निर्णय नं. ७१५ - अंश

निर्णय नं. ७१५ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
सम्वत् २०२७ सालको दे.फु.नं. १४४
फैसला भएको मिति : २०२९।९।१७।१
निवेदक : ल.पु.जि.बाग्मती पुल बस्ने वंसमान अमात्य
बिरुद्ध
विपक्षी : ऐ. घर भई हाल मोरङ प्र.गोग्राहा विराटनगर बस्ने सुचेतमान अमात्यको मुद्दा सकार गर्ने र आफ्ना हकमा समेत टंकमाया अमात्यनी समेत
मुद्दा : अंश
(१) एउटै घरमा बसेको नाताले एकाघरका भनी नलेखिने, अंश नभई एउटै घरमा बसेका अंशियारलाई एकाघरको भनी लेखिने ।
यसमा दावीबमोजिम वादीले अंश पाउने नपाउने के हो भन्ने कुराको निर्णयको लागि मिसिल कागजहरूको अध्ययन गरी हेर्दा प्रतिवादीबाट पेश हुन आएको रु. १२१ लिई अंशमा दावी छोडी दिएका भन्ने व्यहोराको ८०।६।२९ को कागज आफूले गरी दिएको होइन भनी वादीले जिकिर लिन नसकेको र यो मुद्दाको प्रतिवादी सुचेतमानले वादी बंशमानउपर अंशको दावी खिचोला मेटाई कागज सदर गरी पाउँ भनी दिएको मुद्दामा सोही ८०।६।२९ को कागजलाई आधार लिई आफूले हक दावी छोडी सकेकोमा फेरि अंश पाउँ भनी दावी गरेको समेत ठहराई देवानी तेश्राबाट ८८।१।२६ मा भएको फैसला अन्तिम रुपमा रहेको देखिएको समेतबाट वादी वंशमान पहिले एक पटक छुट्टी भिन्न भई रु. १२१। लिई अंशमा दावी छाडी बसेको प्रमाणित हुन्छ तथापी प्रमाणमा पेश भएको सो पछिका अन्य कागजहरू हेर्दा प्रतिवादी सुचेतमानले रामहरि पाध्यालाई ९९।८।२।३ मा पास गरी दिएको फार्छेपत्र निज सुचेतमानले पूर्णलाल अमात्यलाई २०००।३।१७ मा पास गरी दिएको भोगबन्धकी तमसुकमा ऋणीको एकाघरको छोरा बंशमान अमात्य भन्ने लेखी वादीलाई साक्षी राखेको र प्रतिवादी सुचेतमानले तिरुवा विर्ता पाई २००३।४।२४।२ मा भएको लालमोहरमा पनि विर्ता पाउने सुचेतमानको एकाघरको छोरा वंशमान अमात्य भन्ने लेखिएको समेत देखिन आयो प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले उक्त लिखतहरूमा एकाघरको भन्ने लेखेको भए पनि एकाघर सगोलको नभनेको र छुट्टी भिन्न भएको छोरा पनि बाबु बसेको एउटै घरमा बस्न सक्ने र त्यसरी एउटै घरमा बसेकोलाई एकाघरको भन्ने लेखिने हुँदा त्यस्तो लेखिदैमा अंश छुट्टिएको पछि सगोलमा बसेको मानिन नसक्ने भन्ने तर्क उठाउनु भएको हकमा ८० सालमा बाबुसँग १२१। लिई अंशमा दावी छाडी बसेको भनिएको वादी फेरि सगोलमा नमिलिएको भए त्यस्तो व्यक्ति पुर्खौली घरमा बाबुका साथ बस्न सक्ने स्थिति नै उत्पन्न हुन सक्तैन र बहालमा मगनीमा बसेको भन्ने पनि देखिँदैन वास्तवमा एउटै घरमा बसेको नाताले जोसुकैलाई पनि एकाघरको भनि लेखिने नभई अंश नभई एउटै घरमा बसी आएका अंशियारहरूल लाईसम्म एकाघरको भनी लेखिने कुरा हो उपरोक्त लिखतहरूमा वादी वंशमानलाई सुचेतमानको एकाघरको छोरा भन्ने लेखिएको र प्रतिवादी सुचेतमानले दुर्गादेवी पाध्यानीसँगको बहाल भराई घर चलन पाउँ भन्ने मुद्दामा वादी वंशमानलाई वारेस राखी २००६ साल भाद्रमा गरी दिएको वारेसनामामा मेरो एकाघरसँग मानो जोडी बसेको छोरा भन्ने बोली परेको समेतबाट वादी पहिले एक पटक छुट्टिएको भए पनि पछि फेरि बाबुसँग मानो जोडी सँगबसेको रहेछ भन्ने प्रष्ट हुन्छ बाबुले लेनदेन कारोवार गर्दा छोरालाई एकाघरको भनी लिखतमा साक्षी राखिन्छ भने सो लेनदेन कारोवार भएको सम्पत्तिमा अंश हकको दैयादार छोरालाई साक्षी राखी कारव्यवहार भएको भन्ने पुष्टि हुन आउँछ । पहिले भिन्न भई पछि फेरि बावुसँग मानो जोडी बसेको साविक रजिष्ट्रेशनको ३क.नं. बमोजिम रजिष्ट्रेशन पास भएको लिखत नभएकाले मानो जोडी बसेको कायम हुन नसक्ने पनि तर्क उठ्न सक्छ तर उक्त रजिष्ट्रेशनको ३ क.नं.मा त्यस्तो लिखत चाहिने बाध्यता गरेको मिति २००० साल कार्तिक १० गते देखि अगावैको उपरोक्त ९९।८।२।३ को फार्छे पत्र २०००।३।१७ को भोगबन्धकी तमसुक भई एकाघरको भन्ने जनाई राखेकोले त्यसबाट २००० साल कार्तिक १ गते अगावै मानु जोडी बसेको देखिन आउने हुँदा मानो जोडी बसेको पास भएको लिखत चाहिने भन्न भएन ।
(प्र.नं. १०)
निवेदक तर्फबाट :
विपक्षी तर्फबाट : ठाकुरप्रसाद खरेल
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यस प्रकार छ : बाबु सुचेतमानको जेठी स्वास्नी तर्फको छोरा म र माईली तर्फको शंकरमान हुन् ८४ सालमा कम जातकी ल्याएकी कान्छी स्वास्नी टंकमाया टंकमायाबाट जन्मेको छोरा अनन्तमान, पुरुषोत्तममान र शंकरमान म समेत सगोल बसी आएको कान्छी आमाको बारे जातभातमा मुद्दा चली कम जातकी ठहरी फैसला भई हटक भई रहेकी निजलाई भातमा सरोबर चलाउने समेत कुरामा मैले मञ्जुर नगर्दा म उपर रिस लिई दुःख दिएकोले ०८ साल बैशाख देखि मानो छुट्टि बसेको छु बिराटनगरको जग्गा जम्मै कान्छी स्वास्नीपट्टिका छोरा अनन्तमानको नाउँमा बाबुले लेखिदिएको थाहा भई सो बदर गरी पाउँ भनी मैले नालिश गरेको मुद्दामा लेखी लिए दिएको बदर गरी जग्गा जम्मै बाबुकै जिम्मा कव्जामा राखी ०१२।१।२५ गते फैसला भएको छ जग्गाहरू जम्मै कब्जा गरी ०८ सालको बाली देखि मलाई केही पनि नदिई दुःख दिएकोले निजको जिम्मा रहेभएको सम्पत्ति घरखेतको तायदाती लिई मानो छुट्टिएको मिति ०८ साल वैशाख १ गते कायम गरी भातमा नचल्ने टंकमाया अनन्तमान २ र बसन्तमानको नावालक भाइ पुरुषोत्तममान १ समेत ३ हुनाले ऐनबमोजिम अड्डैबाट बण्डा छुट्याई बण्डापत्र खडा गरी मेरो भाग मलाई दिलाई भराई पाउँ भन्नेसमेत बंशमानको फिराद ।
३. मलाई बिना कारण अन्यायवाला बनाई झुठ्ठा नालिस गरेको हो बाबुबाट अंश पाउने नपाउने बाबुले नै जवाफदेही गर्ने हुँदा झुठ्ठा उजूरबाट फुर्सद पाउँ भन्ने शंकरमान अमात्यको प्रतिवादी ।
४. बादीले म सुचेतमानसँग अंश वापत रू.१२१ लिई ८० साल आश्विन २९ गतेमा लिखत सम्म गरी दिएको जातभात मुद्दामा ८६ सालमा दिएको प्रतिउत्तरमा अंशमा दावी गरी लेखेकाले मेरो नालिस पर्दा दाबी गर्न नपाउने अंशमा दाबी गरेको ठहरी देवानी तेश्राबाट ८८।१।२६ मा फैसला भएकोछ वादीलाई अंशदिनु पर्ने होईन भन्नेसमेत सुचेतमान टंकमाया, अनन्तमानको प्रतिवादी ।
५. प्रतिवादीबाट प्रमाणलाई पेश भएको ८९ साल बैशाख २६ गतेको वादी सु.चेतमान प्रतिवादी बंशमान भएको अंशको दावी खिचोला मेटाई पाउँ भन्ने मुद्दामा प्रमाणलाई पेश गरेको देवानी तेश्रा फाँटबाट भएको फैसला नक्कल हेर्दा ८० साल आश्विन २९ गते अंश वापत रु. १२१। लिई दावी छाडी सकेको देखिनाले भिन्नै भइसकेको छोराले बाबुले पाएको बिर्ताको रैती बन्दोवस्त गरी दिएको पट्टा पाको मान्न नहुने भनी दावी पुग्न नसक्ने खारेज हुने ठहर्छ भन्नेसमेत ०२१।३।१ को मोरङ–विराटनगर इलाका अदालतको फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।
७. वादी दावी खारेज गर्ने गरेको इन्साफ शुरुको मनासिव ठहर्छ भन्नेसमेत ०२४।२।१४ को कोशी अञ्चल अदालतको फैसला ।
८. उक्ता इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
९. यसै मुद्दालाई प्रमाण निमित्त आइरहेको यिनै वादी प्रतिवादीहरूको बीच परेको जालसाजी मुद्दाको मिसिलमा पेश दाखिल भइरहेको फौ.फु.नं २२ मा चढेको अघि १९८८ साल बैशाख २६ गते देवानी अदालत तेश्रा फाँटबाट भएको फैसला नक्क्ल हेर्दा ८० साल आश्विन २९ गते बंशमानले सुचेतमानसँग अंश भाग भनी रु. १२१। बुझी लिएको कागजलाई मान्यता दिएको देखिन आएको र सो फैसलामा लेखिएबमोजिम वादीले आफ्नो अंश वापत भनी प्र.सु.चेतमानबाट रू.१२१। लिई बुझी अंश छुट्टि भिन्न भई बसी सकेका रहेछन् भन्ने उक्त फैसला लेखबाटै स्वंसिद्ध देखिएकोले पुनः प्रतिवादीबाट अंश पाउँ भनी वादीले दावा गरेको न्यायोचित मान्न मनासिव नदेखिएकोलेसमेत प्रतिवादीबाट अंश नपाउने नै भर्र्ई वादी दावा खारेज गर्ने गरेको शुरुको फैसला सदर गरी कोशी अञ्चल अदालतबाट ०२४।२।१४ मा गरेको इन्साफ मनासिव ठहर्छ भन्ने मिति २०२६।१०।२७।२ को डिभिजन बेञ्चको फैसला ।
१०. यसमा दावीबमोजिम वादीले अंश पाउने नपाउने के हो भन्ने कुराको निर्णयको लागि मिसिल कागजहरूको अध्ययन गरी हेर्दा प्रतिवादीबाट पेश हुन आएको रु. १२१ लिई अंशमा दावी छोडी दिएका भन्ने व्यहोराको ८०।६।२९ को कागज आफूले गरी दिएको होइन भनी वादीले जिकिर लिन नसकेको र यो मुद्दाको प्रतिवादी सुचेतमानले वादी बंशमानउपर अंशको दावी खिचोला मेटाई कागज सदर गरी पाउँ भनी दिएको मुद्दामा सोही ८०।६।२९ को कागजलाई आधार लिई आफूले हक दावी छोडी सकेकोमा फेरि अंश पाउँ भनी दावी गरेको समेत ठहराई देवानी तेश्राबाट ८८।१।२६ मा भएको फैसला अन्तिम रुपमा रहेको देखिएको समेतबाट वादी वंशमान पहिले एक पटक छुट्टी भिन्न भई रु. १२१। लिई अंशमा दावी छाडी बसेको प्रमाणित हुन्छ तथापी प्रमाणमा पेश भएको सो पछिका अन्य कागजहरू हेर्दा प्रतिवादी सुचेतमानले रामहरि पाध्यालाई ९९।८।२।३ मा पास गरी दिएको फार्छेपत्र निज सुचेतमानले पूर्णलाल अमात्यलाई २०००।३।१७ मा पास गरी दिएको भोगबन्धकी तमसुकमा ऋणीको एकाघरको छोरा बंशमान अमात्य भन्ने लेखी वादीलाई साक्षी राखेको र प्रतिवादी सुचेतमानले तिरुवा विर्ता पाई २००३।४।२४।२ मा भएको लालमोहरमा पनि विर्ता पाउने सुचेतमानको एकाघरको छोरा वंशमान अमात्य भन्ने लेखिएको समेत देखिन आयो प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले उक्त लिखतहरूमा एकाघरको भन्ने लेखेको भए पनि एकाघर सगोलको नभनेको र छुट्टी भिन्न भएको छोरा पनि बाबु बसेको एउटै घरमा बस्न सक्ने र त्यसरी एउटै घरमा बसेकोलाई एकाघरको भन्ने लेखिने हुँदा त्यस्तो लेखिदैमा अंश छुट्टिएको पछि सगोलमा बसेको मानिन नसक्ने भन्ने तर्क उठाउनु भएको हकमा ८० सालमा बाबुसँग १२१। लिई अंशमा दावी छाडी बसेको भनिएको वादी फेरि सगोलमा नमिलिएको भए त्यस्तो व्यक्ति पुर्खौली घरमा बाबुका साथ बस्न सक्ने स्थिति नै उत्पन्न हुन सक्तैन र बहालमा मगनीमा बसेको भन्ने पनि देखिँदैन वास्तवमा एउटै घरमा बसेको नाताले जोसुकैलाई पनि एकाघरको भनि लेखिने नभई अंश नभई एउटै घरमा बसी आएका अंशियारहरूल लाईसम्म एकाघरको भनी लेखिने कुरा हो उपरोक्त लिखतहरूमा वादी वंशमानलाई सुचेतमानको एकाघरको छोरा भन्ने लेखिएको र प्रतिवादी सुचेतमानले दुर्गादेवी पाध्यानीसँगको बहाल भराई घर चलन पाउँ भन्ने मुद्दामा वादी वंशमानलाई वारेस राखी २००६ साल भाद्रमा गरी दिएको वारेसनामामा मेरो एकाघरसँग मानो जोडी बसेको छोरा भन्ने बोली परेको समेतबाट वादी पहिले एक पटक छुट्टिएको भए पनि पछि फेरि बाबुसँग मानो जोडी सँगबसेको रहेछ भन्ने प्रष्ट हुन्छ बाबुले लेनदेन कारोवार गर्दा छोरालाई एकाघरको भनी लिखतमा साक्षी राखिन्छ भने सो लेनदेन कारोवार भएको सम्पत्तिमा अंश हकको दैयादार छोरालाई साक्षी राखी कारव्यवहार भएको भन्ने पुष्टि हुन आउँछ । पहिले भिन्न भई पछि फेरि बावुसँग मानो जोडी बसेको साविक रजिष्ट्रेशनको ३क.नं. बमोजिम रजिष्ट्रेशन पास भएको लिखत नभएकाले मानो जोडी बसेको कायम हुन नसक्ने पनि तर्क उठ्न सक्छ तर उक्त रजिष्ट्रेशनको ३ क.नं.मा त्यस्तो लिखत चाहिने बाध्यता गरेको मिति २००० साल कार्तिक १० गते देखि अगावैको उपरोक्त ९९।८।२।३ को फार्छे पत्र २०००।३।१७ को भोगबन्धकी तमसुक भई एकाघरको भन्ने जनाई राखेकोले त्यसबाट २००० साल कार्तिक १ गते अगावै मानु जोडी बसेको देखिन आउने हुँदा मानो जोडी बसेको पास भएको लिखत चाहिने भन्न भएन ।
११. उपरोक्त उल्लिखित कारणहरूबाट वादीले प्रतिवादीबाट अंश पाउने नै देखिन्छ । नालिस परेको ०१५।१।३१ को अघिल्लो दिन ऐ.३० गते मानु छुट्टिएको मिति कायम गरी सो मितिसम्मको बण्डा गर्नुपर्ने चलअचल सम्पत्ति ऋणधनको दुवै पक्षबाट तायदाती लिने २०२८।१०।११।३ को फुल बेञ्चबाट आदेश भई दुवै पक्षबाट तायदाती फाँट आइसकेको सो तायदाती जालसाजी भन्नेतर्फ हाल उजूर नपरेको तायदातीमा दवाएछपाएको भए त्यसतर्फ ऐनबमोजिम उजूर परेकाबखत ठहरेबमोजिम हुने र तायदातीमा देखाएको साहूहरूको हकमा साहूको दावी परेमा ठहरबमोजिम हुनेसमेत हुँदा त्यसतर्फ यो मुद्दाबाट विचार गरिरहनु परेन दुवै पक्षको तायदातीबाट अंश गर्नुपर्ने अंशियारमध्ये बाबु डि.सुचेतमान हाल मरिसकेको भन्ने देखिँदा जीवित रहेका टंकमाया १ अनन्तमान १ पुरुषोत्तममान १ शड्ढरमान १ वादी वंशमान १ समेत ५ अंशियार देखिएको र विवाह खर्च पर सार्नुपर्नेमा हालसम्म विवाह नभएको प्रतिवादीमध्ये पुरुषोत्तममान १ जना भएको भनी प्रतिवादी शड्ढरमानले तायदाती फाँटवारीमा खुलाई दिएकोमा वादीले बिरोध गर्न नसकेकोले निज पुरुषोत्तमान १ जनाको विवाह खर्च पर सार्नु पर्ने कायम हुन्छ अब बण्डा गर्नु पर्ने सम्पत्ति के कति रहेछ भन्ने तर्फ वादीको तायदातिमा खुलाएका बाग्मतीे पुल हनुमान स्थान पछाडिको ब्लक नं.१/२६८ को घरको रू.२००००। प्रतिवादी टंकमाया अमात्य, पुरुषोत्तममान अमात्य, अनन्तमान अमात्य ३ जनाको तायदातीमा खुलाएको ल.पु.कोपुण्डोलको गोठ बगैंचा रोपनी १ को रू.४०००। दुवै पक्षको तायदातीमा खुलाएको बागमती पुल हनुमानस्थाननिरको ब्लक नं.१।२५० को घरको प्रतिवादीहरूले खुलाएबमोजिम रू.२००००। शड्ढरमानको तायदातीमा खुलाएको ल.पु.बागमती पुल हनुमान स्थान पछाडिको १७ कवले २ नाले ४ तले लम्माई हात ४५ को घरको रू.१६०००। समेत जम्मा विगो रू.६००००। साठी हजारको घरजग्गा देखियो । बण्डा गर्नुपर्ने घरजग्गा रू.२०००। माथिको हुँदा पुरुषोत्तम १ जनाको विवाह खर्च हालको अंशबण्डाको १७ नं. बमोजिम सयकडा ५ ले रू.३०००। तीन हजार पर सारी बाँकी रू.५७०००। सन्ताउन्न हजारमा ५ खण्डको १ खण्ड रू.११४००। एघार हज्जार चार सयको घरजग्गा वादीले अंशबण्डा पाउने ठहर्छ वादी दावी खारेज गर्ने गरेको शुरु तथा कोशी अञ्चल अदालतको सदर गरी ०२६।१०।२७।२ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
देहायका प्रतिवादीके वादीले रु. ११४००। को अंश पाउने ठहरेकोले त्यसका कोर्टफी ऐन, २०१७ को दफा ६ (क) को (२) बमोजिम शुरु कोर्टफी रू.४७ हाल लाग्नेमा वादीले नालिस गर्दा राखेको रू.१०। र २४।८।२२।६ मा सर्वोच्च अदालतमा दाखिल गरेको रू.२५। समेत रू.३५। कटाई बाँकी रू.४४१। असुल गर्नुपर्नेमा मुद्दा किनारा हुँदा ठहरेबमोजिम गर्ने गरी हाल पक्राउ नगर्नु भन्ने ०२९।७।२५।६ को फुल बेञ्चका आदेशबमोजिम वादीसँग पहिले नलिइएको हुँदा उक्त कोर्टफी रू.४४१। देहायका दरले देहायका प्रतिवादीहरूबाट असुल भए निजहरूबाट असुल नभए वादीबाट कानूनबमोजिम असूल गर्नु भनी का.जि.अ.तहसील फाँटमा लगत दिनु........................१
टंकमाया अमात्य के रू.१४७। अनन्तमान अमात्य के.रु. १४७। शंकरमान अमात्यके रू.१४७।
वादी वंशमान श्रेष्ठके निजले नालिस गर्दा राखेको रू.१० र पुनरावेदन दिँदा सर्वोच्च अदालतमा दाखिल गरेको रू.२५। मुद्दा दोहर्याउँदा दाखिल गरेको रु. २।५० समेत रू.३७।५० कोर्टफी प्रतिवादी देहायका मानिसबाट भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५(११) बमोजिम ३ वर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी ऐ.ऐ...........................२
टंकमाया अमात्यबाट रु. १२।५० अनन्तमान अमात्यबाट रू.१२।५० शंकरमान अमात्यबाट रू.१२।५०
कादी बंशमान श्रेष्ठको देहायबमोजिम गर्ने गरेको नलाग्ने हुँदा असुल भइसकेको फिर्ता लिन आएमा कानूनी रीत पुर्याई फिर्ता दिनु भनी विराटनगर जिल्ला अदालतमा लेखी पठाउनु ऐ..............................३
ई.अ.विराटनगरको ०३५।३।१।१ को फैसलाले जरिवाना रु. १। कोशी अञ्चल अदालतको ०२४।२।१४।१ को फैसलालले ऐ.ऐ.१०।
ई.अ.विराटनगरका तत्कालिन इ.न्या.मोहनलाल बहाल नरहेकाले तत्कालिन कोशी अञ्चल न्यायाधीश तेजप्रसाद धितालको उल्टीको रेकर्ड राख्न जनरल विभागमा सूचना दिनु...........................४
वादी बंशमान श्रेष्ठ के माथि इन्साफ खण्डमा लेखिए बमोजिम ५ भागको १ भाग निजले अंश पाउने ठहरेको मोल बिगो रू.११४००। को घर जग्गा अंश छुट्याई पाउँ अंशबण्डाको ४६ नं.को म्याद २ वर्षभित्र दर्खास्त दिएमा उक्त ऐनबमोजिम गरी माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम भा.रु. ६००००। को घर जग्गामा पुरुषोत्तम १ जनाको विवाह खर्च रू.३०००। को पर सारी बाँकी रू.५७०००। को घर जग्गामा ५ भाग लगाई ऐनबमोजिम लाग्ने दस्तूर समेत असूल गरी वादीको १ भाग अंश छुट्याई दिनु भनी का.जि.अ.तहसील फाँटमा लगत दिनु........................५
नियमबमोजिम मिसिल बुझाई दिनु......................६
न्या. चन्द्रप्रसाद प्रधान,
न्या. झपटसिं रावल
हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल पौष १७ गते रोज १ शुभम् ।