शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४८१४ - अंश चलन

भाग: ३५ साल: २०५० महिना: फागुन अंक: ११

निर्णय नं. ४८१४     ने.का.प. २०५० (ग)                अङ्क ११

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायधीश श्री उदयराज उपाध्याय

सम्वत २०४७ सालको दे.पु.इ.नं. ६४

फैसला मिति: २०५०।८।१०।५

पुनरावेदक/वादी: काठमाडौं जिल्ला काठमाडौं न.पा. वार्ड नं. ११ त्रिपुरेश्वर बस्ने सरस्वती खत्री ।

विरुद्ध

विपक्षी/प्रतिवादीहरु: काठमाडौं जिल्ला न.पा. वडानं. ११ त्रिपुरेश्वर बस्ने शिव प्रसाद खत्री र निजको          श्रीमती मिना के.सी. मरी मुद्दा सकार गर्ने ऐ.ऐ. बस्ने निजका छोरा श्रीराम के.सी. समेत।

मुद्दा : अंश चलन ।

(१)    वादीले आफ्नो अंश हक लिई नसकेको अवस्थामा आफ्नो पतिको अंश जिम्मा लिने व्यक्ति मरि मुद्दा सकार गर्ने प्रतिवादीहरुसँग आफ्नो पतिको अंश पाउन सक्ने ।

(प्र.नं. ९)

पुनरावेदक, वादी तर्फबाट: विद्वान अधिवक्ता श्री रेवन्त बहादुर कुँवर

विपक्षी प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ

            : विद्वान अधिवक्ता श्री वसन्त राम भण्डारी ।

फैसला

न्या. ओमभक्त श्रेष्ठ

१.     सर्वोच्च अदालतबाट भएको फैसला एकपटक दोहोर्‍याई पाउने हुकुम प्रमाङ्गी वक्स गरी पाउँ भनी सरस्वती खत्रीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्रमा त्यस अदालतको संयुक्त इजलासबाट २०४४।९।१२ गतेमा निर्णय भएको यसमा लेखिएको अंश मुद्दाको मिसिल झिकाई पूर्ण इजलासबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमाङ्गी वक्स भई आएको निवेदक सरस्वती खत्रीको निवेदन वेञ्च समक्ष पेश हुन आएको प्रस्तुत अंश मुद्दाको संक्षिप्त विवरण एवम् निर्णय यस प्रकार छः

२.    ससुरा कृष्णलालका २ वटी श्रीमतीहरु भएकोमा जेठी श्रीमती (सासु) तर्फका जेठा छोरा शम्भु लाल, कान्छी श्रीमती (सासू) तर्फका हरि प्रसाद, मेरो लोग्ने नारायण प्रसाद, राम नारायण, शिव नारायण समेत भएकोमा देवर शम्भूलाल र पति नारायण प्रसाद पर्लोक भैसकेको हुँदा पति नारायण प्रसादको विर्यबाट छोरा १ छोरी २ जायजन्म भै खान लाउन र अंश समेत विपक्षी प्रतिवादीहरुले नदिएकोले २०२०।६।५ गतेदेखि मानी छुट्टिएको मिति कायम गरी प्रतिवादीहरुबाट तायदाती लिई मेरो लोग्नेको १ भाग अंश छुट्याई पाउँ भन्ने वादीको फिराद पत्र ।

३.    वादी नारायण प्रसाद, प्रतिवादी बाल कुमारी, हरि प्रसाद समेतका व्यक्तिसँग लोग्न सम्भूलाल छँदै बाल कुमारीले हरि प्रसादलाई बारेश बनाई गरेको अंश मुद्दा बाटै १९९८।१२।१५ गते मानो छुट्टिएको ठहर्‍याई मूल धन रु. ८,८३० विगो पर्न सम्पत्तिको तायदाती लिई सो तायदाती बमोजिम अंश पाउने ठहर्‍याई मध्यमाञ्चल उच्च अदालतबाट फैसला भएकोमा अंश वण्डा छुट्याउन काम बालकुमारी हरि प्रसाद, समेतले मेरो लोग्ने छँद अंशवण्डा नगरी बसेको र वण्डा नहुँदै कृष्ण प्रसाद र शम्भू लालको पर्लोक भएको हुँदा अब अंश गर्नु पर्ने म रुद्रेश्वरी १, बाल कुमारी १, हरि प्रसाद १, शिव प्रसाद १, राम नारायण १, र मर्ने नारायणकी श्रीमती सरस्वती समेत ६ अंशियार छन् भन्ने शम्भूलालको श्रीमती रुद्रेश्वरीको प्रतिउत्तर पत्र ।

४.    बेनीभोलेन्ट च्यारिटेवल सोसाइटी गोश्वार त्रिपुरेश्वर चन्द्रघाटको २०२१।११।४ को पत्रमा सरस्वतीले छोरा छोरी समेतले पूर्णश्वर पाकशालामा भात खाई रहेको भन्ने उल्लेख भएको र विपक्षी हाम्रो घरमा रही बुहारी र भाउजु नाता लागेका कसैले भन्न सकेको नहुँदा बेसरोकार व्यक्तिको उजुरी खारेज गरी पाउँ भन्ने बाल कुमारी समेत जना ४ को प्रतिउत्तरपत्र ।

५.    यसमा वादी नारायण प्रसादको स्वास्नी होइन भन्ने प्रतिवादीको जिकिर भएकोले सो सम्बन्धमा वादीको वयान गराई पेश गर्नु भन्ने ०२३।४।२५ मा भएको आदेश ।

६.    २०१३ साल देखि श्रीमान नारायण प्रसादसँग लोग्ने स्वास्नी भईसँग साथमा रही ५ जना केटाकेटी जन्म भएकोमा २ जनाको मृत्यु भई ३ जना आज सम्म जिवितै भएको र सो कुरा प्रतिवादीहरु समेतलाई थाहा छ, बुहारी र भाउजु नाताकी हकदार अंशियार हुँ । अंशियार होइन भनी अंश मार्न भनेमा सजाय गरी पाउँ । नारायण प्रसादले स्वास्नी भनी मलाई इन्द्रराज्य लक्ष्मी प्रशुति गृहमा भर्ना गरेको थियो अस्पतालको श्रेस्ता समेत बुझी पाउँ भन्ने समेत व्यहोराको वादी सरस्वतीले २०२३।८।१० गतेमा गरेको वयान ।

७.    माथि लेखिए बमोजिम निज वादीलाई हाम्रो दाजु भाई छोरा अंशियार नारायण प्रसादले स्वास्नी नगराएकोले निज वादी हाम्रो हकदार अंशियार होइन झुट्टा दावी गरेको वादीलाई नै सजाय गरी पाउँ भन्ने समेत व्यहोराको प्र.वा. समेत शिव प्रसादले २०२३।८।१०।६ मा गरेको वयान ।

८.    वादी मानु छुट्टिएको मिति २०२१।१०।६ का अघिल्लो दिन २०२१।१०।६ गतेसम्मको अंश वण्डा गर्नु पर्ने चल अचल ऋण धन समेत वादी सरस्वती र प्र. रुद्रेश्वरी बाहेक अरु प्रतिवादीबाट फाँटवारी लिई पेश गर्नु भन्ने २०२४।६।५।५ मा भएको आदेश ।

९.    प्रसुती गृहको २०२२।९ र २१ को पत्रबाट वादी सरस्वती नारायण प्रसादकी श्रीमती देखिन आएको र प्र. रुद्रश्वरीका लोग्ने शम्भूलाल सँग यसै हरि प्रसाद समेतको अंश मुद्दा पर्दा वण्डा छुट्टिसकेको छैन भन्ने वाल कुमारीको लेखबाट देखिन आएकोले प्र. रुदे्रश्वरीले अंश दिनुपर्ने भन्न मिलेन । प्र. रुद्रेश्वरी बाहेक प्र. बाल कुमारी , हरिप्रसाद, राम नारायण, शिव प्रसाद समेतबाट सम्पूर्ण श्री सम्पत्तिबाट ५ खण्डको १ खण्ड अंश वादीले छुट्याई लिन पाउने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको २०२५।८।२३ गतेको फैसला ।

१०.    सो फैसला उपर प्रतिवादी बाल कुमारी समेतको चित्त नबुझी बागमती अञ्चल अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

११.    वाग्मती अञ्चल अदालतको अधिकार क्षेत्र भित्रको नदेखिएकोले श्री मध्यमान्चल क्षेत्रीय अदालतमा पठाई दिने भन्ने बागमती अञ्चल अदालतको २०३१।२।१ गतेको आदेश ।

१२.   वादीलाई रुदे्रश्वरी बाहेक हरि प्रसाद समेतका प्रतिवादीले अंश दिनुपर्ने सम्म गरेको शुरुको फैसला नमिलेको हुँदा छलफल निमित्त विपक्षी झिकाउने भन्ने मध्यमान्चल क्षेत्रीय अदालत सिंगल बेञ्चको ०२९।११।२५ गतेको आदेश ।

१३.   छलफल निमित्त प्र. रुदेश्वरीलाई झिकाई आएपछि पेश गर्न भन्ने म.क्षे.अ. डिभिजन बेञ्चको ०२९।२।२३ गतेको आदेश ।

१४.   वादी बाल कुमारी क्षेत्री प्रतिवादी शम्भू लालको अंश मुद्दामा मिति २०१७।२।२५।३ मा मध्यमाञ्चल उच्च अदालत समेतबाट सदर भएकोराजधानी काठमाडौं देवानी अदालत दोश्रो फाँटबाट ०१२।९।१।६ मा भएको फैसलाबाट फिरादीको लोग्ने नारायण प्रसाद खत्रीको अंश भाग प्रतिवादी मध्येकी रुदे्रश्वरीको पति शम्भुलाल जिम्मा रहेको देखिंदा अंश जिम्मा लिने शम्भुलाल र निजकी पत्नी रुद्रेश्वरी समेत मरी सकेको देखिंदा मिति ०१२।१।९।६ को रा.का.दे.अ. ढोका को फैसला बमोजिम पति नारायण प्रसाद खत्रीको अंश भागको सम्पत्ति वादी सरस्वती खत्रीले अंश भागको सम्पत्ति वादी सरस्वती खत्रीले जसको जिम्मामा रहन आएको छ फैसला बमोजिम छुट्याई लिनु पाउने ठहर्छ । सरस्वती खत्रीको, हरि प्रसाद खत्री उपर अंशमा दावी पुग्न सक्दैन । हरि प्रसाद खत्री समेतबाट अंश दिलाउने गरेको काठमाडौं जिल्ला अदालतको इन्साफ गल्त देखिंदा सो हदसम्म बदर भई अंश तर्फ केही उल्टी हुन्छ भन्ने श्री मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला ।

१५.   मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त नबुझी यस अदालतमा पुनरावेदक वादी सरस्वती खत्रीको पुनरावेदनको अनुमतिको निवेदन दर्ता भई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा अंश वण्डाको १ तथा २ नं. को त्रुटि देखिएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ५(ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत डिभिजन बेञ्चको ०४१।२।३ गतेको आदेश ।

१६.    प्रतिवादीहरुले रुदे्रश्वरी मरि हकदार भई सकार गरेको समेत देखिएबाट वादी सरस्वतीले प्रतिवादी समेतका अंशियार र हकदारबाट अघिको रा.का.दे.अ.बाट ०१२।९।१।६ को फैसला बमोजिम वण्डा छुट्याई माग्न कानून बमोजिम निवेदन दिएमा वण्डा छुट्टिने नै हुँदा रा.का.दे.अ. दोश्रो फाँट ०१२।१।९।६ को फैसला बमोजिम पति नारायण प्रसाद खत्रीको अंश भाग जतिमा वादी सरस्वतीको दावी पुग्ने हुँदा नारायण प्रसाद खत्रीको अंश भाग जसको जिम्मामा रहन आएको छ छुट्याई लिन पाउने भनी ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुने ठहर्छ भन्ने मिति २०४४।९।१२ मा सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको फैसला ।

१७.   सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०४४।९।१२ मा भएको फैसलामा कुन सम्पत्तिबाट अंश छुट्याई लिन पाउने हो सो स्पष्ट नखुलेको स.अ. संयुक्त इजलासको फैसला उपर एक पटक मुद्दा दोहोर्‍याई हेरी इन्साफ जाँच गरि दिनु भनी श्री सर्वोच्च अदालत पूर्ण इजलासको नाममा हुकुम प्रमाङ्ग वक्स पाउँ सरकार यो हुकुम जो निगाहा भन्ने व्यहोराको वादी सरस्वती खत्रीले निवेदन गरेकोमा, यसमा व्यहोरा साँचो भए त्यस अदालतको संयुक्त इजलासबाट ०४४।९।१२ मा निर्णय भएको यसमा लेखिएको अंश मुद्दाको मिसिल झिकाई पूर्ण इजलासबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु प्रमाङ्गी जनाई विन्तिपत्र वालालाई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने मिति २०४७।१।१३ गतेको आदेश ।

१८.   यसमा शुरु जिल्ला अदालतबाट रुदे्रश्वरीबाट तायदाती लिएको देखिंदा हाल निज मरी निजको मुद्दा प्र. हरि प्रसाद खत्री र प्र. शिव नारायण तर्फबाट मुद्दा सकार भएकोले निज मुद्दा सकार गरी लिने तर्फबाट रुदे्रश्वरी जिम्ममा रहेको सम्पत्ति हाल कि.नं. र दर्तावालाको नाम समेत स्पष्ट खुलाउन लगाई मुलुकी ऐन अंश वण्डाको महलको २०, २१ र २२ नं. बमोजिम तायदाती लिई पेश गर्नु भन्ने मिति २०५०।१।३१ मा यस अदालतको पूर्ण इजलासबाट भएको थियो ।

१९.    प्रतिवादी केशव प्रसाद के.सी. ले मिति २०५०।२।२५ मा, प्रतिवादी वारेश श्रीराम के.सी. ले मिति २०५०।३।६ गतेमा समेत पेश गरेको तायदाती फाँटवारी ।

२०.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी सरस्वती खत्रीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रेवन्त बहादुर कुँवरले सर्वोच्च अदालत संयुक्त इजलासबाट वादी सरस्वतीले प्रतिवादीहरुबाट अघिको रा.का.दे.दो.फा. बाट ०१२।९।१ मा भएको फैसला बमोजिम अंश पाउने नै देखिन्छ भन्ने आधार लिएको छ । अंशवण्डाको १ नं. बमोजिम अंशवण्डा गर्दा जिय जियैको गर्नुपर्दछ भन्ने व्यवस्था छ, उक्त ०१२ सालको फैसला हुँदा ७ अंशियार थिए जुन फैसला बमोजिम वण्डा छुटिएको छैन वण्डा नछुट्टीएको सम्म अंश वण्डा भएको मान्न मिल्दैन । हाल ४ अंशियार भएकोले ४ भागको १ भाग पाउन पर्दछ भन्ने समेत र विपक्षी प्रतिवादी शिव प्रसादको मु.स. गर्ने मीना के.सी समेतको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठले र विपक्षी प्रतिवादी हरि प्रसादको मु.सु. गर्ने विष्णु प्रसादको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वसन्त राम भण्डारीले सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको फैसलामा त्रुटि छैन भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

२१.   आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार र गर्दा यसमा निवेदिका वादी सरस्वती खत्री कृष्णलालको छोरा नारायण प्रसादकी पत्नी भएको नभएकोमा विवाद परेको निज सरस्वती खत्री नारायण प्रसादको श्रीमती हुन, नारायण प्रसादबाट ३ वटा सन्तानको जायजन्म भइसकेको छ भनी वादीको साक्षी भवनाथले किटान साथ वकपत्र गरी दिएको र परोपकार श्री ५ इन्द्रराज्यलक्ष्मी देवी प्रसुती गृहको ०२२।९।२१ को पत्रबाट समेत उक्त कुरा समर्थित भएको भनी निजलाई नारायण प्रसादको श्रीमती कायम गरी यस अदालत संयुक्त इजलास समेतबाट फैसला भएको छ र सो सम्बन्धमा प्रतिवादीहरुले बाधा विरोध नजनाएबाट त्यसतर्फ अरु विचार गर्नु परेन ।

२२.   अब सरस्वती खत्रीले नारायण प्रसादको भागअंश पाउने नपाउने तर्फ हेर्दा निज नारायण प्रसादको श्रीमती भएकोले नारायण प्रसाद परलोक भएपछि निजको अंश हक नपाउने भन्ने कुरा भएन । अब कति अंश निजले पाउन पर्ने हो भन्ने सम्बन्धमा हेर्दा वादी सरस्वतीले २०२० साल आश्विन ५ गतेलाई मानो छुट्टिएको मिति कायम गरीप्रतिपादीहरुबाट ५ भागको १ भागअंश पाउँ भन्ने दावी लिएको पाइन्छ । मिसिल संलग्न वादी बाल कुमारी प्र. शम्भुलाल भएको २०१७।२।२५।३ मा मध्यमाञ्चल उच्च अदालतबाट सदर भएको राजधानी काठमाडौं देवानी अदालत दोश्रो फाँटबाट ०१२।९।१।६ मा भएको फैसलाबाट वादीको लोग्ने नारायण प्रसादको अंश भाग रुदे्रश्वरीको पति शम्भुलाल जिम्मा रहेको देखिन्छ । शम्भूलाल जिम्मा रहेको उक्त सम्पत्ति छुट्याई लिएको सम्म देखिदैंन । शम्भूलालको श्रीमती रुदे्रश्वरीको पनि हाल मृत्यु भई सकेको देखिन्छ । रुदे्रश्वरीको मुद्दा सकार गर्ने प्रतिवादीहरुले समेत वादीले अंश पाई सकेको भन्न सकेको पाइदैन । यसरी वादीले आफ्नो अंश हक लिई नसकेको अवस्थामा आफ्नो पतिको अंश जिम्मा लिने व्यक्ति मरि मुद्दा सकार गर्ने प्रतिवादीहरुसँग आफ्नो पतिको अंश पाउन सक्ने नै देखियो । यस अदालतबाट मिति २०५० साल बैशाख ३१ गते शुरु जिल्ला अदालतबाट रुदे्रश्वरीबाट तायदाती लिएको नदेखिंदा हाल निज मरी निजको मुद्दा प्र. हरि प्रसाद खत्री र प्र. शिव नारायण तर्फबाट सकार भएकोले रुदे्रश्वरी जिम्मा रहेको सम्पत्ति हाल कि.नं. र दर्तावालाको नाम समेत स्पष्ट खुलाउन लगाई तायदाती लिई पेश गर्ने आदेश भए अनुसार तायदाती पेश हुन आएको देखिएकोले उक्त पेश भएको तायदातीमा उल्लेख भएको वादी सरस्वती खत्रीले रुदे्रश्वरीले जिम्मा लिए बमोजिमको ७ भागको १ भाग अंश पाउने ठहर्छ । वादी सरस्वती खत्रीले सो बमोजिम अंश पाउने ठहर्‍याएको सम्म म.क्षे.अ. को फैसला सदर गरेको यस अदालत संयुक्त इजलासको इन्साफ मनासिव ठहर्छ । सम्पत्तिको तायदाती लिई के कति श्री सम्पत्तिबाट को कससँग अंश पाउने हो नखुलाएको हदसम्म उक्त इन्साफ उल्टी हुन्छ । तपसिलका कुरामा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

वादी सरस्वती खत्री के माथि इन्साफ खण्डमा लेखिए बमोजिम मिति २०५०।२।२५ मा हरि प्रसादको मु.स. गर्ने पे्रमकुमारी समेतले पेश गरेको तायदाती फाँटवारी बमोजिमको सम्पत्तिबाट ७ भागको १ भाग अंश पाउने ठहरेकोले निजको द.स.का. ४६ नं. बमोजिमका म्याद भित्र दरखास्त परे कानून बमोजिम लाग्ने दस्तुर लिई अंशवण्डा छुट्याई दिनु भनी का.जि.अ. मा लेखी पठाई दिने      –––––––         

मालपोत कार्यालय काठमाडौंमा पूर्व ५३८।४४८ मा कृष्ण लाल झाका नाउँमा साविक दर्ता भएको हाल सर्भे नापी हुँदा हरि प्रसाद खत्री, शिव प्रसाद खत्री, राम नारायण खत्री१ र सरस्वती१ समेत ५ जनाका नाउँमा नाप जाँच भै झगडा जनिएको का.जि.का.न.पं. वडा नं. ११ कित्ता नं. ४३४ क्षेत्रफल ३१२३ जग्गा र सो जग्गामा बनेको २ तल्ले ईटाको गारो जस्ताको छाना भएको पुरानो घर र सोही जग्गामा बनेको श्रीकृष्ण भगवानको मन्दिर समेतका घर जग्गाको मुल्य रु. ४,००० जाने घर जग्गाको ७ भागको १ भाग रुदे्रश्वरी जिम्माको घर जग्गा कित्ता      ––––––––       

      ऐ. का नाउँमा ऐ मा दर्ता भएको झगडा जनिएको विभिन्न व्यक्तिहरुले घर बनाई बसोबास गरी आएको कूत सम्म उठाई पूजा आजा उठाउनुपर्ने ७ भागको एक भाग रुदे्रश्वरी जिम्माको तपसिलमा लेखिएका कित्ता नम्बरका जग्गाको जम्मा रु. २,००० जाने जग्गाहरु, कान्छा श्रेष्ठ मोही भएको का.जि.का.न.पा. वडा नं. ११ कित्ता नं. ४४३ को क्षेत्रफल ०२ को जग्गा कित्ता १ को ७ भागका १ भाग रुदे्रश्वरी जिम्मा –––––––––      

हरिमाया श्रेष्ठ मोही भएको ऐ.ऐ. कित्ता नं. ४४४ को क्षेत्रफल ०१ को जग्गा कित्ता १ को ७ भागको १ भाग ऐ.ऐ.    –––––––––  

रत्न बहादुर राजकर्णिकार मोही भएको ऐ. ऐ. कित्ता नं. ४४५ को क्षेत्रफल ०१ को जग्गा कित्ता १ को ७ भाग १ भाग ऐ.ऐ. –––––––––      

बालकृष्ण मोही भएको ऐ.ऐ. कित्ता नं. ९१३ को क्षेत्रफल ०३ को जग्गा कित्ता १ को ७ भागको ऐ. ऐ. ––––––––       

गोविन्द मोहन र कृष्ण प्रधान मोही भएको ऐ.ऐ. किस्ता नं. ९१२ को क्षेत्रफल ०२ को जग्गा कित्ता १ को ७ भागको ऐ.ऐ. ––––––––          

गंगा प्रसाद श्रेष्ठ मोही भएको ऐ. ऐ. कित्ता नं. ४४७ को क्षेत्रफल ०१ को कित्ता १ को ७ भागको १ भाग ऐ ऐ –––––––– 

अमरनाथ श्रेष्ठ मोही भएको ऐ.ऐ. कित्ता नं. ४४८ को क्षेत्रफल ०, १ को ७ भागको १ भाग ऐ ऐ –––––––     

चन्द्र बहादुर श्रेष्ठ मोही भएको ऐ. ऐ. कित्ता नं. ४४९ को क्षेत्रफल ०३ को कित्ता १ को ७ भागको १ भाग ऐ ऐ –––––––––

मोती श्रेष्ठ मोही भएको ऐ.ऐ. कित्ता नं. ४५० को क्षेत्रफल ०३ को कित्ता १ को ७ भागको १ भाग ऐ. ऐ. –––––––––     

दुर्गा प्रसाद मोही भएको ऐ.ऐ. कित्ता नं. ४५१ को क्षेत्रफल ०१ को कित्ता १ को ७ भागको १ भाग ऐ ऐ ––––––––       

शिवलाल श्रेष्ठ मोही भएको ऐ. ऐ. कित्ता नं. ४५२ को क्षेत्रफल ०२ को कित्ता को ७ भागको १ भाग ऐ. ऐ. –––––       

गोविन्द लाल श्रेष्ठ मोही भएको ऐ. ऐ. कित्ता नं. ४५१ को क्षेत्रफल ०१ को कित्ता ७ भागको १ भाग ऐ. ऐ. –––––       

आशा लाल श्रेष्ठ मोही भएको ऐ. ऐ. कित्ता नं. ४५४ को क्षेत्रफल ०० को कित्ता १ को ७ भागको १ भाग ऐ ऐ –––––––––

हिरालाल श्रेष्ठ मोही भएको ऐ ऐ कित्ता नं. ४५५ को क्षेत्रफल ०२ को कित्ता १ को ७ भागको २ भाग ऐ ऐ ––––––––– 

कान्छी नानी मोही भएको ऐ ऐ कित्ता नं. ४५६ को क्षेत्रफल ०० को कित्ता १ को ७ भागको १ भाग ऐ ऐ –––––––     

भवानी शंकर श्रेष्ठ मोही भएको ऐ ऐ कित्ता नं. ४५७ को क्षेत्रफल ०० को कित्ता १ को ७ भागको १ भाग ऐ ऐ –––––––––           

मिसिल नियम बमोजिम गरी बुझाइ दिनु ।

उक्त रायमा हामीहरुको सहमती छ ।

न्या. केदारनाथ उपाध्याय

न्या. उदयराज उपाध्याय

इति सम्वत २०५० साल मार्ग १० गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु