निर्णय नं. ७०५ - जालसाजी, जिम्मावारी धनमाल हिनामिना गरे

निर्णय नं. ७०५ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२८ सालको फौ.फु.नं. २७
फैसला भएको मिति : २०२९।३।१०।३
निवेदक : पं.३ नं. काश्की मौजे छाहा चौक गाउँ बस्ने शिवलाल उपाध्याय
विरुद्ध
विपक्षी : ऐ.ऐ.बस्ने जुठु पाध्या
मुद्दा : जालसाजी, जिम्मावारी धनमाल हिनामिना गरे
(१) विदेश जानेको सम्पत्ति ऐनले अपुताली खान पाउने नजिकको हकवालाको जिम्मा राख्नु रखाउनुपर्ने कानूनी व्यवस्था नभएको ।
तत्सम्बन्धमा कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित आशौच बार्नेको ३५ नं.मा देश परदेश गएको मानिस मर्यो जिउँदो केही पत्ता नभएकोमा घरबाट जाँदाको उमेर परदेश गएपछिको बर्ष जम्मा गरी १३० बर्ष उमेर नाघेपछि काजकृया गर्नुपर्ने र १०० बर्ष नपुगी अपुतालीको आशाले काजकृया गरेकोमा पछि जिउँदो फर्की आयो भने कृया गर्नेलाई उसैले पाउने अपुताली बमोजिम दण्ड हुनेसम्म व्यवस्था गरेको पाइन्छ, त्यस्ता विदेश जानेको सम्पत्ति ऐनले अपुताली खान पाउने नजिकको हकवालाको जिम्मा राख्नु रखाउनुपर्ने कुनै पनि कानूनले व्यवस्था गरेको पाउन सकिएन ।
(प्रकरण नं. ९)
(२) विदेश जानेको सम्पत्ति अरु जिम्मा लगाएकोमा मेरो जिम्मा लगाई रखाइपाउँ भन्ने हकवालाको नालिस लाग्न नसक्ने ।
नजिकको हकवालाकै जिम्मा राख्नु रखाउनुपर्ने कानूनी व्यवस्था नभएपछि विदेश जानेको सम्पत्ति हिनामिना हुन गर्न नपाउने गरी जोसुकै जिम्मा पनि राख्न रखाउन कानूनले नमिल्ने हुँदैन । नजिकको हकवालाबाहेक अरु जिम्मा राखे रखाएकोमा सो जिम्मा लिने व्यक्तिले जिम्मा लिएको सम्पत्ति हिनामिनासमेत गरेमा अपुतालीबाट हक खोज्न पाउने अवस्था पुगेकोमा ऐनले अपुताली खान पाउने नजिकको हकवालाले अपुतालीको तहबाट ऐनबमोजिम दावी नालिस गरेमा उसैबखत ठहरेबमोजिम हुने कुरा हो । उपरोक्त आशौच बार्नेका ३५ नं. बमोजिम विदेश जानेको १०० बर्ष उमेर नभएसम्म हकवालाले कृयासमेत गर्न नपाउने र विदेश जाने मानिस आफै फर्की आएमा आफ्नो सम्पत्ति निजले नै खोजी गरी लिन पाउने हुन्छ नगिचको हकवालाले ऐनले अपुताली हक खोज्न पाउने अवस्था पुगी सकेको हुनु बेगर विदेश जानेको सम्पत्तिमा पहिले नै हकवालाको हक पुग्न सक्ने हुँदैन यस स्थितिमा विदेश जानेको सम्पत्ति अरु जिम्मा राख्न रखाउन कानूनले बन्देज नलगाएकोमा अरु जिम्मा लगाएको बदर गरी मेरो जिम्मा राखी रखाई पाउँ भनी हकवालाले दावी नालिस गर्न पाउने हक नै कानूनले दिएको छैन । त्यसकारण वादीको यो नालिस लाग्न नसक्ने प्रष्ट हुन्छ ।
(प्र.नं. १०)
निवेदक तर्फबाट : अधिवक्ता रामगोपाल श्रेष्ठ
विपक्षी तर्फबाट : कृष्णप्रसाद घिमिरे
उल्लिखित मुद्दा :
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दामा ०२५।८।२१।३ को डिभिजन बेञ्चबाट भएको इन्साफ दोहर्याई पाउँ भन्ने प्रतिवादी शिवलाल पाध्याको निवेदनपत्र परेकोमा ब्यहोरा साँचो हो र अब फुल बेञ्चबाट मुद्दा हेरी छिनिंदा हारे पनि फेरि दोहर्याई पाउँ भनी विन्ति गर्ने छैन भन्ने कागज गर्छन भने गराई एकपटक फूल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूमको प्रमांगी बक्स भई यस बेञ्चसमक्ष पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : मूल पुर्खा चिरञ्जिवीका ३ छोरामा माहिला त्रिलोचन निजका छोरा जागेश्वर निजको छोरा म हुँ कान्छा हा.सु.निजको छोरा विश्वराज निजको छोरा दशरथ, निजको छोरा कान्तु, कान्तुको स्वास्नी कौशिला, कौशिलाकी छोरी वंशधरी जो हिरानन्द निजको छोरा रत्नखर निजको छोरा शंकर हुन् । शंकरले विधवा दिदी संतुलाई घरमा छाडी विदेशमा गएको ४७।४८ बर्ष भयो । वेपत्ता छन् शंकरको चलअचल सम्पत्ति शंतुले कौशिला जिम्मा गरी गराई जिम्मावारी लिएदिएको ०७ सालमा थाहापाई मैले उजूर गर्दा म भन्दा नजिकको हकदार कौशिला ठहराई शंकरको चलअचल कौशिलाको मुद्दा सकार गर्ने वसंधरी जिम्मा रहने गरी डिभिजन बेञ्चबाट ०१५ सालमा फैसला भएको रिभ्यु गराउन निवेदन दिनलाई वृद्धिलाललाई ३ थान वारेसनामा लिफा दिएको गुम परी वसंधरीलाई हालती शंकरको वसधरी जिम्मा रहेको मध्ये चल धनमाल दवाई हिस्सा बण्डा लगाई खाने खुवाउने गरी अचलको हकमा शंकरको नजिकको हकदार शिवलाललाई दिई गराई वशंधरीबाट शिवलालले जिम्मा लिएको कागज १५।४।२८ मा रजिष्ट्रेशन पास गरिलिए दिएछन् । वृद्धिलालले वारेसनामा पास गरिलिए दिएछन् । वृद्धिलालले वारेसनामा लिफा गुम गरेमा छुट्टै नालिस दिनेछु दाजु शंकरको वसंधरी जिम्मा रहेको अचल जग्गाजमीन र अन्यायवालाहरूले बण्डा गरी खाने खुवाउने गरेको चल धनमालसमेत निजहरूबाट भराई दिलाई नजिकको हकदार मरी जिम्मा रहने गरी शंकरको १०० बर्ष उमेर पुग्दासम्म पनि घरमा नआई पत्तासमेत नलागेमा निजको अपुतालि नजिकको हकदार मैले खान पाउने गरी जालसाजी जिम्मावारी गर्ने गराउने गरी धनजेथा हिनामिना गरेमा अन्यायवालाहरूलाई सजाय गरिपाउँ भन्नेसमेत वादी ।
३. रत्नाखरको छोरा शंकर दशरथ दशरथको छोरा कान्तु कान्तुकी बाहुनी कौशिला हुन् । शंकरले आफ्नो सम्पत्ति दिदी सन्तु जिम्मा दिई विदेश गएछन् । सन्तु आफ्नो घरमा जाने भई अपुताली खान पाउने ३ पुस्ताकी हकदार म वसंधरीकी आमा कौशिलालाई जिम्मावारी दिएकीमा ४ पुस्ताको हकदार म हुँ ५ पुस्ताकी कौशिला हुँदा कौशिलालाई जिम्मावारी दिएको बदर गरी म जिम्मा राखिपाउँ भनी वादीले उजूर गरेकोमा नजिकको हकदार कौशिला देखिने हुँदा जिम्मावारी लिएको सदरै गरी डिभिजन बेञ्चबाट ०१०।८।१० मा र रिभ्यु भई पुनः १५।३।२५।४ मा फैसला भएको छ । आमा कौशिलाको चलअचल शेषपछि खाने गरी म वशंधरीलाई बकसपत्र पास गरिदिएकी आमा देहान्त भई बकस कायम गरी खाएकी खसं दिनानाथले गैर श्री सम्पत्ति जत्रतत्र गर्ने कुबिचार लिई जिउँदै अपुताली खाने हेतु लिई मुद्दा लडी जग्गामा लिई खाइदिएकोमा मुद्दा परी इवी परेकोले हकदार र तालुकदारसमेत भएको शिवलाल जिम्मा दिएमा संरक्षण हुने भई जिम्मावारी दिएलिएको समेत हो वादी दावीबमोजिम रू.२६७। को धनमाल हिनामिना पारी बण्डा लगाई खाई जालसाजी जिम्मावारी पास गरिदिए लिएको होइन भन्नेसमेत जि.मु.महावीर शाहा, काल गुरुङ आसबहादुर गुरुङ, गोविन्दबहादुर शाह गणेशभक्त श्रेष्ठ जि.मु.शिवलाल पाध्या वसंधरी पाध्यानीसमेतको प्रतिवादी ।
४. १५।३।२५ को डिभिजन बेञ्चको फैसलाले शंकर मरेको नदेखिएको धनी नमरेसम्म हकवालाको हक नलाग्ने वसंधराले जिम्मावारी लिन पाउने ठहरेकोले वादीको उजूरी खारेज हुने ठहर्छ भनी ई.अ.पोखराले १७९।८ मा फैसला गरेकोमा जिम्मा दिएतर्फ खारेज गरेको मनासिव वसंधरीले शिवलाललाई नजिक हकदार भनी लेखाई जालसाज गरे नगरेको के रहेछ त्यसतर्फ तहकिकात गरिदिनुपर्ने नगरेको शुरुको गल्ती ठहर्छ भनी पोखरा जि.अ.बाट १७१०।१९।५ मा र कौशिला शिवलालभन्दा नजिकको हुँ भन्ने वादी भएपछि सोबमोजिम गर्न पाउने नपाउने इन्साफ ठहर गरिदिनु पर्नेमा दुवैतर्फ इलाका अदालतले खारेज र जिल्ला अदालतको जिम्मा दिएतर्फ खारेज गरेको मनासिव नजिकको हकदार तर्फमात्र निर्णय गर्ने भनी ठहर गरेको गल्ती देखिन्छ । वसंधरीले सम्हाल्न नसकेमा जसलाई दिए पनि हुने हो कि नजिककाले पाउँछ शिवलाल जुठु कुन नजिकको हो त्यसतर्फसमेत ऐन सबूदले जो ठहर्छ इन्साफ गरिदिनु भनी शुरुमा पठाउने भन्ने १९।११।१३।२ को डिभिजन बेञ्चबाट निर्णय भएको ।
५. शंकरको कौशिलाभन्दा वादी जुठु नजिकको हकदार भन्ने कुरा वादी प्रतिवादीकै लेखबाट देखिएकोले नजिकको हकदारलाई जिम्मा दिन न्यायोचित देखिँदा वसंधरी शिवलालले जालसाजबाट जिम्मावारी लिनुदिनु गरेको ठहर्छ भन्ने इ.अ.पोखराबाट ०२१।८।१७।४ मा र सोउपर प्रतिवादी शिवलाल वंशधरीको पुनरावेदन परेकोमा जुठु शिवलाल २ जनामा जुठु नजिकका देखिन आएकोले शंकर आएमा बुझाउने गरी शंकरको धनमाल जिम्मा लिने वसंधरीले सम्हाल्न नसकेकोमा नजिककोलाई जिम्मा दिनुपर्नेमा नदिई शिवलाई जिम्मावारी दिएको व्यवहार जालसाजी ठहर्ने र सोबाहेक धनमाल हिनामिना गरेको भन्ने वादी दावी पुग्न नसक्ने ठहर्याई छिनेको इन्साफ सुरुको मनासिव छ भन्ने गण्डकी अञ्चल अदालतबाट ०२३।१०।१२।६ मा फैसला भएको ।
६. सोउपर चित्त बुझेन भन्ने प्रतिवादी शिवलालको पुनरावेदन परेकोमा विदेश जाने शंकर मरेको हो भनी सुमित्राहरूले र पक्का गर्न नसकेको भनी वादी जुठुले लेखेको मिसिलबाट देखिन आउँछ । शंकरको अपुताली पाउने यो व्यक्ति हो भनी अपुताली मुद्दा चलेको बखतमा निश्चय हुन सक्छ शंकरको अपुताली पाउने म हुँ भनी वादी जुठुले दावी गरेको साथै साथ वेपत्ता हुने शंकरको सम्पत्ति हिनामिना हुन नदिने यो वादीको मनसाय देखिन्छ । शंकरको सम्पत्ति निजको दिदी सन्तुले कौशिलालाई कौशिलाले वसंधारीलाई वसंधारीले प्रतिवादी शिवलाललाई जिम्मा लगाएको वकसपत्रहरूबाट देखिन्छ । यो सम्पत्ति जिम्मा लिने शिवलाल देखिएको निजसमेत साक्षी बसी रत्नाखरकी नातिनी बुहारी पवित्राले शोभाकरलाई ११।१।२३ मा शेषपछिको बकसपत्र लेखिदिएकोमा म जिम्मा रहने शंकरको सम्पत्ति भन्नेसमेत बोली परी त्यस्तो कागज खडा गरेकोमा साक्षी बसेमा शिवलाललाई जरिवाना भएको आसामी शंकर धनी गोविन्दबहादुर भई ०८।२।४।४ मा पास गरेको लिखतलाई जुठुको उजूर परी जालसाजी ठहरी ०९।९।२४ गते फैसला भएको देखिएकाले यो सम्पत्ति हिनामिना गर्ने उद्योग चलिरहेको देखियो । जुठुकै उजूरबाट धनी गोविन्दबहादुर भएको लिखत बदर भएकोले उसैबखत देखिन् जुठुको उजूर लाग्न सक्ने भएकै छ । सम्पत्ति हिनामिना हुन नदिने उद्देश्यमा लागेको जुठुको वादी नै लाग्दैन भनी ठहर गर्नु उचित नभई अपुताली मुद्दाबाट आफ्नो हक गराउन पनि सक्ने हुनाले वादीको दावी दायर हुन सक्छ । उपरोक्त परिवन्धले सम्पत्ति हिनामिना गर्न जालसाजमा लागेको शिवलाललाई जिम्मा लगाएको कागज जालसाजी नै देखिने हुनाले जुठु जिम्मा लगाउने इन्साफ गण्डकी अञ्चल अदालतको मनासिव छ भन्ने २५।८।११।३ को डिभिजन बेञ्चको फैसला ।
७. यसमा विदेशमा जाने शंकरको अपुताली मैले पाउने हुँदा दिलाई पाउँ भनी अपुतालीको ऐनअन्तर्गत दावी लिई नालिस परेको यो मुद्दा नभएकोले दावीबेगर त्यसतर्फ यो मुद्दाबाट निर्णय दिइरहनु नपर्ने भई अपुताली खान पाउने नजिकको हकदार को हो भन्ने कुरा यस मुद्दाबाट विचार गरिरहनु परेन खासगरी शंकरको नजिकको हकवाला म छँदै शंकरको सम्पत्तिमा चलजति हिस्सा बण्डा गरी खाई अचलको हकमा वसंधरीबाट शिवलालले जिम्मा लिएको जालसाजी कागज पास गरी दिए–लिएको हुँदा बण्डा गरी खाएको धनमाल भराई उक्त लिखत बदर गरी शंकरको सम्पत्ति म जिम्मा गराई पाउँ भन्ने मुख्य दावीको यो मुद्दा भएकाले दावीबमोजिम गरी दिनुपर्ने नपर्ने के हो भन्ने कुराको निर्णयको लागि विदेश जानेको सम्पत्ति नजिकको हकवालाको जिम्मामात्र राख्न रखाउन सकिने कानूनी व्यवस्था छ छैन अरुको जिम्मा राखे रखाएकोमा हकवालाको नालिस दावी लाग्न सक्ने नसक्ने के हो भन्ने प्रश्नउपर नै सर्वप्रथम विचार गर्नुपर्ने हुन आएको छ ।
८. यस प्रश्नमा निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले विदेश जानेको सम्पत्ति नजिकको हकवालाकै जिम्मा राख्नु रखाउनुपर्ने कुनै कानूनले बाध्यता गरेको छैन । सम्पत्ति हिनामिना हुन नपाउने गरी जसलाई पत्याइन्छ उस जिम्मा राख्न रखाउन कानूनले नमिल्ने कुरा होइन । मेरो पक्ष शिवलालको जिम्मा राखे रखाएकोमा नजिकको हकवाला हुँ भन्ने नाताले वादीले नालिस उजूर गर्न पाउने कानूनी हक नहुँदा वादीको नालिस खारेज हुनुपर्छ भन्नेसमेत र वादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले विदेश जाने मानिस १०० वर्षसम्म पनि नआएमा त्यस्ताको अपुताली नजिकको हकवाला जो हो उसैले अपुतालीका ऐनबमोजिम खान पाउने हुँदा निज शंकरको सम्पत्ति अपुताली खान पाउने नजिककै हकवाला मेरो पक्ष जिम्मा राखिनु पर्छ । एकाको सम्पत्ति जिम्मा लिने व्यक्तिले आफू खुसी मन लागेको व्यक्तिका नाममा लिखत गरी जिम्मावारी सार्न पाउने कुनै कानून छैन । त्यसरी जिम्मावारी सारेकोमा पछि अपुताली खान पाउने हक भएको मेरो पक्षले नालिस गर्न नपाउने प्रश्नै आउँदैन । वसंधरीबाट शिवलालको जिम्मा सारेको जिम्मावारी कागज जालसाजी हुँदा बदर हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
९. तत्सम्बन्धमा कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित आशौच बार्नेको ३५ नं.मा देश परदेश गएको मानिस मर्यो जिउँदो केही पत्ता नभएकोमा घरबाट जाँदाको उमेर परदेश गएपछिको बर्ष जम्मा गरी १३० बर्ष उमेर नाघेपछि काजकृया गर्नुपर्ने र १०० बर्ष नपुगी अपुतालीको आशाले काजकृया गरेकोमा पछि जिउँदो फर्की आयो भने कृया गर्नेलाई उसैले पाउने अपुताली बमोजिम दण्ड हुनेसम्म व्यवस्था गरेको पाइन्छ, त्यस्ता विदेश जानेको सम्पत्ति ऐनले अपुताली खान पाउने नजिकको हकवालाको जिम्मा राख्नु रखाउनुपर्ने कुनै पनि कानूनले व्यवस्था गरेको पाउन सकिएन ।
१०. नजिकको हकवालाकै जिम्मा राख्नु रखाउनुपर्ने कानूनी व्यवस्था नभएपछि विदेश जानेको सम्पत्ति हिनामिना हुन गर्न नपाउने गरी जोसुकै जिम्मा पनि राख्न रखाउन कानूनले नमिल्ने हुँदैन । नजिकको हकवालाबाहेक अरु जिम्मा राखे रखाएकोमा सो जिम्मा लिने व्यक्तिले जिम्मा लिएको सम्पत्ति हिनामिनासमेत गरेमा अपुतालीबाट हक खोज्न पाउने अवस्था पुगेकोमा ऐनले अपुताली खान पाउने नजिकको हकवालाले अपुतालीको तहबाट ऐनबमोजिम दावी नालिस गरेमा उसैबखत ठहरेबमोजिम हुने कुरा हो । उपरोक्त आशौच बार्नेका ३५ नं. बमोजिम विदेश जानेको १०० बर्ष उमेर नभएसम्म हकवालाले कृयासमेत गर्न नपाउने र विदेश जाने मानिस आफै फर्की आएमा आफ्नो सम्पत्ति निजले नै खोजी गरी लिन पाउने हुन्छ नगिचको हकवालाले ऐनले अपुताली हक खोज्न पाउने अवस्था पुगी सकेको हुनु बेगर विदेश जानेको सम्पत्तिमा पहिले नै हकवालाको हक पुग्न सक्ने हुँदैन यस स्थितिमा विदेश जानेको सम्पत्ति अरु जिम्मा राख्न रखाउन कानूनले बन्देज नलगाएकोमा अरु जिम्मा लगाएको बदर गरी मेरो जिम्मा राखी रखाई पाउँ भनी हकवालाले दावी नालिस गर्न पाउने हक नै कानूनले दिएको छैन । त्यसकारण वादीको यो नालिस लाग्न नसक्ने प्रष्ट हुन्छ ।
११. तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट वादीको यो नालिस तत्काल प्रचलित अ.बं.१०६ हालको अ.बं. ८२ नं. बमोजिम खारेज हुने ठहर्छ । शुरु पोखरा ई.अ. तथा गण्डकी अञ्चल अदालत र २५।८।११।३ को डिभिजन बेञ्च समेतबाट इन्साफ ठहर गरेको मिलेको देखिएन, अरु तपसीलबमोजिम गर्नु ।
तपसील
देहायका मानिस के.ई.अ.पोखराको ०२१।८।१७।४ को फैसलाले गर्ने गरेको देहायबमोजिम जरिवाना नलाग्ने हुँदा असुल भएको फिर्ता बाँकीको लगत कट्टा गरिदिनु भनी हालको कास्की जि.अ.मा लेखी पठाउन कानूनबमोजिम लगत दिनु.............................१
आसबहादुर गुरुङ के रू.५। गोविन्दबहादुर शाह के रू.५।
गणेशभक्त श्रेष्ठ के रू.५।
शिवलाल पाध्या के रू.५। वसंधरी पाध्यानी के रू.५।
जुठु पाध्या के रू.३३।३८
देहायका मानिस के गण्डकी अञ्चल अदालतको ०२३।१०।१४।६ को फैसलाले गर्ने गरेको देहायबमोजिम जरिवाना नलाग्ने हुँदा असुल भएको फिर्ता बाँकीको लगत कट्टा गरिदिनु भनी ऐ.ऐ.२
वसंधारी पाध्यानी के रू.।३ जि.म.शिवलाल पाध्या के रू.।५०
वादी जुठु पाध्याके गण्डकी अञ्चल अदालतमा पुनरावेदन गर्दा ०२१।११।२९।६ मा दाखिल गरेको धरौट रू.३।३४ कोर्टफी रू.२।१ नलाग्ने हुँदा धरौटको हकमा गण्डकी अञ्चल अदालतको ०२३।१०।१४।६ को फैसलाले फिर्ता दिने गरीसकेकोले कोर्टफी रू.२।१ को हकमा कोर्टफी ऐन, २०१७ को दफा १७ बमोजिम ३ वर्षभित्र फिर्ता लिन आएमा कानूनबमोजिम फिर्ता दिनु भनी गण्डकी अञ्चल अदालतलाई लेखी पठाउन ऐ..........................३
प्रतिवादी जि.नु.शिवलाल पाध्या के ०२५।८।११।३ को डिभिजन बेञ्चको फैसलाले गर्ने गरेको जरिवाना रू.।२५ नलाग्ने हुँदा असुल भइसकेको भए फिर्ताबाँकी भए लगतकट्टा गरिदिनु भनी ऐ...४
ऐनले दर्ता हुन नसक्ने नालिस अदालतको गल्तीले दर्ता हुन गएको खारेज हुने ठहरेकोले खारेज भएबापतमा वादीलाई केही गर्नुपर्दैन.............................५
नियमबमोजिम मिसिल बुझाइदिनु........................६
न्या. वासुदेव शर्मा,
न्या. विश्वनाथ उपाध्याय
हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल आश्विन १७ गते रोज ३ शुभम् ।