी सकेको र साविक कै ठाउँमा पर्खाल बनाएको छु । वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको दामोदर र रामराजको संयुक्त प्रतिउत्तर जिकिर ।
४. उल्लेखित जग्गा घर मिति २००८/६/१/७ मा गरी दिएको राजिनामा जालसाँजी हो भन्ने समेत व्यहोराको पोषणनाथको वयान ।
५. धनमाल कब्जा गरी लिए भनी वादीले दावा गरे तर्फ लुटपीटको अपराध भएको मितिले ९० दिन भित्र फिराद दायर गरेको हुनुपर्ने त्यो फिराद ९० दिन नाघी दायर भएको देखिन्छ । धनमान लिए खाए भनी वादीले दावा गरे तर्फ इन्साफ दिन नमिल्ने हुँदा खारेज गर्ने र घरजग्गा तर्फ बुना महारानीबाट वादीले र पोषणनाथले पनि राजिनामा लिएको पोषणनाथले राजिनामा पाएको घर जग्गा मध्ये केही जग्गामा कमलादेवी सन्तविरसँग जग्गा खिचोला मुद्दा परी सर्वोच्च अदालतबाट पोषण नाथले सन्तविरसँग मिलापत्र गर्दा उक्त मिलापत्रबाट वादीले बुना महारानीबाट मिति २००७/४/२८ मा लिएको राजिनामालाई कायम मानी पोषणनाथ समेतले मिलापत्र गर्नु भएको वादी दाबिको घर जग्गा देखि पश्चिम तर्फ उत्तर दक्षिण लम्वाई भएको ठाडो पर्खाल २०१९/१/२६ मा भएको नक्सामा नदेखिएको वादी दाबिको घर जग्गामा कब्जा गरे गराए लिएको नभए मिति २०२०/६/३० मा भएको नक्सा नपर्ने देखिएको हुँदा प्रतिवादीहरुले वादी दावीको घर जग्गामा दावी गरी कब्जा जमाई पर्खाल समेत लगाई खिचोला गरेको ठहर्छ भन्ने समेत शुरु काठमाडौं जिल्ला अदालतको फैसला ।
६. खिचोला गरेको ठहराई गरेको फैसला गरेकोमा चित्त बुझेन भन्ने रामराज, दामोदर, अम्बिका देवी, पोषणनाथको वाग्मती अञ्चल अदालतमा परेको पुनरावेदन–पत्र ।
७. घर बनाउन सिमेण्ट माल सामान कब्जा गरेको बिगो पाउँ भन्ने दावी गरेकोलाई यो बिगो लुटपीटको १ नं. को परिभाषा भित्र परेको, ३ महिना म्याद नाघि सो दावी गरेकोले वादी दावी खारेज गरेको इन्साफ शुरुको मनासिव छ । जग्गा घर तर्फ मिति २०२९/८/२७ गतेमा यस अदालत मार्फत भएको न. नं. ३, ६, १ को जग्गा र २ नं. को घरमा झगडा जनाई न. नं. १ देखि पश्चिम तर्फ भत्केको पर्खाल भनी जनिएको ४/७ को बीचमा सिमाना छुट्याएको धर्सो र न. नं. ३ देखि पूर्व पश्चिम दुवैतर्फको सिमाना छुट्याएको धर्सो देखिएको यो जग्गाको यो मुद्दा पर्नु भन्दा अगावै पोषणनाथ र सन्तवीर समेतको जग्गा मुद्दामा मिति २०१९/१/२६ गतेमा भएको नक्सा हेर्दा उक्त लेखिएको सिमाना छुटाएको धर्सो रेखाहरु नदेखिएको र मिति २०२९/८/२७ गतेमा भएको न. नं. २ को घरमा मा तला समेत खोली खरीद गरेको प्रतिवादी पोषणनाथतर्फबाट खरिद हुँदा २ नाले ग्यारेज घर भन्नेसम्म कायम हुने यस अदालतबाट मिति २०२९/८/२७ मा भई आएको नक्सा नं. ८ मा जनिएको जग्गाको बंगला घर देखि पूर्व १७ फिट घर जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहराइएको शुरुको इन्साफ मनासिव ठहर्छ भन्ने समेत वाग्मती अञ्चल अदालतको फैसला ।
८. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन–पत्र ।
९. लुटपीट र खिचोला मुद्दामा अ. नं. ७२ नं. ले दुवै हेर्न हुँदैन भन्ने तर्कलाई देवानी फौज्दारी एउटा दावा भएको दुवै खारेज गर्न मिल्दैन र मुख्य दावा खिचोला हुँदा लुटपीटलाई गौण मानी छोडी खारेज गरेको मिलेकै छ । अब जग्गा तर्फमा २०१९ सालको नक्साको न. नं. ३ मा सडक जनिएकोले सो घरको मोहडा दक्षिणतर्फ रहेको प्रष्ट हुन आउँदछ । पुनरावेदक वादीको जग्गाको किल्लाहरु उक्त तीनैको साँध देखिएको छ । सो कुनै नक्सामा पनि देखिन आउँदैन । उपरोक्त कारण तथा सबुद प्रमाणबाट खिचोला तर्फ शुरुको इन्साफ सदर गरी अञ्चल अदालतले खिचोला गरेको ठहर्याएको इन्साफ नमिलेको हुँदा उल्टी हुन्छ । माल सामान कब्जा गरे भन्ने लुटपीटको परिभाषा भित्र नपरेको हुँदा शुरु र अञ्चल अदालतले खारेज गर्ने गरेका इन्साफ मनासिव छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन वेञ्चको फैसला ।
१०. उक्त इन्साफमा चित्त बुझेन इन्साफ जाँच गरी पाउँ भनी वादीको श्री ५ महाराजाधिराजका हजुरमा विन्ति–पत्र गरी इन्साफ जाँच गरी दिनु भन्ने हुकुम प्रमाङ्गी भई आएको ।
११. मिति २०२९/८/२७ मा भएको नक्सामा न.नं. २ को घर र न.नं. १ को बारी र न.नं. ३ को जग्गा समेतमा झगडा परेको देखिन्छ । प्रमाणमा ल्याएको वादी पोषणनाथ र पेटबोलीबाट बुझिएका प्रतिवादी सन्तवीर लामा समेत भएको मिति २०२१/४/२२ को मिलापत्र भएको जग्गा खिचोला मुद्दामा मिति २०१९/१/२६ गते भएको नक्सा र हाल यस मुद्दामा मिति २०२०/८/२७ मा भएको नक्सा भिडाई हेर्दा २०१९ सालमा भएको नक्साको न.नं. ६, ८ र न.नं. ९ को उत्तर वासुदेव सम्शेरको घर जानेबाटो र पूर्व समर सम्शेरको बारी देखिने र हाल मिति २०२९/८/२७ मा भएको नक्साको न.नं. १ को बारी र न.नं. २ को घरको उत्तरपट्टि गुहेश्वरीको रथ लाने बाटो र वासुदेव सम्शेरको घर जाने बाटो एउटै देखिने र पूर्वमा न.नं. ४ बुता महारानीको घरबाट निजको पर्खाल साँध न.नं. १ बाट हुँदै गुहेश्वरीको रथ लाने बाटो र वासुदेव सम्शेरको घर जाने बाटोसम्म गएको देखिनाले मिति २०२९/८/२७ को नक्साको न.नं. १ को बारी र न.नं. २ का झगडीया घर समेत वादी अम्विका देवी र प्रतिवादी पोषणनाथले लिएको राजिनामाको एउटै किल्लामा पर्न गएको प्रष्ट छ । २००७/४/२८ को वादी अम्बिका देवीको घरायसी राजिनामा पास गरी पाउँ भनी अदालतमा तालिम परेको मितिको आधारबाट प्रतिवादी पोषणनाथको राजिनामा भन्दा वादी अम्बिका देवीको राजिनामा अघिल्लो मितिको भएकोमा विवाद देखिएन, दोहोरो लिखत हुँदा पछिल्लो लिखत वदर गरी पाउँ भन्ने फिराद दावी नहुँदा यस मुद्दाबाट लिखतको सम्बन्धमा निपटारा गर्न मिल्दैन भन्ने प्रतिवादी तर्फका विद्वान अधिवक्ताको भनाई भएकोमा आफूले पाएको राजिनामाको नाताबाट आफ्नो हकको घर जग्गामा खिचोला उठेको अवस्थामा त्यस्तो घर जग्गामा पक्ष विपक्षीले पाएका राजिनामा हेर्न पर्ने हुन्छ र हक छुटाए लिएको कुरामा विवेचना गर्नु पर्ने हुँन आउँछ । सो सन्दर्भमा विचार गर्दा २०२९/८/२७ को नक्सामा न.नं. १ को वारी र न.नं. २ को घर वादी अम्बिका देवीको जेठो तमसुकको किल्ला भित्र पारी प्रतिवादीले पाउनु भन्दा अघि नै वादीले त्यस्तो घर जग्गामा दाता बुना महारानीबाट हक छुटाई लिई सकेकोले त्यस्तो घर जग्गालाई प्रतिवादी पोषणनाथले उनै दाता बुना महारानीबाट २ तल्ले मोटर ग्यारेज समेत भनी पछि लेखाई लिएको नाताबाट त्यस्तो घर जग्गामा प्रतिवादीको हक पुग्छ भन्न मिल्दैन । मिति २०२९/८/२७ को न.नं. ३ को झगडीया जग्गातर्फ हेर्दा वादीले प्रतिवादीको लिखतको पश्चिम सिमाना न.नं. ६ लाई ढल भनी देखाएकोमा प्रतिवादीले सो न.नं. ६ मेरो ढल सिमाना होइन न.नं. ७ को ढल मेरो पश्चिममा सिमाना हो भनी देखाउनु भएकोमा वादी पोषणनाथको र प्रतिवादी कमला देवी समेत भई मिति २०२१/४/२२ मा सन्तवीरसँग भएको जग्गा खिचोला मुद्दाको मिलापत्रको मिसिलमा रहेको २०१९/१/२६ को नक्सा हेर्दा प्रतिवादी पोषणनाथले मेरो जग्गा १३ नं. लेखिएको ठाउँदेखि बंगलाको बीचमा साविक ढल भई सो ढल बंगलाको छेउ हुँदा उत्तर तिर पोखरीमा खसेको छ भनी नक्सा जिकिरमा लेख्नु भएको पाइन्छ । हाल मिति २०२९/८/२७ मा भएको नक्साको न.नं. ७ बीचमा नरहनुको अतिरिक्त उत्तरतिर नगै दक्षिणतर्फ आएकोले न.नं. ७ को ढल मेरो पश्चिम सिमानाको भन्ने प्र. पोषणनाथको भनाई जिकिर अमिल्दो देखिन्छ न.नं. ८ को जग्गामा रहेको घर अम्विका देवीको भएको मा विवाद छैन । त्यस्तो घर वादी अम्विका देवीले बुना महारानीबाट खरिद गरी लिँदा उत्तर दक्षिण लंगको दक्षिण मोहडाको लम्वाई फिट ४२ र जग २१ फिट उल्लेख भएकाले न.नं. ८ मा रहेको घरको पूर्व पश्चिम चौडाई हाल नक्सामा नाप्दा अन्दाजी फिट ३८ हुन आएको उक्त न.नं. ८ मा रहेको घर देखि पूर्वपट्टि १७ (सत्र) फिटसम्म मेरो जग्गा छ भन्ने वादीको भनाई झुठ्ठा छ, भन्ने प्रतिवादी तर्फका विद्वान अधिवक्ताको जिकिर भएकोमा वादीको राजिनामामा उल्लेख भएको घरको लम्वाई ४२ फिट देखिन्छ । मिति २०२९/८/२७ को न.नं. ८ मा रहेको वादीको घरको उत्तर दक्षिणको लम्वाई समेतबाट हाल नाप्दा ८० फिट हुन आउने हुँदा वादीले बढाएको घर पूर्व पट्टिको भन्न सक्ने स्थिति छैन । २०१९/१/२६ को नक्सामा न.नं. ९ को घर र न.नं. ६ को जग्गालाई वादी अम्विका देवीले मेरो हो भनी प्रतिवादी पोषणनाथले किटान साथ भन्न सक्नु भएको छैन र हाल २०२९/८/२७ मा भएको नक्सा र २०१९/१/२६ मा भएको नक्सा भिडाउँदा उक्त २०१९/१/२६ को नक्साको न.नं. १० को उत्तर ढोका नदेखिने र न.नं. ६ मा पर्खाल र न.नं. ९ र न.नं. १० को घरको बीचमा बार्दली समेत नदेखिने वादीको घर जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहराएको शुरु जिल्ला अदालतको इन्साफ मनासिव ठहराएको वाग्मती अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुन्छ भन्ने समेत यस अदालत डिभिजन वेञ्चको मिति २०३८/६/२ को फैसला ।
१२. उक्त २०३८/६/२ को फैसला दोहोर्याई पाउँ भन्ने दामोदर प्रसाद उपाध्याय समेतको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र परेकोमा उक्त मुद्दा फुलवेञ्चबाट दोहोर्याई हेरी दिनु भन्ने वक्स भई आएको हु.प्र. बमोजिम पूर्ण इजलासको लगतमा दर्ता भएको । राजिनामा लिखत प्रमाण तथा नक्सा समेतबाट वादी दावीको हाल सर्भेमा कायम भएको कि.नं. ९४२ प्रस्तुत मुद्दामा भएको मिति २०२९/८/२७ को नक्साको न.नं. १ को वारी न.नं. ३ को जग्गा तथा न.नं. २ को ग्यारेज घर पर्खाल समेतको घरजग्गाहरु वादीको हकको नदेखिई प्रतिवादीको हकको देखिन आएकोले वादी दावी बमोजिम प्रतिवादीहरुले खिचोला गरेको देखिन आएन अतः वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहर गरेको सर्वोच्च अदालत डिभिजन वेञ्चको २०३८/६/२ को निर्णय मिलेको देखिएन भन्ने समेतको मिति २०४४/२/१५ को स.अ. पूर्ण इजलासको फैसला ।
१३. उक्त फैसला पूर्ण इजलासबाट दोहोर्याई हेरी पाउँ भनी अम्बिकादेवी उपाध्यायले दिएको विन्तिपत्रमा पूर्ण इजलासबाट दोहोर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने हुकुम बक्स भए बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलासको लगतमा दर्ता भएको ।
१४. यसमा त्यस अदालतको पूर्ण इजलासबाट छिनिएको विन्तिपत्रमा लेखिएको घर जग्गा खिचोला मुद्दाको मिसिलझिकी पूर्ण इजलासबाट दोहोर्याई हेरी कानून बमोजिम निर्णय गर्नु प्रमाङ्गीको जनाउ विन्तिपत्रवालालाई दिनु भन्ने ह. प्र. बक्स भई नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादी अम्बिका देवी उपाध्यायको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री प्रचण्डराज अनिल, श्री प्रकाश बस्ती एवं श्री बसन्तराम भण्डारीले वादीले २००७ सालमा घरजग्गा खरिद गरी मुद्दा परी राजिनामा २०१० मा पारित भएको र प्र. पोषणनाथले २००८ सालमा सोही व्यक्ति बुना महारानीबाट घर जग्गा खरिद गरेकोले मुद्दा पर्दा पर्दै खरिद गरेको प्रतिवादीको राजिनामा कायम हुने होइन वासुदेव सम्शेर समेतको घरमा जाने बाटो भन्ने प्रतिवादीको किल्ला र गुहेश्वरी जाने बाटो भन्ने वादीको किल्ला एउटै हो, वादीले जग्गा लिई सकेपछि सोही जग्गा प्रतिवादीलाई राजिनामा दिने कुरा औचित्यको दृष्टिले पनि मिल्दैन, वादीको राजिनामाको पूर्व साँधमा वासुदेव सम्शेरको विर्ता र बुना महारानीको बंगला घर देखि पूर्व १७ फिट भन्ने भएकोमा २०२९ को नक्साको न. नं. ८ को घर मर्मत गर्दा उत्तर तर्फ बढाएकोले पूर्व तर्फको १७ फिट जग्गा बाँकी नै छ, विवादित स्थानको पर्खाल साविक देखिको होइन अघि विवाद पर्दा डिल्लीबजार प्रहरी थानाले काठमाडौं मेजिस्ट्रेट अफिसलाई प्रतिवेदन दिएकोमा दामोदर उपाध्यायले अघि भएको क्याम्पा भत्काई क्याम्पा बनाउन लागेको भन्ने व्यहोरा परेको छ २०१९ को नक्साको न. नं. ७ मा गुम्बज जस्तो रहेकोलाई भत्काई पर्खाल बनाएको हो विवाद परेको २०२९ सालको न.नं. १, २, ३ को जग्गा घरवारीको हो । यस सम्बन्धमा २०३८/६/२ मा संयुक्त इजलासबाट भएको फैसला न्याय संगत छ । सोही फैसला सदर हुनु पर्दछ भनी र प्रत्यर्थी प्रतिवादी दामोदर उपाध्यायको तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री पिताम्वर सिलवाल एवं श्री हरिहर दाहाल तथा प्रत्यर्थी प्रतिवादी पोषणनाथ तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव प्रसाद ढुङ्गाना, विद्वान अधिवक्ता श्री शम्भु थापा एवं विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले फिरादको प्रकरण (२) मा वंगला भूई घरलाई तल्ला र विलास समेत थपी ठूलो घर बनाएको भन्ने वादी लेखाई हुँदा २०२९ सालको न. नं. ३ को चौर तर्फ वादी बढ्न मिल्दैन पूर्व र दक्षिण मेहर सम्शेरको साँध भनी वादीले जग्गा किने भनेकोमा विवादको घर मेहर सम्शेरको साँधमा परेको नक्साको भौतिक स्थितिबाट देखिन आउँदैन । घर निर्माणलाई राखेको सामान लुटपिट गरे जग्गा खिचोला गरे भन्ने मिश्रित दावी हुँदा फिराद कानूनसंगत छैन । पोषणनाथले लिखत गरी लिएकोले निज पेटबोलीबाट बुझिएका हुने । निज उपर वादीको दावी छैन । वादीको राजीनामामा पर्खाल साँध भन्नेसम्म छ । प्रतिवादी पोषणनाथले राजिनामा दिँदा पर्खाल समेत लिएको छ । पुरानो पर्खाल भत्काई प्रतिवादीले नयाँ बनाए भन्ने फिराद व्यहोराबाट साविकमा पर्खाल भएको तथ्यलाई मानेकै देखिन्छ । वादीलाई राजिनामा दिँदा नाप फिट किटिएकै छ । वादीले राजिनामा लिएपछि प्रतिवादीले राजिनामा लिएको हुँदा दोहोरो लिखत भएको भनिए पनि लिखत बदरमा वादीको दावी छैन । २०२९ सालको नक्साको न.नं. १ को पश्चिम तर्फ पर्खाल छ । सो भत्काई पाउँ भन्ने वादी दावी छैन । सो पर्खाल नाघेर वादीको जग्गा हुने स्थिति हुँदैन । २०२० सालमा मुद्दा पर्नु भन्दा अघिनै वासुदेव सम्शेरले क्षेत्र राजेश्वरीलाई २०११ सालमा र क्षेत्र राजेश्वरीले ईन्दिरा कुमारीलाई २०१९ सालमा राजिनामा गर्दा पश्चिम किल्लामा पोषणनाथको पर्खाल भन्ने उल्लेख गरेकोबाट पनि साविकदेखि पर्खाल रहेको प्रमाणित हुन्छ । २००८ साल देखिनै प्रतिवादी तर्फको भोगमा रहेको घर जग्गा २०२० सालमा आएर झगडा पर्यो भन्ने वादी कथन मिलेको छैन । विवादित जग्गामा वादी दावी पुग्न नसक्ने ठहर्याएको २०४४/२/१५ को पूर्ण इजलासबाट भएको फैसला न्याय कानून अनुकूल हुँदा सो फैसला सदर हुनु पर्दछ भनी प्रस्तुत गर्नु भएको वहस सुनियो ।
१५. आज निर्णय सुनाउन तारिख तोकिएको प्रस्तुत मुद्दामा प्रस्तुत हुन आएको विद्वान कानून व्यवसायीहरुको वहसलाई समेत दृष्टिगत गरी पूर्ण इजलासबाट २०४४/२/१५/६ मा भएको फैसला मिलेको छ छैन भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
१६. मुद्दाको विषयवस्तु तर्फ हेर्दा का. जि. ज्ञानेश्वरको स्वर्गीय बुना महारानीको क्याम्पा जग्गा मध्ये पूर्व वासुदेव सम्शेसको विर्ता र बुना महारानीको पर्खाल साँध र वहाँकै वंगला घरदेखि १७ फिट पूर्व वहाँकै जेठा छोरा म. क. मेहर सम्शेरको विर्ता साँध पश्चिम मूल सडक साँध उत्तर गुहेश्वरीको रथ लाने बाटो साँध दक्षिण निजकै जेठा छोराको विर्ता साँध यति चार किल्ला भित्रको विर्ता जग्गा रोपनी ७ र त्यस्मा बनेको उत्तर दक्षिण लगको दक्षिण मोहडाको लम्बाई फुट ४२ जग फुट २१।। को एक तले बंगला घर एक र वहाँ कै जेठा छोरा म. क. मेहर सम्शेरको घर किलास गारोमा जोडिएको पुरानो भत्कन लागेको उत्तर दक्षिण लगको पश्चिम मोहडाको लम्वाई ३९ जग फुट १४ को १ नाले २ तल्ले घर र घरले चर्चेको लगापास समेत घर जग्गा २००७/४/२८ मा फाछे गरी लिई भाग गरी आएकोमा मिति २०२०/२/१७ का दिन प्रतिवादी दामोदरले २०/२५ जना साथमा ल्याई मैले निर्माण कार्य गर्न राखेको इँटा, चून, बालुवा, सुरकी, सिमेण्ट समेत प्रयोग गरी म बसेकै घरको पेटीबाट उत्तर दक्षिण पर्खाल लगाई बाटो बन्द गरी दिए यही पर्खालबाट उत्तर तर्फ पनि पर्खाल लगाई उक्त २ तले पश्चिम मोहडाको ग्यारेज समेतको घर आफ्नो कम्पाउण्ड भित्र पारी पोषणनाथको घर र उक्त मेरो २ तले घरको किलास जोडिएको ठाउँमा निजको घर र मेरो घरमा आउन जान हुने गरी वार्दली जोडे र पोषणनाथको घर पश्चिमको मेरो जग्गाको समुच्चा पर्खाल भत्काई उक्त २ तले घर र एक रोपनी जग्गा समेत आफ्नो कब्जामा लिई खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने अम्बिका देवीको फिराद दावी भएकोमा फिराद लेख बमोजिम ग्यारेज घर जग्गा समेत वादीको हकको होइन सो ग्यारेज घर जग्गा पोषणनाथको हकको भै २०११ सालसम्म वहाँल र त्यसपछि राजिनामा बमोजिम मैले भोग गरी आएको छु ।२०११ साल मै घर मर्मत तथा ठाउँ ठाउँमा भत्केको पर्खाल बनेको हो । झुठ्ठा दावीबाट फूर्सद गरी पाउँ भन्ने समेत दामोदर उपाध्याय समेतले प्रतिवाद गरेको देखिन्छ ।
१७. मिसिल सामेल रहेको २०२९/८/२७ को नक्सा कुण्डलीबाट न. नं. १ को वारी न. नं. २ को घर र न. नं. ३ को जग्गामा झगडा परेको देखिन्छ ।
१८. यस सन्दर्भमा वादी अम्बिका देवी उपाध्याय र प्रतिवादी पोषणनाथ उपाध्यायले एउटै जग्गा धनी बुना महारानीबाट राजिनामा लिएको कुरामा विवाद छैन । मूल सडक साँध देखि पूर्व वासुदेव सम्शेरको विर्ता र आफ्नो पर्खाल साँध र मेरो बंगला घरदेखि १७ फिट पूर्व रहेको मेरो जेठो छोरा मे.क. सम्शेरको विर्ता साँध देखि पश्चिम गुहेश्वरीको रथ ल्याउने बाटो साँध देखि दक्षिण निज जेठो छोराको विर्ता साँध देखि उत्तर यति ४ किल्ला भित्रको ७ सोपनी जग्गा र त्यसमा बनेको उत्तर दक्षिण लगको दक्षिण मोहडा लम्वाई फिट ४२ जग फिट २१।। को एक तले बंगला भुँई घर १ र मेरो जेठो छोरा मेहर सम्शेरको किलास गारोमा जोडिएको पुरानो भत्कन लागेको उत्तर दक्षिण लगको पश्चिम मोहडाको लम्वाई फिट ३९ गज फिट १४ को १ नाले २ तले घर र सो घरले चर्चेको लगापात भन्ने वादी अम्विका देवीले २००७/४/२८ मा लिएको राजिनामा र बुनामहारानीको बंगलादेखि पूर्व पट्टिको ढल र मूल सडक नक्साल जाने बाटोदेखि पूर्व समर सम्शेरको चोकदेखि पश्चिम वासुदेव सम्शेस समेतको घरमा जाने बाटोदेखि दक्षिण सूरराज सम्शेरको घर क्याम्पा देखि उत्तर यति ४ किल्ला भित्रको ५२ रोपनी मध्ये ६ रोपनी जग्गा र सो जग्गामा बनेको पश्चिम मोहडा उत्तर दक्षिण लगको १ नाले ७ कवल ३ तले पक्की गारो जस्ता पाताको छाने भएको घर र सो घरसँग उत्तरपट्टि जोडिएको दक्षिण मोहडा २ तले मोटर ग्यारेज घर र सो घरदेखि पश्चिम पट्टि बनेको चर्पीघर र सो घर जग्गामा लगाई राखेको पर्खाल समेत र सो घरबाट मूल सडक निस्कने बाटो समेत र सो घर जग्गा बाटो पर्खालले चर्चेको लगापात भन्ने प्रतिवादी पोषणनाथले २००८/६/५ मा लिएको राजिनामा उल्लेख भएको पाईन्छ ।
१९. प्रतिवादी पोषणनाथको राजिनामाको किल्लाबाट निजको प्िशचम किल्ला बुना महारानीको बंगला घरदेखि पूर्वपट्टिको ढल भन्नेछ, सो बंगला घर राजिनामाबाट वादीले लिएको देखिने भएपछि सो घरदेखि पूर्व तर्फको ढल प्रतिवादीको राजिनामाको साँध मान्नु पर्ने प्रष्ट छ । २०२९ सालमा नक्सा हुँदा वादीले न. नं. ६ लाई र प्रतिवादीले न. नं. ७ लाई ढल भनेको देखिन्छ । प्रमाण मिसिल सामेल रहेको ०१९ सालको नक्सामा न. नं. १२ लाई ढल भनिएको छ । दुवै नक्साको भौतिक स्थितिबाट देखाइएको न. नं. ७ र न. नं. १२ को ढल एकै मिलानको देखिन्छ । वादीको राजिनामाबाट पूर्व साँध बंगला घरदेखि १७ पूर्व मेहर शम्सेरको बिर्ता साँध भन्ने देखिन्छ । वादीले राजिनामा लिँदा उक्त १ तले बंगला घरको चौडाई २१।। फिट रहेको देखिन्छ । सो घरमा वादीले पूर्व पश्चिम किलास गारो थपी चौडाई बढाएकाले १७ फिट पूर्व तर्फको जग्गा बाँकी नरहेको भन्ने प्रतिवादीको जिकिर रहेको र घरलाई तल्ला र किलास थपी ठूलो बनाएको तथ्य वादीले फिरादको प्रकरण (२) बाट स्वीकार गरेका साथै मिसिल सामेल रहेको २०२९ को नक्साबाट न.नं. ८ को वादी अम्विका देवीको घरको चौडाई पू.प. ३८ फिट देखिनाले १७ फिटको पूर्व पट्टि रहेको भनेको ढल वादीको पेटी भएर जानु पर्ने स्थिति देखियो । यसबाट दावी बमोजिम २०२९ सालको नक्साको न. नं. ६ लाई ढल र हाल कायम रहेको वादीको घरदेखि पुनः १७ फिट पूर्व किल्ला कायम गर्न नमिल्ने भई न. नं. ७ को ढलदेखि पूर्व तर्फको न. नं. ३ को जग्गा प्रतिवादीको राजिनामा बमोजिम प्रतिवादीकै हकको देखिन आयो ।
२०. मिसिल सामेल रहेका ०२९/८/२७ को नक्सामा देखाइएको विवादको न. नं. २ मा ग्यारेज घर र चर्पी समेत देखिन्छ । वादीले राजिनामा लिँदा ग्यारेज घर र चर्पी लिएको देखिँदैन । प्रतिवादीको राजिनामामा भने ग्यारेज घर चर्पी समेत प्रष्ट रुपमा उल्लेख भएको देखिन्छ । वादीले राजिनामा लिँदा बंगला घर १ र भत्कन लागेको पुरानो २ तले घर १ सम्म खरिद गरेकोमा सो घरको मोहडा पश्चिम भन्ने उल्लेख छ । न. नं. २ को ग्यारेज घरको मोहडा प्रस्तुत मुद्दाको ०२९ सालको नक्सा र प्रमाण मिसिल सामेल रहेको ०१९ सालको नक्साबाट समेत दक्षिण तर्फ रहेको देखिन्छ । प्रतिवादीले राजिनामा लिँखा ग्यारेजको मोहडा दक्षिण तर्फ रहेको देखिन्छ । प्रतिवादीले राजिनामा लिँदा ग्यारेजको मोहडा दक्षिण भन्ने हुँदा मोहडाको दृष्टिबाट पनि सो ग्यारेज र चर्पी घर वादीको भन्न मिलेन । प्रमाण मिसिल सामेल रहेको २०१९ र २०२० सालको नक्साको भौतिक स्थितिबाट न. नं. २ को ग्यारेज घर प्रतिवादी पोषणनाथको ३ तल्ले पक्की घरसँग जोडिएको प्रष्ट रुपमा देखिएकोले नक्सा किल्ला एवं लिखत समेतबाट वादी दावीको न. नं. २ को ग्यारेज घर समेत वादीको नभै प्रतिवादी पोषणनाथकै हकको देखिन आयो ।
२१. वादी प्रतिवादी दुवै थरिको राजिनामाको उत्तर किल्लाले एउटै साँधलाई जनाएको पोषणनाथ विरुद्ध कमला देवी समेत भएको प्रमाणको जग्गा खिचोला मुद्दामा भएको २०१९/१/२६ र २०२०/६/३० तथा प्रस्तुत मुद्दामा भएको २०२९/८/२७ को नक्साको भौतिक स्थितिबाट समेत देखिन आउँछ । किल्ला बदरमा उभय पक्ष कसैको दावी नभएपछि उत्तरको सो किल्लासम्म वादी प्रतिवादी दुवै थरीको जग्गा रहेछ भन्ने कुरामा दुवै थरीको मुख मिलेकै सम्झनु पर्ने भयो ।
२२. ०२९ सालको नक्साको विवादको न. नं. १ को पूर्वपट्टि र पश्चिम पट्टि समेत पर्खाल देखिन्छ । वादीले पर्खाल लिएको नभै निजको राजिनामाको पूर्व किल्ला पर्खालको साँधसम्म भएकोमा साँध न. नं. १ को पूर्वपट्टिको पर्खाललाई मान्दा पश्चिम पट्टिको पर्खाल वादीको राजिनामा भित्र पर्न जाने भई वादीले किन्दै नकिनेको पर्खाल पनि निजले प्राप्त गर्ने अवस्था पर्न आउँछ । प्रतिवादीले पर्खाल समेत राजिनामा लिएकोमा विवाद नभएको र यो मुद्दा पर्नु भन्दा अघि नै वासुदेव सम्शेसबाट क्षेत्र राजेश्वरी देवीले २०११/९/११ मा र निजबाट इन्दिरा कुमारीले ०१९/१२/१३ मा लिखत गरी लिँदा पश्चिम किल्लामा पोषणनाथको पर्खाल जग्गा भन्ने उल्लेख भएकोबाट पोषणनाथको पर्खाल साविक देखि नै रहेको कुरामा शङ्का भएन । प्रतिवादीले पर्खाल भत्काई बनाएको भन्ने वादीको कथनबाट पनि साविक देखि नै प्रतिवादीको पर्खाल रहेको कुराको पुष्टि हुन्छ । प्रतिवादीले राजिनामा गरी लिँदा घर जग्गामा लगाएको पर्खाल समेत खरिद गरेको र वादीको राजिनामामा पर्खाल साँध भनेको सोही पर्खाल वादी प्रतिवादी वीच सिमाना कायम भै निजहरुको साँधमा उत्तर दक्षिण रहेको तथ्य प्रमाण मिसिलको २०२० सालको नक्साबाट पनि देखिन्छ । सो १ नं. को जग्गा वादीलाई दिलाउने हो भने माथी लेखिए अनुसार वादीले समेत स्वीकार गरेको प्रतिवादीको उत्तर साँध वासुदेव सम्शेरको घर जाने बाटोसम्मको जग्गा प्रतिवादीले नपाउन हुन जान्छ साथै वादीको राजिनामाको पूर्व किल्लामा पूर्व वासुदेव सम्शेरको विर्ता र बुनामहारानीको पर्खाल साँध भन्ने उल्लेख भएकोमा वासुदेव सम्शेसको विर्ताको साँधमा रहेको पर्खालसम्म न वादीलाई जग्गा दिएको मान्दा बुनामहारानीको स्वामित्वमा पर्खाल मात्र रहन जाने भै त्यसरी पर्खाल मात्र बाँकी राख्नु पर्ने कुनै औचित्य देखिँदैन । वस्तुत सो पर्खाल र त्यस सँगको पश्चिमतर्फको जग्गा समेत बुना महारानीको स्वामित्वमै रही पश्चिम तर्फको पर्खालसम्म वादीलाई राजिनामा दिएको र सो पर्खाल पूर्वको जग्गा र सो पूर्वको पर्खाल समेत प्रतिवादी पोषणनाथलाई राजिनामा दिएको प्रष्ट हुन आउँछ । उक्त पर्खाल र जग्गा बुनू महारानीले आफ्नै हकमा कायम राखेको र अम्विका देवी तर्फबाट प्रहरीमा गरेको उजुरी समेतबाट अघि देखि नै अस्तित्वमा रहेको पश्चिमपट्टिको पर्खाल र पूर्व पट्टिको पर्खालका बीचमा रहेको न. नं. १ को जग्गा समेत ०८ सालमा पोषणनाथलाई राजीनामा दिएको र सो राजीनामा गर्दा उत्तर किल्ला वासुदेव सम्शेरको घर जाने बाटो देखि दक्षिण भन्ने उल्लेख भएकोले लिखतको जेठो भन्न प्रश्न उपस्थित हुन आएको पनि पाइँदैन ।
२३. जग्गाको क्षेत्रफलको दृष्टिले पनि मिसिल सामेल रहेको फिल्डबुक उतारबाट वादी अम्बिकादेवीको कायमी जग्गा कि.नं. ७५४ को रोपनी ६–२–१–० मा विवादको कि.नं. ९४२ को रोपनी १–३–१–१ जोड्दा वादीले राजिनामा लिएभन्दा ०–५–२–१ बढी हुन जान्छ । प्रतिवादी तर्फको कायमी कि.नं. ९४३ मा ०–१३–१–३ र कि.नं. १०२० मा १–०–०–२ समेत रोपनी १–१३–१–३ मा विवादको कि. नं. ९४२ को रोपनी १–३–१–१ जोड्दा रोपनी ३–०–३–० मात्र हुने र पोषणनाथ वादी र कमलादेवी समेत प्रतिवादी भएको प्रमाणको जग्गा खिचोला मुद्दामा २ रोपनी जग्गामा वादीले दावी लिएकोमा सो दावी छोडी सन्तविरसँग ०२१/४/२२ मा मिलापत्र गर्दा नापबाट ४ रोपनी भनिए पनि प्रतिवादीपोषणनाथको राजिनामाको किल्ला यथावतै रही सो मा परिवर्तन नभएको र जग्गा यकिन गर्न चार किल्लाको सर्वाधिक महत्व हुने हुनाले राजिनामाको किल्लालाई नक्साको भौतिक स्थितिसँग भिडाई हेर्दा माथि लेखिए बमोजिम न. नं. १, २, ३ लाई वादीको हो भन्न सकिने स्थिति देखिएन सो मा वादी दावी नपुग्ने देखिन्छ ।
२४. तसर्थ वादी दावीको हाल सर्वेमा कायम भएको कि.नं. ९४२ को ०२९/८/२७ को नक्सामा देखाइएको न. नं. १ को बारी न. नं. २ को ग्यारेज घर पर्खाल समेतको घर जग्गा र न.नं. ३ को जग्गा समेत वादीको हकको नदेखिई प्रतिवादीको हकको देखिन आएकोले दावी बमोजिम खिचोला गरेको ठहर गरेको संयुक्त इजलासको ०३८/६/२ को निर्णय उल्टी गरी वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको नठहर्याएको म. क्ष. अ. को ०३३/५/१६ को फैसला सदर गरेकोपूर्ण इजलासको ०४४/२/१५/६ को फैसला मनासिव ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या. केशव प्रसाद उपाध्याय
न्या. गोविन्द बहादुर श्रेष्ठ
मा.न्या. श्री कृष्णजंग रायमाझीर मा. न्या. श्री हरिप्रसद शर्माको राय :
यसमा २०२०/२/१७ मा प्र. दामोदरले २०/२५ जना मानिसहरु साथमा ल्याई मैले निर्माण गर्न राखेको ईटा, चुन, बालुवा, सिमेण्ट, सुर्की समेत प्रयोग गरी म बसेकै घरको पेटीबाट उत्तर दक्षिण पर्खाल लगाई बाटो बन्द गरी दिएँ । यहि पर्खालबाट उत्तरतर्फ पनि पर्खाल लगाई २ तल पश्चिम मोहडा ग्यारेज समेतको घर आफ्नो कम्पाउण्ड भित्र पारी पोषणनाथको घर र उक्त मेरो २ तले घरको किलास जोडिएको निजको घर र मेरो घरमा आउन जान हुने गरी बार्दली जोडे र पोषणनाथको घर पश्चिमको मेरो जग्गाको समुच्चा पर्खाल भत्काई उक्त २ तले घर र १ रोपनी जग्गा समेत आफ्ना कब्जामा लिई खिचोला गरे खिचोला मेटाई भन्ने वादी अम्बिका देवीको फिराद दावी रहेको र वादी लेख अनुसार ग्यारेज घर लिगलिगापात भित्रको जग्गा समेत वादीको हकको होइन पोषणनाथको हक भै ११ सालसम्म उहाँले त्यसपछि मैले भोग गरी आएको ११ साल देखि नै मर्मत गरी आएको ठाउँ ठाउँमा भत्किएको पर्खाल साविककै जग्गामा बनाएको छु । राजिनामा बमोजिमको जग्गा भोग चलन गरी आएको हो । वादीको झुठ्ठा दाबीबाट फुर्सद गरी पाउँ भन्ने प्रतिवादी दामोदर प्रसाद । अ.वं. १३९ नं. बमोजिम बुझिएका पोषणनाथले बुना महारानीबाट ०८ सालमा राजिनामा पारित गरी लिई लिखत अनुसारको जग्गा र ग्यारेज घर समेत भोग गरी आएको, मेरो आफ्नो हक भोग चलनको घर जग्गा कमलादेवीसँगको मुद्दामा सर्वोच्च अदालतबाट नक्सा हुँदा देखाएको छु भन्ने समेतको बयान भै प्रतिवादी सरह नै रहेको देखिन्छ । फिरादबाट नै वादीको दाता पनि बुनामहारानी नै देखियो । २००७/४/२८ मा बुना महारानीबाट वादीले लिएको राजिनामा प्रतिलिपी हेर्दा पूर्व वासुदेव सम्शेरको विर्ता र बुना महारानीको पर्खाल साँध र उहाँकै बंगला घर देखि १७ फिट पूर्व वहाँकै जेठा छोरा म.क. मेहर सम्शेरको विर्ता साँध पश्चिम मुलसडक उत्तर गुहेश्वरीको रथ ल्याउने बाटो दक्षिण निजकै जेठो छोराको विर्ता यति ४ किल्ला भित्रको ७ रोपनी जग्गा र त्यसमा बनेको उत्तर दक्षिण लंग मोहडाको लम्बाई फिट ४२ र चौडा फिट २१.६ एक तले बंगला घर र वहाँकै जेठा छोरा मे.क. मेहर सम्शेरको घरको किलास गाह्रोमा जोडिएको पुराना भत्कन लागेको उत्तर दक्षिण लंगको पश्चिम मोहडाको लम्बा फुट ३९” चौडा १४” को १ नाले २ तले घर र घरले चर्चेको लगापात समेतको घर जग्गा रु. १६,१०१/– मा राजीनामा लिएको देखिएको र बुनामहारानीकै जेठा छोरा मे.क. मेहर सम्शेर लखक राक्षी रहेको पनि देखिन्छ । यस्तै गरी प्रतिवादीको बुनामहारानीबाट नै ०८/६/८ मा पारित गरिलिएको लिखत प्रतिलिपी हेर्दा पूर्व समर सम्शेरको चोक पश्चिम बुनामहारानीको बंगला देखी पूर्व पट्टिको ढल र मूल सडक र नक्साल जाने बाटो उत्तर वासुदेव सम्शेर समेतको घर जाने बाटो दक्षिण सुरराज सम्शेरको घर क्याम्पा यति ४ किल्ला भित्रको ६ रोपनी जग्ग र त्यसमा बनेको पश्चिम मोहडा उत्तर दक्षिण लंग १ नाले ७ कवले ३ तले पक्की वाहिरी जस्ता पाता छाना भएको घर र सो घरसँगै जोडिएको दक्षिण मोहडाको २ तले मोटर ग्यारेज घर र सो देखि पश्चिमपट्टि बनेको चर्पी घर र सो घर जग्गामा लगाई राखेको पर्खाल समेत र सो पर्खालले चर्चेको लगापात राजीनामा लिएको भन्ने देखियो । यसमा बुना महारानीकै जेठा छोरा (एकाघर) मेहर सम्शेर साक्षी बसेको देखिन्छ । वादीको २००७/४/२८ मा भएको घरायसी लिखत पारितमा २००८/२/३० मा नालिस परेपछि प्रतिवादीको लिखत २००८/६/५ मा भै २००८/६/८ मा पारित भएको देखियो । लिखत पारितमा अदालतमा प्रवेश गरेको मिति अघिको छ भने सोही लिखत जेठो मानिने र सदर हुने भनी ने.का.प. २०३७ नि. नं. १३८९ अंक ७ पृष्ठ १३९ मा र ने.का.प. २०४१ अंक ६ नि. नं. २०३४ पृष्ठ ५६५, ने.का.प. २०३३ अंक १० पृष्ठ १९३ समेत प्रकाशित र २०२५ सालको दे.पु.नं. २३९४ को लिखत पारीत मुद्दामा ०२८/७/२५/२ मा भएको फैसलाहरुमा समेत सर्वोच्च अदालतबाट सिद्धान्त समेतप्रतिपादित भई आएको देखिन्छ । घरसारमा पहिले भएको राजिनामा पारित गरी पाउँ भन्ने फिराद परी अदालतमा मुद्दा दायर भै अदालतको विचाराधीन रहेको सम्पत्तिको हक, वेहक हुने गरी दोहोरा पारी रजिष्ट्रेशन गरी दिएको प्रतिवादीको राजिनामा लिखतलाई मान्यता दिन मिल्दैन । पारीत गरी पाउँ भनी अदालतमा नालेस परेको राजिनामा लिखत सदर मान्नु पर्ने हुन आउँछ भनी यसै अदालतबाट दे.पु.नं. २३९४ को लिखत पारीत मुद्दामा फैसला हुँदा बोलिएको छ । उक्त सिद्धान्तसँग असहमत हुने कुनै अवस्था देखिँदैन । उक्त मुद्दामा प्रतिवादीका पारित लिखत बदर गरी पाउँ भन्ने दावी नभै वादीले आफ्नो लिखत पारीत गरी पाउँ भन्ने दावी लिएको देखिन्छ । अदालतको आदेशबाट ०२९/८/२७ मा प्रस्तुत मुद्दामा भएको नक्साबाट न. नं. १, २ र ३ मा झगडा परेको देखियो । नक्साबाट न. नं. १ बारी न. नं. २ घर न.नं. ३ खुलाचौर भन्ने देखिन्छ । यी झगडा परेको घर जग्गा सम्बन्धको हकको निरोपण गर्न, लिखतका ४ किल्ला क्षेत्रफल र प्रस्तुत मुद्दामा भएको ०२९/८/१७ को नक्सा र नक्सा मुचुल्का तथा कमला देवी (प्रतिवादी) र पोषणनाथ (वादी) भएको जग्गा खिचोला मुद्दामा भएका ०१९/१/२६ र ०२०/६/३० का नक्सा मुचुल्काहरुका साथै सोही मुद्दामा पोषणनाथ र सन्तवीर बीचमा ०२१/४/२२ मा सर्वोच्च अदालतबाट भएको मिलापत्रलाई पनि विवेचना गरी हेरिनु पर्ने हुन आउँछ । ०७ सालको वादीको राजिनामा जुन पारीत गरी पाउन नालेस परी फैसलाबाट ०१० सालमा पारीत भएको छ हेर्दा ७ रोपनी जग्गा र त्यसमा बनेको बंगला घर १ र मेहर सम्शेरको घरको किलास गाह्रोमा जोडिएको पुरानो भत्कन लागेको उत्तर दक्षिण लंगको घर १ समेत वादीले बुनामहारानीबाट लिएको देखिन्छ । राजिनामा लिएपछि उक्त घर जग्गा मध्ये यसैलाई कुनै व्यहोराबाट हक छाडि दिएको भन्ने देखिन आउँदैन । प्रतिवादीले भन्न सकेको पनि देखिएन । निज वादीको राजिनामाको पूर्व किल्ला तर्फ नक्साहरुसँग भिडाई हेर्दा २०२०/६/३० को नक्साको न. नं. ६ देखि पूर्व वासुदेव सम्शेरको घर जग्गा भनेको हाल सुधादेवी भन्ने देखिने अर्थात वासुदेव सम्शेरको ठाउँमा सुधादेवीको देखिएको छ । न. नं. ६ को पूर्व रहेको पर्खालले नै बुना महारानी र वासुदेव सम्शेरको घर जग्गा छुट्याएको समेत देखिएकोले वादीले लिएको घर जग्गामा पूर्व किल्ला (उत्तरपट्टि) वासुदेव सम्शेरको विर्ता र बुनामहारानीकै पर्खाल देखिएको र त्यसपछि पूर्व किल्ला (दक्षिणपट्टि) बुनामहारानीकै बंगला घरदेखि १७’ पूर्व दाताकै जेठा छोरा मे.क. मेहर सम्शेरको विर्ता साँध भनी उल्लेख भएकोबाट दाताको बंगला घरदेखि १७’ पूर्व मेहर सम्शेरको विर्ता साँधसम्म दिएको भन्ने देखिन आई वंगला घर (दक्षिण भाग) को पूवं १७’ जग्गा पाएको भन्ने देखिन्छ । न.नं. ८ बुनामहारानीबाट निजको एकाघरको जेठा छोरा मेहर सम्शेर साक्षी बसी राजिनामा लिएको लिखतको प्र. पोषणनाथको घर भन्ने देखिएको छ । यसरी वादीको लिखतको ४ किल्ला मध्ये पूर्व किल्लाबाट उक्त ०२० सालको नक्सामा न.नं. ६ को पूर्व पर्खाल र सो देखि पनि पूर्व वासुदेव सम्शेरको घर जग्गा भन्ने देखिन्छ । न. नं. ४ को बुनामहारानीको बंगला घर देखि १७’ पूर्वसम्म भन्ने देखियो । वादीको राजिनामाको पूर्व किल्लामा उल्लेखित पर्खाल न.नं. ५ को पूर्वको पर्खाल हो कि त भन्नलाई न.नं. ५ को पूर्वमा वासुदेव समशेरको विर्ता पनि हुनु पर्नेमा त्यसो नभै न.नं. ६ बुनामहारानीकै जग्गा भन्ने देखिनाले मिल्ने देखिँदैन । ०२९ सालको नक्साको न.नं. १ को पूर्वको पर्खाल नै उक्त न.नं. ६ को पूर्वको पर्खाल हो भन्ने देखिन्छ । वादीले राजिनामा लिएको घर जग्गाको दक्षिण किल्ला दाताकै जेठा छोरा मे.क. मेहर सम्शेरको विर्ता रहेको देखिन्छ । ०२९ सालको नक्साको न.नं. ४, ५, ६, ३ वादीको घर जग्गाको दक्षिण रहेको ०१९/०२० सालकै नक्साहरुको वादीको न.नं. २, ४ बंगलाघर देखि दक्षिणको न.नं. १, ३ पनि साविकमा ०७ सालको लिखतमा जेठो छोरोको भनिएता पनि बुनामहारानीकै नाममा रही निजबाट नै हक हस्तान्तरण लिखत भै लिखतमा एकासगोलको जेठो छोरा मे.क. मेहर सम्शेर भनी साक्षी रहेको प्रतिवादीकै लिखतबाट पनि देखिन्छ । यसरी वादीका लिखतका घर जग्गा देखि दक्षिण मेहर सम्शेरकै विर्ता घर जग्गा रहेको देखिने र बुनामहारानीले नै प्रतिवादीलाई ०८ सालमा लिखत गरिदिएको र मेहर सम्शेर समेत साक्षी बसेको देखियो । बुनामहारानीबाट नै कमलादेवीले पाएको र पछि फिर्ता गरी मुनरुद्दिनलाई राजिनामा गरेको र मुनरुद्दिनबाट सन्तवीरले लिई पोषणनाथसँगको मुद्दामा ०२१/४/२२ मा मिलापत्र भएको देखिन्छ । सो मुद्दामा भएको मिलापत्रबाट वादी पोषणनाथले आफ्नो राजीनामाकै जग्गा भनी कमलादेवी उपर २ रोपनीमा खिचोला गरेको भन्ने दाबी लिएको देखिन्छ । तर वादी दावीको झगडा परेको जग्गा केही रकम लिई छोडेको र मिलापत्रबाट ०२० सालको नक्साको न.नं. १ मा झगडापरेको र दावी छोडेको सो मुद्दाको प्रमाण मिसिलबाट देखिन्छ । ०२९ सालको नक्साको न.नं. १ को विवाद जग्गामा विवादको न.नं. २ को घर रहेको देखिन्छ । वादीको लिखतमा मेहर सम्शेरको घरको किलास गाह्रोमा जोडिएको उ.द. लङको पुरानो भत्कन लागेको घर भन्ने भएको न.नं. ४ मेहर सम्शेरको घर बुनामहारानीबाटै प्रतिवादीले लिएको प्रतिवादीको घर हो भन्ने कुरामा विवाद छैन । सो घरसँग जोडिएको न.नं. २ को घर बाहेक अरु घर रहे भएको भन्ने वादी प्रतिवादीका भनाई पनि नभएको र मिसिल प्रमाणबाट पनि देखिँदैन । सो घर उत्तर दक्षिण लङको पनि देखिन्छ । सो घरको पूर्व उत्तर कुनै निकास छैन । २ तले घरमा प्रवेश गर्ने तल माथि गर्न ढोका हुनु र यस्तै झ्याल हुनु स्वभाविकै हुन जान्छ । घरको दक्षिण मोहडामा २ तले ग्यारेज घर देखिए पनि त्यहाँबाट नै घर भित्र प्रवेश गर्ने भित्र बाहिर तल माथि जाने गरी आएको दक्षिण मोहडाकै घर भन्ने देखिँदैन । न.नं. २ को पश्चिम चोक भन्ने पनि छ । वादी र प्रतिवादीले न.नं. २ को घर आफ्नो आफ्नोराजिनामाको भनी दाबी जिकिर लिएको देखिन्छ । नक्साबाट न.नं. २ को एउटै घर मात्र देखिएको छ । अब प्रतिवादी तर्फको किल्ला र नक्शा तर्फ विवेचना गरी हेर्दा निजको राजिनामामा पूर्व समर सम्शेरको चोक भन्ने किल्ला छ यसबाट प्रतिवादीको लिखत भित्र पूर्व वासुदेव सम्शेरको विर्ता भनिएको ०२० सालको न.नं. ६ जग्गा पर्ने देखिँदैन । ०१९/०२० सालको नक्साहरुबाट प्रष्ट रुपमा प्रतिवादी पोषणनाथले लिएको राजिनामाको घरजग्गा क्रमशः न.नं. १० र ८ को पूर्व पट्टि समर सम्शेरको बारी तथा चोक भन्ने देखिन्छ । निजको राजिनामाको पूर्व किल्लाले वासुदेव सम्शेरको विर्ता छुँदैन । पश्चिम किल्ला बुनामहारानीको बंगला देखि पूर्वको ढल र मूल सडक नक्साल जाने बाटो भन्ने भै ०२९ सालको नक्साको न.नं. ६ को ढल हो भन्ने वादी र न.नं. ३ को पश्चिमको न.नं. ७ को ढल भन्ने प्रतिवादी भएको न.नं. ३ मा झगडा भन्ने देखिन्छ भने प्रतिवादीको अरु जग्गाले मूल सडक नक्साल जाने बाटो छोएकै देखिन्छ । यो मूल सडक देखि पूर्वपट्टि ०१९/०२० को नक्शाहरुको न.नं. १ मा मिलापत्र गरी प्रतिवादीले हक छोडेको भन्ने कुरा माथि राय व्यक्त भैसकेको छ । यसै सन्दर्भबाट उत्तर किल्ला विवेचना गर्दा प्रतिवादीको ०१९/०२० को नक्साको न.नं. १–३ समेतको जग्गाले उत्तरको वासुदेव सम्शेरको घर जाने बाटो छुँदैन बल्की उत्तर किल्ला वादीको घर जग्गा रहे भएको नक्साहरुबाट प्रष्टै छ । यसरी प्रतिवादीले लिएको राजिनामाको उत्तर किल्लामा वादीलाई देखाइएको छैन । वादीको राजिनामा पारीत नभै सकेकोमा नदेखाए पनि बुनामहारानीकै भनी उल्लेख हुनु पर्ने सो छैन । जसरी ०७ सालमा वादीलाई राजिनामा दिइसकेपछि प्रतिवादीले पश्चिम किल्ला लेख्दा बुनामहारानीकै वंगला देखि पूर्वको ढल भनी लेखियो । ०१९ सालको नक्साको न.नं. २, ४ र ६ का सम्पूर्ण जग्गामा तथा ०२० सालको नक्साको न.नं. २, ४ र ५ को जग्गामा प्रतिवादीले मेरो राजिनामाको भन्न सकेको छैन भने उत्तर वासुदेव सम्शेरको घर जाने बाटो भन्दैमा न.नं. ६ को जग्गा प्रतिवादीले मेरो भन्न सक्ने कुनै खंविर प्रमाण छैन । साथै ०२९ सालको नक्साको न.नं. १ को पश्चिम झगडा परेको पर्खाल साविकै हो भन्नलाई ०१९ सालको नक्सामा सो पर्खाल छैन । ०२० सालमा बनाएपछि मुद्दा पर्यो । ०२० सालको नक्सा हुँदा पर्खाल देखिएको छ । त्यो पर्खाल साविकमा रहेको भए प्रतिवादीको राजिनामा किल्लामा पश्चिम जसरी बुनामहारानीको बंगलादेखि पूर्वपट्टिको ढल भनियो । ०२० सालको नक्साको न.नं. ६ प्रतिवादीको राजिनामाको जग्गा भए पश्चिम बुनामहारानीको पर्खाल तथा आफ्नै पर्खाल जे भने पनि किल्लामा पर्खालको अस्तित्व देखाउन सक्नुपर्ने नसकेको र नक्सामा न.नं. ६ को पश्चिम ढलको अस्तित्व रहे भएको पनि देखाउन सकिएको छैन । तसर्थ साविकमै प्रतिवादीको पर्खाल रहेको भन्न सकिने प्रमाण देखिँदैन । जहाँसम्म वासुदेव सम्शेरले छत्रराजेश्वरीलाई ०११/९/११ मा फार्से पारीत गरी दिँदा र छत्र राजेश्वरीबाट इन्दिरा कुमारीलाई ०१९/१२/२३ मा राजिनामा दिँदा पश्चिम किल्ला पोषणनाथको पर्खाल भन्ने लेखिएको छ यसबाट न.नं. ६ प्रतिवादीको जग्गा भन्ने देखिन्छ भनी बहसमा जिकिर लिई राजिनामा प्रतिलिपिहरु पेश गरिएको छ । पोषणनाथकै राजिनामाबाट उक्त न.नं. ६ को पूर्व पश्चिमकिल्ला पोषणनाथको पर्खाल किल्ला भन्ने देखिँदैन भने बुनामहारानी तथा निजबाट हक प्राप्त गर्ने व्यक्तिहरु वादी प्रतिवादी देखि बाहेकका व्यक्तिहरुले आफ्नो घरजग्गाको राजिनामाको किल्लामा एउटाको नाम लेखिदिँदैमा वादीको विरुद्धमा प्रमाण लाग्ने अवस्था भएन । प्रतिवादी जिकिर अनुसार न.नं. ६ को जग्गा प्रतिवादीको राजिनामाको किल्लाले समाउँछ भन्नालाई प्रथमतः लिखतमा किल्ला लेखिएकोले मात्र किल्ला कायम हुन सक्तैन । वादी प्रतिवादीको कायमी लिखतहरुका सम्पत्ति सम्बन्धमा झगडा भएपछि अनय सबूद प्रमाणहरुलाई समेत मूल्याङ्कन गरी राजिनामाको सम्पत्ति निश्चित गर्दा प्रमाणबाट कायम हुन आएको किल्ला नै सही किल्ला मान्नु पर्दछ । दोश्रो प्रतिवादीको राजिनामा किल्लाले न.नं. ६ लाई समातेको अवस्थामा न.नं. ६ को जग्गाको दोहोरो लिखत भएको देखिने र यस्तो अवस्थामा माथि उल्लेखित सिद्धान्तहरुले वादीको जेठो लिखतले नै मान्यता पाउने भएकाले न.नं. ६ जग्गा तथा ०२९ सालको नक्साको न.नं. १ को वारी प्रतिवादीको राजिनामा भित्रको भन्न मिल्ने अवस्था भएन । वादीको राजिनामा किल्लाबाट ०२९ सालको नक्साको विवादको न.नं. १ को जग्गा वादीको देखिन आएकोले विवादको न.नं. २ को घर पनि सोही वादीको राजिनामाको किल्ला भित्रकै राजिनामाको घर देखिएकोले विवादको न.नं. २ को घर प्रतिवादीको भन्न मिलेन ।
अब ०२९ सालको नक्साको विवाद परेको न.नं. ३ को सम्बन्धमा विचार गर्दा वादीले न.नं. ६ को ढल नैप्रतिवादीको राजिनामाको पश्चिम किल्लाको ढल हो भनेको र वादीको राजिनामाको बुनामहारानीको बंगला देखि १७ फुट पूर्वको वादीले आफ्नो जग्गा भनी न.नं. ३ लाई दाबी गरेको देखिन्छ । वादीको राजिनामाबाट बंगला घर देखि १७ फिट पूर्व वादीले राजिनामा लिएको देखिएको छ वादीले लिँदा घर लम्बाई फुट ४२” चौडाई फिट २१’६” देखिन्छ । बंगला घर पछि थप गरेको भन्ने भनाई पनि मिसिलबाट देखिन्छ । वादीको न.नं. ८ को बंगला घर नाप्दा पू.प. अन्दाजी ३८ फुट देखिएकोले साविक भन्दा १६’६” बढी देखिन आएकोले आफ्नो राजिनामाको १७” जग्गा बाँकी रहेको भन्ने वादीको भनाई साँचो देखिन आउँदैन । तसर्थ न.नं. ३ को सम्बन्धमा खिचोला नठहराएको पूर्ण इजलासको इन्साफ मनासिव ठहर्छ ।
क्षेत्रफलको हिसाबबाट विचार गर्दा पनि वादीले ७ रोपनी घर जग्गा र प्रतिवादीले ६ रोपनी घर जग्गा बुनुमहारानीबाट नै खरिद गरेको देखियो । वादीको घर जग्गा विवाद नभएको नापी नक्साको कि.नं. ७५४ मा ज.रो. ६–२–१ देखिएको छ भने विवाद नभएको प्रतिवादी पोेषणानाथको कि.नं. ९४३ मा ज.रो. ०–१३–१–१ र कि.नं. १०२० मा ज.रो. १–०–०–२ देखिन्छ जसमा विवाद छैन । झगडा परेको कि.नं. ९४२ मा ज.रो. १–३–१–१ छ । जम्मा गर्दा कूल ज.रो. ९–३–०–० हुन आउँछ । वादीप्रतिवादीको कूल जग्गा ज.रो. १३ कायमै रहे भएको देखिँदैन । वादीले आफ्नो राजिनामाको जग्गा मध्ये कसैलाई हक हस्तान्तरण गरेको भन्ने भनाई छैन । जबकीआफ्नो राजिनामाको जग्गा भनी प्रतिवादी पोषणनाथको कमलादेवीसँग मुद्दा परी जग्गा छाडि मिलापत्र गरेको देखिन आएको छ । २ दुई रोपनीमा कमलादेवीसँग पोषणनाथको मुद्दा पर्दा वादी (पोषणनाथ) को झगडा परेको जग्गा नाप गर्दा ४ रोपनी भएको भन्ने र ०२० सालको नक्साको न.नं. १ मा केही रकम लिई पोषणनाथले दावी छाडी सन्तवीरसँग मिलापत्र गरेको भन्ने मिसिल संलग्न मिलापत्रबाट देखिन्छ । प्रतिवादीको राजिनामाको दक्षिण किल्लामा सुरराज सम्शेरको घर क्याम्पा भनिएको छ । यसबाट २ रोपनी छाडी मिलापत्र गरेको भन्दा वादी प्रतिवादीको ज.रो. ११ रोपनी बाँकी हुनुपर्ने सो नभैं ९ रोपनी ३ आना रहेको छ । ०१९ सालको नक्शाबाट न.नं. १ को ४ रोपनी भन्ने देखिन्छ । न.नं. १ मा पोषणनाथले दावी छाडि मिलापत्र गरेको भन्ने पनि मिलापत्रमा बोली परेको छ । यस अवस्थामा वादी प्रतिवादीको जम्मा जग्गा रोपनी ९ बाँकी रहन आउने हुन्छ । नापीमा नरघटी नरबढी हुनु स्वभाविक देखिने हुँदा ज.रो. ०–३–०–० फरक पर्नु अस्वभाविक मान्नु पर्ने अवस्था देखिएन ।
विवादको ०२९ सालको नक्साको न.नं. ३ प्रतिवादीको राजिनामा भित्रको जग्गा देखिएकोले प्रतिवादीको कि.नं. ९४३ र कि.नं. १०२० समेत जोड्दा २ रोपनी करिब भै वादीको पनि झगडा परेको न.नं. १ र २ समेत गर्दा राजिनामाको क्षेत्रफलको जग्गा पुग्ने नै देखिन्छ ।
तसर्थ माथी उल्लेखित आधारहरुबाट ०२९ सालको नक्साको विवादको न.नं. १ र २ को वादीको जग्गा र घरमा प्रतिवादीले खिचोला ठहर्याएको स.अ.डि.वे. को फैसला सदर हुन्छ । सर्वोच्च अदालत पूर्ण इजलासले उक्त घर जग्गाको हकमासम्म वादी दावी पुग्न नसक्ने भनी खिचोला नठहर्याएको फैसला सदर गरेको बहुमतको रायसँग सहमत हुन नसकिएकोले छुट्टै राय व्यक्त गरेको छु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरि प्रसाद शर्मा
इति सम्वत् २०५० साल आषाढ २५ गते रोज ६ शुभम् ।