निर्णय नं. ४८०८ - अंश

निर्णय नं.–४८०८ ने.का.प. २०५० (ग) अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
२०४८ सालको दे.पु.नं. – ४२६
आदेश मिति :– २०५०/८/१४/२
पुनरावेदक/वादी: जि. सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने ओमप्रसाद खनाल ।
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने भवानीशंकर खनाल समेत ।
मुद्दा :– अंश ।
(१) तीन अंशियारका नाउँमा पुर्खौली जग्गा दर्ता भएको तीनै जनाले अन्य व्यक्तिबाट जग्गा खरिद गरी केही बढाएको कुरा फिराद लेखबाट समेत देखिन आएको छ । यसरी अंशियार आपसमा र अन्य व्यक्तिसँग खरिद विक्री आदि व्यवहारगरेको समेत देखिन आएको, वादीको मेरो अंश भाग घटी भयो दामासाहीले पाउनुपर्ने पाइन भन्ने दावी नभई वण्डा नै भएको छैन भनी २०१५ साल २०२४ सालमा मानो छुटिएको भनी अलग अलग मिति देखाई २०४६ सालमा मात्र फिराद परेको देखिँदा समेत मानो मात्र छुटिएको नभई व्यवहारबाट पुर्खौली सम्पत्ति वण्डा लिई छुटिएको देखिन आउने हुँदा पुनरावेदन अदालत सुर्खेतको इन्साफ मिलेकै देखिँदा सदर हुने ।
(प्र. नं. १२)
पुनरावेदकका तर्फबाट: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
फैसला
न्या लक्ष्मण प्रसाद अर्याल
१. न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अनुसार पुनरावेदन अदालत वीरेन्द्र नगर सुर्खेतको मिति २०४८/१०/२३ को फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनपत्रको संक्षिप्त व्यहोरा यस प्रकार छ :
२. बाबु शशीलालका ५ भाई छोरामा जेठा दुर्गा प्रसाद बाबुकै पालामा छुट्टी भिन्न भएको साहिला विवाह नहुँदै परलोक हुनु भएको, माइला अन्यायी भवानी शंकर, काइला टिकाराम र म फिरादी ओम प्रकाश ३ अंशियार सगोलमा बसी आएका थियौं । २०१२ सालमा माइला भवानी शंकरका नाममा वाणासुर भन्ने मुखियाबाट खरिद भएको ५ विगाहा जग्गा २०१४ सालको नापीमा उहाँकै नाममा दर्ता र २०२९ सालमा टिकारामको श्रीमतीका नाममा दर्ता हनु आएको तथा रक्सीभट्टी सु.वि.न.न.पा. वडा नं. ४ को जग्गा भवानीशंकरका नामबाट विक्री गरी टिकारामका नाउँमा २०२३ सालमा लालमतिबाट खरिद गरेको २ विगाहा टिकारामका नाममा रहेको हुँदा सम्पूर्ण सम्पत्ति अन्यायीहरु जिम्मा नै छ । २०१५ सालमा माइला भवानी शंकर, २०२४ सालमा टिकाराम र म फिरादी मानो छुट्टि बसी आ–आफ्नो खति उपति गरी आएकोमा आफूले पाउने अंश भाग दाज्यूसँग माग गर्दा दिन्छौं दिन्छौं भन्दै आलटाल गरी आएको हुँदा मु. ऐन अंशवण्डाको २०, २१, २२, २३ नं. बमोजिम विपक्षीहरुबाट फाँटवारी लिई ३ भागको १ भाग अंश दिलाई पाउँ भन्ने वादी ओमप्रकाशको फिराद दावी ।
३. फिरादीले उल्लेख गरेको नाता सम्बन्धी कुरालाई मात्र समर्थन गरी वादीको सम्पूर्ण दावी झुठ्ठा हो, विपक्षीको र मेरो वीचमा अंशवण्डा गर्नु पर्ने पैतृक सम्पत्ति चल अचल कुनै पनि बाँकी छैन, २००० सालमा बाबु शशीलाल कालगतिले परलोक हुनु भएपछि म भवानीशंकर २०१५ सालमा विपक्षीसँग छुट्टी भिन्न भई चल अचल सम्पत्ति वण्डा गरी खति उपति गरी बसेका हौं म सँग विपक्षीको अंश भाग बाँकी छैन । विपक्षीको झुठ्ठा दावाबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी भवानी शंकर खनालको प्रतिउत्तर पत्र ।
४. हाम्रो बाबु शशीलाल २००० सालको आश्विन महिनामा परलोक हुनु भएको हो । हामी ३ भाई १४ सालसम्म एका सगोलमा थियौं, पैतृक सम्पत्ति भवानी शंकर जिम्मा थियो । म टिकाराम २००८ सालदेखि अहिलेसम्म नोकरीमा बहाल रहेको, चल अचल सम्पत्ति केही वण्डा नगरी भवानी शंकर र ओम प्रकाश २०१५ सालमा मानोसम्म छुट्टि भिन्न भै बसेको, २०२१ सालमा पैतृक सम्पत्ति भवानी शंकरबाट माग्दा वण्डा गर्नुपर्ने सम्पत्ति केहि छैन भन्ने जवाफ दिएकोले मेरो आर्जनबाट ज.वि. १–१७–१० खरिद गरी घर बनाई बसेको छु । वादी र मेरो वीच पैत्रिक सम्पत्ति वण्डा गर्नुपर्ने मेरो जिम्मा बाँकी छैन । मेरो उपर झुठ्ठा उजुर गरेको हुँदा झुठ्ठा दावाबाट फुर्सद गरी पाउँ भन्ने व्यहोराको प्रतिवादी टिकाराम खनालको प्रतिउत्तर पत्र ।
५. प्रतिवादीहरुबाट पेश भएको वण्डा गर्नुपर्ने फाँटवारी दरखास्त मिसिल सामेल रहेछ ।
६. प्र. भवानी शंकरको हकमा २०१५ साल चैत्र मसान्त र टिकारामको हकमा २०२६/२/५ मा मानो छुट्टिएको मिति कायम भएकोले सो मितिसम्मको सम्पत्तिबाट ३ भागको १ भाग अंश वादीले पाउने ठहर्छ भन्ने सुर्खेत जिल्ला अदालतबाट भएको मिति २०४६/१२/१५ को फैसला ।
७. २०२६/२/५ मा मानु छुट्टिएको मिति कायम गरी सुर्खेत जिल्ला अदालतबाट भएको फैसला त्रुटीपूर्ण हुँदा ०१५ सालमा मानु छुट्टिएको मिति कायम गरी शुरुको फैसला बदर गरी हक ईन्साफ पाउँ भन्ने टिकाराम खनालको पुनरावेदन पत्र ।
८. २०१५ साल पछि मेरो कमाई आर्जनबाट खरिद गरेको चल अचल सम्पत्ति प्रतिवादीबाट मात्र पाउनेगरी गरेको सुर्खेत जिल्ला अदालतको फैसला त्रुटीपूर्ण हुँदा सो फैसला बदर गरी मेरो प्रतिउत्तर पत्र अनुसार गरी पाउँ भन्ने प्रतिवादी भवानी शंकरको पुनरावेदनपत्र ।
९. यस्मा वादीबाट चल अचल श्री सम्पत्तिको फाँटवारी नै नलिई गरेको शुरुको ईन्साफ कानून सङ्गत नहुँदा शुरुको इन्साफ विचारणीय भएकोले अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थीलाई झिकाई आए वा गुजारेपछि पेश गर्नु भन्ने पु.वे.अ. सुर्खेतको २०४/७/१८ को आदेश ।
१०. मिसिल संलग्न तथ्य प्रमाणको मूल्याङ्कन गर्दा यी वादी ओमप्रसाद खनालले यिनै प्रतिवादी भवानी शंकरसँग २०२६/१/१६ मा गराई लिएको राजिनामाबाट यी वादी प्रतिवादी भवानी शंकरबाट छुट्टिई भिन्न बसेको प्रमाणित भै रहेछ । प्रतिवादी मध्येका टिकाराम खनालले २०२६ सालमा आफ्नो श्रीमतीको नाममा यिनै प्रतिवादी भवानी शंकरबाट राजिनामा गराई लिएको र सो राजिनामा यिनै वादी साक्षी समेत बसेको देखिएकोले आपसमा भोग विक्री व्यवहार गरेको देखिन आएको स्थितिमा अंश पाउँ भन्न मिल्ने कुरा भएन । वादी प्रतिवादीहरु बीच परस्परमा जग्गा सुक्रि विक्री भएको व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरु आ–आफ्नो अंश भाग लिई पाई छुट्टिई भिन्न भै बसेको मिसिल संलग्न प्रमाणबाट देखिन आएकोले अंश दिलाई पाउँ भन्ने वादी दावीपुग्न सक्दैन । वादीले प्रतिवादीबाट अंश पाउने गरेको सुर्खेत जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा बदर भै उल्टी हुन्छ भन्ने समेतको पुनरावेदन अदालत सुर्खेतको फैसला ।
११. प्रतिवादीहरुले आफ्नो प्रतिउत्तरमा वादीले यो यति अचल सम्पत्ति अंशवण्डा गरी लिइ सकेका छन् भन्न सकेका छैनन् । २०२६ सालको भवानी शंकरसँग गरी लिएको राजिनामाको आधारमा अंश पाइसकेको भन्न मिल्दैन । वादी दावी भन्दा वाहिर गई फैसला गरिएको छ । प्रतिवादी टिकाराम खनालले २०२६ सालमा आफ्नो श्रीमतीको नाउँमा प्रतिवादी भवानीशंकरबाट गराई लिएको राजिनामा लिखतमा म साक्षी बस्दैमाअंश पाइ सकेको भन्न मिल्दैन । त्यसमा साक्षी बस्दा मैले केही अंश लिइ सकेको छु भनेको छैन । मानो छुट्टिईसकेपछि खति लपति आ–आफ्नो हुने हुँदा प्रतिवादीबाट मैले गराई लिएको राजिनामा लिखतबाट मैले अंश पाई सकेको भन्न मिल्दैन । मैले मेरो नाउँको जग्गा विष्णु देवी कसाई समेतलाई राजिनामा पारीत गरी दिँदा आफ्नोसमेत हक लाग्ने जग्गा आफ्नो मञ्जुरी नलिई राजिनामा पारित गरी दिएको भनी विपक्षी टिकारामले विक्री वदर मुद्दा दायर गरेबाट पनि मैले विपक्षीबाट अंश नपाएको स्पष्ट छ । यस्तो अवस्थामा मैले अंश पाई सकेको भनी गरेको फैसला मुलुकी ऐन अंश वण्डाको ३० नं., अ.वं. १८४ नं. र १८५ को विपरित भै गैरकानूनी छ भन्ने समेतको वादी ओमप्रसाद खनालको पुनरावेदन पत्र ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी ओम प्रसाद खनालको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शिवराज अधिकारीको वहस समेत सुनी इन्साफ तर्फ विचार गर्दा वादीले आफ्नो फिरादमा १० कठ्ठा पुख्र्यौली जग्गा आफ्नो नाममा रहेको भनेका छन् । निजले भेरी अञ्चल अदालतमा पेश गरेको ०४७/११/२६ को तायदातीमा वीरेन्द्रनगर नगरपालिका वडा नं ७ (ख) कि.नं. १२३ जग्गा वि ०–९–१६–१/४, ऐ. वडा नं. ७ (क) कि.नं. २३० जग्गा वि. ०–१०–२ र ऐ. वडा नं. ६ ग.ज.वि. ०–१०–१४–१/२ समेत जम्मा जग्गा विगाहा १–१०–१२–३४ देखाएका छन् । प्रतिवादी भवानी शंकरबाट वादीले ०२६/१/१६ मा जग्गा राजिनामा पास गरी लिएको, भवानी शंकरले प्र. टिकरामको श्रीमतीलाई २०२६ सालमा राजिनामा पास गरी दिँदा वादी साक्षी बसेको छ । यसरी तीन अंशियारका नाउँमा पुख्र्यौली जग्गा दर्ता भएको, तीनै जनाले अन्य व्यक्तिबाट जग्गा खरिद गरी केही बढाएको कुरा फिराद लेखबाट समेत देखिन आएको छ । यसरी अंशियार आपसमा र अन्य व्यक्तिसँग खरिद वित्री आदि व्यवहार गरेको समेत देखिन आएको, वादीको मेरो अंश भाग घटी भयो दामासाहीले पाउनु पर्ने पाइन भन्ने दावी नभई वण्डा नै भएको छैन भनी २०१५ साल र २०२४ सालमा मानो छुट्टिएको भनी अलग अलग मिति देखाई २०४६ सालमा मात्र फिराद परेको देखिँदा समेत मानो मात्र छुट्टिएको नभई व्यवहारबाट पुख्र्यौली सम्पत्ति वण्डा लिई छुट्टिएको देखिन आउने हुँदा पुनरावेदन अदालत सुर्खेतको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । कोर्टफि राखि पुनरावेदन परेको हुँदा केही गरी रहन परेन । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या उदयराज उपाध्याय
इति सम्वत् २०५० साल मार्ग १४ गते रोज २ शुभम्