निर्णय नं. ४९९९ - कर्तव्य ज्यान ।

निर्णय नं. ४९९९ ने.का.प.२०५१ अङ्क ११
पूर्ण इजलास
माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
सम्वत २०५१ सालको फौ.पु.इ.नं. २३,२४,२५
फैसला मितिः २०५१।७।२४।५
मुद्दाः कर्तव्य ज्यान ।
निवेदकः मोरङ जिल्ला शनिश्चेर गा.वि.स. वडा नं. ७ घर भै बिराटनगर कारागारमा थुनामा रहेका दिल प्रसाद लिम्बू समेत ।
ऐ. ऐ. घर भै बिराटनगर कारागारमा थुनामा रहेका मान बहादुर लिम्बू ।
ऐ.ऐ. हसनदह गा.बि.स. वडा नं. ८ घर भै कारागार शाखा काठमाण्डौमा थुनामा रहेको पृथ्बी बहादुर लिम्बू
बिरुद्ध
बिपक्षीः मन कुमारी राईको जाहेरीले श्री ५ को सरकार ।
§ जहरमान वारदातको समयमा आफू झापा चन्द्रगढीमा गएको भद्रमायाले धन बहादुरलाई गरी दिएको वारेसनामामा साक्षी बसेको र उक्त बारेसनामा मा.पो.का. चन्द्रगढीमा पेश छ भनी अन्यत्र रहेको जिकिर लिएको हकमा सो वारेसनामा घर सारमा तयार हुने प्रकृतिको भएको र घरमा नै सहिछाप गरी पठाउन पनि मिल्ने नै हुंदा वारेसनामामा साक्षी बसेकै आधारमा अन्यत्र भएको पुष्टि हुने देखिएन ।
(प्र.नं. ४५)
§ जाहेरवालीको जाहेरीबाट जहमान, निजको बकपत्रबाट पृथ्वी बहादुर,पृथ्बी बहादुरको कागजबाट जहरमान भीमकुमार,दिल प्रसादको कागजबाट पृथ्वी बहादुर, जहरमान, भीमकुमार घटनाको प्रत्यक्षदर्शी जाहेरवालीको भाउजु रत्नमायाले अदादलतमा आई गरेको बकपत्रबाट दिल प्रसाद समेत बारदातमा सम्लग्नसम्म रहेको देखिन आउंछ । तर यिनीहरु मध्ये कसैले पनि मृतकलाई मार्न मुख्य भै बचन दिएको, हातहतियार प्रयोग गरेको वा मृतकको शरीरमा समात्ने काम गरेको भन्ने कतैबाट पुष्टि हुन आएको नदेखिंदा ज्यान सम्बन्धी महलको १३ (३) नं. यी प्रतिवादीहरुका सम्बन्धमा आकर्षित हुने देखिएन । निवेदक प्रतिवादीहरुको साथमा कुनै हातहतियार रहेको पनि नदेखिएको र मृतकलाई मार्न कुनै किसिमबाट संयोग पारी दिएको समेत देखिन नआएको ज्यान सम्बन्धी महलको १७(३) नं. को कसुरसम्म गरेको देखिन आएकोले निजहरुलाई जनही तिनै वर्षका दरले कैद सजाय हुने ।
(प्र.नं.४७)(प्र.नं. ४७)
निवेदक तर्फबाटःविद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त बिद्धान अधिवक्ताद्वय श्री रामकृष्ण विष्ट तथा बिद्धान अधिवक्ता श्री अग्नी खरेल
बिपक्षी तर्फवाटःबिद्धान वरिष्ठ सरकारी अधिवक्ता श्री देव शरण प्रसाद,विद्वान अधिवक्ता श्री हरि कृष्ण कार्की ,बिद्धान अधिवक्ता श्री बालकृष्ण न्यौपाने
अबलम्वित नजीरः(ने.का.प.२०४३ अंक १,पृष्ठ ४६, नि.नं. २५९९ मा प्रतिपादित सिद्धान्त ।
ने.का.प.२०४३ अंक ८, पृष्ठ ७३४ पूर्ण इजलासवाट प्रतिपादित सिद्धान्त ।
फैसला
न्या.उदयराज उपाध्यायः यस अदालत संयुक्त इजलासको मिति २०४६।३।५ को फैसला उपर पुनरावलोकनको निस्सा प्रदान भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाका संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. मिति २०४०।११।२८ गतेका दिन ४ बजे पति उत्तम राईको साथमा म माइती दाजू प्रेम राजको घरमा गएकोमा जहरमान लिम्बू, नासपाते साइला, धनेश्वर, मनमती नरेन्द्र, कृष्ण, गजेश्वर, चन्द्र लिम्बू, भवानी खरेल, पुष्प लिम्बू, विष्णु बहादुर, जन्तरे लिम्बू, बिजुले लिम्बू र नचिनेका अरु ५।६ जना समेतले लाठी खुकुरीलीई मेरो श्रीमती लाने उत्तमे राईलाई ठीक नगरी भएन भनी जहर मानले बचन दिई समाउदै घोक्ररयाउदै घिसारी लाठी खुकुरीले हानी पती उत्तमराईलाई मारेकोले कारवाही गरी पाउं भन्ने जाहेरी ।
३. धारीलो हतियारले काटिएको घा.चोट भएको भन्ने लाश प्रकृती मुचुल्का भएको र लाशजांच पोष्टमार्टम रिर्पोट समेत भएको ।
४. झगडा हुंदा छुट्याउने मर्नेको श्रीमती र प्रेमराजलाई पनि कुट्दै थिए मैले मनाही गर्दा जहरमानले जार हो काट्न पाइन्छ तंलाई केही हुंदैन चुप लाग भनी उत्तरपटृी गए भने एक कुमार अधिकारीको मौकाको कागज ।
५. धनेश्वरको नातीले ११ पल्ट उत्तमलाई गनी गनी काटे भनी इन्द्र्र कुमारीलाई भनी रहेको सुने भन्ने बलमाया लिम्बूनीको मौकाको कागज ।
६. जहरमानको श्रीमती लगेको कारण उत्तमलाई कर्तव्य गरी मारेको हुन् भन्ने इन्द्र कुमारी लिम्बू, चन्द्र कुमारी, जग बहादुर राई, बम बहादुर राई समेतको पृथक पृथक मौकाको कागज ।
७. घटना अवस्थामा श्रीमान नन्द कुमार गए नगएको थाहा छैन भन्ने समेत श्रीमती जसोदा देवी संग्रौलाको र झगडा हुंदा छुट्याउंदा म र मेरो श्रीमानलाई पनि कुटपिट गरे प्र.हरुको हातमा लाठी खुकुरी थियो म घर आएं आधा घण्टा पछि उत्तम मरेको सुने भन्ने रत्नमाया लिम्वुनीको र उत्तम भागे भनी कोही घर वरीपरी घुमीरहेको जहरमानको हातमा डण्डा धनेश्वरको हातमा खुकुरी लाठी नस्पातेको हातमा डण्डा नन्द कुमारको हातमा डण्डा धनेश्वर, नन्द कुमारकी श्रीमती र जहरमानकी भान्जी समेत लाठी ली उभिएको चिने अरु चिनिन ५०।६० जना थिए हामी घर आयौं भोलिपल्ट उत्तम मर्यो भन्ने सुनी हेर्न गयौं भन्ने समेत शिव कुमार राई जहरमानको श्रीमती जारी गरेको कारण मारेको हुनु पर्छ भन्ने पूर्ण प्रसाद लिम्बू र जहरमानले मानिस उठाई उत्तमलाई मारे भन्ने सुनेको हुं भन्ने समेत लक्ष्मण राई र हल्ला सुनी घटना स्थल जांदा मानिस दौडदै आई एउटा मानिस दौडदै मेरो घर आगनमा छट्पटाउन लागेपछि १०।१५ जना आई लाठी प्रहार गर्न थाले डरले म घरभित्र पसें एकछिन पछि कुट्ने मानिसहरु उत्तम तर्फ लागे म घर बाहिर निस्कें घाइते उत्तम रहेछ इसाराले पानी माग्यो श्रीमतीले पानी ख्वाई दिइन एकक्षण पछि उत्तमको मृत्यु भयो भन्ने समेत मौख धिमाल र मचि धिमालको मौकाको कागज ।
८. मन कुमारी राई र प्रेमराज लिम्बूको घा. जांच भएको केश फाराम पनि दाखेल भएको ।
९. ०४०।११।२८ मा हाम्रो शत्रु मार्नु पर्छ बेलुकी घर आउ भनी जहरमानले भने । जांदा जहरमान, नास्पति साइलो, धनेश्वर, मानमती, नरेन्द्र कृष्ण गजेश्वर चन्द्र कुमार, विष्णु बहादुर जन्तरे, फुतुंग भन्ने विष्णु बहादुर, पृथ्वी बहादुर, जित बहादुर र ४।५ जना अरु नचिनेको रहेछन् मार्नु पर्छ भन्ने सहमती भै (डण्डा) खुकुरी हात हातमा बोकी घरबाट बाहिर निकाली भाग्दा लखेटा कुट्ने काट्ने गरी मौख धिमालको घरमा उत्तमको मृत्यु भएको हो हतियारले २।३ पल्ट काटेको छ भन्ने समेत चन्द्र बहादुर लिम्बूको प्रहरीमा कागज ।
१०. ०४०।११।२८ गते बजार भर्न गएको बेला विष्णु बहादुरसंग भेट भै बेलुकी जहरमानको घर जाने भनी जांदा जहरमान गजकेशर, चन्द्र कुमार, नास्पाति, चित्त बहादुर, पुष्प बहादुर, धनेश्वर, कृष्ण चन्द्र, प्रेम विष्णु, मानमती, नरेन्द्र ठुलाघरे, सिल प्रसाद, भीम कुमार, चन्द कुमार, अकासे, भवानी र नचिनेका ५।६ जना समेत रहेछन् जहरमान धनेश्वरले उत्तमलाई कुट्नु मार्नु पर्छ भन्दा सबै सहमत भै सबैले लखेटी कुटे काटेका छौं मृत्यु भएको हो मैले १।२ पटक काटे भन्ने समेत पृथ्वी बहादुर लिम्बूको प्रहरीमा कागज ।
११. धनेश्वरकोमा पैसा माग्न गए धनेश्वर नहुंदा उनकी श्रीमतीसंग गफ गरी पर्खिबसेको थिएं साझ ६।७ बजे जहरमानको श्रीमती आई मारपिट भैरहेको छ भन्दा त्यस्तै गए कुट्ने हुनकी भनी डरले साइडबाट हेर्दा जहरमान, धनेश्वर, गजेश्वर, नरध्वजलाई चिने अरु चिनीन म घर गए जहरमान धनेश्वर समेतका कर्तव्यवाट मारेका हुन भन्ने जित बहादुर लिम्बूको प्रहरीको कागज ।
१२. बहिनी ज्वाईलाई पुर्याई घर फर्कदै गर्दा धनेश्वरसंग भेट भै सहयोग मागेकोले केको सहयोग भन्दा तिमिहरुको खैरेत छैन भनी भनेकोले साथ लागी जांदा भीमकुमारको घर गयौं मानिसको जम्मा थियो । चिनेका धनेश्वरको नाती धनेश्वर, पुष्प लिम्बू, कृष्ण लिम्बू, पृथ्वी बहादुर, चक्र बहादुर, अन्तरे, भक्त बहादुर, प्रेम बहादुर, धनेश्वरको श्रीमती, जहरमान समेतका मानिस थिएं उत्तमलाई मारपिट गरीरहेका थिएं उत्तम त्यांहावाटै भाग्यो घर फर्कदा बाटोमा पुष्पले ४ पल्ट, धनेश्वरको नातीले ११ पल्ट, जन्तरेले २ पल्ट खुकुरीले काटे भने मैले लौराले २।३ पटक हिर्काएको छु भन्ने समेत दिल प्रसाद लिम्बूको प्रहरीमा कागज ।
१३. छोरा ज्वाईलाई बिदा गरी घर फर्कदा धनेश्वरसंग भेट हुंदा सहयोग मागें संगै जांदा अधिकारी बाहुनको घरमा ६०।७० जनाको जमात रहेछ । जहरमान धनेश्वरको नाती, पुष्प बहादुर जन्तरे लिम्बू विजूले, पृथ्वी बहादुर, प्रेम बहादुर, कृष्ण लिम्बू नास्पाते समेतलाई चिने । जहरमान समेतका मानिसले उत्तमको जेठानलाई कुटे र जेठान घर तर्फ गएं पुष्प, जन्तरे, धनेश्वरको नाती र कृष्णको हातमा खुकुरी अरु सबैको हातमा डण्डा थियो सबैले उत्तमलाई कुटपिट गर्यो मैले पनि कुटें उत्तम भागे पछि सबै लखेट्दै गएका थिए, धिमालको घर पुगी जहरमानको श्रीमती लगेको कारणले धनेश्वर समेतको षडयन्त्रबाट उत्तमलाई कुटपिट गरी मारेको हो भन्ने समेत धिम कुमार लिम्बूको प्रहरीमा भएको कागज ।
१४. उत्तम राईलाई जहरमान लिम्बू र निजका सहयोग समेतको मिलोमतोबाट ०४०।११।२८ गते ७.३० बजे खुकुरी समेतको हतियारले काटी कुटी मारेका हुन् पक्राउ नगरेका हत्यारा के कहां लुकीछिपी वसेका छन् भन्ने समेत व्यहोराको सिताराम बस्नेत समेत १३ जनाले लेखाएको सर्जमिन मुचुल्का ।
१५. सर्जमिनबाट पनि खुकुरी प्रहार गरी मारेको समर्थित हुन आएको र जेठी श्रीमती लगेको कारणबाट जहरमानले अरु प्रतिवादी जम्मा गरी लाठी खुकुरी प्रहार गरी उत्तमको मृत्यु भएको यसैको चोटबाट मारेको भन्ने खुल्न नसकेको हुंदा विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरु उपर मूलुकी ऐन, ज्यान सम्बन्धीको १ नं. को अभियोगमा ऐ. को १३(३) बमोजिम सजायं हुन प्रस्तुत प्रहरी तथा जिल्ला न्यायाधिवक्ताको संयुक्त प्रहरी प्रतिवेदन ।
१६. उत्तम राईलाई कुटपिट गरी मारेको होइन । प्रहरीले कुटपिट गरी पढी नखुलाई सहीछाप गराए ०४०।११।२८ गते रात दिन गौरीगन्ज मामली घरमा छु जाहेरवाला र सर्जमिनले किन पोल गरे चिन्दिन भन्ने समेत चन्द्र बहादुर लिम्बूको अदालतमा वयान ।
१७. ०४०।११।२८ गते दिनरात बिमारी भएकोले घर मै छुं प्रहरीले कुटपिट गरी पढी नसुनाई कागजमा सहिछाप गराएका हुन उत्तम राईलाई मैले मारे मराएको छैन नचिनेका मानिसले किन पोल गरे जान्दीन जहरमानले मारेको भन्ने सम्म सुनेको हुं भन्ने पृथ्वी बहादुर लिम्बूको अदालतमा गरेको वयान ।
१८. ०४०।११।२८ गते दिन रात घरमै छुं प्रहरीमा पढी नसुनाई डरत्रासमा सहि गराएका हुन म समेत भै उत्तम राईलाई कुटपिट गरी मारेको होइन पोल गर्ने कारण थाहा भएन निर्दोश छु भन्ने समेत दिल प्रसाद लिम्बूको अदालतमा वयान ।
१९. जहरमान धनेश्वर समेतको कुटपिटको कारणबाट उत्तम मरेको भन्ने सुनेको हुं म समेत भै कुटपिट गरी मारेको होइन प्रहरीमा लेखीराखेको कागजमा सही गर भन्दा गरेको हुं मलाई किन पोल गर्यो थाहा छैन भन्ने समेत जित बहादुर लिम्बूको अदालतमा वयान ।
२०. घटना भएको भनेको दिन म दिनरात आफ्नै घरमा छुं म समेत भै कुटपिट गरी उत्तम राईलाई मारेको होइन । निजलाई जहरमानले मारेको भन्ने गाउं घरमा सुनेका हुं प्रहरीमा पढी नसुनाई डरत्रास देखाएकोले सही गरी दिएको हुं म उपरको पोल झुठ्ठा हो भन्ने समेत भीम कुमार लिम्बूको अदालतमा गरेको बयान ।
२१. ०४०।११।२८ का दिन रात काठमाण्डौ कमलपोखरी अगाडी नेवारको घरमा कविराजव्दारा उपचार गराई बसेको छुं म समेत मिलि उत्तम राईलाई कर्तव्य गरी मारेको होइन ७२ वर्षकी वृद्ध मानिसलाई अभियोग लगाएका हुंदा रिहाई पाउं भन्ने समेत मान मतीको अदालतमा गरेको बयान ।
२२. ०४०।११।२८ का दिन बिहानै चन्द्रगढी बजारमा देवी प्रसादको रु २००।- तिर्न गएको र गंगा देवीले वारेशव्दारा जग्गा लिएको वारेशमा मालपोतमा साक्षी बसेको छु सो रात देवी प्रसादको घरमा बसेको छु म समेत भै उत्तम राईलाई कर्तव्य गरी मारेको होइन फसाउन पोल गरेको हुनु पर्छ म निर्दोष छु भन्ने समेत धनेश्वर लिम्बूको अदालतममा गरेको बयान ।
२३. ०४०।११।२८ गते पहाड घर पांचथर फिदिम आङसाराङ गा.पं वार्ड नं. ४ मा छु आफैं वा अर्काको भनाईले रिस इवीले फसाउन पोल गरेका हुन प्रेमराज समेतलाई चिन्दिन किन पोले जान्दीन भन्ने नरेन्द्र लिम्बूको अदालतमा गरेको बयान ।
२४. म समेत भै उत्तम राईलाई मारेको होइन र उत्तम राईले मेरी श्रीमती जारी गरेको छैन श्रीमती माइती झापाको दूवागढीमा छिन राजनिती रिसले प्र.पं बाट हटाउन झूठ्ठा पोल गरेका हुन बाबु विमारी भएको खवर आई २९ गते पहाड ताप्लेजुंग गै चैत्र २ गते पुगी उपचार गरी ०४१।५।२० मा शनिश्चरे घरमा फिरी आएको छुं । अपराध नगरको हुंदा सफाइ पाउं भन्ने समेत प्र.पं जहरमान लिम्बूले अदालतमा गरेको बयान ।
२५. ०४०।११।२८ का दिन किर्तपुर वाल प्रा.वि. मा ४ बजे सम्म शिक्षक हुंदा बसेको छु। म समेत भै उत्तम राईलाई मारेको होइन पछि आमा विमारी भै उपचार गर्दा नलगी आमाको मृत्यु समेत भएको क्रिया गर्न घर आउंदा थाहा पाएको किन पोल गरे भन्न सक्तिन अभियोगबाट सफाइ पाउं भन्ने नन्द कुमार संग्रौलाको अदालतमा गरेको वयान ।
२६. ०४०।११।२८ गते सांझ आफ्नै घरमा छु। उत्तमलाई म समेत भै कुटपिट गरी मारेको छैन । नचिनेका व्यक्तिहरुले किन पोल गरे जान्दिन मैले सजायं पाउनु पर्ने होइन भन्ने समेत भवानी खरेलको अदालतमा परेको बयान ।
२७. कृष्ण लिम्बू १, गजेश्वर भन्ने गजकेशर लिम्वू १, चन्द्र कुमार लिम्बू १,पुष्प बहादुर लिम्बू १ विष्णु बहादुर लिम्बू १, आकाशे भन्ने जन्तरे लिम्बू १ प्रेम बहादुर लिम्बू र भक्त बहादुर राई समेतले तामेल भएको म्यादी पुर्जीको म्याद गुजारी फरार रहेका ।
२८. जाहेरवाली सर्जमिन सहितका वादी पक्षका गवाह र प्रतिवादीहरुका साक्षी तथा जहर मानको जेठी श्रीमती चन्द्र कुमारी भक्त बहादुर समेत बुझी बकपत्र भएको र तेज बहादुर साक्षी बसेको भनेको सक्कले लिखत तेह्रथुम मालपोत कार्यालयबाट झिकाइएको ।
२९. प्रतिवादी मध्ये जित बहादुर लिम्बू, मानमती लिम्बूनी, तेज बहादुर लिम्बू, नरेन्द्र लिम्बू, भवानी खरेल, नन्द कुमार संग्रौला र धनेश्वर लिम्बूले अभियोगबाट सफाइ पाउने र जहरमान लिम्बू अभियोगमा इनकार भए पनि संकलित सबुद प्रमाण प्रहरीमा सावित हुने व्यक्ति र सर्जमित र जाहेरवाली समेतको पोलबाट कर्तव्यवाला देखिएका र प्रहरीमा सावित हुने चन्द्र बहादुर लिम्बू पृथ्वी बहादुर लिम्बू भीम कुमार लिम्बू दिल प्रसाद लिम्बू समेतले जाहेरवालाको श्रीमान उत्तम राईलाई कर्तव्य गरी मारेको ठहर्छ । म्यादी पुर्जिको म्यादै गुजारी बस्ने फरारीहरुको हकमा मूलतवी रहने ठहर्छ भन्ने समेत ०४३।३।२७।६ को मोरंग जिल्ला अदालतको फैसला ।
३०. मोरंग जिल्ला अदालतले प्रतिवादीहरु मध्येका जित बहादुर लिम्वू, मानमति लिम्बूनी, नरेन्द्र लिम्बू ,धनेश्वर लिम्बू, भवानी खरेल, तेज बहादुर लिम्बू, नन्द कुमार संग्रौलालाई सफाइ दिएो चित्त बुझेन प्रतिवेदन दावी बमोजिम निजहरुलाई पनि सजायं गरी पाउं भनी पूर्वान्चल क्षेत्रीय अदालतमा श्री ५ को सरकार तर्फवाट परेको पुनरावेदन पत्र ।
३१. जिल्ला अदालतको फैसलामा चित्त बुझेन । इन्साफ पाउं भनी प्रतेवादी पृथ्वी बहादुर लिम्बू जहरमान लिम्बू,चन्द्र बहादुर लिम्बूको पृथक पृथक र दिल प्रसाद लिम्बू तथा भीम कुमार लिम्बूको संयुक्त रुपमा पूर्वान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।
३२. उत्तम राईलाई धारीलो हतियार समेतले कुटपिट गरी मारेको लास प्रकृति मुचूल्का शवपरीक्षण जाहेरी दरखास्त चस्मदित व्यक्तिहरुको लिखत समेतबाट देखिन आएको छ । प्रतिवादी चन्द्र बहादुर लिम्बू, पृथ्वी बहादुर लिम्बू, भीम प्रसाद लिम्बू, दिल प्रसाद लिम्बू समेत उत्तम राईलाई मार्न भनी सल्लाहमा बसी हुल वांधी कुटपिट गरी मारेमा अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा सावित रहेका र सो सावितीलाई लास प्रकृति मुचुल्का र शवपरीक्षण प्रतिवेदनवाट समर्थन भएको प्रतिवादी प्र.जहरमानले मौका वारदातमा उपस्थित भै ठोकठोक भन्दै गरेको जंगबहादुर राईको मौकाको कागज तथा बकपत्रबाट देखिदएको र अन्य चश्मदित व्यक्तिहरुको बकपत्र समेतको कारणबाट जहरमानकी श्रीमती जारी गरी लगेको भन्ने कारणबाट नै उत्तमराईलाई प्रजहरमान समेत भै कुटपिट गरी मारेको देखिएकोले प्र. जहरमान प्र.चन्द्र बहादुर लिम्बू प्र. भीम कुमार लिम्बू प्र.दिल प्रसाद लिम्बू तथा प्र.पृथ्वी बहादुर लिम्बूलाई ज्यान सम्वन्धी महलको १३(३) नं. अनुसार सजायं गरेको शुरु मोरङ जिल्ला अदालतको फैसला मनासिव हुंदा निजहरुको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्र. धनेश्वर लिम्बू समेतले उत्तम राईलाई लखेट्दै रहेको कुरा चश्मदित व्यक्ति प्रेमराजको वकपत्रवाट देखाएको र जाहेरी दरखास्त र बकपत्रबाट पनि निज धनेश्वर वारदातमा रहेको देखिदा निजलाई शुरुबाट सफाइ दिने गरेको इन्साफ मिलेको नदेखिएकोले उल्टी भै निज धनेश्वरलाई समेत प्रहरी प्रतिवेदन दावी अनुसार सजायं हुने ठहर्छ । अरु प्रतिवादीहरुलाई सफाइ दिने गरी भएको शुरुको इन्साफ मनासिव ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पूर्वान्चल क्षेत्रीय अदालतको २०४४।१२।१४ को फैसला ।
३३. मृतक उत्तम राईको मृत्यु कर्तव्यबाट भएको ठहर भएको छ । प्रेमराज लिम्बूले गरेको कागज र बकपत्र तथा रत्नमाया लिम्बूनीको बकपत्रलाई प्रमाणमा नलिई विरुद्ध खण्डमा लेखिएका प्रतिवादीहरुलाई सफाइ दिन नमिल्ने हुंदा प्रहरी प्रतिवेदन दावी अनुसार सजायं गरी पाउं भनी श्री ५ को सरकार तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
३४. अन्य प्रतिवादीहरुको साविती वयान मेरो विरुद्धमा प्रमाणमा लाग्न नसक्ने समेतका कारणबाट सफाइ पाउनु पर्ने भएकोले पु.क्षे.अ. को इन्साफ नमिलेको हुंदा सफाइ पाउं भन्ने समेत व्यहोराको जहरमान लिम्बूले यस अदालतमा गरेको पुनरावेदन पत्र ।
३५. प्रहरीमा भएको साविती वयानलाई अन्य स्वतन्त्र प्रमाणहरु समर्थिन नभएसम्म कसुरदार ठहर गर्न नमिल्ने हुंदा पु.क्षे.अ.को फैसला उल्टी गरी सफाइ पाउं भन्ने समेत व्यहोराको दिल प्रसाद लिम्बू र भीम कुमार लिम्बूको यस अदालतमा परेको पुनरावेदन पत्र ।
३६. प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार दावी प्रमाणीत गर्ने भार वादीमा रहेको र शंका रहित प्रमाण मिसिल सामेल नरहेकोले पूर्वान्चल क्षेत्रीय अदालतको फैसला वदर गरी सफाइ पाउं भन्ने समेत व्यहोराको धनेश्वर लिम्बूले यस अदालतमा दिएको पुनरावेदन पत्र ।
३७. शंकाको आधारमा मलाई कसुरदार ठहर गरेको पूर्वान्चल क्षेत्रीय अदालतको फैसला वदर गरी सफाइ पाउं भन्ने समेत व्यहोराको चन्द्र बहादुर लिम्बूको पुनरावेदन ।
३८. प्रतिवादी जहरमान दिल प्रसाद भीम कुमार पृथ्वी बहादुर धनेश्वर र प्र. चन्द्र बहादुरले प्रहरी प्रतिवेदन दावी अनुसार कसुर गरेको मिसिल प्रमाणबाट देखिन आएकोले निजहरुलाई ज्यान सम्बन्धी महलको १३(३) नं. अनुसार सजायं गर्ने गरी भएको पूर्वान्चल क्षेत्रीय अदालतको फैसला मिलेकै हुंदा निजहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । पु.वे.अ.ले सफाइ दिएको प्रतिवादीहरुका हकमा श्री ५ को सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । तसर्थ पु.क्षे.अ. को फैसलामा कुनै त्रुटी नहुंदा परिवर्तन गर्न परेन इन्साफ मनासीव ठहर्छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४६।३।५ को फैसला ।
३९. जाहेरवालाले नाउं उल्लेख गर्न नसकेको सर्जमिनका मानिसले उपस्थित नदेखाएको समेतका अवस्थाम सजायं गर्न नसकिने अवस्था विद्यमान हुंदा हुदैं ज्यान सम्बन्धिको १३(३) अनुसार सजायं गरेको स.अ. संयुक्त इजलासको फैसला त्रुटीपूर्ण भएकोले दोहूर्याई दिनु भन्ने हु.प्र.बक्स पाउं भनि प्र.दिल प्रसाद र प्र.भीम कुमारले संयुक्त रुपमा न्यायिक समिति मार्फत श्री ५ मा चढाएको निवेदन पत्र ।
४०. प्रहरी प्रतिवेदनलाई आधार लिएर सोही अनुरुपको सजायं गरेको फैसला न्यायको प्रतिकुल हुंदा मुद्दा दोहर्याई दिनु भनी स.अ. का नाउंमा हु.प्र.बब्स पाउं भनी पृथ्वी बहादुर लिम्बूले श्री ५ मा चढाएको बिन्तिपत्र ।
४१. घटना घटेको रात आफू गाउं घरमा नभै अन्यत्र भएको र त्यसको भोलि पल्टै चन्द्रगढी बाटै बाबू विरामी भै ताप्लेजुंग गएको तथ्यलाई मेरा प्रत्येक साक्षीले तथ्यसाथ बकी दिएको कुरालाई प्रमाण नदिई प्रमाणको सही मुल्यांकन नगरी फैसला गर्नु त्रुटीपूर्ण भएकोले मुद्दा दोहयाई हेरिदिनु भन्ने स.अ. का नाउंमा हु.प्र बक्स पाउं भनी जहरमानले श्री ५ समक्ष चढाएको विन्तिपत्र ।
४२. प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को खण्ड (क) को देहाय (२) बमोजिम निजहरुको सावितिको प्रमाणिकता र निजहरुलाई मु.ऐ.ज्यान सम्बन्धि महलको १३(३) नं. बमोजिम कसुरदार ठहराएकोमा दोहर्याई हेरिदिनु पर्ने अवस्था विद्यमान हुंदा निस्सा प्रदान गरिएको छ भनी दिल प्रसाद लिम्बू समेतको हकमा संयुक्त इजलासबाट भएको आदेश ।
४३. दिल प्रसाद समेतको हकमा दोहर्याई हेर्ने निस्सा प्रदान भएको र एकै मिसिलबाट इन्साफ हुने प्रस्तुत एउटै वारदातका प्रतिवादीका हकमा समेत एकै साथ निर्णय हुने हुंदा यसमा पनि निस्सा प्रदान गरिएको छ भनी संयुक्त इजलासवाट पृथ्वी बहादुर लिम्बू तथा जहरमान लिम्बूको निवेदनमा भएको छुट्टै छुट्टै आदेश।
४४. प्र. मध्येको धनेश्वर लिम्बूको हकमा ज्या.सं को १७(३) नं. बमोमिज पूर्ण इजलासवाट २०४८।९।१६ मा फैसला समेत भएको नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी जहरमानको तर्फवाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पंन विद्वान अधिवक्ताद्वय श्री राम कृष्ण विष्ट तथा श्री अग्नी खरेलले जहरमानले चोट छोडेको जिको हातमा हतियार भएको भन्ने कतैबाट देखिदैन । जहरमानको जेठी श्रीमती मर्नेले जारी गरी लगेको भन्ने सम्वन्धित पक्षका कुनै नातेदारको पनि भनाई छैन । जाहेरवाली मन कुमारीको जाहेरी र अदालतमा आइ गरेको बकपत्र वाझिएको छ। (अदालतको बकपत्रको स.ज.१४,९,७,१२,१७) जहरमानको श्रीमती कहिले पोइल गएको हो खुल्दैन । बुझिएकी चन्द्र कुमारीले २०४२।४।२८ मा गरेको कागजको स.ज. १० मा उत्तम राईसंग पोइल गएको छैन भनी र स.ज.११ मा वारदातको सम्बन्धमा केही थाहा छैन भनि उल्लेख गरेको देखिन्छ । सर्जमिनका मानिस कसैले पनि जहरमान उपरको आरोप प्रमाणित हुने गरी बकपत्र गरेको छैन । ०४०।११।२८ मा चन्द्रगढी मा.पो.का. मा वारेसनामा पेश भएको र सो वारेसनामामा जहरमान साक्षी बसेको हुंदा सोही मितिको वारदातमा निजको उपस्थिति हुन सक्ने भएन भनि वहस प्रस्तुत गर्नु भयो । प्रतिवादी दिल प्रसाद र भीम कुमारको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरि कृष्ण कार्कीले वहसको क्रममा जाहेरवालाको जाहेरी दरखास्त र अदालतमा आई गरेको बकपत्रमा समेत दिल प्रसाद भीम कुमारको नाउं उल्लेख छैन । सर्जमिनका व्यक्तिहरुले प्रत्यक्ष रुपमा घटना देखेको छैनन् र यी प्रतिवादीहरुलाई गडाउ गरेको पाइदैंन । यी प्रतिवादीहरु वारदात स्थलमा थिए, थिएनन्। थिए भने कुन हदसम्मको वारदातमा यिनीहरुको संलग्नता थियो निरोपण गर्नु पर्ने हुन्छ । प्रेमराज र रत्नमाया लिम्बूको बकपत्रबाट यी प्रतिवादीहरुको संलग्नता थियो भनि देखाइएको छ। तर यी दुवैले प्रहरीमा मौकामा गरेको कागजमा मेरो पक्षको नाउं उल्लेख गर्न सकेको छैन । वारदात स्थलमा भएकै कारणले दोषी ठहराउन नमिल्ने भनि ने.का.प.२०४३ अंक १ पृष्ठ ४६ नि.नं. २५९९ मा सिद्धान्त समेत प्रतिपादन भएको छ सर्जमिनको व्यहोरा र अदालतको बकपत्र फरक देखिएकोले आधार मान्न नमिल्ने सिद्धान्त प्रतिपादन भएको छ । (ने.का.प.२०४३ अंक ८ पृष्ठ ७३४।पूर्ण इजलास) भनि उल्लेख गर्नु भयो । प्रतिवादी पृथ्वी बहादुरको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बाल कृष्ण न्यौपानेले प्रहरी प्रतिवेदनमा जहरमानले मानिस बटुली मार्ने योजना बनाएको भन्ने दावी हुंदा ज्यान सम्वन्धीको १६ नं. लाग्नेमा १३नं. लगाइएको मिलेको छैन । प्रेमराजले गरेको वयानको स.ज.२३ मा चन्द्र बहादुर विष्णु बहादुरले खुकुरीले नरध्वजले लाठीले हानेको देखेको हो त्यही चोटले मरेको हुनु पर्दछ भनी स.ज. २८ मा मराएको भनेर शंका लागेको भन्ने र स.ज. २९ मा धनेश्वर जहरमान वारदातमा थिए काटे कुटेको देखिन भनी उल्लेख गरेकोबाट बकपत्र आपसमा वाझिएको छ। पृथ्वी बहादुरको प्रहरीको बयान वाहेक कतैवाट निजले अपराध गरेको पुष्टि हुंदैन भनी र विपक्षी वादी श्री ५ को सरकार तर्फवाट उपस्थित विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री देव शरण प्रसादले यातायातको सुविधा भएकोले जहरमानले कसुर गरेर पनि झापासम्म पुग्ने अवस्था हुन्छ । जहरमानको नाउं अभियुक्तहरुले नै किटाण गरेका छन् । सर्जमिन जाहेरी दरखास्त समेतबाट प्रतिवादीहरुले कसुर गरेको देखिदा संयुक्त इजलासको फैसाला नै यथावत सदर होस् भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
४५. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा विद्वान कानून व्यवसायीहरुले गर्नु भएको उपराक्त वहस जिकीर समेत सुनी निवेदक प्रतिवादीहरुलाई मुलुकी ऐन ज्यान सम्बन्धि महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहराएको पूर्वान्चल क्षेत्रीय अदालतको फैसला सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०४६।३।५ को फैसला मिले नमिलेको के रहेछ सो विषयमा निर्णय दिनु पर्नेदेखिन आयो ।
४६. यसमा २०४०।११।२८ गते दिनको ४ बजे पति उत्तम राईको साथ माइत प्रेमराज लिम्बूको घरमा गएकोमा सांझ अन्दाजी ७.३० बजे नासपाते साइला भन्ने लिम्बू ,जहरमान, धनेश्वर, मानमती लिम्बूनी, नरेन्द्र कृष्ण, गजेश्वर चन्द्र लिम्बू, भवानी खरेल, पुष्प लिम्बू, विष्णु बहादुर, जन्तरे लिम्बू, बिजुले लिम्बू र नचिनेका अरु ५।६ जना समेतले कसैले लाठी कसैले खुकुरी लिई मेरो श्रीमती लैजाने यस उत्तमेलाई ठीक नगरी भएन भन्दै जहरमानले बचन दिएपछि नासपाते र जहरमान समेतले समाउदै घोक्राउदै बाहिर निकाली लाठी खुकुरीले हानी पति उत्तमलाई मारेकोले कसुरदारहरुलाई कारवाही गरी पाउं भनी मान कुमारीले दिएको जाहेरीबाट उठान भएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीहरुलाई ज्यान सम्बन्धि महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहराएको पूर्वान्चल क्षेत्रीय अदालतको फैसलालाई सर्वोच्च अदालत संयुक्त इजलासले सदर गरेको देखिन्छ । ज्यान सम्बन्धी महलको १३(३) नं. को व्यवस्था हेर्दा यसैले मारेको वा यसैको चोटले मरेको भन्ने कुरा सो हात हतियार छाड्ने कसै उपर कुनै प्रमाणबाट देखिन ठहर्न नआएमा सवैलाई जन्मकैद गर्नुपर्छ भनी उल्लेख भएको पाइन्छ । प्रस्तुत वारदातमा यि प्रतिवादीहरुवाट सो बमोजिमको कृया भयो भएन भन्ने नै मुख्य रुपमा हेर्नू पर्ने हुन आएको छ । मन कुमारीले दिएको जाहेरी दरखास्तबाट प्रस्तुत वारदातको प्रत्यक्षदर्शिको रुपमा जाहेरवाली मन कुमारी निजको दाजू प्रेमराज भाउजु रत्न माया र एक कुमारी देखिन आउदन् । मन कुमारीले जाहेरीमा यी निवेदक प्रतिवादीहरु मध्ये जहरमानको नाउं मात्र उल्लेख गरेको देखिन्छ भने अदालतमा आई बकपत्र गर्दा जहरमानको नाउं उल्लेख गर्न नसकी पृथ्वी बहादुरको नाउं सम्म उल्लेख गर्दै पहिलो चोट विष्णुले हानेका अन्तिम अवस्थामा पतिलाइ देख्न पाइन त्यसैले अन्तिम चोट कसले हाने भन्न सक्दिन, नचिनेका २०।२५ जना समेत थिए । विष्णु संग खुकुरी, पुष्पसंग चुप्पी जस्तो लामो हतियार,नास्पाते साइलासंग बांसको डण्डा थियो भनी उल्लेख गरेको देखिन्छ । प्रत्यक्षदर्शि भनिएकी जोहरवालीको भाउजु रत्न मायाले मौकामा कागज गर्दा ०४०।११।२८ गते बेलुकी ७.३० वजे नासपाते र जाहरमान घरभित्र पसी उतम भन्ने यही होइन भनी नासपातेले लठिृले हान्न लाग्दा श्रीमानले समाती बाहिर पठाई दिनु भयो । आंगनकमा लाठी खुकुरी लिएका मानिसहरु धेरै रहेछन् कृष्णेको हातमा लाठी,गजेश्वरको हातमा लाठी,,चन्द्र कुमारको हातमा लाठी विष्णु पुष्पेको हातमा खुकुरी लिएको देखी चिने भनेको देखिन्छ । निजले अदालतमा आई गरेको बकपत्रमा यी प्रतिवादीहरुले कुटपीट गरेको वा यिनीहरुको हातमा कुनै हतियार भएकोकुरा उल्लेख गरेको देखिदैन । अर्का प्रत्यक्षदर्शि तथा घाइते प्रेमराजले प्रहरीमा कागज गर्दा मृतक उतम समेत मेरो घरमा गफ गर्दै बसेका वखत नास्पाते साइलो एक्कासी घर भित्र पसी उतमे यही होइन भनी पाखुरामा समाती चिरपटले हिर्काउन लाग्यो । निजहरुलाइ बाहिर निकाली दिए जहरमान, धनेश्वर,कृष्ण,गजेश्वर,विजुले,पुष्प,विष्णु,जस्तरे समेतका हातमा खुकुरी थियो । मानमती,नरेन्द्र चन्द्र कुमार,भवानी खरेल समेत अंदाजी १०० जनाको जमात थियो भनी उल्लेख गरेको देखिन्छ भने निजले अदालतमा आई गरेको बकपत्रमा चन्द्र वहादुर विष्णु वहादुरले खुकुरी नरध्वजले लाठी बोकेको उल्लेख गर्दै निवेदक प्रतिवादीहरुलेकाटेको देखिन भनी उल्लेख गरेको पाइन्छ । सर्जमिनका अधिकांश व्यक्तिहरुले घटना प्रत्यक्षरुपमा आफूले नदेखिएको जहरमानको श्रीमती उतमले लगेको रिषइविले मारेको हुनुपर्छ भनि शंका सम्म देखाएको र अदालतमा आइ बकपत्र गर्दा समेत यी प्रतिवादीहरुले हिर्काएको वा यिनीहरुको हातमा हतियार समेत भएको भन्ने उल्लेख गरेको देखिदैन । जाहेरीको व्यहोरावाट प्रेमराजको घरवाट मृतक उतमलाई घिसार्दै लगी अधिकारीको घर आगनमा काटी कुटी मारेको भन्ने देखिएको र निज अधिकारीको श्रीमती एक कुमारीले मौकामा प्रहरी समक्षमा मेरो घर आंगनमा धेरै मानिस आए मृतकको श्रीमती,जेठान र जेठानको श्रीमतीले छेक्दै मारपिट नगर्नुहोस भन्दै थिए जहरमान जार काट्न पाइन्छ भन्दै थिए बम वहादुर र खावाली माइला भन्नेले रोक्दै थिए मर्नेको श्रीमती र प्रेम राजलाइ कट्नलाग्दा उतम भागे सबै त्यतै पटिृ लखेट्दै गए भनि बयान गरेको र अदलतमा बकपत्र गर्दा म घरमै थिए । उतम राईलाई उभो पटृीबाट खेदार्दै ल्याए मानिसहरु चिनिन् भनी उल्लेख गरेको देखिन्छ। जहरमानको श्रीमती मृतक उत्तमले जारी गरी लगेको भन्ने रिसइविबाट यी प्रतिवादीहरु समेतले उत्तमलाई मारेको जाहेरी व्यहोरा भएकोमा जारी गरिए भनिएको जहरमानकी जेठी श्रीमती चन्द्र कुमारीले नै मलाई जारी लगेको होइन भनि बकपत्र गरिदिएको देखिन्छ । निजलाइ जारी गरिएको भन्ने मिसिल संम्लग्न स्वतन्त्र प्रमाणवाट पुष्टि भएको समेत देखिदैन । प्रतिवादीहरुले अदालतमा आरोपित कसुर स्वीकार गरेको देखिदैन । प्रहरी समक्ष कसुर स्वीकार गरेको समर्थित हुने ठोस एवंभरपर्दो सवुद मिसिल संलग्न रहे भएको पाइदैंन । जहरमान वारदातको समय आफू झापा चन्द्रगढीमा गएको भद्रमायाले धन बहादुरलाई गरिदिएको वारेसनामामा साक्षी बसेको र उक्त वारेसनामा मा.पो.का.चन्द्रगढीमा पेश छ भनी अन्यत्र रहेको जिकिर लिएको हकमा सो वारेसनामा घर सारमा तयार हुने प्रकृतिको भएको र घरमा नै सहिछाप गरी पठाउन पनि मिल्ने नै हुंदा वारेसनामा साक्षी बसेकै आधारमा अन्यत्र भएको पुष्टि हुने देखिएन ।
४७. अतः जाहेरवालीको जाहेरीबाट जहरमान निजको बकपत्रबाट पृथ्वी बहादुर पृथ्वी बहादुरको कागजबाट जहरमान भीम कुमारी दिल प्रसादको कागजबाट पृथ्वी बहादुर पृथ्वी बहादुरको कागजबाट जहरमान भीम कुमार दिल प्रसादको कागजबाट पृथ्वी बहादुर,जगरमान,भीम कुमार घटनाको प्रत्यक्षदर्शी जाहेरवालीको भाउजु रत्न मायाले अदालतमा आई गरेको बकपत्रबाट दिल प्रसाद समेत वारदातमा संलग्नसम्म रहेको देखिन आउंछ । तर यिनीहरु मध्ये कसैले पनि मृतक उत्तम राईलाई मार्न मुख्य भै बचन दिएको हातहतियार प्रयोग गरेको वा मृतकको शरीरमा समात्ने काम गरेको भन्ने कतैवाट पुष्टि हुन आएको नदेखिदा ज्यान सम्बन्धी महलको १३(३) नं. यी प्रतिवादीहरुका सम्बन्धमा आकर्षित हुने देखिएन । निवेदक प्रतिवादीहरुको साथमा कुनै हातहतियार रहेको पनि नदेखिएको र मृतकलाई मार्न कुनै किसिमवाट संयोग पारी दिएको समेत देखिन नआएको ज्यान सम्बन्धी महलको १७(३) नं. को कसुरसम्म गरेको देखिन आएकोले निजहरुलाई जनही तीन वर्षका दरले कैद सजायं हुने ठहर्छ । ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने ठहराएको पूर्वान्चल क्षेत्रीय अदालतको फैसला सदर गरेको सर्वोच्च अदलत संयुक्त इजलासको मिति २०४६।३।५ को फैसला मिलेको नदेखिदा सो हदसम्म उल्टी हुन्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
निवेदक प्रतिवादीहरु दील प्रसाद लिम्बू, भीम कुमार लिम्बू ,जहरमान लिम्बू तथा पृथ्वी बहादुर लिम्बूको माथि इन्साफ खण्डमा लेखिए बमोजिम ज्यान सम्बन्धी महलको १७(३) नं. अनुसार जनही कैद पर्ष तीन हुने ठहरेकाले निजहरुका हकमा सोही अनुसारको लगत राख्न शुरु जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु ।
निवेदक प्रतिवादीहरु दील प्रसाद लिम्बू, भीम कुमार लिम्बू, जहरमान लिम्बू तथा पृथ्वी बहादुर लिम्बूको माथि इन्साफ खण्डमा लेखिए बमोजिम ज्यान सम्बन्धी महलमा १७(३) नं. बमोजिम जनही कैद वर्ष तीन हुने ठहरेको र निजहरुलाई लागेको कैद भुक्तान भै सकेको देखिंदा अन्य मुद्दाबाट थुनामा राख्न नपर्ने भए थुनावाट छाडिदिनु भनी सम्बन्धित कारागार शाखामा लेखि पठाई दिनु ।
यो फैसलाको एक प्रति प्रतिलिपी श्री महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या.मोहन प्रसाद शर्मा
न्या.लक्ष्मण प्रसाद अर्याल
न्या.कृष्णजंग रायमाझी
न्या.नरेन्द्र बहादुर न्यौपाने
इति संवत् २०५१ साल कार्तिक २४ गते रोज ५ शुभम् ........।