शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६५२ - अपुताली

भाग: ४१ साल: २०५६ महिना: बैशाख अंक:

निर्णय नं. ६६५२                  ने.का.. २०५६             अङ्क १

पूर्ण इजलास

माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल

सम्वत २०४९ सालको दे.पु..नं. .... ६१

आदेश मितिः २०५५।४।२२।६

मुद्दाः अपुताली ।

पुनरावेदक/प्रतिवादीः सर्लाही जिल्ला भेल्हि गा.पं वडा नं. ८ को पञ्चायत पुनर्गठनपछि कायम भएको ब्रम्हपुरी गा.पं. वडा नं. ४ को हाल पुनः कायम भएको  भेल्हि गा.पं वडा नं. १ बस्ने रामा कुमारको छोरा सुरज कुमार बाहुन ।

विरुद्ध

विपक्षी/वादीः महोत्तरी जिल्ला साविक धवौली गा.पं वडा नं. ९ को हाल जलेश्‍वर नं.. वडा नं. ११बस्ने रकटु कुमारको छोरा योगेन्द्रकुमार बाहुन  समेत ४ जना ।

 

§  मृतक राधिकादेवीकी एक मात्र छोरी जनारसी देवी भई निज जनारसी देवीको पनि विवाह भई सकेको र राधिकादेवीको मृत्यु हुनु अगाडी निजसँग एकासगोलमा रहे बसेका अरु हकवाला समेत नदेखिएको अवस्थामा तत्कालीन अपुतालीको २ नं. अनुसार विवादित जग्गाको आधारमा राधिकादेवीकी छोरी प्रतिवादी जनारसीको हक लाग्ने भई आधासम्ममा मात्र वादीहरुको हक पुग्ने देखिन आएबाट पुरै जग्गा प्रतिवादीको हक भोगको भनी वादी दावी नपुग्ने ठहर गरेको शुरु सदर गरेको तत्कालीन जनकपुर अंचल अदालतको फैसला उल्टि गरी विवादीत पुरै जग्गामा वादी दावी बमोजिम हक कायम हुने समेत ठहर्‍याएको तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको फैसला सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०४६।२।१।१ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुन्छ । वादी दावीको जग्गामा आधा सम्ममा दावी बमोजिम वादीहरुको हक कायम भै निजहरुका नाउँमा दर्ता समेत हुने ।

(प्र.नं. १९)

पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री महादेवप्रसाद यादव र श्री हरिहर दाहाल

विपक्षी तर्फबाटः विद्वान वरिष्‍ठ अधिवक्ता श्री कृष्‍णप्रसाद भण्डारी, विद्वान वरिष्‍ठ अधिवक्ता श्री श्‍यामप्रसाद खरेल

अलम्बित नजिरःX

फैसलाः

न्या. इन्द्रराज पाण्डेः यस अदालत संयुक्त इजलासबाट मिति २०४६।२।१ मा भएको फैसला उपर प्रतिवादीले श्री ५ महाराधाधिराजका हजुरमा चढाएको बिन्तिपत्र यस अदालतमा प्राप्‍त भै संयुक्त इजलासबाट मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त व्यहोरा एवं ठहर यसप्रकार छः

.     मूल पुरुष रकुटुका जेठी श्रीमतीपाटो र कान्छी ननु बाहुनी भएको स्वर्गीय साहिलो पटीका ४ छोरा जेठो राजदेव, माहिला इन्द्र जोगेन्द्र र कान्छो महेन्द्र भएका जेठा राजदेव मरी निजकी स्वास्नी सबुजिया जीवित रहेकी स्व. कान्छी ननु बाहुनीको जेठा छोरा जगदिश कान्छा कुलदिप भएकोमा कुलदिप निसन्तान भई दुवै दम्पत्ति मरी सकेको पहिला जगदिश र पछि निजकी श्रीमती राधिका पनि मरी सकी निजहरुको एकमात्र छोरी जनारसीको भारततर्फ विवाह भएको निज राधिकाको अपुताली खाने हामी वादीहरु बाहेक अरु कोही नभएको र वर्तमान अपुतालीको महलको १।२ नं. बमोजिम मर्ने राधिकाको काजकृया हामीले नै गरी सकेका हुँदा निजको नाममा रहेको महोत्तरी जिल्ला धवौलीको जम्मा जग्गा ०--९ हामीले आफ्नो नाममा गराई सकेको र अर्को जग्गा विष्‍णु पुर गा.पं. को जम्मा जग्गा विगाहा २-१९--  समेत हाम्रो नाउँमा दर्ता हुनु पर्नेमा भूमि प्रशासन कार्यालय सर्लाहीले प्रत्येकवादीको हक कायम गरी दिएकोमा जनकपुर अंचलाधीश कार्यालयबाट भु.प्र. कार्यालयको फैसला बदर गरी हक कायम गराउन निर्णय भएकोले हामीले पाउने अपुतालीको जग्गामा हाम्रो हक कायम गरी दर्ता समेत गरी पाउँ भन्‍ने समेत व्यहोराको योगेन्द्रकुमार बाहुन समेत जना ४ को मिति २०३४।५।२६ को फिराद पत्र ।

.     अपुतालीको २ नं. ले मर्नेको लोग्ने स्वास्नी वा छोराको छोरा नभएकोमा छोरीले अपुताली पाउँछ भन्ने भएकाले मेरी आमाको म छोरी जनारसी मात्र एकजना हुनाले राधिका देवीको अपुतालीमा हक लाग्ने म बाहेक कोही नहुँदा विपक्षीको फिराद खारेज गरी पाउँ भन्‍ने प्र. जनारसी बाहुनिको मिति २०३४।६।२६ को प्रतिउत्तरपत्र ।

.     वादी दावीको जग्गा सुरज कुमारका नाउँमा बकसपत्र भई सकेको भन्ने कुरा यी वादीहरुलाई थाहा हुँदाहुँदै अ.बं. ७२ नं. को प्रतिकूल नालेस दिएको देखिन्छ । वादी दावी पुग्न सक्तैन भन्ने समेत व्यहोराको सर्लाही जिल्ला अदालतको मिति २०३९।९।४ को फैसला ।

.     विवाद कै अवधिमा हक हस्तान्तरण गरेता पनि अनाधिकार व्यवहारलाई नालेस नदिएको भन्ने समेतको आधारमा शुरुले गरेको फैसला अन्यायपूर्ण हुँदा बदर गरीपाउँ भनी वादीहरुले तत्कालित जनकपुर अंचल अदालतमा दिएको पुनरावेदन पत्र ।

.     अपुतालीको २ नं. ले हकवालाले अपुताली पाउने व्यवस्था भएको हुँदा शुरुले गरेको इन्साफ मनासिव ठहर्छ भन्ने तत्कालिन जनकपुर अंचल अदालतको मिति २०४०।५।६।२ को फैसला ।

.     भु.प्र.का. को निर्णय अनुसार सुरज कुमारले पाएको बकसपत्र अंचलाधीश कार्यालयको निर्णय अनुसरा बदर भै सकेपछि बकसपत्र पाउनेलाई विपक्षी बनाउनु पर्ने बाध्यता रहदैन । राधिकाको अपुताली हामीले पाउने भएमा अनाधिकृत तवरले दिएको बकसपत्र स्वतः बदर हुने हुँदा जनकपुर अंचल अदालतको फैसला मिलेको छैन । पुनरावेदनको अनुमति पाउँ भनी वादीले दिएको निवेदनमा अनुमती पाई तत्कालीन म.क्षे.. मा दर्ता भएको वादीको पुनरावेदन पत्र ।

.     वादी दावी अनुसार यस मुद्दामा वादीको हक कायम हुने भएमा सुरज कुमारलाई असर पर्ने हुँदा अ.बं. १३९ नं. अनुसार सुरज कुमारलाई झिकाउने भन्ने तत्कालिन म.क्षे.. को आदेश ।

.     राधिका देवी २०३१ साल चैत्रमा मरेको भन्ने कुरामा विवाद छैन तत्कालीन मुलुकी ऐन, अपुतालीको २ नं. अपुताली पर्दा मर्नेको लोग्ने स्वास्नी छोराको छोरा बासँग बसेको अरु हकवाला भएसम्म छोरीले अपुताली पाउदैन भन्ने व्यवस्था रहेको राधिकादेवी मरी अपुताली परेको सम्पत्तिमा तत्कालीन बहाल रहेको अपुतालीको २ नं. ले वादी हकवालाहरु हुँदाहुँदै प्रतिवादी जनारसीको हक कायम हुन सक्ने अवस्था देखिँदैन । त्यस्तो हक नभएको व्यक्तिले गरी दिएको बकसपत्रबाट यो मुद्दाको औचित्यमा असर पर्ने देखिएन । अतः राधिका देवी मरी अपुताली परेको सम्पत्तिमा वादीको हक कायम गरी दिनु पर्नेमा वादी दावी नपुग्ने भनी ठहर्‍याएको शुरु फैसलालाई सदर गरेको जनकपुर अंचल अदालतको फैसला गल्ती देखिँदा बदर भई उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको तत्कालीन म.क्षे.. को मिति २०४४।१।३ को फैसला ।

१०.    हक पुग्ने व्यक्ति जनारसीले म सुरजकुमारलाई गरि दिएको बकसपत्रलाई म.क्षे.. ले अन्यथा भन्न पाउने होइन । नत सो विषय मुद्दाको विषयवस्तु हुन सक्ने हो । विपक्षी वादीले मलाई पक्ष बनाई फिराद गरेको छैन । यसरी वादिले नै दावी लिन नसकेको कुरामा प्रवेश गरी म.क्षे.. बाट भएको निर्णय वादी दावी भन्दा बाह्‍य र प्रतिस्थापित सिद्धान्तको विपरित हुँदा म.क्षे.. को फैसला उपर पुनरावेदन पर्ने अनुमती पाउँ भनी यस अदालतमा दिएको निवेदनमा अनुमती प्राप्‍त गरी दर्ता भएको वादीको पुनरावेदन पत्र ।

११.    राधिका देवी मरी अपुताली परेको जग्गामा वादीहरुको हक भएको देखिन आएकोले वादी दावी बमोजिमको जग्गामा वादीहरुको हक कायम भई निजहरुका नाउँमा दर्ता समेत हुने ठहर्‍याएको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला मिलेकै देखिँदा सो इन्साफ मुनासिव ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४६।२।१।१ को फैसला ।

१२.    यस अदालत संयुक्त इजलासबाट मिति २०४६।२।१ मा भएको फैसला त्रुटीपूर्ण हुँदा पूर्ण इजलासबाट मुद्दा दोहोर्‍याई इन्साफ जाँच गरिदिनु भन्ने व्यहोराको हुकुम प्रमांगी बकस पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको तर्फबाट श्री ५ महाराधाधिराजका जुनाफमा चढाएको बिन्तिपत्र ।

१३.    उक्त बिन्तिपत्र यस अदालतमा प्राप्‍त हुन आई अपुताली हक हुने जनारसीबाट बकसपत्र पाई सुरज कुमारको हक भएको जग्गामा वादीको हक कायम गर्ने गरेको मध्मान्चल क्षेत्रीय अदालतको फैसला सदर गर्ने गरेको सर्वोच्च अदालत संयुक्त इजलासको फैसला नमिली फरक पर्ने देखिएकोले दोहोर्‍याई हेर्नु पर्ने देखियो भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट २०४९।५।३० मा भएको आदेश ।

१४.    नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता द्वय श्री महादेवप्रसाद यादव र श्री हरिहर दाहालले फिरादीले भूमि प्रशासन कार्यालयमा दिएको उजुरी निवेदनमा आफुहरु राधिकासँग छुट्टी भिन्न रहेको भनेको हुँदा अदालतमा दिएको फिरादमा एका सगोलको भनी भन्न मिल्दैन । राधिकाको नाममा रहेको स्त्री अंश धन अन्तर्गतको जग्गामा निजकी छोरी जनारसी बाहेक अरु कसैको अंश हक लाग्ने होइन । जनारसीले मेरो पक्ष सुरज कुमारलाई जग्गा पारित गरिदिए पछि विपक्षी वादिले सुरजकुमारलाई समेत प्रतिवादी बनाई फिराद दिनु पर्नेमा प्रतिवादी बनाउनु सकेको छैन । मेरो पक्षले पाएको बकसपत्र लिखतलाई बदर गर्न विपक्षीले दिएको फिराद दरपिठ भै सकेको स्थिति छ । सर्वोच्च अदालतबाट भएको रिट आदेशबाट समेत मेरो पक्षको लिखत विवाद रहित रुपमा कायम रहेको छ । मध्यमान्चल क्षेत्रीय अदातलको फैसलालाई सदर ठहर्‍याएको संयुक्त इजलासको फैसला उल्टी गरी जनकपुर अंचल अदालतको फैसला सदर कायम गरी पाउँ भन्ने र प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान वरिष्‍ठ अधिवक्ता श्री कृष्‍णप्रसाद भण्डारीले बकसपत्रको नाताले विवादित जग्गामा सुरजकुमारले हक स्थापित गराउन सकेका छैनन् । जनारसी मरेपछि बसकपत्र पाउने सुरजकुमारले अ.बं. ६२ नं. बमोजिम मुद्दा सकार गरेका छैनन भन्ने र प्रत्यर्थी वादीतर्फकै अर्का विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले मुद्दा पर्दापर्दैका स्थितिमा विपक्षीको हक श्रृजित हुन सक्ने होइन । अपुतालीबाट प्राप्‍त गरेको सम्पत्ति स्त्री अंश धनको ५ नं. भित्र पर्दैन । मध्यमान्चल क्षेत्रीय अदालतको फैसलालाई सदर ठहर्‍याएको संयुक्त इजलासको फैसला सदर गरी पाउँ भनी गर्नु भएको बहस समेत सुनियो ।

१५.   आज निर्णय सुनाउन पेश भएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरी उपयुक्त बहस जिकिर समेतलाई मनन गरी हेर्दा राधिका देवीको हामी बाहेक अरु अपुताली खान पाउने हकदार नभएको हुँदा हामीले आफ्नो नाममा दर्ता गराउन बाँकी रहेको जि. सर्लाही विष्णुपुर पंचायतको जग्गामा अपुताली हक कायम गरी पाउँ भन्ने फिराद दावी भएकोमा वादी दावी बमोजिमको जग्गामा वादीहरुको हक कायम भई निजहरुको नाममा दर्ता समेत हुने ठहर्‍याएको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला सदर गरी यस अदालत संयुक्त इजलासबाट मिति ०४६।२।१ मा फैसला भएको देखिन्छ । उक्त फैसला उपर पुनरावेदक प्रतिवादीले इन्साफ जारी गरी पाउँ भनी श्री ५ महाराजाधिराजमा चढाएको बिन्तिपत्र यस अदालतमा प्राप्त हुन आई इन्साफ जाँचको निस्सा प्रदान भई प्रस्तुत मुद्दा यस इजलासमा पेश भएको देखिन आयो । सो सम्बन्धमा मिति २०४६।२।१ मा यस अदालतबाट भएको उक्त फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो।

        १६.    निर्णय तर्फ विचार गर्दा यस मुद्दामा प्रतिवादी जनारसी देवीकी आमा राधिका देवी बाहुनी वादी प्रतिवादी महाविर पाण्डे  भएको अपुताली मुद्दामा यस अदलातबाट मिति २०२६।११।२६ मा फैसला हुंदा भर्ने विगु पाण्डे सर्वसियाको छोरी वादी राधिका देवीले आफ्नो आमा बुवाको अपुताली पाउँ भन्न अपुतालीको २ नं. ले नमिल्ने हुनाले उक्त २ नं. बमोजिम आधा अपुताली वादीले पाउने र आधा अरु तीन पुस्ता भित्रमा हकदारले पाउने गरेको जनकपुर अंचल अदालतको इन्साफ मनासिव ठहर्छ भनी फैसला भएको देखिन्छ । यसै फैसला बमोजिम आधा जग्गा नामसारी गर्ने सम्बन्धमा कारबाही हुँदा भूमि प्रशासन कार्यालय सर्लाहीबाट मिति २०२८।११।२।२ र २०२८।१२।११।३ को आदेश अनुसार कि.नं. १७३, १७५,३२२,१०,२१०, २२६ र २२८ को जग्गाहरु राधिका देवीको नाममा नामसारी भएको देखिन आउँछ ।

        १७.   राधिका देवीको २०३१ साल चैत्र महिनामा मृत्यु भए पश्‍चात निजको नाममा रहेको जग्गा अपुताली हक कायम गरी पाउन भनी प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । राधिकाको मृत्युपछि निजको एक मात्र छोरी जनारसी देवी भई जनारसी देवीको विवाह भै सकेको र राधिका देवीको अपुताली खाने हामी बाहेक कोही नभएको भन्‍ने वादी जिकिर तर्फ विचार गर्दा मुलुकी ऐन अपुतालीको साविक व्यवस्था तर्फ हेर्नु पर्ने देखिन्छ । मुलुकी ऐन अपुतालीको महल साविकको २ नं. मा अपुताली पर्दा मर्नेको लोग्ने स्वास्नी छोरा छोराका छोरा वा सँग बसेका अरु हकवाला भए सम्म छोरीले अपुताली पाउदिन । त्यस्तो हकवाला नभए कन्या छोरीले पाउँछन् । सो छोरीको विवाह भयो वा पोइल गई भने त्यसले पाएको अपुतालीको आधा सो छोरीले र आधा तीन पुस्ता सम्मका अरु हकवाला भए निजहरुले र त्यस्तो हकवाला नभए विवाह भएकी वा पोइल गएकी अरु छोरीले पाउंछन । कन्या छोरी नभए आधा तिन पुस्ता सम्मका अरु हकवालाले र आधा विवाह भएकी वा पोइल गएकी छोरीले पाउछन् । कन्या छोरी वा अन्य तिन पुस्तासम्मका हकवाला नभए विवाह भएकी वा पोइल गएकी छोरीले मात्र पाउछन । कन्या छोरीले पाएको अपुतालीको अचलमा चार खण्डको तिन खण्डको तिन खण्डसम्म आफु खुशी गर्न पाउंछन भन्‍ने व्यवस्था रहेको देखिन आयो ।

        १८.    उक्त व्यवस्था २०३३।४।२८ मा मुलुकी ऐन छैठौँ संशोधन पश्‍चात परिवर्तन भएको पाइन्छ । यस्तो अवस्थामा मर्ने राधिकाकी एक मात्र छोरी जनारसी देवी भएको र निज जनारसी देवीको विवाह भै सकेको र राधिका देवी वादीहरुको संग साथमा बसेको हुँदा भन्‍ने आधारमा छोरीले अपुताली पाउन नसक्ने भनी वादी दावी बमोजिम जग्गामा वादीहरुको हक कायम गरी दर्ता समेत हुने ठहर्‍याएको म.क्षे.. को फैसलालाई संयुक्त इजलासबाट मनासिव ठहर गरेको देखिन्छ । तर वादी योगेन्द्र कुमार समेतले २०३१।१२।८ का दिन राधिका देवी स्वर्गे हुनु भई तिनको खती उपती व्यहोर्न सगोलको हकदार र पट्टीदार छोरा छोरी समेत कोही नभई हामी सबुजिया देयादनी र इन्द्र कुमार, महेन्द्र, योगेन्द्र, योगेन्द्र देवर नाता पर्ने हुँदा तीन पुस्ता भित्रको हामीहरु हुनाले विवादित जग्गा हामीहरुको नाममा नामसारी गरीपाउँ भनि मिति २०३२।३।१३ मा भूमि प्रशासन कार्यालयमा निवेदन दिएको देखिन्छ । यसरी यी वादिहरुले राधिका देवीको नाममा रहेको जग्गा आफ्ना नाउंमा दर्ता गराई पाउनका लागि भूमि प्रशासनमा दिएको निवेदनको व्यहोरामा राधिका देवीको सगोलमा बस्ने हकदार र पट्टीदार छोरा छोरी कोही नभएको भनि आफैँले उल्लेख गरी सकेपछि राधिका देवी वादिहरुसंग एकासगोलमा रहेबसेको भन्‍ने अवस्था देखिन आएन ।

१९.    तसर्थ मृतक राधिकादेवीकी एक मात्र छोरी जनारसी देवी भई निज जनारसी देवीको पनि विवाह भई सकेको र राधिकादेवीको मृत्यु हुनु अगाडी निजसँग एकासगोलमा रहे बसेका अरु हकवाला समेत नदेखिएको अवस्थामा तत्कालीन अपुतालीको २ नं. अनुसार विवादित जग्गाको आधारमा राधिकादेवीकी छोरी प्रतिवादी जनारसीको हक लाग्ने भई आधासम्ममा मात्र वादीहरुको हक पुग्ने देखिन आएबाट पुरै जग्गा प्रतिवादीको हक भोगको भनी वादी दावी नपुग्ने ठहर गरेको शुरु सदर गरेको तत्कालीन जनकपुर अंचल अदालतको फैसला उल्टि गरी विवादीत पुरै जग्गामा वादी दावी बमोजिम हक कायम हुने समेत ठहर्‍याएको तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको फैसला सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०४६।२।१।१ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुन्छ । वादी दावीको जग्गामा आधा सम्ममा दावी बमोजिम वादीहरुको हक कायम भै निजहरुका नाउँमा दर्ता समेत हुने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

तपसिल

पुनरावेदक प्रतिवादी के दावी मध्ये आधा जग्गामा मात्र माथि इन्साफ खण्डमा लेखिए बमोजिम यस अदालत संयुक्त इजलासको फैसला उल्टी भै वादीको हक कायम हुने ठहर भएकोले प्रतिवादीले पुनरावेदन गर्दा राखेको कोर्ट फि रु. १६।८० पैसाको आधा रु. ८।४० पैसा निज प्रतिवादी सुरज कुमारले फिर्ता पाउने हुँदा फिर्ता पाउ भनि ऐनका म्याद भित्र दरखास्त दिन आए  फिर्ता दिनु भनि शुरु सर्लाही जिल्ला अदालतमा लेखी पठाई दिनु...................

प्रत्यर्थी वादी योगेन्द्र कुमार बाहुन समेत के माथि इन्साफ खण्डमा लेखिएबमोजिम वादी दावी मध्ये आधासम्ममा मात्र हक कायम भै दर्ता समेत हुने ठहरेकोले मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४४।१।३।५ को फैसलाको तपसील खण्डको देहाय २ बमोजिम गर्न नपर्ने हुँदा कट्टा गरी फैसला बमोजिम दर्ता गरी पाउँ भनि वादीहरुको दरखास्त परे सो बमोजिम गरी दिनु लेखी पठाई दिनु भनि शुरु सर्लाही जिल्ला अदालतमा लेखी पठाई दिनु..........

मिसिल निमयानुसार गरी बुझाई दिनु........

 

उक्त रायमा हामी सहमत छौँ ।

 

न्या. भैरवप्रसाद लम्साल

न्या. दिलिप कुमार पौडेल

 

इति सम्वत् २०५५ साल श्रावण २२ गते रोज ६ शूभम्.........................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु