शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७४० - सवारी ज्यान

भाग: ४८ साल: २०६३ महिना: कार्तिक अंक:

निर्णय न. ७७४०      ने.का.प. २०६३          अङ्क ७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी

माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह

सम्बत २०६१ सालको फौ.पु.नं. ३२१२

फैसला मितिः २०६३।६।१।१

 

मुद्दाःसवारी ज्यान 

 

पुनरावेदक/प्रतिवादीः का.जि.का.म.न.पा. वार्ड नं.१ स्थित यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लि.को संचालक समितिवाट अख्तियार प्राप्त ऐ कम्पनी अधिकृत बद्रीवहादुर राउत                                             

विरुद्ध

प्रत्यर्थी/वादीः  टिकादत्त भट्टको जाहेरीले नेपाल सरकार

 

§  सवारी दुर्घटनावाट तेश्रो पक्षको कुनै नोक्सानी भएको अवस्थामा क्षतिपूर्ति वापतको रकम पिडीत वा निजको हकवालाले पाउने तथा सो रकम वीमा कम्पनीले व्यहोर्नु पर्ने हुँदा वीमा कम्पनीले व्यहोर्नु पर्ने रकम भराइदिनका लागि सम्बन्धित बीमा कम्पनीलाई विपक्षी वनाउन मिल्ने ।

§  सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(१)(क) वमोजिम सवारी धनी वा व्यवस्थापकले तेश्रो पक्ष वीमा नगराएको अवस्थामा मात्र क्षेतिपूर्ति वापतको रकम दिने दायित्व निज सवारीधनी वा व्यवस्थापकको हुने हुँदा तेश्रो पक्ष वीमा गराएको अवस्थामा पनि सो क्षतिपूर्ति वापतको रकम सवारीधनीले व्यहोर्नु पर्ने भन्ने पुनरावेदकको जिकिर कानूनी व्यवस्था अनुकूल मान्न नसकिने ।

(प्रकरण नं.२५)

§  प्रस्तुत मुद्दामा सवारीधनीले रु.३,००,०००।– (तीनलाख) को तेश्रो पक्ष वीमा गराएको र दुर्घटना भई मानिस मरेमा सो वरावरको रकम बीमा कम्पनीले व्यहोर्न कबूल गरिएको भन्ने वीमा लेखवाट देखिएको र सोही रकम वापतको प्रिमियम पनि वीमा कम्पनीले सवारीधनीवाट लिएको अवस्थामा दुर्घटना भई मानिसको मृत्यु भएको देखिएको अवस्थामा त्यति रकम दिन नपर्ने भन्ने पुनरावेदक वीमा कम्पनीको जिकिर बीमाको सिद्धान्त, प्रचलीत कानून र वीमा लेखको शर्त समेतको प्रतिकूल हुँदा वीमालेखमा उल्लेखित रकम दिन नपर्ने भन्ने पुनरावेदकको जिकिर पनि मान्य हुन नसक्ने ।

(प्रकरण नं.२६)

 

पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्धान अधिवक्ता श्री बच्चु सिंह खड्का, श्री अनिमेश उपाध्याय र श्री प्रकाश थापा

प्रत्यर्थी वादीका तर्फबाटः          

अवलम्बित नजीरः

 

फैसला

न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत पाटनको मिति ०६०।१२।२४ को फैसला उपर प्रतिवादीको न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)वमोजिम पुनरावेदन पर्न आएकोे प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यसप्रकार छ :-

२.    मिति ०५९।६।२३ गते राती २३.०० वजेको समयमा मेरो भतिजो महादेव पाण्डे सरकारी कामको सिलसिलामा वा.१३प.१९२७ नं.को मोटर साइकल चढी त्रिपुरेश्वर तर्फ आइ रहेको अवस्थामा वा.१ ज.६२९१ को माइक्रोवस चालक विष्णु के.सी.ले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी लापरवाहीका साथ मोटर साइकलमा ठक्कर दिदा भतिजा महादेव पाण्डेको मृत्यु भएकोले कारवाही गरिपाऊँ भन्ने व्यहोराको जाहेरी दरखास्त ।

३.    अनुहारमा ससाना छाला खुइलिएको, दाहिने घुडांमा हड्डी समेत देखिने घाउ भै वाहिर निस्केको भन्ने समेत लाश जांच मुचुल्का ।

४.    ०५९।६।२३ गते राती १०.३० बजेको समयमा मैले सुन्धारावाट अनाम नगर फर्कने बेलामा त्रिपुरेश्वर तिर मैले हाँकी ल्याएको बा १ज ६२९१नं.को माइक्रोवस अत्यधिक तीव्र गति भएकोले त्रिपुरेश्वरवाट आएको वा.१३ प १९२७ नं.को मोटर साइकलमा ठक्कर लाग्न गई मोटर साइकल चालक महादेव पाण्डे घाइते भई उपचार हुँदा हुँदै मृत्यु भएको थाहा पाँए । उक्त दिन मैले अत्यधिक मादक पदार्थ सेवन गरेको भन्ने समेत विष्णु के.सी.ले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

५.    वा.१३ प १९२७ नं.को मोटर साइकल चढी आएका महादेव पाण्डे लाई वा.१ ज.६२९१ नं.को माइक्रोवसले तीव्र गतिमा लापरवाही रुपमा हाँकी ल्याई ठक्कर दिई महादेव पाण्डेको मृत्यु भएको हो भन्ने समेतको लोकनाथ समेतको कागज ।

६.    चालकको लापरवाहीवाट दुर्घटना भएको भन्ने सडक प्रतिवेदन ।

७.    पेट तथा अन्य भागमा समेत चोट पटक लागि मृत्यु भएको भन्ने समेत व्यहोराको शव परीक्षण प्रतिवेदन ।

८.    निज चालक विष्णु के.सी.ले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरेको भन्ने वीर अस्पतालको मेडिकल जांच  प्रतिवेदन ।

९.    यसमा महादेव पाण्डेको ज्यान मार्ने मनसायले उक्त कार्य गरेको देखिदा प्रतिवादी विष्णु के.सी.लाई सवारी तथा यातायात ऐन २०४९ को दफा १६१(१) वमोजिम सजाय हुन र मोटर साइकलको क्षति भएको रकम रु.३२,७०५।कृया खर्च, क्षतिपूर्ति वापत तेश्रो पक्ष वीमाको रकम समेत सवारी धनीवाट दिलाई दिन हुन र सवारी धनी मनमाया खत्रीलाई अदालतवाटै म्याद जारी गरी पाउन र प्र.विष्णु के.सी. समेतलाई दाखिल गरेको छु भन्ने समेत व्यहोराको अभियोग  दावी।

१०.    तीब्रगतिमा आएको मोटर साइकल मेरो गाडीको दायां भागमा ठोकिन पुगी लडेको हो । मैले मादक पदार्थ सेवन गरी गाडी तीव्र गतिमा चलाएको होइन, मेरो कुनै गल्ती छैन । मादक पदार्थ सेवन गरेको थिइन । मोटर साइकल नै अत्यधिक गतिमा थियो भन्ने समेत प्रतिवादी विष्णु के.सी.ले अदालतमा गरेको वयान ।

११.    प्र.विष्णु के.सी.लाई पुर्पक्षको लागि थुनामा राख्ने भन्ने मिति २०५९।७।२२ को आदेश ।

१२.   मेरो माइक्रोवस वीमा गरिएको छ मोटरसाइकलको क्षतिवापत र मृतकलाई तिर्न पर्ने रकम युनाइटेड इन्स्योरेन्स कम्पनीले तिर्नु वुझाउनु पर्छ । मैले कृया खर्च मात्र तिर्नु पर्ने हो । म तिर्न वुझाउन तयार छु भन्ने समेतको सवारी धनी मनमाया खत्रीले अदालतमा गरेको वयान।

      १३.   प्र.ह.इन्द्रराज, प्र.का साक्षी रामशरण,तथा थवेन्द्र के.सी.का वकपत्र मिसिल सामेल रहेछ । मोटरसाइकलको क्षतिपूर्तिको रकम रु.१८,२११।मृतकको क्षतिपूर्ति वापतको रु.१७५००।कम्पनीले दिनुपर्ने हो भन्ने समेतको युनाइटेड इन्स्योरेन्स कम्पनीका चन्द्रराजले गरेको वयान ।

      १४.   यसमा प्र. विष्णु के.सी.लाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१(२) वमोजिम ७ वर्ष कैद हुने ठहर्छ र मृतक चढेको मोटर साइकल समेत क्षति भएको देखिदा क्षति वापत युनाइटेड इन्स्योरेन्स कम्पनीवाट, रु.३,००,०००।क्षतिपूर्ति वापत मृतकको हकवालाले पाउने समेत ठहर्छ भन्ने समेत व्यहोराको काठमाण्डौं जिल्ला अदालतको फैसला ।

१५.   शुरु फैसलामा चित्त बुझेन । शुरु फैसलामा सडक दुर्घटना प्रतिवेदनलाई प्रमाणमा ग्रहण गरी निर्णयमा पुगिएको छ ।मृतक प्रहरी प्रधान कार्यालयमा प्रहरी निरीक्षक पदमा कार्यरत प्रहरी भएको र उक्त दुर्घटनाका सम्बन्धमा अनुसन्धान गर्ने अधिकारीहरु प्रहरीहरु नै भएवाट वास्तविकतालाई तोडमोड गरी पुर्वाग्रही भएर अनुसन्धान गरिएको छ । मैले चलाएको माइक्रोबस २ फिट रौगं साइडमा गई मृतकलाई ठक्कर दिएको होइन । मृतकले चलाएको मोटरसाइकल नै मैले चलाएको माइक्रोवसमा ठोकिन आएको हो भनी मैले र मेरा साक्षीहरुले अदालतमा आइ वयान र वकपत्र गरे तर्फ न्यायकर्ताले ध्यानै नदिई हचुवा र शंकास्पद सडक दुर्घटना प्रतिवेदनलाई कसूरदार ठहरगर्ने जस्तो गम्भीर विषयमा प्रमाणमा ग्रहण गरी भएको फैसला त्रुटिपूर्ण एवं प्रमाण ऐन २०३१ को दफा ३, २५ र ५४ को विपरीत हुँदा बदर गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको विष्णु के.सी.को पुनरावेदन अदालतमा गरेको पुनरावेदन ।

१६.    शुरु फैसलामा चित्त वुझेन । तेश्रो पक्षको वीमा वापतको रकम यस कम्पनीले तिर्नु वुझाउनु पर्ने होइन ।यस कम्पनीवाट रु.३,००,०००।रुपैया भराई पाउने ठहराई गरेको फैसला वीमालेख, वीमा ऐनको व्यवस्था र वीमा सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता व्यवहार र परम्परा समेतको विपरीत छ । यस सवारी ज्यान मुद्दामा यस कम्पनीलाई पक्ष नै कायम गर्न सकिने होइन । सवारी तथा यातायात व्यवस्था ऐन र सो को नियम कुनैले दुर्घटना भएको अवस्थामा तेश्रो पक्षको क्षतिपूर्ति अदालतले वीमा कम्पनी संग भराउनेव्यवस्थागरेको छैन । त्यस्तो निर्णयको विषय वस्तु जहिले पनि गाडी धनी हुन्छ नकि वीमा कम्पनी । यस कम्पनी संग वीमा गराउने पक्षले तेश्रो पक्षको क्षतिपूर्ति वापत यति रकम तिर्नु पर्‍यो सो को सोधभर्ना पाउ भनी वीमा दावी नै नगरेको अवस्थामा सोझै कुनै रकम पीडितको हकवालाले पाउने भन्ने अवस्थै हुँदैन । अतः वीमालेख वमोजिम कुनै दायित्व नै वेहोर्नु पर्ने अवस्था यस कम्पनीको नभएको हुँदा कम्पनीवाट क्षतिपूर्ति भराउने हदसम्म काठमाण्डौं जिल्ला अदालतवाट भएको फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को पुनरावेदन अदालतमा परेको पुनरावेदन ।

१७.   यसमा प्रतिवादी पुनरावेदक विष्णु के.सी.ले जानी जानी दुर्घटना गराएका नदेखिएको साथै वीमा रा.वा.वैंक मार्फत गरिएको भरपाई पुनरावेदक युनाइटेड इन्स्योरेन्स कम्पनीवाट सोझै क्षतिपूर्ति रकम भराई पाउने ठहराएको शुरु फैसला फरक पर्न सक्ने हुनाले अ.वं.२०२ नं.वमोजिम पुनरावेदन सरकारी वकील कार्यालय पाटनलाई पेशीको सूचना दिई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको आदेश ।

१८.   यसमा प्रतिवादीको लापरवाहीवाट गाडी चलाएको वाटदुर्घटना भई मोटर साइकल चालक महादेव पाण्डेको मृत्यु भएको देखिन आएको र सवारी दुर्घटना रातको १० वजेको समयमा भै राखेको र सवारी चालकको उमेर, दुर्घटना हुँदाको अवस्था समेतलाई विचार गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१(२) मा भएको व्यवस्था अनुसारसजाय गर्नुपर्ने भै त्यस तर्फ समेत विचारगर्दा प्रतिवादीलाई ७ वर्ष कैद गरेको हदै सम्मको कैद सजाय चर्को पर्ने हुँदा ४ वर्ष मात्र कैद सजाय हुन्छ । प्रतिवादीलाई ७ वर्ष कैद गर्ने गरेको हद सम्मको फैसला केही उल्टी भै प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को दफा १६१(२) वमोजिम ४ वर्ष कैद हुने र क्षेतिपूर्ति भराई दिने गरेको काठमाण्डौं जिल्ला अदालतको २०६०।२।१३ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको ०६०।१२।२४ को फैसला।

      १९.    बीमा भनेको आफैमा एउटा करार हो । जसको आधारमा आफूले वीमा गराएको सीमा सम्म विमितले आफूले व्यहोरेको क्षतिपूर्तिको लागि यस कम्पनी संग दावी गर्न सक्ने हो । सोझै तेश्रो पक्षको वीमा वापतको रकम यस कम्पनीले तिर्नु वुझाउनु पर्ने होइन । गाडीवाला वाट भराउनु पर्ने हो । त्यसो नगरी सिधै वीमा कम्पनीवाट तिराउने भराउने गरी भएको पुनरावेदन अदालतको फैसला मिलेको छैन । दावी वापतको रकम तिर्नु पर्ने अवस्था भनेको वीमा लेखको शर्तले बन्देज नगरेको अवस्थामा मात्र हो । दावी गरिएको दुर्घटना वीमा लेखको दफा २(१) ख अन्तरगत वीमा लेखमा रु.३,००,०००।तीन लाखको सीमा निर्धारण गरिएको, वीमा लेखको परिच्छेद ३ को सामान्य अपवाद खण्डको उपदफा ८ मा भएको व्यवस्था वमोजिम मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा यस कम्पनीले सोधभर्ना दिन पर्दैन । प्रस्तुत मुद्दामा गाडी चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएको भन्ने कुरा चालकको स्वास्थ्य परीक्षण प्रतिवेदन ले पनि देखाइ रहेको अवस्था छ । यस्तो अवस्थामा रु.३ लाख यस कम्पनीवाट भराउने गरी भएको शुरु जिल्ला अदालतको फैसला लाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी न्याय इन्साफ पाउँ भन्ने पुनरावेदक प्रतिवादी युनाइटेड इन्स्योरेन्सको यस अदालतमा परेकोे पुनरावेदन पत्र ।

२०.   नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फवाट विद्धान अधिवक्ताहरु श्री बच्चु सिंह खड्का, श्री अनिमेश उपाध्याय र श्री प्रकाश थापाले सवारी तथा यातायात व्यवस्था ऐन तथा सो को नियम कुनैले पनि सवारी दुर्घटना भई तेश्रो पक्ष वीमाको रकम पिडीत तेश्रो पक्षलाई सोझै वीमा कम्पनीले तिर्नु पर्ने व्यवस्था नगरी सवारी धनीले व्यहोर्नु पर्ने व्यवस्था गरेको छ । क्षति पूर्तिवापतको रकम सवारी धनीले तिरेको अवस्थामा बीमा गराउने पक्षले सोध भर्नाको माग गरी आएको अवस्थामा वीमा कम्पनी र बीमा गराउने पक्षका वीचमा भएको शर्त वमोजिम यस कम्पनीले वुझाउने हो । वीमालेख वमोजिम पिडीत पक्षसंग वीमा कम्पनीको कुनै सरोकार नभएकोले वीमा कम्पनीले तेश्रो पक्ष प्रतिको कुनै दायित्व व्यहोर्नु नपर्ने अवस्थामा शर्त संझौताको विचारै नगरी यस कम्पनीबाट रु.३,००,०००।तीन लाख भराउने गरी भएको शुरु र पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्ने व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।

२१.   मिसिल अध्ययन गरी विद्धान अधिवक्ताहरुको बहस जिकिर सुनी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्छ, पुग्दैन ? भन्ने निर्णय दिनुपर्ने देखियो ।

२२.   निर्णय तर्फ विचार गर्दा ०५९।६।२३ गते राती २३.०० बजेको समयमा बा.१३ प १९२७ नं.को मोटर साइकल लाई बा.१ज ६२९१ नं.को माइक्रोवसले ठक्कर दिंदा मोटरसाइकल चालक महादेव पण्डितको मृत्यु भएकोले माइक्रोवस चालक विष्णु के.सी.लाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१(१) वमोजिम सजाय गरी क्रियाखर्च र क्षतिपूर्ति वापत तेश्रो पक्षको वीमाको रकम, हकवालालाई समेत भराई पाउँ भन्ने अभियोग दावी रहेकोछ । प्रतिवादी विष्णु के.सी.ले आफूले चलाएको सवारी साधनवाट त्यसरी मोटरसाइकललाई ठक्कर लागेको र चालकको मृत्यु भएको भन्ने समेतका कुरा स्वीकार गरेकोले निज प्र.विष्णु के.सी.लाई उक्त दफा १६१(२)अनुसार ७ वर्ष कैद सजाय हुने र तेश्रो पक्षको बीमा वापतको रकम बीमा कम्पनीवाट मृतकका हकवालाले भरी पाउने गरी काठमाण्डौं जिल्ला अदालतवाट भएको फैसला उपर प्र. विष्णु के.सी.र वीमा कम्पनी दुवै पक्षवाट पुनरावेदन परी पुनरावेदन अदालतवाट प्र.विष्णु के.सी.लाई ४ वर्ष मात्र कैद गर्ने सजाय गरी केही उल्टी गरी तेश्रो पक्षको वीमा वापतको रकम वीमा कम्पनीले पिडीत पक्षलाइ  दिनुपर्ने गरीे काठमाण्डौं जिल्ला अदालतको फैसला सो हदसम्म सदर गरी फैसला भएको देखिन्छ । पुनरावेदन अदालतको उक्त फैसला उपर प्र.विष्णु के.सी.र नेपाल सरकारको पुनरावेदन नपरी वीमा कम्पनीको मात्र प्रस्तुत पुनरावेदन परेको देखिन आउँछ । पुनरावेदन जिकिर तथा कानून व्यवसायीको वहस समेतको परिप्रेक्ष्यमा निम्न प्रश्नमा निर्णय दिनुपर्ने देखिन आयो ।

 

(क)   सवारी दुर्घटनावाट मानिसको मृत्यु भएमा ऐन बमोजिम तेश्रो पक्ष वीमा गराएको अवस्थामा क्षतिपूर्ति वापतको रकम सवारीधनी वा व्यवस्थापक स्वयंले बेहोर्नु पर्ने हो अथवा वीमा कम्पनीले वेहोर्नु पर्ने हो ?

(ख)   त्यसरी वीमा गराइएको अवस्थामा अदालतले सोझै वीमा कम्पनीवाट भराइदिन मिल्ने हो होइन ?

(ग)   तेश्रो पक्ष वीमा (Third Party Insurance) गराइएको अवस्थामा के कति रकम मृतकको हकवालालाई भराइ दिनुपर्ने हो ?

(घ)   पुनरावेदन अदालतवाट भएको फैसला सदर हुने हो होइन ?

 

२३.   उपर्युक्त प्रश्नहरुका सम्बन्धमा विचार गर्दा सर्व प्रथम सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले क्षतिपूर्ति तथा बीमा रकमका सम्बन्धमा के कस्तो कानूनी प्रावधान गरेको छ सो हेर्नु पर्ने हुन्छ । उक्त ऐन को परिच्छेद ८ को दफा १४८ मा सवारी साधनको बीमा, दफा १४९ मा चालक, परिचालक सुरक्षाकर्मी तथा अन्य कर्मचारीको दुर्घटना वीमा, दफा १५० मा यात्रीको दुर्घटना वीमा, दफा १५१ मा प्रत्येक यात्रीको यात्री गुण्टा को बीमा, तथा दफा १५२ मा तेश्रो पक्षको वा निजको कुनै सम्पत्तिको वीमा सवारीधनी वा व्यवस्थापकले अनिवार्य रुपमा गराउनुपर्ने गरी तोकिएको पाइन्छ । सो बमोजिम दफा १५२ को उपदफा(१) मा सवारी दुर्घटनावाट कुनै तेश्रो पक्ष वा निजको कुनै सम्पत्ति कुनै किसिमवाट नोक्सान भएमा सो नोक्सानीको क्षतिपूर्ति दिने प्रयोजनका लागी सवारीधनी वा व्यवस्थापकले तोकिएको रकमको तेश्रो पक्ष वीमा गराउनु पर्छभन्ने व्यवस्था भएको छ भने उपदफा (२) मा सवारी दुर्घटनावाट कुनै तेश्रो पक्ष वा निजको कुनै सम्पत्ति नोक्सान भएमा सो नोक्सानीको क्षतिपूर्ति वापत उपदफा (१) बमोजिमको रकम निज वा निजको हकवालाले पाउनेछभन्ने स्पष्ट कानूनी प्रावधान रहेको पाइन्छ । यस प्रावधानवाट सवारी दुर्घटनावाट कुनै तेश्रो पक्षको कुनै नोक्सानी भएको अवस्थामा सो को क्षतिपूर्ति वापत तेश्रो पक्ष बीमा रकम हकवालाले पाउने कुरामा द्धिविधा हुने अवस्था देखिदैन । प्रस्तुत मुद्दाको अभियोगपत्र, प्रतिवादी चालक विष्णु के.सीं.को बयान र अदालतको फैसला समेतवाट वा १ ज ६२९१ को माइक्रो बसको ठक्करबाट मोटर साइकिल चालकको मृत्यु भएको तथा सो माइक्रोवस (सवारी साधन)  को धनी तथा पुनरावेदक वीमा कम्पनीको कथन समेत वमोजिम उक्त सवारी साधनको तेश्रो पक्ष वीमा गराइएको थियो भन्ने समेतको कुरा पक्ष विपक्ष ले स्वीकार गरेका छन् । सवारी साधनवाट दुर्घटना भई चालक परिचालक तथा यात्री बाहेक तेश्रो पक्ष यी मोटर साइकिल चालकको मृत्यु भएको अवस्थामा क्षतिपूर्ति वापत दिइने वीमा रकमका सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६३ को उपदफा (२) र उपदफा (६) मा स्पष्ट भएको कानूनी व्यवस्था भएको पाइन्छ । सो दफा १६३(२) मासवारी दुर्घटना वाट कुनै व्यक्तिको ज्यान मरेको भए सो मर्ने व्यक्तिको हकवालालाई क्रिया खर्च र क्षतिपूर्तिको रकम.........उपदफा (१) वमोजिम प्रमुख जिल्ला अधिकारीले तत्कालै सवारीधनी वा व्यवस्थापकवाट भराइ दिनु पर्दछ भनी उल्लेख भएकोले सर्वप्रथम उपदफा(१) को व्यवस्थालाइ हेर्नु पर्ने हुन्छ । उपदफा(१) मा सवारी दुर्घटनावाट कुनै पक्षलाइ कुनै पनि किसीमको हानि नोक्सानी पुग्न गएमा पीडित पक्षलाई देहाय बमोजीम घा खर्च र क्षतिपूर्तिको रकम चालक, सवारी धनी वा व्यवस्थापकवाट भराइ दिनु पर्छभनी देहायको खण्ड(क) मा क्षतिपूर्ति वापत तेश्रो पक्षको वीमा नगराएको भए यस ऐन बमोजीम तेश्रो पक्षले पाउने दुर्घटना वीमाको रकमभनी व्यवस्था रहेको पाइन्छ । यस कानूनी व्यवस्थावाट सवारी धनी वा व्यवस्थापकले तेश्रो पक्ष वीमा गराएको रहेनछ र सवारी साधन दुर्घटना भई कुनै तेश्रो पक्षको ज्यान मरेको अवस्था भएमा क्षतिपूर्ति वापतको रकम निज सवारी धनी वा व्यवस्थापकले बेहोर्नु पर्ने हुन्छ । तर तेश्रो पक्ष वीमा गराएको रहेछ भने उपदफा (६) वमोजिम क्षतिपूर्ति वापतको बीमा रकमसवारी धनी वा व्यवस्थापकले नभई वीमा कम्पनीले नै व्यहोर्नु पर्ने हुन्छ भन्ने उक्त उपदफा (६)को पठनवाट स्पष्ट हुन्छ ।

२४.   प्रस्तुत मुद्दामा दुर्घटना भएको सवारी साधनका धनीले तेश्रो पक्ष वीमा गराएको कुरा निज सवारी धनी मनमाया खत्री तथा पुनरावेदक वीमा कम्पनीले समेत स्वीकार गरेको छ । तेश्रो पक्ष वीमा गराएको अवस्थामा उपदफा (१) वमोजिम सवारी धनी वा व्यवस्थापकले क्षतिपूर्ति वापतको वीमा रकम वेहोर्नु पर्ने नभई उपदफा (६) वमोजिम वीमा कम्पनीले नै वेहोर्नु पर्ने स्पष्ट छ । तसर्थ क्षतिपूर्ति वापतको रकम सवारी धनीले नै तिर्नु पर्ने तथा वीमा कम्पनीबाट भराउन नमिल्ने भन्ने पुनरावेदकको जिकिर उक्त दफा १६३ को उपदफा(१),(२) तथा उपदफा(६) को व्यवस्थाको परिप्रेक्ष्यमा कानून संगत नहुँदा मान्न नसकिने हुन्छ ।

२५.   अब तेश्रो पक्ष बीमा गराइएको अवस्थामा क्षतिपूर्ति वापतको बीमा रकम सोझै बीमा कम्पनीवाट पिडीतको हकवालालाई भराइ दिन मिल्ने हो होइन भन्ने दोश्रो प्रश्न का सम्बन्धमा विचार गर्दा यस सम्बन्धमा भएको कानूनी व्यवस्था तर्फ नै सर्वप्रथम हेर्नु पर्ने हुन्छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १५२(२)मा सवारी दुर्घटनावाट कुनै तेश्रो पक्ष वा निजको कुनै सम्पत्ति नोक्सान भएमा सो नोक्सानीको क्षतिपूर्ति वापतको तेश्रो पक्ष वीमा रकम निज वा निजको हकवालाले पाउने छभन्ने व्यवस्था रहेको छ भने दफा १६३ को उपदफा (६) मा बीमा कम्पनीले व्यहोर्नु पर्ने क्षतिपूर्ति वापतको बीमा रकम यथाशीघ्र भराइ दिनुपर्नेछ भन्ने कानूनी व्यवस्था गरिएको पाइन्छ । उक्त कानूनी व्यवस्था वमोजिम सवारी दुर्घटनावाट तेश्रो पक्षको कुनै नोक्सानी भएको अवस्थामा क्षतिपूर्ति वापतको सो तेश्रो पक्ष वीमा रकम पिडीत वा निजको हकवालाले पाउने तथा सो रकम वीमा कम्पनीले व्यहोर्नु पर्ने हुँदा वीमा बीमा कम्पनीले व्यहोर्नु पर्ने रकम भराइदिनका लागी सम्बन्धित बीमा कम्पनीलाई विपक्षी वनाउन मिल्ने नै हुन्छ । त्यस्तै क्षतिपूर्ति वापतको बीमा रकम वीमा कम्पनीवाट पिडीतको हकवाला लाई कानून वमोजिम यथाशीघ्र भराइ दिनुपर्ने हुनाले तेश्रो पक्ष वीमा रकम सोझै भराइ दिन पनि उक्त कानूनी व्यवस्था वमोजिम मिल्ने नै हुन्छ । दफा   १६३(१)(क) वमोजिम सवारीधनी वा व्यवस्थापकले तेश्रो पक्ष वीमा नगराएको अवस्थामा मात्र क्षतिपूर्ति वापतको रकम दिनेदायित्व निज सवारीधनी वा व्यवस्थापकको हुने हुँदा तेश्रो पक्ष वीमा गराएको अवस्थामा पनि सो क्षतिपूर्ति वापतको रकम सवारीधनीले व्यहोर्नु पर्ने भन्ने पुनरावेदकको जिकिर उपर्युक्त कानूनी व्यवस्था अनुकूल नहुँदा मान्न सकिने हुँदैन ।

२६.   अब केकति रकम वीमा कम्पनीवाट पिडीत वा निजको हकवालालाई भराइ दिन पर्ने हो भन्ने तेश्रो प्रश्नका सम्बन्धमा विचार गर्दा कानूनले सवारी धनीले अनिवार्य रुपमा तेश्रो पक्ष वीमा गराउनु पर्ने व्यवस्था गरेको छ । त्यसरी सवारीधनीले तेश्रो पक्षको क्षतिपूर्ति वापत दुर्घटना वीमा गराइएको अवस्थामा वीमालेखमा उल्लेखित रकम वरावर नै क्षतिपूर्ति वापत वीमा कम्पनीले पिडीतको हकवालालाई क्षतिपूर्ति वापत दिन पर्ने कुरामा विवाद गर्ने ठाउँ देखिदैन । बीमा भनेको दुई पक्ष बीच भएको यस्तो करार हो जस्मा एउटा पक्षले कुनै प्रतिफल वा रकम (प्रिपियम) को बदलामा भविष्यमा कुनै खास प्रकारको घटना घटित भई आफ्नो वा अन्य (तेश्रो) पक्षको ज्यान गएमा वा कुनै नोक्सानी, क्षती वा अंगभकंग भएमा सो नोक्सानी हुने अर्को पक्षलाई एक निश्चित रकम दिने कवूल गर्दछ । प्रस्तुत मुद्दामा सवारीधनीले रु.३,००,०००।–(तीन लाख)को तेश्रो पक्ष वीमा गराएको र दुर्घटना भई मानिस मरेमा सो वरावरको रकम बीमा कम्पनीले व्यहोर्न कबूल गरिएको भन्ने वीमा लेखवाट देखिएको र सोही रकम वापतको प्रिमियम पनि वीमा कम्पनीले सवारीधनीवाट लिएको अवस्थामा दुर्घटना भई मानिसको मृत्यु भएको देखिएको अवस्थामा त्यति रकम दिन नपर्ने भन्ने पुनरावेदक वीमा कम्पनीको जिकिर बीमाको सिद्धान्त, प्रचलीत कानून र वीमा लेखको शर्त समेतको प्रतिकूल हुँदा वीमालेखमा उल्लेखित रकम दिन नपर्ने भन्ने पुनरावेदकको जिकिर पनि मान्य हुन नसक्ने हुन्छ ।

२७.   तसर्थ उपर्युक्त विवेचनाको आधारमा दुर्घटना भएको सवारी साधनको तेश्रो पक्ष वीमा गराइएको देखिएकोले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५२ र १६३(६) वमोजिम क्षतिपूर्ति वापत वीमा लेखमा उल्लेख भए वमोजिमको रकम पुनरावेदक वीमा कम्पनीवाट मर्नेको हकवालालाई भराइ दिने ठहराएको काठमाण्डौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासीव हुँदा सदर हुने ठहर्छ । क्षेतिपूर्ति वापतको रकम आफूवाट नभई सवारीधनीवाट भराउनु पर्ने भन्ने समेत पुनरावेदक वीमा कम्पनीको पुनरावेदन जिकिर पुग्न सक्तैन ।

 

उक्त रायमा सहमत छ ।

 

न्या.राजेन्द्रकुमार भण्डारी

शाखा अधिकृत यज्ञप्रसाद पोखरेल

 

इति संवत २०६३ साल असोज १ गते रोज १ शुभम –––––––                      

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु