निर्णय नं. ९८५ - नासो धरौट

निर्णय नं. ९८५ ने.का.प. २०३३
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री झपटसिंह रावल
सम्वत् २०३३ सालको दे.पु.नं. ७८
फैसला भएको मिति : ०३३।७।१२।५
निवेदक : जि. मोरङ विराटनगर न.पं. वार्ड नं. ८ बस्ने मोहनकृष्ण श्रेष्ठ
विरूद्ध
विपक्षी : जि. मोरङ कटहरी गा.पं. वडा नं. ५ बस्ने रामबल्लभ करूवा माडवारी
मुद्दा : नासो धरौट
(१) थर वतन पूरा नलेख्दैमा सो कागजबाट उत्पन्न दायित्वमा प्रतिवादीले फुर्सद पाउँछ भन्न नमिल्ने ।
(प्र.नं. ९)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह
उल्लिखित मुद्दा : कपिलमुनी उपाध्याय, दिलकुमारी उपाध्याय नि.नं. १९५
फैसला
न्या. झपटसिंह रावल
१. पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट ०३१ साल मार्ग १८ गते ३ मा गरेको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी सर्वोच्च अदालतमा ०३१।९।९।३ मा निवेदन परी ०३३।३।४।५ मा पुनरावेदनको अनुमति पाई पेश हुन आएको रहेछ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : विपक्षीलाई सन् १९६१ मार्च १ तारेख तदनुसार ०१७।११।१८ मा भारू १५०००।– नासो धरौटी राख्ने दिएको दिनु हवस भन्दा नदिनु भएकाले नासो धरौटीको ७ नं. अन्तर्गत १० वर्षभित्र भा.रू.१०० को १३५।– ले हुने रू.२०२५०।– दिलाई भराई पाउँ भन्ने वादी दावी रहेछ ।
३. मैले वादीसँग नासो धरौटी लिनु पर्ने कुनै कारण छैन होइन मैले कागज गरी दिएको भए मेरो पूरा सही हुनु पर्ने सो समेत नभएकाले वादी दावी झुठ्ठा हो भन्नेसमेत प्रतिवादी।
४. साहु मोहनकृष्ण श्रेष्ठ जनरल मार्चटको नाममा अंगे्रजी पापेटमा मोहनकृष्णको कारिन्दा बलराम माष्टरले लेखी मोहनकृष्णले आफ्नो हस्ताक्षरले सही गरेको हो भनी वादीले कीर्तेतर्फको वयानमा लेखे अनुसार निज मोहकृष्णलाई हस्ता भिडाउन झिकाउँदा वारेसले दाखिल गर्न नसकेको र निज मोहनकृष्णको वारेसनामाको लिखितको हस्ताक्षर र सही मिलन भिड्न आएको समेत प्रमाणबाट यस्तो हुँदैन भएको लिखत कीर्ते गरी वादीले उजूर गर्नुपर्ने अवस्था देखिन नआएको कीर्ते गर्ने भए यसभन्दा पनि धेरै पैसा लेखी कीर्ते गर्नुपर्ने समेत हुँदा आफूले गरी दिएको कागजलाई कीर्ते हो भनी प्रतिवादीले झुठ्ठो कुराको जिकरी लिएको देखिँदा वादी दावी बमोजिमको रूपैयाँ प्रतिवादीले तिर्न बुझाउन पर्ने ठहर्छ भन्ने मोरङ जिल्ला अदालतको २०२८।९।७।४ को फैसला रहेछ ।
५. वादीबाट पेश भएको सक्कल नासो धरौटी कागजमा रामबल्लभलाई संवोधन गरेको र आयको भा.रू.१५०००।– हमारा पासमा है भन्ने व्यहोरा उल्लेख भएपछि त्यसदेखि मुनी प्र. पुनरावेदक मोहनकृष्ण नाम जनिएको छ स्व. मोहनकृष्ण भन्ने नामसम्म मेरो हो तर मोहन कृष्ण भन्ने हस्ता नै मेरो होइन भनी वयान गरेमा हस्ता जाँच विषेशज्ञबाट अड्डाबाट लिएको र लिखतमा सहीछापसँग मोहन कृष्णको हस्ता भिड्छ भनी आएको देखिनाले र बुझिएका साछीहरू सबैले म्याद गुजारेको समेत कारवाहीबाट पुनरावेदन जिकिर मनासिव देखिन न आई शुरु जिल्ला अदालतबाट भएको इन्साफ मनासिव छ भन्ने कोशी अञ्चल अदालतको ०३०।५।१८ को फैसाला, सोउपर पुनरावेदन परेकोमा कारणीको लेखात्मक सहीछाप परेको कागजबाट नालिस सुनी इन्साफ गरी दिनु पर्ने व्यवस्था भइरहेको हुनाले लिखतमा साछी नराखेको र लिखत लेख्ने भनेको व्यक्ति उपस्थिति नभए पनि लिखत गरी दिने व्यक्तिले लिखत गरी दिएको हो भन्ने प्रमाणबाट समर्थन हुन आएमा लिखितले कानूनी मान्यता प्राप्त गर्न सक्ने हुँदा विद्वान वरिष्ठ अधिवक्ताको बहससँग सहमत हुन सकिएन पुनरावेदन जिकिर मनासिव देखिन नआएको हुँदा वादी दावी बमोजिम प्रतिवादीबाट भरी पाउने ठहराएको शुरूको इन्साफ सदर गरी छिनेको कोशी अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३१।८।१८।३ को फैसला रहेछ ।
६. यस अदालत डिभिजन वेञ्चबाट २०३३।३।४।५ मा अनुमति पाई पुनरावेदन तहबाट निर्णयको लागि पेश हुन आएको रहेछ ।
७. पुनरावेदक तर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली र विपक्षी तर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंहले बहस प्रस्तुत गर्नुभयो ।
८. पुनरावेदकको जिकिर ठिक बेठिक के रहेछ यस विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।
९. नासो धरौटीको लिखत भनी पेश भएको कागजमा प्रतिवादी पुनरावेदक मोहनकृष्ण श्रेष्ठको तत्कालिन कागज जाँचको २० नम्बरले ल्याप्चे सहीछाप समेत हुनु अनिवार्य छ । ल्याप्चे सहीछाप नभएको लिखत सहीमा नाम थर वतन पूरा नभएको हुनाले सो कागज कानूनी मान्यतापूर्ण नहुँदा वादी दावी खारेज हुनु पर्नेमा वादीलाई भराई दिने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन वादी दावी खारेज हुनु पर्छ कपिलमुनी उपाध्याय दिलकुमारी उपाध्यायको नासो धरौट मुद्दामा १ ल्याप्चे भएकोलाई पनि मान्यता नदिई फुलवेञ्चबाट फैसला भएको २० ने.का.प. पाना नं. ७१ निर्णय नं. १९५ मा उल्लेख छ भनी पुनरावेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ताले र लेखपढ गर्न जान्ने प्रतिवादीले हस्ताक्षर गरे पछि ल्याप्चे सही नभएकोमा जरिवाना सम्म गरी सो लिखतबाट नालिस उजूर लाग्न सक्ने पुरानो मुलुकी ऐन कागज जाँचको २० को (ग) मा व्यवस्था भएकोमा प्रतिवादी पुनरावेदकले लिखतमा हस्ताक्षर गरेको हुनाले ल्याप्चे सहीछाप नभए पनि पुनरावेदक उपर वादीको दावी लाग्न सक्ने र दावी स्वीकार गरी अदालतले वादीलाई डिग्री दिएको कानून अनुरुप हुँदा क्षेत्रीय अदालतको इन्साफ सदरै हुनु पर्छ भनी विपक्षी वादी तर्फबाट उपस्थित हुनु भएको विद्वान वरिष्ठ अधिवक्ताले बहस गर्नुभयो । नासो धरौटको लिखत भनी पेश भएको लिखतमा मोहनकृष्ण नाम लेखी हस्ताक्षर गरेकोमा मोहनकृष्णको हस्ताक्षर हैन भनी मोहनकृष्णले वारेसद्वारा वयान गरेकोमा हस्ताक्षर जाँच हुँदा मोहनकृष्णकै हस्ताक्षर मिल्न आएको भन्ने मिसिलबाट देखिन आउँछ, नासो धरौट जिम्मा लिएको लिखतमा लेख्न जान्नेको पनि ल्याप्चे सहीछाप हुनु अनिवार्य तत्कालिन कागतजाँचको २० नम्बरले व्यवस्था गरेको भन्ने कुरामा दुवै पक्षका विद्वानको मतभेद छैन हस्ताक्षर लेख्न जान्नेको हस्ताक्षर भएकोमा ल्याप्चे सहीछाप नभए पनि जरिवाना गरी सो कागजबाट नालिस लाग्न सक्ने वैकल्पीक व्यवस्था पनि कानूनले गरी राखेको देखियो । मोहनकृष्णले हस्ताक्षर गर्दा पूरा नाम थर वतन लेखेको छैन भन्ने पुनरावेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ताको बहस जिकिरका हकमा हस्ताक्षर भए पछि सो लिखतबाट उक्त दायित्वलाई हस्ताक्षर गर्ने प्रतिवादी पुनरावेदकले वहन गर्न पर्ने देखिन आउँछ । थर वतन पूरा नलेख्दैमा सो कागजबाट उत्पन्न दायित्वमा प्रतिवादीले फुर्सद पाउँछ भन्न मिल्दैन पुनरावेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ताले जुन फुलवेञ्चको निर्णय भनी बहसमा पेश गर्नु भएको छ सो मुद्दामा निरक्षरी मानिसको १ ल्याप्चे मात्र भएको लिखतलाई दृष्टिगोचर राखी फुलवेञ्चबाट निर्णय भएको देखिंदा सो नजिर प्रस्तुत मुद्दामा मिल्दो जुल्दो देखिएन तसर्थ इन्साफ पूर्वाञ्चल क्षेत्रिय अदालतको मनासिव ठहर्छ प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन कोर्टफी लागेको हुँदा पुनरावेदन गरेमा केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रकाशबहादुर के.सी.
इति सम्वत् २०३३ साल कार्तिक १२ गते रोज ५ शुभम् ।