निर्णय नं. ७१४ - बाली र निष्काशन

निर्णय नं. ७१४ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
सम्वत् २०२७ सालको दे.फु.नं. ९७
फैसला भएको मिति : २०२९।१०।१३।३
निवेदक : भ.पु.तेखाछे टोल बस्ने राम ठिमी
विरुद्ध
विपक्षी : भ.पु. इताछे टोल बस्ने पूर्णबहादुर भुजु
मुद्दा : बाली र निष्काशन
(१) अघिल्लो दिन नभ्याई अधुरो रहेको सर्जमिन भोलिपल्ट बुझेकोलाई गैरकानूनी भन्न नमिल्ने ।
मुख्य दरभाउमा विवाद भएकोले सो सम्बन्धमा ०२८।९।१६ का फुल बेञ्चका आदेशबमोजिम बुझी आएको सर्जमिन मुचुल्का हेर्दा ०२९ साल श्रावण १५ र १६ गते दुई दिन उक्त सर्जमिन बुझ्ने काम भएको देखिएको र यसै कुरालाई लिई पहिलो दिन सर्जमिन बुझ्ने काम भइसकेपछि फेरि दोस्रो दिन बुझ्न नहुने बुझेको गैरकानूनी हो भनी वादीतर्फका विद्वान अधिवक्ताले आपत्ति उठाउनुभएको समेत भए पनि पहिलो दिन श्रावण १५ गते सर्जमिन बुझ्ने काम भएकोमा आज ज्यादै हुलदंगा भएको र साथै समयले पनि नभ्याएको हुँदा बाँकी पुनः सर्जमिन हुनेछ भनी सुनाएको सुनिपायौं । सर्जमिनका मानिसहरू धेरै बाँकी भएको र समयले पनि नभ्याएको हुँदा आजलाई स्थगित भएको ठीक हो भन्नेसमेत सो सर्जमिन मुचुल्कामै लेखी दुवैपक्षको समेत सहिछाप गराई मिति बन्द गरी बाँकी सर्जमिन भोलिपल्ट श्रावण १६ गते फेरि बुझेको उक्त सर्जमिन मुचुल्काबाट देखिएको र त्यसरी अघिल्लो दिन समयले नभ्याएकोमा भोलिपल्ट फेरि बुझ्न नहुने कानूनले बन्देज लगाएको नहुनाले अघिल्लो दिन नभ्याई अधुरो रहेको बाँकी सर्जमिन भोलिपल्ट बुझेकोलाई गैरकानूनी हो भन्न मिल्ने देखिएन ।
(प्रकरण नं. ९)
फैसला
न्या. चन्द्रप्रसाद प्रधान
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : मेरो नाममा दर्ता भएको ३२ नं.इन्द्रायणी न.नं.८९७।९०४।११७ ९०३।९९८।९०१ समेतको अवल रोपनी ३।।। ।।।३ मध्ये ३ खण्डको २ खण्ड रोपनी पनि २।। ।।२ प्र.को दाजुले ०१७ सालदेखि कमाएकोमा १८।१९ सालको बालीमा मेरो नालिस पर्दा प्रतिवादी राम ठिमी मोही ठहरी मुद्दा फैसला भएको प्रतिवादीले २०।२१।२२ सालको बाली नदिएकाले जम्मा धान मुरी ।९।१४।५ को मुरी १ के रू.९५ ले रू.९२४।४६।१ गहुँ मुरी २।१४ को मुरी १ के रू.८०। ले रू.२१६ समेत जम्मा रू.११४०।४६।१ भराई जग्गाबाट निष्काशन गरिपाउँ भन्नेसमेत वादी ।
३. वादीले २० सालको बाली बुझी नलिएकोले भ.पु.माल दोश्रामा जिन्सी धान धरौट राखिदिएको छु ०२१ सालको बाली नबुझेकाले भ.पु.माल दोस्रामा र ०२२ सालको पनि नबुझेकाले भ.पु.नगर पञ्चायतमा धरौट राखेको छु बाली मेरो पेट बाँकी छैन भन्नेसमेत राम ठिमीको प्रतिवादी ।
४. जग्गा मिच्नेको १८ नं.यसमा प्रयोग हुन नसक्ने र भूमिसम्बन्धी प्रथम संशोधन ऐन, ०२२ को दफा ३३ (क) को प्रष्टीकरण अन्तर्गत २०२१ सालको बालीको दावी खारेज हुने ०२२ सालको बालीका हकमा प्रतिवादीले सयकडा १० भन्दा बढी नपुग हुने गरी धरौट राखेको देखिएकाले भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३६ अन्तर्गत बाली बाँकी नै भन्नु परी वादीले प्रतिवादीबाट सो २२ सालको बाली किसिम बमोजिम भरिपाउने र निष्काशनसमेत गरिपाउने ठहर्छ भन्ने भूमिसुधार विशेष अदालत ललितपुर, भक्तपुरको ०२४।३।२३।३ को फैसला ।
५. ०२०।२१ सालको बालीमा दावी नलाग्ने गरेको चित्त बुझेन भन्ने वादीको ०२२ सालको बाली भराउने मोही निष्काशन गर्ने गरेकोमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी पुनरावेदन परेको ।
६. भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, ०२२ को दफा ३३ (क) को स्पष्टीकरणसमेतबाट वादीको ०२०।२१ सालको बालीमा दावी नपुग्ने र ०२२ सालको हकमा प्रतिवादीले भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३६ अन्तर्गत सयकडा १० भन्दा घटी पारी धरौट राखेको देखिनाले प्रतिवादीबाट ०२२ सालको बाली विगो रू.३०९।५ भराई जग्गा निष्काशन गर्ने ठहराएको भूमिसुधार विशेष अदालत भक्तपुर, ललितपुरको ०२४।२।२२।३ को इन्साफ मनासिव ठहर्छ भन्ने ०२६।९।११।६ को डिभिजन बेञ्चबाट फैसला भएको ।
७. यसमा ०२०।२१ सालको बालीको दावीका हकमा भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, ०२२ ले यस दफा ३६ (क) ले तोकिदिएको म्यादभित्रको उजूरी नभएको र शुरु विशेष अदालत र डिभिजन बेञ्च समेतबाट त्यसतर्फ दावी नपुग्ने ठहराएकोमा हाल कुनै विवाद उठाएको पनि नहुनाले त्यसतर्फ यस बेञ्चबाट अरु विचार गरिरहनु परेन ०२२ सालको बालीको हकमा दावीबमोजिम वादीले बाली भरिपाउने नपाउने र प्रतिवादीलाई मोहीबाट निष्काशन गर्नुपर्ने नपर्ने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
८. निवेदक प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले हाल बुझिएका सरजमिनमा धेरैको भनाइबाट ०२२ सालमा धान मुरी १। को सरदर रू.५५ कै भाउ कायम हुन आएको छ । मेरो पक्षले रू.५५। कै भाउले धरौट राखेकोले सयकडा १० भन्दा घटी धरौट राखेको भन्न मिल्ने अवस्था छैन । दावीबमोजिम बाली भरिपाउन र मोही निष्काशन हुन सक्ने होइन भन्नेसमेत र वादीतर्फका विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानाङ्गले पहिलो दिनमा बुझिएका धेरै सरजमिनले मेरो पक्षको दावीबमोजिम ९५। कै भाउलाई सपोट गरी लेखिदिएका छन् । दोस्रो दिन बुझिएका सरजमिनको हकमा पहिलो दिन बुझिसकेपछि फेरि दोस्रो दिन पनि बुझ्न नहुने बुझेको गैरकानूनी हुँदा त्यसको विचारै गर्नु परेन । भक्तपुरकै ठिमीको पूर्णकुमार श्रेष्ठ विरुद्ध सिँगराज श्रेष्ठ दे.फु.नं. १२६ को बाली निष्काशन मुद्दामा ०२२ सालमा धान मुरी १। के रू.७५। को भाउ कायम गरी बाली भराउने गरेको हुँदा मेरो पक्षले रू.९५। को भाउले विगो दावी गरे पनि फुल बेञ्चबाट कायम भएको रू.७५। को भाउ कायम हुनुपर्छ प्रतिवादीले धरौट राखेको अंक रू.७५। कै भाउले पनि सयकडा ।१० भन्दा घटी हुँदा त्यसलाई मान्यता दिन मिल्दैन । रू.७५। को भाउले मेरो पक्षले बाली भरि पाउनुपर्छ र मोही निष्काशन समेत हुनुपर्छ भनी वहस गर्नुभयो ।
९. मुख्य दरभाउमा विवाद भएकोले सो सम्बन्धमा ०२८।९।१६ का फुल बेञ्चका आदेशबमोजिम बुझी आएको सर्जमिन मुचुल्का हेर्दा ०२९ साल श्रावण १५ र १६ गते दुई दिन उक्त सर्जमिन बुझ्ने काम भएको देखिएको र यसै कुरालाई लिई पहिलो दिन सर्जमिन बुझ्ने काम भइसकेपछि फेरि दोस्रो दिन बुझ्न नहुने बुझेको गैरकानूनी हो भनी वादीतर्फका विद्वान अधिवक्ताले आपत्ति उठाउनुभएको समेत भए पनि पहिलो दिन श्रावण १५ गते सर्जमिन बुझ्ने काम भएकोमा आज ज्यादै हुलदंगा भएको र साथै समयले पनि नभ्याएको हुँदा बाँकी पुनः सर्जमिन हुनेछ भनी सुनाएको सुनिपायौं । सर्जमिनका मानिसहरू धेरै बाँकी भएको र समयले पनि नभ्याएको हुँदा आजलाई स्थगित भएको ठीक हो भन्नेसमेत सो सर्जमिन मुचुल्कामै लेखी दुवैपक्षको समेत सहिछाप गराई मिति बन्द गरी बाँकी सर्जमिन भोलिपल्ट श्रावण १६ गते फेरि बुझेको उक्त सर्जमिन मुचुल्काबाट देखिएको र त्यसरी अघिल्लो दिन समयले नभ्याएकोमा भोलिपल्ट फेरि बुझ्न नहुने कानूनले बन्देज लगाएको नहुनाले अघिल्लो दिन नभ्याई अधुरो रहेको बाँकी सर्जमिन भोलिपल्ट बुझेकोलाई गैरकानूनी हो भन्न मिल्ने देखिएन ।
१०. उक्त दुवै दिनमा बुझिएका सरजमिनहरूको भनाइको मूल्यांकन गरी हेर्दा सो ०२२ सालमा धान मुरी १ के रू.९० देखि ९८ सम्मको भाउ थियो भनी भन्ने भन्दा रू.५० देखि ५५–५६ सम्मको भाउ थियो भनी भन्नेहरूको संख्या धेरै बढी भएको पाइन्छ । स्वयं वादी पक्षका विद्वान अधिवक्ता मेरो पक्षले रू.९५ को भाउले विगो कसे पनि रू.७५। को भाउले भरिपाउनुपर्छ भनी आफ्नो पक्षले बढी दावी गरेको भन्ने कुरा वहसमा स्वीकार पनि गरिसक्नुभएको छ । त्यसकारण वादीले धान मुरी १। को रू.९५। को भाउले दावी गरेको मनासिव मान्न मिलेन । बहुसंख्यक सरजमिनको भनाइअनुसार धान मुरी १। को सरदर रू.५५। कै दरभाउ भएको कायम हुन्छ ।
११. प्रतिवादीले कुन भाउले के कति धरौट राखेको रहेछ भन्नेतर्फ भक्तपुर नगरपञ्चायतबाट आएको ०२२ सालको बाली धरौट मिसिल हेर्दा किसिमबमोजिम धान मुरी २।१७।४ को धान मुरी १। के रू.५५। ले रू.१५८।१३ भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, ०२२ को थप दफा ३६ (क) ले तोकिदिएको म्यादभित्रै उक्त ऐनको संशोधित दफा ३६ (३) समेतबमोजिम भक्तपुर नगरपञ्चायतमा धरौट राखेको देखिन्छ । यस किसिम धरौट राखेकोमा मोहीले वाली नबुझाई बाँकी राखेको भन्न मिल्ने अवस्था आउँदैन ।
१२. तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट बाली भराई जग्गा निष्काशन गरिपाउँ भन्नेसमेत वादी दावी पुग्न सक्दैन दावीबमोजिम बाली भराई मोही निष्काशन गर्ने ठहराएको भूमिसुधार विशेष अदालत भक्तपुर, ललितपुरको सदर गरी ०२६।९।११।६ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
वादी पूर्णबहादुर भुजु के भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ ले थप मूल ऐनको दफा ५७ (क) अनुसार पहिले कोर्टफी नराखी मुद्दा दायर गरेको र हाल वादी दावी नपुग्ने ठहर भएकोले ०२२ सालको दावी गरेको विगो रू.३०९।५ को कोर्टफी ऐन, २०१७ परिच्छेद ३ दफा ६ को खण्ड (क) (२) अनुसार सैकडा ५ सुरुमा लाग्ने कोर्टफी रू.१५।४५ लाग्ने हुँदा भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, ०२२ ले थप मूल ऐनको दफा ५८ (क) बमोजिम कोर्टफी सरह रू.१५।४५ पन्ध्र रुपैयाँ पैंतालीस पैसा जरिवाना हुन्छ । आज रुजु हुँदा असुल गर्न कानूनबमोजिम लगत दिनु................१
प्रतिवादी राम ठिमीको भूमिसुधार विशेष अदालत भक्तपुर, ललितपुरको ०२४।२।२३।३ को फैसलाले गर्ने गरेको जरिवाना ३१।१८ नलाग्ने हुँदा उक्त विशेष अदालतमार्फत असुल भई ०२४।२।२४।४ मा भक्तपुर जि.अ.मा दाखिल भएको कानूनबमोजिम फिर्ता दिनु भनी ऐ........................२
वादी पूर्णबहादुर भुजु के भूमिसुधार विशेष अदालत भक्तपुर, ललितपुरको ०२४।२।२३।३ को फैसलाबमोजिम प्रतिवादी राम ठिमीबाट भराइदिने गरेको विगो रू.२०९।९० भराउनु नपर्ने हुँदा कानूनबमोजिम लगत काटिदिनु भनी ऐ...................३
तत्कालीन भूमिसुधार विशेष अदालत भक्तपुर, ललितपुरका न्यायाधीश जनकमान श्रेष्ठको इसाफ उल्टीको रेकर्ड राख्न जनरल विभागमा सूचना दिनु............................४
नियमबमोजिम मिसिल बुझाइदिनु......................५
न्या.वासुदेव शर्मा,
प्र.न्या.रत्नबहादुर बिष्ट
हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल मार्ग १३ गते रोज ३ शुभम् ।