शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०३ - प्राचीन मूर्ति ल्याए राखे हटाए भन्ने

भाग: १४ साल: २०२९ महिना: बैशाख अंक:

निर्णय नं. ७०३       ने.का.प. २०२९

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

सम्वत् २०२८ सालको फौ.फु.नं. ४७

फैसला भएको मिति : २०२९।४।२४।३

पुनरावेदक : का.जि.बहादुर भवन रोयल होटल बस्ने वोरिस लिया सोमिच

विरुद्ध

विपक्षी     : श्री ५ को सरकार

मुद्दा : प्राचीन मूर्ति ल्याए राखे हटाए भन्ने

(१)  सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (क)फुल बेञ्चमा रायबाझी भई आएकोमा राय बाझिएको कुराले समुच्चै कुरामा असर पार्न नसक्ने अवस्थामा राय नमिलेको सम्म विषयमा निर्णय दिए हुने ।

          यस बेञ्चबाट मुद्दाका सम्पूर्ण विषयमा निर्णय दिनुपर्ने या डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय नमिलेको विषयमा सम्म निर्णय दिए हुने के हो भन्ने हकमा फुल बेञ्चबाट हेरिने मुद्दाहरूको सम्बन्धमा व्यवस्थित सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३(क) मा डिभिजन बेञ्चका न्यायाधीशहरूको राय नमिलेको भन्ने उल्लेख भएबाट यस्तो रायबाझी भइआएकोमा सो राय बाझिएको कुराले समुच्चै मुद्दामा असर पार्न नसक्ने अवस्थामा राय नमिलेकोसम्म विषयमा फुल बेञ्चबाट निर्णय दिए हुने देखिन्छ ।

 (प्रकरण नं. ९)

(२)  प्रहरी प्रतिवेदनमा चोरीको माल भनी लेखिएको हुँदैमा चोरीको माल कायम गरी मालधनीलाई फिर्ता दिलाउन मिल्ने नदेखिने ।

          तत्सम्बन्धमा मा.न्या. श्री हेरम्बराजको रायमा उक्त हेमलक्ष्मी अंकित आर्यताराको मुर्ति चोरीको माल भनी प्रहरी प्रतिवेदनमा लेखिएको भन्ने मुख्य आधारमा मालधनीलाई फिर्ता दिने भन्ने ठहर गर्नुभएको रहेछ । कुनै पनि चिज चोरीको हो भनी कायम गर्नलाई कानूनबमोजिम पहिले चोरीमा मुद्दा चली अदालतको निर्णयबाट चोरी कायम भएको हुनुपर्छ । अनिमात्र चोरीको माल भन्न ठहराउन मिल्ने हुन्छ । सोअनुसार चोरीमा मुद्दा चलाएको र उक्त मुर्ति चोरीको ठहरी अदालतबाट निर्णय भएकोसमेत नदेखिएको र मालधनीले फिर्ता पाउनुपर्छ भन्नेतर्फ वादी श्री ५ को सरकारको पुनरावेदन परिआएकोसमेत नहुनाले प्रहरी प्रतिवेदनमा चोरीको माल भनी लेखिएको हुँदैमा चोरीको माल कायम गरी यसै मुद्दाबाट मालधनीलाई फिर्ता दिलाउन मिल्ने देखिँदैन । त्यसकारण चोरीको माल भनी मालधनीलाई फिर्ता दिने गर्नु भएको मा.न्या.श्री हेरम्बराजको रायमा सहमत हुन मिलेन ।

 (प्रकरण नं. ११)

पुनरावेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी

विपक्षी तर्फबाट   : का.मु.सरकारी अधिवक्ता इन्द्रराज पाण्डे

उल्लिखित मुद्दा :

फैसला

    प्र.न्या.   रत्नबहादुर बिष्ट

     १.   प्रस्तुत मुद्दा ०२९।१।८ को डिभिजन बेञ्चबाट निर्णय हुँदा मुर्ति फिर्ता दिन मिल्ने नमिल्ने कुरामा मा.न्या.श्री हेरम्बराज र मा.न्या.श्रीब्रम्हदत्त तिवारीको मतैक्य हुन नसकेकोबाट सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३ अनुसार निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको छ ।

     २.   मुद्दाको विवरण ययसप्रकार छ : का.मु.स.इ.कृष्णबहादुरको प्रतिवेदनबमोजिम वोरिसको घर खानतलासी गर्दा विभिन्न किसिमका प्राचीन मूर्तिहरू बरामद भएकोले सो मूर्ति र वोरिससमेतलाई दाखिल गरेको छु भन्ने का.मु.स.इ.छिरिङ समेतको प्रतिवेदनबाट यो मुद्दाको शुरुआत भएको रहेछ ।

     ३.   वोरिसले मूर्ति संकलन गरी राख्न खरीद गरेको भन्ने पत्यार लाग्दो नदेखिएको सो मूर्तिहरू अन्यत्र निकासी गरी लाभ उठाउन खोजेको भगतरामबाट मूर्ति किनेमा सावित भएको आर्यताराको मूर्ति सासुको हो भनी जिकिर लिएको सबूद पेश गर्न नसकेको सो मूर्ति चोरी भएको हो भनी कुञ्जबहादुरले सनाखत कागज गरिदिएको सर्जमिनबाट मूर्ति चोरी भएकै देखिएको समेत हुँदा वोरिसलाई प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा १३ (२) र चोरीको २३।२४ नं. बमोजिम सजाय हुन र भगतराम दमाईं मानबहादुर कसाई नाति महर्जन सानु शाक्य, लक्ष्मणप्रसाद समेतलाई प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा १३ (२) अन्तर्गत सजाय गरी बरामद भएको मूर्ति बस्तुहरू जफत हुन प्रस्तुत गरिएको छ भन्ने प्रहरी स.स.अ.समेतको आरोपपत्र देखिन्छ ।

     ४.   बा.अं. विशेष अदालतमा बयान गर्दा प्रतिवादी वोरिसले वरामद भएका मूर्ति र कलात्मक वस्तुहरू केही मैले र केही सासुले लि राखेको हो ०८ साल देखि नै संकलन गर्दै खरीद गरी राखेको हुँ अरु देशमा पठाएको र बिक्री गरेको छैन सासुले कोसँग खरीद गरिलिनु भएको हो थाहा छैन तलासी हुँदा सासुको कोठाबाट निस्केको हो भन्नेसमेत जिकिर लिएको ।

     ५.   प्रहरीले कुटपीट गरी मानबहादुर कसाईलाई ढुङ्गाको मूर्ति बिक्री गरेको भनी लेखाएको हुँ मैले मूर्ति विक्री गरेको होइन भन्ने नाती महर्जन, ढुङ्गाको कलात्मक देवताको मूर्ति मैले मानबहादुरलाई बिक्री गरेको होइन प्रहरीले कुटपीट गरी सहिछाप गराएका हुन् भन्ने लक्ष्मणप्रसाद अमात्य प्रहरीहरूले कुटपीट गरेकोले सानी गुरुङ नातिचा ज्यापुसमेतसँग किनी भगतराम दमाईलाई बिक्री गर्न लगाएको कलात्मक ढुङ्गाका मूर्तिहरू हुन भनी कागज गरेको हुँ खुइले भन्ने भगतरामले मबाट बिक्री गरे भनेको देवताको ढुङ्गाका मूर्तिहरू मैले किनेको र मेरो घरकोसमेत होइन भगतरामलाई बिक्री गर्न लगाई कमिशन दिएकोसमेत होइन भन्ने मानबहादुर कसाई मैले मानबहादुरबाट लिई वोरिसलाई बेचेको थान १० जम्मा केही आफ्नै घरको र केही मानबहादुरसँग लिई बेचेको हुँ भन्ने भगतराम, ढुंगाको मूर्ति थान ६ पञ्च गुरुङ्गसँग किनी मानबहादुरलाई बेचेकोसमेत होइन थान ६ मुर्ति मेरो बाजेका पालाको मैले पूजा गरी आएको हुँ प्रहरीले पक्राउ गरी सो मूर्तिसमेत ल्याएका हुन भन्नेसमेत सानु शाक्य मैले लक्ष्मणप्रसादलाई ढुङ्गासमेतका कलात्मक मूर्ति बिक्री गरेको होइन भन्ने पञ्च गुरजुसमेतको बयान भएको ।

     ६.   वोरिसको निवास स्थानबाट बरामद भएको आर्य संस्कृतिका प्रचीन मूर्ति र कलाका वस्तुहरू र हस्तलिखत ग्रन्थहरू स्वर्गीय सानु र आफूले खरीद गरी राखेको हो भनी वोरिस सावित भएको प्रतिवादी नाति महर्जन, लक्ष्मणप्रसाद अमात्य, सानु शाक्य, मानबहादुर कसाई, भगतराम परस्पर मूर्ति खरीद गरी दिए लिएमा र मानबहादुर कसाईबाट मूर्ति लिई वोरिसलाई बिक्री गरेमा प्रहरीमा सावित भई कागज गरेको प्रतिवादी भगतराम बाहेक अरु आफू निर्दोष देखाई अदालतमा बयान गरेतापनि सबूद दिन नसकेका यत्रतत्र फालिएका मूर्तिकला संरक्षणको लागि लिई राखेको भन्ने प्रतिवादीको वोरिस भनाई भएको देखिए पनि निज कृश्चियन धर्मावलम्बी भएकोले आर्य संस्कृतिको कलात्मक मूर्तिहरू संरक्षणको लागि सँग्रह गरेको भन्ने ठहराउन न्यायोचित नदेखिनेसमेत हुँदा सो मूर्तिहरू बिक्री गर्ने उद्देश्यले अन्यत्रबाट हटाउन लगाई ल्याएको खरीद गरेको ठहर्ने र वोरिसले चोरीको मूर्ति चोरीको हो भन्ने जानी जानी खरीद गरेको र पञ्च गुरुजुले प्राचीन मूर्तिकला बिक्री गरेको प्रमाण देखिन नआएकाले चोरीको माल चोरी गरी ल्याएको हो भन्ने जानी वोरिसले किनेको र पञ्च गुरुजुले प्राचीन कलात्मक मूर्तिहरू बिक्री गरेको नठहर्ने भन्नेसमेत बागमती अञ्चल विशेष अदालतबाट ०२६।१२।२१।६ मा फैसला भएको ।

     ७.   सोउपर चित्त बुझेन भन्ने प्रतिवादी वोरिसको पुनरावेदन परी आएकोमा ०२९।१।८ को डिभिजन बेञ्चबाट निर्णय हुँदा हेमलक्ष्मी अंकित आर्यताराको मूर्तिको हकमा बाहेक अरु कुरामा शुरु विशेष अदालतको ठहर मनासिव छ भनी मा.न्या.श्री हेरम्बराजले व्यक्त गर्नु भएको रायमा मा.न्या.श्री ब्रम्हदत्तले पनि सहमती जनाउनु भएको र हेमलक्ष्मी अंकित आर्य ताराको मूर्तिको हकमा चोरी भएको हो भन्ने दावी देखाएको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० मा अन्य प्रचलित कानूनबमोजिम गर्दा गराउँदा भन्ने वाक्यांश लेखेकोले चोरी भयो भनेको मूर्ति पुरातत्व विभागमा बुझाउने भनी ठहर गर्नु भएन उक्त ऐनको दफा १४ मा नोक्सान वा हिनामिना हुने सम्भव नभएकोमा पञ्चकिर्ति मोलमा बेच्न कर लगाई श्री ५ को सरकारले खरीद गर्ने आदेश दिने हुनाले त्यस बारेमा केही बोली रहनु परेन । उक्त ऐनको दफा १३ को उपदफा २ मा माल फेला पारी जफत भई भन्ने बोली परेको छ त्यस्तो जफत हुने काम जसले गर्‍यो उसैको स्वेच्छाले गरेको भएमात्र जफत गर्नुपर्ने देखिन्छ । कसूरदारको माल भएमात्र जफत हुने हो त्यसलाई ऐनको दफा १४ ले प्रष्ट गरेको छ त्यसकारण सो मूर्ति मालधनीलाई फिर्ता दिने भन्ने मा.न्या.श्री हेरम्बराजले राय व्यक्त गर्नुभएतर्फ मा.न्या.श्री ब्रम्हदत्तले आफ्नो असहमती जनाउँदै सो मूर्ति कुञ्जबहादुरको दर्खास्त लेखाइबाटै प्रदर्शन गराएको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २ को खण्ड (क) ले ऐतिहासिक पुरातत्वसम्बन्धी मूर्ति प्राचीन स्मारक हुने दफा ७(१) ले प्राचीन स्मारक माल धनीले लापरबाही गरेमा श्री ५ को सरकारले मालधनीबाट बिना मोलमा लिनसक्ने व्यवस्था भएको दफा २०(१) को खण्ड (क) मा जुनसुकै अड्डा अदालतले प्रचलित नेपाल कानूनबमोजिम गर्दा गराउँदा प्राचीन स्मारक पुरातत्वसम्बन्धीको वस्तुको हकमा माल धनी जो सुकै भए पनि त्यस्तो बस्तु पुरातत्व विभागमा पठाउनु पर्ने र मालधनीलाई दिन कारवाई गर्नुपर्दैन भन्ने उल्लेख भएकोले पुरातत्व विभागमा बुझाई दिने गरेको विशेष अदालतको फैसला मनासिव छ । सो मूर्ति चोरीको माल हो भन्ने कुञ्जबहादुरलाई फिर्ता दिन मिल्ने देखिएन भन्ने राय व्यक्त गर्नु भई मतैक्य हुन नसकेको रहेछ ।

     ८.   यसमा उपरोक्त उल्लेख भएबमोजिम डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय बाझी भै यस बेञ्च समक्ष पेश हुन आएकोमा पुनरावेदक प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले हेमलक्ष्मी अड्ढीत आर्यताराको मूर्ति फिर्ता दिने नदिनेसम्म कुरामा डिभिजन बेञ्चका मा.न्या.हरूको राय नमिलेको भए पनि फुल बेञ्च समक्ष आइसकेको मुद्दाको सम्पूर्ण विषयमा फुल बेञ्चबाट न्यायोचित विचार भई निर्णय हुनुपर्छ उक्त मूर्ति मालधनीले फिर्ता पाउनुपर्छ भन्ने श्री ५ को सरकारको पुनरावेदन परेको छैन मेरो पक्ष निर्दोष हुँदा लगाइएको कसूरबाट मुक्त हुनुपर्छ भन्नेसमेत र विद्वान का.मु.सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले जे जति कुरामा डिभिजन बेञ्चको राय नमिली फुल बेञ्च समक्ष पेश हुन आएको छ त्यतिसम्म कुरामा फुल बेञ्चबाट निर्णय हुन सक्ने हो प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० (क) अन्तर्गत उक्त मूर्ति जफत हुँदा मा.न्या.श्री ब्रम्हदत्तको राय कायम हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।

     ९.   यस बेञ्चबाट मुद्दाका सम्पूर्ण विषयमा निर्णय दिनुपर्ने या डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय नमिलेको विषयमा सम्म निर्णय दिए हुने के हो भन्ने हकमा फुल बेञ्चबाट हेरिने मुद्दाहरूको सम्बन्धमा व्यवस्थित सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३(क) मा डिभिजन बेञ्चका न्यायाधीशहरूको राय नमिलेको भन्ने उल्लेख भएबाट यस्तो रायबाझी भइआएकोमा सो राय बाझिएको कुराले समुच्चै मुद्दामा असर पार्न नसक्ने अवस्थामा राय नमिलेकोसम्म विषयमा फुल बेञ्चबाट निर्णय दिए हुने देखिन्छ ।

     १०.  तसर्थ डिभिजन बेञ्चका माननीय न्यायाधीश दुवैजनाको राय मिलेजति विषयमा यस बेञ्चबाट केही बोलिरहनु परेन, डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय नमिलेको हेमलक्ष्मी अंकित आर्यताराको मूर्ति मालधनीलाई फिर्ता दिन मिल्ने नमिल्ने के हो भन्नेसम्म विषयमा यस बेञ्चबाट निर्णय दिन पर्ने हुन आएको छ ।

     ११.   तत्सम्बन्धमा मा.न्या.श्री हेरम्बराजको रायमा उक्त हेमलक्ष्मी अंकित आर्यताराको मुर्ति चोरीको माल भनी प्रहरी प्रतिवेदनमा लेखिएको भन्ने मुख्य आधारमा मालधनीलाई फिर्ता दिने भन्ने ठहर गर्नुभएको रहेछ । कुनै पनि चिज चोरीको हो भनी कायम गर्नलाई कानूनबमोजिम पहिले चोरीमा मुद्दा चली अदालतको निर्णयबाट चोरी कायम भएको हुनुपर्छ । अनिमात्र चोरीको माल भन्न ठहराउन मिल्ने हुन्छ । सोअनुसार चोरीमा मुद्दा चलाएको र उक्त मुर्ति चोरीको ठहरी अदालतबाट निर्णय भएकोसमेत नदेखिएको र मालधनीले फिर्ता पाउनुपर्छ भन्नेतर्फ वादी श्री ५ को सरकारको पुनरावेदन परिआएकोसमेत नहुनाले प्रहरी प्रतिवेदनमा चोरीको माल भनी लेखिएको हुँदैमा चोरीको माल कायम गरी यसै मुद्दाबाट मालधनीलाई फिर्ता दिलाउन मिल्ने देखिँदैन । त्यसकारण चोरीको माल भनी मालधनीलाई फिर्ता दिने गर्नु भएको मा.न्या.श्री हेरम्बराजको रायमा सहमत हुन मिलेन ।

     १२.  खास गरी प्राचीन मूर्ति ल्याए राखे हटाए भन्ने कुरामा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अन्तर्गत चलेको यो मुद्दा भएको र प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को संशोधित दफा २० को खण्ड (क) मा जुनसुकै अड्डा अदालतले अन्य प्रचलित नेपाल कानूनबमोजिम गर्दा गराउँदा प्राचीन स्मारक वा पुरातत्वसम्बन्धी वस्तुको हकमा भने मालधनी जोसुकै भए तापनि त्यस्तो बस्तु श्री ५ को सरकारको पुरातत्व विभाग वा उक्त विभागले तोकिदिएको ठाउँमा पठाउनको लागि स्थानीय हाकिमकहाँ पठाउनुपर्छ र सो बस्तु मालधनीलाई फिर्ता दिने वा लिलाम गरिने समेत कुनै कारवाही गर्नु पर्दैन भन्ने व्यवस्था भएको देखिएकोले उक्त हेमलक्ष्मी अंकित आर्यताराको मूर्र्ति पुरातत्व विभागमा बुझाइदिने गरेकोसम्म शुरु विशेष अदालतको सदर गरेको मा.न्या.श्री ब्रम्हदत्त तिवारीको राय मनासिव छ । पुनरावेदन गरेवापत प्रतिवादी वोरिसलिया सोमिचको मा.न्या.श्री हेरम्बराजको रायमा उल्लेख भएबमोजिम लाग्ने जरिवानाको लगत दिई नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

न्या. धनेन्द्रबहादुर सिंह,

न्या. प्रकाशबहादुर के.सी.

 

उक्त रायमा हामीहरूो सहमती छ ।

 

इति सम्वत् २०२९ साल श्रावण २४ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु