निर्णय नं. ८११२ - जालसाजी

निर्णय नं.८११२ २०६६ असार अङ्क ३
सर्वोच्च अदालत , संयुक्त इजलास
माननीय न्यायाधिश श्री गिरिश चन्द्र लाल
माननीय न्यायाधिश श्री सुशीला कार्की
सम्बत् २०६२ साल फौ.पु.न ३२४८
फैसला मिति : २०६५।१२।१६।१
मुद्धा :जालसाजी।
पुनरावेदक प्रतिवदी : सिराहा जिल्ला ,कविलासी गा वि स वडा न ८ बस्ने महेन्द्र राय यादव
बिरुद्ध
प्रत्यार्थी वादी : ऐ. ऐ. बस्ने नवल किशोर राय यादव भन्ने दु :खा राय यादव छुटाछुटै प्रायोजनका लागि बनेका ऐनहरुमा कुन ऐन अन्तर्गत दाबी लिनुपर्ने हो दाबीकर्ताले तय गर्नुपर्ने।
§ घटनाको प्रकृतिअनुसार प्रस्तुत मुद्धाको विवाद्को बिषयउपर अदालतले न्यायिक निरुपण गर्नुपर्ने हुँदा वादीलाई दावी गर्ने अधिकार छैन भनी अदालतले भन्न सकिने अवस्था नरहेकाले क्षेत्राधिकरको अभाव रहेको भन्न नमिल्ने ।
(प्रकरण न ४ )
पुनरावेदक तर्फबाट :
प्रत्यर्थी तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानुन :
जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता ऐन ),२०३३ को दफा १३ (२) अ.व.१३९ नं.किर्ते कागजको ३ र १० नं.
फैसला
न्या गिरीश चन्द्र लाल: पुनरावेदक अदालत जनकपुर मिती २०६१।२।२८ को फैसलाउपर यस अदालतमा दायर हुन आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने हुँदा मुद्धाको सङ्क्षिप्त तथ्य र ठहर निर्णय यस प्रकार छ:-
पिता महेन्द्र राय यादव र आमा लखियादेवीको समागमबाट म वादी मिती २०३५।६।१३ मा जन्म हुँदा राशीको नाम नवलकिशोर राय र गाउँघरमा बोलाउने नाउ दु:खा राय राखिएको थियो। मेरो उमेर १६ बर्ष नाघेपछी नेपाली नगरिकताको प्रमाण -पत्र पाउन को लागि नवल किशोर भन्ने दु:खा राय नाउ उल्लेख गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन दिदा पिताबाट सनाखत गराउने पर्ने भएकोमा विपक्षी पिताले इन्कार गर्नु भएकोले वाध्य भै यसै कार्यालयबाट मेरो पितालाई झिकाई सनाखत गराई नगरिकता प्रमाण-पत्र पाउ भन्ने निवेदन गरेकोमा महेन्द्र रायलाई नागरिकता प्रमाण-पत्रको साथमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उपस्थित गराउदा मेरो छोरा नवलकिशोर रायको मृत्यु भइसकेको भन्ने जिकिर लिदा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट अनुसन्धान तहकिकातको सिलसिलामा स्थानीय गा वि स एवम प्रहरी प्रतिवदन समेत बुझदा नवलकिशोर रायको मृत्यु भएको छैन भन्ने ब्यहोरा प्रतिवदन पेश भएको र पोइल गएकी आमा लखियादेवी समेत बुझ्दा दाजु प्रसादी रायले भुलले नवलकिशोरको नाउ बोलाउने नाउ दु:खा राय लेखाई जन्म दर्ता प्रमाण-पत्र दिलाएको हो। नवलकिशोर राय भन्ने दु:खा राय यादव म जिउदो ब्यक्तिलाई मिती २०५१।७।२९ गतेमा मृत्यु भइसकेको भनी विपक्षी पिताले झुठा ब्योहोराको सुचना स्थानीय पजीकाधिकारीले पनि जाचबुझ गरी मृत्यु दर्ताको प्रमाण-पत्र दिनुपर्नेमा सो नगरी विपक्षी पितासँग पजीकाधिकारीले एक आपसमा मिलोमतो गरी जालसाजीपूर्ण तरिकाबाट मेरो हक मेटाउनको लागि मा जिउदै ब्यक्तिलाई मरिसकेको भनी किर्ते कागजको ३ न. अनुसार जालसाजी अपराध गर्नु गराउनु भएको हुनाले मिती २०५५।८।२२ मा खडा भएको मृत्यु दर्ता प्रमाण-पत्र किर्ते कागजको ३ न. अन्तर्गत जालसाजी घोषित गरी बिपक्षीहरुलाई किर्ते कागजको १० न. अन्तर्गत सजाय समेत गरी पाउ भन्ने समेत ब्योहोराको फिराद -पत्र ।
वादी दाबी पूर्णत झुठा एव मनगढन्ते रुपको छ। मैले कुनै जालसाजी कामकृया गरेको छैन। प्रतिवादीमध्यका महेन्द्र रायले आफ्नो छोरा नवलकिशोर रायको मृत्यु मिती २०५१।७।२९ मा भइसकेको हो भनी मृत्यु दर्ता प्रमाण-पत्र लिन मेरो समक्ष नियमानुसार सुचना फाराम भरी पेश गर्नु भएको थियो । जन्म मृत्यु तथा अन्य ब्यक्तिगत घटना (दर्ता गर्ने)ऐन , २०३३ को दफा ४ को उपदफा १(क) बमोजिमको अधिकारिक ब्यक्ती प्रतिवादी मध्यको महेन्द्र राय हो , होइन हेरी , बुझी आधीकारीक सुचकदेखी उक्त ऐनको दफा ५ बमोजिम सुचना फाराम जाची आफुले पालन गर्नुपर्ने स्थानिय पन्जिकाधिकारीको कानुनी दायीत्त्व पुरा गरेको छु । यसरी कानुन अनुरुप जाची हेरी तथा स्थानिय घटना भएको हुँदा गाउँ-गाउँका ब्यक्तिहरु सँग मौखिक रुपमा सोधी पत्ता लगाई उक्त सुचना सही एव सत्य तथ्यमा आधारीत रहेको देखी मृत्यु दर्ता प्रमाण-पत्र तयार गरिदिएको हु। बिपक्षी गलत मन्साय एव उद्देश्यले काल्पनिक एव मनगढन्ते किसिमका कुराहरु उल्लेख गरी मृत्यु भइसकेको ब्यक्ती नवलकिशोर रायको नाउ सित आफुलाई जोडी हकदैयाविहिन ब्यक्ती बिपक्षी अ.ब ८२ न. को बिपरित अनाहकमा मलाई हैरान परेशान गर्ने उदेश्यले प्रस्तुत झुठा मुद्धा दाबी गरेको हुन भन्ने समेत ब्योहोराको प्रतिवदी जिल्ला सर्लाही,कविलासी गा.वि.स का तत्कालिन सचिव एव स्थानिय पन्जिकाधिकरी बिन्देश्वोर महतोको प्रतिउत्तर - पत्र ।
बिपक्षीको कथनअनुसार मैले कुनै किसिमको जालसाजी काम क्रीया गरेको छैन ।लखियादेवीले म सित अश मुद्धा लडदा फिराद - पत्रमा बिपक्षीको राशीको नाउ नवलकिशोर र बोलाउने नाउ दु:खा राय भन्ने उल्लेख गरेको छैन। मेरो र लखियादेवीको संपर्कबाट छोरा नवलकिशोर रायको जन्म भएको थियो । छोरा नवलकिशोर रायको मृत्यु २०५१।७।२९ मा भएको हो । बिपक्षी दु:खा नै नवलकिशोर हो भन्ने कुरा कही कतैबाट प्रमाणित हुन सकेको छैन । बिपक्षीको आमा लखियादेवीले बिपक्षीको जन्म दर्ताको लागि भरेको फाराम र सोको आधारमा भएको जन्म दर्ता प्रमाण-पत्र समेतमा नवल किशोरराय उल्लेख गराउन सकेको छैन । लखियादेवीले अर्को विवाह गरिसकेपछी जन्मेको छोरा दु:खा रायलाई ४ बर्षपछी मेरो छोरा भनी फाराम भर्दैमा मेरो छोरा हुन सक्दैन । ४ बर्षापछी आएर जन्म दर्ता गराउन पउने अधिकार जन्म,मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को दफा ४ को उपदफा १(क) ले लखिया देवीलाई छैन । अतः विपक्षी दुःखा रायले मेरो सम्पत्ति अंश हक लिनको लागि मेरो मरिसकेको छोरा नवलकिशोरको नाउँमा मनगढन्ते रुपले आफ्नो नाउँ जोडी मेरो छोरा भन्ने असफल प्रयास गरेका हुन बन्ने समेत व्यहोराको प्रतिवादी महेन्द्र राय यादवको प्रतिउत्तरपत्र ।
प्रस्तुत मुद्दाका वादी नवलकिशोर राय नै दुःखा राय हुन । गाउँघरमा बोलाउने नाउँ दुःखा राय हो । मेरा दाजु प्रसादी रायले गा.वि.स.मा जन्म दर्ता गराउँदा गाउँघरमा बोलाउने नाम दुःखा राय लेखाई प्रमाणपत्र लिएको हो । नवलकिशोर भन्ने दुःखा राय महेन्द्र राय र मबाटै जन्मेका हुन भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको मिति २०५८।५।१५ को आदेशबमोजिम अ.बं.१३९ नं.बमोजिम बुझिएका लखिया देवीले गरेको बयान ।
प्रतिवादी महेन्द्र राय यादवको साक्षी भन्टु राय यादव र नारायण वैठा एवं वादी नवलकिशोर राय भन्ने दुःखा राय यादवको साक्षी भुप्तारायण रायले अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादी महेन्द्र राय यादवले आफ्नो जीवित छोरा नवलकिशोर राय भन्ने दुःखा रायलाई मिति २०५१।७।२९ मा मृत्यु भएको छ भनी मिति २०५५।८।२२ गतेमा मृत्यु दर्ता प्रमाणपत्र प्राप्त गरेको व्यवहार कीर्ते कागजको ३ नं.बमोजिम जालसाजपूर्ण भएको देखिएकोले उक्त ३ नं.को कसूरमा निजलाई उक्त ऐनको १० नं.बमोजिम जरीवानासमेत हुने ठहर्छ । प्रतिवादी विन्देश्वर महतोको हकमा निजले दावी बमोजिमको जालसाजी क्रिया गरेको भन्ने पुष्टि नभएकाले निजउपरको वादी दावी पुग्न सक्दैन, पुनरावेदन अदालत जनकपुर एक न्यायाधीशको इजलासबाट भएको फैसला ।
पछिको मिति २०५१।७।२९ हाली मिति २०५५।८।२२ मृत्यु दर्ता प्रमाणपत्र तयार गरे गराएकाले जालसाजीको संज्ञा दिई मेरो छोरा नवलकिशोरको मृत्यु दर्ता प्रमाणपत्रलाई विपक्षीले जालसाजी भने पनि उक्त प्रमाणपत्र जालसाजी होइन । मिति २०५१।७।२९ मा मृत्यु भएको मिति २०५५।८।२२ मा मृत्यु दर्ता प्रमाणपत्र लिएकोलाई जालसाजी मान्ने हो भने मिति २०३५।८।६ मा जन्मेको दुःखा रायको बाबु महेन्द्र राय देखाई लखियादेवीले मिति २०४५।११।१२ मा लिएको जन्म दर्ता प्रमाणपत्र केसद्दे प्रमाणित हुन्छ । विपक्षीले मेरो छोरा नवलकिशोरको प्रमाणपत्रलाई जालसाजी भन्दैमा जालसाजी हुन सक्दैन । पुनरावेदन अदालतले क्षेत्राधिकारभन्दा बाहिर गै गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी रहेकाले उक्त निर्णय बदर गरिपाऊँ भन्ने व्यहोराको प्रतिवादीको यस अदालतमा मिति २०६१।७।२०।६मा दर्ता हुन आएको पुनरावेदन पत्र ।
नियमबमोजिम पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनपत्रसहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत जनकपुरले गरेको फैसला मिले, नमिलेको के रहेछ ? पुनरावेदकको पुनरावेदन जिकीरबमोजिम हुनुपर्ने हो होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. अब निर्णयतर्फ विचार गर्दा, पुनरावेदकले मिति २०५१।७।२९ मा छोरा नवलकिशोर राय मरेको भनी मिति २०५५।८।२२ मा मृत्यु दर्ता प्रमाणपत्र लिएको कार्य जालसाजीपूर्ण हो होइन र प्रस्तुत विवादको विषयमा वादीले जालसजी मुद्दा दायर गर्न सक्ने हो होइन भन्ने कुरा नै मुख्य विवादका विषयहरू रहेको देखिन्छ । सो सन्दर्भमा विचार गर्दा लखिया देवीले पुनरावेदक महेन्द्र रायलाई विपक्षी बनाई आफ्नो नावालक छोरा प्रस्तुत मुद्दाका प्रत्यर्थी÷वादी नवलकिशोरका हकमा र आफ्नो हकमा समेत भनी २०३७ सालमा दे.नं.७३३ को अंश मुद्दा दायर गरेकोमा प्रस्तुत मुद्दाको पुनरावेदक÷ प्रतिवादी यी महेन्द्र राय यादवले निजको छोरा होइन भनी प्रतिवाद गरे तापनि छोरा नाता कायम भई अंश पाउने ठहरी सो मुद्दामा तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४०।३।५ मा अन्तिम फैसला भएपछि मात्र प्रस्तुत मृत्यु दर्ता प्रमाणपत्रको विवाद खडा भएको देखिन्छ । पेटबोलीकी लखिया देवीलाई पुनरावेदन अदालतबाट अ.बं.१३९ नं.बमोजिम बुझी बयान गराउँदा निजले उसको पहिलो विवाह महेन्द्र रायसँग भएको र निज महेन्द्ररायसँग रहंदा बस्दाको अवस्थामा नै छोरा नवलकिशोर जन्मेको हो र नवलकिशोर ४ वर्षको छँदा उसको अर्थात् लखियादेवीको दोस्रो विवाह भएको हो । दोस्रो विवाहपश्चात् नवलकिशोरलाई मामाकै घरमा छाडी दिएको हो, उसको गाउँघरमा बोलाउने नाम दुःखा राय हो । मेरो दाज ुप्रसादी रायले नै जन्म दर्ता प्रमाणपत्र लिई दिएको हो । महेन्द्र रायको छोरा दुःखा राय भन्ने नवलकिशोर यिनै वादी हुन भनी उल्लेख गरेकीमा प्रतिवादी÷पुनरावेदकले दुःखा राय नै नवलकिशोर हो भन्ने कुरालाई स्वीकार नगरे पनि आफू र लखियादेवीबाट जन्मेको सन्तान नवलकिशोर हुन तर निजको २०५१ सालमा नै मृत्यु भैसकेको भनी आफ्नो प्रतिउत्तरपत्रमा स्वीकार गरेको देखिन्छ । प्रतिवादीमध्येका पंजिकाधिकारी विन्देश्वर महतोले दावीलाई अस्वीकार गर्दै महेन्द्र रायले जस्तो विवरण ल्याए सोअनुरूप मृत्यु दर्ता प्रमाणपत्र दिएको हुँ भनी प्रतिवाद गरेकोबाट २०५१ सालमा मरेको व्यहोरा जनाई मिति २०५५।८।२२ मा मात्र मृत्यु दर्ता प्रमाणपत्र प्रतिवादी महेन्द्र रायले उल्लेख गरेको विवरणअनुसार पंजिकाधिकारीले केही नबुझी प्रदान गरेको देखिन आउँछ । त्यसबाट मिति २०५१।७।२९ मै नवलकिशोर मरेको भनी वस्तुगत र ठोस प्रमाण प्रतिवादी महेन्द्र रायबाट पेश हुन आएको देखिएन ।
३. प्रस्तुत मुद्दाका वादी नवलकिशोर भन्ने दुःखा राय, लखिया देवीको दोस्रो पतिबाट जन्मेको र नवलकिशोर र दुःखा राय एउटै व्यक्ति होइनन् भनी प्रतिवादी महेन्द्र रायले प्रतिवाद गरे पनि सोको विश्वसनीय प्रमाण निजबाट पेश हुन नसकेको र निजले आफ्नो जिकीरलाई पुष्टि गर्न सकेको अवस्था समेत देखिएन । यसको अतिरिक्त नवलकिशोर र दुःखा राय एउटै व्यक्ति हो भन्ने कुरा अ.बं.१३९ नं.अनुसार बुझिएकी प्रत्यर्थी÷ वादीकी आमा लखियादेवीले स्पष्ट खुलाई बयान गरेकी र अन्तिम भएर बसेको अंश मुद्दाबाट समेत वादी नवलकिशोर, प्रतिवादी महेन्द्र रायको छोरा नाता कायम भै अंश पाउने ठहरी फैसला भएबाट नवलकिशोर राय यादव भन्ने दुःखा राय यादव र नवलकिशोर एउटै व्यक्ति होइनन् छुट्टाछुट्टै हुन भन्ने पुनरावेदन जिकिरसँग सहमत हुने अवस्था छैन ।
४. जहाँसम्म जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता ऐन), २०३३ को दफा १३(२) बमोजिम वादी आउनु पर्नेमा नआएकाले अदालतलाई विवाद सुन्ने क्षेत्राधिकार नभएको भन्ने पुनरावेदन जिकीरसम्बन्धमा हेर्दा, प्रस्तुत मुद्दामा वादी आफूलाई जन्म दिने बाबुले जीवित रहँदा रहंदै मरेको भनी वादीको हक र अधिकार मेट्ने उद्देश्य र आफ्नो फाइदाको लागि मुलुकी ऐन कीर्ते कागजको ३ नं.बमोजिम प्रतिवादीले जालसाजीपूर्ण कार्य गरेको भनी अदालतमा प्रवेश गरेको देखिन्छ । छुट्टाछुट्टै प्रयोजनका लागि बनेका ऐनहरूमा कुन ऐनअन्तर्गत दावी लिनुपर्ने हो दावीकर्ताले तय गर्नुपर्ने कुरा हो । घटनाको प्रकृतिअनुसार समेत प्रस्तुत मुद्दाको विवादको विषयउपर अदालतले न्यायिक निरोपण गर्नुपर्ने हुँदा वादीलाई दावी गर्ने अधिकार छैन भनी अदालतले भन्न सकिने अवस्था नरहेकाले क्षेत्राधिकारको अभाव रहेको भन्ने पुनरावेदन जिकीरसँग पनि सहमत हुन सकिएन ।
५. अतः माथि उल्लिखित आधार प्रमाणहरूबाट प्रतिवादी महेन्द्र राय यादवले आफ्नो जीवित छोरा नवलकिशोर राय भन्ने दुःखा रायलाई मिति २०५१।७।२९ मा मृत्यु भएको छ भनी मिति २०५५।८।२२ गते मृत्यु दर्ता प्रमाणपत्र प्राप्त गरेको व्यवहारबाट प्रतिवादीले वादीको अधिकार र हक मेट्ने प्रयास गरी मुलुकी ऐन कीर्ते कागजको ३ नं.अनुसार जालसाजपूर्ण कार्य गरेको हुनाले उक्त ३ नं.को कसूरमा निजलाई सोही ऐनको १० नं.बमोजिम जरीवाना हुने समेत ठहराई पुनरावेदन अदालत जनकपुरबाट मिति २०६१।२।२८ गते भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीरपुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.सुशीला कार्की
इति संवत् २०६५ साल चैत्र १६ गते रोज १ शुभम्….
इजलास अधिकृत गायत्री प्रसाद रेग्मी