शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७३७ - हक कायम समेत ।

भाग: ४८ साल: २०६३ महिना: कार्तिक अंक:

निर्णय नं.७७३७      ने.का.प.२०६३        अङ्क ७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बलराम के.सी.

माननीय न्यायाधीश श्री पवनकुमार ओझा

संवत् २०५८ सालको दे.पु.नं.६८७१

फैसला मितिः २०६२।१२।७।२

 

मुद्दाःहक कायम समेत ।

 

पुनरावेदक/प्रतिवादीः   सप्त सागर प्रधानाङ्गको मु.स.गर्ने भक्तपुर जिल्ला भक्तपुर उपमहानगर पालिका वडा नं.१५ वस्ने आनन्द सागर प्रधानाङ्ग समेत

बिरुद्घ

प्रत्यर्थी/वादीः ऐ.ऐ.वडा नं. बस्ने जगतमाया फैंजु

 

§  आफ्नो हकको जग्गा अरु कसैले कुनै व्यहोराले दर्ता गरे गराएको कुरा थाहा पाएको मितिले ६ महिनाभित्र नालेस गर्न पर्ने हदम्यादको कानूनी प्रावधान २०३४।९।२७ मा मुलुकी ऐनमा भएको सातौं संशोधनले जग्गा मिच्नेको १८ नं. र जग्गा पजनीको १७ नं.लाई संशोधन भए पछि मात्र आएको देखिन्छ । मुलुकी ऐन सातौं संशोधन पुर्व मिति २०२३।११।२३ मा गरेका दर्ता बदर गर्न त्यसपछि मिति २०३४।९।२७ मा भएको संशोधित हदम्यादको व्यवस्था लाग्न नसक्ने।

§  तत्काल प्रचलित ऐनले तोकेको हदम्यादभित्रै नालेस लिई आउनु पर्छ, हदम्याद नाघि परेको फिराद पत्रका आधारमा तथ्यभित्र प्रवेश गरी प्रमाणको मूल्याङ्कन गरी इन्साफ गर्न नमिल्ने ।

§  प्रस्तुत मुद्दामा बिवादित जग्गा प्रतिवादीका नाउँमा दर्ता भएका मितिले उक्त तत्काल प्रचलित जग्गा पजनीको १७ नं.र जग्गा मिच्नेको १८ नं.ऐनको हदम्याद २ बर्ष भित्र फिराद परेको देखिदैन । त्यसरी ऐनले तोकिएको हदम्याद नाघि परेको फिरादबाट तथ्यमा प्रवेश गरी इन्साफ गर्न मिल्ने अवस्था नरहने ।

(प्रकरण नं.१६)

 

§  मिति २०२३।११।२३ मा प्रतिवादीहरुले गरेको दर्ता बदर गर्न वादीहरुले मिति २०५१।४।१७ मा दायर गरेको फिरादलाई हदम्याद भित्रको मान्न नमिल्ने ।

§  प्रस्तुत फिराद ऐनले तोकेको हदम्याद २ बर्षभित्र परेको देखिन नआई सो हदम्याद नाघि परेको देखिँदा अ.बं.१८० नं.ले फिराद खारेज हुने ।

(प्रकरण नं.१७)

 

पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ताहरु श्री शंकर सुवेदी र भेषराज न्यौपाने 

प्रत्यर्थी वादीका तर्फबाटः विद्वान अधिवक्ता श्री कमलराज थापा र श्री सानु सुवाल           

अवलम्बित नजीरः ने.का.प.२०४४ अंक २ नि.नं.२९९३ पृष्ठ १८३ 

 

फैसला

न्या.वलराम के.सी.: न्याय प्रशासन ऐन २०४८ को दफा ९ अन्र्तगत यसै अदालतको क्षेत्राधिकार भित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:

२.   हाम्रा बाबु पति आसलाल फैंजुको नाममा साविक २ नं.ब्रम्हायणी मौंजा न.नं.२३११ खेत रोपनी १२ को हाल नापीमा भ.पु.जि.तार्थाल गा.बि.स.वडा नं.९ (ज) कि.नं.२३७ क्षेत्रफल ०१२० र ऐ.ऐ.कि.नं.७३८ क्षेत्रफल ३० मा दर्तावाला परलोक भै बिपक्षीहरुले २०२४ साल सम्मको मालपोत बुझाई आएकोमा नापीमा उक्त जग्गा सप्त सागर र सर्वज्ञ भक्तको आधा हाम्रा पति पिता आसलालको भनि मोही हर्षबहादुर र बिपक्षीहरुले स्वीकारी लेखाई जनिएको पाईन्छ । हाल २०५० साल सम्म मोहीबाट कुत बुझि आएबाट आधा हामीहरुको हक लाग्नेमा दर्ता गर्न जाँदा उक्त जग्गा प्रतिवादी सर्वज्ञभक्त र सप्त सागरले मिति २०२३।१०।२३ मा दर्ता गरी ज.ध.श्रेस्ता पुर्जा लिई प्रतिवादीहरु बीच २०३४।५।१४ मा बण्डापत्र पारित भै शम्भुभक्तको भागमा परि दा.खा.समेत भएको व्यहोरा ०५१।२।२ मा नक्कल सारी थाहा भएकोले उक्त दुषित दर्ता बदर र बण्डापत्र दर्ता बदर गरी बिपक्षीहरुको हक कायम नगरी ज.ध.द.प्र.पु. समेत पाउने ठहर गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद दावी ।

३.   पिता सप्त सागर प्रधानाङ्ग र म सर्वज्ञ भक्त प्रधानाङ्ग जना २ का नाममा दर्ता भएको साविक २ नं.ब्रम्हायणी पाको सि.नं.१९८ न.नं.२३११ दोयम रोपनी १ र ऐ.ऐ.न.नं.१२७१ रोपनी २ समेत २ कित्ता जग्गा अघि देखि हामीले आफ्नो स्वामित्व मानी भोगचलन गरि आएका छौं । २०२१ सालको सर्भे नापीमा भ.पु.जि.तार्थाल गा.बि.स.वडा नं.९ (ज) कि.नं.२३७ वा ऐ.क्षेत्रफल ०१२० र ऐ.ऐ.कि.नं.२३८ क्षेत्रफल ३० समेतको क्षेत्रीय कितावमा जोताहा हर्षबहादुर वाला र जग्गावालाको महलमा सप्त सागर र सर्वज्ञभक्त प्रधानाङ्ग जना २ को नाम उललेख भएको र कि.नं.७३८ कुन जग्गाको दावी लिएको हो हामीलाई थाहा छैन । हामिले उक्त जग्गा बिपक्षीहरुका पति पिता आसलाल फैंजुको आधा हक लाग्ने भनि स्वीकार गरेका छैनौं । त्यस्तो व्यहोराको कुनै लिखत वादीले पेश गर्न पनि सकेको छैन । बिपक्षीहरुले आफ्नो हक लाग्ने जग्गा भनेको तर हक लाग्ने जग्गा अरुले नै दा.खा.समेत गरी बण्डा गर्दा पनि नालिस नदिएको र दिंदापनि हदम्याद गुजारी दिएकाले झुठ्ठा फिरादबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर  जिकिर ।

४.   मेरो बाबु २०३७ साल तिर परलोक भएकोले बाबुको परलोक पछि मैले नै जोत कमोत गरी हाल सम्म तलसिगंलाई बाली आधा आधा बुझाई दुवैले भरपाई दिएका छन । भरपाई नल्याएको हुँदा आज भरपाईको नक्कल पेश गर्न सक्दिन भनि पेटबोलिका मानिस कृष्ण गोपाल वालाले गरेको बयान ।

५.   भक्तपुर जिल्ला अदालतबाट मिति २०५२ साल कार्तिक १४ गते भएको फैसला मिसिल संलग्न रहेको ।

६.   नापी हुँदाका समयमा जनिएको अवस्थामा निजको लोग्ने मरे पश्चात निजहरुको हक सम्बन्धमा बिवेचना नै नगरी हदम्यादको कारण देखाई खारेज गर्ने गरेको भक्तपुर जिल्ला अदालतको मिति २०५२।७।१४।३ को खारेजी फैसला कानूनसम्मत भन्न मिलेन । तसर्थ उक्त फैसला बदर गरि दिएको छ । अतः वादी दावीको साविक श्रोत फिल्ड बुकको आधार र प्रतिवादीको उक्त जग्गामा एकलौटी हक भए सो समेतको बिवेचना गरी निर्णय गर्नु भनि दुवै पक्षलाई भक्तपुर जिल्ला अदालतमा पठाई दिने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०५४।३।२६ को फैसला ।

     ७.   वादीका पति पिता आसालाल फैंजु र प्रतिवादीहरुको आधा आधा हक लाग्ने भनि फिल्ड बुकमा उल्लेख गरि नापी गराएको बिवादित जग्गा मोहीले पनि आधा आधा बाली बुझाई आएकोमा प्रतिवादीहरुले एकलौटी दर्ता गराएको दुषित दर्ता देखिन आयो । दुषित दर्ताका सम्बन्धमा साहुको भोग चलनमा रहेको अवस्थामा साहुले कुनियत चिताई कुनै परिबन्दबाट आफ्ना नाउँमा दर्ता गराएको आसामीलाई थाहा हुने अवस्था नभएको हुनाले त्यस्तो दुषित दर्तालाई सदर मानि हदम्याद गएको भन्न न्यायोचित हुदैन भनि तारक लामाको मु.स.गर्ने रुन्चे बिरुद्ध रामे समेत भएको मुद्दामा सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भएको पाईन्छ । (ने.का.प.२०३७ पृ.१९) अतः वादीका पति पिता समेतका नामको साविक लगत भिडाई नापी गराएको जग्गा प्रतिवादीहरुले ०२३।११।२३ मा दुषित तवरले एकलौटी दर्ता गराएको देखिंदा सो दर्ता वादीहरुको हक जति आधा बदर हुन्छ । सोही दर्ताका आधारमा बण्डापत्र पारित भई हाल शम्भुभक्तका नाउँमा बिवादित जग्गा दर्ता भएको हुनाले निजको नामको दर्ता पनि आधा बदर भई वादीहरुका नाउँमा हक कायम भई ज.ध.द.प्र.पु. पाउने ठहर्छ भन्ने समेत व्यहोराको भक्तपुर जिल्ला अदालतको मिति २०५६।३।८ को फैसला ।

८.   उक्त फैसलामा चित्त बुझेन । तत्कालीन मुलुकी ऐन ज.प.को १७ नं.तथा ज.मि.को १८ नं.मा एकाको जग्गा अर्काको नाममा दर्ता भएमा जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएको मितिले २ बर्ष भित्र नालेस गर्नुपर्ने अवस्था थियो । वादी तत्कालीन ऐनले हदम्याद नघाई फिराद गर्न आएका र तत्कालीन मुलुकी ऐन ज.प.को १७ नं. र ज.मि.को १८ नं. अनुसार जग्गा दर्ता भएको मितिले २ बर्ष भित्र नालेस नपरेकोमा वादी दावी खारेज हुन्छ भनि स.अ.बाट सिद्धान्त समेत प्रतिपादित भैसकेको छ । यसरी स.अ.बाट पटक पटक सिद्धान्त प्रतिपादित भै स्थापित भएको हदम्यादको बिषयमा सोही वमोजिम नगरी हदम्याद नाघि दायर भएको फिरादबाट इन्साफ गर्ने गरेको शुरु भक्तपुर जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी वादी दावी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको आनन्द सागर प्रधानाङ्ग समेत जना ३ को पुनरावेदन अदालत, पाटनमा परेको संयुक्त पुनरावेदन पत्र ।

९.   यसमा बिवादग्रस्त कि.नं.२३७ र २३८ को जग्गा सप्त सागर र सर्वज्ञभक्त प्रधानाङ्गको नाउँमा संयुक्त दर्ता गर्ने गरी नापीकै समयमा मिति २०२३।११।२३ मा दर्ता गरी जग्गा धनी दर्ता श्रेस्ता खडा भएको भनि फिराद पत्रमा मैले लेखिएको र यसरी जग्गा धनी दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्न पर्ने कारण श्रृजना हुने भनि लाला बुद्धिमान बिरुद्ध कृष्णभक्त भएको जग्गा मुद्दामा सर्वोच्च अदालताट सिद्धान्त प्रतिपादित भैरहेकै र तत्कालीन जग्गा पजनीको महलको १७ नं.मा उल्लेख भए वमोजिम भए गरेको मितिले २ बर्ष भित्र नालिस गर्नुपर्नेमा सो हदम्याद नघाई मिति २०५१।४।१७ मा दर्ता भएको प्रस्तुत मुद्दामा तथ्य भित्र प्रवेश गरी शुरु जिल्ला अदालतबाट भएको फैसला फरक पर्ने देखिंदा अ.वं.२०२ न..बमोजिम छलफलमा बिपक्षी झिकाई आए वा अवधि नाघे पछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत पुनरावेदन अदालत, पाटनको आदेश ।

१०.  बिवादको जग्गा सम्बन्धमा दुवै थरिको दर्ता श्रेस्तालाई अन्यथा भन्न मिल्ने देखिन नआएको अवस्था रहेको समेत देखिंदा पुनरावेदकतर्फका विद्वान कानून व्यवसायीहरुको फिराद खारेज गर्नुपर्ने भन्ने बहस जिकिरसंग सहमत हुन मिलेन । बिवादको दुवै कित्ता जोड्दा जम्मा क्षेत्रफल ४० देखिन आएकोमा वादीको साविक दर्ता श्रेस्ता १।।।/१२ मात्र देखिन आएकोले सो भन्दा बढीमा दावा गरेको मिलेन । कि.नं.२३७ र २३८ को दुवै कित्ता जग्गाबाट वादीको साविक दर्तामा देखिए अनुसारको क्षेत्रफल ११३२ जग्गामा वादीको हक कायम हुने हुँदा प्रतिवादीहरुको दर्ता सो हदसम्म बदर भै वादीको नाउँमा दर्ता हुने देखिन आयो । अतः उपरोक्त आधार कारण समेतबाट २०२३ सालमा भएको दर्ताको आधा बदर गरी शम्भुभक्तको नाउँको दर्ता समेत आधा बदर गरेको शुरु भक्तपुर जिल्ला अदालतको फैसला केही उल्टी भै साविक दर्ताको आधारमा जग्गाको क्षेत्रफल अनुसारको दर्ता बदर हुने ठहर्छ । प्रतिवादीको केही पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत, पाटनको फैसला 

११.   भक्तपुर जिल्ला ताथली गा.बि.स.वडा नं.९ (ज) कि.नं.२३७ क्षेत्रफल ०१२० र ऐ.कि.नं.२३८ को क्षेत्रफल ३० जग्गा हाम्रो साविक लगत भिडि सर्भे नापीका बखत २०२३।११।२३ मा सप्त सागर र सर्वज्ञभक्त प्रधानाङ्गका नाउँमा नापी दर्ता भै जग्गा धनी प्रमाण पुर्जा प्राप्त गरेकोमा बिवाद छैन । मिति २०२३।११।२३ को नापी दर्ता उपर बिपक्षीले २०५१ सालमा मात्र फिराद दायर गर्नु भएको छ । तत्कालीन मुलुकी ऐन जग्गा पजनीको १७ नं.तथा जग्गा मिच्नेको १८ नं.मा एकाको जग्गा अर्काको नाममा दर्ता भएमा जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएको मितिले २ बर्ष भित्र नालिस गर्नुपर्ने व्यवस्था थियो । मुलुकी ऐन सातौं संशोधन पूर्व भए गरेका दर्ता बदर गर्न संशोधित हदम्यादको व्यवस्था लाग्दैन । संशोधित ऐनको सुविधा बिपक्षीले प्राप्त गर्न नसक्ने हुँदा हाल लागु रहेको मुलुकी ऐन जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं.वमोजिम दायर भएको फिराद खारेज भागी छ । मुलुकी ऐन सातौं संशोधन पूर्व भए गरेको नापी दर्ता सम्बन्धमा तत्कालीन जग्गा पजनीको १७ नं.र जग्गा मिच्नेको १८ नं.को हदम्याद नघाई दायर भएको फिराद खारेज हुने भनि सम्मानित सर्वोच्च अदालतको बृहद फुल बेन्चबाट सिद्धान्त प्रतिपादित भैसकेको र उक्त सिद्धान्तहरु हाल सम्म over rule भै नसकेको अवस्थामा सर्वोच्च अदालतबाट प्रतिपादित नजिरको विपरीत भएको भक्तपुर जिल्ला अदालत र पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन पत्र ।

१२.  यसमा मिति २०२९।११।२९ को दर्ता र मिति २०२४।५।१४ को बण्डापत्र समेत गरिपाऊँ भनि एउटै फिराद दायर गरेको र उल्लेखित लिखतहरु वदर गराउन वादीको फिराद मिति २०५१।२।२ मा थाहा पाएको भनि २०५१।४।१ मा मात्र दायर गरेको देखिन आएको छ । मुद्दा समाप्त नभई चालु रहेको अवस्था हदम्याद जस्तो बिवाद तल्लो अदालतबाटै टुंगिएको भनि व्याख्या गर्न मिल्दैन । तत्कालीन ज.मि.को १८ नं. को हदम्याद नाघि दायर भएको र बेग्लाबेग्लै लिखत उपर अ.बं.७२ नं.विपरीत एउटै फिराद दायर भएको देखिंदा उपरोक्त फिरादबाट इन्साफ गर्नु नपर्नेमा इन्साफ गरेको पुनरावेदन अदालत, पाटनको फैसला फरक पर्ने देखिंदा अ.वं.२०२ नं.वमोजिम छलफलको लागि बिपक्षी झिकाई आए वा अवधि नाघे पछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत यस अदालतको आदेश ।

१३.  नियम बमोजिम दैनिक मुद्दा पेशी सुचिमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरियो । पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री शंकर सुवेदी र भेषराज न्यौपानेले मिति २०२३।११।२३ मा कि.नं.२३७ र २३८ का दुवै कित्ता जग्गा सप्त सागर र सर्वज्ञभक्तको नाममा नापी दर्ता भई जग्गा धनी प्रमाण पुर्जा समेत प्राप्त भएको हो । २०३४ सालमा बण्डा हुँदा यि २ कित्ता जग्गा शम्भुभक्तको भागमा परी दर्ता भयो । २०२३ सालमा भएको नापी दर्ता बदर गर्न वादी २०५१ सालमा मात्र अदालत आएका छन् । जुन साविक ज.प.को १७ नं. तथा ज.मि.को १८ नं. ले तोकेको २ बर्षको हदम्याद भन्दा बाहिर छ । २०२३ सालको नापी दर्ताको जरियाबाट मेरो पक्षहरु वीच बण्डा भएको होइन । तसर्थ दर्ता बदी र बण्डापत्र बदरमा एउटै मुद्दा आउन मिल्ने होइन । फिराद खारेज गरिपाऊँ भनि र प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री कमलराज थापा र श्री सानु सुवालले यो बिषय दुषित दर्ताको हो । दुषित दर्ताको बिषयमा २ बर्षको हदम्याद लागु हुन सक्दैन । दुषित दर्ता बदर गर्न जहिले सुकै पनि अदालतमा प्रवेश गर्न मिल्छ । कानून वमोजिमको निर्बिवाद लिखतबाट बिवादित जग्गामा मेरो पक्षको हक भएको कुरामा बिवाद छैन । जिल्ला तथा पुनरावेदन अदालतको फैसला सदर गरिपाऊँ भनि गर्नु भएको बहस जिकिर सुनियो ।

१४.  उपरोक्त विद्वान कानून व्यवसायीहरुको बहस जिकिरलाई दृष्टिगत गरी मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, पाटनले गरेको फैसला मिले वा नमिलेको के रहेछ र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा  निर्णय गर्नुपर्ने देखिन आयो ।

१५.  निर्णय तर्फ विचार गर्दा भक्तपुर जिल्ला ताथली गा.बि.स.वडा नं.९ (ज) कि.नं.२३७ र कि.नं.२३८ को २ कित्ता जग्गा मध्ये आधि जग्गा हामी फिरादीहरुका पिता पति आसलाल फैंजुको नाममा साविक दर्ता भएको २ नं.ब्रम्हायणी मौजा नं.२३११ को खेत रोपनी १/।।/२ बाट भिड्ने जग्गा हुँदा हामीहरुको हक जति कि.नं.२३८ बाट १११० र कि.नं.२३७ बाट ०० जग्गा बिपक्षी सप्त सागर र सर्वज्ञभक्तको नाउँमा मिति २०२३।११।२३ मा दर्ता गरेको र सोही दर्ताको आधारमा मिति २०३४।५।१४ को बण्डापत्रबाट बिपक्षी शम्भुभक्तको नाउँमा दर्ता भएको समेत बदर गरी हक कायम गरी जग्गा धनि प्रमाण पुर्जा समेत पाउँ भन्ने वादी दावी झुठ्ठा हो । साविक देखि अनवरत भोग चलन गरी आएको जग्गा सर्भे नापीमा कि.नं.२३७ र २३८ मा नाप नक्सा भै दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा पाई भोगी २०३४ सालको बण्डापत्रमा अंशियारहरु मध्येका म शम्भुभक्तको भागमा परि दाखेल खारेज भएकोमा हदम्याद नघाई धेरै बर्ष पछि    उजुर गरेको हुँदा वादी दावी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर    जिकिर भएकोमा शुरु भक्तपुर जिल्ला अदालतबाट फैसला हुँदा बिवादित जग्गा प्रतिवादीहरुले २०२३।११।२३ मा दुषित तवरले एकलौटी दर्ता गारएको देखिंदा सो दर्ता वादीहरुको हक जति आधा बदर हुने गरी फैसला भएको देखिन्छ । उक्त शुरु जिल्ला अदालतको फैसला उपर प्रतिवादीको पुनरावेदन पर्दा कि.नं.२३७ र २३८ को दुवै कित्ता जग्गाबाट वादीको साविक दर्तामा देखिए अनुसारको क्षेत्रफल ११२२ जग्गामा वादीको हक कायम हुने हुँदा प्रतिवादीको दर्ता सो हद सम्म बदर भै वादीको नाउँमा दर्ता हुने ठहरी शुरु जिल्ला अदालतको फैसला केही उल्टी भै पुनरावेदन अदालत, पाटनबाट फैसला भएको देखिन्छ । पुनरावेदन अदालतको फैसला उपर प्रतिवादीहरुको प्रस्तुत पुनरावेदन परेको देखिन्छ । पुनरावेदक प्रतिवादीहरुले यस अदालतमा पुनरावेदन गर्दा आफ्नो पुनरावेदनपत्रमा तथा पुनरावेदकतर्फका कानून व्यवसायीहरुले समेत बहसको क्रममा मिति २०२३।११।२३ मा प्रतिवादीहरुले गरेको दर्ता बदर गर्न वादीहरुले मिति २०५१।४।१७ मा फिराद दायर गरेको हुँदा हदम्याद नाघि परेको मुद्दा खारेज भागी छ भनि जिकिर लिनु भएको छ । यसप्रकार प्रस्तुत बिवादमा हदम्यादको कानूनी प्रश्न उठी सकेको सन्दर्भमा मुद्दाको तथ्यमा प्रवेश गरी तथ्य प्रमाणको बिवेचना गरी निर्णय गर्नु भन्दा पहिले वादीले फिराद दावी हदम्याद भित्र दायर गरे नगरेको के रहेछ भन्ने कानूनी प्रश्नको निरुपण गर्नुपर्ने देखिएको छ ।

१६.  प्रस्तुत मुद्दामा बिवादमा आएको कि.नं.२३७ र २३८ को जग्गा २०२१ सालमा सर्भे नापी भएको र मिति २०२३।११।२४ मा प्र.सर्वज्ञभक्त तुलाधर र सप्त सागरले आफ्नो नाममा दर्ता गरी निजका अंशियारहरु विच २०३४।५।१४ मा भएको पारित बण्डापत्रबाट उक्त जग्गा प्रतिवादी मध्ये शम्भुभक्तको अंश भागमा परि दा.खा.दर्ता गरी शम्भु भक्तको नाममा दर्ता भएको भन्ने कुरामा बिवाद देखिदैन । आफ्नो हकको जग्गा अरु कसैले दर्ता गराएको कुरामा फिराद गर्ने हदम्याद सम्बन्धी कानूनी व्यवस्था हेर्दा मिति २०३४।९।२७ मा मुलुकी ऐन सातौं संशोधन हुनु भन्दा पहिले जग्गा पजनीको १७ नं.र ज.मि.को १८ नं. वमोजिम एकाको जग्गा अर्काको नाममा दर्ता भएमा जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएको मितिले २ बर्ष भित्र नालिस गर्नुपर्ने व्यवस्था प्रचलित रहेको देखिन्छ । बिवादित कि.नं.२३७ र २३८ को जग्गा २०२३।११।२३ मा प्रतिवादी मध्ये आनन्द सागरका पिता सप्त सागर प्रधानाङ्ग र सर्वज्ञभक्त प्रधानाङ्गको नाममा दर्ता भएको र निज प्रतिवादीहरुका अंशियारहरु विच २०३४।५।१४ मा पारित बण्डापत्र वमोजिम प्र.शम्भुभक्त प्रधानाङ्गको अंश भागमा परि दर्ता भई आएको   देखिन्छ । आफ्नो हकको जग्गा अरु कसैले कुनै व्यहोराले दर्ता गरे गराएको कुरा थाहा पाएको मितिले ६ महिना भित्र नालेस गर्न पर्ने हदम्यादको कानूनी प्रावधान २०३४।९।२७ मा मुलुकी ऐनमा भएको सातौं संशोधनले जग्गा मिच्नेको १८ नं. र जग्गा पजनीको १७ नं.लाई संशोधन भए पछि मात्र आएको देखिन्छ । मुलुकी ऐन सातौं संशोधन पुर्व मिति २०२३।११।२३ मा गरेका दर्ता बदर गर्न त्यस पछि मिति २०३४।९।२७ मा भएको संशोधित हदम्यादको व्यवस्था लाग्न सक्दैन । तत्काल प्रचलित ऐनले तोकेको हदम्याद भित्रै नालेस लिई आउनु पर्छ, हदम्याद नाघि परेको फिराद पत्रका आधारमा तथ्य भित्र प्रवेश गरी प्रमाणको मुल्याङ्कन गरी इन्साफ गर्न मिल्दैन । यस सन्दर्भमा यस अदालतबाट ने.का.प.२०४४ अंक २ नि.नं.२९९३ पृष्ठ १८३ मा प्रतिवादीका नाउाँको नामसारी दर्ता कानूनले तोकेको हदम्याद भित्र उजुर गरी बदर गराउनु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा बिवादित जग्गा प्रतिवादीका नाउँमा दर्ता भएका मितिले उक्त तत्काल प्रचलित जग्गा पजनीको १७ नं.र जग्गा मिच्नेको १८ नं.ऐनको हदम्याद २ बर्ष भित्र फिराद परेको देखिदैन । त्यसरी ऐनले तोकिएको हदम्याद नाघि परेको फिरादबाट तथ्यमा प्रवेश गरी इन्साफ गर्न मिल्ने अवस्था रहेनभनि पूर्ण इजलासबाट साविक ज.प.को १७ नं.र ज.मि.को १८ नं. ले तोकेको हदम्यादका सम्बन्धमा व्याख्या भई सिद्धान्त समेत प्रतिपादित भईसकेको देखिन्छ ।

१७.  अतः उपर्युक्त माथि विवेचित आधार कारण तथा प्रतिपादित सिद्धान्तबाट मिति २०२३।११।२३ मा प्रतिवादीहरुले गरेको दर्ता बदर गर्न वादीहरुले मिति २०५१।४।१७ मा दायर गरेको फिरादलाई हदम्याद भित्रको मान्न मिलेन । प्रस्तुत फिराद ऐनले तोकेको हदम्याद २ बर्ष भित्र परेको देखिन नआई सो हदम्याद नाघि परेको देखिंदा अ.बं.१८० नं.ले खारेज हुने ठहर्छ । फिराद दावी खारेज गर्नुपर्नेमा नगरी तथ्य भित्र प्रवेश गरी २०२३ सालमा भएको दर्ताको आधा बदर गरी शम्भुभक्तको नाउँको दर्ता समेत आधा बदर गरेको शुरु भक्तपुर जिल्ला अदालतको फैसला र शुरु जिल्ला अदालतको फैसला केही उल्टी गरी कि.नं.२३७ र २३८ को दुवै कित्ता जग्गाबाट वादीको साविक दर्तामा देखिए अनुसारको क्षेत्रफल ११३२ जग्गामा वादीको हक कायम हुने ठहर्‍याएकोपुनरावेदन अदालत, पाटनको फैसला मिलेको देखिँएन । अरुमा तपसिल वमोजिम गर्नु ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिए वमोजिम वादी दावी नै खारेज हुने ठहरेकोले शुरु जिल्ला अदालतको फैसलाले कि.नं.२३७ र २३८ को जग्गामा वादीहरुको आधा हक कायम हुने गरी कायम गरेको लगत र पुनरावेदन अदालत, पाटनको फैसला अनुसार क्षेत्रफल ११३२ जग्गामा वादीको हक कायम हुने ठहराएको लगत कट्टा गर्नु भनि शुरु जिल्ला अदालत तहसिल शाखालाई लेखि पठाउनु––––––

प्रतिवादीले पुनरावेदन अदालत, पाटनमा पुनरावेदन गर्दा राखेको कोर्ट फि रु.२५६०। र त्यसको १५% ले हुन आउने रु.३८४। प्रतिवादी ऐनका म्याद भित्र निवेदन लिई आए प्रतिवादीका नाउँमा फिर्ता खर्च लेखि दिनु भनि पुनरावेदन अदालत, पाटनलाई लेखि पठाउनु–––––

प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फिको १५% रु.३८४। ऐनका म्याद भित्र फिर्ता पाउने प्रतिवादीको निवेदन परे प्रतिवादीलाई फिर्ता दिनु–––

प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ..४

 

उक्त रायमा सहमत छु ।

 

न्या.पवनकुमार ओझा

इ.अ.प्रकाश खरेल

 

इति सम्बत २०६२ साल चैत्र ७ गते रोज २ शुभमः–––––––

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु