निर्णय नं. ७०२ - आफ्नो जिम्माको सम्पत्ति मसौट गरे भन्ने

निर्णय नं. ७०२ ने.का.प. २०२९
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री झपटसिंह रावल
सम्वत् २०२६ सालको फौ.पु.नं.६२५
फैसला भएको मिति : २०२८।९।२६।२
पुनरावेदक : पं. १ नं.नु.जि. मैदान सल्ले गाउँ पञ्चायत वडा नं.४ बस्ने श्यामबहादुर थापा क्षेत्री
विरुद्ध
विपक्षी : श्री ५ को सरकार (वि.प्र.वि.)
मुद्दा : आफ्नो जिम्माको सम्पत्ति मसौट गरे भन्ने
(१) संस्थाबाट जिम्मा लिएको रकमवापत दाखिल गर्न नसके संस्थाले कानूनबमोजिम नालिस गरिलिन सक्ने, त्यसतर्फ भ्रष्टाचार गरेको भन्न नमिल्ने ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेरी पुनरावेदक श्यामबहादुर समेत रोहवरमा रही श्री ५ को सरकार (विशेष प्रहरी विभाग) को तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलले गर्नुभएको वहससमेत सुनी निर्णयतर्फ विचार गर्दा प्रतिवादी पुनरावेदक श्यामबहादुर थापाका विरुद्ध अभियोग लागेको रकममध्ये मालपोत यो उजूर परिसकेपछि दाखिल गराएकोलाई अघि सो रकम हिनामिना गरी उजूर परेपछि मात्र दाखिल गराएकोबाट प्रतिवादीलाई सफाई हुन नसक्ने पञ्चायतको रजिष्टर श्रेस्तामा पञ्चायत घर बनाउँदा खर्च भएको सहकारीको रकमलाई प्रधानपञ्चको निजी रकम भनी लेखाएको, पछि सो रकम सोधभर्ना हुँदा खाने विचार गरेको देखिने भन्नेसमेत विद्वान सरकारी अधिवक्ताले वहस गर्नुभयो । सहकारी विक्री तथा ऋण संघ लिमिटेडको रकमतर्फ सो संस्थाबाट पुनरावेदकले जिम्मा लिएको रकम वापस दाखिल गर्न नसकेमा सो संस्थाले कानूनबमोजिम नालिस गरी लिनसक्ने कुरा भएको हुनाले त्यसतर्फ भ्रष्टाचार भई गरिसकेको भन्ने मिलेन । मालपोतको रकम पनि दाखिल गर्न दिइराखेको भनी पुनरावेदकले कागज बयानमा उल्लेख गरेका व्यक्ति टेकबहादुरबाट दाखिल हुन आएको हुनाले प्रतिवादीले हिनामिना गरेको भन्ने देखिएन अरु पञ्चायतको रकम पञ्चायतकै कर्मचारीको तलवमा खर्च भएको भन्ने भरपाई कागजहरूबाट देखिन आएको, पञ्चायतले पनि आवश्यक परे नालिस गर्न सक्ने हुनालेसमेत प्रतिवादी पुनरावेदक श्यामबहादुर थापाले भ्रष्टाचार गरेको नदेखिने हुँदा बागमती विशेष अदालतले प्रतिवादी पुनरावेदकलाई विगोसमेत तिराउने गरी गरेको २०२५।३।३१।१ को फैसला मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।
(प्रकरण नं. ८)
पुनरावेदक तर्फबाट :
विपक्षी तर्फबाट : सरकारी अधिवक्ता प्रचण्डराज अनिल
उल्लिखित मुद्दा :
फैसला
न्या. झपटसिंह रावल
१. मालपोत रु. ३३५१। धुरी कर रु. १३००। उठाएको र रु. १७००। सहकारीबाट ल्याएकोमा श्यामबहादुरले नै स्वीकार गर्नुभएको र जम्मा मालपोत रू.३३५१। मा रू.२४०८। माल दाखिल गरी बाँकी रू.९४३। आफैले मसौट गरी खाएको छ । श्यामबहादुरलाई पहिलो प्रश्न गर्दा रू.७००। उपप्रधानपञ्चलाई राख्न दिएको भनेको पछि तहविलमा रू.९४३। नपुग देखिन आएपछि त्यो सबै नै राख्न दिएको भनी बयान गरेको त्यस्तै धुरी कर उठाएको रू.१३००। मध्ये सयकडा १० र २५ को हिसावले केही रकम जिल्ला सभाको कोषमा दाखिल गरी बाँकी रकम गाउँ सभाको बैठकमा बजेट पेश गरी पास भएको बजेटको शीर्षक अनुसारमात्र पञ्चायतले खर्च गर्नुपर्ने त्यस्तो रकम आफूले विनाआदेश पञ्चायत भवन बनाउने र मसलन्दको काममा खर्च भएको भन्ने श्यामबहादुरको भनाई आधारयुक्त छैन । सहकारी कोषबाट रू.१७७३।३८ को मालसामान ल्याएकोमा रू.१३७३।३८ को मालसामान विक्री भइसकेको देखिन्छ । सो विक्रीबाट आएको रुपैयाँ सहकारी कोषमा नबुझाएको भई निजी काममा प्रयोग गरेकोले जाँच हुँदा तहविल देखाउन नसकी रू.६००। पञ्चायत भवन बनाउन र पिउनको तलव दिन खर्च गरेको रू.७००। जेठान गंगाबहादुरलाई राख्न दिएको भन्ने ओठे जवाफमात्र दिनुभएको विनाअडर पञ्चायत भवन बनाउने काममा लगाएँ पिउनलाई तलव दिने काममा खर्च गरें आफ्नु जेठानलाई राख्न दिएँ भन्ने श्यामबहादुरको भनाई विलकुल आधारहीन छ । त्यसमा पनि श्रेस्तामा रू.६७८। प्रधानपञ्चको निजी धनबाट खर्च भएको भनी लेखिएको कलम सो सहकारीको पञ्चायत भवन बनाउने र पिउनलाई तलव दिएको भनी लेखेको रू.६००। को कलम नै हो भनी स्वीकार गर्नुभएको छ यसबाट समेत सरकारी सम्पत्ति निजी व्यवहारमा लगाएका कुरा निर्विवाद रुपमा प्रमाणित हुन आउँछ उक्त प्रमाणबाट आफूलाई गैरकानूनी फाइदा तथा संस्थालाई हानी पुर्याउने वदनियत गरी आफ्नो जिम्मा नियन्त्रणको सम्पत्ति मसौट गरेकोले श्यामबहादुर थापा उपर भ्र.नि.ऐन, २०१७ को दफा ७ (२) र १३ (१) अन्तर्गत सजाय होस् भन्ने विशेष पुलिस विभागको आरोपपत्र ।
२. मेरो प्रधानपञ्चको कार्यकाल २०२० साल पौष ७ गतेदेखि २०२२ साल भाद्र २ गते सम्ममा पञ्चायत भवन बनाउन २ पटक गरी रू.३१०८।५९ मालपोत रू.३३५१।– धुरी कर रू.१३२३ सुनाम सहकारी विक्री तथा ऋण संघ लिमिटेड त्रिशुलीबाट मालसामान ल्याएको मोल रू.१७७३।३८ समेत जम्मा रू.७५६०।२४ बुझिलिएको छु । मालपोत रू.३३५१।– मध्ये रू.२४०८।२० मालमा दाखिल गरी बाँकी रू.९४३। उपप्रधानपञ्च टेकबहादुरलाई माल दाखिल गर्न दिएको सो दुवैको भरपाई मसँग छ । पञ्चायत भवन पाउने सहायता रू.३८००।– मा पठाएको रू.३१०८।५९ र उठाएको रकम रकमको रुपैयाँसमेत खर्च गरी पञ्चायत घर बनाउने र पाउन बाँकी रू.७००। बाट भर्ना गर्न पास भएअनुसार र धुरीकर मालपोत समेतबाट उठेको रुपैयाँमध्येबाट रू.४००। मालसामान विक्री हुँदा आएको रू.मध्ये ६६६। समेत जम्मा रू.४१७४।५९ खर्च लगाई पञ्चायत भवन तयार भएको छ । धुरी करबाट उठेको रू.१३२३।२७ मा भवनतर्फ गएको रू.४००।– कटाई बाँकी रू.९२३।२७ मा रू.२५५।२७ पञ्चायतको मसलन्दमा खर्च भएको छ र पञ्चायतमा २ जना पिउन भर्ना भइरहेको तलवको निकासा नभएको र पञ्चायतको अरु आम्दानीसमेत नहुँदा धुरीकर समेतको बाँकी रू.६६८। पिउन नरबहादुर, धनबहादुरलाई तलव दिएको हुनाले बाँकी छैन मालसामान विक्री भई आएको रू.१३६६। पञ्चायत भवनतर्फ खर्च भई बाँकी रू.७००।– घरमा राख्दा चोरीको डर भएकोले गंगाबहादुर थापालाई राख्न दिएको छु मैले पञ्चायतमा आएको रुपैयाँ मसौट गरी निजी व्यवहारमा लगाएको छैन । रू.३६१६।– मसौट गरे भन्ने आरोप झुठ्ठा हो भन्नेसमेत श्यामबहादुरको बागमती विशेष अदालतमा बयान ।
३. प्र.पं. श्यामबहादुरले दाखिल गरेको २०२२।३।२२।३ को रू.७००। को भरपाई देखें । निजले मलाई रू.७००। राख्न दिएको र मैले राखी भरपाई गरिदिएको होइन । जेठानको नाउँ लिई कीर्ते भरपाई बनाई दाखिल गरे फुर्सद पाउँला कि भनी दाखिल गरेका हुन् । सहिछाप मेरो होइन कीर्ते हो भन्नेसमेत गंगाबहादुरको बयान ।
४. रैतीबाट उठेको २०२१ सालको पोत मालमा दाखिल गर्नुपर्छ । तपाईं गई दाखिल गर्नुहोस् भनी श्यामबहादुरले मलाई रू.९४३। दिएको हुनाले सो रुपैयाँ बुझी लिई भरपाई गरी दिएको हुँ । सो रुपैयाँ दाखिल गर्नु मेरो घर पैरोले लडेको र त्यसमा रुपैयाँ समेत परेको हुनाले मिन्हा मागेको थिएँ । पछि रुपैयाँ पाएको र यसै अदालतबाट रुपैयाँ लिई आउनुभन्ने म्याद आएकोले दाखिल गरेको छु भन्नेसमेत टेकबहादुरको विशेष अदालतमा बयान ।
५. प्रतिवादी प्रधानपञ्च श्यामबहादुरले आरोप पत्रमा लेखिएबमोजिम मालपोत रू.३३५१। मा रू.२४०८। मात्र मालमा दाखिल गरी बाँकी रू.९४३। मालमा दाखिल नगरी मसौट गरेको र धुरी कर रू.१३००। असुल गरी ऐन नियमअनुसार विकास कोषमा दाखिल गर्नुपर्ने सो बमोजिम नगरेको र सहकारी विक्री तथा ऋणसंघबाट बुझी ल्याएको मालसामानहरूको रुपैयाँ जम्मा रू.१७७३।३८ को मालसामान मध्ये विक्रीबाट आएको रुपैयाँ १३७३।३८ सहकारी विक्री तथा ऋणसंघ लिमिटेडमा बुझाउनुपर्ने नबुझाई भ्र.नि.ऐन, २०१७ को दफा ७ (२) र १३ (१) बमोजिम आफूलाई गैरकानूनी फाइदा र श्री ५ को सरकार र संस्थालाई हानी पुर्याउने कसूर गरेको ठहर्छ भन्नेसमेत बागमती विशेष अदालतको २०२५।३।३१।१ को फैसला ।
६. उक्त फैसलामा चित्त बुझेन बदर गरिपाउँ भन्नेसमेत श्यामबहादुर थापाक्षेत्रीको पुनरावेदन पत्र ।
७. छलफल निमित्त अ.बं.२०२ नं.र स.अ.नियमावलीबमोजिम महान्यायाधीवक्ताको कार्यालयलाई लेखी पठाई नियमबमोजिम पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको २०१७।११।१०।२ को आदेश ।
८. नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेरी पुनरावेदक श्यामबहादुर समेत रोहवरमा रही श्री ५ को सरकार (विशेष प्रहरी विभाग) को तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलले गर्नुभएको वहससमेत सुनी निर्णयतर्फ विचार गर्दा प्रतिवादी पुनरावेदक श्यामबहादुर थापाका विरुद्ध अभियोग लागेको रकममध्ये मालपोत यो उजूर परिसकेपछि दाखिल गराएकोलाई अघि सो रकम हिनामिना गरी उजूर परेपछि मात्र दाखिल गराएकोबाट प्रतिवादीलाई सफाई हुन नसक्ने पञ्चायतको रजिष्टर श्रेस्तामा पञ्चायत घर बनाउँदा खर्च भएको सहकारीको रकमलाई प्रधानपञ्चको निजी रकम भनी लेखाएको, पछि सो रकम सोधभर्ना हुँदा खाने विचार गरेको देखिने भन्नेसमेत विद्वान सरकारी अधिवक्ताले वहस गर्नुभयो । सहकारी विक्री तथा ऋण संघ लिमिटेडको रकमतर्फ सो संस्थाबाट पुनरावेदकले जिम्मा लिएको रकम वापस दाखिल गर्न नसकेमा सो संस्थाले कानूनबमोजिम नालिस गरी लिनसक्ने कुरा भएको हुनाले त्यसतर्फ भ्रष्टाचार भई गरिसकेको भन्ने मिलेन । मालपोतको रकम पनि दाखिल गर्न दिइराखेको भनी पुनरावेदकले कागज बयानमा उल्लेख गरेका व्यक्ति टेकबहादुरबाट दाखिल हुन आएको हुनाले प्रतिवादीले हिनामिना गरेको भन्ने देखिएन अरु पञ्चायतको रकम पञ्चायतकै कर्मचारीको तलवमा खर्च भएको भन्ने भरपाई कागजहरूबाट देखिन आएको, पञ्चायतले पनि आवश्यक परे नालिस गर्न सक्ने हुनालेसमेत प्रतिवादी पुनरावेदक श्यामबहादुर थापाले भ्रष्टाचार गरेको नदेखिने हुँदा बागमती विशेष अदालतले प्रतिवादी पुनरावेदकलाई विगोसमेत तिराउने गरी गरेको २०२५।३।३१।१ को फैसला मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।
तपसिल
बागमती विशेष अदालतको मिति २०२५।३।३१।१ को फैसला माथि लेखिएबमोजिम भई उल्टी भएकोहुँदा उक्त विशेष अदालतले देहायबमोजिम लगत गर्नेगरेको नलाग्ने हुँदा सोको लगतकाटिदिनु भनी नियमबमोजिम लगतदिनु......................१
प्रतिवादी प्रधानपञ्च श्यामबहादुर थापा क्षेत्री के निम्नलिखित विगो मसौट गरी भ्र.नि.ऐन, २०१८ को दफा ७ (२) र १३ (१) बमोजिम आफूलाई गैरकानूनी फाइदा र श्री ५ को सरकार संस्थालाई हानी पुर्याउने कसूर गरेको ठहरिएकोले विगो असुल गरी सो ऐनको दफा २९ अनुसार देहायबमोजिम जरिवाना हुन्छ । निज प्र.श्यामबहादुर वेरुजु हुँदा उक्त विगो र जरिवाना निजबाट उपर भएजति निजबाट र उपर नभएजति निजको धन जमानी हुने का.जि.बालाज्यू हिलेडोल बस्ने गोविन्दबहादुर बस्नेतले जमानतमा दिएको जेथासमेतबाट ऐनबमोजिम उपर गरी देहायबमोजिम गर्नुभनी काठमाडौं श्रेस्ता अदालत तहसीलमा लगत दिने ।
विगो
(क) धुरीकर असुल गरेको रू.१३००। जिल्ला पञ्चायत कार्यालय पं.१ नं.नुवाकोटले भराई लिन पाउने हुनाले अपीलको अवस्था नाघेपछि सो कुराको जनाउ जिल्ला पञ्चायत कार्यालय पं.१ नं.नुवाकोटलाई लेखी पठाईदिई सोबमोजिम भराई माग्न आएमा सरकारी बाँकी सरह दसौंदसमेत केही नलिई भराइदिनु रू.१३००।
(ख) सहकारी विक्री तथा ऋणसंघ लिमिटेडबाट बुझी लिई ल्याएको मालसामानहरूको विक्रीबाट आएको रू. १३७३।३८ सहकारी बिक्री तथा ऋण संघ लिमिटेडबाट भराइलिन पाउने हुनाले अपीलको अवस्था नाघेपछि सो कुराको जनाउ सुपथ सहकारी विक्री तथा ऋण संघ पं.१ नं.त्रिशुलीलाई लेखिपठाईदिई सोबमोजिम भराइमाग्न आए दसौंद समेत केही नलिई भराइदिने रू.१३७३।३८ बागमती विशेष अदालतको मिति २०२५।३।३१।१ को फैसलामा प्र.प.श्यामबहादुर थापा क्षेत्रले भ्र.नि.ऐन, २०१७ को दफा ७ (२) र १३ (१) अन्तर्गतको कसूर गरेको ठहरिएको सूचना लोकसेवा आयोग (प्रशासन शाखा) गृहपञ्चायत मन्त्रालयलाई र पं.१ नं.त्रिशुली जिल्ला पञ्चायत कार्यालयलाई दिने भन्ने उल्लेख भएकोमा माथि लेखिएबमोजिम भएको सोको लगत काटिदिनु भनी नियमबमोजिम लगत दिनु.....................२
वादी श्री ५ को सरकार (वि.प्र.वि.) प्रतिवादी श्यामबहादुर थापामगर भएको आफ्नो जिम्माको सम्पत्ति मसौट गरे भन्ने मुद्दामा श्यामबहादुर थापालाई गर्ने गरेको जरिवाना रू.३६१६।३८ वापत का.जि.बालाजु हिलेडोल बस्ने गोविन्दबहादुर बस्नेत क्षेत्रीले दिएको जेथा जमानीको जग्गा सर्वोच्च अदालतको अर्को आदेश नभएसम्म रोक्का गर्ने भन्ने सर्वोच्च अदालतको मिति ०२६।२।२९।४ को पत्र लेखी गएको देखिएकोमा माथि लेखिएबमोजिम भई श्यामबहादुरले सफाइ पाई सर्वोच्च अदालतबाट फैसला भएको हुँदा उक्त जेथा जमानी फुकुवा गरिदिनु भनी सम्बन्धित भूमि प्रशासन कार्यालयहरूलाई लेखिपठाइदिनु........................३
मिसिल नियमबमोजिम बुझाइदिनु.......................४
न्या. प्रकाशबहादुर के.सी.
उक्त रायमा म सहमत छु ।
इति सम्वत् २०२८ साल पौष २६ गते रोज २ शुभम् ।