शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१०५ - नामसारी निर्णय बदर दर्ता बदर अपुताली हक कायम ।

भाग: ५१ साल: २०६६ महिना: असार अंक:

निर्णय नं.८१०५     २०६६ असार  अङ्क ३

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला

संवत् २०६० सालको दे.पु.नं.९४३९

फैसला मितिः २०६६।२।११।२

 

मुद्दा :नामसारी निर्णय बदर दर्ता बदर अपुताली हक कायम 

 

पुनरावेदक वादीः बारा जिल्ला धर्मनगर गा.वि.स. वडा नं.४ बस्ने स्व. बैजनाथ राउत अहिरको छोरा रामअधारप्रसाद यादव समेत

विरुद्ध

प्रत्यर्थी वादीः ऐ..ऐ.बस्ने ऐ.को छोरा रामअयोध्यायप्रसाद अहिर समेत

         

शुरु फैसला गर्नेः

मा.जि.न्या श्री सहदेवप्रसाद बास्तोला

पुनरावेदन फैसला गर्नेः

मा न्या श्री कल्याण श्रेष्ठ

मा.न्या श्री खेमराज शर्मा

 

§  कानूनबमोजिम हुनै नसक्ने तथ्य र ब्यहोरा ढाँटेर वा झूठ्ठा व्यहोरा उल्लेख गरेर अर्काको हकको जग्गा आफ्नो भनी वा अर्काको हकमा जानु पर्ने घर जग्गा सम्पत्ति आफ्नो हकमा आउनु पर्ने भनी जुन सुकै व्यहोराले गरे गराएको दर्ता वा नामसारी दूषित हुन्छ । त्यसउपर असली हकवालाले कानूनको हदम्यादभित्र उजूर नगरेबाटै दूषित दर्ताले वैधता प्राप्त गर्न नसक्ने 

(प्रकरण नं.६)

§  दूषित क्रियाबाट भएको दर्ता समेतको कार्य प्रारम्भदेखि नै बदर भागी खयष्म बद ष्लष्तय हुने भएकाले त्यसलाई उजूर गरी बदर गराई रहनु पर्दैन । स्वयम्मा गैरकानूनी, प्रभावहीन र अमान्य हुन्छ । त्यस्तो दूषित दर्तालाई विवाद उठेमा अदालतले जहिलेसुकै पनि बदर गराउन सक्ने 

(प्रकरण नं.९)

 

पुनरावेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ताहरू शम्भु थापा, इन्द्र खरेल, सुरेन्द्रकुमार महतो, श्यामकृष्ण कसजू

प्रत्यर्थी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कमलनारायण दास र विद्वान अधिवक्ता श्री सतिशकुमार झा

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  मुलुकी ऐन अपुतालीको १, २० नं.

§  जग्गा पजनीको २(क)

§  दण्ड सजायको ४४ नं.

 

फैसला

न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत, हेटौडाको फैसलाउपर मुद्दा दोहोर्‍याई पाऊँ भनी पर्न आएको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनको रुपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

मूल पुर्खा स्व.गुजु राउतको २ जना छोराहरूमा जेठा स्व.प्रयाग राउत अहिर, कान्छो स्व.पराउ राउत अहिर, स्व.प्रयाग राउतको १ मात्र छोरा मथुरा राउत तथा नाम सम्झना नरहेको एक जना छोरी हुनुहुन्थ्यो । छोरीको विवाह रामबृक्ष राउतसँग भएको थियो । मथुरा राउतको २ श्रीमती जेठी सटही अहिरनी, कान्छी धनमती अहिरनी भएकोमा निजहरूको दाम्पत्य जीवनबाट कुनै सन्तानको जायजन्म भएको छैन । स्व.पराउ राउत अहिरको १ मात्र छोरा हामी फिरादीहरूका पिता स्व.बैजनाथ राउत अहिर हुनुहुन्थ्यो । पिता बैजनाथको तीन छोराहरूमा हामी फिरादी हौँ । गुजु राउत, प्रयाग राउत, मथुरा राउत, मथुराकी जेठी पत्नी सटही अहिरनी पराउ राउत, परमेश्वर राउत, तथा बैजनाथ राउत अहिरको कालगतिले अघिपछि मृत्यु भैसकेको छ । हामी एउटै पुर्खाको सन्तान भई हाम्रो ठुलो हजुरबुवा स्व.मथुरा राउतकी कान्छी पत्नी धनमती अहिरनी बृद्घ भई शरीर अस्वस्थ्य हुँदै गएको तथा निजहरूको कुनै सन्तानसमेत नभएकोले निजको सेवा टहल औषधिउपचार हामी फिरादीहरूले गरी आउँदा आफ्नै कालगतिले निजको मिति २०५४।९।१५ गते मृत्यु भएकोले काजकिरिया श्राद्धसमेत हामीले नै गरेका हौँ । स्व. धनमतीको मृत्युपश्चात निजको हकभोगमा रहेको सम्पूर्ण सम्पत्तिमा हाम्रो अपुताली परी हामीले भोगचलन गरिआएका थियौं । स्व. धनमतीको मृत्युपछि निजको हकभोगमा रहेको निजको सौता सटही अहिरनीका नाम दर्ताको जिल्ला बारा धर्मनगर गा.बि.स.वडा नं.१ कि.नं.५१ को ज.बि.०० ऐ.ऐ.वडा नं.१ कि.नं.७२ को ज.बि.०, ऐ.ऐ.वडा नं.३ कि.नं.२८२ को ज.बि.०, ऐ.ऐ.वडा नं.४ कि.नं.१११ को ज.बि.०, ऐ.ऐ.वडा नं.४ कि.नं.१८३ को ज.बि.०, ऐ.ऐ.वडा नं.४ कि.नं.२११ को ज.बि.०१०, ऐ.ऐ.वडा नं.५ कि.नं.३२ को ज.बि.०, ऐ.ऐ.वडा नं.५ कि.नं.३१७ को ज.बि.०, ऐ.ऐ.वडा नं.५ कि.नं.३२१ को ज.बि.०, ऐ.ऐ.वडा नं.५ कि.नं.३३९ को ज.बि.०, ऐ.ऐ.वडा नं.५ कि.नं.१५७ को ज.बि.०१०, ऐ.ऐ.वडा नं.६ कि.नं. ६० को ज.बि.०१०, ऐ.ऐ.वडा नं.६ कि.नं.६४ को ज.बि.०, ऐ.ऐ.वडा नं.६ कि.नं.९७ को ज.बि.०, समेत हामी फिरादीहरूलाई अपुताली परी ज.प.को २ (क) नं.बमोजिम दाखेल खारेज गराउन सोची रहेकै अवस्था हाम्रो जेठो हजुरबुवा स्व.मथुरा राउतको बहिनी ज्वाई स्व.रामबृक्षको नाति स्व. राजहरणको छोरा विपक्षी द्वारिकाप्रसाद यादवले सम्पूर्ण जग्गा दा.खा.गराउनु भएको छ भनी मिति २०५७।८।१९ गते सुनी सोही दिन नक्कल लिई हेर्दा विपक्षी अन्यायीले जालसाजी तवरले भूmठ्ठो व्यहोरा लेखी तत्कालीन गा.पं.धर्मनगरका प्रधानपञ्चसमेतको मिलेमतो लिई सटही अहिरनी २०३८ साउनमा परलोक भएको निजको खती उपती खाने सौता, छोरा छोरी कोही नभएको नाति द्वारिकाप्रसाद यादवमात्र अपुताली खाने हकदार हुन निज बाहेक अरु हकदार छैन भनी मिति २०४०।१०।१० गते सिफारिश गरी सोही सिफारिशको आधारमा विपक्षी द्वारिकाप्रसाद यादवले मालपोत कार्यालय बारामा अपुताली खाने नाति आफूलाई देखाउँदै मिति २०४०।१०।१३ गते स्व.सटही अहिरनीका नाम दर्ताको जग्गा नामसारी गरिपाऊँ भनी निवेदन दिई निवेदनउपर कारवाही भई मिति २०४०।११।१ गते मालपोत कार्यालय बाराको आदेशानुसार आफ्नो नाममा दा.खा.दर्ता गराएको कुरा जानकारीयस् हुन आयों । विपक्षीले बदनियत पूर्वक भूmठ्ठो व्यहोरा उल्लेख गरी उल्लिखित मोल रु.१८,०००।पर्ने जग्गाहरू स्व.सटही अहिरनीको नामबाट आफ्नो नाममा नामसारी दा.खा.दर्ता गराएको हुँदा उक्त नामसारी निर्णय पर्चा दा.खा. समेतको दर्ता बदर गरी हाम्रो अपुताली हक कायम गरी हाम्रो नाममा दर्ता समेत गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद दावी 

विपक्षीहरूको फिराद लेखअनुसार मिति २०४०।११।१ को निर्णय बदर गराउन जग्गा पजनीको १७ नं. तथा अपुतालीको २० नं. को हदम्यादभित्रको फिराद भनी दायर भएको पाइन्छ । जुन कुरा विपक्षीहरूकै फिराद लेखअनुसार धनमती अहिरनीले आफ्नो जीवनकालमा नै बदर गराउन नसके तथा धनमती अहिरनीको हक स्थापित नभएको कुरामा विपक्षीहरूलाई नालेस गर्ने हकै छैन । सटही अहिरनीको हक खाने अरु कोही छैन भनी मेरो नाममा भएको मिति २०४०।११।१ को नामसारी निर्णय बदर गराउन विपक्षीहरूकै कथनअनुसार धनमती अहिरनी जीवित भए पनि निजले बदर गराउन नसकेको अवस्थामा मेरो हक भोगको मैले र.नं. २३१६ मिति २०५४।८।१५ मा राजीनामा लिखत पारित गरी हस्तान्तरणसमेत गरेको कुरामा बदर गराउन नसकेको र धनमतीको अपुताली हक स्थापित नभएको हुँदा नामसारी बदर तथा विपक्षीको अपुताली हक कायम हुने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र  

प्रतिवादीको साक्षी लालबहादुर साह तेली र वादीका साक्षी शिवलाल महरा चमारको बकपत्र भई मिसिल सामेल रहेको 

यसमा स्व. सटहीको अपुताली खाने स्व.धनमतीले नै आफ्नो हक कानूनबमोजिम कायम गराउन नसकेको स्थितिमा यी वादीलाई प्रतिवादीले २०४० सालमा नै हक कायम गराई लिएकोलाई यी वादीहरूको अपुताली हक पुग्ने भनी भन्न स्व. सटहीको अपुताली पाउने भन्न अपुतालीको २० नं. बमोजिम हदम्यादभित्र वादीले कायम गराउन नसकेको र स्व. धनमतीले आफ्नो हक नै कायम गराउन नसकेबाट निजको अपुताली यी वादीले पाउने भन्न निजले नै आफ्नो हक कायम गराउन नसकेको अवस्थामा मिल्ने नदेखिँदा नामसारी दर्ता बदर गरी अपुताली हक कायम गराइपाऊँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको बारा जिल्ला अदालतको मिति २०५८।५।२५  को फैसला 

यसमा मथुरा राउतको २ पत्नी क्रमशः सटही र धनमती सबैभन्दा नजिकका हकवाला हामी हौँ । हामीले लेखे देखाएको पुस्तावली र नाता सम्बन्धलाई प्रतिवादीले स्वीकार गरेका छन् । प्रतिवादी धनमतीको भानिजका छोरा अर्थात् नाति नाताका हुन भन्ने कुरा सटहीले प्रतिवादीलाई गरिदिएको २०३५।२।३२ गतेको पारित लिखतबाट देखिएको छ । अपुतालीको महलमा मर्नेको भानिजको छोराले अपुताली हक पाउने कानूनी व्यवस्था नभएबाट अपुतालीको २ नं. को आधारमा मालपोत कार्यालयबाट विपक्षीले गराएको नामसारी निर्णय तथा दर्ता कानून प्रतिकूल रहेभएको देखिएको अवस्थामा हाम्रो दावी नपुग्ने ठहराई भएको फैसला त्रुटिपूर्ण छ । सटहीको एकासंगोलकी सौता धनमती भएबाट आफ्नो अंश हकको जग्गा धनमतीले यति मिति भित्र आफ्ना नाममा नामसारी गराउनु पर्दछ भन्ने कानूनी व्यवस्था नभै जग्गा पजनीको २(क) नं. बमोजिम रु.१०।जरीवाना तिरी जहिले सुकै नामसारी दा.खा. दर्ता गराउने हक धनमतीलाई रहे भएको अवस्थामा निजले आफ्नो हक कायम गराउन नसकेको भन्ने आधार मिलेको छैन । धनमती र सटही संगोलका अंशियार रहेको तथ्य प्रमाणित छ । आफ्नो अंश हकको सगोलको सम्पत्ति धनमतीले आफ्नो नाममा नामसारी नगराउँदैमा निजको हक समाप्त भयो भन्ने आधारमा गरेको शुरु फैसला कानूनसँगत छैन । सटही मरेपछि नजिकको हकवाला धनमती र निज मरेपछि अपुतालीको २ नं. बमोजिम सटही र धनमतीका सबैभन्दा नजिकका हकवाला हामी पुनरावेदक हुँदा निजको सम्पत्ति लिने खाने हकअधिकार हामीमा नै सुरक्षित रहेको हुँदा शुरुले फिराद खारेज गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी माग दावीबमोजिम न्यायपाऊँ भन्ने समेत व्यहोराको वादीहरूको पुनरावेदन अदालत हेटौँटामा परेको पुनरावेदन पत्र 

सटही मरेको कारणले २०४०।११।१ मा नै हकवाला द्वारिकाप्रसाद यादवले अपुताली सम्पत्ति नामसारी गरेउपर विरोध भए धनमती जीवित छँदै दावी गर्न सक्नुपर्नेमा सोबमोजिम दावी नपरेको, धनमतीले म्याद व्यतीत गरी परित्याग गरेको विषयमा धनमती २०५४ सालमा मरेपछि निजको अपुताली खाने पाउने हकवाला बनिआएका यी वादी पुनरावेदकलाई सटहीको सम्पत्तिमा पक्राउ गर्न पाउने हक नहुने देखिन्छ । अपुतालीको २० नं.मा अपुताली परेको ३ वर्षभित्र नालिस नदिए लाग्न नसक्ने कानूनी प्रावधान भएको र अ.बं.८२ नं.मा जसको जुन कुरामा हक पुग्छ उसले सो कुरामा दावी गरी नालिस दिएमा लाग्छ भने व्यवस्था भएकोमा यी वादीले हकदैया नभएको विषयमा फिराद गरेकोले उपरोक्त कानूनी व्यवस्थालाई आधार बनाई शुरुले दावी नै खारेज गर्ने गरेको निर्णयमा परिवर्तन गर्नु नपर्ने हुनाले शुरु बारा जिल्ला अदालतको निर्णय सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौँडाको मिति २०५९।४।१६ को फैसला 

अपुतालीको महलको १ नं.बमोजिम पुरुष तर्फको हाँगाको तेस्रो पुस्ताको नाति हकवाला हुने कि छोरी तर्फका भानिजको छोरा हकवाला हुने भन्ने कुराको यकीन हुनुपर्ने अवस्था छ । अपुतालीको १, , ३ नं.ले मर्नेको भानिजको छोरालाई अपुताली खान पाउने हकदार मानेको छैन । पुरुषतर्फका हाँगाको तेस्रो पुस्ताका नातिलाई अपुताली हक नदिई भानिजको छोराले अपुताली पाउने गरी सम्बन्धित कानूनको गलत व्याख्या गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । स्व.मथुराका २ श्रीमती सटही र धनमती भएकोमा निजहरू निसन्तान रहेका र सटही मरेपछि सो सम्पत्तिको हकदार धनमती रहेकी थिइन । धनमती जीवित रहेसम्म सटहीको अपुतालीमा हाम्रो हक पुग्दैनथ्यो । जब धनमतीको २०५४।९।१५ मा मृत्यु भयो त्यसपछि हाम्रो हक हुने भई ऐनका म्यादभित्र नालिस गरेका छौ । धनमती मरी अपुताली परेको ३ वर्षभित्र फिराद परेको र अपुतालीको महलको १ नं.ले परिभाषित गरेबमोजिम मर्नेको तेस्रो पुस्ताभित्रको पुरुष तर्फको हाँगाका हामीहरूले गरेको फिराद हकदैया तथा हदम्यादबिहीन भनी खारेज गरेको शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला अ.बं.८२, अपुतालीको महलको १, , ३ नं.तथा २० नं.को गम्भीर त्रुटि तथा व्याख्या र ने.का.प.२०३९, अङ्क १०, पृ.१२ मा प्रतिपादित सिद्धान्तको समेत उल्लंघन भएको हुँदा मुद्दा दोहोर्‍याई हेरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको वादीहरूको निवेदन पत्र 

यसमा धनमती यादवनीको सात पुस्ता भित्रका हकदार यी वादीहरू भएकोमा कुनै विवाद नदेखिएको, धनमतीको मृत्यु मिति २०५४।९।१५ मा भएको भन्ने कुरा मिसिलबाट देखिन आएकोले निज धनमतीको मृत्युपश्चात् अपुतालीको २० नं.अनुसार ३ वर्षको हदम्यादभित्रै यी वादीहरूको फिराद दायर भएको देखिएको, मुलुकी ऐन जग्गा पजनीको २ क नं.अनुसार हकवालाले जहिले सुकै दाखिल खारेज गर्न पाउने व्यवस्था भएको अवस्थामा प्रतिवादीहरू मृतक धनमतीको ७ पुस्ता भित्रको हकवाला नभै मृतक धनमतीको नन्दको नाति देखिएको अवस्थामा हदम्याद र हकदैयाको आधारमा वादी दावी नै खारेज गर्ने गरेको शुरुको इन्साफ मुलुकी ऐन, अपुतालीको १,२ र २० नं.जग्गा पजनीको २ (क) नं.समेतको व्याख्यात्मक त्रुटि हुनुका साथै ने.का.प.२०५५, नि.नं.६५८१, पृ.४४७ मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल देखिएबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान देखिएकोले प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान गरिदिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६०।१०।२१ को आदेश 

नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरूतर्फबाट उपस्थित  विद्वान वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, इन्द्र खरेल, सुरेन्द्रकुमार महतो र श्यामकृष्ण कसजूले बहस गर्नु भयो । प्रत्यर्थी प्रतिवादीहरूका तर्फका विद्वान अधिवक्ता श्री सतिशकुमार झा र विद्वान वरिष्ठ अधिवक्ता कमलनारायण दासले बहस प्रस्तुत गर्नुभयो 

यसमा पुनरावेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता र विद्वान अधिवक्ताहरूले मर्नेको ३ पुस्ताभित्रको हकवालाले अपुताली नपाई ७ पुस्ता भन्दाबाहिरको मर्नेको नन्दतर्फको हाँगाको भानिजको छोरामा अपुताली हक सर्न सक्दैन । अपुतालीको कानूनी व्यवस्थाअनुसार मर्नेको हकवाला वा हकदारको परिभाषाभित्र नपर्ने नातामा अपुताली जान सक्दैन । मथुराकी जेठी श्रीमती सटहीको सम्पत्तिमा सटहीको मृत्युपछि निजको सौता धनमतीमा स्वतः अपुताली हक सरी आउनेमा धनमतीले उक्त सम्पत्ति नामसारी नगर्दैमा निजको हक गुम्न जाने होइन । धनमतीको स्वतः हक सिर्जना हुने सम्पत्तिमा निजको मृत्युपछि अपुतालीको २० नं.को म्याद भित्र नै फिराद दायर भएको छ   ३ पुस्ता भित्रका अपुताली पाउने हकदार जीवित छँदै गरिएको नामसारी दूषित रहेको छ । तसर्थ पुनरावेदनको फैसला बदर हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो 

प्रत्यर्थी प्रतिवादी तर्फका विद्वान वरिष्ठ अधिवक्ता र अधिवक्ताले २०३८ सालमा सटहीको परलोक भएकोमा २०५४ सालसम्म जीवित रहने धनमतीले सो सम्पत्तिमा दावी नगरेपछि यी वादीले दावी गर्न पाउँदैनन् । ज.प.को २ (क) नं.को दावी गर्ने हकदैया यी वादीमा होइन धनमतीमा थियो । पहिलो अपुताली सटहीबाट धनमतीमा जाने हो । जव धनमतीमा नै अपुताली कायम भएको छैन र प्रतिवादीले गराएको नामसारीमा धनमतीको उजूरी परेको छैन भने यी वादीलाई दावी गर्ने हक नै छैन । ज.प. को २ (क) ले अपुतालीको हक सिर्जना गर्दैन । अपुतालीमा दावा गर्नेले अपुतालीको हदम्यादभित्र नालिस नगरी ज.प.को २ (क) नं.टेकी दावी गरेको मिलेको छैन । सटहीको मृत्यु भएको ३ वर्ष भित्र नालिस नपरेको हुँदा दावी हदम्यादबिहीन हुँदा पुनरावेदन अदालतको फैसला सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो 

निर्णयतर्फ विचारगर्दा ठूलो हजुरबुवा मथुरा राउतको २ श्रीमतीमा जेठी सटही अहिरनी र कान्छी धनमती अहिरनी भएकोमा दुबैको कुनै सन्तान थिएन । निसन्तान सटहीको २०३८ सालमा र धनमतीको २०५४ सालमा मृत्यु भएकोमा सटहीको मृत्यु स्पछि निजको सम्पत्ति धनमतीमा सरी आएको र धनमतीको मृत्युपछि उक्त सम्पत्तिमा हाम्रो अपुताली परी भोग गरी आएका थियौं । सटहीको मृत्युपछि निजकी सौता धनमती जीवितै रहेको अवस्थामा सटहीको अपुताली खाने छोरा, छोरी समेतका हकदार कोही नभएको भनी स्व.मथुरा राउतको बहिनी ज्वाईको नाति द्वारिकाप्रसाद यादवले गलत व्यहोरा उल्लेख गरी गा.बि.स.बाट सिफारिश गराई हाम्रो अपुतालीको हकको सम्पत्ति २०४०।११।१ मा आफ्ना नाममा गराएको नामसारी निर्णय दा.खा.समेत बदर गरी अपुताली हक कायम गरिपाऊँ भन्ने दावी रहेको छ । शुरु बारा जिल्ला अदालतले हदम्यादको अभावमा फिराद दावी खारेज हुने ठहर गरेको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत, हेटौँडाको फैसलाउपर वादीको मुद्दा दोहर्‍याई पाऊँ भनी परेको निवेदनमा निस्सा प्रदान भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा निम्न विषयमा निरोपण हुनुपर्ने देखियो

(१) फिराद गर्ने वादीको हकदैया छ छैन ?

(२) फिराद दावी हदम्यादभित्र परेको छ छैन ?

(३) पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ?

२.   पहिलो प्रश्नतर्फ विचार गर्दा गुजु राउतका दुई छोरामध्ये जेठा प्रयाग राउतको छोरा मथुरा र निजकी श्रीमतीहरू मरी अपुताली परेको छ भनी प्रयाग राउतकी छोरी राजपतियाका नाति द्वारिकाप्रसाद यादवले अपुताली खाने हकदार भनी नामसारी गराएका छन् । अर्कोतर्फ प्रयाग राउतको भाई पराउ राउतको छोराका नातिहरू यी वादीहरू हुन । यस नाता सम्बन्धमा विवाद छैन । स्व.मथुरा राउतको २ श्रीमतीमध्ये जेठी सटही अहिरनी र कान्छी धनमती अहिरनी भएको र निजहरू दुबै जना निसन्तान भई सटही अहिरनीको २०३८ सालमा र धनमती अहिरनीको २०५४ सालमा मृत्यु भएको तथ्यमा पनि दुबै पक्षको मुख मिलेको छ । वादीहरू ४ पुस्ता भित्रका हकवाला भएको तथ्यसमेतलाई प्रतिवादीले अन्यथा भन्न नसकी स्वीकार गरेको पाइन्छ 

३.   मुलुकी ऐन, अपुतालीको महलको १ नं.मा अपुतालीको प्रयोजनको लागि भएको हकवालाको कानूनी परिभाषा हेर्दा हकवाला भनेको सात पुस्तासम्मको पुरुषतर्फको हाँगामा सबैभन्दा नजिकको अंशियार हुन्छ । सात पुस्ता नाघेको टाढाको दाजु भाई हुन्छ । नजिक र टाढाको हकवाला छुटयाउँदा जो मरी अपुताली परेको हो उसको आफ्नै पुरुषतर्फको हाँगामा सन्तान भए मर्नेको मूल पुरुषको अरु हाँगाको हकवाला नजिकको ठहर्दैनभन्ने उल्लेख छ । यस परिभाषाअनुसार वादीहरू मृतक सटही र धनमतीको ४ पुस्ताभित्रका हकवाला भएकाले अपुतालीतर्फ नालिश गर्न यी वादीहरूको हकदैया छैन भन्न मिलेन  

४.   दर्तावाला सटहीको २०३८ सालमा मृत्यु भएपछि धनमती अहिरनीले अपुतालीमा हक कायम नगराएकै अवस्थामा निजको मृत्यु भएकोले वादीलाई दावी गर्ने हक छैन भन्ने प्रतिउत्तर जिकीररहेको सन्दर्भमा विचार गर्दा मथुराका उक्त दुबै श्रीमतीहरूको मृत्युपश्चात् अपुतालीको हक कानूनबमोजिम स्वतः मथुराका कान्छा बाबु (काका) पराउ राउत तर्फका सन्तानमा सर्ने हुन्छ । सटहीको नामको जग्गा अन्य व्यक्तिले गराएको नामसारी दर्ताप्रति विरोध नगरेको कारणलेमात्र धनमतीको हक समाप्त हुन सक्दैन । किनभने सटहीबाट धनमतीले अपुताली खाने हकदार नभई सटही सरहकी अंशियार भएकी धनमतीमा सटहीको सम्पत्तिमा अंशियारको नाताले स्वतः अंश हक सर्ने हुन्छ । यस्तो अवस्थामा धनमतीको परलोकपछि मात्र सो सम्पत्तिमा हकवालाले अपुताली हक प्राप्त गर्ने हुनाले २०४० सालमा प्रतिवादीले गराएको नामसारी दर्ता उपर धनमतीले उजूरी नगरेको कारण अपुताली खाने हकवालाको हक समाप्त हुँदैन 

५.   सटहीको नजिकको हकवाला सौता धनमती अहिरनी जीवित हुँदासम्म सटही र निजपछि धनमतीको अपुतालीमा हकवालाले दावी गर्न मिल्दैन । सटहीको मृत्युपछि निजको नामको सम्पत्तिमा अंशियारको नाताले धनमती अहिरनीमा स्वतः सर्ने भई निजको मृत्युपछि मात्र यी वादीहरूको अपुताली हकको सिर्जना हुने हुनाले धनमती अहिरनीले आफ्नो नाममा नामसारी नगराए पनि निजपछि कानूनबमोजिम यी वादीहरूले अपुतालीमा दावी गर्न पाउने हुनाले हकदैया छैन भन्न मिलेन 

६.   अब प्रतिवादीहरूले २०४०।११।१ मा सटहीका नामको जग्गा नामसारी दर्ता गराएको तर्फ हेर्दा सटही मरी निजको यी प्रतिवादीबाहेक अरु वा हकवाला नभएको भन्ने आधारमा सो नामसारी दर्ता गराएको उक्त कुरा झूठ्ठा ब्यहोरामा आधारित रहेकोले देखिन्छ । किनभने २०५४ सालमा सटहीको सौता धनमती जीवितै रहेकीले सो तथ्य लुकाई सटही र धनमतीको सम्पत्ति गैरकानूनी ढंगले लिनेखाने उद्देश्यले यी प्रतिवादीले २०४० सालमा नामसारी दर्ता गराएको देखिन्छ । जबकी सटही वा धनमतीको अपुताली खाने कानूनबमोजिमको हकवाला पनि यी प्रतिवादी रहेको पाईंदैन । यस्तो अवस्थामा गराइएको उक्त नामसारी दर्ता दूषित दर्ता देखिन्छ । दूषित दर्ताको निश्चित परिभाषा नभए तापनि कानूनबमोजिम हुनै नसक्ने, तथ्य र ब्यहोरा ढाँटेर वा झूठ्ठा व्यहोरा उल्लेख गरेर अर्काको हकको जग्गा आफ्नो भनी वा अर्काको हकमा जानु पर्ने घर जग्गा सम्पत्ति आफ्नो हकमा आउनु पर्ने भनी जुन सुकै व्यहोराले गरे गराएको दर्ता वा नामसारी दूषित हुन्छ । त्यस उपर असली हकवालाले कानूनको हदम्यादभित्र उजूर नगरेबाटै दूषित दर्ता वैध हुँदैन, वैधता प्राप्त गर्न सक्दैन   

७.   सटही मरी आफ्नो हक हुन आएको सम्पत्ति जहिले सुकै पनि नामसारी गर्न पाउने कानूनी व्यवस्था जग्गा पजनीको २ (क) मा गरिएको छ । धनमती अहिरनी मरी निजका आफ्ना सन्तान नभएको र वादीहरू पुरुषतर्फका हाँगाका नजिकका हकवाला भएको हुँदा त्यो अपुतालीमा दावी गर्न पाउने पहिलो हक यिनै वादीहरूमा रहेको देखिन्छ । प्रतिवादी अपुताली पाउने हकवालाको कानूनी परिभाषाभित्रै नसमेटिएकोले गा.बि.स.बाट सिफारिश गराई आफ्नो नाममा सटहीको नाम दर्ताको जग्गा दा.खा.नामसारी दर्ता गराएको सम्पूर्ण क्रिया नै दूषित रहेको देखिएको छ । यस्तो दूषित क्रियाबाट गराएको नामसारीबाट प्रतिवादीको हक कायम रहन र वादीहरूको हक समाप्त हुन सक्दैन 

८.   अव दोस्रो प्रश्नतर्फ विचार गर्दा सटहीको मृत्युपछि पनि धनमती अहिरनीको अंश हक   कायमै रहने भई सटहीको मृत्यु भएको मितिले अपुतालीको २० नं. अनुसार तीन वर्षको हदम्याद लाग्ने अवस्था छैन   धनमती अहिरनीको २०५४ सालमा मृत्यु भएको कारणबाट यी वादीहरूको सो सम्पत्तिमा अपुतालीको हक सिर्जित भएको हुँदा धनमती अहिरनीको मृत्युपछि मात्र यी वादीहरूले अपुतालीमा दावी गर्न पाउने भई धनमतीको मृत्यु भएको मितिले मात्र हदम्याद शुरु हुने देखिन्छ । धनमती अहिरनीको २०५४।९।१५ गते मृत्यु भएकोमा विवाद नदेखिँदा सोही मितिबाट अपुतालीमा हक कायम गराउन यी वादीहरूले अपुतालीको २० नं.को हदम्यादभित्र २०५७।९।१२ मा फिराद दायर गरेको देखिन्छ । यसर्थ प्रस्तुत फिराद हदम्याद नाघी दायर भएको भनी मान्न मिलेन 

९.   अब माथि विवेचना गरिएको आधार, प्रमाण र कानूनी व्यवस्थाको परिप्रेक्षमा पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन भन्ने तर्फ विचार गर्नुपर्ने हुन आयो । दर्तावाला सटहीको मृत्युपछि निजसरहका हकवाला धनमती अहिरनी जीवितै रहेको अवस्था सटहीको हक खाने कोही नभई आफू भएको भनी यी प्रतिवादीले गा.बि.स.बाट झूठ्ठा व्यहोराको सिफारिश गराई सटहीको नाममा रहेको सम्पत्ति नामसारी दाखेल खारेज दर्ता गराएको  देखिन्छ   त्यस्तो दूषित क्रियाबाट भएको दर्ता समेतको कार्य प्रारम्भदेखि नै बदरभागी Void ab initio हुन्छ । त्यसलाई उजूर गरी बदर गराई रहनु पर्दैन । स्वयममा गैरकानूनी, प्रभावहीन र अमान्य हुन्छ । त्यस्तो दूषित दर्तालाई विवाद उठेमा अदालतले जहिले सुकै पनि बदर गरिदिन्छ 

१०.  सटही अहिरनीको नामबाट यी प्रतिवादी द्वारिकाप्रसाद यादवले गराएको नामसारी दाखेल खारेज दर्ता पनि दूषित दर्ता भएकोले कानूनी प्रभावशून्य भई कायम रहन सक्दैन । तसर्थ वादी दावीबमोजिम प्रतिवादीको नाममा २०४०।११।१ को निर्णयानुसार भएको नामसारी दर्ता बदर गरी वादीहरूको अपुताली हक कायम गर्नुपर्नेमा वादी दावी नै खारेज हुने ठहर गरेको शुरु बारा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौँडाको मिति २०५९।४।१६।५ को फैसला नमिलेकोले उल्टी भई २०४०।११।१ को नामसारी गर्ने निर्णय र सो अनुसार प्रतिवादीको नाममा भएको नामसारी दर्तासमेत बदर भई सो जग्गामा वादीहरूको अपुताली हककायम र दर्ता हुने समेत ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु 

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, हेटौँडाको फैसला उल्टी भई वादी दावीबमोजिम द्वारिकाप्रसाद यादवको नाममा भएको नामसारी दर्ता समेत बदर भई वादीहरूको नाममा अपुताली हक कायम हुने र दर्तासमेत हुने ठहरेकोले दण्ड सजायको ४४ नं.को म्यादभित्र नामसारी दर्ता गरिपाऊँ भनी दरखास्त दिएमा देहायमा उल्लिखित जग्गाहरू वादीहरूको नाममा नामसारी गरी दर्ता गरिदिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनू भनी शुरु बारा जिल्ला अदालतमा लेखी पठाउनू ।।।। १

११.   मृतक सटही अहिरनीको नामबाट प्रतिवादी द्वारिकाप्रसाद यादवले गराएको नामसारी बदर भई वादीहरूका नाममा दर्ता हुने जग्गाहरूः

 

जिल्लाः बारा,            गा.बि.स: धर्मनगर     

वडा नं.                  कि.नं.          क्षेत्रफल

                  ५१      

,,                           ७२      

                  २८२     

                  १११      

,,                            १८३     

,,                           २११       १०

                  ३२      

,,                           ३१७     

,,                           ३२१     

,,                           ३३९     

,,                           १५७      १०

                   ६०        १०

,,                           ६४      

,,                           ९७      

१२.  यसमा वादीले फिराद दायर गर्दा राखेको कोर्ट फी रु.५१७०। पुनरावेदन अदालत, हेटौडामा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु.७७५।५० र यस अदालतमा मुद्दा दोहर्‍याई हेर्न निस्सा प्रदान भएपछि राखेको कोर्ट फी रु.७७५।५० समेत जम्मा कोर्ट फी रु.६,६२१।वादीले प्रतिवादीबाट भरी पाउने हुँदा प्रतिवादीको जायजेथा देखाई कोर्टफी भराई पाऊँ भनी कोर्टफी ऐनका म्यादभित्र दरखास्त दिएमा केही दस्तूर नलिई प्रतिवादीबाट वादीलाई कोर्टफी भराई दिनु भनी शुरु बारा जिल्ला अदालतमा लेखी पठाई दिनू –––––––

दायरीको लगत कटृा गरी मिसिल नियमानुसार बुझाईदिनू––––

 

उक्त रायमा म सहमत छु 

 

न्या.मोहनप्रकाश सिटौला

 

इति संवत् २०६६ जेठ ११ गते रोज २ शुभम्

 

इजलास अधिकृतः दीपक ढकाल

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु