शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७७४ - लिखत वदर

भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक:

निर्णय नं ६७७४         ने.का.प. २०५६          अङ्क ८

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल

सम्वत २०५२ सालको दे.पु.नं ...२७०५

फैसला मिति : २०५५।२।२७।४

मुद्दा : लिखत वदर ।

पुनरावेदक/वादी : जिल्ला दाङ तुलसीपुर न.पा.वडा नं ६ वस्ने कुलवहादुर वस्नेत समेत

विरुद्ध

प्रत्यर्थी/वादीः जिल्ला दाङ टरहरी गा.वि.स वडा नं ५ वस्ने दुर्गाकुमारी वस्नेत

§  लेनदेन व्यवहारको १० नं मा अंश नभएको अशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिदा ऐनले आफूखुसी गर्न पाउने अरुको मन्जुरी लिन नपर्नेमा वाहेक अरुमा एकाघरका अंशियार सवै साक्षी वसेको वा निजहरुले मन्जुरीको लिखत गरी दिएको भएमात्र पक्का ठहर्छ भन्ने कानूनी व्यवस्था छ । तर प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरु प्र.कौमती वस्नेतसंग एकासगोलमा रहे भएको नभई छुट्टि भिन्न भैसकेको भन्ने सम्वन्धमा वादी मध्येका भीमवहादुर वस्नेतको आफ्नो भागको संपतिवाट आफ्ना छोराहरुलाई गरिदिएको वण्डा तथा वादी भीमवहादुरका छोरा द्रोण वहादुरले प्रतिवादी कौमती वस्नेतवाट अचल सम्पत्ति खरिद गरेको प्रमाणवाट समेत पुष्टि हुन्छ । तसर्थ यि वादी प्रतिवादीहरु वि.सं २०१६ सालमा नै छुट्टि भिन्न भै वण्डा पत्र समेत भइसकेको मिसिल संलग्न प्रमाण कागजवाट पुष्टि भएको देखिंदा अंश लिई छुट्टि भिन्न सकेको प्रतिवादीले आफ्नो हकको सम्पत्ति विक्री गरेकोमा छुट्टिको अंशियार यी वादीहरुले लेनदेन व्यवहारको १० नं वमोजिम सो संपत्ति फिर्ता गराई लिन नपाउने हुँदा लिखत वदर गर्ने ठहरयाएको शुरु दाङ देउखुरी जिल्ला अदालतको फैसला उल्टी हुने ठहरयाएको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेकै देखिदा मनासिव ठहर्ने ।

(प्र. नं १२)

पुनरावेदक वादी तर्फवाट विद्वान अधिवक्ता श्री केदार गौतम

पंत्यर्थी प्रतिवादी : x

अवलम्वित नजिर : x

फैसला

    न्या. हरिप्रसाद शर्मा : पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।३।२२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिप्पणी एवं ठहर यस प्रकार छ ।

    २.   विपक्षी कौमती वसनेत समेत हामी एका सगोलमा ४ अंशियार हो । हामीहरु वीचमा वण्डा नभएको हाम्रो समेत अंश कम लाग्ने विपक्षी कौमतीका नाममा दर्ता रहेको दाङ तुलसीपुर न.पा. वडा नं ७(क) कि.नं ८३४ को ज.वि. ०१७९ मध्ये  मध्ये दक्षिण तर्फ  ० जग्गा हामीलाई थाहा जानकारी नदिई विपक्षी कौमतीले दुर्गा कुमारी वस्नेतलाई २०४९।११।२२ गते पारित गरी दिएकोले सो राजिनामाको ४ खण्डको ३ खण्ड  १५ उत्तर तर्फवाट लिखत वदर गरी हाम्रा नाउँमा दर्ता समेत गरी पाउँ भन्ने व्यहोराको फिराद पत्र ।

    ३.   यी वादी र दाता कोमती २०१६ सालमा नै अलग भै आ. आफ्नो जग्गा २०२८ सालको सर्भे नापीमा आ.आफ्ना नाउमा दर्ता गरी भोग चलन विक्रि व्यवहार गरी घरधुरी अलग अलग पारी वसिआएका छन । विवादित जग्गामा वादीहरुको अंश हक नलाग्ने हुँदा लिखत वदर हुनु पर्ने होइन भन्ने समेत व्यहोरा प्र.दुर्गा कुमारी वस्नेतको प्रतिउत्तर पत्र ।

    ४.   प्र. कौमती वस्नेतले प्रतिउत्तर नफिराई म्याद गुजारी वसेकी ।

    ५.  विवादित जग्गामा वादीहरुको हक लाग्दछ भन्ने व्यहोराको वादीका साक्षी देवीराम १. गोपाल वली १ समेतको वकपत्र र वादी प्रतिवादी छुट्टि भिन्न भैसकेकोले सो जग्गामा वादीहरुको अंशहक लाग्दैन भन्ने व्यहोराको प्र.का साक्षी डिल्ली विक्रम १ टेक वहादुर १. रेशम वहादुर १ समेतको वकपत्र मिसिल संलग्न रहेको ।

    ६. वादीहरु र कौमती वस्नेतका वीचमा विधिवत रुपमा लिए दिएको वा वण्डा भैसकेको देखिन नआएकोले कौमती वस्नेतका नाउँमा रहेको संपत्ति विक्रि गर्दा निजहरुको मन्जुरी लिनु पर्ने अनिवार्यता भएकोमा मन्जुरी नभै भएको विक्रि गर्ने क्रिया लेनदेन व्यवहारको १० नं को प्रतिकूल हुँदा दावी वमोजिमको लिखत वादीहरुको हक सम्म वदर दावी वमोजिमको लिखत वादीहरुको हक सम्म वदर भै निजहरुको नाउँमा दर्ता समेत हुने ठहराई दाङ देउखुरी जिल्ला अदालतवाट भएको फैसला ।

    ७.  विपक्षीहरु र मेरो दाता कौमती २०१६ सालमा छुट्टि भिन्न भै २०२८ सालको नापीमा आ आफ्नो जग्गा आ आफ्नो नाउमा दर्ता गरी भोग चलन विक्रि व्यवहार गर्दै आइरहेकोले विपक्षीशहरु र मेरो दाता एकासगोलका अंशियार होर्इनन् । मेरो दाता कौमतीले स्त्री अंश धनको २ नं वमोजिम आफुखुस गर्न पाउने संपत्ति मलाई विक्रि गरी दिएकोमा सो लिखत वदर हुने गरी दाङ दे.जि.अ.वाट भएको कानूनी त्रुटिपूर्ण फैसला वदर गरी वादी दावीवाट फुर्सद दिलाई पाउँ भन्ने व्यहोराको पुनरावेदन पत्र ।

    ८..  यसमा प्रत्यर्थी वादीहरुको नाउँहरुमा समेत जग्गाहरु २०२८ साल देखि नै दर्ता रहेको देखिनुका साथै प्रतिवादी कौमती वस्नेतले आफ्नी हक अर्थात चार खण्डको एक खण्ड जग्गा निजको नाउमा दर्ता रहेको जग्गा मध्येवाट विक्रि गरेको देखिदा शुरु दाङ दे.जि.अ. वाट लिखत वदर हुने ठहराई भएको निर्णय फरक पर्न सक्ने हुनाले झगडियाहरुलाई झिकाई आएपछि म्याद गुज्रेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत नेपालगंजवाट भएको आदेश ।

    ९.   यसमा प्र.का दाता कौमती वस्नेत वादीहरुसंग एकासगोलका अंशियार नभई छुट्टि सकेको देखिन आउँछ । अंश लिइसकेको आफ्नो हकको संपत्ति विक्रि गरेकोमा छुट्टिएको अंशियार यो वादीहरुले लेनदेन व्यवहारको १० नं. वमोजिम सो वादीहरुले लेनदेन व्यवहारको १० नं. वमोजिम सो सम्पत्ति फिर्ता गराई लिन नपाउने हुँदा लिखत वदर गर्ने ठहर्‍याएको दाङ देउखुरी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुने ठहर्छ भन्ने समेतका मिति २०५२।३।२२ को पुनरावेदन अदालत नेपालगंजको फैसला ।

    १०.  छोराहरुलाई अंशवण्डा गरि दिएको भन्ने आधारमा नै हामी वावुहरु वीच अंशवण्डा भैसकेको भन्ने अनुमान लगाउनु न्यायसंगत होइन । अंशियारहरु वीच अंशवण्डा पारित भएको छैन । चार अंशियार मध्ये एक अंशियारले मात्र गरि दिएको विक्रि व्यवहारकाले अंश छुट्टिएको भनी अनुमान गर्न मिलदैन । अंशियारहरु सवै जनाले आ आफूले प्राप्त गरेको अंश वापतको संपत्ति भोग विक्रि व्यवहार गरेको हुनु पर्दछ । तर प्रस्तुत मुद्दामा त्यस्तो स्थिति छैन । मृतक कौमती र हामीहरु वीच हालसम्म अंशवण्डा नभएको कुरा शुरु दाङ देउखुरी जिल्ला अदालतमा चलेको अंश मुद्दामा यि प्रतिवादीले प्रतिउत्तर नफिराई वसेको अवस्थामा फैसला पूर्व निजको मृत्यु भएपछि अंश दिने व्यक्तिको मृत्यु भैसकेको अवस्थामा अग्रीम कारवाही गर्ने नपर्ने भनी फैसलामा भएकोवाट पनि निज कौमती हाम्रो अंश दिने व्यक्ति भएको स्पष्ट हुँदा निज एकजनाले मात्र गरेको विक्रि व्यवहारवाट अन्य हामी अंशियारहरु समेतेका हक जान नसक्ने हुँदा प्रमाणको मुल्यांकन नै नगरी कानून विपरीत भएको पुनरावेदन अदालत नेपालगंजको फैसलामा प्रतिपादित सिद्धान्त समेत त्रुटिपूर्ण हुँदा वदर गरी हाम्रो पुनरावेदन जिकिर वमोजिम होस भन्ने मिति २०५२ ।६।२।२ को वादीको पुनरावेदन पत्र ।

    ११.  नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा हाम्रो समेत अंश हक लागने निज कौमती नाउ. दर्ताको जग्गा विपक्षीहरु मिति राजिनामा पारित गरि लिनु दिनु गरेकोले चार खण्डको तीन खण्ड जग्गाको लिखत वदर गरी हाम्रो नाउँमा दर्ता समेत गराई पाउँ भन्ने फिराद दावी र वादी तथा दाता कोमती वीच २०१६ सालमा घरसारमा अशवण्डा भई २०२० सालको वण्डा वमोजिम सर्भे नापीमा आ आफ्नो नाउ.मा दर्ता गराई विक्रि व्यवहार गरी छोराहरुको नाउँमा वण्डा समेत गरिदिएको र दाता कौमती सगोलको अंशियार नभएको तथा निजको लोग्ने छोराहरु समेत कोही नहुँदा स्त्री अंशधनको २ नं वमोजिम आफूखुस गर्न पाउने सम्पक्ति भएकोले वादी दावी झुठ्ठा हो खारेज गरी पाउ भन्ने प्रतिउक्तर जिकिर भइ उत्पन्न विवादमा शुरु दाङ देउखुरी जिल्ला अदालतले वादी दावी वमोजिम लिखन वदर भय निजहरुका नाउँमा दर्ता समेत हुने ठहर्‍याएको फैसला उपरचित्त नवुझि प्रतिवादीको पुनरावेदन अदालत नेपालगंजले शुरुको फैसलालार्इ उल्टो गरी भएको फैसला उपर वादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता केदार गौतमले वादी र प्रतिवादी कौमती वस्नेत वीच अंशवण्डा भएको भन्ने सम्वन्धमा प्रतिवादी पक्षले कुनै पनि तथ्य स्पष्ट प्रमाण दिन सकेको छैन । तसर्थ प्रतिवादी कौमती सगोलको अंशियार नै हुँदा यि वादीहरुको मन्जुरी वेगर भएको खरिद विक्रि कानून विपरीत हुँदा उक्त लिखत वदर हुनुपर्दछ । प्रतिवादी कौमली वस्नेत र वादीहरु एकासगोलका अंशियार हुन भन्ने कुरा यि वादी र प्रतिवादीहरु वीच चलेको अंश मुद्दामा प्रतिवादीले प्रतिउत्तर नै नफिराई वसेको अवस्थामा जिल्ला अदालतवाट भएको निर्णयमा समेत स्पष्ट उल्लेख गरिएको छ । मेरा पक्षहरुले सगोलको सम्पत्तिवाट नभई स्वआर्जनको सम्पत्तिवाट आफ्ना छोराहरुलाई गरिदिएको वण्डा पत्रलाई नै आधार मानी वादी प्रतिवादीहरु वीच अंशवण्डा भैसकेको भन्न मिलदैन । अंशियारहरु वीच भोग विक्रि व्यवहार समेत केही भएको नहुदा एकतर्फि प्रमाणको आधारमा भएको पुनरावेदन अदालत नेपालगंजको फैसला त्रुटिपरुर्ण हुँदा अ.व. २०२ नं वमोजिम झगडिया झिकाउने आदेश हुनु पर्दछ भनी गर्नु भएको वहस जिकिर समेत सुनि शुरु दाङ देउखुरी जिल्लाअदालतले वादी दावी वमोजिम लिखत वदरगरी निजहरुका नाउमा दर्ता समेत हुने गरी भएको फैसलालाई उल्टी गरेको पुनरावेदनअदालत नेपालगंजको फैसला मिले नमिलेको र वादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के रहेछ ? त्यसमा निर्णय दिनु पर्ने देखिन आयो ।

    १२.  विद्वान कानून व्यवसायीको वहस जिकिर तथा मिसिल स.लग्न वादीहरुको पुनरावेदन पत्र सहितको सम्पूर्ण मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा यिनै वादी प्रतिवादीहरु वीच चलेको अंश मुद्दा मिति २०५०।६।२४ मा दाङ देउखुरी जिल्ला अदालतवाट खारेज भै अन्तिम भै वसेको अवस्था छ । वादी प्रतिवादीहरु वीचमा अंशवण्डा भैसकेको भन्ने सम्वन्धमा वादी टेक वहादुरवाट निजका छोराहरु वीचमा मिति २०४५।११।१८ मा र वादी मध्येका भिमवहादुर र निजका छोराहरु वीच मिति २०४६।५।२६ मा वण्डापत्र पारित भएको मिसिल संलग्न वण्डा पत्रको प्रतिलिपिवाट देखिन्छ । यदि वादी प्रतिवादीहरु सगोल मै भइ वण पत्र नभएको भए निज वादीहरु मध्येका टेकवहादुर र भीमवहादुरले आफ्ना छोराहरुलाई वण्डा पत्र गरि दिनु पर्नै अवस्था आउदैनथ्यो । त्यस्तै वादी मध्येका भीमवहादुर छोरा द्रोण वहादुरले प्र. कौमती वस्नेतवाट मिति २०४४।२।५ मा कि.न. ६४१ र ५८३ को जगगा खरिद गरेको देखिंदा एकासगोलका अंशियार वीच अचल सपत्ति खरिद विक्री गर्नु पर्ने औचित्य नै देखिदैन । त्यसैले वादी प्रतिवादीहरु एकासगोल भै रहे भएको देखिएन । वादी टेकवहादुरको छोरा मानवहादुरले आफ्नो वावुवाट अंश लिई मिति २०४४।२।९ मा अंशवण्डाको भरपाई गरिदिएको छ । त्यस्तै २०२७ सालमा भएको सर्भे नापीमा यी वादीहरुले आफ्नो भागको जग्गा आ आफ्नो नाममा दर्ता गरी विक्री व्यवहार समेत गरेको मिसिल संलग्न प्रमाणहरुवाट देखिन्छ । जहांसम्म वादीहरुले आफ्ना छोराहरुलाई गरी दिएको वण्डाको अचल सम्पत्ति संगोलको नभई नितान्त स्वआर्जनको भन्ने कथन छ त्यलाई पुष्टि गर्ने तथ्ययुक्त सवूद प्रमाण वादी पक्षवाट गुजार्न संकेको पाइएन । त्यसैले स्वआर्जनको भन्दैमा भाम प्रमाण विहिन कथनलाई सत्यतथ्य भनी निर्णय गर्न मिल्ने देखिएन । यसरी उपरोक्त अंश मुद्दा र वादी र वादीका छोराहरु वीचमा भएको छोरा द्रोण वहादुरले प्रतिवादी कौमती वस्नेतवाट अचल संपत्ति खरिद गरेको व्यवहारवाट समेत वादी प्रतिवादीहरु एका सगोलका देखिदैनन् । वादी प्रतिवादीहरु सगोलको अंशियार भए वादी र निजका छोराहरु वीच वण्डा हुदा विवादित कि.नं ६५९, ८३४ र ६१६ का जग्गाहरु पनि वण्डा हुनु पर्ने थियो तर निजहरु वीचमा उपरोक्त विवादित कित्ता न. का जग्गाहरु वण्डा भएको छैन । लेनदेन व्यवहारको १० नं मा अंश नभएको अंशियारले संगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिदा ऐनले आफूखुसी गर्न पाउने अरुको मन्जुरी लिन नपर्नेमा वाहेक अरुमा एकाघरका अंशियार सवै साक्षी वसेको वा निजहरुले मन्जुरीको लिखित गरी दिएको भएमात्र पक्का ठहर्छ भन्ने कानूनी व्यवस्था छ । तर प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरु प्र.कौमती वस्नेतसंग एकासगोलमा रहे भएको नभई छुट्टि भिन्न भैसकेको भन्ने सम्वन्धमा वादी मध्येका भीमवहादुर वस्नेतले आफ्नो भागको संपत्तिवाट आफ्ना छोराहरुलाई गरिदिएको वण्डा तथा वादी भीमवहादुरका छोरा द्रोण वहादुरले प्रतिवादी कौमती वस्नेतवाट अचल सम्पत्ति खरिद गरेको प्रमाणवाट समेत पुष्टि हुन्छ । तसर्थ यी वादी प्रतिवादीहरु वि.सं २०१६ सालमा नै छुट्टी भिन्न भै वण्डा पत्र समेत भइसकेको मिसिल संलग्न प्रमाण कागजवाट पुष्टि भएको देखिंदा अ.श लिई छुट्टि भिन्न सकेको प्रतिवादीले आफ्नो हकको संपत्ति विक्री गरेकोमा छुट्टिएको अंशियार यी वादीहरुले लेनदेन व्यवहारको १० नं वमोजिम सो संपत्ति फिर्ता गराई लिन नपाउने हुँदा लिखत वदर गर्ने ठहर्‍याएको शुरु दाङ देउखुरी जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्‍याएको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेकै देखिदा मनासिव ठहर्छ । पुनरावेदक वादीहरुको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. दिलीपकुमार पौडेल

 

इति सम्वत २०५५ साल जेष्ठ २७ गते रोज ४ शुभम .................।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु