निर्णय नं. ५०१४ - बाली विगो ।

निर्णय नं. ५०१४ ने.का.प २०५१ अङ्क ११
संयुक्त इजलास
माननिय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
सम्वत २०५० सालको दे.पु.नं.१२४७
फैसला मितिः- २०५१।७।१४।२
मुद्दाः- बाली विगो ।
निवेदकः-जिल्ला सप्तरी गाउं विकास समितिको इलाडी वडा नं. ३ बस्ने पवन कुमार सिंह राजपुत।
विरुद्ध
विपक्षी वादीः ऐ.ऐ बस्ने राजकुनार सिंह राजपुत ।
अंश मुद्दामा फिराद परेपछि वादी प्रतिवादीको माननो छुट्टिएको नै मान्नु पर्ने देखिन आउने ।
(प्र.नं. १३)
जग्गा मिच्नेको १८ नं.मा वालीको कुरामा ३ वर्षभित्र नालेश गर्ने व्यवस्था भएको देखिएको वादी दावी बमोजिम ३ वर्ष भन्दा बढिको वाली भराइ दिन नमल्ने ।
(प्र.नं. १३)
निवेदक तर्फबाटःX
विपक्षी तर्फबाटःX
अवलम्बित नजिरःX
आदेश
न्या.कृष्ण कुमार बर्माः- न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ग) बमोजिम पुनरावेदन अदालत,सप्तरी राजविराज फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यवहार यस प्रकार छः
२. प्रतिवादीहरु भाइ नाताका हुन मैले स्वर्गीय बाबु जितेन्द्र नारायण सिंह समेत उपर २०३५ सालमा अंश मुद्दा दिई मिति २०४२।७।१९ गतेमा अंशमुद्दा अन्तिम फैसला भएकोमा म वादीको अंश फांटको जग्गाजमीनको आयस्ता तथा इज्जत आमद अनुसार खान लाउन समेत नदिएको हंदा २०३५ सालदेखि २०४१ सालसम्म वर्ष ७ को जिम्मा जग्गा ९-५-६ मध्ये मेरो अंश भागको जग्गाको धान मन ३५१-२-० मध्ये धान मन ११-२६-१० कटाइ वांकी धान मन ३३९-५-६ को प्रतिमन रु.१००|- ले हुने मोल रू ३३,९१३।४३ र कोर्टफि समेत दिलाई भारइ पांउ भन्ने वादीको मिति २०४३।७।१८ गतेको फिराद पत्र ।
३. वादीले दावी गर्नु भएको दर्ले जग्गामा उब्जा पनि हुदैंन वादीले जग्गाको वाली खान नपाएको भए मुलुकी ऐन अंशवाण्डाको ३१ नं.बमोजिम जग्गाको आयस्ता वाली रोक्का गराउनु पर्नेमा आयस्ता वाली रोक्का समेत नगराउनु भएकोबाट समेत पनि वादीले अंश मुद्दा परेपनि बाली खाइपाइ आउनु भएको छ । वादी स्वयमले फिरादमा २०४० सालको वाली खाइको भनी लेखाएकोबाट पनि अघि पछिको वाली खाएको छ भन्ने प्रष्ट छ,भन्ने समेत व्यहोराको प्रतिवादीहरुको प्रतिउत्तर पत्र ।
४. आदेश अनुसार वादीका साक्षी भोला,यादव,रामजी ठाकुर,वौदालाल मण्डल र प्रतिवादीका साक्षी विन्देश्वर यादवले वकेको वकपत्र मिसिल सामेल रहेको ।
५. उब्जनी सम्बन्धमा आदेश अनुसार जग्गा रहेको पंचायत दिधवामा मिति २०४५।६।४ मा रुपनगरमा मिति २०४६।३।३।२ फुपिप्रामा मिति २०४६।३।२२ र मध्ये पूरामा मिति २०४६।४।१४ मा भई आएको सर्जमिन मुचुल्का मिसिल सामेल रेहको ।
६. यस्मा वादीले ०३७,०३८,०३९ र ०४१ सालको सम्मको मात्र बाली त्यो पनि मोहिवाला कित्ताहरुमा मोहीको हुने कुतवालीको विगोबाट र अरुमा धनी वोटि समेत सारी पाउने जसमा ०३९ र ०४१ सालको वाली चांहि वादीले दर्ता गराई लिएकै कित्ताको नै हिसाबबाट र ०३७।०३८ सालको वालीको हकमा भने उपरोक्त अंश मुद्दाको मिसिलबाट वादी प्रतिवादीहरुको वावे जितेन्द्र नारायणको मृत्यु मिति २०३८।८।४ मा भएको देखिंदा उक्त मुद्दाको तायदातीमा उल्लेख भएको कित्ता क्षेत्रफलको हिसाब ४ को भाग १ भाग सम्मको वाली वादीले प्रतिवादीहरुबाट भरी पाउने ठहर्छ भन्ने समेत सप्तरी जि.अं.को मिति २०४६।८।२५ गतेको फैसला ।
७. वादीले अंशवण्डा महलको ३१ नं.को कानूनी बाटो अनुशरण नगरेकोबाट नै जग्गाको वाली स्वयम् वादीले खाइरहेको निजले नै भोग गरिरहेको तसर्थ तर्क संगतरुपमा सिद्ध भएकोमा वादीको कानून विपरितको दावीमा खादैं नखाएको वाली भराइ दिने ठहर गरेको फैसलामा ज.मि.को १८ नं.तथा प्रमाण ऐन,२०३१ को दफा ७(ग) र अ.वं.१८४(क) १८५ नं.समेत गम्भीर त्रुटीभएकोले र २०४० सालको वाली स्वयमले खाएको त्यसरी २०४० सालको वाली खाएपछि अरु सालको वाली निजले खाइको छैन भनी अनुमान गर्न मिल्दैन । तसर्थ पुनरावेदन जिकिर प्रतिउत्तर जिकिर बमोजिम गरी शुरुको फैसला उल्टाइ पांउ भन्ने समेत प्रतिवादीहरुको पुनरावदेन पत्र ।
८. यस्मा मोही लागेको जग्गाको वाली भराइको सम्बन्धमा शुरु फैसला विचारणीय हुंदा अ.वं. २०२ नं. अनुसार प्रत्यर्थीलाई झिकाइ पेश अनुसार गर्नु भन्ने मिति २०४७।२।९ गतेको आदेश ।
९. जग्गा मिच्नेको १८ नं. बमिजिम ४ वर्षको वाली दिलाएको मिलेन तसर्थ वादीले प्रतिवादीबाट ३ वर्ष अवधिसम्मको वाली भरी पाउने ठर्हछ शुरु सप्तरी जि.अ.को फैसला केही उल्टी हुन्छ भन्ने समेत पुनरावेदन अदालत राजविराज सप्तरीको मिति २०४९।८१ गतेको फैसला ।
१०. उक्त फैसला हकदैया विहिन प्रमाण विहिन दावी खारेज नै गर्नु पर्नेमा वाली भराउने गरी शुरुले गरेको फैसला केहि उल्टाइ पुनः वाली भराउने भनी गरेको पुनरावेदन अदालत राजविराज सप्तरीको फैसला मिलेको नहुंदा सो फैसला उल्टाइ बादी दावी खारेज गरी पाउन सादर अनुरोध गर्दै रो पुनरावेदन पत्र प्रेषित गरेका छौं भन्ने समेत यस सर्वोच्च अदालतमा प्रतिवादीहरुले चढाएको पुनरावेदन पत्र ।
११. नियम बमोजिम दैनिक कजलिष्टमा इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदकलाई रोहवरमा राखी मिसिल अध्ययन गरी पुनरावदन अदालत राजविराजको फैसला मिले नमिलेतर्फ विचार गर्दा पुनरावेदकहरु तथा वादी विच अंश मुद्दा परी सगरमाथा अंसल अदालत,राजविराज वेन्जबाट मिति २०४२।७।१९ गतेमा पुनरावेदक वादीले ३ भागको १ भाग अंश पाउने र नदीकाटमा परेको जग्गा उकास भएको वखत माथी लेखिएकै हिसाबबाट वण्डा हुने समेत ठर्हछ प्रत्यर्थी प्रतिववादीबाट दाखिल भएको तायदातिमा देखाइएको ऋणको हकमा साहुको उजुर परेको वखत ठहरे बमोजिम हुने नै हुंदा शूरु सप्तरी जि.अ.ले अंश पांउ भन्ने वादी दावी पुग्ने नसक्ने ठर्हछ भनि गरेको इन्साफ गल्ती ठर्हछ भन्ने समेत फैसला भई अन्तिम भएर रहेकोले उक्त फैसलाले जिती पाएको मेरो अंश भागमा परेको जग्गाहरुको ०३७,०३८,०३९ र ०४१ सालको वाली प्रतिवादी सनद कुमार समेतबाट दिलाइ भराइ भन्ने समेतको मुख्य फिरादीको दावी देखियो।
१२. अंश मुद्दाको फैसला अन्तिम भएर बसेपछि जग्गा मिच्नको १८ नं. अनुसार वालीको कुरामा ३ वर्षभित्र नालेश गर्ने हदम्याद देखिएकोले फैसला अन्तिम भएर बसेको मिति २०४२।७।१९ र नालेश परेको मिति २०४३।७।१८ गते मिति हुंदा हदम्याद भित्रकै नालेश देखियो ।
१३. पुनरावेदकले विपक्षी वादीले खाएको वाली समेतमा नालेश गर्यो भन्ने पुनरावेदन जिकिर तर्फ हेर्दा अंश मुद्दामा फिराद परेपछि वादी प्रतिवादीको माननो छुट्टिएको नै मान्नु पर्ने देखिन आयो । जग्गा मिच्नेको १८ नं.मा वालीको कुरामा ३ वर्षभित्र नालेश गर्ने व्यवस्था भएको देखिएको वादी दावी बमोजिम ३ वर्ष भन्दा बढिको वाली भराइ दिन मल्ने पनि देखिन आएन । अतः पुनरावेदन अदालत राजविराज सप्तरीबाट प्रतिवादी ३ वर्ष अवधिसम्मको वाली भरी पाउने ठहराएको इन्साफ मनासिब देखिएकोले पुनरावेदन अदालत राजविराज सप्तरीको फैसलामा केहि परिर्वतन गरिरहन परेन सो इन्साफ मनासिब ठर्हछ। प्रतिवादी पुनरावेदनको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केदारनाथ उपाध्याय
ईति सम्वत २०५१ साल कार्तिक १४ गते रोज शुभम्.........................।