शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७१० - ...

भाग: १४ साल: २०२९ महिना: बैशाख अंक:

निर्णय नं. ७१०       ने.का.प. २०२९

सिंगल बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

आदेश भएको मिति : २०२९।१०।६।६

(१)  प्रहरीमा हिरासतमा रहेको पनि पुर्पक्ष भइरहेको देखिने ।

          यसमा ऐनले पुर्पक्षमा थुनिएको समय मिन्हा हुने भएकोले पुलिस प्रहरी अभियोक्ताहरूले थुनामा राखेको समय कट्टि गर्नु नै असल हुने र प्रहरीमा हिरासतमा रहेको पनि पुर्पक्ष भइरहेको देखिने हुनाले मिन्हा दिनु भनी यो आदेश सहितको फाराम बमोजिम कागजात भएको प्रतिवेदन फायल राजविराज बेञ्च सगरमाथा अञ्चल अदालतमा पठाइदिनु ।

(प्रकरण नं. २)

आदेश

    न्या. हेरम्बराज

     १.   सरकारी मुद्दा सम्बन्धी ऐनबमोजिम श्री ५ को सरकार वादी हुने डाँका चोरी ईत्यादि मुद्दामा प्रहरीबाट प्रतिवादी पक्राउ गरी अदालतबाट म्याद थप लिई आखिरी म्याद २५ दिन सम्म हिरासतमा राख्न सक्ने र त्यतिका दिन थुनामा राखी त्यसपछि अदालतमा मुद्दा बुझाएकोमा निजलाई सजाय लाग्ने ठहर्‍यो भने प्रहरीले हिरासतमा राखेको समयलाई अ.बं.१२० नं. बमोजिम कसैले मिन्हा दिएको कसैले मिन्हा नदिएको देखिएकोले र सरकारी मुद्दा सम्बन्धी ऐन दफा ७ को थप दफा ४ मा पुलिस हिरासतमा रहेको व्यक्ति भन्ने भएको अ.बं.१२० नं.मा थुनमा रहेको व्यक्तिलाई मिन्हा दिने भन्ने भएकोबाट शब्द सम्मको फरक भए तापनि आखिर मजबुन एकै भई हिरासतमा रहेको भन्ने पनि थुनिएकै सरह मान्नु पर्ने हुँदा प्रहरीको हिरासतमा रहेको मिन्हा दिनुपर्दैन भन्ने सबै अदालतलाई एकै हिसाबको मार्गदर्शनको निकास गरी पाए एकरुपता हुन जाने थियो भनी सप्तरी जिल्ला अदालतले प्रस्तुत गरेको प्रतिवेदनमा अनुसन्धान कारवाहीको निमित्त बैधानिक रुपले हिरासतमा राखी तत्पश्चात अदालतमा मुद्दा दायर गरेपछि प्रतिवादीलाई सजाय गर्नुपर्ने भयो कैदको भागी जो हुन्छ हिरासतमा रहेको दिन समेत गणना गरी सजाय गर्नुपर्ने यस अदालतको पनि सहमत छ सबै अञ्चल अदालत जिल्ला अदालतहरू लाई एकरुपताको निमित्त परिपत्र यस अदालतबाट गर्न नमिल्ने भएकोले सप्तरी जिल्ला अदालतको प्रतिवेदन यसैसाथ राखी जाहेर गरेको छु भन्ने सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चले प्रस्तुत गरेको प्रतिवेदनमा भएका आदेशानुसार सबै अञ्चल अदालतबाट प्रतिवेदन मगाई सबै अञ्चलको प्रतिवेदन एकसाथ राखी पेश हुन आएको नं.५।११३ को प्रतिवेदन पेश भयो ।

     २.   यसमा ऐनले पुर्पक्षमा थुनिएको समय मिन्हा हुने भएकोले पुलिस प्रहरी अभियोक्ताहरूले थुनामा राखेको समय कट्टि गर्नु नै असल हुने र प्रहरीमा हिरासतमा रहेको पनि पुर्पक्ष भइरहेको देखिने हुनाले मिन्हा दिनु भनी यो आदेश सहितको फाराम बमोजिम कागजात भएको प्रतिवेदन फायल राजविराज बेञ्च सगरमाथा अञ्चल अदालतमा पठाइदिनु ।

 

इति सम्वत् २०२९ साल माघ ६ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु