निर्णय नं. ५००८ - लिखत दर्ता बदर दर्ता कायम ।

निर्णय नं. ५००८ ने.का.प.२०५१ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायधीश श्री रुद्र बहादुर सिंह
माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य
सम्वत् २०५० सालको दे.पु.नं...१५५३
फैसला मिति : २०५१।११।९।३
मुद्दाः लिखत दर्ता बदर दर्ता कायम ।
पुनरावेदक वादी जिं सुनसरी धरान नगरपालिका वडा नं. ५ वस्ने कृष्ण प्रसाद श्रेष्ठ
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः ऐ.बस्ने सावित्री देबी श्रेष्ठ
§ मुलुकी एैन अंशधनको २ नं मौ भिन्न भएको कन्या,सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो अंश हकको चलमा सबै र अचलमा आधा सम्म कसैको मन्जुरी नभए पनि आंफ्नो खुश गर्न पांउछन् । कन्याले बाबु भए बाबुको र सधवा वा विधवाले उमेर पुगेका छोराहरु भए छोराहरुको मन्जुरी लिई अचल पनि आफ्नो खुश गर्न पांउछन् । भन्ने कानूनी व्यवस्था भईरहेको पाईन्छ । बिबादित सम्पुर्ण अचल सम्पत्ति फिरादीको आमा गोमा लक्ष्मीले आफ्ना छोराहरुको मन्जुरी बेगर प्रतिवादी सावित्री देबी श्रेष्ठलाई शेषपछिको वकस पत्र दिएको कुरामा बिबाद देखिदैन । उल्लेखित कानूनी व्यवस्था अनुसार गोमा लक्ष्मीले अंश भागको अचल सम्पति स्त्री अंश धनको २ नं. को उक्त व्यवस्थाले २०२६ सालमै छुट्टी भिन्न भएको गोपाल प्रसादको मन्जुरी लिनु नपर्ने भन्ने बादी तर्फको जिकिर पनि कानून संगत देखिदैन । उमेर पुगेका छोराहरुको मन्जुरी लिनु पर्ने कानूनी प्रावधानले निजको समेत हक सुरक्षित देखिन्छ ।
§ उमेर पुगेका छोराहरुको मन्जुरी लिनुनपर्ने विवादित अचल सम्पतिको आधारमा निजले सावित्री देबी श्रेष्ठलाई गरीदिएको शेषपछिको बकसपत्र कायमै रहने ।
§ विवादित अचल सम्पति वकसपत्र गरि दिए उपर उल्लेखित ३ जना छोराहरु मध्य गोपाल प्रसाद श्रेष्ठले उजुर नगरेकोले निजको भाग जतिको वकसपत्र लिखत बदर गरि रहनु पर्ने अवस्था नआउने ।
निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहल ।
विपक्षी तर्फवाटः
अबलम्वित नजीरः
फैसला
मा.न्या.रुद्र बहादुर सिंहः पुनरावेदन अदालत विराटनगरको फैसला उपर वादी तर्फवाट दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेन :
२. आमा गोमा देवी श्रेष्ठ र दाजु ठाकुर प्रसाद श्रेष्ठ उपर २०३९।११।११ मा अंश मुद्दा दायर रहेको जेठा दाजु गोपाल प्रसाद २०२६ सालमै घर सारमा वण्डा लिई छुटि वसेका वण्डा हुनु पर्ने हाम्रो अंशभागको सम्पत्ति हामी ३ जनामै संयुक्त नाउंमा दर्ता रहेछ भन्ने कुरा प्रतिउत्तर नक्कल लिदा थाहा भयो ।उक्त जग्गाहरु संयुक्त नै राखि मिलापत्र गरि पाउं भनी हाम्रो २०४१।१४।३१ मा सु.जि.अ.मा दरखास्त पर्दा वादीको वारेसले २०४१।५।२२ गतेको तारेख लिई गएको कारणवाट सो दिन मिलापत्र हुन सकेन सो पछि आमा विरामी भै अदालतमा आउन नसकेकी आमा गोमा लक्ष्मी आफ्ना कालगतिले परलोक भै २०४५।५।७ गते कृयाकर्म सकिएपछि विपक्षी सावित्रीले २०४५।१।३ मा आफ्नो भागमा पर्ने जग्गा मलाई सासुले शेषपछिका वकसपत्र गरि दिनु भएको भन्दा मालमा गै हेर्दा आमा गोमा लक्ष्मी श्रेष्ठवाट २०४५।१।३० मा आमाको भागमो जति धरान वार्डनं. ५ कि.नं. ३० को ०-२-७-१ जग्गा ३ भागको १ भाग हक लाग्ने जग्गा विपक्षीले शेषपछिको वकसपत्र पास गरी लिएको लेखत वदर गरी म वादी र ठाकुर प्रसादका नाउंमा दर्ता कायम गरी पाउं भन्ने समेतको वादी दावी रहेछ ।
३. सासु गोमालक्ष्मी समेतका अंशियारहरु २०२६ सालमा छुटृी वेगल भै वकसपत्र भएको सासु गोमा लक्ष्मी समेतको सवै अंशियार वेग्ला वेग्लै वसको सासु गोमा लक्ष्मीलाई पनि गोपाल प्रसाद र वुहारी म समेत भै रेखदेख गरेको २०४३ साल जेष्ठमा वांहा बसेको घर छाडी म वसेको घरमा आई वस्नु भएको र वहां वस्नू भएको घर जग्गा मलाई शेष पछिको वकसपत्र गरी दीनु भएको हुंदा यस्तो वकसपत्र लेखत वदर हुनु पर्ने होइन भन्ने मलाई समेत प्रतिवादी दावी रहेछ ।
४. वादी ठाकुर प्रसाद श्रेष्ठ र प्रतिवादी यिनै सावित्री श्रेष्ठ भएको लिखत दर्ता वदर र दर्ता कायम आजै यस अदालतवाटै फैसला भएको मुद्दामा लिखत र दर्ता वदर भै यि वादी र सो मुद्दामा वादी ठाकुर प्रसाद श्रेष्ठका नाउंमा दर्ता कायम हुने ठहरिएको र यो मुद्दामा सोही विषय समावेश भै माग दावी एकै देखिन आएकाले वादी दावी वमोजिम लिखत र दर्ता वदर भई यि वादी ठाकुर प्रसादका नाउंमा दर्ता कायम हुने ठहर्छ भनि शुरु सुनसरी जिल्ला अदालतको २०४७।५।१४।५ को फैसला रहेछ ।
५. वादी ठाकुर प्रसाद भएको दे.क्ष.नं. ७८१ को मुद्दामा आजै यसै साथ पुनरावेदन गर्दा मैले वकसपत्र पाएको लेखत र सोवाट गराएको दर्ता वदर हुने कानून प्रमाण विवरण खुलाई पुनरावेदन दिएको हुंदा सो वुंदा प्रमाण यस मुद्दामा पनि लागु हुने हुंदा प्रतिवादी लेख जिकिर साक्षीको वकपत्र समेत हेरि शुरुको इन्साफ उल्टाई मेरो लेखत दर्ता सदर राखि पाउं भन्ने कोशी अंचल अदालतमा प्रतिवादी सावित्री देवी श्रेष्ठले २०४७।६।३१।४ मा दिएको पुनरावेदन ।
६. वकसपत्र गरी दिने गोमा लक्ष्मीले ३ भागको १ भाग आफ्नो हक जतिमा वकसपत्र गरी दिएको देखिउको त्यस्तोमा स्त्रीअंश धनको २ नं. को सन्दर्भमा समेत विचार गर्नु पर्नेमा शुरुले दान वकसपत्र १ नं. अन्तर्गत भनी पुरै वकसपत्र वदर गरी दिने गरको इन्साफ विचारणीय देखिएकाले अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाउने २०४८।८।१६।२ मा पुनरावेदन अदालत विराटनगरवाट भएको आदेश रहेछ ।
७. २०४८।१०।२१ मा वादी कृष्ण प्रसाद श्रेष्ठले प्रतिउत्तर सरह पुनरावेदन दिनु भएको रहेछ ।
८. प्रस्तुत मुद्दाको वादी कृष्ण प्रसाद र साथै पेश भएको दे.पु.नं.३४४ को वादी ठाकुर प्रसादको उजुरी परेकोले २०४५।१।३० को वकसपत्रको लिखतको आधि घर जग्गाको तीन भागको २ भाग लिखत र साही अनुसार भएको प्रतिवादीको नामको दर्ता वदर भई त्यसको आधि यो वादीको नाउंमा दर्ता हुने ठहर्छ । पुरै लिखत वदर गरेको जिल्ला अदालतको फैसाल त्यति हद सम्म नमिलेकोले केही उल्टी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत विराटनगरको मिति २०४९।८।१४ को फैसला ।
९. दान वकसपत्रको महलको १ नं. विपरीतको काम कुरामा स्त्री अंश धनको २ नं. आकर्षित हुने होइन । आमाको हकको सम्पत्तिमा हामी दुई दाजु भाई ठाकुर प्रसाद र कृष्ण प्रसादको मात्र हक लाग्ने भएवाट पुनरावेदन अदलतवाट आंशिक रुपमा लेखत दर्ता वदर गर्ने गरेको गरी भएको फैसला त्रुटीपूर्ण हुंदा वदर गरी शुरु माग दावी वमोजिम गरी पाउ भन्ने समेत वादी कृष्ण प्रसाद श्रेष्ठको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
१०. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले प्रतिवादी २०२६ सालमा घरसारमा वण्डापत्र भै भिन्न वसि सकेका हुन । विवादित शेषपछिको वकसपत्रमा उल्लेखित जगगा आमा गोमा लक्ष्मी र फिरादी ठाकुर प्रसाद र अर्को मुद्दाका फिरादी कृष्ण प्रसादको संयुक्त नाममा दर्ता रहेको सम्पत्ति वृध्द आमावाट वकसपत्र गराई लिएकी हुन् । हामी फिरादी समेतलाई वकसपत्रमा कारणी वनाई मंजुरी लिइनु पर्ने थियो । पुनरावेदन अदालतवाट आंशिक रुपमा लेखत दर्ता वदर गर्ने गरी भएको फैसाल त्रुटीपूर्ण हुंदा फिरादी दावी वमोजिम हुनु पर्ने हुंदा हाल विपक्षी झिकाई पाउं भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
११. यसमा निर्णय तर्फ विचार गर्दा यो वादी कृष्ण प्रसाद श्रेष्ठ अन्य भाईहरु र आमा गोमा लक्ष्मी समेत वीच २०२६ सालमा वण्डापत्र हुंदा विवादित कि.नं.३० को क्षेत्रफल ०-२-७-१ जग्गा समेत आमा गोमा लक्ष्मी र यी वादी कृष्ण प्रसाद श्रेष्ठ तथा प्रस्तुत मुद्दा साथ पेश भएको दे.पु.नं.२२१६ का विवादित वकसपत्रकै विषयलाई लिएर फिराद गर्ने वादी ठाकुर प्रसाद श्रेष्ठका नाममा संयुक्त दर्ता भइरहेको तथा वादी दावीवाट विवादित सम्पत्ति सगोलको नभएको र संयुक्त दर्तासम्म कायम रहेको भन्ने देखिन्छ । यसरी सगोलको सम्पत्ति नभै संयुक्त दर्तासम्म कायम रहेको सम्पत्तिका वढी घटी हुने गर्ने अवस्था वा लिखत नभएको अवस्थामा सवै अंशियारहरुको समान भाग लाग्ने मान्नुपर्ने हुन्छ ।
१२. उक्त संयुक्त दर्ताको सम्पत्तिमा आमा गोमा लक्ष्मीले आफ्नो अंश भागको सम्पत्ति प्रतिवादी सावित्री देवी श्रेष्ठलाई शेषपछिको वकसपत्र गरि दिई गोमा लक्ष्मीको मृत्यु पश्चात सावित्री श्रेष्ठको हक कायम भएको देखियो । आफ्नी अंश भागको अचल सम्पत्ति शेषपछिको वकसपत्रवाट दिन वा आफु खुश गर्न पाउने नपाउने के रहेछ भनी हेर्दा मुलुकी ऐन स्त्री अंश धनको २ नं. मा भिन्न भएको कन्या सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो अंश हकको चलमा सवै र अचलमा आधा सम्म कसैको मंजुरी नभए पनि आफ्नो छोराहरुको मंजुरी लिई अचल पनि सवै आफ्नो खुश गर्न पाउंछन् ।“ भन्ने कानूनी व्यवस्था भइरहेको पाइन्छ । विवादित सम्पुर्ण अचल सम्पत्ति फिरादीको आमा गोमालक्ष्मीले आफ्ना छोराहरुमो मंजुरी वेगर प्रतिवादी सावित्री देवी श्रेष्ठलाई शेषपछिको वकसपत्र दिएको कुरामा विवाद देखिदैन । उल्लेखित कानूनी व्यवस्था अनुसार गोमा लक्ष्मीले आफ्नो अंश भागको अचल सम्पत्ति स्त्री अंश धनको २ नं. को उक्त व्यवस्थाले २०२६ सालमै छुटृी भिन्न भएको गोपाल प्रसादको मंजुरी लिनु नपर्ने भन्ने वादी तर्फको जिकिर पनि कानून संगत देखिदैन । उमेर पुगेका छोराहरुको मंजुरी लिनु पर्ने कानूनी प्रावधानले निजको समेत हक सुरक्षित रहने देखिन्छ । उल्लेखित कानूनी व्यवस्था अनुसार गोमा लक्ष्मीले आफ्नो अंश भागको अचल सम्म पति मध्ये आधामा निजका उमेर पुगेका ३ जना छोराहरु यी फिरादी कृष्ण प्रसाद र अन्य छोराहरु ठाकुर प्रसाद र गोपाल प्रसादको मंजुरी लिनु पर्ने र आधा सम्मको मंजुरी लिनु नपर्ने भै आफू खुश गर्न पाउने देखियो । तसर्थ उमेर पुगेका छोराहरुको मंजुरी लिनु नपर्ने विवादित अचल सम्पत्तिको आधामा निजले सावित्री देृवी श्रेष्ठलाई गरी दिएको शेष पछिको वकसपत्र कायम रहने देखियो । उक्त वकसपत्र सदर कायम रहेको सम्पत्ति वाहेक आधा अचल सम्पत्तिमा निज गोमा लक्ष्मीका गोषल प्रसाद श्रेष्ठ यि वादी कृष्ण प्रसाद श्रेष्ठ र यसै साथ पेश भृउको दे.पु.न.. २२१६ का वादी ठाकुर प्रसाद श्रेष्ठ समेत उमेर पुगेका ३ जना छोराहरु देखिएको र निजहरु उक्त वकसपत्रमा मंजुरी भएको नदेखिदा वरावर वदर गराउन पाउने देखिन्छ। तापनि विवादित अचल सम्पत्ति वकसपत्र गरि दिए उपर उल्लेखित ३ जना छोराहरु मध्ये गोपाल प्रसाद श्रेष्ठले उजुर नगरेकोले निजको माग जतिको वकसपत्रको लिखत वदर गरी रहनु पर्ने अवस्था आएन । उजुर गर्ने मध्येका प्रस्तुत मुद्दाका वादी कृष्ण प्रसाद र यसै साथ पेश भएका दे.पु.नं.२२१६ का वादी कृष्ण प्रसादको हकमा विवादित २०४५।१।३० को पारित वकसपत्रको लिखतको आधी अचल सम्पत्ति मध्ये तीन भागको २ भाग लिखत र सो वमोजिम भएको प्रतिवादी सावित्री देवी श्रेष्ठको नामको दर्ता वदर गरी सो को आधा यी वादी कृष्ण प्रसाद श्रेष्ठका नाउंमा दर्ता हुने ठहर्छ । अतः विवादित वकसपत्रको आधा मध्ये ३ भागको २ भाग लिखत र सोही अनुसार भएको प्रतिवादीको नामको दर्ता वदर भई त्यसको आधी यी वादीको नाउंमा दर्ता गर्ने ठहराई पुरै लिखत वदर गरेको शुरु जिल्ला अदालतको फैसला त्यति हदसम्म उल्टी हुने ठहराएको पुनरावेदन अदालत विराटनगरको इन्साफ मिलेको देखिदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । फाइल नियम वमोजिम गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
मा.न्या.अरविन्दनाथ आचार्य
इति संम्वत् २०५१ साल फाल्गुण ९ गते रोज ३ शुभम् ।