निर्णय नं. ५००७ - बन्दीप्रत्यक्षीकरण ।

निर्णयः ५००७ ने.का.प. २०५१ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायधीश श्री रुद्र बहादुर सिंह
माननीय न्यायधीश श्री कृष्णजंग रायमाझी
सम्वत् २०५० सालको रिट न.. २७७८
आदेश मितिः २०५१।९।११।२
विषयः बन्दीप्रत्यक्षीकरण ।
निवेदकः हाल काठमाण्डौं जिल्ला प्रहरी कार्यालय, हनुमानढोकामा गैर कानूनी तवरले थुनामा राखिएकी का.जि.का.न.पा.पानीपोखरी वालुवाटार बस्ने तीलु घलेको हकमा निजकी आमा चिज कुमारी घले
विरुद्ध
बिपक्षीः जिल्ला प्रहरी कार्यालय हनुमान ढोका काठमाण्डौ.
§ न्यायिक जांचवुझको सिलसिलामा तिलु घलेसगै प्रहरीमा विभिन्न स्थलको हिरासतमा रहदा मिति २०५०।६।६ गते देखि नै पक्राउ गरी प्रहरीले हिरासतमा राखेको भनी कागज गरी दिने कान्छा जाख्वा सागर तामाङ लक्ष्मी कपाली लगायतका व्यक्तिले गरि दिएको कागज काठमाण्डौ. जिल्ला अदालतको श्रेस्तेदारबाट भएको न्यायीक जांचवुझको प्रतिवेदन समेत वाट तिलु घलेलाई मिति २०५०।६।६ देखि नै पक्राउ गरी प्रहरीले विभिन्न ठाउमा चलन गर्दै हिरासतमा राखेको भन्ने पुष्टी हुन आयो । प्रहरी उपरिक्षक रेवत बहादुर थापाले यस अदालतका संयुक्त इजलास समक्ष २०५०।६।१७ गते मात्र निवेदक तिलु घलेलाई पक्राउ गरेको हो भनी गरेको वयान विस्वसनीय मान्न नमिल्ने ।
(प्र.नं.३०)
§ नेपाल अधिराज्यको संविधनन, २०४७ को धारा १४(६) वमोजिम पक्राउ गरिए वा थुनामा राखिएको प्रत्येक व्यक्तिलाई पक्राउ भएको ठाउंवाट बाटाको म्याद बाहेक चौविस घण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराई हिरासतमा राख्न म्याद थप लिनु पर्नेमा सो नगरी गैर कानूनी रुपमा थुनामा राखेको देखिएकोले बन्दी प्रत्यक्षीकरणको आदेशवाट निजलाई मुक्त गर्नु पर्नेमा मिति २०५०।७।१७ गतेमा यस अदालत संयुक्त इजलासको आदेश वाटै हाल हिाजिर जमानीमा छुटी रहेको देखिएकोले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी रहन नपर्ने।
(प्र.नं.३०)
§ काठमाण्डौ जिल्ला अदालत विचाराधिन रहेको लागू औषधीका प्रतिवादी कुमार वरुवालको पोलको आधारमा काठमाण्डौं जिल्ला अदालतवाट बन्दी तिलु घलेलाई म्याद थप लिई प्रहरी प्रतिवेदनमा निज उपर लागू औषधी नियन्त्रण ऐन, २०३३ को दफा ४ को (घ) (च) अनुसार अभियोग लगाई सोही ऐनको दफा १४ को (१) को (छ) को उपदफा (१) अनुसार सजायको माग दावी गरेको देखिएको र मिति २०५०।६।१५ मा पक्राउ परेको कुमार बरुवालले मिति २०५०।६।१७ मा अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानको कागजमा तिलु घलेवाट रु ५००। मा रुक ग्राम लागू औषधी हिरोइन खरिद गरेको भन्ने उल्लेख गरेको छ तापनि निजले तिलु घलेवाट मिति २०५०।६।६ अगाडी नै उक्त हिरोइन खरिद गरेको हो भन्न सकेको देखिदैन तिलु घले मिति २०५०।६।६ मा पक्राउ परेपछि सो भन्दा पछि खरिद गर्ने स्थिति पनि नहंदा गैर कानूनी रप्मा हिरासतमा राखिएको तिलु घलेलाई मुद्दा चलाउने दुष्टि मनसायले अपराधमा संलग्न गराउने अठोट राखि लागू औषधी मुद्दामा कारवाही चलाएको कानून संगत भन्न नमिल्ने ।
(प्र.न..३०)
निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री प्रकाश राउत
बिपक्षी तर्फवाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ठ
अबलम्बित नजीरः
आदेश
मा.न्या.रुद्र बहादुर सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ धारा २३।८८ अन्तर्गत दायर भै पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ :
२. मिति २०५०।६।६ का दिन दिउंसो ३ वजेतिर छोरी तीलु घले कोठावाट निस्केकोमा सोहि दिन ६ वजेतिर निजलाई हनुमानढोका थुनी राखेको छ भन्ने जानकारी टेलिफोनवाट प्राप्त भयो । भेटघाट र तथ्य कुरा वुझ्न जांदा पक्राउ गरेको कारण समेत नवताई थुनामा रहेको कुरा वताइयो । भोलिपल्ट विपक्षी कार्यालयमा जांदा छोरीसंग देखादेख भै निज रुन लाग्दा प्रहरीले लछार पछार पारी ओझेल पारि दिए । शारिरिक यातना समेत दिइएको जानकारी हुन आएको छ। पक्राउ पुर्जी समेत दिइएको छैन । निजलाई पछि झुठृो अभियोग लगाई मुद्दा चलाउने र यातना दिने दुराषयले अन्यत्र सार्ने सम्मको धम्की दिइएको थाहा भयो । वंदीलाई सम्मानित अदालत समक्ष अनिवार्य रुपले उपस्थित गराउन पर्ने अवस्था छ । अनुचित तवरले थुनामा राख्न पाउने अधिकार विपक्षीलाई छैन ।
३. तसर्थ विपक्षीहरुको वदनियतपूर्ण काम कारवाहीले मुलुकी ऐन, अ.वं.१२१ नं. सविधनको धारा ११(१),१२(१),१४(४),(५)र (६) द्वारा प्रदत्त मोलिक हक समेतमा आघात पुगेको छ। अतः गैर कानूनी रुपमा थुनामा रहेकी तथा अनुचित तवरले वन्दी जीवन विताउन वाध्य भएकी छोरी तीलु घलेलाई मुक्त गरि दिनु भनी वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउं भन्ने समेत मिति २०५०।६।१० मा दर्ता हुन आएको व्यहोराको रिट निवेदन ।
४. यसमा विपक्षी वाट यो आदेश प्राप्त भएका मितिले वाटाका म्याद वाहेक १ दिन भित्र लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने र वन्दी भनिएकी तिलु घलेलाई लिखित जवाफसाथ अविलम्व यस अदालतमा उपस्थित गराउन विपक्षीलाई लेखि पठाई नियम वमोमिज पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायधीशको इजलासको मिति २०५०।६।१२ को आदेश ।
५. वन्दी भनिएकी तीलु घलेलाई यस कार्यालयमा वन्दी वनाई नराखिएको हुंदा सम्मानित अदालतको आदेशानुसार उपस्थित गराउन नसकिएको । वन्दी नै नवनाई यस कार्यालयको हिरासतमा नराखिएकी तीलु घलेलाई सम्पर्क र कुराकानी समेत गर्न नदिई शारीरिक यातना दिइएको भन्ने समेत झुठृा आरोप लगाई अवास्तविक तथ्य विहिन कुरालाई रची यस कार्यालयकाई विपक्षी वनाई दिएको प्रस्तुत रिट निवेदन खारेज गरी पाउं भन्ने समेत व्यहोराको प्रत्यार्थी जिल्ला प्रहरी कार्यालय काठमाण्डौंका प्रहरी उपरिक्षक रेवत बहादुर थापाको मिति २०५०।६।१४ को लिखत जवाफ ।
६. मिति २०५०।६।१४ मा विपक्षीले फिराएको लिखित जवाफमा तीलु घले यस कार्यालयमा वन्दी छैन भनी उल्लेख गरेतापति आजै विहान मात्र तीलु घलेले जि.प्र.का. हनुमानढोकावाट यसै साथ संलग्न चिठी पठाएको र आजै अं.१०।०० बजेको समयमा निजलाई ३ जवान प्रहरीले आफै घर (डेरामा) ल्याई डेरा खान तलासी गरी पुनः जि.प्रका.हनुमानढोकातर्फ लगेका छन् । आज विहान ७.०० वजेतिर खाना पुयाउन हनुमानढोका जांदा खान पनि नदिई कहिले भक्तपुर किले यहां थुनेर राखेको छ भन्ने पत्र उपलव्ध गराएवाट निवेदन गर्न आएकी छु । सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३५ समेतका अधिनमा रही उक्त प्रेषित पत्र प्रमाण लगाई पाउं । आज प्रहरी आउदा डेरामा भएकी मेरी जेठी छोरी मान कुमारी घलेलाई वुझि पाउं भन्ने समेतको चीज कुमारी घलेको यस अदालतमा मिति २०५०।६।१७ मा यस अदालतमा परेको निवेदन ।
७. यसमा आज मिति २०५०।६।१७।१ मा निवेदिका चिज कुमारी घलेले इजलास समक्ष पेश गरेको निवेदन र सो साथ पेश गरेको पत्रको नक्कल (फोटोकपी) साथ राखी वन्दी वनाइएको भनिएकी तीलु घलेलाई खोज तलास गरी ४८ घण्टा भित्र यस अदालतमा उपस्थित गराई दिनु भनी श्री मध्यक्षेत्र प्रहरी कार्यालय काठमाण्डौंलाई लेखि पेशीको सूचना दिई आएपछि नियम वमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५०।६।१७ को आदेश ।
८. मिति २०५०।६।१७ गतेको प्राप्त आदेशानुसार रिट निवेदकलाई खोज तलास गरी सम्मानित अदालतमा उपस्थित गराउने तर्फ सम्वन्धित जि.प्रका.हरुलाई लेखी पठाउदा प्र.स.नि.नारायण बहादुर रायमाझीको प्रतिवेदनले वादी श्री ५ को सरकार प्रतिवादी कुमार वरुवाल भएको लागू औषधी मुद्दामा मिति २०५०।६।१७ मा पक्राउ गरी तीलु घलेलाई सम्मानित काठमाण्डौं जिल्ला अदालतको आदेशानुसार प्रहरी हिरासतमा रहेको भन्ने जिल्ला प्रहरी कार्यालय काठमाण्डौंको मिति २०५०।६।१८ को पत्रद्वारा लेखी आएको हुंदा निज तीलु घलेलाई सम्मानित अदालतमा आज मिति २०५०।६।१९ गते १६.०० वजे भित्र कानून वमोजिम उपस्थित गराउनु भनी यस कार्यालयको मिति २०५०।६।१९ गतेको पत्रद्वारा जिल्ला प्रहरी कार्यालय काठमाण्डौंमा लेखिएको पत्रको फोटोकपी संलग्न राखी अनुरोध गरिएको छ भन्ने समेत मध्येक्षेत्र प्रहरी कार्यालयका तर्फवाट प्रहरी उपरीक्षक वावुराम गुरुङको हस्ताक्षर भएको यस अदालतलाई लेखिएको वन्दी उपस्थित गराई दिने विषयको मिति २०५०।६।१९ को पत्र ।
९. २०५०।६।६ गते दिनको करिव ३ वजेको समयमा लाजिम्पाट मेनरोड निस्किने घुम्तिनेर अपरिचित ४।५ जना प्रहरी आई डर देखाई गाडीमा वसाई हनुमानढोका लगे । केरकारमा लागी पोलिथिन पाइप समेतले कुटपिट गरी मैले गर्ने काम सोधियो । करिव ६ वजेतिर खोरमा लांदा सिपाहीको खुटृा ढोगेपछि घरमा फोन गर्न दिइयो । रातभर खाना नदिई राखेपछि विहान ६.३० वजेतिर टवाइलेट जांदा आमालाई देखें कुरा गर्न दिइएन । १ कप चियाको भरमा ७ गते विताए । ८ गते फोनवाट घरवाट खाना ल्याई दिनु भन्छु भन्दा माथि नसोधी हुदैन भनियो। त्यही वस्ने एकजनालाई ११। रुपैया दिई खाना मगाई लुकाएर खाएं । सधै पिट्ने र करेन्ट लगाइयो , वेहोस भएं । मिलाउने भए अदालत नलाने नत्र १० वटा मुद्दा लगाई दिन्छौं भनियो । १४ गते ४ वजेतिर पालेले वोलाई ४.३० वजेतिर केरकारमा मेरो झोला र रुमाल ल्याई गाडीमा कोटेश्वर तिर लगियो र सोध्दा गुम्साएर राखेकोले हावा खुवाएर ल्याउनु भनेको छ भनी जि.प्र का.भक्तपुरमा डि.एस.पी चुडा बहादुर श्रेष्ठको कोठामा लग्यो । वहांले नुतन भन्ने पुलिस वोलाई माथि राखी दिनु भनेकोले इन्सपेक्टर रेतज बहादुर ढुंगाना र कर्ण लिम्वुको कोठामा थुनामा राख्यो । खाना दिइएन १४ गते वेलुका ८ वजेतिर खोरमा लग्यो खाना सुत्नको आदेश छैन भनी दिइएन । १५ गते फेरी इन्सपेक्टरको कोठामा लगि भोकै वसें । नारायणी भन्ने महिला प्रहरीले फिल्टरको पानी खानु भनिन । ४ वजेतिर डि.एस.पी.चुडा वहादुरलाई रोएर भोक लाग्यो भन्दा १ कप चिया खान दिइयो । वेलुकी फेरी खोरमै लग्यो । विनोद भन्ने आंखा विग्रेको प्रहरीले फोन गर्न दिएकोले आमालाई भक्तपुरमा भएको जानकारी गराए । १६ गते विहान अघिल्लो दिन राती आमा आएको थाहा पाए । १६ गते दिउंसो करिव १.२० वजेतिर हनुमान ढोका ल्याई खोरमा राखियो ।स.ई. दिनेश पन्तले नाम ठेगाना सोधी लेखे । केटी वेच्ने केशमा थुनिएकी लक्ष्मी कार्की समेतले मलाई सोधे । १७ गते विहान पुलिसमा माथि वोलाई मलाई घर लगी खान तलास गरी केही फेला परेन भनेर ३ नं. वडामा गई सही गरायो । अ.स.इ. नारायण राय माझीले ११ वजेतिर अदालत पुर्याई १ ग्राम लागू औषधी कुमारलाई वेचेको रिट गर्नै नहुने भन्यो । अदालतवाट म्याद थप गरियो । २०५०।६।६ देखि हनुमान ढोकामा राख्दा लागू औषधी सम्वन्धी कैदी लक्ष्मी कपाली केटी वेच्ने मुद्दाका लक्ष्मी कार्की समेत ७ जना देख्ने छन् । १५ गते भक्तपुर प्रहरी हिरासतमा राख्दा केटी वेच्ने सम्वन्धी लक्ष्मी के.री केटी वेच्ने सम्वन्धीका श्रीमान् श्रीमती र ५ वर्षे वालिकालाई वलात्कार गर्ने ५८ वर्षे वुढालाई समातेर ल्याएको थियो । दोश्रो तल्लामा इन्सपेक्टर रेतज बहादुर थापाको कोठामा राखिएको शुरुमा किचेन भएको इन्सपेक्टर सुत्ने कोठामा २ वटा वेड भएको Dark Blue Colour को हाफ पर्दा भएको सामुन्ने कोठामा संचार कक्ष भएको र हनुमान ढोकामा ६ गते लादा नयां नाम दर्ता फाराम भर्दा १ गते देखि भनी लेखिएको रजिष्टर भित्रको वाया साइडकाको वीच तिर मेरो नाम दर्ता छ भन्ने समेत उल्लेख गरी तीलु घलेले यस अदालतमा विवरण खुलाई दिएको मिति २०५१।६।२० को निवेदन ।
१०. यसमा निवेदिका तीलु घले स्वMयले मिति २०५०।६।६ देखि हाल सम्म आफू प्रहरी हिरासतमा थुनामा रहेको भनी तत् सम्वन्धी आफ्नो प्रमाण समेत खुलाई आज निवेदन दिनु भएकोले थुनाको सम्वन्धमा यथार्थ कुरा एकीन गर्नको लागि निवेदिकाले आफ्नो निवेदनमा उल्लेखत गरेका तत् तत ठाउंमा निवेदिकालाई का.जि.अ.को श्रेस्तेदार जिम्मा लगाई निज निवेदिकाको कानून व्यवसायी अधिवक्ता श्री प्रकाश राउत साथ प्रकरी सुरक्षामा लगी तत् सम्वन्धमा निजले निवेदनमा दिएको प्रमाण समेत कानून वमोजिम श्रेस्तेदारले वुझी यस अदालतमा प्रतिवेदन पेश गर्ने र निवेदिका हाल अनुसन्धानको सिलसिलामा जिल्ला अदालतको अनुमतीवाट प्रहरी हिरासतमा रहेको भन्ने देखिएकोले उक्त ठाउं प्रहरी हिरासतमा राख्नु उचित नदेखिदा आज देखि निवेदिकालाई डिल्ली वजार सदर खीर काठमाण्डौंमा राख्नु र अनुसन्धानको सिलसिलामा निवेदिकालाई आवश्यक परे अदालतका कर्मचारी जिम्मा लगाई प्रहरी सुरक्षासाथ पठाई दिने । काम सम्पन्न भए पछि त्यही सदरखोरमा ल्याउने । अनुसन्धान एवं मुद्दाको सिलसिलामा जिल्ला अदालत वा प्रहरी स्वयले निवेदिकालाई छोड्ने तारेखमा राख्ने वा जमानतमा छाड्ने आदेश दिएमा वाहेक यस अदालतले अन्यथा आदेश नदिएसम्म सोही सदर खोर डिल्ली वजारमा राख्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५०।६।२० को आदेश ।
११. मिति २०५०।६।२० मा । सर्वोच्च अदालतवाट भएका आदेशानुसार काठमाण्डौं जिल्ला अदालतवाट खटिई आउनु भएका श्रेस्तेदार श्री कुमुद प्रसाद शर्मा यस जि.प्र.का. हनुमानढोका आई के कस्ता वन्दीहरु यस जि.प्र.का मा हिरासतमा छन् भनी सोधनी भएकोमा हाल यस कार्यालयमा मिङमा लामा र लक्ष्मी कार्की जि.मा.वे अधियोगमा र सीता गुरुङ कान्छी तामाङ कुमारी लामा आङलिमा शेर्पा पार्वती थापा समेतका थुनुवाहरु महिला वन्दी गृहमा राखिएको छ र बवचेन भन्ने चाईनिज पुरुष वन्दी गृहमा राखिएको छ र अन्य पुरुषहरु पनि विभिन्न अभियोगमा थुनामा छन् भनी यो मुचुल्का गरि दियां भन्ने समेत काम तामेल गर्ने कुमुद प्रसाद शर्मा श्रेस्तेदार का.जि.अ. समेतको मिति २०५०।६।२४ को मुचुल्का ।
१२. प्रतिवादी मेरी श्रीमती विमला परियार समेत भएको जि.मा.वे मुद्दामा जि.प्रका. भक्तपुरमा मिति २०५०।५।२१ गते देखि हिरासतमा राखी २०५०।६।२२ मा सदरखोर डिल्लीवजारमा थुनामा राख्न ल्याएको हो । तीलु घलेलाई पहिलो पटक जि.प्रका. भक्तपुरमा आफू हिरासतमा वस्दा देखेको हो । उनलाई त्यहां कहिले ल्यायो लग्यो दिन थाहा भएन । त्यहां उनलाई ल्याएको भोलिपल्ट पुरुष वन्दी गृहवाट मलाई केरकारमा वाहिर लांदा र फिर्ता ल्याउदा डण्डीको ढोकावाट देखेको हो उनलाई देख्ने अरुमा जीउ मास्ने वेच्ने मुद्दामा प्रतिवादीहरु चन्द्र बहादुर वस्नेत धन बहादुर चौलागाई पनि छन् भन्ने व्यहोराको श्याम परियारको भनाई रहेको मुचुल्का ।
१३. तीलु घलेसंग मेरो पहिले चिनापर्ची थिएन । मलाई जि.प्र.का. भक्तपुरमा महिला वन्दीगृहको कोठामा हिरासतमा राख्दा त्यही चिनेको हो । म सगैं उक्त वन्दी गृह (कोठा) मा २ रात संगै सुतेको हो दिन भरी उनलाई माथि कोठामा लगेर राख्दथे । सांझ ५।६ वजेतिर तल मलाई राखेको कोठामा ल्याउथे । निजलाई त्यहां ल्याएको पहिलो रात निज डराएकोले हामीले उनलाई भित्ता पटृी सुत्न दिएको हो । हामी संगै वस्नेहरुमा पोखरा तिर घर वताउने लक्ष्मी के.सी.भन्ने महिला थिईन भन्ने सदरखोर शाखामा थुनामा वस्न विमला परियारको भनाई रहेको मुचुल्का ।
१४. म समेत प्रतिवादी भएको जि.मा.वे.मुद्दामा जि.प्रका.भक्तपुरमा हिरासतमा रहंदा महिला वन्दी गृह र पुरुष वन्दी गृह नजिकै भएकोले वाहिर निकाल्दा र भित्र फर्काउदा तीलु घलेलाई देखेको हो । उनलाई महिला वन्दी गृहमा राखिएको थियो । वहां त्यहां ३ रात जती वस्नु भयो जस्तो लाग्छ । ल्याएको र लगेको दिन किटान गर्न सक्दिन भन्ने समेत सदर खोर डिल्ली वजारमा थुनामा रहेको चन्द्र बहादुर वस्नेतको र सोही व्यहोरको धन बहादुर चौलागाईको भनाई रहेको मुचुल्का ।
१५. जि.प्र.का.भक्तपुरको भवनको मूलढोका पूर्व तर्फ फर्केको भुई तलाको दक्षिण तर्फ ५ वटा कोठा शौचालय, एवं दर्ता चलानी गर्ने ठुलो खुल्ला हल भएको र भुई तलाकै उत्तर तर्फ पुरुष वन्दी गृह कोठा महिला वन्दी गृह कोठा र क्वाटर गार्डको कोठा भएको भवनको पहिलो तल्लामा पूर्व पटृी प्रहरी शाखा साइनवोर्ड टांगिउको पश्चिम तर्फ आर्थिक प्रशासन शाखाको साइनवोर्ड समेत भएको दक्षिण पश्चिम तर्फ प्र.ना.उ. चुडा बहादुर श्रेष्ठको कार्यालय कोठा भएको सो भवनको दोश्रो तल्लामा प्र.नि रेतज बहादुर तथा कर्ण बहादुर लिम्वु वस्ने कोठा भएको उक्त कोठाको दक्षिण तर्फ भान्छा कोठा संगै जोडिएको सो कोठाको पश्चिम तर्फ संचार कक्ष भनी साईनवोर्ड टांगिएको प्र.नि.रेतज बहादुर ढुंगाना र कर्ण लिम्वुको कोठामा २ वटा पलङ सहितको विछ्यौना राखिएको पूर्व र उत्तर तर्फ झ्यालमा भेण्टिलेशन भन्दा तल नीलो रङको पर्दा रहेको टेवुलमाथि टेलिभिजन डेक स्पीकर समेत रहेको भन्ने समेत व्यहोराको २०५०।६।२० मा श्री स.अ.वाट भएको आदेशानुसार का.जि.अ. का श्रेस्तेदार कुमुद प्रसाद शर्मावाट भएको मिति २०५०।६।२३।७ को जिल्ला प्रहरी कार्यालय भक्तपुकरको प्रकृति मुचुल्का ।
१६. सदर खोर शाखा डिल्ली वजारवाट आजैका मितिमा प्रहरी सुरक्षासाथ ल्याइएकी महिला तीलु घलेलाई आफू यस जि.प्र.का मा हिरासतमा रहदा देख्नु भयो भएन भनी सोधनी भएकोमा मेरो अगाडी उपस्थित गराइएकी यी महिलालाई झलक्क देखेको सम्म हो, वोलचाल भएन होइन निजलाई पल्लो कोठामा राखेको जस्तो लाग्छ । कहिले देखि निजलाई यहां ल्याएका हुन भन्न सक्तिन भनी का.जि.अ. का श्रेस्तेदार कुमुद प्रसाद शर्मा समक्ष जवरजस्ती करणी गरेको भन्ने अभियोगमा जि.प्र.का. भक्तपुरमा २०५०।६।१३ देखि हिरासतमा रहेको वर्ष ५८ को कान्छा ज्याख्वाले गरेको मिति २०५०।६।२२।६ को कागज ।
१७. यहि २०५० साल आश्विन १० गते भन्दा अगाडि देखि जि.प्र.का.हनुमानढोमा हिरासतमा रहंदा हाल यहां उपस्थित गराएकी तिलु घलेलाई हनुमानढोकामा नै हिरासतमा रहंदा देखेको हुं । त्यहां हिरासतमा पुरुष र महिलालाई छुट्टा छुट्टै कोठामा राखेता पनी शौचालय निस्कदा र त्यही करिडोरमा ओहोर दोहोर गर्दा निज तिलु घले संग देखा देख हुन्थ्यो निज तिलु घलेलाई २०५० साल आश्विन १० गते भन्दा २।४ दिन अघिवाट हनुमानढोमा ल्याएको हो । निज तिलुघलेलाई माथिको आदेशानुसार भेट्न नदिनु भनि भेटन आउनेलाई भेट्न नदिएको सुनेको हो भनि सोलुखुम्वू जिल्ला वेरुङ गा.वि.स. वडा नं. १ घर भई हाल काठमाण्डौं जिल्ला सदर खोर डिल्ली वजारमा नागरिकता कीर्ते मुद्दामा थुनामा रहेको वर्ष ३२ को सागर तामाङ र यहां उपस्थित गराइएकी तिलु घलेलाई मिति २०५०।६।६ गते पक्राउ गरी हनुमानढोकामा ल्याइएको हो। मलाई पनि त्यही हनुमानढोकामा लागू औषधीको अधियोगमा हिरासतमा राखिएको थियो । निज तिलुघले र मलाई डि.एस.पि. कार्यालय हनुमान ढोमा एउटै कोठामा राखिएको हुंदा निज तिलु घलेलाई चिनेको हो । निजलाई हनुमानढोकामा ल्याएको दिनमा हामी वाहेक अरु २ जना महिला समेत थिए । उनीहरुको नाम लक्ष्मी तामाङ र मिङमा लामा हो । उनीहरुलाई जीउमास्ने वेच्ने अभियोगमा ल्याएको भन्दथे । तिलु घलेसंग म १४ आश्विन सम्म हनुमान ढोकामा एउटै कोठामा वसेको हो । १४ गते विहानै निज तिलु घलेलाई सामान सहित काठावाट वाहिर लग्यो । कहां लग्यो थाहा भएन । उनको सामान मैले नै मिलाई दिएको (गुण्टा) कसिदिएको हो । तत्पश्चात एकै चोटी २०५०।६।१६ गते मात्र निज तिलुघलेलाई पुनः हनुमानढोकामा ल्याए भनी का.जि.डल्लु वडा नं. १५ घर भई हाल सदरखोर डिल्लीवजारमा लागू औषधीको अभियोगमा थुनामा राखिएको वर्ष ४८ को लक्ष्मी कपालीले सदरखोर शाखा डिल्ली वजारमा गरि दिएको मुचुल्का ।
१८. मिति २०५०।६।२१ मा सदरखोर शाखा डिल्लीवजार गई निवेदिकाले उल्लेख गरे वमोमिजका व्यक्तिहरु सागर तामाङ र लक्ष्मी कपली समेत संग आवश्यक सोधपुछ गर्ने क्रममा निज सागर तामाङ नागरिकता किर्ते मुद्दामा २०५०।६।१० भन्दा अघि जि.प्रका. हनुमानढोकामा हिरासतमा रहदा सो २०५०।६।१० भन्दा २।४ दिन अगाडी तिलु घलेलाई हनुमाढोकामा ल्याइएको र उनलाई वाहिरीया मानिससंग भेटघाट गर्न नदिएको भनेको लागू औषधीको अभियोगमा सदरखोर शाखा डिल्ली वजारमा रहेका लक्ष्मी कपाली २०५०।६।६ देखि जि.प्र.का.हनुमान ढोकामा वस्दा तिलु घलेसंग १४ आश्विन सम्म एउटै कोठामा रहेको र १४ गते विहानी त्यहावाट तिलुघलेलाई वाहिर लगिएको १६ गते मात्र पुनः हनुमानढोकामा ल्याएको हो र १४गते दिनलाई वाहिर लान लाग्दा लक्ष्मी कपालीले नै गुण्टाहरु मिलाई दिएको रहेछ । जांच वुझको दोश्रो दिन २०५०।६।२२ मा जि.प्र.का भक्तपुरमा जांदा सोधिएको प्रश्नको जवाफ तथा माग गरको विवरण आफ्नो उच्च अधिकृतसंग सोधेर मात्र दिने अनुरोध गर्दै काममा रोकावट आयो । मिति २०५०।६।१३ देखि जवर्जस्ती करणीको अभियोगमा जि.प्रका भक्तपुरमा हिरासतमा रहेका ५८ वर्षीय कान्छा ज्याख्वा संग सोधपुछ गर्दा निजले तिलुघलेलाई जि.प्रका. भक्तपुर मै झलक्क देखेको जस्तो लागेको सोही तलाको प्र.नि.रेतज बहादुर ढुंगाना र कर्ण बहादु लिम्वुको कोठा तर्फ समेत गर्दै उक्त कोठामा राखेको जस्तो लाग्छ भन्ने जवाफ आयो । जि.प्र.का.भक्तपुरका ३ जना प्रहरी निरिक्षकको दरवन्दी भएता पनि हाल २ जना मात्र कार्यरत रहेको । कार्यालय प्रमुख प्रहरी उपरीक्षक अत्यावश्यक काम छ भनी केही वेरमा आउने भनी वाहिर निस्केको र २ जना अधिकृतहरुसंग वुझ्दा तिलु भन्ने व्यक्ति त्यहां थुनामा नरहेको वताउनु भयो ।
१९. एक कर्यालयवाट अर्को कार्यालयमा कुनै पनि सामान र मानिस पठाउदा वा ल्याउंदा दर्ता चलानी कितावको अभिलेखमा तत्सम्वन्धी आश्विन १४ गते देखि १६ सम्मको दर्ताचलानी हेदा तत्संवन्धी पत्र नपाइएको र अपराध अनुसन्धान सम्वन्धी २० नं. डायरी रहने गरेको र उक्त डायरीमा पनि पत्रहरु आदान प्रदान भएको अभिलेख रहेनगरेको वुझिएकोले सो फांटको दर्ताचलानी कितावमा सम्वन्धीत पत्रहरु आदान प्रदान भएको अभिलेख रहने गरेको वुझिएकोले सो फांटको दर्ता चलानी कितावमा सम्वन्धित पत्रहरु आदान प्रदान भएको नदेखिएको हिराशतमा रहेका व्यक्तिहरुको अभिलेख कहां राखिन्छ भनी वुझ्दा अदालतवाट म्याद थप भएका थुनुवाहरुको नाममात्र अभिलेख राख्नेगरेको र थुनुवाहरुलाई खाना विदाको हाजिरकापी रहन्छ कि भनी सोद्वा खाना खानेको संख्या सम्म लेखाशाखाले अभिलेख राख्नेगरेको । सोही मितिमा हिराशतमा रहने व्यक्तिहरुवाट जानकारी प्राप्त हुन सक्ने देखिएकोले प्र.ना.उ संग सोद्वा स्थायी रुपको आदेशवाट सुरक्षा गार्ड हवलदार लाई तोकिएको हुन्छ । उसैले अन्य ४ जना प्रहरी जवानहरु तोक्ने गरेको र १४ गते देखि १७ गते सम्मको कसको डिउटी थियो भन्ने कुरा आफूलाई सम्झना नभएको कुरा वताउनु भएको । वेलुकीको डिउटीमा वस्दा प्र.नि.रेतज बहादुर ढुंगाना र कर्ण बहादुर लिम्वु कार्यालयको दास्रो तलाको कोठामा वस्नु हुने जानकारी प्र.ना.उ. वाट पाइयो कार्यालयको दोस्रो तलामा रहेको उक्त कोठामा दक्षिण तर्फ भान्छा कोठा जोडिएको पश्चिम तर्फ संचार कोठा रहेको दक्षिण र उत्तर तर्फ कौशीहरु रहेको र निरीक्षकको उक्त कोठामा पूर्व सिरानी हुने गरी २ वटा पलङ समान्तर रुपमा राखिएको पूर्व र उत्तर तर्फ भन्टिलेसन भएको झ्याल रहेको झ्यालमा भेन्टीलेशन भन्दा तल (भेन्टीलेशन चाही खुला हुने गरी ) निलो रंगको पर्दा हालिएको कोठाको पश्चिम तर्फ रहेको टेवुमाथि टि.भि.डेक र स्पीकर रहेको भूइमा रातो सतरंजा विछ्याइएको क्यासेट प्लेयर भने देखिएन । उक्त कोठाको ढोका दक्षिण तर्फ रहेको देखियो । निवेदिकाले ठांउठांउमा उल्लेख गरेका प्रहरी कर्मचारीहरु रेतज बहादुर ढुंगाना, कर्ण बहादुर लिम्वु ,नुतन देवी श्रेष्ठ (प्र.स.नि.) नारायण सुवेदी (प्र.ज.) र विनोद तामाङ प्र.ज. उक्त कार्यालयमा कार्यरत देखियो ।
२०. त्यसपछि २०५०।६।२३ मा सदरखोर डिल्लीवजार आउने जि.प्र.का.भक्तपुरमा जि.मा.वे.मुद्दामा हिरासतमा रहेका दम्पत्ति सोधखोज गर्दा निजहरुलाई २२ गते शुक्रवार सदरखोर पठाएको भन्ने जि.प्र.का.भक्तपुरको भनाई देखिन्छ र निजहरु सदरखोरमा शुरुवाट नै आएको कुरा त्यहांको अभिलेख र निज थुनुवाहरुको भनाईवाट प्रष्टीन आउछ । जि.प्र.का.भक्तपुर मा जि. मा.वे. मुद्दामै भाद्र २१ गते देखि हिरासतमा रहेका व्यक्तिहरु श्याम परियार विमला परियार चन्द्र बहादुर वस्नेत धन बहादुर चौलागाई मध्ये विमला र श्याम लोग्ने स्वास्नी भएको निजहरुको भनाईवाट देखिन्छ । यी मध्ये विमला चौलागाई तिलु घले संग २ रात संगै सुतेको तिलु घले आत्तिएर डराउदा आफूले सान्तवा दिई भित्तापटृी सुत्न दिएको तिलुलाई दिन भरी माथि कोठामा लगिने गरेको र सांझ ५।६ वजे मात्र तल ल्याउने गरेको भन्ने भनाई छ सोहीताका उनीहरुसंग हिरासतमा वस्ने लक्ष्मी के.सी भन्ने महिलाको घर पोखरा भएको उनी छुटेर गइ सकेको कहां गएको भन्ने थाहा नभएको भन्ने वुझियो । सोही मुद्दाका अन्य प्रतिवादीहरु श्याम परियार चन्द्र बहादुर वस्नेत र धन बहादुर चौलागाई महिला र पुरुष वन्दी गृह नजिकै भएकोले वाहिर निस्कदा देखेको राती रोए कराएको सुनेको कुरा वताउछन् तर उनीहरुले दिन किटान गर्न भने सकेनन् । जि.प्र.का. हनुमानढोकामा आजै १०.३० वजे गई निवेदकले भने वमोजिमको रजिष्टर किताव मगाई हेर्दा थुनुवा सम्वन्धमा २ वटा रजिष्टर भएको जानकारी प्राप्त भयो रजिष्टरमा पाना पिच्छे पाना नं. राख्ने चलन रहेनछ । अपराध अनुसन्धान समुहमा लैजादांको भरपाई किताव २०५०।५।२० देखि लेखिएको उक्त रजिष्टरमा मिति २०५०।६।४ जनिएको पाना पछि वाइन्डीङ खुल्ला देखिन्छ । प्रत्येक मितिको दर्ता पछि नयां दर्ता मिति चढाइन्छ । यसरी दर्ता मिति राख्दा सो पानाको सिरानमा भए एक हरफ छाडी मिति लेख्ने गरेको पाइयो तर मिति २०५०।६।४ लेखेको पानाको विच तिर २०५०।६।५ लेखिएको ठाउंमा सच्याई उक्त ५ गते लाई ६ वनाएको र त्यसैको दायां पटिृ पानामा सो पाना भरी प्रयोग नभएको किसिमको कालो मसीले २०५०।६।६ लेखि उक्त ६ गतेलाई ७ वनाएको देखिन्छ । सोही पानामा त्यसको ४ हरफ पछि छेउमा २०५०।६।७ छेउवाट घूसाएर लेखिएको देखिन्छ । त्यस पछिको पांचौ हरफमा २०५०।६।८ घुसाएर लेखेको देखिन्छ । त्यसपछि ९ गते विदा भएकोले १० गतेको मितिको दर्ता शुरु भएको पाइन्छ । १० गते पछिको दर्ता शुरु भएपछि सो रजिष्टरको वाइन्डिङ मजवुत देखिन्छ । सो २०५०।६।४ पछि केही पाना झिकिएको देखिन्छ । हनुमाढोका मै रहेको भनिएका थुनुवाहरु ववेचन भन्ने चाइनिज मिङमार लामा संग वुझ्न खोज्दा मिङमार लामालाई अदालत तिर लगेको र ववेचन भन्ने चाइनिज संग भाषिक कठिनाईको कारण यथार्थ कुरा वुझ्न पाइएन । हनुमानढोका मानै जि.मा.वे मुद्दामा हिरासतमा रहेकी लक्ष्मी कर्कीले मिङमा लामालाई आफूलाई भन्दा अगाडि नै त्यहा ल्याइएको भन्ने कुरा सम्म डराउदै भनिन । लक्ष्मी कपालीसंग पनि त्यहांसंगै वसेको कुरा वताइन । तर तिलु घलेको वारेमा मलाई थाहा छैन मात्र भनिन जांचवुझको क्रममा सदर खोर शाखामा निर्धक्कसंग थुनुवाहरुले आफ्नो व्यहोरा वताए तर जिल्ला प्रहरी कार्यालयहरुमा रहेका थुनुवाहरु समक्ष केही प्रश्न राख्नु अघिनै मलाई केही थाहा छैन भनी उम्कन खोजेको वरु आफ्नै व्यक्तिगत गुनासो पोखेका पाइयो भन्ने समेत काठमाण्डौं जिल्ला अदालतका श्रेस्तेदार शाखा अधिकृत कुमुद प्रसाद शर्माको जांचवुझ प्रतिवेदन ।
२१. यसमा यस अदलतको आदेशानुसार भएको जांचवुझ प्रतिवेदन समेतलाई विचार गर्दा तिलु घलेलाई २०५०।६।६ गतेमानै थुनामा राखेको भन्ने सरसर्ती हेर्दा देखिन आएकोले जि.प्रका.काठमाण्डौंवाट २०५०।६।१७ मा मात्र पक्राउ गरी मुद्दाका सम्वन्धमा थुनामा राखेको भन्ने कुरा सांचो देखिन नआएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३९ अनुसार हिरासतमा राख्ने अधिकारी उपर कारवाही गर्नु पर्ने देखिन आएकोले हिरासतमा राख्ने प्रहरी उपरीक्षक रेवत बहादुर थापालाई ७ दिने म्याद दिई झिकाई वयान गराउनु र निजलाई वुझि कारवाही टुंग्याउन केही समय लाग्ने र थुनामा रहेकी तिलु घले महिला देखिएकोले समेत निजलाई यो वन्दी प्रत्यक्षीकरणको रिट को टूंगो नलागेसम्म हाजिर जमानी दिएमा जमानी लिई थुनावाट छोडी दिनु भनी का.जि.अ.का नाममा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३३(क) अनुसार यो आदेश जारी गरिएको छ भन्ने समेत यस अदालतको संयुक्त इजलासवाट भएको मिति २०५०।७।१७।३ को आदेश ।
२२. २०५०।६।१७ गते अगाडी तिलुघले को हो ? निज पेशा के गर्नु हुन्छ त्यस सम्वन्धी केही कुरा थाहा नभएको हुंदा निजलाई जिल्ला प्रहरी कार्यालय काठमाण्डौंले थुनामा राख्नु पर्ने अवस्था नपरेको हुंदा निजलाई मिति २०५०।६।६ गते देखि गैर कानूनी थुनामा नराखिएको भन्ने मेरो आफ्नो जिल्ला प्रहरी कार्यालयको थुनुवा सम्वन्धी नामावली लगत हेरी मैले सम्वन्धीत अदालत समक्ष लिखित जवाफ प्रस्तुत गरि सकेकी छु । निज तिलु घलेलाई मिति २०५०।६।१७ अगाडी थुनामा राखेको थिएन मिति २०५०।६।१७ गते लागू औषध सेवन गर्ने पक्राउ परेको व्यक्तिवाट उजुर गरे अनुसार निजलाई २०५०।६।१७ गते देखि जि.प्रका.काठमाण्डौंले पक्राउ गरी काठमाण्डौं जिल्ला अदालतको म्याद थप आदेश अनुसार हिरासतमा राखिएको व्यहोरा जाहेर गरेको छु । जिल्ला प्रहरी कार्यालय काठमाण्डौं मात्र हनुमान ढोकाखोर हिरासतमा थुनुवा राख्ने नभई त्यहां विशेष प्रहरी विभाग अध्यागमन विभाग राजश्व अनुसन्धान विभाग लागू औषध नियन्त्रण कार्यालय क्षेत्रीय प्रहरी इकाई कार्यलय समेतले अन्यत्र थुनुवा कोठा नभएको हुंदा त्हां नै थुनुवा ल्याने लैजनने गरिन्छ र सो सम्वन्धी जवाफ देही लगायतको सम्पुर्ण कार्य सोही विभाग वा कार्यालय नै हुनु पर्ने हुन्छ । २०५०।६।१७ गते पश्चात तिलु घले सम्वन्धमा निकै चर्चित भई मलाई समेत थुत्यो भन्ने लाल्छना लगाई म एउटा कर्तव्य निष्ट प्रहरी माथि निराधार आरोप मात्र लगाइएको हुंदा यी मानिसको के रहिछन् यिनको पेशा के हो वुझ्नु पर्ने जरुरी भएको हुदां वुझ्ना व्रिटिस पासपोर्ट होल्डर डेभिड म्याक्सवेट मिङक भन्ने व्यक्तिलाई मित्रराष्ट भारतको नयां दिल्लीमा लागू औषध हिरोइन समेत लिई काठमाण्डौंवाट दिल्ली उडानमा गएको अवस्थामा दिल्ली प्रहरीले पक्राउ गरी वयान गराउदा सम्पुर्ण विवरण दिई निज तिलु घलेले नै निजलाई हिरोइन दिएको भन्ने वयान निज डेभिडले दिएको हुनाले सो सम्वन्धी सम्पूर्ण विवरण दिल्ली इन्टरपोल मार्फत नेपालमा प्राप्त भई लागू औषध हेर्ने कार्यालय लागू औषध नियन्त्रण कार्यालयद्वारा निजलाई झिकाई वुझेको थियो भन्ने समेत सुनेको हुं । निजलाई कहां कसले वोलाएर कुन गाडीमा राखेर कहां लगेको थियो निजलाई नै थाहा हुनु पर्ने हो । मैले निजलाई २०५०।६।१७ गते अगाडि थुनामा नराखेकोले मलाई थाहा छैन । मैले निजलाइ मिति २०५०।६।६ गते देखि मेरो आफ्नो जिम्मेवारी अनुसार हिरासतमा नराखिएको र राख्नु पर्ने कारण समेत सो अवधि भित्र मलाई थाहा छैन भन्ने समेत जिल्ला प्रहरी कार्यालय काठमाण्डौंका प्रहरी उपरिक्षक रेवत बहादुर थापाले यस अदालतको संयुक्त इजलास समक्ष गरेको वयान ।
२३. यसमा तिलु घले उपर का.जि.अ. मा चलिरहेको लागू औषध सम्वन्धी मुद्दाको सक्कल मिसिल पेशीको दिन वेन्च समक्ष पेश गर्न ल्याउनु भनि का.जि.अ. मा लेखि पठाई नियम वमोजिम पेश गर्नु भन्ने समेत मिति २०५१।७।७ को यस अदालत संयुक्त इजलासको आदेश ।
२४. नियम वमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनमा रिट निवेदक तर्फवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री प्रकाश राउतले मेरो पक्ष तिलु घलेलाई मिति २०५०।६।६ गते देखि प्रहरीले पक्राउ गरेको हो । मेरो पक्षको आमा चित्र कुमारी घलेले पक्राउ गरेको कारण वुझ्न खोज्दा भेटघाट गर्नु खाना खान नदिइउको पक्राउ गरको कारण गरेको कारण पनि नवताइएको तथा थुनामा राखेको दिन देखि शारिरीक एवं मानसिक यातना समेत दिई पक्राउ पूर्जि समेत नदिई गैर कानूनी थुनामा राखेकोले विपक्षीहरुको काम कारवाही गैर कानूनी वदनियत पूर्ण अमानुषिक र प्रवृत्त भावनाले ग्रसित भएकोले प्रस्तुत रिट निवेदन मिति २०५०।६।१० मा दायर गरिएको हो ।
२५. जिल्ला प्रहरी कार्यालय हनुमान ढोका काठमाण्डौंको लिखित जवाफमा मेरो पक्षलाई थुनामा राखिएको छैन भनी अदालतलाई गुमराहमा राख्न खोजियो । मेरो पक्षले थुनामा रहंदा पठाएको चिठीवाट अमानुषिक यातना दिएको स्पष्ट हुन्छ । मेरो पक्षलाई मिति २०५०।६।६ गते देखि १४ सम्म गैर कानूनी रुपमा थुनामा राखेको भन्ने मेरो पक्षले यस अदालतमा विवरण सहितको निवेदन पेश गर्दा उल्लेख गरेकी छन् । जस अनुसार यस अदालतका संयुक्त इजलासवाट भएको आदेशानुसार काठमाण्डौं जिल्ला अदालतका श्रेस्तेदारवाट न्यायिक जांचवुझ हुंदा तिलु घलेलाई मिति २०५०।६।६ गते देखि नै प्रहरी हिरासतमा राखिएको समेत व्यहोरा तत्काल विभिन्न मुद्दामा थुनामा रहेको लक्ष्मी कपाली, लक्ष्मी कार्की, मिङमा लामा, सागर तामाङ लगायतका थुनुवा तथा वन्दीहरुले किटानीसाथ लेखाई दिएको छन् । यसका साथै न्यायीक जांचवुझको सिलसिलामा काठमाण्डौं जिल्ला अदालतका श्रेस्तेदारले यस अदालतमा दिएको प्रतिवेदनवाट पनि मेरो पक्षलाई मिति २०५०।६।६ गते देखिनै प्रहरीले विभिन्न ठाउंमा चलान गर्दै हिरासतमा लिएको पुष्टि भएको छ । यस अदालतको आदेशानुसार वयान गर्न उपस्थित प्रहरी उपरिक्षक रेवत बहादुर थापाले परेको वयान कागजको सवाल जवाफ ३ मा मिति २०५०।६।१७ गते अगाडी निवेदकलाई थुनामा राखेको थिएन भनी किटानी साथ भन्न हुन्छ भने गैर जिम्मेवारीपूर्ण विरोधाभाष वयान गर्नु हुन्छ । मिति २०५०।६।१७ गते लागू औषध सेवन गर्ने पक्राउ परेका व्यक्तिवाट पोल उजूर गरे अनुसार मेरो पक्षलाई मिति २०५०।६।१७ गते देखि जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी काठमाण्डौं जिल्ला अदालतले म्याद थपको आदेश गरे अनुसार थुनामा राखेको भन्ने जिकिरका हकमा सो जिकिर कपोल कल्पित छ । मेरो पक्षलाई लागू औषध मुद्दामा फसाउने दुषित अभिप्रायलाई कार्यान्वयन गर्न मिति २०५०।६।१७ मा लागू औषध मुद्दामा पक्राउ परेकी हुन भनी झुटृा कुरा उल्लेख गरको हो । यति मात्र होइन मेरो पक्ष नारी भएको र मिति २०५०।६।६ गते देखि प्रहरीले अमानुषिक रुपमा हिरासतमा राख्दा प्रहरी निरिक्षकको निजी कोठामा समेत लगेको भन्ने मेरो पक्षको निवेदन र निज हिरासतमा रहदा लेखेको पत्रवाट समेत देखिएको छ । तसर्थ मेरो पक्षलाई वन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी गैर कानूनी थुनावाट मुक्ती दिई दुषित मनसायले लागू औषध मुद्दा चलाएको हुंदा सो लागू औषध मुद्दा समेत नचलाउनु र गैर जिम्मेवारी पूर्ण कारवाही गर्ने सम्वन्धीत प्रहरीहरु उपर कारवाही गरी पाउं भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
२६. जिल्ला प्रहरी कार्यालय काठमाण्डौं समेतको तर्फवाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्टले रिट निवेदक तिलु घलेलाई जिल्ला प्रहरी कार्यालय काठमाण्डौंले मिति २०५०।६।६ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा वन्दी वनाएकी भनी रिट निवेदनमा उल्लेख गरेको छु । तर जिल्ला प्रहरी कार्यालयले २०५०।६।१४ गते निवेदकलाई पक्राउ गरि थुनामा राखेको छैन भनेको छ। २०५०।६।१७ गते निवेदकलाई लागू औषध मुद्दाको सिलसिलामा काठमाण्डौं जिल्ला अदालतवाट म्याद थप गरेको भन्ने मिसिलवाट देखिन्छ । प्रहरी उपरिक्षकले दिएको लिखित जवाफमा तिलु घलेलाई थुनेको छैन भनेकोमा कुनै गल्ती छैन । पछि व्रिटिस पासपोर्ट होल्डर डेभिड म्याकसेटले मिङक भन्ने व्यक्तिलाई मित्र राष्ट्र् भारतको नयां दिल्लीमा लागू औषध हिरोइन समेत लिई काठमाण्डौंवाट दिल्ली उडानमा गएको अवस्थामा दिल्ली प्रहरीले पक्राउ गरी वयान गराउदा तिलु घलेले नै निजलाई हिरोइन दिएको भनी निज डेभिडले पोल गरेको हुनाले दिलली इन्टर पोल मार्फत नेपालमा लागू औषध हेर्ने कार्यालय लागू औषध नियन्त्रण कार्यालयद्वारा तिलु घलेलाई लागू औषध नियन्त्रण कार्यको सन्दर्भमा समातिएको तथा कुमार वरुवालले तिलु घलेवाट लागू औषध किनेको भनेवाट मिति २०५०।६।१७ गते पक्राउ गरी काठमाण्डौं जिल्ला अदालतवाट म्याद थप गरेको हो । अदालती हिरासतमा आई सकेको हुनाले वन्दीप्रत्यक्षीकरणको आदेश जारी हुनु पर्ने होइन भन्ने समेत वहस गर्नु भयो ।
२७. विद्वान अधिवक्ता तथा विद्वान वरिष्ठ सरकारी अधिवक्ताले गर्नु भएको वहस समेत सुनि निर्णय तर्फ विचार गर्दा मिति २०५०।६।६ गते दिउंसो ३ वजे देखि मेरी छोरी तिलु घले कोठावाट वाहिर निस्केको र साही दिन सांझ ६ वजेतिर छोरीलाई हनुमानढोकामा थुनी राखेको छ भन्ने टेलिफोनवाट जानकारी प्राप्त भयो । त्यसपछि किन थुनेछन भनी हनुमान ढोकामा तथ्य कुरा वुझ्न जांदा भेटघाट गर्न समेत दिइएन । पक्राउ गर्नु परेको कारण समेत वताइएन । पक्राउ गर्नु पर्ने कारण र थुनुवा पुर्जि समेत दिएको छैन । छोरीले अकारण वन्दी जीवन विताउनु परेको मात्र नभई शारिरीक तथा मानसिक यातना समेत दिइएको र त्यसरी अनुचित तवरले थुनामा राख्न पाउने अधिकार विपक्षीलाई कुनै पनि कानूनले प्रत्याभुत नगरेकोले वन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी तिलु घलेलाई मुक्त गरि पाउं भन्ने समेत रिट निवेदन जिकिर रहेको पाइन्छ । वन्दी भनिएको तिलु घलेलाई यस कार्यालयवाट वन्दी वनाई नराखिएको हुंदा अनावश्यक अवास्तवीक तथा तथ्य बिहिन कुराहरु रची दिएको रिट निवेदन खारेज गरी पाउं भन्ने समेत लिखित जवाफ देखिन्छ ।
२८. विपक्षीको लिखित जवाफमा तिलु घले जिल्ला प्रहरी कार्यालयमा वन्दी छैन भनी उल्लेख गरेता पनि आजै विहान मात्र तिलु घलेले जि.प्र.का.हनुमानढोकावाट चिठी पठाएको र आज १० वजेको समयमा निज तिलु घलेलाई प्रहरी ३ जवानले आफ्नै घर डेरामा ल्याई डेरा खान तलासी गरी पुनः जि.प्र.का.हनुमानढोका तर्फ लगेका छन भनी मिति २०५०।६।१७ मा चित्र कुमरी घलेले यस अदालत समक्ष निवेदन दिएको र यस अदातचलत संयुक्त इजलासवाट निज तिलु घलेलाई ४८ घण्टा भित्र यस अदालतमा उपस्थित गराई दिनु भनी श्री मध्ये क्षेत्र प्रहरी कार्यालय काठमाण्डौंलाई लेखि पेशीको सूचना दिई पेश गर्नु भन्ने मिति २०५०।७।१७ मा भएको आदेशानुसार जिल्ला प्रहरी कार्यालय काठमाण्डौं (अपराध अनुसन्धान तथा कारवाही शाखा) वाट स.नि.नारायण वशादुर रायमाझीको प्रतिवेदनले वादी श्री ५ को सरकार प्रतिवादी कुमार वरुवाल समेत भएको लागू औषध मुद्दामा पक्राउ परी आएको तिलु घलेलाई काठमाण्डौं जिल्ला अदालतको आदेशले अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय काठमाण्डौंमा हिरासतमा रहेको तिलु घलेलाई जिल्ला प्रहरी कार्यालयका प्र.नि.प्रकाश अधिकारी जिम्मा लिई यस अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालयको २०५०।६।१९ को पत्रवाट देखिन आउछ । यस अदालत संयुक्त इजलासवाट २०५०।६।२० गते आदेश हुंदा निवेदीका तिलु घले स्वयंले मिति २०५०।६।६ देखि हाल सम्म आफू प्रहरी हिरासत थुनामा रहेको भनी तत् सम्वन्धी आफ्नो प्रमाण समेत खुलाई आज निवेदन दिनु भएकाले थुनाको सम्वन्धमा यथार्थ कुरा यकिन गर्नको लागि निवेदिकाले आफ्नो निवेदनमा उल्लेख गरेका तत् तत् ठाउंमा निवेदिकालाई का.जि.अ.को श्रेस्तेदार जिम्मा लगाई निज निज निवेदिकाका कानून व्यवसायी श्री प्रकाश राउत साथ प्रहरी सुरक्षमा लगि तत् सम्वन्धमा निजले निवेदनमा दिएको प्रमाण समेत कानून वमोमिज श्रेस्तेदारले वुझी यस अदालतमा प्रतिवेदन पेश गर्ने र निवेदिका हाल अनुसन्धानको सिसिलामा जिल्ला अदालतको अनुमतीवाट प्रहरी हिरासतमा रहेको भन्ने देखिएकाले उक्त ठाउं प्रहरी हिरासतमा राख्न उचित नदेखिदा आज देखि निवेदीकालाई डिल्लीवजार सदरखोर काठमाण्डौंमा राख्नु र अनुसन्धानको सिलसिलामा निवेदिकालाई आवश्यक परे अदालतका कर्मचारी जिम्मा लगाई प्रकरी सुरक्षासाथ काम सम्पन्न भएपछि त्यहि सदर खोरमा ल्याउने पठाई दिने अनुसन्धान एवं मुद्दाको सिलसिलामा जिल्ला अदलत वा प्रहरी स्वयले निवदिकालाई छोडने तारेखमा राख्ने वा जमानतमा छाड्ने आदेश दिएमा वाहेक यस अदालतले अन्यथा आदेश नदिए सम्म सोही सदर खोर डिल्लीवजारमा राख्नु भन्ने आदेश भएको पाइन्छ ।
२९. यस अदालतको उपयुक्त आदेश वमोमिज न्यायिक जांच वुझको सिलसिलामा प्रहरी हिरासतमा के कस्ता वन्दीहरु छन् भनी जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा कार्यारत कर्मचारीवाट मुचुल्का गराउदा त्यस कार्यालयमा मिङमा लामा र लक्ष्मी कार्की जिउ मास्ने वेच्ने मुद्दामा र सिता गुरुङ कान्छी तामांङ कुमारी लामा आङ लिमा सेर्पा पार्वती थापा समेतका थुनुवाहरु महिला वन्दीगृहमा राखिएको र ववचेन भन्ने चाइनिज पुरुष वन्दी गृहमा राखिएको छ। अन्य पुरुष पनि विभिन्न अधियोगमा थुनामा छन भनी प्र.ना.उ. यादव अधिकारी प्र.नि.वावुराम कार्की प्र.नि.प्रकाश अधिकारी समेतले मुचुल्का गरि दिएको रहेछ । जि.प्र.का.भक्तपुरको भवनको भवन प्रकृति मुचुल्का हुंदा मुलढोका पूर्व तर्फ फर्केको भुइ तलाको दक्षिण तर्फ ५ वटा कोठा शौचालय एवं दर्ता चलानी ठुलो खुल्ला हल भएको र भुईलताकै उत्तर तर्फ पुरुष वन्दी गृह कोठा महिला वन्दी गृह कोठा र क्वाटर गार्डको कोठा भएको भवनको पहलो तल्लामा पूर्व पटिृ प्रहरी शाखा र राजनैतिक अन्वेषण शाखा भनी छुट्टा छुट्टै कोठामा सोनो साइनवोर्ड टांगिएको पश्चिम तर्फ आर्थिक प्रशासन र प्रवन्ध शाखाको सोनो साइनवोर्ड झुण्ड्याइएको दुइवटा कोठाका अतिरिक्त शौचालय पनि भएको उत्तर तर्फ व्यारेक र उत्तर पूर्व तर्फ व्यारेक कोठा भएको दक्षिण पश्चिम तर्फ प्र.ना.उ चुडा बहादुर श्रेष्ठको कार्यालय कोठा (एटेच वाथरुम सहित) भएको सो भवनको दोस्रो तल्लामा प्र.नि.रेतज बहादुर तथा कर्ण लिम्वु वस्ने कोठा भएको उक्त कोठाको दक्षिण तर्फ भान्छा कोठा संगै जोडिएको सो कोठाको पश्चिम तर्फ संचार कक्ष भनि साइनवार्ड टांगिएको यी कोठाहरुको दक्षिण र उत्तर तर्फ फराकिलो कौसीहरु रहेका प्रहरी निरिक्षक रेतज बहादुर ढुंगाना र कर्ण लिम्वुको कोठामा पूर्व सिरानी भई २ वटा पलङ (खाट) सहितको विछ्यौना राखिएको पूर्व र उत्तर तर्फ झ्याल रहेको झ्यालमा माथि पटृी भेन्टीलेसन रहेका झ्यालमा भेन्टीलेसन भन्दा तल निलो रङ को पर्दा रहेको कोठाको पश्चिम तर्फ रहेको टेवुलमाथि टेलिफोन डेक र स्पीकर रहेको कोठामा तलपटृी रातो सतरंजा विछ्याइएको कोठामा तलपटृी कालो र माथि सेतो रंग लगाएको कोठामा वन्दीका पोशाकहरु झुण्ड्याइएको दक्षिण तर्फ उक्त कोठाको ढोका भएको देखिन्छ भनी जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रनि.रेतज बहादुर ढुंगाना प्र.स.नि वलराम थापा प्र.स.नि. हरि बहादुर श्रेष्ठ र प्र.ना.नी वासुदेवी थापाको रोहवरमा भवन कोठाको प्रकृति मुचुल्का भएको देखिन्छ । उक्त भवनको प्रकृति मुचुल्कामा भएको विवरण तीलु घलेले यस अदालतमा मिति २०५०।६।२० मा निवेदन दिदा उल्लेख गरको विवरण संग मेल खान आएको समेत पाइन्छ ।
३०. मिति २०५०।७।१७ को यस अदालत संयुक्त इजलासको आदेशानुसार वयान गर्न उपस्थित भएका प्रहरी उपरिक्षक रेवत बहादुर थापाले आफ्नो र आफ्नो मातहतका प्रहरी कार्यालयहरुले मिति २०५०।६।१७ भन्दा अगाडि तिलु घलेलाई थुनामा राखिएको छैन । मिति २०५०।६।१७ गते मात्र व्रिटिस पासपोर्ट होल्डर डेभिड म्याक्सेवल मिङकको पोल अनुसार दिल्ली इन्टर पोलवाट समेत सम्पुर्ण विवरण प्राप्त भई लागू औषध नियन्त्रण कार्यालयद्वारा निज तिलु घलेलाई झिकाई वुझेको थियो भन्ने सुनेको हुं भनि वयान दिएका छन् तापनि जवरजस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय भक्तपुरमा मिति २०५०।६।१३ देखि हिरासतमा रहेका कान्छा जाख्वाले तिलु घलेलाई आफू हिरासतमा रहदा सोही जिल्ला प्रहरी कार्यालय भक्तपुरमा देखेको हो भनी कागज गरी दिएको छन् । यसका साथै नागरिकता कीर्ते गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा हिरासतमा रहंदा आफूले तिलु घलेलाई २०५०।६।१० गते भन्दा २।४ दिन अगाडि हनुमान ढोकामा ल्याएको हो भनि हाल सदर खोर शाखामा थुनामा रहेका सागर तामाङले र मिति २०५०।६।६ गते तिलु घलेलाई पक्राउ गरी हनुमान ढोकामा ल्याएको हो १४ गते आश्विन सम्म हनुमानढोकामा एउटै कोठामा वसेको र १४ गते विहानै सामान सहित तिलु घलेलाई वाहिर लग्यो । सामान मिलाई गुण्टा कसी दिएं । तत्पश्चात आश्विीन १६ गते पुनः हनुमान ढोकामा ल्याएको हो भनी लागू औषध मुद्दामा थुनामा रहेको लक्ष्मी कपालीले कागज गरि दिएको देखिन्छ । काठमाण्डौं जिल्ला अदालतमा विचाराधिन रहेको लागू औषध मुद्दामा प्रतिवादी कुमार वरुवालले अधिकार प्राप्त अधिकारी समक्ष मलाई २५ मिलिग्राम हिरोइन सहित पक्राउ गरिएको हो । सो वरामद भएको हिरोइन मैले का.न.पा. अन्तर्गत वडा नं. थाहा छैन पानी पोखरी वालुवाटार घर भई ठमेल तिर घुमफिर गर्ने मोटी खाल्की गोरी तिलु घले संग १ ग्राम लागू औषध हिरोइन रु ५००। मा खरिद गरी अन्य साथी संगीहरुलाई विक्रि गरी मैले सेवन गरि वांकि रहेका हिरोइन २५ मितिग्राम हो भनी मिति २०५०।६।१७ मा वयान गरेको देखिन्छ । मिति २०५०।६।१७ गते तिलु घले को डेरा खानतलासी गर्दा कुनै चिज वस्तु फेला नपरेको भन्ने खानतलासी तथा वरामदी मुचुल्कावाट देखिन्छ यस अवस्थामा न्यायिक जांचवुझको सिलसिलामा तिलु घलेसंगै प्रहरीका् विभिन्न स्थलको हिरासतमा रहंदा मिति २०५०।६।६ गते देखिनै पक्राउ गरी प्रहरीले हिरासतमा राखेको भनी कागज गरी दिने कान्छा जाख्वा, सागर तामाङ, लक्ष्मी कपाली लगायतका व्यक्तिले गरि दिएको कागज काठमाण्डौं जिल्ला अदालतका श्रेस्तेदारवाट भएको न्यायिक जांचवुझको प्रतिवेदन समेतवाट तिलु घलेलाई मिति २०५०।६।६ देखि नै पक्राउ गरी प्रहरीले विभिन्न ठाउंमा चलान गर्दै हिरासतमा राखेको भन्ने पुष्टी हुन आयो । प्रहरी उपरिक्षक रेवत वशादुर थापाले यस अदालतका संयुक्त इजलास समक्ष २०५०।६।१७ गते मात्र निवेदक तिलु घलेलाई पक्राउ गरेको हो भनि गरेको वयान विश्वसनिय मान्न मिलेन । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४ (६) वमोजिम पक्राउ गरिएको वा थुनामा राखिएको प्रत्येक व्यक्तिलाई पक्राउ भएको ठाउंवाट वाटाको म्याद थप लिनु पर्नेमा सो नगरी गैर कानूनी रुपमा थुनामा राखेको देखिएकोले वन्दी प्रत्यक्षीकरणको आदेशवाट निजलाई मुक्त गर्नु पर्नेमा मिति २०५०।७।१७ गतेमा यस अदालत संयुक्त इजलासको आदेशवाट हाल हाजिर जमानीमा छुटी रहेको देखिएकोले वन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी रहन परेन । काठमाण्डौं जिल्ला अदालतमा विचाराधिन रहेको लागू ओषधीका प्रतिवादी कुमार वरुवालेका पोलको आधारमा काठमाण्डौ जिल्ला अदालतवाट वन्दी तिलु घलेलाई म्याद थप लिई प्रहरी प्रतिवेदनमा निज उपर लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को (घ) (च) अनुसार अभियोग लगाई सोही एनेको दफा १४ को (१) को (छ) को उपदफा (१) अनुसार सजायको माग दावी गरको देखिएको र मिति २०५०।६।१५ मा पक्राउ परको कुमार वरुवालले मिति २०५०।६।१७ मा अधिकार प्राप्त अधिकारी सपक्ष गरको वयानको कागजमा तिलु घलेवाट रु. ५००। मा एक ग्राम लागू औषध हिरोइन खरिद गरेको भन्ने उल्लेख गरेका छ तापनि निजले तिलु घलेवाट मिति २०५०।६।६ अगाडि नै उक्त हिरोइन खरिद गरेको हो भन्न सकेको देखिदैन र तिलुघले मिति २०५०।६।६ मा पक्राउ परेपछि सो भन्दा पछि खरिद गर्ने स्थिति पनि नहंदा गैर कानूनी रुपमा हिरासतमा राखिएको तिलुघलेलाई मुद्दा चलाउने दुषित मनसायले अपराधमा संलग्न गराउने अठोट राखि लागूऔषध मुद्दामा कारवाही चलाएको कानून संगत भन्न मिलेन ।
३१. प्रस्तुत रिट नं. २७७८ मा भएको प्रहरी उपरिक्षक रेवत बहादुर थापा उपरको यस अदालतको मिति २०५०।७।१७ को आदेशानुसार अदालतको अपहेलना सन्दर्भमा निजसंग सम्वन्धीत कारवाहीको कागजातको प्रतिलिपि राखी छुट्टै फौज्दारी विविध लगतमा दर्ता गरी कानून वमोजिम गर्नु । यो आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम वमोजिम गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
मा.न्या.श्री कृष्ण जंग रायमाझी
इति संवत २०५१ साल पौष ११ गते रोज २ शुभम् ।