निर्णय नं. ५७२ - उत्प्रेषणको आदेश जारी पाउँ

निर्णय नं. ५७२ ने.का.प. २०२७
डिभिजन बेञ्च
का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
सम्वत् २०२४ सालको रिट नम्बर ४९६
आदेश भएको मिति : २०२५।९।२६।५
निवेदक : जि.सिराहा प्र.पीहार मौजे बलही बस्ने पञ्ची महतो कोइरीको वा. भोलाप्रसाद शर्मा
विरुद्ध
विपक्षी : श्री भूमिसुधार अधिकारी जिल्ला भूमिसुधार कार्यालय सिराहा समेत
बिषय : उत्प्रेषणको आदेश जारी पाउँ
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा १८ (१)–जग्गावालाले म्याद भित्रै जग्गाको लगत दाखिल गरी सकेपछि–अरुले उक्त जग्गा आफ्नो लगतमा पारी म्याद नाघे पछि लगत दाखेल गरेकोले जग्गाधनीसंग नबुझी उक्त जग्गा जफत गरेमा–प्राकृतिक न्यायको सिद्धान्त विपरित हुने ।
म्यादै भित्र लगत दाखिल गरी कसुर नगर्ने व्यक्तिको जग्गा म्याद नाघी लगत दाखिल गर्ने अन्य कुनै कसुरदारले कसुर गरेर कसुरै नगर्ने व्यक्तिको जग्गा आफ्नो लगतमा पारी दिएबाट निर्दोष व्यक्तिको सम्पत्ति जफत गर्ने गरेको देखियो । अधिकारीले दिएको लिखित जबाफमा पनि रिट निवेदन परेपछि जि.पं.का.सिराहा मालबाट लगत लिई बुझ्ने कारवाई चलेको देखियो । निजले जग्गा जफत गर्नु भन्दा अघिनै जो बुझी यकिन गरेर मात्रै जग्गा जफत गर्नुपर्ने प्रष्टछ र जुन मानिसका सम्पत्ति अपहरण गरियो उसलाई सफाई दिने मौकासमेत नदिई सम्पत्ति अपहरण गर्नु प्राकृतिक न्यायको सिद्धान्तको पनि विरुद्ध भएको देखिन्छ ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
विपक्षी (सरकार) तर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया
आदेश
का.मु.प्र.न्या.श्री रत्नबहादुर र न्या. श्री प्रकाशबहादुर
१. भूमिसम्बन्धी ऐन, ०२१ मेरो सिराहा जिल्लमा लागू भएपछि ऐनको दफा १३ बमोजिम दाखिल गर्नुपर्ने फाँटवारी दाखिल गर्दा मैले जि.सिरहा प्र.पिरहा मौजे भेलहा बस्ने चन्द्र नारायण महतोसंग ०२२।१।१८ मा राजीनामा रजिष्ट्रेशन पास गराई लिएको यसै निवेदनसाथ संलग्न रहेको राजीनामाको लिखतको नक्कलमा लेखिएका मौजा कि.नं समेतको २३।४।। को जग्गा र अरु मेरा हक भोग चलनका जग्गासमेत तोकिएका म्यादै भित्र तोकिए बमोजिमको फाँटवारी स्थानीय सम्बन्धित गाउँ पञ्चायतमा दाखिल गरी जग्गाको तिर्नपर्ने मालपोत तथा बचतसमेत टायम टायममा नै तिरे बुझाएको समेत आएका अद्यापि छदैछ । मेरो जग्गा मध्ये माथि उल्लेख भएका व्यक्तिबाट राजीनामा रजिष्ट्रेशन पास गरी लिएको लिखतमा लेखिएका जग्गाहरुको मौजा र कि.नं.समेत खुलाई विपक्ष भूला महतोले आफ्नो जग्गा भनी फाँटवारी दाखिल गर्नुपर्ने भनी तोकिएको म्याद नाघेपछि दाखिल गर्नु भएछ र विपक्षी अधिकारीज्यूले सो सम्बन्धमा विपक्ष भूलालाई बुझी अन्तमा मैले उपरोक्तबमोजिम चन्द्र नारायणसंग राजीनामा गरी लिएका जग्गा कि.नं.समेत खुलाई सो जग्गाको जग्गावाला विपक्ष भूला नै कायम मानी निजले म्याद नघाई फाँटवारी दाखिल गरेकाले कानूनी मान्यता लोप भएको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को उपदफा (१) बमोजिम जफत गर्ने र श्री ५ को सरकार लाग्ने ठहराई सो जग्गा प्रधानपञ्चको जिम्मामा कुनै किसिमको हानी नोक्सानी नहुने गरी राख्ने र सो जग्गाको रजिष्ट्रेशन पास गर्न आएमा नगर्ने नदिने भनी जि.पं.का. माल सिरहालाई जानकारी दिने भन्नेसमेतको ०२४।९।२०।५ मा निर्णय गर्नुभएको छ । विपक्ष भूला महतोले जे फाँटवारी दाखेल गरेपनि विपक्ष अधिकारीले सो दाखिल भएको फाँटवारीमा के कति व्यहोरा साँचो छ भनी भूमिसम्बन्धी ऐन, २०२१ को दफा १४ र ऐ.नियमको नियम १९समेत बमोजिम हेरी बुझी यकिन गरी तैयारी फाँटवारीसमेत प्रकाशित गर्नुपर्नेमा सोबमोजिम केही नगरी मैले चन्द्र नारायणबाट राजीनामा गराई लिएका जग्गाहरु भूलाले दिनु भएका फाँटवारीका आधारले जफत गरिदिनु भएछ । मेरो कानूनी हक भोग चलनका जग्गाहरु जफत गरी श्री ५ को सरकार लगाउन र रजिष्ट्रेशन हन नदिनसमेतका कारवाई र ठहर गर्दा सम्बन्धित खास जग्गावाला मलाई बुझीकन मात्र मेरो सम्पत्ति यो यस्तो भयो भनी निर्णय गर्नुपर्नेमा नगरिएकाले प्राकृतिक न्याय सिद्धान्तसमेतको विपरित पारी गरिएको निर्णयबाट मेरो व्यक्तिगत सम्पत्तिको अपहरण गराइएकोले नेपालको संविधानको धारा १० को उपाधारा (१) ऐ धारा ११ को संशोधित उपधारा (२) को खण्ड (ङ) ऐ धारा १५ ले प्रदान गरेका मौलिक हक हनन गरिएकाले त्यसको प्रचलन गराई माग्ने हक ऐ धारा १६ ले सुरक्षितै गरेको हुँदा सो गराई माग्न आएको छु । यस सम्मानित अदालतबाट नेपाल संविधानको धारा ७१ बमोजिम असाधारण अधिकार प्रयोग गरी विपक्ष अधिकारीज्यूद्वारा मेरो सम्पत्तिको हकबाट बञ्चित गराइएको उपरोक्त जफत गर्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर वातिल गरी वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी मौलिक हकको प्रचलन कायम गरिपाउँ भन्ने पञ्ची महतो कोइरीको वा. भोलाप्रसाद शर्माको निवेदन ।
२. यसमा के कसो भएको हो निवेदकका माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र सम्बन्धित मिसिल साथ राखी महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जबाफ पठाउनु भनी निवेदनको १ प्रति नक्कल साथ राखी विपक्षी भू.सु.अधिकारी भू.सु.कार्यालय सिराहालाई सूचना पठाई महान्यायाधीवक्ताको कार्यालयमा बोधार्थ दिनु र निवेदकका मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेकै १५ दिन भित्र लिखित जबाफ लिई आफू वा आफ्नो प्रतिनिधिद्वारा उपस्थिति हुनुभनी निवदेनको १ प्रति नक्कल साथ राखी विपक्षी श्री भुला महतो कोइरीलाई सम्बन्धित जि.अ.मार्फत सुचना पठाई लिखित जबाफसमेत आएपछि नियमबमोजिम गरी पेश गर्नु भन्ने ०२४।१२।३०।६ को डिभिजन बेञ्चको आदेश ।
३. कार्यालयबाट प्रकाशित सूचना अनुसार भू.सं. ऐन, २०२१ को परिच्छेदका दफा १३ को उपदफा (१) बमोजिम सूचना भएको ३५ दिनभित्र फाँटवारी दाखिल गर्नुपर्नेमा जि.सी.प्र.पि.मौजे बलही बस्ने भुला महतो कोइरीले ७ नं.फाँटवारी उक्त म्याद भित्र वा सोही उपदफाको खण्ड (क) अनुसार म्याद गुज्रेका मिति देखि ३५ दिनसम्ममा मनासिव कारण देखाई तोकिएको अधिकारी छेउ निवेदन दिई निजको आदेश लिई दाखिल गर्नुपर्ने थप म्यादसमेत प्राप्त भएको अवधि भित्रमा फाँटवारी दाखिल नगरी कानूनको परिधि भित्र नरही अटेर गरी म्याद गुजारे पछि हुलाक मार्फत ७ नं. फाँटवारी दाखिल गरेकोमा यस कार्यालयको द.नं.१२४६ मिति ०२२।११।६।५ मा दर्ता भएको निज भूला महतोले म्याद गुजारी दाखिल गरेको फाँटवारी सम्बन्धमा निजलाई झिकाई भू.सं.ऐन, ०२१ को दफा १४ को उपदफा (१) बमोजिम बयान कागज गराउँदा यो फाँटवारी मैले हुलाक मार्फत दाखिल गरेको छु, मैले दाखिल गरेको जग्गा विगाहा २७ सताईस विगाहा १२ बाह्र कठ्ठा ४ धुर ठिकै मेरो हक भोगको जग्गा छ उक्त फाँटवारी गा.पं.ले नबुझीएको हुँदा मैले हुलाक मार्फत दाखिल गरेको छु, मेरो फाँटवारी म्याद भित्र दाखिल भएको छ वा छैन मलाई थाहा छैन भनी बयान दिएकोमा सम्बन्धित पञ्चायतका प्रधानपञ्चलाई झिकाई तपाईले भूला महतोको ७ नं. फाँटवारी किन बुझ्नु भएन पनि सोध्दा निज भूला महतोले म कहाँ ७ नं. दाखिल गर्न ल्याएकै थिएन । यस प्रकार निजले म्याद गुजारी दाखिल गरेको ७ नं. फाँटवारीको सम्बन्धमा निज र पञ्चायतको प्रधानपञ्चले दिएको बयान हेरी अध्ययन गर्दा निज भूला महतोले कानूनलाई अवहेलना गरेको बुझिएको भू.सं. ऐन, २०२१ को दफा १८ को उपदफा (१) बमोजिम निज भूला महतोको जग्गा जफत हुन स्वभाविकै देखिन आँउछ । कार्यालयले पञ्ची महतोको जग्गा भनी जफत गरेको छैन भूला महतोले आफ्नो दर्ता नम्बरीको जग्गा भनी कागजसमेत गरेकोले जफात भएको छ । निवेदकको जिकिरमा कार्यालयले जग्गा जफत गरी जग्गाबाट हाम्रो सम्बन्ध विच्छेद गरी पञ्चायत तालुक गरी दिएको सम्बन्धमा जफत भएको जग्गा श्री ५ को सरकार लाग्ने भएकोले उक्त जग्गाको हानी नोक्सानीबाट जोगाउन श्री ५ को सरकारबाट मान्यता प्राप्त पञ्चायत तालुक लगाई दिने कुरा निराधार होइन भन्ने उद्देश्यले जफत भएका जग्गा पञ्चायत तालुक लगाइएको, निवेदकले आफ्नो जिकिरमा भूला महतोले जेसुकै पनि फाँटवारी दाखिल गरे पनि दोखिल भएपछि फाँटवारीमा के कति व्यहोरा साँचो छ भनी जाँच बुझ गरी मात्र जग्गा जफत गर्नुपर्ने थियो, सो बारे कार्यालयले भूला महतोलाई झिकाई बयान कागज गराउँदा सो फाँटवारीको जग्गा मेरो छ भनी सकारनामा गरेपछि मात्र निजको जग्गा जफत गरेको तर जग्गा जफत हुने मुख्य कारण म्याद नाघी दाखिल भएको फाँटवारी नै हो कार्यालयले भूला महतोका जग्गा भनी जफत गरेको छ त्यस बखत कार्यालयले पञ्ची महतोको मौलिक अधिकारको हनन गर्ने उद्देश्यले जग्गा जफत गरेको छैन । भूला महतोको मिसिलमा पञ्ची महतोको जग्गा बारे कतै पनि उल्लेख नभएकोले निवेदकको जग्गा सम्बन्धमा छान विन गर्ने आवश्यकता थिएन । भूला महतोले युधिष्ठीर नारायणबाट कुन–कुन नम्बरको जग्गा खरीद गरेको छ सो सम्बन्धमा जि.प. का सिराहा मालबाट लगत लिई कार्यवाही गरिने भएकोले सम्मानित अदालत समक्ष व्यहोरा सविनय अनुरोध गरिएको छ भन्नेसमेत जिल्ला भूमिसुधार कार्यालय सिराहाको लिखित जबाफ ।
४. जिल्ला सिराहामा भूमिसुधार लागू भई भूमिसम्बन्धी ऐन, २०२१ को दफा १३ बमोजिम अधिकारीले जग्गाधनीहरुले आफ्नो जग्गाको फाँटवारी दाखिल गर्नुपर्ने सूचना जारी गरी दिइएको म्यादै भित्र मैले पनि जग्गाधनीको हैसियतले आफ्नो जग्गाको विवरण लेखाई भूमिसुधार कार्यालय सिराहामा २०२२।११।६।५ मा दाखिल गरेको थिए । म एक निरक्षरी किशान भएको हुँदा विवरण आफैले भर्न नसकी अरुलाई लेखाई भराएको हुँ र फलस्वरुप मेरो आफ्नो जग्गा छुट्न गई पञ्ची महतोको हक भोगको जग्गा भुल भई विवरणमा लेखिन गई पेश भएछ । पछि बयानमा पनि मैले आफ्नो जग्गाको विवरण भराएको छु । फाँटवारीका सबै जग्गाहरु म्याद नाघे पछि दाखिल गरेको हुँदा हद भन्दा माथिको जग्गाको फाँटवारीलाई कानूनी मान्यता दिन नमिलेकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा १८ को उपदफा (१) बमोजिम जफत गर्ने र सो जग्गा श्री ५ को सरकार लाग्ने ठर्हछ भनी ०२४।९।२०।५ मा अधिकारीज्यूले निर्णय गरिदिनु भएछ । मेरो आफ्नो जग्गा सम्बन्धमा श्री ५महाराजाधिराज सरकारका हजूरमा निवेदन चढाएको छु, मैलेपछि महतोको जग्गाको फाँटवारी भरी दिएकोमा निजको जग्गा जफत हुन सक्ने सम्भावना देखिदैन । किनकी वास्तवमा जग्गावालाको हैसियतले सो जग्गाको फाँटवारी निजै पञ्ची महतोले दाखिल गरकै छन, सो मैले फाँटवारी दिएको जग्गा विगाहा २३।४।।। पछि महतोको हो भूलले गर्दा मेरो जग्गा विगाहा २३।.। को बदलामा उक्त जग्गा लेखिन गएको भन्नेसमेत भूला महतोको वा. मकरमान श्रेष्ठको लिखित जबाफ ।
५. पञ्ची महतो कोइरीले दफा १३ बमोजिमको फाँटवारी दाखिल गरेकोमा त्यस कार्यालयबाट के कारवाई भएको छ र जि.भू.सु. कार्यालय सिराहाको लिखत जबाफको प्रकरण ७ मा लेखिए बमोजिम भूला महतोले युधिष्ठीर नारायणबाट लिएको जग्गाको सम्बन्धमा जिल्ला पं.कार्यालय सिराहा मालबाट लगत लिई कारवाई गरिएको बारे के कारवाई भएको छ मिसिल र जबाफ महान्यायाधीवक्ताको कार्यालयमार्फत जि.भूमिसुधार कार्यालय सिराहा बाट झिकाई आएपछि नियमबमोजिम पेशगर्नु भन्ने ०२५।५।२८।५को डिभिजन बेञ्चको आदेश ।
६. तिनै फाँटवारीको छानविन गर्ने काम सम्पन्न गरी कार्यवाही किनारातर्फ विचार गर्दा युधिष्ठीर नारायणको २४।५।३।१।२ धुर एक परिवारमा भू.सं. ऐन, २०२१ को दफा ७ को उपदफा १ बमोजिम अधिकतम हकभन्दा बढी नदेखिएको साथै सजुग महतोको जम्मा जग्गा विगाहा ०२२।२।१७ धुर भू.सं.ऐन, २०२१ को दफा ७ को उपदफा १बमोजिम अधिकत्तम हदभन्दा बढी नदेखिएको र भूला महतोको जग्गा विगाहा २७।१६।१९।१।२ धुर छ भन्ने निजको वारेसको बयान र यस कार्यालयमा रहेको ७ नं. फाँटवारी हेर्दा निजले २७।१२।४ धुरको फँटवारी पेश गरेकोमा सो सम्बन्धमा निज भुला संग ०२४ साल भाद्र १८ गते रोज १ मा सोधनी गर्दा मेरो वारेसले गल्तीले भने होला तर मेरो जम्मा जग्गा विगाहा ०७।१२।४ धुरनै हो भन्ने निजले बयान गरेकोमा सो निजको जग्गा २७।१२।४ धुर पनि भू.सं. ऐन, ०२१ को दफा ७ को उपदफा १ र २बमोजिम अधिकत्तम हदभन्दा बढी नभई हदभित्रै देखिएको तर युधिष्ठीर महतो र सर्जग महतोले म्याद भित्र ७ नं. फाँटवारी दाखेल गरेको हुँदा सो को मान्यता पाउने र निज भुला महतोले म्याद नाघी सकेपछि यस कार्यालयको द.नं.१२४६ मिति ०२२।११।६।५ मा ७ नं.फाराम दाखिल गरेको र सो म्याद नाघेपछि किन दाखिल गरेको भन्ने कुरा निजसंग ०२४ साल भाद्र १८ गते रोज १ मा सोधनी गर्दा मेरो फाँटवारी गा.पं.का.मा नबुझी लिएको हुँदा म यहाँ पेश गरेकोछु । म्याद बाहिर छ वा भित्र छ मलाई केही थाहा छैन भन्ने बयान गरेकोमा यस सम्बन्धमा गा.पं.का. बुझ्नु पर्ने आवश्यक देखिएबाट बुझ्दा भू.पु.प्र.पं. हरिलाल चौधरीले गर्नुभएको बयानमा निज भूला महतो कोइरी उक्त पञ्चायतमा बुझाउन ल्याएको थिएन भन्ने बयान दिएकोमा निज भूला महतोले म्याद नाघेपछि यस कार्यालयमा ७ नं. फाँटवारी दाखिल गरेको र सो दाखिला फाँटवारीको कानूनी मान्यता लोप भएको हुँदा निजले दाखिल गरेको बलही पं.मौं. बलहीको कि.नं.५४, ५५, ८८२, ८८९, ९६०, ९८४, १०४८, १०७८, १२६५, १२६९, १३२९, १४०३, ८८३, ८८८, १०५०, १२६६, १२७०, १३६०, ऐ पं.मौं.ले गुर्वाको कित्ता नं. १२९,१२८ सुरवीरपुर पं.मौं महदेवाको कि.नं. ७,८ पुर्गापुर पं. मौ कालाबजारको कि.नं.२, ५, ६, ९, १५, २१, २२, ३५, ३६, ३७, ४१, ४६, ५७, ५९, ३६५, ३६७, ३६९, ४०९ ऐ.पं. मौं बलीराजपुर वासरी को कि.नं. ५०, १६, ३, १८९, १९०, ३७२, ३८९, ४०५, २१६, ३९७ ऐं.पं. मौजे लक्ष्मी पुर कटीको ४०२, ४७७, ४८५, ४८६, २१५, २२६, ऐ.पं. मौजे लक्ष्मीपुर डगाराहाको १२, २५,२८,१२७, २६९, २३ फुकाहापं. मौं २२०, ५२२,६१२, ४० ऐ.पं. मौ फुलकहाकतीको कि.नं. ४९९, ५००, ५०१, ५०७, ५०८, ५७७, ५७८, ५७९। ५७६, ५८७ पुर्गापुर पं मौजे सिमरामालको कि.नं.१३, १४, २०, २१, ५७, ७६, ९१, ९७, १७३ जम्मा कित्ता ८५ को जम्मा विगाहा २७–१२–४ धुर जग्गा तोकीएको म्यादसम्म जिल्ला भूमिसुधार कार्यालयका हुलाकमा दर्ता भई नसकेको हद भन्दा माथिको जग्गाको फाँटवारीको मान्यता दिन मिल्ने नदेखिँदा कानूनी कार्यवाही गर्नुपर्ने भन्ने भू.सुं. वि.का.पं.नि.सा. को प्राप्त पं.सं.का.व्य.नि.स.नी.नं. १३१।१८९६ मिति २०२४।९।१०।२ को पत्र प्राप्त भए अनुसार सम्बन्धित जम्मा विगाहा २७।१२।४ घुर भू.सु. ऐन, २०२१ को दफा १८ को उपदफा १ बमोजिम कानूनी मान्यता लोप भएकोले जफत गर्ने ठहराई जफत भएको भन्नेसमेत ०२४।९।२०।५ को जिल्ला भूमिसुधार कार्यालय सिराहाका अधिकारीज्यूको निर्णय ।
७. प्रस्तुत रिट निवेदनमा निवेदकतर्फ रहनु भएका विद्वान अधिवक्ता ठाकुरप्रसाद खरेल र सरकारी पक्षमा रहनु भएका विद्वान सरकारी अधिवक्ता रतनलाल कनौडीया समेतको बहस सुनी इन्साफतर्फ विचार गर्दा भूमिसुधार कार्यालयमा ऐनको म्याद भित्रै पञ्ची महतो कोइरीले आफ्नु जग्गाको लगत दखिला गरी बचत पनि तिरेको देखियो, तर म्याद नाघेपछि भूला महतो कोइरीले पञ्ची महतोको जग्गासमेत समावेश गरी लगत दिएको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा १८ (१) लगाई म्याद नाघेपछि दाखिला गरेको जग्गा अधिकारीले जफत गरी तत्सम्बन्धित अन्य कार्य पनि गरेको फलस्वरुप पञ्ची महतोको सम्पत्ति हरण हुन गएको पनि देखिन आयो ।
८. यस रिटमा सर्वप्रथम यस प्रश्नको किनारा गर्नु पर्यो कि एकाको हक भोग दर्ता तिरोको म्याद भित्रै भू.सु.का.मा लगत दाखिला भएको जग्गा म्याद नाघेपछि अन्य व्यक्तिले मेरो जग्गा भनी लगत दाखिल गर्न ल्याएको कारणबाट त्यस्तो मौकामै लगत दाखिलै भएको जग्गा पनि कानूनले जफत गर्न मिल्ने हो कि नमिल्ने हो ? जग्गा जफत गर्ने भू.सु.अधिकारीले आफ्नो कार्यालयमा म्याद भित्रै दाखिला भएको लगत हेर्दै नहेरिकन उनाउ व्यक्तिले म्याद नाघेर लगत दाखिला गरेको लगत भित्र म्याद भित्रै लगत दाखिल गरेको व्यक्तिको जमीन जफत गरेको माथि उल्लेखित निर्णयबाट प्रष्ट हुँदा ऐनको दफा १८ (१) प्रयोग गर्नु भन्दा अगावै अधिकारीले अन्य कारवाई अपनाउनु पर्छ कि पर्दैन भन्नेतर्फ विचार गर्दा स.अ.फु.बे.ले मिति ०१५ सालकार्तिक २ गते रोज ६ मा रिट फु.नं. २७ निवेदक राम बाबु साहू तेली विपक्षी बारा जिल्ला भूमिसुधार कार्यालय कलैया माथि उत्प्रेषणको आदेश जारी गरिपाउँ भनी दिएको निवेदनमा भू.सु.ऐन, २०२१ को दफा १८ (१) प्रयोग गर्नु भन्दा अगाडि उक्त ऐनको दफा १४ र दफा ८ बमोजिम दाखिल भएका सबै लगतको सूचना प्रकाश गरी सच्याउने म्याद दिनुपर्नेमा कानूनले निर्देश गरेको बाटो नहिडी लगतनै प्रकाशन नगरी जफत गरेको अदेश बदर गरेको पाइयो । कसैलाई कुनै दण्डसजाय दिनु भन्दा अगावै अधिकारीले आफ्नो कार्यालयमा दाखिल भएको लगतको छानविन गरी लगतसमेत प्रकाशन गर्नुपर्ने कानूनी बाधयतातर्फ अधिकारीको ध्यान नगएको बाट नै म्यादै भित्रै लगत दाखिला गरी कसूर नगर्ने व्यक्तिको जग्गा म्याद नाघी लगत दाखिला गर्ने अन्य कुनै कसुर गरेर कसुरै नगर्ने व्यक्तिको जग्गा आफ्नो लगतमा पारी दिएबाट निर्दोष व्यक्तिको सम्पत्ति जफत गर्ने गरेको देखियो, अधिकारीले दिएको लिखित जबाफमा पनि रिट निवेदन परेपछि जि.पं.का.सिराहा मालबाट लगत लिई बुझ्ने कारवाई चलेको देखियो । निजले जग्गा जफत गर्नु भन्दा अघिनै जो बुझी यकिन गरेर मात्रै जग्गा जफत गर्नुपर्ने प्रष्टैछ र जुन मानिसका सम्पत्ति अपहरण गरियो उसलाई सफाइदिने मौका समेत नदिई सम्पत्ति अपहरणगर्नु प्राकृतिक न्यायको सिद्धान्तको पनि विरुद्धभएको देखिन्छ ।
९. तसर्थ नेपालको संविधानको ११ (ङ) र १५को वर्खिलाप कार्य भएको स्पष्ट हुँदा संविधानको धारा ७१ ले दिएको असाधारण क्षेत्रको अधिकार प्रयोग गरी सिराहा भूमिसुधार अधिकारीले मिति ०२४ साल पौष २० गते रोज ५ मा पञ्ची महतोको जग्गा जफत गरेको निर्णय बमोजिम बलही गाउँ पंचायतको प्र.पन्चको जिम्मा उक्त जग्गा दिई रजिष्ट्रेशन पास गर्न आएमा नगर्ने भनी जि.पं.कार्यालय सिराहा माललाई जानकारी दिने निर्णयसमेत उत्प्रेषणको यो आदेश जारी गरी बदर गरी दिएको छ । यसको एक प्रति प्रतिलिपि महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
इति सम्वत् २०२५ साल पौष २६ गते रोज ५ शुभम् ।