निर्णय नं. ९९८ - ज्यान मार्न उद्योग गरेको

निर्णय नं. ९९८ ने.का.प. २०३३
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०३२ सालको फौज्दारी पुनरावेदन नम्बर ११०
फैसला भएको मिति : २०३२।८।१५।२
पुनरावेदक : काठमाडौं जिल्ला त्यौड तँलाछी का.न.पं. वडा नं. २७ घर हाल केन्द्रीय कारागार काठमाडौंमा थुनिएको सूर्यबहादुर मानन्धर
विरूद्ध
प्रत्यर्थी : बौद्ध प्रहरी छोटी ठाना काठमाडौं र नाती भाइ खड्गीको जाहेरीले श्री ५ को सरकार
मुद्दा : ज्यान मार्न उद्योग गरेको
(१) शंकाको भरमा (अभियुक्त) लाई कसूरदार ठहराई सजाय दिन उपयुक्त नहुने र फौजदारी न्याय सिद्धान्त अनुसार शंकाको लाभ अभियुक्तले पाउनुपर्ने ।
(प्र.नं. १५)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना
प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री शोभाकर उपाध्याय
उल्लिखित मुद्दा :
फैसला
न्या. वासुदेव शर्मा
१. बौद्ध प्रहरी छोटी ठाना र नाती भाइ खड्गीको जाहेरी परी कारवाही भई प्र. सूर्यबहादुरले केशवलाल श्रेष्ठको ज्यान मार्न उद्योग गरेको ठहराई शुरूबाट भएको फैसलालाई सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भए उपर प्रतिवादी सूर्यबहादुरको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेको छ ।
२. मेरो छोरा सार्की खड्गी बौद्धमा राँगाको मासु बिक्री गरी बस्ने मानबहादुरको घर पसलमा काम गरी बस्ने गरेको थियो । ०२९।११।१३ का रात ७ : ३० बजे मानबहादुरले सर्किनी भन्नेको घरमा जाँड खाँदा खाँदै उल्टी गरी छादेछ, सार्की खड्गीलाई बोलाई लगेको थियो तिम्रो छोरा सो छाद फ्याँकी फर्की आउँनासाथ मर्यो, लाश हाम्रो घरमा छ भनी कृष्णबहादुर खड्गीले खबर गरेकोले आई हेर्दा मेरो छोरा सार्की खड्गी मरेको रहेछ । को कसको कर्तव्यबाट मर्न गएको हो जाँचबुझ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने मिति ०२९।११।१४।१ को नाती भाइ खड्गीको जाहेरी दर्खास्त ।
३. मानबहादुरले छादेको सोर्न भनी आएको सार्की खड्गेले पनि छाद्नेले खाएको रक्सी खाएको थियो, उक्त दिन सूर्यबहादुर मानन्धर मेरो पसल डेरामा आई कुखुरा किनीदेऊ भन्ने इत्यादि कुरा गरी जाँड खाई गएको थियो । ऊ आएपछि पकाइरहेको चिया मेरो लोग्नेले र मैले खाँदा तितो भएको र उक्त दिन मानबहादुरले रक्सी खाँदा छादेको र सार्की खड्गी त्यसरी मरेको थाहा पाइयो । सूर्यबहादुर बराबर आउँथ्यो मिति संझना भएन तिम्रो लोग्नेको केही पनि काम रहेनछ । त्यस्तोसँग किन बस्ने मसँग आउ भनेको थियो । त्यसरी बिहान आई जाँड मात्र खाने सूर्यबहादुरले चिया र रक्सीमा विषालु पदार्थ राखेमा शंका लाग्छ भन्नेसमेत सर्किनी श्रेष्ठनीले प्रहरीमा र सोही मिलान अदालतमा बयानसमेत गरेकी रहिछन् ।
४. बौद्धमा सर्किनी भएको पसलमा जाँडरक्सी खाँदा र सर्किनी श्रेष्ठनी लोग्ने स्वास्नी भई बस्ने कुरा हुँदा निजले लोग्ने छँदै कसरी जाने भनेकीले निजको पसलमा ०२९।११।१३ का दिन अं. साढे नौ दश बजेको समयमा मुसा मार्ने औषधि लिई गई पकाइराखेको चियामा र रक्सीको सिसीमा सो औषधिको पुरिया खोली राखिदिएको हुँ । कसैलाई मार्ने उद्देश्यले होइन । उक्त विष खाएपछि बेहोस हुन्छ भन्ने सुनेको र केशव श्रेष्ठलाई बेहोस पारी उपचारको निमित्त अस्पताल भर्ना गरी स्वास्नीलाई भगाई भट्टीको सम्पत्तिसमेत लिई अन्त कतै गई बस्ने कुराको इच्छा लिई सो औषधी रक्सी र चियामा राखेको हुँ । निजलाई मार्ने नियतले राखेको होइन भन्नेसमेत प्रहरीमा र प्रहरीमा भएको कागज बयान मलाई डी.एस.पी. मा प्रहरीले कुटी मैले सहन नसकी रक्सी र चियामा मुसा मार्ने औषधी राखेको हुँ भनेपछिमात्र कुट्न छाडिदिएका हुन् । मेरो स्वेच्छाले मैले गरेको बयान होइन । म २०२९।११।१३ गते बौद्ध गएको छैन । सार्की कसाही के भई मर्यो मलाई थाहा छैन । म निर्दोषउपर सर्जमिन समेतले किन दोष लगाए मलाई थाहा छैन । सो १३ गते घरमै छु । मैले कसूर नगरेको हुँदा मलाई अभियोग लाग्नुपर्ने होइन भन्नेसमेत इन्कारी भई सूर्यबहादुरको अदालतमा बयान ।
५. मानबहादुरलाई अस्पताल भर्ना गरेछन्, सूर्यबहादुरले मार्ने उद्देश्यले रक्सी चियामा विष हालेको जस्तो लाग्छ । मानबहादुरको छाद सोर्न आएको सार्की कसाईले रक्सी खाई चुरोट सल्काई घर गएका थिए घर पुग्नासाथ मरेछन्, मलाई मारी सम्पत्ति र श्रीमतीलाई लाने उद्देश्यले उक्त चिया र रक्सीमा विष राख्ने सूर्यबहादुरलाई कानूनबमोजिम होस् भन्नेसमेत प्रहरीमा र सोही मिलान अदालतमा समेत केशवलालले गरेको कागज बयान ।
६. सूर्यबहादुर, सर्किनीको भट्टीको मालिक बन्ने उद्देश्यले केशवलाई विष खुवाई मार्ने उद्देश्य रहेको जस्तो लाग्छ, भट्टीमा अरू रक्सी नहुँदा सो रक्सी मलाई र सार्की खड्गीलाई दिएको, सार्की खड्गी उपचार गर्न नपाउँदै मरेकोबाट केशव र सर्किनीउपर मेरो शंका लाग्दैन भन्नेसमेत व्यहोराको र सदरको मानिसले सर्किनीको पोइलाई मारी निज सर्किनीलाई स्वास्नी तुल्याई लाने नियतले विष रक्सीमा हाली दिएको हो अन्जानबाट मलाई दिँदा म बेहोस भएँ, सार्की मर्न गए भन्नेसमेत अदालतमा मानबहादुरले गरेको बयान ।
७. दोकानमा के कति मानिस आई किनमेल गर्दछन्, चिनारूबाहेक अरू मानिस सम्झन नसक्ने हुँदा सूर्यबहादुरले मकहाँबाट मुसा मार्ने औषधि लगे नलगेको केही थाहा छैन, म उसलाई चिन्दिन भन्नेसमेत कृष्णप्रसादको बयान कागज ।
८. सर्किनी, केशवलाल, इन्द्रबहादुरको भनाई अनुसार सूर्यबहादुरले सर्किनीलाई स्वास्नी बनाउन विष हालेको शंका लाग्छ भन्नेसमेत इन्द्रबहादुरको कागज ।
९. सूर्यबहादुरले केशवलाई मार्ने षड्यन्त्र गरी विष राखेकोमा निज नमरी सो विषबाट सार्की कसाईको मृत्यु भएकोले निज सूर्यबहादुर उपर मुलुकी ऐन ज्यानसम्बन्धीको १३(२), १५ र दण्ड सजायको ८ नं. बमोजिम कारवाही भई सजाय हुन अनुरोध गरेको प्रहरी प्रतिवेदन रहेछ । रक्सी चियामा विष केशवलाई बेहोस पार्नसम्म हालेको हो भन्ने प्रहरीमा र सो कुनै काम गरेको होइन भनी अदालतमा बयान गर्दा समेत सूर्यबहादुरले गरेको जिकिर मनासिव देखिदैन, सर्जमिनका अधिकांश व्यक्तिले किटानीसाथ लेखिदिएका मर्ने सार्की खड्गीको हकमा पोष्टमार्टम हुँदा लगिएको पदार्थ जाँच हुँदा विष देखिन्न भन्ने विशेषज्ञको प्रतिवेदनबाट देखिन आएको निज सार्की त्यसबाट मरेको भन्ने ठहर्न नआएबाट त्यसतर्फ केही गर्न परेन, मानबहादुर विष परेको रक्सी खाँदा र केशवलाल विष परेको चिया खाँदा मरणान्त भई बाँचेको भन्ने सबूद प्रमाणहरूबाट देखिन आएकोले केशवलालको स्वास्नी सर्किनीलाई स्वास्नी गराई सम्पत्ति लिने उद्देश्यबाट अभियुक्त सूर्यबहादुरले उक्त केशवलाल श्रेष्ठको ज्यान मार्न उद्योग गरेको र निजका साक्षीले झुठ्ठा बकेका तथा सरकारी पक्षको प्रतिवेदन दावी केही बेमनासिव गरेको समेत ठहर्छ । निज सूर्यबहादुरलाई ज्यानसम्बन्धीको १५ नं. बमोजिम १० वर्ष कैद हुन्छ भन्नेसमेत शुरू काठमाडौं जिल्ला अदालतको ०३१।५।३१।२ को फैसला ।
१०. उक्त इन्साफमा चित्त बुझेन, शुरूको इन्साफ बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सूर्यबहादुरको पुनरावेदन ।
११. असन तँलाछीमा पसल व्यवसाय गरी बसेको सूर्यबहादुरले त्यति टाढा बौद्धमा रहेको केशवलालको भट्टीमा रक्सी खाने उद्देश्यले मात्र गए होलान् भन्न सकिंदैन । सर्किनी श्रेष्ठको बयान अनुसार सर्किनी श्रेष्ठसँग निजको सम्बन्धको कारण पनि हो रहेछ भन्ने कुरा पुष्टि हुन आउँछ । अतः केशवलालको मौजुदगीमा सर्किनी श्रेष्ठलाई स्वास्नी बनाई लैजान नसक्ने देखेर नै सूर्यबहादुरले केशवलाललाई मार्ने उद्देश्य लिई चिया तथा रक्सीमा विष हालेको ठहराई काठमाडौं जिल्ला अदालतले प्रमाण बुँदा लगाई गरेको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३१।१०।२।४ को फैसला ।
१२. उक्त इन्साफमा चित्त बुझेन सार्की खड्गीको मृत्यु विषालु पदार्थबाट भएको होइन भनी डाक्टरले किटानी लेखेको रक्सी र चियाको भाँडामा मुसा मार्ने औषधि प्रयोग गरेको र केशवलाललाई बिना रीसईवी ज्यान मार्ने उद्योग गरेको ठहराई सजाय गरेको देखादेखि रूपमा मिलेन । शुरूको सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला बदर गरिपाउँ भन्नेसमेत प्रतिवादी सूर्यबहादुरको पुनरावेदन ।
१३. सार्की खड्गीको वान्ता जचाउँदा विष फेला परेन भन्ने वैज्ञानिकको राय, मुसा मार्ने औषधि हालेको भनी प्र.सूर्यबहादुर प्रहरीमा साबित भएको कुरालाई प्रमाणले समर्थन गरेको देखिएन । केशवलालले कुनै विषौला पदार्थ खाएको भन्ने कुराको पनि कुनै तथ्य प्रमाण देखिन आउँदैन । तसर्थ केशव श्रेष्ठको ज्यान मार्न उद्योग गरेको भनी पुनरावेदक प्र. सूर्यबहादुर मानन्धरलाई सजाय गरेको शुरूको सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले फैसला गरेको मिलेन । अ.बं.२०२ नं. र सर्वोच्च अदालत नियमावली बमोजिम छलफल निमित्त सरकारी अधिवक्ता खटाई पठाई दिनु भनी महान्यायाधीवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।
१४. प्रतिवादी पुनरावेदक थुनुवा सूर्यबहादुर मानन्धरलाई बेञ्चसमक्ष उपस्थित गराई निजतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगानाको र उक्त आदेशानुसार उपस्थित गराइएका विद्वान का.मु. सरकारी अधिवक्ता श्री शोभाकर उपाध्यायको बहससमेत सुनी बुझ्दा प्रस्तुत मुद्दामा शुरू काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट भएको इन्साफ मनासिव या गल्ती के रहेछ निर्णय दिनुपरेको छ ।
१५. यसमा प्रतिवादी सूर्यबहादुर मानन्धरले ज्यान मार्ने उद्देश्यले रक्सी वा चियामा विष हालेको भन्ने कुराको प्रत्यक्ष प्रमाण मिसिलबाट देखिन आउँदैन । निज सूर्यबहादुरले प्रहरी हिरासतमा गरेको कागजमा रक्सी र चियामा मुसा मार्ने औषधी हालेको भनी बयान गरेको र वारदातको दिन निज बौद्ध स्थित सर्केनी श्रेष्ठको पसल माथि एक्लै गएको र त्यसपछि सो रक्सी खाने सबैले वमन गरेको तथा एकजना सार्की खड्गीको मृत्यु भएकोबाट निजले ज्यान मार्ने उद्देश्यले पकाई राखेको चिया र खुला बिर्को भएको रक्सीमा विष हालेको हो कि भन्ने शंकासम्म देखिन आउँछ । तर रक्सीमा विष मिसिएको थियो वा थिएन, रक्सी खाने व्यक्तिहरूलाई वमन के कुराले भएको हो भन्ने यकिन गर्न रक्सी वा वमनको राम्रो जाँच भएको भन्ने कुरा प्रस्तुत मिसिल कागजबाट समेत पाइँदैन । मर्ने सार्की खड्गीको पेटबाट निस्केको पदार्थको जाँच भएकोमा सो जाँच पनि वारदातको मितिभन्दा करिब ६ महिनापछि मात्र भएको र त्यसको प्रतिवेदनमा पनि विष फेला नपरेको भन्ने उल्लेख भएको छ । यस्तो स्थितिमा सिर्फ शंकाको भरमा (अभियुक्त) प्र. सूर्यबहादुरलाई कसूरदार ठहराई सजाय दिन उपयुक्त नहुने र फौज्दारी न्यायको सिद्धान्त अनुसार शंकाको लाभ अभियुक्तले पाउनुपर्ने हुनालेसमेत उपरोक्त कारणहरूबाट शुरू काठमाडौं जिल्लाअदालतले निज सूर्यबहादुरले केशवलाल श्रेष्ठलाई ज्यान मार्ने उद्योग गरेको ठहराएको फैसलालाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट सदर ठहराएको उक्त दुवै तहको इन्साफ मनासिव देखिएन । अतः प्रतिवादी सूर्यबहादुर मानन्धरलाई सफाई दिने ठहर्छ । तपसील बमोजिम गरी नियम बमोजिम मिसिल बुझाइदिनु ।
तपसील
प्रतिवादी सूर्यबहादुर मानन्धरको माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजले सफाई पाउने ठहरेकोले यस मुद्दा बाहेक अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए तुरून्त कारागारबाट मुक्त गरी दिनु भनी सम्बन्धित कारागार कार्यालयलाई पत्र लेखी पठाउनु ..................१
प्रतिवादी सूर्यबहादुर मानन्धरको शुरू काठमाडौं जिल्ला अदालतका मिति २०३१।५।३१।२ का फैसलाले ज्यानसम्बन्धीको १५ नं. अनुसार कैद वर्ष १० गर्ने गरेकोमा शुरू इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चका ०३१।१०।२।४ का फैसला र मिति २०३१।१०।२१।२ का लगत बमोजिम दशौंद थप कैद वर्ष १ समेत जम्मा कैद वर्ष ११ को लगत कायम राख्न पर्दैन । निजले सफाई पाउने ठहरेकोले उक्त कैदको लगत व्यहोरा जनाई कट्टा गरी दिनु भनी का.जि.अ.त.म. लगत दिनु.......................२
शुरू मिसिल र म.क्षेत्रीय अदालतमा खडा भएको मिसिल समेत मध्यमाञ्चल क्षेत्रीय अदालतमा बुझाई दिनु...........३
उक्त रायमा म सहमत छु ।
न्या.विश्वनाथ उपाध्याय
इति सम्वत् २०३२ साल मार्ग १५ गते रोज २ शुभम् ।