निर्णय नं. ५००९ - अंश नामसारी ।

निर्णय नं. ५००९ ने.का.प. २०५१ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
सम्बत् २०४९ सालको दे.पु.नं....५५३
फैसला मति : २०५१।७।१४।२
मुद्दाः अंश नामसारी ।
निवेदकः रुपन्देही जिल्ला वडवलीया गा.वि.स.वडा न..७ बस्ने दुवरा मुराउनी ।
ऐ.ऐ. बस्ने बद्री प्रसाद मुराउ
ऐ.ऐ.बस्ने भागीरथी मुराउ
ऐ.ऐ.बस्ने पाले मुराउ ।
बिरुद्ध
बिपक्षीः ऐ.ऐ. बस्ने राम लखन मुराउ
§ निजि आर्जनको भन्ने तर्फ प्रमाण पुर्याउने भार पुनरावेदकहरुको हुने । अन्यथा प्रमाणित नभएसम्म एकाघरसंगका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाउंमा रहेको भएता पनि त्यस्तो सम्पत्तिलाई प्रमाण ऐन, २०३१ को दफा ६ अनुसार सगोलको सम्पत्ति भनी मान्नु पर्ने।
(प्र.नं.१२)
निवेदक तर्फवाटः
बिपक्षी तर्फवाट :
अबलम्बित नजीरः
फैसला
मा.न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत वुटवल रुपन्देहीको फैसाल उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :
२. छवीलाल र राधाको सहवासवाट २ छोरा जन्म भए मध्ये जेठा बिपक्षी पाले र कान्छो म वादी रामलखत हुं । पालको श्रीमती दुवरा र छोराहरु वद्री र भागीरथी हुन् । वावु छवीलाल र आमा राधीको मृत्यु भै सकेको छ । हामी वादी प्रतिवादीहर एका संगोलका अभिन्न अंशियारा हौं । वावु आमाको मृत्यु पछि घरको जेठा वाठो पाले भएकोले घरको व्यवहार पालले नै गरी आउनु भएको वावुको मृत्युपछि निजका नाउंको जायजेथा पाले र मेरा नाउंमा संयुक्त नामसारी भएको छ । सो वाहेकको मेरो अंश हक अरु सम्पत्ति बिपक्षीहर जिम्मामा छ । मिति ०४४।३।५ मा बिपक्षीहरु संग विवाद भएको कारणवाट अब तपाईहरु संग विावद भएको कारणवाट अंश दिनुहोस भन्दा इनकार गरेकोले तायदाती फांटवारी लिई २ भाग लगाई १ भाग बिपक्षीको परसारी १ भाग म वादीलाई अंश वापत दिलाई नामसारी गरी पाउं भन्ने फिराद ।
३. वादीले वावु छवीलालको मृत्युपछि वावुको नाउंको जग्गा संयुक्त दर्ता रहेको कुरा स्वीकार गरको हुदा हुंदै दुई भाईका हक लाग्ने संपत्तिमा दर्ता समेत संयुक्त रहनुको कारण वादी पैतिवादीका विच अंश वण्डा गर्न नपर्ने एकलौटी हकभोगको सम्पत्ति पनि रहेछ भन्ने नै हो । फिरादीले आफ्ना अंशीयारा वाहेकका दुवरा मुराव र कुनै संपत्ति आफुसंग नभएका वद्रि प्रसाद भागीरथीलाई समेत प्तिवादी वनाएको । म दुवरा मुराउ पाले मुराउको पत्नी हुन् । म दुवराले र फिरादीको पत्नी झिन्काले एकै मिति ०३८।६।२ मा एउटै जग्गा आधा आधा राजीनामा गराई लिएका छौं । सो हेरिएमा के देखिन आउंछ भने एका संगोलमा भए एउटै मितिमा छुट्टा छुट्टै लिखत गराई लिनु पर्ने समेत कुनै कारण थिएन । ०४४।३।५ सम्म एकासंगोलमा वसको र अंश माग्दा नदिएको भन्ने फिराद लेख झुठृा हो वावुको आर्जनको सम्पत्ति वावु आमाकै जिम्मा राखी म पाले मुराउ २०१२ साल वैशाख १ गते देखि वावु आमा र फिरादी समेतसंग वेग्लै वसेको र जिमिन्दरको सेवा गरी घर वनाई वस्ने जग्गा समेत भोग गरी खाने केही जग्गा जिमिन्दारीवाट पाएको हुंदा जिमिन्दारको काम गरी दिए वापतको मंजुरीको रकम वापत खरीद गरी विक्री गरेको जग्गा मेरो एकलौटी जग्गा हो । त्यस्तै म दुवरा मुराउले पनि आफ्नो माइतवाट पाएको दाइजोवाट खरिद गरेको जग्गा हुंदा वादीको अंश हक लाग्दैन वादीले मैले वनाएको घरमा अंश लिन खोजेको हो भने ऋण पनि जिम्मा लिनुपर्छ । फिरादी र म पालेका नाउंमा संयुक्त दर्ता रहेको जग्गा जहिले सुकै दर्ता फुटाई लिन पाउने हुंदा अरुमा फिरादीको अंश हक नलाग्ने गरी फुर्सद पाउं भन्ने संयुक्त प्रतिउत्तर पत्र ।
४. वादी प्रतिवादीको नाममा संयुक्त दर्ता भएको संपत्तीवाट र अन्य पैत्रीक सम्पत्तिवाट मात्र अंश पाउने देखिएकोले प्रतिवादीले निजी आर्जन भनि जिकिर लिएको प्रतिवादीले राम प्रसादलाई राजिनामा गरिदिएको जग्गा साथै प्र.दुवरा मुराउका नाउंको जमिन र वादीको श्रीमती झिन्का देवीका नाउंको जमिन समेत निजी देखिएकालेले सो जग्गाहरुमा वादीले अंश पाउने स्थिति नदेखिदा सो वमोमिज हुने गरी तायदातीमा लेखिएको सो वाहेकको सम्पत्तिवाट मात्र वादीले २ भागको १ भाग अंश पाउने र नमसारी गराउन पाउने ठहर्छ भन्ने समेत २०४५।५।१३।२ को रुपन्देही जिल्ला अदालतको फैसला ।
५. प्रमाणको मुल्यांकन नगरी मलाई अंशीक हराई राम प्रसादलार्य विक्री गरेको जग्गा र दुवरा मुराउको नामको जग्गा र चल सम्पत्ति समेतमा अंश नपाउने गरी भएको फैसलाको हदसम्म वदर गरी फिराद परेका अघिल्लोदिन सम्मको संपत्तिवाट वादी दावी वमोजिम २ भागको १ भाग अंश दिलाई इन्साफ पाउं भन्ने समेत व्यहोराको वादी रामलखन मुराउको पुनरावेदन जिकिर ।
६. शुरु जि.अ.ले निजी आर्जन ठहराएको विचारणिय हुंदा अ.वं.२०२ नं. बमोजिम बिपक्षीलाई झिकाउने लु.अं.अ.को आदेश ।
७. वादी प्रतिवादीहरु सगोलमै रहे भएको अवस्था सगोलकै पैतृक सम्पत्तिवाट खरिद गरेको देखिदा कि.नं. ३२२, १३५, ३४७, ३४९, ७१९ का जग्गाहरुमा समेत २ भागको १ भाग वादीले अंश पाउने र नामसारी समेत गराउन पाउने ठहर्छ । कि.नं ८७ को ज.वि. ०-१५-० प्रस्तुत मुद्दाको फिराद गर्नु भन्दा अघि २०४४।३।१९ मा प्र.पाले् मुराउले रम प्रसाद मुराउलाई विक्री गरेको उक्त जग्गा सगोलकै संपत्ति भएता पनि लेनदेन व्यवहारको ८ नं. अनुसार घरको मुख्य भै विक्री गरेको हुनाले उक्त जग्गामा अंश पाउं भन्ने वादीको पुनरावेदन जिकिर मनासिव देखिएन । शुरु जि.अ.को इन्साफ केही उल्टी हुने ठहर्छ भन्ने् समेत व्यहोराको पु.वे.अ.वुटवलको मिति २०४८।१२।२० को फैसला ।
८. सम्पूर्ण व्यवहार प्रमाणवाट हामी वादी प्रतिवादीहरु विच २०१२।१।१ मा नै अलग भै वेगल वसी खती उपती गरी आएको प्रमाणीत छंदा छंदै पनि सो को मुल्यांकन नगरी प्रतिवादीले छुटृी भिन्न भएको ठोस प्रमाण दिन नसकेकोले भनि गरेको फैसला अ.व. १८४(क) १८५ नं.को प्रतिकूल हुनुको साथै प्रमाण ऐन, २०३१ को दफा ५४ ले समेत वदर भागी हुंदा पु.वे.अ. को फैसला उल्टी गरी शुरु जि.अ. को इन्साफ सदर कायम गरी पाउं भन्ने समेत व्यहोराको दुवारा मुराउनी समेतको यस अदालतमा पर्न आएको पुनरावेन पत्र ।
९. वादीको श्रीमती र पालेको श्रीमतीले एकै व्यक्तिवाट आधा आधा गरी जग्गा छुट्टा छुट्टै राजिनामावाट खरिद गरी दिएको र उक्त जग्गाहरु समेत छुट्टा छुट्टै दर्ता भई रहको देखिनाले समेत पुनरावेदन अदालत वुटवलको फैसाल मिलेको नदेखिदा छलफको निमित्त अ.वं.२०२ नं. वमोजिम वादीलाई म्याद दिई झिकाई आएपछि नियमा वमोमिज पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको २०५०।९।२० को आदेश ।
१०. नियम वमोमिज पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी हेर्दा हामीहरुको निजि आर्जनको कि.नं.३२२, १३५, ३४७, ३४९ र ७१९ समेतका जग्गाहरुवाट वादीले २ भागको १ भाग अंश पाउने ठहराएको पु.वे.अ. वुटवलको फैसला मिलेको छैन भन्ने पु.वे प्रतिवादीहरुको पुनरावेदन जिकिर देखिन आयो ।
११. यिनै पुनरावेदक प्रतिवादीहरु पाले मुराउले राम प्रसाद मुराउलाई विक्री गरेको कि.नं ८७ को जग्गामा समेत आधा अंश हक लाग्ने भनि वादी राम लखनले प्रस्तुत मुद्दामा दावी लिएको र सो लिखतको जग्गा मध्ये आधा लिखत वदर गरी पाउं भनी लिखत वदरमा समेत नालेस दिएकोमा प्रस्तुत मुद्दामा शुरु जि.अ.वाट भएको फैसला केही उल्टी हुने गरी र लिखत वदर मुद्दामा लिखत वदर नहुने ठहराएको शुरुको इन्साफ सदर गरी पु.व.अ.वुटवलवाट मिति २०४८।१२।२० मा फैसला भएकोमा वादीको लिखत वदर मुद्दामा देहोर्याई पाउं भन्ने निवेदन र प्रस्तुत मुद्दामा मिति २०५१।७।९ सम्ममा यस अदालता पुनरावेदन परेको छैन भनी सम्बन्धीत फांटवालाको प्रतिवेदन परेको देखिएको समेतवाट कि.नं.८७ को जग्गाको सम्वन्धमा अन्तिम फैसला भई रहेको देखिंदा सो तर्फ केही वोलिरहनु परेन ।
१२. निजि आर्जनको हुंदा वण्डा नलाग्नू पर्ने भनी पुनरावेदक प्रतिवादीहरुले जिकिर लिएको उपरोक्त कि.नं. का जग्गाहरु पु.वे.प्रतिवादीहरुको नाउंमा आउनु भन्दा अघि वादी प्रतिवादीहरु छुटृी भिन्न भएको देखिन नआएको ।निजि आर्जनको भन्ने तर्फ प्रमाण पुर्याउने भार पुनरावेदकहरुको हुनेमा सो को ठोस प्रमाण गुजार्न सकेको देखिदैन । अन्यथा प्रमाणित नभएसम्म एकाघरसंगका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाउंमा रहेको भएता पनि त्यस्तो सम्पत्तिलाई प्रमाण ऐन, २०३१ को दफा ६ अनुसार सगोलको सम्पत्ति भनी मान्नु पर्ने समेत भएवाट कि.नं.८७ वाहेकका अन्य जग्गा जमिन वाट वादी दावी वमोमिज २ भागको १ भाग अंश पाउने भनि शुरु जिल्ला अदालतको इन्साफ केही उल्टी गरी भएको पुनरावेदन अदालत वुटवलको इन्साफ मिलेकै देखिदा मुनासिव ठहर्छ । पुनरावेदन प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाईदिनु ।
उक्त रायमा म सहमत छु ।
मा.न्या.कृष्ण कुमार वर्मा
इति संवत २०५१ साल कार्तिक १४ गते रोज २ शुभम् ।