शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८२ - हकसफा

भाग: १८ साल: २०३३ महिना: बैशाख अंक:

निर्णय नं. ९८२            ने.का.प. २०३३

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

माननीय न्यायाधीश श्री झपटसिंह रावल

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०२९ सालको दे.फु.नं. ५६

फैसला भएको मिति : ०३३।७।२०।६

पुनरावेदक : जि. कपिलवस्तु पिपरा गा.पं. वार्ड नं. ६ राजपुर बस्ने कृष्णराज उपाध्याय

विरूद्ध

विपक्षी : ऐ.ऐ. बस्ने पिताम्बर भुसाल समेत

मुद्दा : हकसफा

(१)   लेनदेन व्यवहारको १६ नम्बरले निखनार्ई पाउँ भन्नेले थैली धरौट राखी नालेश गर्नुपर्ने र थैलीमा मुख नमिलेमा निश्चित भएपछि ३५ दिनभित्र थैली धरौटी राख्न पाउने तात्पर्यको लागि सो ऐनको बनावट देखिने ।

(प्र.नं. ११)

(२)   प्रतिवादी परेपछि थैलीमा मुख नमिलोस् वा वादीले फिराद गर्दैमा प्रतिवादीको लिखतको थैलीमा मुख नमिली थैली बढाएको भन्ने जालसाजी मुद्दा परी थैलीमा मुख नमिलोस वास्तवमा थैली निश्चित भएको अवस्था नजनाउने हुन आउँछ । त्यस्तो निश्चित नभएकोमा फैसला भई निश्चित भएको ३५ दिनभित्र धरौट राख्न पाउने ।

(प्र.नं. ११)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट      : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

उल्लिखित मुद्दा : (१) ना.सु. विष्णुरमण उप्रेती विरूद्ध राजेश्वरी उपाध्याय, मुद्दा : निखनार्ई पाउँ

                        (२) पुनरावेदक अम्बरबहादुर खत्री विपक्षी चेहर सिं भएको, मुद्दा थैली जालसाजी र                  निखनार्ई पाउँ

फैसला

     न्या. धनेन्द्रबहादुर सिंह

      १.     प्रस्तुत मुद्दा ०३३।२।३।१ को डिभिजन बेञ्चबाट फैसला हुँदा माननीय न्यायाधीशज्यूहरूको मतैक्य हुन नसकी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

      २.    मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : मेरो दुई पुस्ताभित्रको सख्यात जेठी भाउजू हुमकुमारी र माहिली भाउजू खेमकुमारीबाट जम्मा जग्गा बिगाहा ६ऽ३। प्रचलित मोल रू.२१००१।मा हकवाला देवरलाई दिने कबोल गर्नुभएको थियो । त्यस्तैमा मलाई थाहा नदिई विपक्षीहरू मिली मेरो हकसफा गर्ने हक सफ मार्नका लागि वादी रू.२०१०० मोल बढाई बेदामी जालसाजी अंक लेखी लेखाई रू.४११००।का ४ थान राजीनामा भाउजू खेमकुमारी, हुमकुमारीबाट श्रावण ६ गते कपिलवस्तु मालमार्फत रजिष्ट्रेशन पास गराई लिनुभएछ । सो कुरा पौष २० गते थाहा पाए रू.२१०००।बुझी हक सफा गर्न दिनुहोस् भन्दा रूपैयाँ बुझ्नु मञ्जुर गर्नुभएन । थैली बढाई जालसाँजी गरेतर्फ छुट्टै नालिस गरेको हुँदा हकसफातर्फ उजूर गरेको छु लेनदेन व्यवहारका १६ नं. बमोजिम मुख मिलेको जालसाँजी मुद्दाबाट अन्तिम निर्णय भएको थैली मोल रूपैयाँ मबाट विपक्षीलाई बुझाई जग्गा हकसफा गरी चलन चलाई पाउँ भन्नेसमेत ०२९।१०।३ को फिराद रहेछ।

      ३.    लेखिएको जग्गा बेदामी २०१००।बढी लेखाई जालसाजी राजीनामा ठहराई लिएको होइन, खूव रू.४११००।। साक्षीको रोहवरमा लिनु दिनु गरी ०२९।४।६ का दिन राजीनामा रजिष्ट्रेशन पास गरेको हो थैली यति हो भन्ने थाहा भएकोमा रजिष्ट्रेशनका ३५ नं. बमोजिम थैली धरौट राखी कार्यालयमा दर्खास्त दिन जानुपर्ने सो नसकी बिना मतलब थैली धरौट नराखी दायर भएको नालिस रजिष्ट्रेशनको ३५ नं. तथा लेनदेन व्यवहारको ११ नं. ले खारेज गरिपाउँ भन्नेसमेत पिताम्बर, युवराज भुसालको संयुक्त प्रतिवादी रहेछ ।

      ४.    जुनसुकै मुद्दाबाट भए पनि थैली कायम भइसकेपछि धरौट राख्न पर्ने सिद्धान्त श्री सर्वोच्च अदालत फुल बेञ्चबाट प्रतिपादित भइसकेको हुँदा जालसाजि मुद्दाबाट ठहर भएको थैली रू.४११०० सो जालसाजि मुद्दाको अन्तिम टुंगो लागेको मितिले लेनदेन व्यवहारको १६ नं. बमोजिम ३५ दिनभित्र धरौट राखी दावीबमोजिमको धनी पिताम्बर, युवाराज ऋणी हुमकुमारी, खेमकुमारी, खेमकुमारीसमेत भएको राजीनामाको जग्गा बिगाहा ६द्र३। वादीले हकसफा गरी निखनी लिन पाउने ठहर्छ भन्नेसमेत कपिलवस्तु जि.अ. को ०३१।५।१७।२ को फैसला रहेछ ।

      ५.    सो इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीहरूको पुनरावेदन परेकोमा लेनदेन व्यवहारको १६ नं. मा थैली तिरी निखनी लिन पाउने गैह्र कुरामा निखनी पाउँ भनी उजूर गर्न आउँदा थैली थाहा भएकोमा थैलीसमेत धरौट राख्नुपर्छ भन्ने उल्लेख भएको प्रस्तुत वादी दावीमा थैली नभएको भन्ने नभई थाहा हुन आएको थैलीको हकमा केही रकम बढाई जालसाजी गरेको भन्ने देखाई भएकोले बढाई जालसाज गरेको भनी दावी गरेको अङ्कको हकमा पनि थाहा नभएको भन्ने कुरा जालसाजी मुद्दातर्फ उसै मुद्दामा भएका निर्णय बमोजिम हुने हुनाले सो पनि जालसाजी नठहर्ने गरेको इन्साफ शुरूको मुनासिव भई आजै किनारा भएकोले यस मुद्दाको हकमा थाहा पाएको भनी लेखको थैली धरौट नराखी दायर गरेको लेनदेन व्यवहारको १६ नं. ले दायर हुन नसक्ने देखिन आएकोले वादी दावी खारेज हुने ठहर्छ भन्नेसमेत पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३२।१।२५।५ को फैसला रहेछ ।

      ६.    सो इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन परेको रहेछ ।

            विपक्षीहरूलाई प्रचलित मोल रू.२१०००। मा दिनु भएकोमा मेरा हकसफा गर्ने हक मेटाउन बढी रू.२०१००। बेदामी जालसाजी अङ्क लेखाइ रू.४११००।४ थान राजीनामा श्रावण ६ गते क मालमा पास गराए छन् हाल पौष १८ गते थाहा पाए भन्ने वादीको लेखाइबाट थैलीको अङ्क थाहा पाएको प्रष्ट देखिन्छ । लेनदेन व्यवहारको १६ नं. बमोजिम थैली धरौट राखेको देखिदैन, यस्तै प्रश्न समावेश भएको विष्णुरमण, राजेश्वरीको निखनार्ई पाउँ भन्ने मुद्दामा फुलेबेञ्चबाट ०२९।६।१६।२ मा भएको प्रतिपादित सिद्धान्तअनुसार थैली धरौट नराखेकोले वादीको दावी खारेज गर्ने गरेको प.क्षे.अ. को इन्साफ मनासिव छ भन्ने मा.न्या. श्री वासुदेवको राय र दे.फु.नं ८६ पुनरावेदक अम्बरबहादुर विपक्षी चेहर सिं भएको हकसफा मुद्दामा पाँच जना न्यायाधीशको फुल बेञ्चले थैलीमा मुख नमिली जालसाजीमा भए पनि मुद्दा परिसकेकोमा जनुसुकै मुद्दाबाट भए पनि थैली कायम भइसकेपछि निखन्ने कुरामा लेनदेन व्यवहारको १६ नं. बमोजिम म्याद ३५ दिनभित्र धरौट राख्न पर्ने २७।४।२०।३ मा सिद्धान्त कायम भएकोले प्रस्तुत मुद्दामा सोही नजिर लाग्ने हुँदा प.क्ष.अ. को इन्साफ मिलेन भन्नेसमेत मा.न्या. श्री ईश्वरीराज मिश्रको राय बाजी फैसला भएको रहेछ ।

      ७.    पुनरावेदक वादीतर्फको विद्वान अधिवक्ता श्री ठाकुर खरेलले बहसमा थैलीको मुख नमिलेकोमा अन्तिम निर्णयबाट कायम भएको थैली धरौट राख्न पाउने लेनदेन व्यवहारको १६ नं. मा व्यवस्था छ थैली बढाए भन्ने जालसाजी मुद्दा परेकोबाट निर्णय भएपछि सो अनुसार धरौट राखी निखन्न पाउने हुँदा धरौट नराखेको भनी खारेज गरेको मिलेको छैन भनी र विपक्षी प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले बढाएको र लिनुदिनु गरेको थैली वादी लेखबाट थाहा पाएको छ । लिनुदिनु गरेको भनेको थैली पनि धरौट रहेको छैन । लिखितका थैली वादीलाई थाहा पाएकै हुँदा लेनदेन व्यवहारको १६ नं. ले धरौट राख्नु पर्नेमा नरोखेकोले खारेज हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

      ८.    यसमा २०३३।२।३।१ को डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको मतैक्य हुन नसकी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मेरो दुई पुस्ताभित्रको जेठी भाउजू हुमकुमारीबाट र माहिली भाउजू खेमकुमारीबाट जम्मा जग्गा बिगाहा ६द्र३। जग्गा प्रचलित रू.२१०००। मा हकवाला देवर मलाई दिने कबोल गर्नुभएको थियो, त्यस्तो अवस्था मलाई पत्ता नदिई प्रतिवादीहरू मिली मेरो हकसफा गर्ने हक मार्नाका लागि बढी रू.२०१००। मोल बढाई बेदामी अङ्क लेखी लेखाई रू.४११००। का ४ थान राजीनामा ०२९।४।६ मा पास गराई लिएछन् सो कुरा थाहा पाई रु. २१००० बुझी हकसफा गरिदिनुहोस् भन्दा रूपैया बुझ्न रुपैयाँ बुझ्न विपक्षीहरुले मञ्जुर नगरी बुझी नदिनु भएकोले थैली बढाई जालसाज गरेतर्फ छुट्टै उजूर गरेको हुँदा हक सफातर्फ म्यादभित्र निखनार्ई पाउँ भन्ने नालिस गरेको छ ।

      ९.    ना.सु. विष्णुराम उप्रेती विरूद्ध राजेश्वरी उपाध्याय भएको निखनार्ई पाउँ भन्ने मुद्दामा २०२९।६।१६।२ मा फुल बेञ्चबाट निर्णय हुँदा थैली थाहा पाएकोमा लेनदेन व्यवहारको १६ नं. बमोजिम सोही महलको ११ नं. को म्यादभित्र थैली धरौट राख्नु पर्ने नराखेकोबाट वादीको फिराद खारेज हुने भन्ने निर्णय भएको देखिएकोले सो अनुसार थैली धरौट नराखेको यस मद्दाको फिराद खारेज गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मुनासिव ठहर्छ भन्ने डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री वासुदेव शर्माको र पुनरावेदक अम्मरबहादुर खत्री विपक्षी चेहर सिं भएको थैली जालसाजी र निखनाई पाउँ भन्ने २ दुई मुद्दा दायर भएकोमा जालसाजीमा मुद्दा परिसकेकोमा थैली कायम भइसकेपछि लेनदेन व्यवहारको १६ नम्बरबमोजिम ३५ दिनभित्र थैली धरौट राखी निखन्न पाउने भनी ०२५।१२।२६ मा डिभिजन बेञ्चबाट फैसला भएको सदर गरी ०२७।४।२०।३ को फुल बेञ्चबाट फैसला भएको देखिएकोले सो नजिर यस मुद्दामा मिल्ने हुनाले पश्चिमाञ्चल क्षेत्रीय अदालतको वादी खारेज गर्ने गरेको इन्साफ मिलेन भन्ने डिभिजन बेञ्चको अर्का माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्रको राय भएको रहेछ ।

      १०.    थैली बढाई लिखत पास गरे भनी जालसाजीमा नालिस परेपछि मुख मिलेको भएन जालसाजी मुद्दा अन्तिम हुँदा कायम हुन आउने थैली लेनदेन व्यवहारका १६ नं. बमोजिम ३५ दिनभित्र धरौट राख्न पाउने कानूनी व्यवस्थाबाट वादी बञ्चित हुन नसक्ने हुँदा वादी दावी खारेज हुन नसक्ने भनी वादीतर्फका विद्वान अधिवक्ताले र जालसाजी नभएका भनी वादीले मञ्जुर गरेको थैली २१०००। पनि धरौट नराखेको र थैली थाहा नपाएकोमा मात्र मुद्दाबाट ठहरेको थैली लेनदेन व्यवहारको १६ नं. अनुसार पछि धरौट राख्न पाउने सुविधा वादीले पाउने हो सो अनुसार नहुँदा यस मुद्दामा उक्त सुविधा वादीलाई दिन मिल्दैन वादी खारेज हुनुपर्छ भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताले आफ्नुफ्नु बहसमा जिकिर गर्नुभयो ।

      ११.    डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको रायमा फुल बेञ्चका अलगअलग फैसलाको नजिर उल्लेख छ र लेनदेन व्यवहारको १६ नं. कै आधारमा आफ्नोफ्नो राय व्यक्त भएको छ, पक्ष विपक्षीकातर्फका अधिवक्ताहरूको बहस जिकिरमा पनि लेनदेन व्यवहारको १६ नं. ले नै आफ्नाफ्ना पक्षको संरक्षण गरेको भन्ने जिकिर भएकोले उपरोक्त फुल बेञ्चबाट भएका फैसला र लेनदेन व्यवहारको १६ नं. कै आधारमा यस मुद्दाको निर्णय दिनुपर्ने भएको छ । जहाँसम्म फुल बेञ्चबाट अघि भएको फैसलाहरू हेरिंदा ना.सु. विष्णुरमण उप्रेती विरूद्ध राजेश्वरी उपाध्यायको निखनार्ई पाउँ भन्ने मुद्दामा थैली बढाई जालसाज गरे भन्ने छुट्टै मुद्दा वादीले दायर गर्न नसकेको निखनाई पाउँ भन्ने मुद्दामा नै थैली बढाई जालसाजी गरे भनी देवानी विषय र फौजदारी विषयको समेत एउटै नालिस फिराद कानून विरूद्ध पर्न आएको छ । यस मुद्दामा सो अनुसार नभई निखनार्ई पाउँ भन्ने मुद्दा र थैली बढाई जालसाज गरे भन्ने मुद्दा अलगअलग दर्ता गरेको र एक मुद्दाको दायरी अर्को मुद्दाबाट देखिने गरी उल्लेख गरेको देखिएको हुनाले विष्णुरमण उप्रेती राजेश्वरी उपाध्यायको निखनार्ई पाउँ भन्ने मुद्दा प्रस्तुत मुद्दाको तथ्यसँग मिल्न आएन । अम्बरबहादुर खत्री चेहर सिंहको निखनार्ई पाउँ भन्ने र थैली जालसाज गरे भन्ने अलगअलग मुद्दा दायर भएको जुन प्रस्तुत मुद्दासँग पुरा तवरले तथ्य मिल्न आएको देखिन्छ र खास गरी लेनदेन व्यवहारको १६ नम्बरको अर्थ के हो भन्ने नै विचारणीय हुन आयो । सो ऐनमा थैली तिरी निखनी लिन पाउने गैह्र कुरामा निखनार्ई पाउँ भनी अड्डामा उजूर गर्न आउँदा थैली थाहा भएकोमा थैलीसमेतलाई धरौट राख्नुपर्छ । थैली थाहा नभएकोमा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको पैंतीस दिनभित्र र मुख नमिलेकोमा बुझाउन पाउने ठहरी फैसला भई अपीलको तहसम्मबाट फैसला भएपछि वा ऐनले अपील नलाग्ने अवस्था पुगेको पैंतीस दिनभित्र सो तिर्नु पर्ने थैली अड्डामा ल्याई धरौट राख्नुपर्छ । सो म्यादभित्र थैली धरौट राख्न ल्याएन भने आसामीले नै बन्धक निखनी दिने बाहेक अरूले अरू निखनी लिने कुरा निखनी लिन पाउँदैन । लिए दिएको पक्का हुन्छ । आसामीले नै बन्धक बन्धकी निखनी लिने कुरामा पनि सो नालिस फैसलाबाट निखनार्ई दिनु पर्दैन साहुले नबुझे थैली धरौट राखी उजूर गरेमा निखनार्ई दिनुपर्छ भन्ने लिखिएको छ । थैली थाहा पाएकोमा अगावै थैली धरौट राखी नालिस गर्नपर्ने भन्ने सो ऐनको पहिलो वाक्यांशमै लेखिएको हुनाले लिखतको थैली थाहा भएपछि थैली बढाई जालसाज गर्‍यो भन्ने मुद्दा दायर गरे पनि लिखितबमोजिमको थैली अगावै धरौट दाखिल गर्नुपर्छ जालसाजी मुद्दाबाट ठहर हुँदा थैली घटी ठहरे वादीले धरौटीमध्ये बढी भएको थैली फिर्ता लिन सक्दछ भन्ने पनि सामान्य अर्थ आउन नसक्ने हैन तर      ऐनको अर्थ हुँदा एक वाक्यांशमा दुई वाक्यांशको मात्र अर्थ गर्नुभन्दा समुच्चा नम्बरको र सो नम्बरसँग सम्बन्ध भएको अन्य नम्बर वा अन्य महलको ऐनको समेत मनन गरी अर्थ गर्नु उपयुक्त हुन आउँछ त्यस किसिम लेनदेन व्यवहारको १६ नम्बरको अध्ययन गर्दा निखनार्ई पाउँ भन्नेले थैली धरौटी राखी नालिस गनुपर्ने र थैलीमा मुख नमिलेमा निश्चित भएपछि ३५ दिनभित्र थैली धरौट राख्न पाउने तात्र्यको लागि सो ऐनको बनावट देखिन्छ प्रतिवादी परेपछि थैलीमा मुख नमिलोस वा वादीले फिराद गर्दैमा प्रतिवादीको लिखतको थैलीमा मुख नमिली थैली बढाएको भन्ने जालसाजी मुद्दा परी थैलीमा मुख नमिलोस् वास्तवमा थैली निश्चित भएको अवस्था नआउने हुन आउँछ त्यस्तो निश्चित नभएकोमा फैसला भई निश्चित भएको ३५ दिन भित्र धरौट राख्न पाउने वादी उजूरवालालाई कानूनले अधिकार प्रदान गरेको देखिन्छ त्यस्तो कानूनी अधिकारबाट वादी बञ्चित हुन्छ भन्न नमिल्ने हुँदा सम्बन्धित जालासाजी मुद्दा अन्तिम किनारा भई फैसला भएका ३५ दिनभित्र वादीले थैली धरौट राखेमा हकदार नातादारमा विवाद नहुँदा कानूनबमोजिम निखन्न पाउने ठहर्छ । पश्चिमाञ्चल क्षेत्रीय अदालतले वादी खारेज गर्ने गरेको रायलाई सदर राख्ने गरेको डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री वासुदेव शर्माको राय मिलेको देखएन । तपसीलको कुरामा तपसीलबमोजिम गरी मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

तपसील

शुरू कपिलवस्तु जिल्ला अदालतको ०३१।५।१७।२ को फैसलाबमोजिम र पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३२।१।२५।५ को फैसला बमोजिमका लगत कायम राख्नु पर्दैन व्यहोरा जनाई सम्पूर्ण लगत कट्टा गर्नु भनी कपिलवस्तु जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ. तहविल फाँटमा लगत दिनु..................................१

वादी कृष्णराजउपाध्यायके माथि इन्साफ खण्डमा जालसाजी मुद्दाबाट अन्तिम किनारा भएका मितिले ३५ दिनभित्र थैली धरौट राखे निखन्न पाउने ठहरेकोले जालसाजी मुद्दा अन्तिम टुङ्गो लागेका मितिले ३५ दिनभित्र कायम हुन आएको थैली धरौट दाखिल गरे बढी दावा लिएको हुमकुमारी, खेमकुमारीबाट प्रतिवादी पिताम्बर मुसाल र युवराज मुसालले ०२९।४।६ मा राजीनामा लिएको जग्गा बादिले निखनी लिन पाउने गरी लगत राख्न कपिलवस्तु जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ. तहसिल फाँटमा लगत दिनु...............................................२

वादी कृष्णराजके निजले प्रतिवादीबाट भरीज्ञ पाउने ठहरेको कोर्टफी रू.१५०३। र पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१२९। र यस अदालतमा अनुमतिद्वारा पुनरावेदन गर्दा रहेका कोर्टफी रू.१२९। समेत जम्मा रू.१७६१ देहायका प्रतिवादीहरूबाट भरी पाउनेमा निज प्रतिवादीहरूले पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा कास्कि जि.अ.मा ०३१।६।२४।१ मा दाखेल गरेको धरौट कोर्टफी रू.१५०३। सो धरौटीबाट नपुग रू.२५८। निज प्रतिवादीहरूको जायजात देखाई प्रतिवादीहरूबाट भराई पाउँ भनी वादीको कोर्टफी ऐन, ०१७ को दफा १५ को उपदफा ११ को म्याद ३ वर्षभित्र वादीको दर्खास्त परेमा धरौट रू.१५०३ र नपुग रू.१२९। समेत देहायका प्रतिवादीहरूबाट वादीलाई बराबरका दरले भराई दिनु भनी ऐ. मा लेखी पठाउनु ऐ. ऐ मा लगत दिनु............................३

प्रतिवादी युवराज मुसाल १, ऐं ऐं बस्ने पिताम्बर मुसाल १,

 

हामीहरूको सहमती छ ।

 

प्र.न्या. श्री नयनबहादुर खत्री

न्या. श्री प्रकाश वहादुर के.सी.

न्या. श्री झपट सिं रावल

 

न्या. विश्वनाथको राय

      फ्नी जेठी र माहिली भाउजुहरूले प्रतिवादीहरूलाई बिक्री गरेको जग्गा निखन्न पाउँ भन्ने यो मुद्दामा वादीको मुख्य दावी छ । सो जग्गा बिक्री गर्दा वास्तविक बिक्री मोल रू.२१००१। मा रू.२०१००। वीस हजार एक सय कटाई जालसाजी गरी रू.४११००। बिक्री मोल देखाई राजीनामा राजिष्ट्रेशन पास गराएकोले जालसाजी मद्दाबाट सो बिक्री मोलको वास्तविक थैली यकिन भएपछि सोवमोजिमको थैली मबाट प्रतिवादीहरूलाई बुझाउन लगाई जग्गा निखनार्ई पाउँ भन्ने निजको भनाइ छ । यसप्रकार राजीनामाको लिखतमा उल्लिखित बिक्री मोलको अङ्कलाई जालसाजीको संज्ञा दिंदै वादीले कानूनबमोजिम फिरादपत्र साथ थैली धरौट नराखी जालसाजी मुद्दाको टुंगो लागेपछि मात्र धरौट राख्ने सहुलियत लिन खोजेको छ र यसै सन्दर्भमा प्रस्तुत मुद्दामा निम्न लिखत प्रश्न विचारणीय हुन आएको छ :

      निखन्न चाहने व्यक्तिले राजीनामाको लिखतमा उल्लिखित बिक्री मोलको अङ्कलाई जालसाजी भनी टुट्टे जालसाजी मुद्दा दायर गरेकोमा निजले हक सफा मुद्दा दायर गर्दा फिरादपत्रका साथमा राजीनामाबमोजिमको थैली धरौट राख्नु पर्छ वा पर्दैन ?

      यस सम्बन्धमा मुलुकी ऐन लेनदेन व्यवहारको महलको १६ नम्बरलाई हेर्दा उक्त १६ नम्बरमा निम्न लिखत व्यवस्था भएको पाइन्छ ।

      थैली तिरी निखनी लिन पाउने गैह्र कुरामा निखनार्ई पाउँ भनी अड्डामा उजूर गर्न आउँदा थैली थाहा भएकोमा थैलीसमेत ल्याई धरौट राख्नुपर्छ । थैली थाहा नभएकोमा प्रति उत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको पैतिस दिनभित्र र मुख नमिलेकोमा बुझाउन पाउने ठहरी फैसला भई अपीलको तहसम्मबाट फैसला भएपछि वा ऐनले अपील नलाग्ने अवस्था पुगेको पैतिस दिनभित्र सो तिर्नु पर्ने थैली अड्डामा ल्याई धरौट राख्नुपर्छ । सोम्यादभित्र थैली धरौट राख्न ल्याएन भने असामिले नै बन्धक निखनी लिने बाहेक अरुले अरु निखनी लिने कुरा निखनी लिन पाउँदैन । लिए दिएको पक्का हुन्छ । आसामीले नै बन्धकी निखनी लिने कुरामा पनि सो नालिस फैसलाबाट निखनार्ई दिनु पर्दैन साहुले नबुझे थैली धरौट राखी उजूर गरेमा निखनार्ई दिनुपर्छ ।

      यस सन्दर्भमा उपर्युक्त प्रश्नमा पुनरावेदक वादी अम्बरबहादुर खत्री विरूद्ध प्रतिवादी चेहरसिं खत्री क्षेत्रीको मुद्दामा ०२७।४।२०।३ को फुल बेञ्चबाट र विष्णुरमण उप्रेती विरूद्ध राजेश्वरीदेवी उपाधययाको निखनार्ई पाउँ भन्ने मुद्दामा ०२९।६।१६ को फुल बेञ्चबाट भएका निर्णयहरू पनि विचारणीय देखिन्छन् । थैली जालसाजी गरे भनी जालसाजी मुद्दा परेकोमा जालसाजी मुद्दाबाट थैली यकिन भएपछि मात्र हकसफा मुद्दामा थैली धरोट राख्नु पर्ने भनी अघिल्लो फुल बेञ्चबाट अम्बरबहादुर खत्री विरूद्ध चेहरसिं खत्रीको मुद्दामा निर्णय निर्णय भएकोमा विष्णुरमण उप्रेती विरूद्ध राजेश्वरीदेवीको मुद्दामा पछिल्लो फुल बेञ्चबाट थैली थाहा भएकोमा फिरादपत्रका साथ थैली धरौट राख्नु पर्ने बाध्यात्मक कानूनी व्यवस्था भएकोले वादीले थैलीलाई जालसाजी भन्यो भन्दैमा निजले धरौट नराख्ने छुृट पाउन सक्दैन भन्ने दृष्टिकोण लिएको पाइन्छ । यसप्रकार फिरादपत्र साथ वादीले थैली धरौट राख्नु पर्ने वा नपर्ने भन्ने प्रश्नमा उक्त फुल बेञ्चहरूको निर्णय एक अर्कोसँग मिलेको देखिंदैन । यस सन्दर्भमा माथि उल्लिखित लेनदेन व्यवहारको १६ नम्बरको विश्लेषण गर्दा निखन्न चाहने व्यक्तिले थैली थाहा पाएको र थाहा नपाएको आधारमा भिन्दैभिन्दै कार्यविधिको व्यवस्था भएको देखिन्छ । निखिन्न चाहने व्यक्तिलाई थैली थाहा छ भने निजले फिरादपत्रका साथ थैली धरौट राख्नैपर्छ भन्ने कुराउक्त नम्बरको पहिलो वाक्यको थैली थाहा भएकोमा थैली समेत ल्याई धरौट राख्नुपर्छ भन्ने शबदहरुबाट प्रष्ट हुन्छ निजलाई थैली थाहा छैन भने प्रतिउत्तर परी निखन्न दिनुपर्ने कुरामा मुख मिलेमा प्रतिउत्तर परेको मितिले ३५ दिन भित्र र सो कुरामा मुख नमिलेकोमा बुझाउन अर्थात् निखन्न पाउने ठहरी अन्तिम फैसला भएपछि धरौट राख्नुपर्ने कुरा उक्त नम्बरको दोश्रो वाक्यले प्रष्ट गरेको छ । यसप्रकार थैली थाहाभएकोमा सो नम्बरको पहिलो बाक्य र थैली थाहा नभएकोमा दोस्रो वाक्य लागू हुनेकुरा प्रष्ट छ । थैलीको कुरालाई लिएर जालसाजी मुद्दा पनि चलेकोमा निखनार्ई पाउँ भन्ने मुद्दामा राजीनामाको लिखत बमोजिमको थैली थाहा भए पनि फिरादपत्रका साथ सो थैली धरौट राख्न नपर्ने व्यवस्था उक्त १६ नम्बरले गरेको छैन । यस स्थितिमा थैली थाहा नभएकोमा भन्ने पूर्व शर्त (Pre-Condition) लगाएर शुरू भएको दोस्रो वाक्यलाई थैली थाहा भएका अवस्थामा जालसाजी मुद्दा परेको कारणले मात्र लागू गर्न मिल्ने देखिंदैन । थैली थाहा नभएकोमा भन्ने शब्दहरूले उक्त वाक्यको विस्तार (Scope) लाई सिमिति र नियन्त्रण गरेको छ । सो अनुसार उक्त दोश्रो वाक्य लागू हुनको निमित्त थैली थाहा नभएको अवस्था विद्यमान हुनुपर्छ । त्यस माथि पनि उक्त दोश्रो वाक्यमा उल्लिखित बुझाउन पाउने ठहरी फैसला भई भन्ने शब्दहरूले बुझाउन अर्थात् निखन्ने विषयको मुद्दाको फैसलाले लिएर बोलेको कुरालाई जालासजी मुद्दाको फैसलासँग जोडेर जालसाजी मुद्दाको फैसला भएपछि मात्र थैली धरौट राख्नु पर्छ भन्न कदापि मिल्दैन ।

      उक्त १६ नम्बर अनुसार निखन्न चाहने व्यक्तिलाई राजीनामाको थैली थाहा छ भने निजले फिरादपत्रका साथ थैली धरौट राख्नै पर्छ । थैली थाहा भए पनि थैलीको अङ्कमा पक्षहरूको मुख नमिलेकोमा वा त्यस सम्बन्धमा छुट्टै जालसाजी मुद्दा परेकोमा मुद्दा किनारा भएपछि मात्र थैली धरौट राख्न पाउने सहुलितयत उक्त १६ नम्बर वा अन्य कुनै प्रचलित नेपाल कानूनले प्रदान गरेको छैन अन्यथा प्रमाणित नभएसम्म साहु र असामिका वीचमा भएको राजीनामा लिखतमा उल्लिखित राजीनामाको थैलीलाई सहि नै मान्नु पर्ने हुनाले थैली बढाए भन्ने दावी लिंदैमा वा थैलीका अङ्कमा जालसाजी गरे भनी जालसाजी मुद्दा चलाउँदौमा कानूनबमोजिम फिरादपत्रका साथ थैली धरौट राख्नु पर्ने भारलाई निखन्न चाहने व्यक्तिले पन्छाउन सक्तैन । थैली बढाए वा थैलीको अङ्कमा जालसाजी गरे भन्दैमा थैली बढाएकै हो वा जालसाजी गरेकै हो भनी अदालतले अनुमान गरे जस्तो देखिने गरी तत्काल धरौट राख्न नपर्ने गरी कानूनको स्पष्ट वन्देजको वितरीत वादीलाई छुट दिनु उचित र तर्कसँग पनि हुँदैन । यसरी थैली थाहा हुँदा हुँदै पनि मुद्दाको किनारा नहुन्जेल थैली धरौटी राख्नु नपर्ने छुट वादीले पाउने हो भने धरौटी राख्नु पर्ने कानूनी व्यवस्था नै वस्तुतः निष्कृय भएर जान्छ । जालसाजी एउटा फौज्दारी अपराध हो त्यस्तो अपराध कसैले गरेको छ भने त्यस्को छुट्टै कानूनी परिणाम जालसाजी गर्ने व्यक्तिले बेहोर्नु पर्छ निखनार्ई पाउँ भन्ने मुद्दा र जालसाजी मुद्दाको प्रक्रिया र परिणाम भिन्दाँ भिन्दै हुन्छन् निखनार्ई पाउँ भन्ने मुद्दाको धरौटीसम्बन्धी कुरालाई जालसाजी मुद्दासँग सम्बन्धित गराउने नत कानूनमा व्यवस्था छ न त्यस्का कुनै कानूनी आवश्यकता नै छ । जालसाजी मुद्दाको किनारा हुँदा थैली बढाई जालसाजी गरेको देखिएमा निखनार्ई पाउँ भन्ने मुद्दामा धरौट रहेको थैली मध्येबाट जालसाजी मुद्दामा यकिन भए बमोजिमको थैलीनिखन्न दिनुपर्ने व्यक्तिलाई बुझाई बाँकी धरौट राख्ने व्यक्तिले फिर्ता पाउने नै हुँदा जालसाजी गरी थैली बढाएबाट बढी धरौट राख्नु परेको कारणले मात्र वादीले प्रतिवादीलाई बढी थैली तिर्न वा वुझाउन पर्ने अवस्था पनि रहँदैन । यस स्थितिमा विधायिकाले बनाएको कानूनलाई लागू गर्ने सम्म कर्तव्य भएको अदालतले कानूनका स्पष्ट शब्दहरूलाई तानतुन गरी विधायिकाले लगाएको बन्देजलाई विना कारण वा आधार खुकुलो बनाउनु वा निष्कृय गराउन खोज्नु उचित होइन । यस सम्बन्धमा वादी विष्णु रमण उप्रेती विरूद्ध राजेश्वरी उपाध्यायको निखनार्ई पाउँभन्ने मुद्दामा ०२९।६।१६ को फुल बेञ्चले गरेको निर्णय र सो आधारमा डिभिजन वेञ्चका माननीय न्यायाधीश श्री वासुदेव शर्माले व्यक्त गर्नुभएको रायसँग म सहमत छु । थैली थाहा हुँदा हुँदै पनि फिरादपत्र साथ थैली धरौट नराखेकोले वादी दावी खारेज गर्ने गरेको पश्चिमाञ्ल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ । यस बेञ्चका सहयोगी न्यायाधीशज्यूहरूको बहुमतसँग मेरो राय नमिलेकोले यस सम्बन्धमा मैले अरू केही भनी रहन परेन नियमानुसार गरी मिसिल बुझाई दिनु ।

 

न्या. विश्वानाथ उपाध्याय

 

इति सम्वत् २०३३ साल कार्तिक २० गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु