निर्णय नं. ८१०४ - सवारी ज्यान

निर्णय नं.८१०४ २०६६ असार अङ्क ३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ताहिर अली अंसारी
माननीय न्यायाधीश श्री रणवहादुर वम
संवत् २०६३ सालको फौ.पु.नं.– २०८
फैसला मितिः २०६६।२।२१।
मुद्दा : सवारी ज्यान ।
पुनरावेदक वादीः पदमराज वस्यालको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः रुपन्देही जिल्ला, वुटवल न.पा. वार्ड नं १० वस्ने दलबहादुर भन्ने खेमलाल पुन
शुरु फैसला गर्नेः
मा.जि.न्या. श्री इन्द्रमान कर्माचार्य
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री हरिवावु भट्टराई
मा.न्या. श्री वमकुमार श्रेष्ठ
§ प्रतिवादीले खरिद गरी लिएको भनी वयान गरेको आधारबाट मात्र सवारी धनीको हैसियत कायम गर्न नमिल्ने ।
§ प्रतिवादी चालक भएकोसम्म देखिँदा चालकबाट सवारी धनीको दायित्व व्यहोर्न लगाउन नमिल्ने ।
(प्रकरण नं.३)
पुनरावेदक तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी
प्रत्यर्थी तर्फबाटः
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(१), १६१(२), १६३(४)
फैसला
न्या.रणबहादुर वमः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :–
मिति २०६०।१।६ गते साँझ ७.५० बजेको समयमा लु२प ३४९४ नं को मोटरसाइकलमा मेरो भाई लक्ष्मण वस्याल चढी घरतर्फ आइरहेकोमा वु.न.पा. ५ लुम्विनी वैंक अगाडि सिद्घार्थ राजमार्गमा प्र.खिमलाल पुनले आवश्यक सावधानी नपुर्याई लापरवाहीपूर्वक लिई आएको लु १ ख ५६७ नं को टैंकरले ठक्कर दिई किच्दा घटनास्थलमै मृत्यु भएको.हुँदा कानूनबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको पदमराज बस्यालको जाहेरी दरखास्त ।
वु.न.पा.६ पूर्व ग्रिनवोर्ड रेष्टुरेन्ट, पश्चिम लुम्विनी वैंक लिमिटेड, उत्तर दक्षिण सिद्घार्थ राजमार्ग यति चार किल्लाभित्र रहेको सडकको चौ. २४ फीट रहेको दक्षिण साइडबाट उत्तरतर्फ आउदा सडकको दाया किनारदेखि मृतकको टाउकोसम्म ६ फीट रहेको मृतकदेखि १६ फीट उत्तरमा लुृ २प ३४९४ नं को मोटरसाइकल रहेको मृतकको टाउकोदेखि बगेको रगत डिकको पूर्व किनारसम्म पुगेको गिटी यत्रतत्र छरिएको मृतकदेखि पश्चिम ५ फीटमा टाउकोको खप्पर रहेको टाउको फुटी गिदी यत्रतत्र छिरलिएको टाउको क्षतविक्षत भएको भन्ने घटनास्थल तथा लाश प्रकृति मुचुल्का ।
मिति २०६०।१।६ गते सांझ वु.न.पा. वार्ड नं ६ लुम्विनी वैंकअगाडि सडकमा गोलपार्क तर्फ जांदै गरेको लु.२प ३४९४ नं को मोटरसाइकललाई सोही दिशातर्फ जांदै गरेको लु.१.ख ५७६ नं को टैंकरले ठक्कर दिँदा मोटरसाइकल पल्टिन गै चालक लक्ष्मण बस्याल उक्त टेंकरको अगाडि दाहिने चक्कामा पर्न गै टाउकोमा किच्दा मृत्यु भएको भन्ने सडक दुर्घटना प्रतिवेदन ।
मिति २०६०।१।६ गते सांझ वु.न.पा. ६ लक्ष्मीनगरमा पानी ढुवानी गर्न लु.१ ख ५७६ नं को टैंकरमा पानी राखी टेंैकर हाक्दै साँझ अ. ७.५० वजेको समयमा वु.न.पा.६ लुम्विनी वैंक अगाडि सडकमा पुग्दा वायां साइडमा ४।५ वटा गाई थिए । उत्तर साइडबाट दक्षिणतर्फ कुनै सवारी नआएकोले र्मैले हांकी लिई आएको टैंकरलाई वायाँ च्यापी अगाडि बढाउँदा दक्षिण साइडबाट उत्तर साइडतर्फ जान लक्ष्मण बस्यालले तीव्र गतिमा हांकी लिई आएको लु.२प ३४९४ को मोटरसाइकलले नजिकबाट मैले हाँंकी लिई आएको टैंकरलाई ओभरटेक गर्न खोज्दा अगाडि दायाँ टायरको पछाडिको भागले हल्का रुपमा ठक्कर लाग्दा मोटरसाइकल दायाँ चालक लक्ष्मण बस्याल वायाँतर्फ उछिटिृन जाँदा अगाडि दायाँ टायरले किच्दा टाउको फुटी घटनास्थलममै मृत्यु भएको हो सवारी चलाउँदाको अवस्थामा पछाडिबाट कुनै सवारी साधनले ओभरटेक गर्दैछ कि भनी सावधानी अपनाउनु पर्ने हो सो गरिन गल्ती भयो भन्ने प्रतिवादी खेमलाल पुनले अधिकारप्राप्त अधिकारी समक्ष गरेको वयान ।
मिति २०६०।१।६ गते सांँझ वु.न.पा. ६ स्थित सवारी दुर्घटना भएको थाहा पाई गै हेर्दा लक्ष्मण वस्यालको घटनास्थलमै मृत्यु भएको थियो । के कसरी दुर्घटना भएको रहेछ भनी बुझदा मृतकले हाँकेको लु २ प ३४९४ नं को मोटरसाइकल उत्तरतर्फ आइरहेको रहेछ । प्रतिवादीले हाँंकेको लु.१ ख ५७६ नं को टैंकर पनि उत्तरतर्फ आइरहेको रहेछ । घटनास्थलमा प्र. खेमलाल पुनले आवश्यक सावधानी नअपनाई बढी गतिमा सवारी हांकेकोले दुर्घटना भएको भन्ने थाहा पाएको हुं. भन्ने समेत व्यहोराको प्रहरी समक्ष देवीप्रसाद घिमिरेले गरेको कागज ।
मिति २०६०।१।६ गते सांझ लक्ष्मीनगर जान आइरहेको अवस्थामा वु.न.पा. ६ लुम्विनी वैंक लिमिटेडअगाडि सडकमा दुर्घटना भै मानिसको मृत्यु भएको थियो । दुर्घटनाको प्रकृति हेर्दा र बुझदा प्रतिवादी खिमलाल पुनको लापरवाहीको कारणबाट दुर्घटना भएको हुनुपर्छ भन्ने व्यहोराको मदनलाल नेपालले प्रहरी समक्ष गरेको कागज । मिति २०६०।१।६ गते वु.न.पा. ६ लुम्विनी वैंक लिमिटेड अगाडि लु.१ ख ५७६ न. को टैंकरले लक्ष्मण वस्याललाई ठक्कर दिई किच्दा दुर्घटना भएको थाहा पाएको हुँ भने पिताम्वर पाण्डेले प्रहरीसमक्ष गरेको कागज ।
प्रतिवादी खिमलाल पुनले लक्ष्मण बस्याललाई ठक्कर दिई किच्दा घटनास्थलमा मृत्यु भएको कुरा थाहा पाएको हुँ भन्ने विनोद हमालले प्रहरीमा गरेको कागज ।
लु. १ ख ५७६ नं को टैंकरले लु २ प ३४९४ नं को मोटर साईकल र लक्ष्मण बस्याललाई ठक्कर दिँदा घटनास्थलमै लक्ष्मण बस्यालको मृत्यु भएको हो भन्ने वस्तुस्थिति मुचुल्काका पविलाल गैरे समेतले लेखाई दिएको व्यहोरा ।
आवश्यक सावधानी नअपनाई गलत साइड च्यापी लापरवाहीपूर्वक तीव्र गतिमा टैेंकर चलाएको कारणबाट उक्त वारदात भएको देखिँदा प्रतिवादी दलवहादुर भन्ने खेमलाल पुनले चलाएको टैकरले ठक्कर दिई लक्ष्मण बस्यालको मृत्यु भएको हुँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिमको कसूर अपराध गरेको पुष्टि भएकोले निज प्रतिवादीलाई ऐ को दफा १६१(२) बमोजिम सजाय गरी पाउन र मृतकको क्रिया खर्च तथा क्षतिपूर्तिबापतको रकम मृतकको हकवालालाई बुझाएको नदेखिएकोले ऐ को दफा १६३ अनुसार मृतकको. क्रिया खर्च तथा क्षतिपूर्तिबापत ऐ दफा १६३(१)(क) तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ५५ बमोजिमको रकम मृतक लक्ष्मण बस्यालको हकवालालाई दिलाई भराई पाऊँ भन्ने अभियोग माग दावी ।
मिति २०६०।१।६ गते सांझ ७.३० वजे देखि ८ बजेको बीचमा वु.न.पा वार्ड नं ६ लक्ष्मण नगरमा पानी ढुवानी गर्न मैले लु.१ ख ५७६ नं टैंकरमा राखी टैंकर हाँक्दै वु.न.पा. वार्ड नं ६ स्थित लुम्विनी वैंक लिमिटेडअगाडि सडकमा पुग्दा वायाँ साइडमा ४।५ वटा गाई थिए उत्तर साइडबाट दक्षिणतर्फ कुनै सवारी नभएकाले मैले लिई हाँकी आएको टैंकरलाई दाया च्यापीअगाडि बढाउँदा दक्षिण साइडबाट उत्तर साइडतर्फ जान लक्ष्मण बस्यालले तीव्र गतिमा मोटरसाइकल चलाएर मैले हाँकी लिइआएको टैंकरलाई ओभरटेक गरी अगाडि बढन लागेका रहेछन् सो अवस्थामा मैले चलाएको टैंकरको कुन भागले लागि मोटरसाइकल रोडदेखि बाहिर गएको र मोटरसाइकल चालक मैले चलाएको टैंकर मुनी परी किची मरेका हुन मैले आफूले नदेखेको टैंकरको कुन चक्काले लक्ष्मण बस्याललाई किच्यो मैले भन्न सक्दिन कुनै इसारा नगरी मैले चलाएको टैंकरलाई ओभरटेक गरी अगाडि बढ्दा यो दुर्घटना भएको हो मोटरसाइकलको आवाज सुनेपछि मैले टैंकर रोकी हेर्दा लक्ष्मण बस्याल टैंकरभन्दा आठ फीट जति पछाडि रोडमा थिए र निजको मृत्यु समेत भैसकेको थियो । मेरो लापरवाहीबाट यो दुर्घटना भएको होइन भन्ने व्यहोराको प्रतिवादीले अदालतमा गरेको वयान ।
जाहेरवाला पदमराज बस्याल, देवीप्रसाद घिमिरे, लीलाधर वस्याल, मायादेवी ढकाल, रेश्मी मगरसमेतको वकपत्र भै मिसिल सामेल रहेको ।
यसमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) अन्तर्गतको कसूर न भै सो कसूर सोही ऐनको दफा १६१(३) अन्तर्गतको कसूर देखिँदा प्रतिवादीलाई वादी दावीबमोजिम सोही ऐनको दफा १६१(३) बमोजिम रु.२०००। जरीवाना र दिन २४ कैद हुने र प्रतिवादीबाट वादी दावीबमोजिम सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ को दफा १६३(१) क बमोजिम रु.१७,५००। किरिया खर्च तथा क्षतिपूर्तिबापत भराई पाउने ठहर्छ भन्ने शुरु रुपन्देही जिल्ला अदालतबाट मिति २०६०।६।२६ मा भएको फैसला ।
यसमा प्रतिवादीले अभियोग माग दावीबमोजिम कसूर अपराध गरेको पुष्टि हुँदा हुँदै प्रतिवादीलाई कम सजाय गरेको तथा कम रकम क्षतिपूर्ति दिने ठहर गरेको हदसम्मको शुरुको मिति २०६०।६।२६ को फैसला बदर गरी प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ को दफा १६१(२) बमोजिम सजाय गरी प्रतिवादीबाट मृतकको हकवालालाई ऐनको दफा १६३(१) क बमोजिम ऐ नियमावली, २०५४ को नियम ५५ ले निर्दिष्ट गरेको रकमसमेत क्षतिपूर्तिबापत दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।
यसमा कानूनबमोजिम क्षतिपूर्तिको रकम नभराएको शुरुको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.वं २०२ नं तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई हाजिर भए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत वुटवलको मिति २०६१।९।५ मा भएको आदेश ।
यसमा अभियोगपत्र माग दावीमा सवारी तथा यातायात व्यवस्था ऐन, २०५४ को दफा ५५ अनुसारको क्षतिपूर्तिको माग दावी गरिएको र मिसिलबाट तेस्रो पक्षको वीमा गरेको नदेखिएको र टैंकर धनी वसन्त कार्कीलाई मौकामा बुझी कारणीसरह तारेखमा राख्नु पर्नेमा शुरु अदालतले नगरेको देखिँदा निज टैंकर धनी वसन्त कार्र्कीलाई अ.वं १३९ नं बमोजिम बुझी नियमानुसार गरी पेश गर्नु भन्ने समेत पुनरावेदन अदालत वुटवलको मिति २०६२।२।२६ मा भएको आदेश ।
अभियोग माग दावीअनुसार सजाय गर्नुपर्नेमा सोअनुसार भएन भन्नेतर्फको पुनरावेदन जिकीरका सम्बन्धमा अभियुक्त प्र.दलवहादुर भन्ने खेमलाल पुनले चलाएको टयाँंकरलाई उछिन्न खोज्दा मोटरसाइकल टैंकरको अगाडिको भागमा ठोक्किन गई दुर्घटना भएको भन्ने देखिन आउँछ । यसरी एकै दिशामा गइरहेको बेला आफूले चलाएको मोटरसाइकलले उछिन्ने क्रममा टैंकरसँग ठोक्किन गई दुर्घटना भएको कुरालाई अभियुक्त प्रतिवादीले स्वीकारेको र मिसिलबाट समेत सो कुरा देखिएको अवस्था छ । यसरी एकै दिशामा गइरहेको बेला मृतकले आफूले चलाएको मोटरसाइकलले उछिन्ने क्रममा टैंकरसँग ठोक्किन गई दुर्घटना भई मृतकको मृत्यु समेत भएको देखिन आएकोले ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने जानी–जानी लापरवाही गरेको भन्न मिल्ने अवस्था मिसिलबाट देखिन आएन । तसर्थ, यसतर्फ नेपाल सरकारको तर्फबाट लिइएको पुनरावेदन जिकीरमनासिव देखिन आएन ।
अव क्षतिपूर्तिका सम्बन्धमा भएको अर्को पुनरावेदन जिकीरका सम्बन्धमा हेर्ने हो भने टैंकरको व्लुबुक वसन्त कार्कीको नाउँमा भै यी प्रतिवादीका नाममा नामसारी भै नसकेको अवस्था भएकोले कानूनबमोजिम हक हस्तान्तरण भै नसकेको देखिँदा केवल मैले टैंकर लिइसकेको छु भन्ने प्रतिवादी खेमलाल पुनको भनाईको आधारले मात्र यी प्रतिवादीलाई टैंकरधनी भनी मान्न मिल्ने हुँदैन । यसरी टैंकरधनी अर्कै देखिएको अवस्थामा यी प्रतिवादीबाट क्षतिपूर्ति भराई पाऊँ भनी लिइएको जिकीरविचारणीय देखिन आउंछ । अर्कोतर्फ टैंकर धनी वसन्त कार्कीलाई अभियोजन पक्षबाट प्रतिवादी नबनाइएकोले हाल अदालत स्वयंले वादी भै त्यसतर्फ विचार गर्न मिल्ने पनि देखिन आउदैन । त्यसकारण टैंकरधनीलाई प्रतिवादी नबनाइएको अवस्थाले क्षतिपूर्ति कोबाट के कति भराउनु पर्ने हो त भन्नलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(१) मा सवारी दुर्घटनाबाट कुनै पक्षलाई कुनै पनि किसिमको हानिनोक्सानी पुग्न गएमा पीडित पक्षलाई देहायबमोजिम घा खर्च र क्षतिपूर्तिको रकम चालक, सवारी धनी वा व्यवस्थापकबाट भराई दिनुपर्छ भनी उल्लेख भै सोही १६३(४) मा यस दफामा माथि जुनसुकै कुरा लेखिएको भएपनि यस दफाबमोजिम भराइने घा खर्च, किरिया खर्च र क्षतिपूर्तिको कूल रकमको पांच प्रतिशतभन्दा वढी चालकबाट भराइने छैन भनी व्यवस्था भएको पाइएकाले क्षतिपूर्तिको कूल अङ्क नै चालक यी प्रतिवादीबाट भराई दिन मिल्ने नदेखिँदा सोसम्मको पुनरावेदन जिकीर र सोही अनुरूप भएको विद्वान शाखा अधिकृतको बहस जिकीरसमेतसँग सहमत हुन सकिएन । तथापि ऐनको दफा १६३(४) बमोजिम ५ प्रतिशत क्षतिपूर्तिले हुने रकम चालकबाट भराउनु पर्ने देखिन आएकोले कूल अङ्कको ५ प्रतिशत क्षतिपूर्तिंको रकमसम्म चालकबाट भराई दिनुपर्ने नै देखिन आएको छ । कुन कूल अङ्कको ५ प्रतिशत चालकबाट भराई दिनु पर्ने हो त भनी त्यसतर्फ विचार गरी हेर्दा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ५५ मा सवारीको दुर्घटनाबाट कुनै तेस्रो पक्ष वा निजको कुनै सम्पत्ति हानिनोक्सानी भएमा त्यस्तो हानिनोक्सानीको क्षतिपूर्ति दिने प्रयोजनको लागि सवारी धनी वा व्यवस्थापकले तीन लाख रुपैया वरावरको तेस्रो पक्ष वीमा गराउनु पर्नेछ भनी स्पष्ट व्यवस्था गरिएको हुँदा कूल अङ्क ३ लाखलाई नै मान्नु पर्ने हुन आएको छ । अतः ऐनको दफा १६३(४) बमोजिम प्रतिवादी चालकसम्म देखिन आएकोले सो कूल अंक रु.तीन लाखको ५ प्रतिशतले हुन आउने रु.१५०००। क्ष्तिपूर्ति दिनु पर्ने दायित्व यी प्रतिवादीको देखिँदा रु.१५०००। सम्म पीडित पक्षले यी प्रतिवादी दलबहादुर भन्ने खेमलाल पुनबाट भरी पाउने नै देखिँदा पूरै क्षतिपूर्ति यी प्रतिवादीबाट भराई पाऊँ भन्ने पुनरावेदन जिकीरसम्म मनासिव देखिन आएन ।
तसर्थः प्रतिवादी खेमलाल पुनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम जरीवाना रु.२०००। र कैद दिन २४ गर्ने गरेको मिति २०६०।६।२६ को रुपन्देही जिल्ला अदालतको फैसाला मिलेकै देखिँदा सो हदसम्म सदर हुन्छ । क्षतिपूर्तिको हकमा प्रतिवादी दलबहादुर भन्ने खेमलाल पुनबाट रु.१५०००। क्षतिपूर्ति पीडितको हकवालाले भरी पाउने ठहर्छ । सो हदसम्म रुपन्देही जिल्ला अदालतको फैसला केही उल्टी हुन्छ । अरुमा पुनरावेदन जिकीरपुग्न सक्दैन भन्ने मिति २०६३।२।१४ को पुनरावेदन अदालत वुटवलको फैसला ।
प्रतिवादी चालकले असावधानीपूर्वक चलाएको सवारीबाट मृतक लक्ष्मण बस्यालले चलाएको मोटरसाइकललाई ठक्कर दिई निजको मृत्यु भएकोमा विवाद नभएको । सो कुरालाई प्रतिवादीले अदालतमा समेत स्वीकार गरेको अवस्था रहेको, वादीका साक्षीहरूले अदालतमा आई चालकले लापरवाहीसाथ सवारी चलाएको कारणबाट दुर्घटना भएको कुरालाई पुष्टि हुने गरी वकपत्र गरि दिएको । चालकले सवारी चलाउँदा अपनाउनु पर्ने सावधानी नअपनाई दुर्घटना भएको र दुर्घटनापश्चात् भागेको,मानिसको आवागमन हुने व्यस्त सडकमा कुनै संकेत नदिई सवारी चलाएको कारण आफनै साइडमा आइरहेको मृतकको मोटरसाइकलालाई ठक्कर दिई दुर्घटना गराएको हुँदा निज प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१(२) बमोजिम सजाय गर्नुपर्नेमा सो नगरी ऐनको दफा १६१(३) अनुसार कम सजाय गर्ने गरेको फैसला त्रुटिपूर्ण छ ।
सवारी तथा यातायात व्यवस्था नियमावली,२०५४ को नियम ५५ ले सवारी दुर्घटनाबाट हुने तेस्रो पक्षको हानिनोक्सानी बापत वीमा गराउनु पर्ने अनिवार्य व्यवस्था गरेको देखिएको । उक्त सवारी प्रतिवादीले रु.२,३५,०००। मा अमुवा गा वि स वाड नं १ बस्ने वसन्त कार्कीसँग खरिद गरी लिएको भनी वयान गरेकोबाट निज सो सवारीको धनी समेत रहेको पुष्टि भै राखेकोमा पूरै क्षतिपूर्ति तिर्नु निजको दायित्व हुनेमा ऐनको दफा १६३(४) बमोजिम ५ प्रतिशत मात्र दायित्व हुने गरी ऐनको दफा १६३(१) क विपरीत भएको पुनरावेदन अदालत वुटवलको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबमोजिम सजाय गरी क्षतिपूर्ति वापतको विमा रकम समेत दिलाई भराईपाऊँ भन्ने समेत वादी नेपाल सरकारको तर्फबाट पर्न आएको पुनरावेदन ।
नियमबमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको पुनरावेदन जिकीरसहितको.मिसिल अध्ययन गरी हेर्दा प्रतिवादी दलवहादुर भन्ने खेमलाल पुनले चलाएको टैंकरले ठक्कर दिई लक्ष्मण बस्यालको मृत्यु भएको हुँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिमको कसूर अपराधमा निज प्रतिवादीलाई सोही ऐनको दफा १६१(२) बमोजिम सजाय गरी मृतकको किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकम मृतकको हकवालालाई ऐ को दफा १६३ अनुसार तथा सवारी तथा यातायात व्यवस्था नियमावली ,२०५४ को नियम ५५ बमोजिम मृतक लक्ष्मण बस्यालको हकवालालाई दिलाई भराई पाऊँ भन्ने अभियोग माग दावी भएकोमा प्रतिवादीलाई सोही ऐनको दफा १६१(३) अन्तर्गतको कसूर ठहर गरी सोही ऐनको दफा १६१(३) बमोजिम रु.२०००। जरीवाना र दिन २४ कैद हुने र प्रतिवादीबाट वादी दावीबमोजिम सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(१) क बमोजिम रु.१७५००। किरिया खर्च तथा क्षतिपूर्तिबापत भराई पाउने ठह¥याएको शुरु रुपन्देही जिल्ला अदालतबाट मिति २०६०।६।२६ मा भएको फैसलामा सजायको हकमा शुरुको सदर गरेको र क्षतिपूर्तिको हकमा रु.१५०००। प्रतिवादीबाट पीडित पक्षले भरी पाउने ठहराएको पुनरावेदन अदालत वुटवलको फैसलाउपर चित नबुझी नेपाल सरकारको पुनरावेदन पर्न आएको देखियो ।
यसमा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनु भएका विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदीले प्रतिवादीले असावधानीपूर्वक चलाएको सवारीबाट मृतक लक्ष्मण बस्यालले चलाएको मोटरसाइकललाई ठक्कर दिई निजको मृत्यु भएकोमा विवाद नभएको । सो कुरालाई प्रतिवादीले अदालतमा समेत स्वीकार गरेको छ । वादीका साक्षीहरूले अदालतमा आई चालकले लापरवाहीसाथ सवारी चलाएको कारणबाट दुर्घटना भएको कुरालाई पुष्टि हुने गरी वकपत्र गरी दिएको । चालकले सवारी चलाउँदा अपनाउनु पर्ने सावधानी नअपनाई दुर्घटना भएको र दुर्घटनापश्चात् भागेको, मानिसको आवागमन हुने व्यस्त सडकमा कुनै सकेत नदिई सवारी चलाएको कारण आफ्नै साइडमा आइरहेको मृतकको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना गराएको कारणबाट ज्यान मरेको हुँदा निजलाई ऐनको दफा १६१(२) बमोजिम सजाय गर्नुपर्नेमा सो नगरी ऐनको दफा १६१(३) अनुसार कम सजाय गने गरेको फैसला र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ५५ ले सवारी दुर्घटनाबाट हुने तेस्रो पक्षको हानिनोक्सानी बापत वीमा गराउनु पर्ने अनिवार्य व्यवस्था गरेको र उक्त सवारी निज प्रतिवादीले रु.२३५०००। मा वसन्त कार्कीसँग खरिद गरी लिएको भनी वयान गरेकोबाट निज सो सवारीको धनी समेत रहेको पुष्टि भै राखेकोले सवारीधनीको हैसियतले पूरै क्षतिपूर्ति तिर्नु निजको दायित्व हुनेमा ५ प्रतिशतमात्र दायित्व हुने गरी ऐनको दफा १६३(१)क विपरीत भएको पुनरावेदन अदालत वुटवलको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबमोजिम सजाय गरी क्षतिपूर्तिबापतको वीमा रकमसमेत दिलाई भराई पाऊँ भन्ने समेत बहस गर्नुभयो ।
विद्वान सहन्यायाधिवक्ताको बहस जिकीरतथा पुनरावेदन जिकीरसहितको मिसिल कागजातको आधारमा पुनरावेदकको पुनरावेदन जिकीरपुग्न सक्ने हो होइन ? र शुरुले वादीको दावीभन्दा फरक दफा प्रयोग गरी गरेको सजाय सदर गरेको तथा किरिया खर्च र क्षतिपूर्तिको हकमा केही उल्टी गरी भराउने गरेको पुनरावेदन अदालत वुटवलको फैसला मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. प्रतिवादी दलबहादुर भन्ने खेमलाल पुनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय गर्नुपर्नेमा सो नगरी दफा १६१(३) अनुसार कम सजाय गर्ने गरेको शुरुको फैसला सदर गरेको भन्ने पुनरावेदन जिकीरको सम्बन्धमा विचार गर्दा, प्रतिवादीले चलाएको टैंकरलाई उछिन्न खोज्दा, मोटरसाइकल टैंकरको अगाडिको भागमा ठोक्किन गई दुर्घटना भएको भन्ने प्रतिवादीले स्वीकारेको र मिसिल हेर्दा निजको अदालतको वयानको स.ज ७ र ८ मा घटनास्थलमा पुग्दा ४।५ वटा गाई भएकोले अगाडिबाट कुनै सवारी नआएको हुँदा टैंकरलाई दाया च्यापी अगाडि बढ्दा लक्ष्मण बस्यालले सोही ठाउँमा ओभरटेक गरेको कारणबाट दुर्घटना हुन गएको भनी उल्लेख गरेको कुरालाई निजको साक्षीले पुष्टि हुने गरी टैंकर चालकको गल्तीबाट सो दुर्घटना भएको होइन भनी वकपत्र गरिदिएको समेत देखिन आयो । यसरी एकै दिशामा गइरहेको बेला मृतकले चलाएको मोटरसाइकलले टैंकरलाई उछिन्ने क्रममा ठोक्किन गई दुर्घटना भएको र सोही दुर्घटनाबाट मोटरसाइकल चालक लक्ष्मण बस्यालको मृत्यु हुन गएको देखिएकोले, मिसिलबाट घटनास्थलको प्रकृतिबाट “सडकको पश्चिम किनारदेखि १२ फिट भित्र ६ फिट लम्वाईको टायर घर्षणको डाम देखिएको” तथा “मोटरसाइकलको हेडलाइट कभरको वाया साइड कोतरिएको” भन्ने उल्लेख भएकोबाट मोटरसाइकलले टैंकरको दायाँतर्फबाट उछिन्न खोज्दा सो कोतरिएको हुन सक्ने देखियो । २४ फिट सडकको पश्चिम किनारदेखि १२ फीटभित्र ६ फीट लम्वाइको टायर घर्षणको डाम देखिएबाट मोटरसाईकलले उछिन्न खोज्दा टैकर पनि दायां च्यापेर जान खोज्दाको अवस्थामा एकआपसमा ठक्कर लाग्दा मोटरसाइकल लडी लक्ष्मण बस्याल टैंकरको अगाडिको चक्कामुनी पर्न जाँंदा व्रेक लगाउँदा सो डाम पर्न गएको भन्ने देखिएबाट तत्काल देखिएको घटनाको प्रकृतिबाट ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने जानी–जानी टैंकर चालकले टैंकर चलाउदा लापरवाही गरेको भन्न मिल्ने अवस्था मिसिलबाट देखिन आएन । मृतकसँग प्रतिवादीको कुनै चिनजान र पूर्व रिसइवी समेत रहेभएको मिसिलबाट देखिएको छैन । मार्ने मनसायले घटनास्थलमा दायां च्यापेको भन्ने समेत नदेखिएको अवस्थामा अपर्झटको अवस्थामा टैंकर चालक प्रतिवादीको कावुबाहिरको परिस्थिति सिर्जना भई सो दुर्घटना हुन गएको भन्ने देखिँदा विद्वान सहन्यायाधिवक्ताको बहस वुदासँग सहमत हुन सकिएन । यस्तो अवस्थामा प्रतिवादी दलबहादुर भन्ने खेमलाल पुनलाई अभियोग दावीबमोजिम सजाय नभई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम सजाय हुने हुँदा अभियोग दावीबमोजिम सजाय हुनुपर्छ भन्ने पुनरावेदन जिकीरपुग्न सक्तैन ।
३. अव क्षतिपूर्तिको सम्बन्धमा विचार गर्दा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ५५ ले सवारी दुर्घटनाबाट हुने तेस्रो पक्षको हानीनोक्सानीबापत वीमा गराउनु पर्ने अनिवार्य व्यवस्था गरेको देखियो । तर उक्त सवारी निज प्रतिवादीको नाउँमा नामसारी भै दर्ता कायम भएको नदेखिइ दुर्घटना भएको मितिसम्म वसन्त कार्कीको नाउँमा नै भएको भन्ने मिसिल संलग्न सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपिबाट देखिएको अवस्थामा उक्त सवारी निज प्रतिवादीले खरिद गरेको तथा वसन्त कार्कीले विक्री गरेको भन्ने ठोस प्रमाणको अभावमा, खेमलाल पुनको नाउँमा नामसारी नभएसम्म उक्त सवारी चालक दलवहादुर भन्ने खेमलाल पुनको स्वामित्वको हो भन्न मिल्ने देखिएन । निज प्रतिवादीले खरिद गरी लिएको भनी वयान गरेको आधारबाट मात्र सवारी धनीको हैसियत कायम गर्न मिलेन । यी प्रतिवादी चालक भएकोसम्म देखिँदा चालकबाट सवारी धनीको दायित्व व्यहोर्न लगाउन नमिल्ने हुँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(४) बमोजिम रु.१५०००। क्षतिपूर्ति प्रतिवादी चालक दलवहादुर भन्ने खेमलाल पुनबाट मृतकको हकदारले भराई पाउने देखिँदा सोबमोजिम भराई दिने गरेकोसम्म पुनरावेदन अदालत वुटवलको मिति २०६३।२।१४ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । चालकबाट क्षतिपूर्तिबापतको वीमा रकमसमेत दिलाई भराई पाऊँ भन्ने पुनरावेदन जिकीरपुग्न सक्तैन । यो फैसला भएको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई पुनरावेदन दायरीको लगत कट्टा गरी मिसल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.ताहिर अली अन्सारी
संवत् २०६६ साल जेठ २१ गते रोज शुभम्…
इजलास अधिकृतः खड्ग बहादुर श्रेष्ठ