शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०१३ - शर्त करार क्षतिपूर्ति ।

भाग: ३६ साल: २०५१ महिना: फागुन अंक: ११

निर्णय नं.५०१३      ने.का.प. २०५१            अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायधीश श्री अरविन्दनाथ आचार्य

सम्वत २०५० सालको दे.पु.नं.१२०४

फैसला मितिः-२०५१।८।२६।२

 

मुद्दाः शर्त करार क्षतिपूर्ति ।

 

निवदकः-मोरङ जिल्ला विराटनगर न.पं.अन्तर्गत वडा.नं.२२ मा अवस्थित श्री रघुपति जुट मिल्स लिमिटेडको हकमा यो कम्पनी महाप्रबन्धक ऐ.ऐ वडा नं.२२ बस्ने ध्रुवबीर पाण्डे ।

विरुद्ध

विपक्षीः-ऐ.ऐ वडा नं.३ बस्ने अशोक कुमार जैन ।

 

      अ.वं.७२ नं.मा भएको व्यवस्थाबाट जति कुराको इन्साफ गर्न नमिल्ने हो सो इन्साफ गर्न नमिल्ने जति कुराको मात्र वाहेक गरि वांकी कुरामा इन्साफ गर्ने पर्ने र समुच्च नै फिराद दावी खारेज गर्न नमिल्ने ।

(प्र.न.९)

 

निवेदक तर्फबाटःX

विपक्षी तर्फबाटःX

अवलम्बित तर्फबाटःX

फैसला

न्या. अरविन्दनाथ आचार्यः-पुनरावेदन अदालत विराटनगरको फैसला उपर प्रतिवादीको यस अदालतमा दायर हुन आएको यो पुनरावेदन पत्र न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१) (ग) बमोजिम यसै अदालतको अधिकार क्षेत्र भित्र पर्ने हुंदा प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छः-

२.    विपक्षीसंग मिति १३।६।४१ इस्वी सम्वत २९।९।१९८४ मा करार संख्या ०५७ अनुसार २१ गांठ ६३०० वोरा वि.रिकल ४४-२६.१/२ दिने गरी धरौट रु १०,७१५| र करार संख्या ०५६ को ११ गांठ २०५२८ क्विन्टल सुतलि साइज ३७२ दिने गरी धरौट रु ३,५८३|९० र मिति २०४१।६।२४ इ.सं.१०।१०।१९८४ करार संख्या ०६५ को २५ गांठ १०,०० वोरा डि. डब्लु ब्लु,(४००) साइज ४४-२६.१/२ दिने गरी धरौट रु १३९३२|- र ०४१।७।१ इ.स १७।२०।१९८४ कारा संख्या ०८० को २५ गांठ १०,००० वोरा डि.डब्लु ग्रिन (४००) साइज ४२ X २९ दिनु धरौटरु.१२९५७|- र करार संख्या ०८१ को ५ गांठ ७।९।३३१ क्विन्टल सुतली (१८६६२१) साइज ३ x७२ दिने गरी धरौट रु.१६२९|- समेत लिइ उक्त उत्पादित जुट माल नोभेम्बर ८४ मा मैले डेलिभरी पाउने गरी शर्त करार हाम्रो वीच भएको थियो । करार संख्या ०५६ को सुतली ११ गांठ रु.३५८३।९० र करार संख्या ८१ को माल सुतली ५ गांठ रु. १६२९|- समेतको धरौट भएको करारवाला माल नगदी मोल तिरि उठाइ लगेको त्यसमा हिसाब गर्दा रु. ५२१२|९० धरौट ४५०७८।३६ छ । माल नपाए पछि करार रद्द गरी धरौट फिर्ता दिनुस भन्दा सुनवाइ भएन । २०४१।१२।९ र ०४२।२।१६ र ०४२।७।२ र ०४३।७।२५ मा निवेदन मसमेत दिएकोमा मान दिन नसक्दा बढेको मालको डिफरेन्स  सहित धरौट फिर्ता पाउनुको सट्टा २०४५।१।१५ मा तयारी मालको धेरै लामो समयसम्म नउटाएको हुंदा करार रद्द गरि धरौट जफत गरिएको विपक्षीको एक तर्फी निर्णयको सूचना दिएकोले बढेको रेटको क्षेतीपूर्ती तथा धरौट रहेको मैले पाउने रु.४५०७८।३६ दिलाइ भराइ पाउं भन्ने फिराद ।

३.    विभिन्न मितिमा गरिएको ६ वटा वेग्ला वेग्लै लिखतहरुको आधारमा विपक्षीले एउटा फिरादै दर्ता गराउनु भएको अ.वं. ७२ नं.को कानूनी प्रावधानको विपरित हुंदा र १९८४ नोभेम्बर भन्नाले  करारको समाप्ती २०४१।८।१५ मात्र उठाइ सक्नु पर्ने १५ दिन अगावै चलानी अडर दिन पर्ने सो नगारेको करारको आधारमा विपक्षलाइ फेरादगर्न हकदैया नभएकोले अ.वं. ८२ नं.ले र करार ऐनको दफा१८(२) (ग) ३ महिना मात्र होइन लेनदेन व्यवहारको ४० नं.२ वर्ष भित्र फिराद गर्न नसक्नु भएबाट खारेज हुने माल नउठाए वा उठाउन नचाहे पछि मालको पुरा मोल ७ दिन भित्र बुझाउनु पर्ने ।आठौं दिनदेखि दर अनुसार व्याज विमा खर्च कम्पनिलाई बुझाउनु पर्ने करारलप शर्त संख्या १० ले गरेको हुंदा विपक्षीलाई राखेको अग्रिम रकम हिसाब अनुसार नगन्य छ जफत गरेको मुनासिब भएकोले क्षति नपुगेको खारेज हुने औचित्यहिन दावीबाट फुर्सद पाउं भन्ने प्रत्युत्तर पत्र ।

४.    शुरुले फिराद खारेज गर्ने गरेको इन्साफमा चित्त बिझेन अ.व.७२ नं. कै व्यवस्था एउटै विषयवस्तुको एउटै मानिस उपर फिराद लग्दछ, कम्पनि ऐनले कम्पनिलाइ व्यक्ति मानो छ नाम कम्पतिको हुनेछ । धरौट रकम पनि विपक्षीले खाने र शर्त भंग गर्न पाउने पनि होइन ।सम्मानित श्री सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरुबाट शुरुले गरेको खारेजी फैसला कानून संगत नभएबाट फिराद दावीमा किएको जिकिर अनुसार मेरो धरौट रकम र हर्जना समेत भराइ दिलाइ पाउने इन्साफ पाउं भन्ने समेत वादीको साविक कोशि अंचल अदालतमा पर्न आएको पुनरावेदन जिकिर ।

६.    अशोक कुमार जैनको फिरादमा एउटै व्यक्तिले एउटै व्यक्ति विरुद्ध जतिसुकै झगडाको विषय लिएर आएको हो वा लेखिए भन्दा बढ्ता कुरा एउटै फिराद पत्रमा लेखि ल्याएको के हो सो को निर्णय गरी लेखिए भन्दा बढता कुरा एउटै फिराद पत्रमा लेखि ल्याएको के हो भन्ने निष्कर्षमा पुगपछि जतिकुराको सम्वन्धमा अदालतबाट उसै वखत बोलि भरपाइ लेखि दिनुपर्ने र इन्साफ गर्नु नपर्ने हो ति कुराहरुको सम्बन्धमा अदालतबाट उसै वखत वोलि भरपाइमा लेखि दिनुपर्ने र इन्साफ गर्नु पर्नेसम्म कुराको हकमा इन्साफ गर्नुपर्ने व्यवस्था भए अनुरुप मोरङ जिल्ला अदालतबाट अपनाउनु पर्ने कार्यविधि वा गर्न सक्ने इन्साफ भए गरेको नदेखिदां मोरङ जिल्ला अदालतबाट भएको फैसला वदर गरि दिएको छ ।अब माथि प्रकरण प्रकारणमा गरिएका विवेचना अनेसार जे जसो हेर्नु वुझ्नु पर्ने हो  हेरि बुझि कानून बमोजिम ठहर निर्णय गर्नु भनी मोरङ जिल्ला अदालतलाइ लेखि पठाइदिने  ठर्हछ भन्ने पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला ।

७.    प्रचलित नेपाल कानूनद्वारा वाध्यात्मक बनाइएको कार्यविधि कानूनको अतिक्रमण गरी विपक्षीबाट दर्ता गराइएको हुंदा पुनरावेदन अदालत विराटनगरले गरेको त्रुटिपूर्ण फैसला बदर वातिल गरी मोरङ जिल्ला अदालतको फैसला कायम राखि पउन अनुरोध छ भन्ने प्रतिवादीको यस अदालतमापरेको पुनरावेदन पत्र ।

८.    नियमानुसार दैनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत विराटनगरले शुरु जि.अ.को फैसला वदर गरी पुनः निर्णयार्थ मोरङ जिल्ला अदालतमा पठाउने गरी गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु परेको छ ।

      ९.    यसमा मिजति २०४४।६।१३,०४१।६।२४ तथा मित ०४१।७।१ को करारमा रहेको धरौटमा उठाएको मालमा हिसाब गरी रु ५२१२।९० कटाउंदा बांकि ४५०७८।३६ बढेको रेटको क्षतिपुर्ति दिलाइ भराइ पाउं भनि करार संख्या ०५५।०५६।०५७।०६५,।०८० र ०८१ का शर्त करारका सम्बन्धमा अशोक कुमार जैनको रघुपति जुट मिल्स लिमिटेड विराटनगर उपर फिराद दावी भएकोमा विभिन्न मितिका करार लेखतलाई एउटै फिराद दावी लिई आएको फिराद अ.व. ७२ नं.को प्रतिकुल देखिइ इन्साफ गर्न नमिलि खारेज हुने भनि शुरु मोरङ जि.अ.बाट ठहर गरेको रहेछ ।मुलुकि ऐन अ.वं. ७२ नं.मा एउटै फिरदपत्रमा एउटै मानिस उपर जतिसुकै झगडाको विषयको कुरा लेखी ल्याएको भएपनि लिइ सो बमोजिम सबै कुराको सोहि फरादपत्रबाट इन्साफ गर्नु पर्दछ र लेखिएभन्दा बढ्ता कुरा एउटै फिरादपत्रमा लेखि ल्याएको रहेछ भने फिरादपत्र फिर्ता गर्न भने हुदैंन । बढि जति लेखि ल्याएको कुराको यस फिरादपत्रबाट इन्साफ गर्न नपर्ने  अरु अड्डा वा यसै अड्डाबाट अर्को फिराद पत्रबाट दिएमा मात्र इन्साफ गर्नु पर्ने  भनि सो फिराद पत्रबाट जतिकुराको इन्साफ गर्नु नपर्ने हो उति कुराहरु फिरादपत्र वालालाई थाहा दिन पर्ने गरी स्पष्ट व्यवस्था भएको पाइन्छ ।उक्त अनुसार ०४१।६।१३,०४१।६।२४ तथा ०४१।७।१ समेतको करारका सम्बन्धमा वादी अशोक कुमार जैनको प्रतिवादी जि.मोरङ विराटनगर न.पा.वा.नं.२२ स्थित रघुपति जुट मिल्स लिमिटेड विराटनगर उपरको क्षतिपुर्ति तथा धरौटको रु ४५,०७८।३६ दिलाई भराई पांउ भन्ने यो फिराद दाचीका सम्बन्धमा विभिन्न मितिको करारको सम्बन्धमा एउटै फिराद दिएको आधार उल्लेख गरी शुरु जि.अ. बाट भएको खारेजी फैसलालाई वदर गरेको अ.वं. ७२ नं. भएको उक्त व्यवस्थाबाट जति  कुराको इन्साफ गर्न नमिल्ने हो सो इन्साफ गर्न नमिल्ने जति कुराको मात्र वाहेक गरी वांकि कुरामा इन्साफ गर्नु पर्ने र समुच्चा नै फिराद दावी  खारेज गर्न नमिल्ने स्पष्ट देखिन आंउछ ।      यसर्थ फिराद पत्र खारेज गरेको शुरु मोरङ जि.अ.को फैसला वदर गरी जे जो बुझ्नुपर्छ हेरी वुझि कानून बमोजिम ठहर निर्णय गरल्नु भनी शुरु जि.अ.पठाउने ठहर्‍याएको पुनरावेदन अदालत विराटनगरको फैसला मनासिव हुंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी वुझाइ दिनु।

     

उक्त रायमा म सहमत  छु ।

 

न्या. केदारनाथ उपाध्याय

 

 

इति सम्वत २०५१ साल मंसीर २६ गते रोज २ शुभम्..........................।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु