निर्णय नं. ७०९ - सावाँ ब्याज भराइपाउँ

निर्णय नं. ७०९ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह
माननीय न्यायाधीश श्री वृषबहादुर थापा
सम्वत् २०२९ सालको दे.फु.नं. ११३
फैसला भएको मिति : २०२९।८।८।६
निवेदक : का.जि. कपन बस्ने ठुली खड्केनी क्षेत्रिनी
विरुद्ध
विपक्षी : ऐ. कपनटार बस्ने भीमबहादुर खड्का क्षेत्री
मुद्दा : सावाँ ब्याज भराइपाउँ
(१) म्यादमा धितो चलन नगरेकोबाट कपाली हुन गई कपाली भएको नाताले ब्याज भराउन नमिल्ने ।
यसमा २०२९।५।२९।४ को डिभिजन बेञ्चको फैसलाले वादीलाई ब्याज भराउने गरेको कानून अनुकुल छ वा छैन यस्तोमा तत्कालिन साहू आसामीको ५ नं.ले ब्याज नपाउने वा तत्काल रजिष्ट्रेशनको ७ र साहू आसामीको २क.नं. बमोजिम ब्याज पाउने के हो भन्ने कुराको निर्णय दिनुपर्ने हुन आएको छ । वादी प्रतिवादीका बीचमा भएको ०१९।३।११ को लिखतमा ब्याजको शर्त लेखिएको छैन । कारोवार भएका बखत बहाल रहेको साहू आसामीको २क.नं.मा साहूले भोगबन्धकीमा १ वर्षभित्र र दृष्टिबन्धकीमा २ वर्षभित्र चलन गर्नु वा चलन गर्न नदिए चलन चलाई माग्नालाई नालिस दिनुपर्छ भन्ने लेखिएको म्यादभित्र नालिस नदिई ब्याजसम्म लिने खाने गरिआएको रहेछ भने ब्याजैको लोभले रहेको ठहर्नाले लेखिदिएको भोग दृष्टि समाउन पाउँदैन । कपालीसरह हुन्छ भन्ने लेखिएको र सोही महलको ५ नं.मा लेनदेन गर्दा व्याज लेखिएकोमा व्याज र मुनाफा लेखिएकोमा मुनाफा सयकडा १० वा त्यसभन्दा घटी लेखिएकोमा लिखतैबमोजिम सम्म मात्र भरिपाउँछ भन्ने लेखिएको रजिष्ट्रेशनको ७ नं.मा रजिष्ट्रेशन पास गराउनु पर्ने कागज पास नगराई ११ नं.का म्यादमा पास गराउन नालेस पनि नदिएको रहेछ भने त्यस्ता कागजबाट जग्गाजमीन घरमा दावा गरेको नालिस लाग्न सक्दैन थैली परेकोमा परेको थैली र त्यसको आयस्ता वा ब्याज अथवा भोग्न पाएको जतिमा ऐनबमोजिम शुदसम्म साहूले कपालीसरह भराइलिन पाउँछ भन्ने लेखिएको देखिन्छ । लिखतमा ब्याजको शर्त नलेखिएको रहेछ भने उक्त साहू आसामीको ५ नं.ले ब्याज नपाउने र लिखतै पास हुन सकेको रहेनछ भने उक्त रजिष्ट्रेशनको नं.७ ले ब्याज भराउने व्यवस्था गरेको देखिन्छ । म्यादमा धितो चलन नगरेको वा चलन चलाई माग्न नालिस नगरेकोमा धितो समाउन नपाउने ब्याजको लोभमा बसेको ठहर्ने उक्त साहू आसामीको २क.नं.मा समेत व्यवस्था भएको पाइन्छ । रजिष्ट्रेशन पास नभएकाबाट ब्याज भरी पाउने उक्त रजिष्ट्रेशनको ७ नं.को व्यवस्था यो लिखत पास भइसकेको मुद्दामा लागू हुने देखिएन । साहू आसामीको २ (क) नं. बमोजिम म्यादमा धितो चलन नगरेकोबाट कपाली हुन गई कपाली भएका नाताले ब्याज पाउने हो कि भन्नालाई लिखतमा ब्याज तिर्ने शर्त नलेखिएकोमा ब्याज भराउन नमिल्ने साहू आसामीको ५ नं.को व्यवस्थाअनुसार कपाली भए पनि ब्याज लिने खाने शर्त भएको अवस्थामा मात्र ब्याज भराउने कानूनी तर्क हुन आउँछ । यो मुद्दामा साहूले धितो चलन गर्न नपाएको नभई साहूले आफै चलन नगरेको या चलन चलाई माग्न नालिस नगरेको भन्ने अवस्था देखिन आएको हुनाले आफ्नो कानूनी अधिकार र कर्तव्यमा निर्भर गर्ने साहूले नै धितोको आयस्तामा माया मारेको अवस्था पर्न जान्छ । प्रतिवादीको भनाइबाट हरसाल मुरी ८।१० धान आयस्ता बुझाई आएको रसिद भरपाई नदिई ब्याजमा दोहोरो लिन दावी गरेको भन्ने भनाई भएकोमा लिन नपाउने ब्याज दुईपक्षको राजीखुसीबाट घरसारमा लिए खाएको हवस् वा नहोस् त्यस्तो भनाई लेखाइका भरले उक्त साहू आसामीको ५ नं.ले लिखतमा नलेखिएको ब्याज भराउन नमिल्ने कानूनी व्यवस्थालाई अर्को अर्थमा लैजान मिल्ने देखिँदैन । ०२९।२।२०।६ को डिभिजन बेञ्चको फैसलामा फुल बेञ्चको ०२९।१।२० को निर्णयले ब्याज भराउने गरेको भन्ने नजीर उल्लेख गरेको छ तापनि सो फुल बेञ्चको निर्णयले रजिष्ट्रेशन पास नभएको लिखतको कारोवारमा रजिष्ट्रेशनका ७ नं. बमोजिम ब्याज भराउने गरेको देखिएकोले यो रजिष्ट्रेशन पास भइसकेको लिखतका कारोवारको मुद्दामा उक्त नजीर मिल्ने देखिँदैन । तसर्थ ब्याज नपाउने गरी ०२९।५।२९।४ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । नियमबमोजिम मिसिल बुझाइदिनु ।
(प्रकरण नं.६)
निवेदक तर्फबाट :
विपक्षी तर्फबाट :
उल्लिखित मुद्दा :
फैसला
न्या. वासुदेव शर्मा
१. प्रस्तुत मुद्दामा भएको ०२९।५।२९।४ को र पुनरावेदक पूर्णजङ्ग पराक्रम शाहविरुद्ध हरिनारायणको लेनदेन मुद्दामा भएको ०२९।२।२०।६ को डिभिजन बेञ्चको फैसलाको रुलिङ्ग नमिलेको भनी निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको रहेछ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : प्रतिवादीले ०१९।३।११ गते रू.१७०१ लिई घरजग्गा भोगबन्धकी लेखी रजिष्ट्रेशन पास गरिदिएको सो घर जग्गा चलन गर्नसमेत नदिएबाट तमसुक कपाली हुन गएकोले सावाँ र दसौंद ब्याजसमेत भराइपाउँ भन्ने वादी ।
३. वादीबाट रू.१७०१। कर्जा लिई घर जग्गा बन्धकी पास गरिदिई सालको ब्याज धान मुरी ८।१० बुझाइआएको भरपाई दिएको छैन । ब्याज तिर्न बाँकी छैन कबुलियत दवाई झुठ्ठा नालिस गरेको हो भन्नेसमेत प्रतिवादी ।
४. बन्धकी जग्गा भोगचलन गर्न र बहाल बुझाउने कबुलियत प्रतिवादीले गरी नदिएबाट बन्धकी लिखत कपाली भएको देखिन आएकोले वादीले प्रतिवादीबाट दावीबमोजिम सावाँ ब्याज भरिपाउने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतबाट र प्रतिवादीको पुनरावेदन परेकोमा साहूले ब्याज नखोज्नु आसामीले आयस्ता बाली नखोज्नु भन्ने लिखतमा प्रष्ट उल्लेख भइरहेकोले ब्याज दिलाउन नमिल्ने सावाँसम्म भरिपाउने भन्ने बागमती अञ्चल अदालतबाट फैसला भएको ।
५. सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा ०२९।५।२९।४ को डिभिजन बेञ्चबाट निर्णय हुँदा ब्याजसमेत भराइपाउँ भन्ने वादी दावीतर्फ लिखतमा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन भन्ने लेनदेन व्यवहारको ६ नं.मा उल्लेख भएको फिरादीले पेशगरेको लिखतमा ब्याज लिनेदिने सर्त नरहेकाले सोऐनले ब्याजमा दावा पुग्ने देखिएन । लिखतमा लेखिएको चिज भोग गर्न नपाइने लिखत कपाली भएको वा पास गराउनुपर्ने लिखत पास गराउन नसकेबाट लिखत कपाली हुन आएकोले लेनदेन व्यवहारको २३ रजिष्ट्रेशनका ६ नं.ले ब्याजमा दावी पुग्ने अवस्था पर्न गएको नभई लिखत रजिष्ट्रेशन पास भइरहेकै हुँदा लिखतबमोजिम जग्गा चलन गर्ने वा चलन गर्न नदिएको भए ०१९।३।१० का भोगबन्धकी लिखतउपर साहू आसामीको २ (क) नं. बमोजिम १ वर्षभित्र चलन चलाई माग्ने नालिस गर्नुपर्ने कर्तव्य भएका साहूले सोबमोजिम कुनै कुरा नगरी निचमारी बसेबाट कपाली हुन आएको लिखतको ब्याज साहू आसामीको ५ नं.ले पनि दिलाउन मिलेन, भोगमा १ बर्ष दृष्टिबन्धकीमा २ वर्षभित्र चलन गर्नु वा चलन गर्न नदिए चलन चलाई माग्न नालिस दिनुपर्छ लेखिएको म्यादभित्र नालिस नदिई ब्याजै लिने खाने गरी आएको रहेछ भने ब्याजैका लोभले रहेको ठहर्छ लेखिएको भोग दृष्टि समाउन पाउँदैन । कपालीसरह हुन्छ भन्ने उक्त साहू आसामीको २ (क) नं.मा उल्लेख भएको भोग दृष्टिमा दावा पुग्ने वा नपुग्ने कुराको व्यवस्थाका लागि सोकुरा उल्लेख भएको देखियो । सो २ (क) नं.पछिको साहू आसामीको ५ नं.मा कर्जा लेनदेन गर्दा ब्याज लेखिएकोमा ब्याज र २००२ साल वैशाख १ गतेदेखि उप्रान्त मुनाफा लेखिएकोमा मुनाफा लिँदा सयकडा १० भन्दा घटी लेखिएकोमा लिखतबमोजिम मात्र पाउँछ भन्ने उल्लेख भएकाले सो २ (क) नं.र ५ नं.दुवै भिडाई हेर्दा ब्याजैसम्म लिने खाने गरिआएको रहेछ भन्ने शब्द २ (क) नं.मा ब्याज लेखिएकोमा ब्याज र मुनाफा लेखिएको मुनाफा लिँदा सयकडा १० देखि घटी ब्याज मुनाफा लेखिएकोमा लिखतबमोजिम मात्र पाउँछ भन्ने ५ नं.मा उल्लेख भएकोले ब्याज लेखिएकोमा भन्ने र लिखतबमोजिम मात्र पाउँछ भन्ने वाक्यले लिखतमा ब्याज नलेखिएकोमा ब्याज नपाउने कुरा प्रष्ट छ । वर्तमान लेनदेन व्यवहारको ६ नं.मा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन भन्ने उल्लेख भएकाले साहू आसामीको ५ नं.र लेनदेन व्यवहारको ६ नं.को व्यवस्था मिलाउँदा ब्याज लेखिएकोमा लिखतबमोजिम सम्ममात्र पाउँछ भन्नाले ब्याज नलेखिएकोमा ब्याज भराइदिन नमिल्ने विधिकर्ताको मनसाय देखिएकाले लिखतमा ब्याज लिनेदिने शर्त नरहेकोमा पनि अदालतबाट ब्याज भराइदिने भन्ने अर्थ गर्न मिल्दैन । ब्याज भराउन नमिल्ने ठहराएको इन्साफ बागमती अञ्चल अदालतको मनासिव छ । यस्तै वादी पूर्णजंग पराक्रम शाहा प्रतिवादी हरीनारायणको लेनदेन मुद्दामा ब्याज पाउने ठहराई ०२९।२।२०।६ को डिभिजन बेञ्चसँग रुलिङ्ग नमिलेकोले फूलबेञ्चमा पेश गर्नु भन्ने ०२९।५।२९।४ को डिभिजन बेञ्चको फैसला ।
६. यसमा २०२९।५।२९।४ को डिभिजन बेञ्चको फैसलाले वादीलाई ब्याज भराउने गरेको कानून अनुकुल छ वा छैन यस्तोमा तत्कालिन साहू आसामीको ५ नं.ले ब्याज नपाउने वा तत्काल रजिष्ट्रेशनको ७ र साहू आसामीको २क.नं. बमोजिम ब्याज पाउने के हो भन्ने कुराको निर्णय दिनुपर्ने हुन आएको छ । वादी प्रतिवादीका बीचमा भएको ०१९।३।११ को लिखतमा ब्याजको शर्त लेखिएको छैन । कारोवार भएका बखत बहाल रहेको साहू आसामीको २क.नं.मा साहूले भोगबन्धकीमा १ वर्षभित्र र दृष्टिबन्धकीमा २ वर्षभित्र चलन गर्नु वा चलन गर्न नदिए चलन चलाई माग्नालाई नालिस दिनुपर्छ भन्ने लेखिएको म्यादभित्र नालिस नदिई ब्याजसम्म लिने खाने गरिआएको रहेछ भने ब्याजैको लोभले रहेको ठहर्नाले लेखिदिएको भोग दृष्टि समाउन पाउँदैन । कपालीसरह हुन्छ भन्ने लेखिएको र सोही महलको ५ नं.मा लेनदेन गर्दा व्याज लेखिएकोमा व्याज र मुनाफा लेखिएकोमा मुनाफा सयकडा १० वा त्यसभन्दा घटी लेखिएकोमा लिखतैबमोजिम सम्म मात्र भरिपाउँछ भन्ने लेखिएको रजिष्ट्रेशनको ७ नं.मा रजिष्ट्रेशन पास गराउनु पर्ने कागज पास नगराई ११ नं.का म्यादमा पास गराउन नालेस पनि नदिएको रहेछ भने त्यस्ता कागजबाट जग्गाजमीन घरमा दावा गरेको नालिस लाग्न सक्दैन थैली परेकोमा परेको थैली र त्यसको आयस्ता वा ब्याज अथवा भोग्न पाएको जतिमा ऐनबमोजिम शुदसम्म साहूले कपालीसरह भराइलिन पाउँछ भन्ने लेखिएको देखिन्छ । लिखतमा ब्याजको शर्त नलेखिएको रहेछ भने उक्त साहू आसामीको ५ नं.ले ब्याज नपाउने र लिखतै पास हुन सकेको रहेनछ भने उक्त रजिष्ट्रेशनको नं.७ ले ब्याज भराउने व्यवस्था गरेको देखिन्छ । म्यादमा धितो चलन नगरेको वा चलन चलाई माग्न नालिस नगरेकोमा धितो समाउन नपाउने ब्याजको लोभमा बसेको ठहर्ने उक्त साहू आसामीको २क.नं.मा समेत व्यवस्था भएको पाइन्छ । रजिष्ट्रेशन पास नभएकाबाट ब्याज भरी पाउने उक्त रजिष्ट्रेशनको ७ नं.को व्यवस्था यो लिखत पास भइसकेको मुद्दामा लागू हुने देखिएन । साहू आसामीको २ (क) नं. बमोजिम म्यादमा धितो चलन नगरेकोबाट कपाली हुन गई कपाली भएका नाताले ब्याज पाउने हो कि भन्नालाई लिखतमा ब्याज तिर्ने शर्त नलेखिएकोमा ब्याज भराउन नमिल्ने साहू आसामीको ५ नं.को व्यवस्थाअनुसार कपाली भए पनि ब्याज लिने खाने शर्त भएको अवस्थामा मात्र ब्याज भराउने कानूनी तर्क हुन आउँछ । यो मुद्दामा साहूले धितो चलन गर्न नपाएको नभई साहूले आफै चलन नगरेको या चलन चलाई माग्न नालिस नगरेको भन्ने अवस्था देखिन आएको हुनाले आफ्नो कानूनी अधिकार र कर्तव्यमा निर्भर गर्ने साहूले नै धितोको आयस्तामा माया मारेको अवस्था पर्न जान्छ । प्रतिवादीको भनाइबाट हरसाल मुरी ८।१० धान आयस्ता बुझाई आएको रसिद भरपाई नदिई ब्याजमा दोहोरो लिन दावी गरेको भन्ने भनाई भएकोमा लिन नपाउने ब्याज दुईपक्षको राजीखुसीबाट घरसारमा लिए खाएको हवस् वा नहोस् त्यस्तो भनाई लेखाइका भरले उक्त साहू आसामीको ५ नं.ले लिखतमा नलेखिएको ब्याज भराउन नमिल्ने कानूनी व्यवस्थालाई अर्को अर्थमा लैजान मिल्ने देखिँदैन । ०२९।२।२०।६ को डिभिजन बेञ्चको फैसलामा फुल बेञ्चको ०२९।१।२० को निर्णयले ब्याज भराउने गरेको भन्ने नजीर उल्लेख गरेको छ तापनि सो फुल बेञ्चको निर्णयले रजिष्ट्रेशन पास नभएको लिखतको कारोवारमा रजिष्ट्रेशनका ७ नं. बमोजिम ब्याज भराउने गरेको देखिएकोले यो रजिष्ट्रेशन पास भइसकेको लिखतका कारोवारको मुद्दामा उक्त नजीर मिल्ने देखिँदैन । तसर्थ ब्याज नपाउने गरी ०२९।५।२९।४ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । नियमबमोजिम मिसिल बुझाइदिनु ।
न्या. वृषबहादुर थापा,
न्या. सुरेन्द्रप्रसाद सिह,
न्या. झपटसिंह रावल,
प्र.न्या. रत्नबहादुर बिष्ट
हामीहरूको सहमती छ ।
इति सम्वत् ०२९ साल पुष ८ गते रोज ६ शुभम् ।