शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५००५ - कर्तव्य ज्यान ।

भाग: ३६ साल: २०५१ महिना: फागुन अंक: ११

निर्णय नं. ५००५ ने.का.प. २०५१  अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायधीश श्री त्रिलोक प्रताप राणा

माननीय न्यायधीश श्री हरि प्रसाद शर्मा

सम्बत् २०४९ सालको फौ.पु.नं. ५१७

फैसला मिति २०५१।१०।२०।६

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक प्रतिवादीः जि.नवलपरासी त्रिवेणी सुस्ता गा.वि.स. वार्ड नं. ३ घर भै ऐ. दाउन्नेवेवी गा.वि.स. वार्ड नं. ६ मा दुकान गर्ने हाल पाल्पा जेलमा थुनामा रहेकी सुर्य कुमारी खड्का ।

विरुद्ध

प्रत्यर्थी वादीः बिरेन्द्र कुमारी खड्काको जाहेरीले वादी श्री ५ को सरकार ।

 

सम्बत् २०५० सालको साधक १२१

वादीः बिरेन्द्र कुमारी खड्काको जाहेरीले श्री ५ को सरकार ।

बिरुद्ध

प्रतिवादीः नवलपरासी जि.दामुन्ने देवी गा.वि.स. वार्ड नं. ६ बस्ने धनकुमारी क्षेत्रीनी ।

 

§  एउटा खाटमा आफ्नो लोग्नेसंग साथै सुतेकी यस्तो अवस्थामा लोग्नेलाई तेत्रोघाउ चोट लागेको र सोही घर कोठामा कर्तव्य गरि मारेको र झुण्ड्याएको कुरा थाहा भएन भन्ने निज प्रतिवादी सुर्य कुमारीको अदालतको भनाइ प्रतितलायत एवं मिल्दो देखिदैन र प्रतिवादी सुर्य कुमारी यस घटना प्रति अनभिज्ञ छ भन्ने स्थिति समेत रहन्न । निजको अदालतको इन्कारी सांचो भन्न नमिल्ने ।        

(प्र.नं. २१)

§  वारदात हुंदाका वखत अन्य ठाउंमा गएको थिए भनी बयान गर्नेले सो प्रमाणित गर्ने भार निज कै हो ।   

      (प्र.न.२२)

निवेदक तर्फवाट : विद्वान वैतनिक अधिवक्ता श्री राम राज भटृराई ।

वादी तर्फवाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री रामजी प्रसाद त्रिपाठी ।

अबलम्वित नजीरः

 

फैसला

न्या.त्रिलोक प्रताप राणाः पुनरावेदन अदलत वुटवलको मिति २०४९।२।१९ को फैसला उपर यस अदालतमा पुनरावेदन परेको मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यस प्रकार छ :

२.    मेरो ज्वाई वर्ष २७ का नारायण बहादुर खड्का झुण्डि मरेको खवर मिति ०४४।१।१५ गते विहान ६ वजे थाहा पाई हेर्दा झुण्डि मरेको अवस्थामा देखि मृतक लाश कुरुवा राखी जाहेर गर्न आएको छु । कानून वमोजिम गरि पाउं भन्ने दल वहादुर क्षेत्रीले जिल्ला प्रहरी कार्यालय नवलपरासीमा मिति २०४४।१।१५ गते दिएको जाहेरी दरखास्त ।

३.    जि.न.प. दाउन्नेवेवी गा.वि.स.वार्ड नं. ६ मा त्रिवेणि तर्फ जाने मुलवाटो देखि पुर्व वेदलासिंह सारुको जग्गा देखि पश्चिम टहरावाटो देखि दक्षिण लाल बहादुर गुरुंगको घर देखि उत्तर यती चार किल्ला भित्र जग्गामा वनेको पश्चिम मोहडा भएको कच्चीघर उक्त घरको वीच भागमा डाटाको वार लगाई विचमा २।। हाल खाली २।। हात लम्वाई १० चौडाई भएको माटोको गारो लगाएको सो गारो देखि ६ फरकमा उक्त घरमा दुरी वलीमा पटुवाको डोरी (रसी) वांधी नारायण बहादुर खड्का झुण्डि मरेको मृतक अवस्थाको लाश देखिएको उक्त लाश निकाली कपडा खोली हेर्दा लिंगवाट केही ननिस्केको दाहिने अण्डकोष (सुन्नी) लछारीई सुनिएको र रातो कालो डाम देखिएको वायां अण्डकोषको छाला फूटी रगत निस्कीई सो रगत वायां खुटृाको तिघ्रा समेता चुहिएको उक्त अण्डकोष सुचिएर रातो डाम देखिएको गुद्वारवाट केही ननिस्केको भन्ने समेत व्यहोराको मिति २०४४।१।१५ मा भएको घटना तथा लाशको प्रकृति मुचुल्का ।

४.    नारायण बहादुर खड्कालाई कर्तव्य गरि मारी झुड्याएको हो भन्ने त्रिचन्द्र अस्पताल परासीवाट प्राप्त मिति २०४४।१।१६ को लाश जांच प्रतिवेदन ।

५.    मिति ०४४।१।१४ गते छोरा नारायण बहादुर क्षेत्री मेरो घरमा गई आफ्नी वहिनी मिना कुमारीसंग भेट भई आज विहान ससुरा र श्रीमती झगडा भयो भनेको घटना हुनु भन्दा १।२ दिन अघि छोरा वाहिर गएको अवस्थामा वुहारीसंग एकजना मानिस आई सुतेको अवस्था छोराले फेला पारेको भन्ने गाउंमा चर्चा चलेको वुहारी धेरै जसो माइत मै वस्न मन गर्ने र चाल चलन पनि राम्रो नभएको कारणवाट वुहारीसंग कुनै  अपरिचित मानिस आई वसको छोराले फेला पारेकोमा श्रीमती संग वाद विवाद गर्दा दल बहादुर समेतसंग झगडा भई हातपात हुंदा वुहारी सुर्य कुमारी र दल बहादुर समेतले कुटपीट गर्दा छोराको मृत्यु भएको मृत्यु भएपछि अपराध छिपाउने उद्देश्यले लाश झुण्ड्याएको विश्वास लागेकोले कानून वमोजिम गरि पाउं भन्ने विन्द्र कुमारी खड्काले हुलाकद्वारा दिएको मिति २०४४।२।२४ को जाहेरी दरखास्त तथा निजले मिति २०४४।२।१८ मा गरि दिएको सनाखत कागज ।

      ६.    सुरक्षगार्ड वम बहादुर थापा विरामी परी डिउटी गर्न नसकेकोले सांझको ४ वजे देखि ६ वजे सुरक्षागार्ड दल बहादुर क्षेत्रीले आफ्नो डिउटी ४ वजे सम्म पालो वसी ६ देखि ८ वजेसम्म बम बहादुर थापाको डिउटी समेत लगातार वसकेो साथै उक्त रातमा निज दल बहादुर क्षेत्रीको वैंक गार्ड नछोडेको भन्ने रा.वा.वैंक वेलाटारी शाखाको गार्डको पालो कितावको प्रतिलिपी र रा.वा. वैंक वेलाटारी शाखाको पत्र ।

७.    मेरो पति नारायण बहादुर खड्का मिति ०४४।१।१४ गते विहान त्रिवेणि घरमा गएर आउछु खेतको मालपोत तिर्नु छ कागज पनि लिएर अउंछु भनि गई दिनको ४ वजेतिर माछा समेत लिएर आई माछा अहिले नै पकाउ भनि भन्दा राखे पछि पकाउंछु भनि मैले भन्दा मसंग रिसाई मैले भनेको कुरा नमान्ने घरमा अर्को लोग्ने मानिस ल्याई सुताउने नाठो खेलाउने तं मेरो घरमा नवस निस्केर जा तेरो यहां ठाउं छैन भनि मैले ,मलाई अनावस्यक लान्छाना लगाई गालि गर्दा मलाई रिसउठी पख तलाई ठीक गर्छु भनि मनमा सोची राखेको थिएं केही छिन पछि सांझको ७।८ वजेतिर मेरो पति नारायण बहादुर खड्का विस्तारामा सुत्नु भयो । मलाई रिसउठी राखेको थियो पख तंलाई नमारी छोडदिन भनि म नसुती वसी राखेका थिएं केही छिनपछि पती रक्सीको सुरमा मस्त निन्द्रामा भएको देखि निदाई रहेको लोग्ने नारायण बहादुर खड्काको अण्डकोष (सन्नी) दुवै हातले वेसरी समाती तानेपछि छटपटाउन थाले तर पनि मैले अण्डकोष (सन्नी) तानी राखे त्यसपछि वेहोस भए, लाताले पेट छाती समेतमा हिर्काएर पछि अव म फस्ने भए, के गर्ने भनि सोची मेरो घरदेखि अं. १०० १५० मिटर फरक दक्षिणमा भएको मेरो माइती घरमा गएं वुवा दल बहादुर क्षेत्री रा.वा वैंक वेलाटारीको डिउटीमा जानु भएको रहेछ । आमा धनकुमारी क्षेत्री मात्र घरमा रहीछन् लोग्ने नारायणले मलाई जहिले पनि अनावश्यक लान्छना लगाई गाली गर्ने हुंदा रिसले खप्न नसकी अण्डकोष समाती तान्दा वेहोस भएका छन् म अव फस्ने भए के गर्ने भनि आमासंग भन्दा घाटीमा पासो लगाई झुण्ड्याई दिनु पयो त्यसपछि आफैं झुण्डिएर मरेको हुन भनि भनौला भन्ने सल्लाह अनुसार हामी आमा छोरी दुवै भई हाल वरामत भएका रसी निज पतीको घाटीमा पासो लगाई झुण्डाएका हौं भोलीपल्ट अर्थात ०४४।१।१५ गते विहान वुवा दल बहादुर रा.वा वैंक वेलटारिवाट डिउटी छुटी खाना खान घरमा आएपछि उल्लेखित संपूर्ण कुरा वताए त्यसपछि वुवा दल बहादुर क्षेत्री जिल्ला प्रहरी कार्यालय नवलपरासीमा आई मेरो ज्वाई नारायण वहादुर खड्रका झुण्डि मरेभनि जाहेरी दिएका हुन भन्ने समेत व्यहोराको मृतक नारायण वहादुरकी श्रीमती प्रतिवादी सुर्य कुमारी खड्काको जिल्ला प्रहरी कार्यालय नवलपरासीमा भएको मिति २०४४।६।२ को वयान कागज ।

८.    ज्वाई नारायण बहादुर खड्का झुण्डि मृत्यु भएको भन्ने खवर ०४४।१।१५ गते विहान रा.वा.वैंक वेलाटारी शाखामा थाहा पाई हेर्न आउंदा झुण्डिएको मृतक लाश देखि जाहेर गर्न आएको हुं। लाशको प्रकृति हेर्दा कर्तव्यमा शंका लाग्यो तर को कसले के कसरी कर्तव्य गरि मारी झुण्ड्याएका हुन मलाई थाहा छैन । म वेलाटारी वैंकको सुरक्षा गार्डको डिउटीमा रहेको हुंदा नारायण बहादुर खड्कालाई मार्न र अपराध थाहा पाई छिपाउने दवाउने समेत गरेको होइन म निर्दोष छु भन्ने समेत व्यहोराको प्रतिवादी दल बहादुर क्षेत्रीको जिल्ला प्रहरी कार्यालय नवलपरासीमा भएको मिति २०४४।६।५ को वयान कागज ।

९.    मिति ०४४।१।१५ गते विहान सुर्य खड्काले हल्ला गरि चिच्याएको थाहा पाई हर्न जांदा लाश प्रकृति मुचुल्कामा लेखिए अनुसारको मृतक लाश देखेको हुं प्रकृती अनुसार नारायण बहादुर खड्का कर्तव्यवाट नै मरेको लाग्यो को कसले कर्तव्य गरि मारी झुण्ड्याए मौमामा नदेखेको हुंदा खुलाउन लेखाउन सक्तिन भन्ने सर्जमिनको दफा १,,,,,,,१३,१४ मा लेखाई वकाई भएको छ भने मिति ०४४।१।१५ गते नारायण बहादुर खड्का र निजकी श्रीमती सुर्य कुमारी खड्काको घरमा साथै संगै वस्ने सुत्ने र वारदातको दिन रातमा पनि साथै रहेका हुंदा सुर्य कुमारी खड्काको कर्तव्यवाट नै नरायण बहादुर खड्काको मृत्यु भएको विश्वास लाग्छ भन्ने दफा ७,,१०,११,१२,र १५ समेतमा लेखाई वकाई भएको मिति २०४४।६।६ को सर्जमिन मुचुल्का ।

१०.    वुझीएका सवुद प्रमाणवाट मर्ने नारायण बहादुर खड्कालाई सुर्य कुमारीले अण्डकोष सन्नी समाती तानी कुटपिट गरि वेहोस पारेपछि निज सुर्य कुमारी र निजकै आमा धन कुमारी क्षेत्री समेत भई निज नारायण बहादुर खड्कालाई कतव्य गरि झुण्ड्याएर मारेको सिद्ध हुन आएकोले प्रतिवादी सुर्य कुमारी खड्का र धन कुमारी क्षेत्री समेत दुवै जनाले ज्यान सम्वन्धीको १ नं. को कसुर अपराध गरेका हुनाले निजहरुलाई ए. का १३(३) वमोजिम सजाय गरि पाउं । दल बहादुर उपर मुद्दा चलाउन सवुद प्रमाण नपुग्ने हुनाले हाजिर जमानीमा छाडिएको छ भन्ने समेत व्यहोराको नवलपरासी जिल्ला अदालमा प्रस्तुत प्रहरी प्रतिवेदन अभियोग माग दावी ।

११.    ०४४ साल वैशाख १४ गते जग्गाको तिरो वुझाउन परेको छ घरमा गएर लालपूर्जा पनि ल्याउछु । छोरीको भात खुवाइको लागि कपडा पनि ल्याउछु भनि वावाको साइकिल लिई त्रिवेणि घर गई त्यहांवाट भारत भैसालोटनवाट सामान लिई रक्सी खाई दिनको २ वजे घरमा आउनू भएको र गफ इत्यादि हुदा हुदै सांझ परि खाना खायौं । राती मैले भांडा माझि एउटै खाटको विचमा छोरी सुताई वल्तीर पल्लतीर म र मेरो पति सुतेका हौं । विहान ४ वजे उठी वत्ति वाली हेर्दा लोग्ने उभिए जस्तो लागी किन उभिनु भएको भनि भने नवोल्नु भएको र हेर्दा त्यस्तो अवस्थामा देखि रुन कराउन लागि भुइमा पल्टीए सो आवाज सुनी वरपरका गाउंले आएका हुन मृतक पती त्रिवेणि तर्फवाट आउंदा रक्सी खाई आउनु भएको रक्सी खांदा कुनै  संग झगडा भई पीछा गर्दै आइ घरवाट निकाली मारी झुण्ड्याए जस्तो लाग्छ । लोग्ने मृत्यु कर्तव्यवाट भएको हो । को कसले कर्तव्यवाट मृत्यु हुन गएको हो मलाई थाहा छैन । मैले मृतकलाई मारे मराएको नहुंदा मेरो उपरको झुठ्ठा अभियोगवाट फुर्सत पाउं भन्ने प्र.सुर्य कुमारी खड्काले मिति २०४४।६।११ मा नवलपरासी जिल्ला अदालतमा गरेको वयान ।

१२.   मिति ०४४ साल वैशाख १ गते म घरवाट भारत रौहाटी भन्ने ठाउंमा मामा भएको हुनाले त्यहां गएको हुं । त्यस कारण २०४४।१।१४ गते सोही ठाउमै थिएं । सुर्य कुमारी मेरी छोरी र मृतक नारायण बहादुर मेरा ज्वाई हुन । म घरमा विजया दशमीको अघिल्लो दिन नवमीको दिनमा मात्र आएकी हुं । नारायण बहादुरको मृत्यु हुंदा म घरमा नहुंदा मैले निजलाई मारे मराएकी होइन भन्ने समेत व्यहोराको प्रतिवादी धन कुमारी क्षेत्रीले मिति २०४४।९।६ मा नवलपरासी जिल्ला अदालतमा गरेको वयान ।

१३.   आदेश अनुसार सर्जमिनका व्यक्ति सुकदेव ढुंगाना विष्णु प्रसाद अधिकारी खडानन्द सुवेदी भगवान सिंह क्षेत्री भक्त बहादुर क्षेत्री तिलक प्रसाद पराजुली दल बहादुर क्षेत्री जाहेरवाली विन्द्रकुमारी खड्का सर्जमिनका लाल बहादुर गुरुङ र प्रतिवादीको साक्षी दल बहादुर गुरुङ, भक्त बहादुर गुरुङ, जस बहादुर मगर, हरिलाल गुरुङ सर्जमिनका भक्त बहादुर गुरुङ लाश प्रकृति मुचुल्काका मानिस जस बहादुर राना वेद निधि न्यौपाने टोप वहादुर गुरुङ, खडानन्द सुवेदीको वकपत्र भई मिसिल संलग्न रहेको ।

१४.   प्रस्तुत सन्दर्भमा परिस्थिती जन्य प्रमाणको प्रचुरतावाट ज्यान मार्नु पर्ने सम्मको कारण नाठो खेलाउने भन्ने समेत र्मतकले भनि प्रतिवादी सुर्य कुमारीलाई गाली गरको भन्ने देखिन्छ। यस स्थितिमा उक्त कारणको विद्यमानता रहेको मृतक र प्रतिवादी सुर्य कुमारी लोग्ने स्वास्नी संगै सुतेको मृतकको शरिरमा विभिन्न चोट पटक देखिएको र चिकित्सकको मृत्युको कारणमा कर्तव्यवाट झुण्ड्याइएको भन्ने समेतको पुष्ट्याई थप भएको प्र. सुर्य कुमारीको प्रहरी समक्ष भएका वयानलाई मौजुदा प्रमाणहरुले प्रशस्त रुपमा पुष्ट्याई गरेको देखिन्छ । कर्तव्य गरि निजको लोग्ने नारायण बहादुरलाई प्रतिवादी सुर्य कुमारीले मारेको होइन भन्न मिल्दैन । प्रतिवादी धन कुमारीले कसुरमा इनकार रही अदालतमा वयान गरेता पनि प्र.सुर्य कुमारीको प्रहरी समक्ष भएको वयानमा निजले मृतकको अण्डकोष समाती वेहोस पारी कुटपिट गरे पश्चात निजले आमा प्र.धन कुमारीलाई भनेपछि फसिने डरले दुवै आमा छोरी मिली झुण्ड्याई कर्तव्य गरि ज्यान मारेको हो भन्ने समेत अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेकोमा प्र. धन कुमारी कसुरमा इन्कार गरेता पनि सो इन्कार समर्थन हुने कुनै  ठोस प्रमाण देखिदैन । प्र.सुर्य कुमारीको पोल र मृतकलाई झुण्ड्याइएको र सो कर्तव्यवाट झुण्ड्याइ मृत्यु भएको भन्ने चिकित्सकको मृत्युको कारणमा उल्लेखित आधारवाट समेत अन्यथा मान्न मिल्दैन। प्र.धन कुमारीको इन्कारी वयानमा अन्य स्वतन्त्र प्रमाणले टेवा दिएको देखिदैन । लोग्ने मानिसलाई एउटी आईमाइको शारिरिक वलले मात्र मारी झुण्ड्याउन सक्ने अवस्था नभई प्र.सुर्य कुमारीले आफ्नी आमालाई भएको सवै व्यहोरा वताई छोरी र प्र.धन कुमारी समेत उक्त अपराधवाट वच्न मारी झुण्ड्इाएको भन्ने देखिन आउंछ । प्र.सुर्य कुमारीले स्वभाविक रुपले अपराध पश्चात गुहार गरि प्रतिवादी निजको आमा पहिलो व्यक्ति धन कुमारीलाई वोलाई दुवै भै मृतक नारायण बहादुरलाई झुण्ड्याइ वादी दावी वमोजिम कर्तव्य गरि ज्यान मारेका प्रमाणित भएको प्र.धन कुमारी र प्र. सुर्य कुमारी खड्काले मृतक नारायण बहादुर खड्कालाई कर्तव्य गरि ज्यान मारेको ठहर्छ। प्र.सुर्य कुमारी र प्र. धन कुमारीलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) वमोमिज सर्वश्व सहित जन्म कैद हुने ठहर्‍याई प्रस्तुत मुद्दा अ. १८६ नं. वमोकिज जाहेरी फैसला गरि दिएं भन्ने ०४६।७।२ को नवलपरासी जिल्ला अदालतको जाहेरी फैसला ।

१५.   मेरो साक्षीहरुले मलाई सफाई दिइ वकपत्र गरेका छन् भने नारायण बहादुरकी आमा विन्द्र कुमारीले मेरो खिलाफ शंकाको व्यहोराको जाहेरी दरखास्त दिएको ०४४।१।१४ को रातीको घटनालाई करिव १ महिना पछि कर्तव्य गरि मारी झुण्ड्याएको पत्तो लागेको र मेरा पनि शंका लाग्छ भनी म समेतको विरुद्ध जाहेरी दरखास्त दिएको छोरा मरेको रिसमा विन्द्र कुमारीले पत्ता लागेका भन्ने शंकाको जाहेरी दरखास्त दिएको छोरा मरेको रिसमा विन्द्र कुमारीले पत्ता लागेको भन्ने शंकाको जाहेरी दिएको ठोस सवुद प्रमाण छैन । सोही जाहेरी दरखास्त तथा प्रहरीको मेरो साविती वयानको आधारमा मात्र लोग्नेलाई नै मारेको जघन्य अपराधमा मलाई शुरु जि.अ.वाट सजाय गर्ने गरि ठहराएको फैसला न्यायसंगत छैन । शुरुको फैसला उल्ट्याई मेरो माथिको आरोपित कसुरवाट सफाई पाउं भन्ने प्रतिवादी सुर्य कुमारी खड्काले तत्कालिन लुम्विनी अंचल अदालतमा मिति २०४६।८।२९ मा दिएको पुनरावेदन पत्र ।

१६.    प्र. मध्येकी धन कुमारीको हकमा साधकको तहवाट विचार गर्दा कर्तव्यवाला ठहयाई सजाय गरे तर्फ शुरु जि.अ.को फैसला विचारणीय हुदा अ.वं.२०२ नं. वमोजिम अंचल सरकारी वकिललाई झिकाई नियम वमोजिम पेश गर्नु भन्ने तत्कालिन लु.अ. अदालतको आदेश ।

१७.   प्र.धन कुमारीको हकमा साधकमा दर्ता गरि नियमानुसार पेश गर्नु भनने पु.वे.अ. वुटवलको आदेश ।

१८.   नवलपरासी जिल्ला अदालतले पुनरावेदक प्रतिवादी सुर्य कुमारी खड्का र प्रतिवादी धन कुमारी क्षेत्रीलाई मुलुकी एने ज्यान सम्वन्धी महलको १३(३) नं. वमोमिज सर्वश्व सहित जन्मकैद हुने ठहर्‍याएको इन्साफ मिलेकै देखिदा मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादी सुर्य कुमारीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रतिवादी मध्येको धन कुमारीको हका पुनरावेदन नपरेको भै साधकवाट हेर्दा शुरुको इन्साफ सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी सुर्य कुमारी खड्का क्षेत्रिनी के यो इन्साफमा चित्त नवुझी ७० दिन भित्र श्री सर्वोच अदालतमा पुनरावेदन गर्नु भनी पुनरावेदनको म्याद दिनु र साधक सदरको जागि मिसिल श्री सर्वोच अदालतमा पठाउनु भन्ने समेत व्यहोरोका पुनरावेदन अदालत वुटवलको मिति २०४९।२।१९ को फैसला ।

१९.    यसमा ज्यान सम्वन्धीको १३(३) नं.ले दुवै प्रतिवादीलाई सर्वोश्व सहकत जन्म कैद हुने कानूनी व्यवस्था भएको नदेखिंदा अ.वं. २०२ नं. वमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई पेश गर्नु भन्ने यस अदालतको मिति २०५१।४।१० को आदेश ।

२०.   नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलाश समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री रामराज भटृराईले मेरो पक्ष प्र. सुर्य कुमारी र दल वहादुर मिलेर कर्तव्य गरि मारी झुण्याएको हुन भनि उल्लेख गरि २०४४।२।४ गते मृतक नारायण बहादुर क्षेत्रीको आमा विन्द्र कुमारीले जाहेरी दर्खास्त दिएको पाइन्छ । तर दल बहादुर राष्ट्र्यि वाणिज्य वैंक वेलटारी शाखामा कार्यरत रहेको कुरा उक्त वैकको हाजिरी किताववाट देखिदा मेरो पक्ष एक्लैले आफ्नो लोग्नेलाई मारी एक्लै झुण्ड्याउन सक्ने परिस्थिति र कुनै  कारण पनि देखिदैन । दल बहादुर मौका मै मिति २०४४।१।१५ मा जाहेरी दर्खास्त दिई सकेपछि विन्द्र कुमारीको पुनः जाहेरी दरखास्त लिएर मेरो पक्षलाई सो दरखास्तमा शंकास्पद अधियोग लगाईएको छ । चस्मदित गवाहको अभाव रहेको यस्तो परिस्थितिमा लगाइएको अधियोगवाट मेरो पक्षले सफाई पाउनु पर्दछ । भन्ने वहस जिकिर प्रस्तुत गर्नु भयो । वादी श्री ५ को सरकारको तर्फवाट वरिष्ठ सरकारी अधिवक्ता श्री रामजी प्रसाद त्रिपाठीले प्रतिवादी सुर्य कुमारी कसुर गरेकोमा सावित हुंदा सुति रहेको लोग्नेको अण्डकोष दुवै हातले वेसरस् समाति तानी लोग्ने वेहास भएपछि मैले जथाभावी हानेको हो । सो कुरा आमा प्रतिवादी धन कुमारी संग भन्दा आमा छोरीको सल्लाह भै पटुवाको रस्सीले वांधी नारायण बहादुरलाई दुवै मिलि झुण्ड्याएका हौं भन्ने कुरा प्रहरीमा सावित भएको । अदालतमा आई प्रतिवादी सुर्य कुमारीले वयान गर्दा आफू लोग्नेसगैं सुतेको भए पनि लोग्नेलाई मारी झुण्ड्याएको कुरा थाहा नपाएको भनि वयान गरेको । निज सुर्य कुमारीले लोग्नेको मृत्यु कर्तव्यवाट भएको कुरा स्विकार गर्दै कुनै  मानिस लोग्नेको पिछा गर्दै आई घरवाट निकाली मारी आफैं मरेको भनी भान पार्न झुण्ड्याई दिए जस्तो लाग्दछ भनी वयान गरेकोले प्रतिवादी सुर्य कुमारीको वयानवाट नै प्रतिवादीहरु कै कर्तव्यवाट नारायण बहादुरको ज्यान मर्न गएको हो भन्ने कुरा स्पष्ट देखिन्छ । लाश जांच प्रतिवेदन वाट समेत नारायण बहादुरलाई मारी झुण्ड्याएको कुरा स्पष्ट भएकोले निज प्रतिवादीहरुलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्म कैद हुने ठहराएको पुनरावेदन अदालत वुटवलको फैसला मनासिव हुंदा सदर हुनु पर्दछ भन्ने वहस प्रस्तुत गर्नु भयो ।

२१.   पुनरावेदक प्रतिवादी र वादी श्री ५ को सरकार तर्फवाट उपस्थित रहनु भएका विद्वान अधिवक्ताहरुको वहस जिकिर सुनी इजलास समक्ष प्रस्तुत हुन आएको मिसिलहरु अध्ययन गरि प्रतिवादीहरु सुर्य कुमारी खड्का र धन कुमारी क्षेत्रीलाई सर्वश्व सहित जन्म कैद हुने ठहराएको नवलपरासी जिल्ला अदालतको फैसलालाई सदर हुने ठहराएको पुनरावेदन अदालत वुटवलको इन्साफ मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने हुन आयो । यसमा वुझिएका सवुद प्रमाणवाट प्रतिवादी सुर्य कुमारी आफ्नो लोग्ने नारायण बहादुर खड्काको अण्डकोष(सन्नी) समाति तानी कुटपिट गरि वेहोस पारे पछि निज सुर्य कुमारी र निजकै आमा प्रतिवादी धन कुमारी क्षेत्री समेत दुवैले ज्यान सम्वन्धको १ नं. को अपराध गरेका हुनाले निजहरुलाई ए. को १३(३) वमोजिम सजांय गरि पाउं भन्ने प्रहरी प्रतिवेदन । प्रतवादी सुर्य कुमारीले अधिकार प्राप्त अधिकारी समक्ष आफ्नो लोग्ने नारायण बहादुरले आफुलाई अर्को लोग्ने मानिस सुताउने नाठो खेलाउने लान्छना लगाई रहने गरेको हुंदा त्यसै इविवाट राति निदाएको वखत अण्डकोष तानी वेहोस गराई आममा धन कुमारीसंग भनी दुवै मिलि कर्तव्य गरि नारायण बहादुरलाई मारेकोमा साविति वयान दिएको पाइन्छ । अदालतमा प्रतिवादी सुर्य कुमारी र प्रतिवादी धन कुमारी सो कर्तव्य गरि मारेकोमा इन्कार  रहे पनि सुर्य कुमारीको अदालतमा भएको वयानलाई हेर्दा निज सुर्य कुमारी वारदातको रात आफ्नो लोग्ने नारायण बहादुरसंग संगै एउटै खाटमा सुतेकी र लोग्नेको मृत्यु कर्तव्यवाट भएको कुरा अदालतमा स्विकार गरि वयान दिएको पाइन्छ । पोस्टमार्टम रिपोर्ट हेर्दा मर्ने नारायण बहादुर खड्काको राइट ल्केभिकत( Clavicle ) सरभाइकल भर्टिव्रा (Cervical Vertebra) हरु दोस्रो तेश्रो लेफ्ट हिपको ज्वाईन्ट र लेफ्ट सातौं र आठौं रिव्स समेत फ्रेकचर भएको पाइन्छ । एउटा खाटमा आफ्नो लोग्नेसंग साथै सुतेको यस्तो अवस्थामा लोग्नेलाई तेत्रो घाउ चोट लागेको र सोही घर कोठामा कर्तव्य गरि मारेको र झुण्ड्याइएको कुरा थाहा भएन भन्ने निज प्रतिवादी सुर्य कुमारीको अदालतको भनाई प्रति लायत एवं मिल्दो देखिदैंन र प्रतिवादी सुर्य कुमारी यस घटना प्रति अनभिज्ञ छ भन्ने स्थिति समेत रहन्न । निजको अदालतको इन्कारी सांचो भन्ने मिलेन । निज सुर्य कुमारी अधिकार प्राप्त अधिकारी प्रहरी छेउ भएको साविती पोष्टमार्टम रिपोर्टवाट समर्थन भएकोले सुर्य कुमारीलाई ज्यान सम्वन्धी महलको १३(३) वमोजिम सर्वश्व सहित जन्म कैद हुने ठहराएको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत वुटवलको इन्साफ मुनासिव ठहर्छ पुनरावेदक प्रतिवदीको पुनारावेदान जिकिर पुग्न सक्तैन ।

२२.   अव प्रतिवादी धन कुमारीको हकमा साधक तर्फ विचार गर्दा प्रतिवादी धन कुमारीलाई प्रतिवादी सुर्य कुमारीको वयानवाट निज धन कुमारी समेत कर्तव्य गरि मार्नेमा सहयोग रहेको भनी स्वयं प्रतिवादी सुर्य कुमारीले पोल गरेको देखिन्छ । एकलो प्रतिवादी सुर्य कुमारीले मात्र मर्ने नारायण बहादुरलाई झुण्ड्याउने कार्य गर्न सक्ने स्थिति हुदैन । प्रतिवादी धन कुमारीलाई आफ्नो छोरी प्रतिवादी सुर्य कुमारीले पोल गर्नु पर्ने कारण केही देखिदैन । प्रतिवादी धन कुमारीले वारदातको दिन आफु भारतको गौहाटी रहेको भनेकोमा निजको साक्षी जस वहादुर राना र हरिलाल गुरुङले वारदातको दिन निज गौहाटीमा थिईन भनी भन्न सकेको पाइदैन । वारदात हुंदाको वखत अन्य ठांउमा गएको थिए भनी वयान गर्ने धन कुमारीले् सो प्रमाणित गर्ने भार निज कै हो । सो को पक्का सवुद प्रमाण निजले दिन सकेको पाइदैन ।प्रतिवादी सुर्य कुमारीको पोल पोस्टमार्टम रिर्पोट समेतवाट संमन्धित भएको कारण प्रतिवादी धन कुमारी निर्दोष रहिछन् भन्न मिलेन निज प्रतिवादी धन कुमारी क्षेत्रीलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्म कैद हुने ठहर्छ । तसर्थ सर्वश्व सहित जन्म कैद गरेको शुरु नवलपरासी जिल्ला अदचलतको इन्साफ सदर गरेको पुनरावेदन अदालत वुटवलको इन्साफ केही उल्टी हुने ठहर्छ ।

२३.   प्रस्तुत मुद्दाको अनुसन्धानको अवस्थमा प्रहरी अनुसन्धान संमुचित तरिकावाट सन्तोष जनक रुपमा भएको देखिन्न । त्यस कारण खुलाउनू पर्नै कुरा समेत खुलेको पाइदैन । मुद्दाको अवस्था र स्थिति प्रहरी अनुसन्धान समेतलाई मध्य नजर राखी हेर्दा प्रतिवादी सुर्य कुमारी र प्रतिवादी धन कुमारी क्षेत्रीलाई उपरोक्त सजाय चर्को हुने हुदा अ.वं १८८ नं. वमोजिम १० वर्ष कैद हुने ठहर्छ । निज प्रतिवादीहरुलाई शुरु नवलपरासी जिल्ला अदालतको फैसला वमोजिम कसैको लागत कटृा गरि प्रतिवादी सुर्य कुमारी खड्का प्रहरी हिरासतमा वसेको मिति २०४४।६।१ देखि गणना हुने गरि १० वर्ष कैद र प्रतिवादी धन कुमारी क्षेत्रीको हकमा १० वर्ष कैदको लागत कसी असुल गर्न शुरु नवलपरासी जिल्ला अदालतमा लेखि पठाउनु भनी काठमाण्डौं जिल्ला अदालतमा लागत दिनु । फैसला भएको जनाउ कैदमा रहेकी पुनरावेदक प्रतिवादी सुर्य कुमारी खड्कालाई दिई मिसिल नियमानुसार गरि वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

मा.न्या. श्री हरि प्रसाद शर्मा

 

इति सम्वत् २०५१ साल माघ २० गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु